संस्मरण : हरियो घर

~शिवानीसिंह थारु~Shiwani Singh Tharu

सन् १९९३ को कुरा । म कक्षा ९ मा पढ्थेँ र धोबीघाटस्थित छात्रावासमा बस्थेँ । छात्रावासमा एउटै क्लासमा पढ्ने पाँचजनाको समूह थियो हाम्रो । नाम हामीले आफैं जुराएका थियौं- ‘द फेमस फाइभ’ । बेलायती बालसाहित्यकी लेखक एनिड ब्लाइटनको रोमाञ्चक उपन्यासको सिरिज द फेमस फाइभबाट प्रभावित भएर हामीले आफैंलाई ‘फेमस फाइभ’ भनेर घोषणा गरेका थियौं । Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक अंश : लेख्नकै लागि परिवारको हत्या गरेँ…

~रमेश पौडेल~cover-216x300

‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दै सोध्छु ।

‘जागिर खाँदै लेख्न सकिँदैन र ?’ अचम्म मान्दै सोध्छु म ।‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ- ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’ Continue reading

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

कथा : बस स्टप

~गंगा सुवेदी~

घुमन्ते चियापसले बाट चिया लिएर पुण्यबहादुरले स्वास्नी ललितालाई पिउन दिएको केहीबेरमा नै ललिता लठ्ठ परेर बेहोस भई । उसले ढुक्क भएर यताउती हेर्‍यो । कसैको ध्यान पनि आफूतिर छ्रैन भन्ने भएपछि भरखर पाँचबर्ष मात्र टेकेको फुच्चे सानुको काँधहल्लाउँदै फुस्फुसाएर बोलायो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्दरिया

~सीता पाण्डे~

रमाइलो कुरा के भइदियो भने दुःखनाले आफ्नी छोरीको नाम सुन्दरिया राखेको थियो । सुन्दरिया नाम किन र कसरी राखियो ? भलै, यसको कारण बिस्तारै आउला । तर अहिलेलाई सुन्दरियाको कथा यसरी नै सुरु हुन्छ ।

सुन्दरिया सानैमा पनि निकै राम्री थिई । दुःखनालाई यस कुरामा निकै गर्व थियो । ऊ सुन्दरियालाई खुबै माया पनि गर्दथ्यो । उसलाई गाउँका अरु केटाकेटीहरुभन्दा टाढा राख्न चाहन्थ्यो । साथै संस्कारगत काम जस्तैः गुइठा पार्नु, ओख्ली कुट्नु, भाँडाकुँडा टिलिक्क ऐनाझैँ चम्किलो पारेर माझ्नु या लिपपोत गर्नबाट उसले आफ्नी छोरीलाई कोसौँ टाढा राखेको थियो । कहिलेकाहीँ आमाचाहिँले आँगन बढार्न लगाई भने पनि ऊ स्वास्नीलाई काँचै खाउँलाझैँ आग्नेय नेत्रले हेर्दै खरेटो डगरपारि पुग्ने गरी हुत्याइदिन्थ्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मितभाइ

~रक्ष राई~

म तिम्रो पर्खाइमा थिएँ । तिमी आउँछौ भन्ने मलाई थाहा थियो । कारण तिमी आउनुअघि यहाँ फोन गरेका थियौ । मैले पनि मेरा श्रीमान् आज रातिमा ड्युटी छन् भनेर तिमीलाई जानकारी दिएकी थिएँ । त्यसैले तिमी आयौ, सधैंझैँ निर्धक्क मेरा सँघार कुल्चिन । मैले आफ्नो सिप र सभ्यताले भ्याएसम्म तिमीलाई सत्कारेँ । समय त्यस्तै जुर्‍यो । उनको रात्रिड्युटी धेरै दिनपछि पर्‍यो । हामी उपयुक्त समयको खोजीमा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक अंश : सीमान्त विचलन

~माधव सयपत्री~Madhab Sayapatri

आजकल मेरो मन अत्यन्त उद्वेलित भैरहन्छ । फर्केर आफ्नै भूमिमा जाउँ जाउँ लाग्छ । केको कमी थियो र हामीलाई त्यहाँ ? सबैथोक पुगेको थियो । हामीले देश छोड्न लागेको बेलामा आफन्तहरू आएर धर्धरी रूँदा पनि श्रीमान मान्नुभएन । सासूससुरा डाँकै छोडेर रुनुभएको थियो । मेरो बुबामुमाले पनि अपहत्ते Continue reading

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : आम्सटर्डमको रातो गल्ली

~महेशविक्रम शाह~

एल्जो टयाक्सी पार्किङमा यात्रुहरुको प्रतीक्षा गरिरहेकी थिई ।

रात जति गहिरिँदै थियो, रेड लाइट एरियाका राता बत्तीहरुको उज्यालो झन् प्रगाढ हुँदै थियो । रेड लाइटका हरेक गल्लीमा टेक्ने ठाउँ थिएन । धक्कमधक्का गर्दै मान्छेहरु आˆनो बाटो बनाइरहेका थिए । गल्लीबाट मान्छेहरु खुला सडकमा निस्कँदा गोठबाट वस्तुको बथान निस्केझैँ प्रतीत हुन्थ्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सौता

~विद्या सापकोटा~

प्रेम, सम्बन्ध वा भावीको लेखान्त केलाई मान्नुपर्ने हो मान्छेले ? के प्रेम र सम्बन्ध एकै तत्व हुन् ? एउटा मान्छेले एकै समयमा दुईजनालाई प्रेम गर्नु सम्भव छ ? कि प्रेम शब्द नै भ्रमको अर्को नाम हो ? बारम्बार प्रश्नले गिजोल्न लागेको थियो । परिस्थिति कल्पनाभन्दा बाहिर हुनुले पाँचसात रेक्टरका भुइँचालाहरू Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोडहरु

~गौतम “उदय”~Gautam 'Uday'

एक साँझ संगै खाना खाइराहंदा लिला दाइले ‘तँलाई मिल्ने राम्री केटी छ, हेर्न जाउँ’ भनेको आज तीस बर्ष पछि पनि यी कानमा त्यसै गरी गुन्जिरहन्छ। मेरो बिहेको किन त्यतिबिघ्न चासो परेको होला उनलाई ! Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : रेडियो

~कमल खतिवडा~

सवैले गरेको काम हाम्ले चै किन नसक्ने र ? सुरवीरले आफ्नै ठाउँमा रेडियो चलाउन सुर कसे । रहरै  रहरमा कुरो निकै अघि वढ्यो ।  अव नाम पो के राख्ने ? देशका गाउँ गाउँमा खुलेका रेडियोहरुले यति धेरै नाम राखि सके की अव रेडियोको लागि कुनै नामै छैन । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : विसर्जन

~मणि लोहनी~Mani Lohani

म पेरिस आएँ । ’प्रेम’ हो आइफेल टावर जो उभिइ रहन्छ मनमा । टावर ढल्छ भन्ने अविश्वास हो सम्वन्ध । र पनि मनभरि उभ्याएर प्रेमको आइफेल टावर मानिसहरु जिन्दगीको नाममा त्राही त्राही बाँचिरहेछन् ।  ’दुनियाँभरबाट युगल प्रेमीहरु यहाँ आउँछन् र धेरै मीठा सम्झनाहरु लिएर जान्छन् । फ्रान्स पर्यटकको मक्कामदिना हो । साइन नदीको किनारमा अवस्थित फ्रान्सको राजधानीमा पेरिसको पर्याय नै बनेको छ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बन्दाकोभी

~कृष्ण अविरल~

यतिखेर मेरो हातमा सीता पाण्डेको ‘यौन र अनुभूति’ भन्ने पुस्तक छ । एक दशकअघि नै बजारमा आएको यो पुस्तक यतिखेर दोहोर्‍याएर पढ्दैछु म ।

मानसपटलमा भने सुशीलाको अनुहार आइरहेको छ । हरेक पानैपिच्छे, सन्दर्भैपिच्छे उनैलाई सम्झिन पुग्छु म Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अवैध गर्भ

~कौशल चेम्जोङ~

-’मैले खाना त खाएँ, तेरो बाउको खाइँन, आफ्नै बाउको खाएँ ।’

-’खायौ आफ्नै बाउको । तर, रक्सी खानु रक्सीले चाहिँ हजुरलाई नखाओस् ।’

-’के रे के ?’ Continue reading

Posted in नेपाली कथा, पुस्तक अंश | Tagged | Leave a comment

निवन्ध : म एक्लो र उदास उस्तै

~गीता त्रिपाठी~

छुट्याउनै सक्दिन- एक्लो म छु या यो सहर ! सबै कुरा भएर पनि कति उदास, कति विरानो । अनगिन्ती आकांक्षाले जर्जर बनेको । हार्न नमान्नेहरू हारेरै कुँजिएका छन् यहीँ । जित्न नजान्नेहरू जितेरै निरीह छन् यहीँ । अभिसापजस्तो जितको अर्थ नै के छ र ! Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

पुस्तक अंश : यत्रैसित्ती !

~टंक चौलागाई~

kathmandu geet-3

“संविधान बन्दैन । संविधान बन्दैन । ……..का छोराहरुले संविधान बनाउँदैनन् । भारतले संविधान बनाउन दिँदैन । चीनले संविधान बनाउन दिँदैन । अमि्रकाले संविधान बनाउन दिँदैन । ज्ञानेले संविधान बनाउन दिँदैन । ए भाते हो ! नबनाओ संविधान ।” साइको कराइरहेको थियो । मान्छेहरुले उसलाई हेरे, सुने, गए । कोहीले अगाडि पुगेपछि आँखा छोपे, कान थुने । मैले सुनेँ । साइको त्यहाँ ६०१ सभासद्को श्राद्ध गर्दै थियो । Continue reading

Posted in पुस्तक अंश | Tagged , | 1 Comment

पुस्तक अंश : ऊ असुरक्षा मान्छे

~अमर न्यौपाने~

amar neupane

बाल्यकाल बिर्सनकै लागि हो । तर, जुन कुरा बिर्सन सकिँदैन, त्यो मर्ने बेलासम्म पनि झन् सम्झिरहिन्छ जस्तो भइरहेछ ।

घाम उदाउनै लागेको पूर्वको रातो आकाश हेरेर आफू जन्मेको सम्भिmन खोजी । सम्झिन नसकेर आमाको मुखबाट सुनेकै भरमा सम्झी । सुनेको कुरा सम्झिन सजिलो हुँदो रहेनछ । उसलाई यस्तै लाग्यो । Continue reading

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य कथा : त्यो किताब

~शैलेश भट्टराई~

करिब चार बर्ष अघिको कुरा हो म काम विशेषले नयाँबजार दरबार (अहिलेको लाजिम्पाट दरबार) गएँ | अध्यक्ष कमरेड विहानीको चिसो हावा खाँदै कुर्सीमा उपरखुट्टी लाएर एउटा मोटो न मोटो पुस्तकको गहन अध्ययन गर्न लाग्नु भाको रहेछ | हातमा कलम लिएर पुस्तकको मन परेका हरफहरू बीच बीचमाअन्डरलाइन पनि गर्दै हुनुहुन्थ्यो | टिक पनि लाउँदै हुनुहुन्थ्यो कतै कतै | घरी घरी मन्द मुस्कान पनि छर्नुहुन्थ्यो |

”कुन पुस्तक पढिराख्नु भाको हो हजुर ?” मैले सोधें |

जवाफ आएन | वहाँ पढि मात्रै राख्नु भो | केही बोल्नु भएन

Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : भुतेश्वर

~बखतबहादुर थापा~

माओवादीले गोर्खे पञ्चायतका लागि सानाठूला सबै गाउँलेलाई अनिवार्य उपस्थितिको उर्दी गरेको थियो ।

‘यो त अचाक्ली नै हो नि, कामकाज छोडेर सानाठूला सबै चौरमा जम्मा हौ भन्नु सुहाउने कुरा हो त ?’

‘हैन, माओवादीले यसरी बोलाउनुको उद्देश्य के हो ?’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रौनक मरेको दिन

~सुबिसुधा आचार्य~

“दाई ! मान्छे पनि सडकमा बेच्न राखेको हो ? कति हो नि मूल्य चैं ?” हरेक दिन आठ-दश समूहबाट हुत्तिने व्यङ्ग्यको तीखो भालाले सिधै मुटुमा घोच्दा आच्छु आँच्छु हुन्छु म ।
सायद किनिन-बेचिन, लायक-योग्य थियो भने मेरो छोरोमाथि सोधिन्न थियो होला यो प्रश्न । कुनै–कुनै Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रवासीकी पत्नी

~विनोद ढकाल~

लौ आज पनि राइसकुकरमा भात छड्किने बेला झ्याप्पै लाइन गयो ! फेरि ग्याँसमै बसाउनुपर्‍यो । साढे ७ भइसक्यो बाबु उठेकै छैन ।

मुख धोइदिनेदेखि दाँत पनि आफैंले माझिदिनुपर्छ । भात ख्वाएर साढे ८ बजे स्कुल बस भेट्न रोडमा पुग्नुपर्छ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो रात

~दिनमान गुर्मछान ‘दिगु’~

रात छिप्पिदो थियो सायद चुक घोप्टिएझैँ गरी । तपाईंको कोलाहलमय सहरमा वल्ल ध्वनि प्रदूषणको मत्थरताले स्थान पाउँदै थियो होला । हो त्यहीँ समय एकादेशको कुनै सहरको एक कुटीमा मलाई छिटो पुग्नु थियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जाममा

~ध्रुव मधिकर्मी~

ऊ त्यहाँ पुग्दा जाम शुरु भइसकेको थियो । बाटोभरि बस, मिनीबस, टेम्पो, ट्याक्सी, साइकलहरूको ठेलमठेल थियो । न बढ्नलाई बाटो थियो, न र्फकने ठाउँ नै । अब अस्पताल पुग्न घण्टौ लाग्ने भयो । यसैबेला उसको मोबाइल बज्यो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सोह्रखुट्टे

~भरत जङ्गम~

विश्रामस्थलको नजिकै आइपुगेकी छन् जमिला । जतिजति सोह्रखुट्टे नजिक पुग्यो, उनको पिठ्यूँमा भएको घाँसको भारी गरुङ्गो हुँदै गइरहेछ । सायद विश्रामस्थल नजिकिएकाले घाँसको भारी गरुङ्गिँदैछ उनको ।

सोह्रखुट्टे मचान अर्थात् सोह्रवटा थामहरूबाट निर्मित जसलाई एक छहारी, जसलाई एक बिसौनी र एक Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा कसिलो ह्यान्डसेक

~ठाकुर  केसी~

अफिसबाट बिहानै फोन आयो, तुरुन्तै अफिस अउनु भनेर । ‘किन आउनु पर्ने ?’ मैले तत्काल सोधें । ‘हैन एकपटक तुरुन्तै आउनु पर्यो रे, साउजीले भनेको’ । म हतारिए, किनकी साउजीले बोलाएका थिए अन्यथा म प्रति नकारात्मक धारणा उब्जिन सक्थ्यो । ‘यो मेरो दास मानसिकता हो कि’ मनले अचानक मेरो आतुरता Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निषेधित लेखक

~रामप्रसाद पन्त~

कल्पनामा हराइरहेको थियो लेखक । ऊ एक्लै थियो आफैले संरचना गरेको त्यो घरमा । त्यो ˆलाटमा । आफ्नै कोठाको ओछ्यानमा ।

घरक्क ढोका बजेको आवाज आयो । हेर्‍यो, डम्म लगाएको ढोका बाहिरबाट कसैले तानेर अलिकति उघ्राएको थियो । र, उघ्राउने त्यो मानिस मोबाइलमा चर्को चर्को स्वरमा बोलिरहेको थियो- ‘ल तपाईं तुरुन्त यहाँ आउनुपर्‍यो । कुरा गम्भीर छ, एउटा फैसला गर्नुछ तुरुन्त……..।’

यसैगरी ऊ अर्को अर्को फोन गर्दै थियो । लेखकलाई लाग्दैथियो, ढोका बाहिर बोलिरहने मानिसको बोली सुने सुनेजस्तो छ । मानिस चिने चिनेजस्तो छ । मनमा एकप्रकारको उत्सुकता र कुतुहलता जगाउँदै लेखक ढोकाको छेस्कनी सुरुक्क खोलेर बाहिरपट्ट िचिहायो ।

साँच्चै नै त्यो अनुमान गरिएकै मानिस रहेछ । ऊ मध्यभर्‍याङको स्पेसमा उभिएर पूर्ववत् चर्को स्वरमा फोन सम्पर्क गर्दैछ र मानिस बोलाउँदै छ ।

नाम किटेर भन्दैछ, फलानाको घरमा आउनुस् ।

लेखक विस्मित हुन्छ । आदरपूर्वक नाता जोडेर सम्बोधन गर्ने मानिस, आज नामै किटेर अपमानपूर्ण शब्द प्रयोग गर्दैछ ।

लेखक छक्क पर्छ- के भएको छ आज यसलाई ? यो जँड्याहा पनि होइन, भाङ धतुरो खाएको मानिस पनि होइन, बोली सन्तुलित छ, खुट्टा सन्तुलित छन् । लरबराइरहेका वा लड्खडाइरहेका छैनन् उसका खुट्टाहरू । फेरि किन यत्तिविधि उत्तेजित हुँदैछ, संयमता गुमाउँदैछ र अपमानपूर्ण शब्द प्रयोग गर्दैछ ?

लेखक उसको नामै किटेर भन्छ- ‘दामोदर Û तिमीलाई के

भयो ? के आपत पर्‍यो र मानिसहरू बोलाउँदैछौ ? भित्र आएर बस । मलाई यथार्थ कुरा बताऊ ।’

तर ऊ उत्तेजित हुँदै चर्को स्वरमा जवाफ दिन्छ- ‘म मात्र होइन, अब मसँग धेरै मानिसहरू आउँछन्, एकैछिनमा यो घर घेर्छन्, जुत्ताको माला ल्याएर लगाइदिन्छन्, कालोमोसो दलिदिन्छन् र भाटे कारवाही गर्छन् । त्यसपछिमात्र यथार्थ कुरो थाहा हुन्छ । मैले जुन सोचेको थिइन, त्यो भयो ।’

‘के भयो ? भित्रै आएर कुरा गर न Û तिमीलाई कसैले गलत समाचार दिएको जस्तो छ । गलत कुरा सुनाएजस्तो छ । तिमीले मलाई विश्वास गर । मबाट त्यस्तो कुनै गल्ती भएको छैन । छ भने म सजाय भोग्न तयार छु । तर वास्तविक कुरा त थाहा पाउनुपर्‍यो

नि Û त्यसकारण तिमी भित्र आऊ र भएको कुरा बताऊ ।’

तर ऊ न भित्र आउन तयार छ, न फोन सम्पर्क बन्द गर्न नै तयार छ । को कसलाई फोन गर्दैछ, थाहा छैन । ठाडो स्वरमा त्यही कुरा दोहोर्‍याउँदैछ- ‘म एक्लै पस्दिनँ भित्र । मानव अधिकारवादीहरूलाई पनि खबर भएको छ । महिला अधिकार सङ्गठनलाई पनि जानकारी भएको छ । ती सबै आउँछन् र उनैले भन्छन् के भएको हो ? त्यत्ति ठूलो विश्वासघात गरिसकेपछि पनि अझ बुझपचाउने ? पत्रकारहरू पनि आउँछन्, सबै कुरा बुझ्छन्, भोलिको अखवारमा छ्याप्छ्याप्ती नाम छापिन्छ । अनि देखिन्छ लेखक हुँ भनेर फुर्ति गर्नेको नक्कली अनुहार । लेखकको असली चरित्र ।’

‘ए बाबा Û मबाट त्यस्तो के गल्ती भयो ? यति जान्न पनि नपाउने मैले ?’ लेखक भन्छ ।

‘अर्काको इज्जत लुटेको कुरा बुझपचाएर अझ केही थाहा नभएजस्तो गर्ने ? अब दुई/चार भाटा खाएपछि बुझिन्छ ।’

‘इज्जत Û कस्तो इज्जत Û अनि मैले कहिले लुटेँ, कहाँ लुटँे ? कसको लुटेँ ?’

लेखक चक्कराउँछ । सोच्छ- अस्तिको दिन । त्यो दिन, जुन दिन घरैमा बसेर काम सघाइरहेकी र स्कुल पढ्दै गरेकी एउटी चौध/पन्ध्र वर्षे किशोरी सामान्य असन्तुष्टिपछि दाजुको साथ लागेर घर फर्केकी थिई । सायद उसले मेरो बारेमा, मेरो घरको बारेमा गलत प्रचार गरेकी हुन सक्छे ।

त्यसपछि त लेखक अत्यन्त भयभीत अवस्थामा देखियो । मानौँ उसको मस्तिष्क चक्करायो, दृष्टि तिलमिलायो, मुटु फुल्यो, गोडा लगलगाउन थाले, होस ठेगानमा रहेन ।

यसर्थ कि गल्ती केही पनि नगरेको होस्, घरमा बसेकी एउटी किशोरीले कपोलकल्पित कुराहरूको तानाबाना बुनेर वा कुसङ्गतमा परेर आफ्नै बुद्धिले वा अरूको बुद्धिले कुनै आरोप लगाई भने त्यो सत्य होस् वा गलत, समाज उसैको पक्षमा बोल्छ र आरोपित मानिसमाथि खनिन्छ ।

त्यसबेला जे पनि हुन सक्छ, सत्यको विजय नै हुन्छ भन्ने केही छैन, असत्यको पनि विजय हुन्छ । चाहे क्षणिक होस् या दीर्घकालीन ।

लामो समयदेखि बसाउठी भएको र पारिवारिक हिसाबमा समेत लिइने गरेको त्यो मानिस एकाएक त्यसरी बक्र भई घरभित्र पनि पस्न नमान्ने र गम्भीर आरोप लगाउदै गरेको देखेर लेखक साँच्चै नै त्यो विपत्ति निम्तिने नै हो कि भनी खुब सोचमा पर्छ ।

यसै बीच हस्याङ्फस्याङ् गर्दै तीन/चारजना महिलाहरू घरभित्र छिर्छन्- आफूलाई त्यस टोलका नेतृ ठान्नेहरू । तर कुनै सङ्गठनका पदाधिकारीचाहिँ होइनन् ।

पुरुष वर्गले महिलाहरूमाथि गरेका अन्याय अत्याचारका विरुद्ध उनीहरू खनिन्थे । आफ्नो वर्गको स्वार्थका लागि पुरुषवर्गलाई दवाव पनि दिन्थे । टोल छिमेक थर्काउथे । त्यही आक्रोसको पोखाइ आज लेखकमाथि पनि हुँदै थियो सायद ।

उनीहरू सोध्ने पक्षमा थिएनन्, घटनाको पृष्ठभूमि के हो ? कहाँबाट समस्या तन्किएर आयो र यस रूपमा फैलियो कि एउटी अवोध किशोरीले घरै छाडेर हिँड्नुपर्‍यो । यो सबै सोध्नुसँग उनीहरूको सरोकार थिएन ।

उनीहरू आक्रोशित मुद्रामा देखिए र हातै हालुँला, जाई नै लागुँलाजस्तो गरी लेखकलाई घेरेर रिसको पेटारो खोले- ‘छोरीजस्ती एउटी अनाथ केटीमाथि दुराचार गर्ने ? हातपात गर्ने ? र इज्जतमाथि खेलबाड गर्ने ? थुक्क…………..Û यस्तो पनि लेखक ? यस्ताले लेखेर समाजलाई शिक्षा दिने ? छि छि छि छि ……..Û लाज पचेका सरमछाडा …………..Û’

‘स्वास्नीको कुरा किन काट्छ ? आफन्तले भनेको किन मान्दैन ? छिमेकी महिलाले गरेको सानोतिनो कुराको चियोचर्चो किन गर्छ ? भनेको त भित्रभित्रै अर्काकी छोरीलाई शोषण गर्न पाएको रै’छ र पो………….Û यस्ता दुराचारीको नाम अखवारमा निकाल्नुपर्छ, चौबाटोमा उभ्याएर कालो मोसो दलिदिनुपर्छ । अनि थाहा हुन्छ लेखकको भित्री अनुहार कस्तो रहेछ भनेर ।’

‘बडो विकृतिको नाममा कथा लेखेर घुमाइ फिराइ हामीमाथि झटारो हान्ने Û अनि आफू पानीमाथिको ओभानो बन्ने Û अब यस्तालाई छाडिँदैन । अबोध केटीमाथि जथाभावी गरेबापत जरिमाना नतिरिकन छुट्कारा पाउँला भनेर आशै नगरे हुन्छ । जुलुस आउँछ महिलाको । आवश्यक परे पुलिसको सहयोग मागिन्छ तर यसै छाडिँदैन ।’

लेखक निरीह छ । ऊ बोल्न सकेको छैन । मुख सुकेको छ । हातखुट्टा लगलगाएका छन् । ऊ ती अपमानपूर्ण शब्दहरूको डटेर विरोध गर्न सक्दैन । विरोधबाट झन् ठूलो विपत्ति आउन सक्ने सम्भावना देख्दैछ । त्यसैले आफू निर्दोष भएको कुरामात्र सुनाउन खोज्दैछ । तर उनीहरूको गर्जनसामु लेखकको स्वर विलिन छ ।

लेखक सोच्छ, मेरो मौनताले यिनीहरूको पुरानो रिसइवी यहीँ छताछुल्ल पोखिएर बाहिर निस्किएन भने ठूलो गनिमत Û त्यसै हो भने म सहिदिन्छु । जति गाली दिए पनि पचाइदिन्छु । कोठाभित्र एक/दुई मुक्का खाएर उनीहरूको रिस शान्त हुन्छ भने त्यो पनि खाइदिन्छु ।

लेखक सोचमग्न छ । त्यसरी पालिएकी, त्यस्तो वातावरणमा बसेकी, हुर्केकी, पढेकी र घुम्न/रम्न पाएकी त्यस केटीले यतिविधि आरोप कसरी लगाउन सकी ? सम्भवतः कतैबाट षड्यन्त्रको जालो बुनिन गयो र उसलाई चक्रव्यूहमा पारेर रिस फेर्ने वातावरण तयार पारियो ।

लेखक मनमनै चाहना गर्छ- घर गएकी त्यस केटीलाई बोलाइयोस्, उसले सत्यसत्य बोलोस् र न्याय निशाप होस् । तर कता कता उसलाई मनमा आशङ्का छ- ऊ कुनै दुर्बुद्धिबाट निर्देशित भएर मनगणन्ते आरोपहरू लगाउन थाली भने त्यसको प्रतिरोध गर्ने आधार ममा के रहन्छ र मेरो सुनुवाइ कोबाट हुन्छ ?

लेखक परिवन्दले जकडिएको अवस्थामा खुम्चिएको छ । शिशुपालले दिएका गाली सुनेर बस्ने क्षमता भएका श्रीकृष्णले समेत एक सयभन्दा बढी गाली सुन्न नसक्ने अवस्थामा पुगेथे । तर लेखक सयौँसयौँ गाली सुन्न तत्पर छ । उसले सुन्नुपर्ने स्थिति छ । सुन्न बाध्य छ । यसबेला उसको मौनता नै अमोघअस्त्र हो । यही सोच्छ र चुप लागिरहन्छ ।

को को आउने हुन् र केके हुने हो ? भन्ने पिरलोले पिरोलिएकै अवस्थामा दुई तीनजना पुरुषको प्रवेश हुन्छ । उनीहरू समस्या निराकरण गर्ने उपाय सोच्छन् । क्षतिपूर्तिको कुरा उठ्छ ।

लेखक अन्योलमा छ । अपराध के हो ? दण्डसजाय के हो ? मागिएको क्षतिपूर्ति के वापत हो ? र कति हो ? तथापि बोलिहाल्ने साहस गर्दैन लेखक ।

लेखक चक्रव्यूहमा फनफनी रिँगेको छ । बोलेर ठीक हुने हो कि नबोलेर ? अन्यायलाई कड्केर विरोध गर्नुपर्ने हो कि चुपचाप सहनुपर्ने हो Û वास्तवमा ऊ सम्भाव्य बेइज्जतीबाट बच्नका लागि जे भोग्न पनि तयार छ । चार पर्खालभित्र ऊ जे सहन पनि तयार छ । तर उसलाई यो पनि डर छ कि धेरै विनम्रता देखाउँदा र आरोपहरूलाई विरोध नगरेर सहिरहँदा आरोप स्वीकार गरेको पो ठहरिन्छ कि ?

महिला स्वर चर्को छ । बोल्न खोजे पनि अवसर मिल्दैन लेखकलाई तर पुरुष स्वर लेखकलाई बोल्न प्रेरित गदर्ेैछ ।

दबिएको स्वरमा लेखक भन्छ- ‘मबाट दुराचार भएकै छैन, किशोरीमाथि कुनै प्रकारको अनैतिक शोषण गरेकै छैन । गरिएको छ त ठूलाले सानामाथि गर्ने व्यवहार । घरको मुख्य सदस्यले केटाकेटीमाथि गर्ने व्यवहार । चलाई, बोलाई, खेलाई जति छन् ती सबै दुरासयविहीन छन् । तर अर्थ लगाउनेले स्वार्थलाई विपरीतार्थ बनाइदिएको र त्यसैगरी बुझ्न किशोरीलाई प्रेरित गरेको मेरो अनुमान छ ।’

‘यो आरोप कसलाई लगाइएको हो ? कसले सिकायो उसलाई यी सबै कुरा बोल्न ? सिकाएर लगाइएका हुन् यी सबै

आरोपहरू ? भन्न खोजिएको के हो ? स्पष्ट हुनुपर्‍यो ।’ महिलावर्गको तीब्र आक्रोस सुनिन्छ ।

‘त्यसले आफ्नो बुद्धिले यो चर्तिकला गरी होली र कहिल्यै कठोर बोली नबोल्ने, मागेको दिने, भएका सानातिना गल्तीलाई पनि ढाकछोप गरिदिने ममाथि यति ठूलो आक्षेप लगाई होला भनेर मलाई पत्यार लाग्दैन । पछिल्लो पटक कुरा हुँदा पनि उसले मलाई प्रमुख कारक बनाएकी थिइन । उसले विगतदेखि भोग्दै आएका विविध घटनाहरूको सङ्कलन नै उसको वितृष्णाको कारकतत्व हो भन्ने मेरो अनुमान छ ।’- लेखकको स्पष्टोक्ति रहन्छ ।

लेखक सम्भावनाका कुरा औल्याउँछ । यथार्थमा लेखक बेइज्जती हुने डरले थरथराएको छ । ढोका बाहिर कोही मानिस बोलिरहेको सङ्केत मिल्दैछ । ती मानिस एकाघरकै कोही पनि हुन सक्छन् Û चर्को महिला स्वरले तानिएर आएका छिमेकी पनि हुन सक्छन् Û वा कुरो गम्भीरता साथ अगाडि बढ्यो भने जाइलाग्न तत्पर रहेको कुण्डले झुण्ड पनि हुनसक्छ । जुन झुण्डले एकपटक लेखककै सन्तानमाथि आक्रमण गरेको थियो र लेखककै धम्काइपछि त्यो समूह प्रतिशोधको भावनाले ग्रसित हुनपुगेको थियो ।

साँच्चै नै लेखक यसबखत प्रचण्ड ज्वालामा जलिरहेको छ । सुरुमा ढोकामा आएर फोनबाट तीब्र आक्रोश पोख्नेले भनेजस्तै लाठे, जगल्टे, ट्यापे वा भद्रभलाद्मी जोसुकै पनि घरमा आए भने र मेरो बेइज्जती गरे भने वा घरमा प्रवेशमात्र गरिहाले भने पनि टोलमा कस्तो तमासा होला ? निष्पक्ष, सशक्त र अनुभवी लेखक भनेर टेलिभिजन, रेडियोबाट प्रचारप्रसार भएको लेखकको नाम कसरी एकाएक धुलिसात् होला Û

उसलाई भाउन्न होलाजस्तो भएको छ । जीउ काँपेको छ । स्वास-प्रश्वास बढेको छ । ओठमुख सुकेका छन् । पानी पिइरहेको छ । तर समय निकै घर्किदै जाँदा पनि कल्पना गरिएजति मानिसहरू घरमा नआएकामा लेखकलाई मानौँ सञ्जीवनी मिलेको छ । सागरमा डुबिरहेको मानिसलाई मानौँ तृणाले आशा दिइरहेको छ ।

यसै बेला छिमेककै अरू एक/दुई जना महिला-पुरुष थपिएका छन् र लेखकको भनाइ सुनेका छन् । उनीहरू लेखकको स्वभावका बारेमा र लेखकप्रति यदाकदा छिमेकीहरूबाटै हुने गरेका प्रताडनाका बारेमा केही बुझेका र केही जिज्ञासा राख्ने मानिसहरू हुन् । उनीहरू मध्यविन्दुमा बसेर निष्कर्षतिर लाग्न मिलनविन्दुका कुरा उठाउँछन्- ‘पीडित पक्ष पनि साथमा भए यथार्थ कुरा बुझ्न सजिलो पथ्र्यो । गाउँ नै गएकी भए पनि उसलाई यहाँ झिकाउ”m/ल्याउ”m र उसका कुराहरू पनि सुनौँ ।’

यस भनाइमा महिला समूहकै मतमतान्तर रहन्छ- ‘त्यस्तो पीडा खेपेर गएकी केटी फेरि यस्ताको मुख हेर्न कसरी आउँछे ? किन आउँछे ? आउँदिन । पर्दैन त्यसलाई बोलाउन । उसले भोगेको कुरा हामीलाई बताएर गएकी छे, कुरा त्यही हो । यो मानिस गतिलो होइन भन्ने हामीलाई पहिले नै थाहा थियो, जुन सत्य निस्क्यो । यस मान्छेको चरित्र राम्रो छैन भन्ने कुरा चरित्रहीन केटीहरूको सङ्गतले नै स्पष्ट पारेको छ । यो मानिस टोलमा राख्न हुने मानिस नै होइन । हाम्रो टोलमा आइसकेपछि हाम्रैअनुसार चल्नुपर्छ । हाम्रै टोलमा आउने, हामीले गरेकै काम कुराको विरोध गर्ने ? अनाथमाथि दुराचार गर्ने ?’

अर्को पक्षको भनाइ रहन्छ- ‘ल्याए हुन्छ, के फरक पर्छ ? ऊ आउँछे र उसैले झोँको झार्छे यस्ता अत्याचारीको । चरित्र हत्याएवापत त्यसले क्षतिपूर्ति जेजे दावी गर्छे, उसैले गर्छे । पैसा दिनुपर्ने हो कि अंशै काटेर दिनुपर्ने हो Û ऊ आफैँ बोल्छे ।’

दावी डरलाग्दो थियो महिला जत्थाको । हुन पनि यो मामिला यस्तै हो । हुनुपर्ने कुरा पनि हुन्छ, नहुनुपर्ने कुरा पनि हुन्छ । यस्तो बेला न्यायको जीत पनि हुनसक्छ, अन्यायको जित पनि हुनसक्छ । त्यो क्षणिक होस् वा दीर्घकालीन । तर इज्जत गएपछि गयो, गयो । त्यो फर्केर आउँदैन, जुन सेतो कपडामा बसेको कालो दागजस्तै हो ।

लेखकलाई अझै पनि कताकता विश्वास पलाएको छ । एक मन भन्दैछ – ‘सवुद प्रमाण त त्यही केटी हो । जसमाथि अत्याचार भएको आरोप लगाएर यो कचहरी बसिरहेको छ र ममाथि बर्बर प्रहार भएको छ, त्यो केटीले असत्य बोलिन भने म यो सबै आरोपबाट मुक्त हुन्छु ।’ तर उसैको अर्को मन भन्दैछ- ‘कुसङ्गतमा परेपछि र मति बिगि्रएपछि जे पनि हुन्छ । नहुने पनि हुन्छ, हुने पनि हुँदैन । त्यसपछि म न्याय माग्न कहाँ जाने ?

मन बलियो पारेर लेखक महिलाहरूको भनाइमा झिनो सहमति राख्दैछ- ‘तपाइर्ंहरू चाहनुहुन्छ भने म बोलाउनु हुन्न भन्ने पक्षमा छैन । मैले दण्ड भोग्नुपर्ने कुनै त्यस्तो दुष्कार्य गरेको छैन भने भएको कुरा गर्न किन हुन्न भन्ने ? संवादको विपक्षमा बसियो भने त गल्ती स्वीकार गरेको ठहरियो नि Û ठीकै छ तपाईंहरू जे चाहनुहुन्छ त्यो गर्नुस् ।’

अधिकांशको मतअनुसार केटी र उसको साथमा आउने मानिसहरूलाई आतेजाते बसभाडा र बस्ने खाने खर्चको व्यवस्था लेखकबाट नै हुने गरी बोलाउने निष्कर्ष निकालियो ।

कचहरी लेखककै अतिथि कक्षमा बस्ने तय भयो । पहिलो बहसमा सम्मिलित भएका महिला र पुरुष टोलीका अतिरिक्त पीडित पक्षको तर्फबाट आएका केटीसहित पाँच जनाको जमघट तोकिएकै कक्षमा भयो ।

केटीलाई इङ्गित गर्दै एउटी महिला बोलिन्- ‘लौ भन्, तँलाई केके गरेको हो ? कहाँकहाँ समाएको हो ? कहाँकहाँ छोएको हो ? वा अरूथोकै गर्न नहुने काम गरेको हो ?’

अर्कीले थपिन्- ‘डर नमानिकन भन्, तेरै लागि हामी यहाँ भेला भएका छौँ । तँप्रति गरेको दुव्र्यवहार केके हो ? तँ के के चाहन्छेस् ? त्यो सबै हामी पूरा गराउँदछौँ ?’

केटी टुलुटुलु हेरिरहेकी मात्रै थिई । केही बोलेकी थिइन । बोली फुटालेकी थिइन ।

केटीसँगै आएकै एउटी अधबैँसे आइमाईले बोल्न प्रेरित गरिन्- ‘किन चुप लाग्छेस् ? बोल । नबोलेकै कारण, जे गर्‍यो त्यही सहेकै कारण हेपेका हुन् यिनीहरूले । म त डराउन्न, यस्ता लुच्चादेखि । अत्याचार गर्नेहरूदेखि बस्न नसकेरै मेरो घरबार बदलिएको हो । समाजले जेसुकै भनोस् तर म त हाकाहाकी भन्छु, लोग्नेले मलाई अहिले पनि मन नपर्ने व्यवहार गर्छ भने तुरुन्त छाडिदिन्छु । गल्ती नगरेपछि केको डर ? तँ पनि के डराउँछेस् Û तेरो कुमारीत्व नै लुटेको हो भने पनि लाज मान्नुपर्दैन, भन् । कहिले, कहाँ, कति चोटि जथाभावी गरेको हो ? हामी छाड्दैनौँ । स्वास्नीसरहको व्यवस्था गरिदिनुपर्छ यसले ।’

केटी जिल्ल परेर हेरेको हेरै भई । अरू मानिस पनि सुनेको सुन्यै भए । लेखक मूर्तिवत् बसेको बस्यै भयो । नजिकैको प्लाष्टिक बोतल तानेर घुटुघुटु पानी पियो ।

अर्को एउटा गाउँले केटो बोल्यो- ‘किन बोल्दिनस् ? बोल् न Û किन डराउँछेस् ? हामी छौँ नि त ? नगर्ने गरिसकेपछि भएको कुरा गर्न केको डर Û तैलेँ भनेको कुरा स्वीकार गर्छन् र मागेको कुरा दिन्छन् भने दिन्छन्, दिन्नन् भने गाउँ उल्टेर आउँछ । न्याय निसाप उसैले गर्छ ।’

तर केटीको वाक्य फुटेन । एकदमै डराएको, आत्तिएको मलिन अनुहारमा देखिई ऊ । लेखक त्यत्तिकै उद्विग्न मनस्थितिमा देखियो । घटनाले कुन मोड लिने हो Û केटीले के भन्ने हो Û ऊ कति आफ्नो कुरा बोल्ने हो Û कति सिकाएको कुरा बोल्ने हो Û घटनाको निचोड त्यसैको बोलीमा निर्भर हुनेवाला छ ।

केटीले महसुस गरिरहेको अप्ठ्यारोपन लेखकले पनि झल्याकझुलुक हेरिरहेको थियो र आफूले घर छाडेको कारणबाट लेखकले भोग्नुपरेको पीडादायी अवस्थालाई केटीले पनि पल्याकपुलुक हेरिरहेको थिई ।

केटीलाई बोल्नका लागि अरूहरूले पनि प्रेरित गरिरहेका थिए । तिम्रै बोली सुन्नका लागि हामी भेला भएका । तिम्रै पीडा बुझ्नका लागि तिमीलाई यहाँसम्म बोलाएका । भएको सत्यतथ्य कुरा त बोल्नुपर्‍यो नि Û

“म केही पनि बोल्दिनँ, तपाईंहरू जे गर्नुहुन्छ गर्नुस्” यति भनेर उसले पिलपिल आँखा पार्दै पछ्यौरीले मुख छोपी ।

लेखकले पनि आफू केही बोल्नुपर्ने आवश्यक ठान्यो । भन्यो- ‘तिमीले भएको सत्यसत्य कुरा बोल्नुपर्छ । असत्य कुरा बोल्नु हुँदैन । गल्ती गर्नेले सजाय भोग्नुपर्छ । तर अनर्थ लान्छना लगाएर कसैले पनि सजाय पाउनु हुन्न । खाएको विष लाग्नुपर्छ, नखाएको विष लाग्नु हुँदैन । झूठ कुरा गरेर एकछिन फाइदा लिन सकिएला तर सधैँभरि सकिन्न । यहाँ जोसुकैले जेसुकै कुरा गरे पनि सत्य भनेको तिमी हौ । सबुद प्रमाण भनेको तिमी हौ । सत्य कुरा जहिल्यै पनि सत्य नै ठहरिन्छ । यहाँमात्र तिमीले बोलेर पुग्दैन, यहाँ बोलेको कुरा कत्ति फरक नपारेर सबैलाई चित्त बुझ्नेगरी बोल्नुपर्छ । तिमीले गरेको कुराको अनुसन्ध्ाान पनि हुनसक्छ र त्यसबेला झूठा ठहरिन गयो भने सजाय तिमीले पनि भोग्नुपर्छ । तर सत्य बोल्नेले डराउनु पर्दैन । मैले तिमीप्रति कति नराम्रो व्यवहार गरेँ, कति राम्रो व्यवहार गरेँ, भएको कुरा सबै सुनाइदेऊ ।’

त्यसपछि केटीले अनुहारबाट पछ्यौरी उघारेर आँसु पुस्दै भनी- “मलाई केही भएको छैन, मलाई कसैले पनि केही गरेको छैन, म बस्न मन नलागेर मात्र गएकी हुँ ।”

‘त्यसो भनेर हुन्छ ? तेरै कारणले कुरा यति अघि बढेपछि ? गर्ने बेलामा यत्रो बबाल गर्ने Û भन्ने बेलामा ममाथि अन्याय भयो, म शोषित भएँ, म यो घरमा बस्नै नसक्ने भएँ भन्ने र बीचैमा घर छोडेर हिँड्ने ? अनि अहिले केही भएको छैन भनेर पन्छिने ? के हामीलाई मूर्ख बनाएकी ?’- गाउँबाट आउने एक/दुईजना जङ्गिए ।

‘त्यति कुराले यति ठूलो तमासा होला भन्ने मलाई के थाहा ? तपाईंहरूले यति सानो कुरालाई तन्काएर यहाँसम्म ल्याउनु होला भन्ने मलाई के थाहा ? मैले त बस्न मन नलागेर घर जानका लागि पो यी सबै कुरा गरेकी Û मैले कति चोटि भनेँ मम्मी -घरमालिक्नी) सँग, मलाई बस्ने मन भएन म बस्दिनँ, घरै जान्छु, गाउँमै पढ्छु भनेर तर फकाएर लोभलालच देखाएर छाड्नै मान्नु भएन । घर गएको बेला जान्नभन्दा पनि बाआमाले “तँ जानैपर्छ, त्यसरी माया गरेर घरमा राख्दासम्म बस्नुपर्छ, राम्रोसँग पढ्नुपर्छ, तेरै फुपाजूले त्यति माया गरेर लानुभएको, तैँले च्याट्टै छोडेर हिँड्दा उहाँलाई पनि नमज्जा हुन्छ” भनेर मलाई घरमा पनि बस्न दिनु भएन । अनि के गर्ने त ?’

त्यहाँको परिस्थितिले कोल्टो फेर्‍यो । केटी पक्षबाट बोल्नेहरूका फुलेका अनुहार साँघुरासाँघुरा देखिन थाले । ‘त्यसो भए तैँले हामीलाई उल्लु बनाएकी ? तेरै निम्ति हामीले यति दुःख पायौँ । कि तँलाई डर लाग्यो, लेखकजीका आदर्शवादी कुराले । मुखले कुरा गरेजस्तै, कागजमा लेखेजस्तै व्यवहार गरेको भए त यो टन्टै हुने थिएन नि Û भन्भन्, आफैँ कुरा उठाउने र तमासा मच्चाउने Û अनि आफैँ केही भएको छैन भन्ने ?’

केही मानिसले केटीलाई बोल्न दबाब दिए ।

केटीले रुन्चे स्वरमा भनी- ‘तपाईंहरूले यति सानो कुरालाई तन्काएर यति लामो बनाउनु हुन्छ र मलाई यहाँ ल्याएर यो तमासा गर्नुहुन्छ भन्ने थाहा पाएकी भए त म केही भन्दै भन्ने थिइनँ नि Û’

‘के तँैले सुनाएका ती सबै कुरा सामान्य थिए ? चौध/पन्ध्र वर्षे तरुनी केटीलाई अँगालो हाल्नु, चिमोट्नु, तिमी मलाई मनपर्छ भन्नु, तिमी विना घरै नचल्ने भो भन्नु, यी सबै सामान्य कुरा हुन् ?’ आफन्तले प्रश्न तेस्र्याए ।

‘हो, अङ्कल -लेखक) ले यी सबै कुरा भन्नुभएको हो । तर तपाईंहरूले सोचेजस्तो नराम्रो दृष्टि राखेर भन्नुभएको होइन । घरका अरू धेरै मन नपर्ने कुराहरूबाट दिक्क भएर म बस्दिनँ, घर जान्छु भनेको हो । तर यही कुरा बारम्बार घोकिरहँदा पनि कसैले नसुनेपछि यो सजिलो उपाय खोजेकी मात्र हुँ ।’

तैपनि केटीबाट केही कुरा थुत्न कोसिस गरिरहे केटीका आफन्तहरूले- ‘तँलाईं बस्नै नसक्ने कारण के पर्‍यो ? खान दिएकै थिए, बस्न दिएकै थिए, लगाउन दिएकै थिए, पढ्न पाएकै थिइस्, फेरि के भयो ?’

‘मलाई सुरुमै घर छाडेर हिँड्नै मन थिएन ? यहाँ आएपछि घरको काम गरिरहनु पर्ने र यहाँका दाइ दिदीहरूले पनि हेपेर बोल्ने गरेको मलाई पटक्कै चित्त बुझेको थिएन । त्यसै कुरालाई लिएर म घर जाने अड्डी लिएँ, तर ममीले उनीहरूलाई गाली गरेर मलाई सह्राएर काममा लगाइरहनुभयो । मैले यहाँबाट निस्कने सजिलो उपाय खोजिरहेकी थिएँ । पछिल्लो पटक मैले एउटा गल्ती गरेको र उल्टै अटेर गरेको विषयलाई लिएर अङ्कलले मेरा दुई कुम समाएर झकझक्याउनु भयो । त्यो देखेपछि मम्मी पनि जङ्गिनुभयो- “के गरेको ? अँगालो मारेको ? यति ठूली भइसकेकी केटीमाथि हात हाल्ने ? लाज लाग्दैन ?” त्यसपछि त मैले पनि बोल्ने मौका पाएँ । यसै कुरालाई बढाइचढाई गरेर बारम्बार यस्तो भइरहने गरेको कुरा दोहोर्‍याएँ । वर्तिरपर्तिरसमेत कुरा गरेँ । घरमा पनि फोन गरेँ, अनिमात्र छुटकारा पाएँ । तर यसो गर्दा यति ठूलो होहल्ला होला र तपाईंहरू अङ्कलमाथि यसरी खनिनु होला भन्ने मैले सोचिनँ ।

‘तेरो बुद्धिले मात्र यो सबै तमासा भएको जस्तो लाग्दैन । यस्तो उपाय निकालेपछि घर जान पाइन्छ भनेर तेरो बुद्धि भुटिदिने कोहो ? भन् ।’- अर्काे गाउँले कड्कियो ।

‘तल्लो घरमा काम गर्ने कामना, तरकारी पसल्नी, पल्लो घरकी दीपा दिदी, गैराघरकी रचना आन्टी र सल्यानटारकी फुपू ।’

उसले नाम लिएका नारीहरू प्रायः चारित्रिक कमजोरी भएका महिला थिए । लोग्ने छोडेर भिन्नै बसेकी, घर मालिकलाई यौनशोषकको आरोप लगाएर पैसा कुम्ल्याई हिँडेकी, लोग्नेलाई दास बनाएर बसेकी, टोलकै स्वघोषित नेतृ र घर फेर्दै मस्ती मार्दै हिँड्न सफल महिलाहरू पनि थिए ।

उसले नाम लिएपछि त्यहाँ भेला भएका कति जनालाई बसिरहन असजिलो पनि लाग्यो सायद । केही व्यक्तिहरू हिँडे रातो मुख लगाएर ।

‘घरमा बस्न मन लागेन भन्दैमा यति ठूलो जात्रा गर्न हुन्छ

त ? अँ……..कहिलेदेखि तँलाई यहाँ बस्न मन नलागेको ? के भएर ……….? एक जनाले प्रश्न गरे ।

‘मैले भनिसकेँ, मलाई त सुरुमै घर छोडेर कहीँ जाने मनै थिएन । फुपाजूले मैले चिनेको घर, आफ्नै घरमा जस्तो माया पाइने, राम्रो स्कुलमा पढ्न पाइने र पछि जागिरको अवसर पनि मिल्ने भनेर ललाईफकाई ल्याउनुभयो । पछि मसँगै आएकी विनिता पनि गई, म पछि आएकी अन्जु पनि गई, त्यसपछि त झनै दिक्क लाग्यो । पढ्न पनि मन लागेन । एसएलसी पास गर्ने आशा पनि मरेर गयो । पढ्न बसेकी मान्छे फेल हुने भएपछि किन बस्ने ?’ उसले रुञ्चे

स्वरमा भनी ।

अब भने भेला भएका अरू मान्छेले पनि बाटो तताए । अन्त्यमा एक्लै भयो लेखक । पहिले पनि एक्लै थियो, पछिल्लो पटक पनि एक्लै थियो, विचारको एक्लो, विकृति र विसङ्गतिविरुद्ध एक्लै लड्ने त्यस टोलको निषेधित लेखक ।

(श्रोत :- मधुपर्क, चैत २०६७ )

Posted in नेपाली कथा | Tagged | Leave a comment

ऊ को थिइ र मेरी ?

~पुरुषोत्तम गौतम~

साह्रै चकचके केटाकेटीहरू बिहानै ड्यूटीमा आएपछि भेट हुन्छ दिनैपिछे । शायद उनीहररू मेरै पर्खाइमा रात बिताउँदा हुन् । म पनि साँच्चै भन्नु पर्दा तिनीहरूकै सम्झनामा रात बिताउँछु । ठूलै परिवार छ तिनीहरूको । एउटी सानी बुने छ । अरु ४ जना दाइहरू बुबाको ठेगाना छैन । न तिनीहरूलाई थाहा छ न तिनीहरूकी आमालाई नै । मलाई पनि थाहै छैन । मेरा मिल्ने साथीहरू हुन् यी बिदेश बसाइका । परिवारबाट टाढा रहनु र एउटा अर्को परिवार परदेशमा पाउनु ठानेको छु मैले। मेरो ड्यूटी तिनीहरूसँगकै भलाकुसारीबाट सुरु भएर तिनीहरूको विदाइसम्ममा सकिन्छ । म यो सउदी अरबको एउटा क्याफेमा वेटरको काम गर्दैछु । ड्यूटीमा आइपुग्ने बित्तिकै पानी भए नभएको, वाश बेशिनमा साबुन पानी भए नभएको, ट्वाइलेटमा पेपर भए नभएको , टेबुल कुर्सीहरू साफ भए नभएको, सबै काम गर्नुपर्थ्यो । भुईंमा मोप लगाउनु पर्थ्यो सर्फ लगाएर । कतै दाग धूलो या फोहोर हुनुहुन्नथ्यो । म त्यसै पनि काम एकदमै फेअर गर्नु पर्छ भन्ने मान्छे । जे काम गरिन्छ त्यो काम अत्यन्तै होशियारीका साथ गर्नुपर्छ भन्ने लाग्थ्यो मलाई र लाग्छ अहिले पनि । मेरो आफ्नै फिलोसफी थियो जीवन र हरेक कुरालाई हेर्ने ।

ड्यूटीमा पुगेपछि कुर्सी र टेबुलहरू बाहिर निकाल्नु पर्थ्यो । कुर्सी टेबुल पुछ्न पर्थ्यो, सीसा पुछ्न पर्थ्यो, बाहिर भएका बोटबिरुवामा पानी हाल्नु पर्थ्यो । यति गरीसक्दा मेरो बिहानको First Hour ड्यूटी सकिन्थ्यो । तर त्यतिन्जेल मेरा साथीहरू चिच्याएर हैरानै बनाउँथे मलाई । ढोका कोतरेर मलाई बोलाएको बोलायै गर्ने । कहिले कहिले त मैले काम भ्याइनसक्दै ग्राहक आइपुग्थे । त्यो बेला मेरा साथीहरूको रीसको सीमा नै रहन्नथ्यो । साथीहरूको ठीक्क बाहिर निस्किएर मोर्निङ वाक गर्ने या जी जीउमा फुर्ती ल्याउने बेलामा अर्कोले बाधा पुर्याउँदा रीस उठ्नु स्वाभाविक पनि थियो ।
घरिघरि ढोका खोलेर हेर्थेँ म अनि एकदिनका लागि हल्ला नगरी त्यहीँ बसिदिन आग्रह गर्थेँ । बाहिर बसेको ग्राहकलाई पनि रिस उठ्छ बढ्ता हल्ला भएकोमा । महमद ताल , भन्छ रिसाउँदै मलाई बोलाउँछ । एश् मुशि्कलउ ? के भै राछ यहाँ ?

म साथीहरूलाई सम्झाउनै सक्दिन । उनीहरूको खेल्न पाउने अधिकारको हनन् गर्ने म को? अनि त्यो साउदी को ? ढोका खोलेर सम्झाउन खोज्दा सानी बुनू ठस्स पर्छे मसँग रिसाई । अनि मलाई पनि रिस उठेर आयो साउदीसँग । ढोका खोलिदिउँ ५ जनै एकैपटक बाहिर निक्लेलान् हल्ला गर्दै मलाई नै टेन्शन ।

ढोका खोल्दै हेर्दै गर्थेँ । मेरी सबैभन्दा मिल्ने साथी सानी बुने नै थिई । मलाई उसैको चिन्ता लाग्छ बढी किन किन ? ऊ मेरी छोरी जत्तिकै प्यारी छ । म ढोका खोलेर बाहिर निस्कँदा छेउमा आउँछे लाडिँदै । अनि भन्छे-”अंकल आज त मलाई साह्रै बोर लाग्यो । रातभरि त्यही कोप्चे कुनोमा बिताउन पर्छ । मलाई त कहिले बाहिर निस्कनु जस्तो हुन्छ । जीउ एकछिन् तन्काएर फुर्ती हुन मन लाग्छ ।”

म उसको समस्या बुझ्न सक्छु तर उसको लागि केही गर्न सक्दिन । केटाकेटीलाई बाहिर निस्कन दिउँ, जागिर जाला भन्ने डर, जान नदिउँ नानीहरूसँगको भावनात्मक सम्बन्ध बिग्रिएला भन्ने डर । दोधारमा पर्छु म ।

ढोकामा ढकढक गरेको आवाज आउँछ पछिल्तिरबाट । ढोका खोल्छु सानी बुने रहिछ । ऊ चेतावनीमूलक भाषा प्रुयोग गर्छे र भन्छे -”भोलिदेखि त त्यो भुसतिघ्रे आएपनि हामी बाहिर निस्कन्छौँ नि अंकल । त्यसको हामी वास्ता गर्दैनौँ है आजै भन्दिएकी छु मैले ।

कस्तो सामिप्यता हो, कस्तो सम्बन्ध हो यो जिन्दगीको । मान्छेको मन मान्छेप्रति कोमल छैन आजभोलि । हाम्रो सम्बन्ध झन् झन् प्रगाढ बन्दैछ । ऊ मसँग घुर्क्याउँदैछे, धम्क्याउँदैछे अनायश मलाई आफ्नो सम्झिएर । ऊ म प्रति अधिकार जताउन खोज्छे । कहाँको म सर्बश्रेष्ठ प्राणी म अरूलाई गन्दै नगन्ने, कहाँकी बिरालाकी छाउरी सानी बुनू ।

– हाल काठमान्डू

(श्रोत :- अन्तर्जाल )

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अझै बल्झीदै छ घाउ

~प्रेम चापागाईं~

पुस महिनाको जाडोमा पनि एकाबिहानै आज किन मानिसहरूको चहल पहल छ ? बुझ्दा कुरो राम्रो चाहिं होइन रहेछ । माथ्लो घरको मुकेशको श्रीमती सीतादेवी र पल्लो गाउँको धनबहादुर घर छोडी पोखरातिर लागेछन् । कुरो दुख लाग्दो छ सीतादेवीको घरमा साना साना तिन बच्चा र धनबहादुरको घरमा पनि दुइ जना छोरीहरू छन् । सीता देवीका श्रीमान कतार मा तातो हावा सगै आफ्नो जिबनलाई चौथो पटक होमीरहेका छन् धन कमाउने आसै आसमा । सपुर्ण गाउँ सन् सानी पूर्ण भयो त्यो हल्ला बिदेस मा पनि तुरुन्तै पुगिहाल्यो।

केहि दिनसम्म त सीतादेवी र धनबहादुर पोखरा, काठमाडौँ सहरतिर घुमे छन् । त्यस पछि घर फिर्ता भए धनबहादुरले सीतादेवी र जेठी श्रीमती रमा कुमारीलाई मिलाएर राख्न सफल भयो । मुकेसको घर मा दुखका Continue reading

Posted in लघुकथा | Tagged | 1 Comment

कथा : त्याग

~कृष्ण के श्रेष्ठ ~

“बाबा मलाई यो दशैंमा त नयाँ लुगा किनिदिनु न ल, अनि खसी पनि काट्नु पर्छ नि यो पाली त ।” दशैं नजिकिदै रहेको बेला रुन्चे स्वरमा सपना बजारमा बुबाको हात समात्दै हिंड्दै गरेको बेला भन्छे । सायद आफ्नो साथीहरूले नयाँ लुगा लगाएको देखेर होला उसलाई पनि यो दशैंमा नयाँ लुगा लागाउने रहर लागेको ।

“हुन्छ बाबा हुन्छ म किनिदिउला सबैथोक” कपाल सुम्सुम्याउदै रामे उत्तर दिन्छ, आफ्नो छोरीको खुसीको लागि भएपनि । किनकि पोहरसालको दशैंमा एकसरो लुगा किनी नदिंदा सपना कति रात खानै नखाई रोइबसेकी थिइन । अनि कति आफ्नो मन रोएको थियो छोरीको त्यो रोदनले गर्दा । त्यसैले यो पटक भने किनिदिने पक्का गर्छ ।

सायद दशैंमा सबैका छोराछोरी नयाँ लुगा लगाएको देख्दा उसलाई पनि लगाउन मन लाग्दो होला, अनि सधैं खोले, गुन्द्रुक खाई खाई वाक्क लागेर मासु खाने रहर लागेको होला उसलाई पनि ।

तर रामेको वास्तविक आर्थिक स्थिति यति नाजुक हुन्छ कि उसको कमाइले परिवारको दैनिक हातमुख जोड्न पनि धौधौ हुन्छ । बिहान खाए बेलुका पुग्दैन, अनि बेलुका खाए बिहान पुग्दैन । रातदिन भोकभोकै मरीमरी भारी बोकेर कमाएको तलबले जेनतेन ५ जना परिवारको जीवन मुस्किलले धान्न पुग्छ उसको । त्यसैले उसको परिवारको लागि यस्ता दशैँ, तिहार जस्ता चाडपर्व आउनु भनेको ठूलो समस्याको रुपमा उभिएको हुन्छ ।

रामे फसादमा पर्छ – “कसरी किनिदिने छोरीलाई नयाँ लुगा अनि खसी?”

सोच्न थाल्छ “त्यति धेरै पैसा कसरी जम्मा गर्ने? कोसँग सापटि लिने?” । पैसाको लागि ऊ झन बढी काम गर्न थाल्छ । यतिसम्म कि रामे कति दिन खानै नखाई, अनि कति रातहरु सुत्दै नसुती आफ्नो छोरीको खुसीको लागि मरी मेटछ ।

दशैं नजिकिसकेको हुन्छ , सकी-नसकी उसले लुगा किन्ने पैसा र खसी किन्ने पैसा कमाउन सकेको हुन्छ । घटस्थापनाको दिन थियो । बुबाछोरी दुबैजना दशैंको लुगा किन्न बजार जान्छन । बजारभाउ छोईसक्नु हुदैन, त्यसैले सस्तोमा किन्नको लागि धेरै ठाउँ डुलेपछि बल्ल सस्तोमा लुगा किनेर घर फर्कंछ्न ।

भोलिपल्ट छोरी नयाँ लुगा लगाउन पाएकोमा धेरै खुसी हुन्छे । उसमा खुसीको कुनै सिमा हुदैन । सपना रमाएर फुरुक्क फुरुक्क उफ्रेर नाच्छे त कहिले के गर्छे ? भनेर साद्धेनै हुदैन । कहिले बजार निस्केर आफ्ना साथीलाई “यी हेर मेरो दशैंको लुगा”भनेर देखाउछिन त कहिले कस्लाई । खुसीको कुनै सीमा नै हुदैन उसमा ।

अब टेन्सन बाँकि थियो खसी किन्ने कुराको । रामे खसी किन्नको लागि बजार निस्कन्छ । बाटो बीचमा एक्लै घुम्दा घुम्दै उसलाई केही अफ्ठ्यारो भएको महसुस हुन्छ । उसको मुटुमा चस्स घोचेको जस्तो भान हुन्छ । “सायद काम धेरै गरेकोले होला दुखेको” मन मनै सोच्छ । तर पनि छोरीको खुसीको लागि सहेरै भएपनि धेरै ठाउँ सकी-नसकी खोज्न जान्छ । धेरै महँगो खसी मात्र फेला पार्छ उसले । अनि फेरि अर्को ठाउँ खोज्न हिड्छ । खोज्दा खोज्दै रात परिसकेको हुन्छ हिड्न पनि नसक्ने अबस्थामा हुन्छ थकाइले गर्दा ।

रामे थकित भएर घर फर्कि खाना नखाएरै सुत्न खोज्छ । खान मन लाग्दैन , उसलाई दिउँसोको भन्दा झन गाह्रो भएको महसुस हुन्छ । छाती दुख्न थाल्छ तर आफ्नो परिवारलाई आफु बिरामी भएको कुरा भन्दैन, किनकि यदि आफु बिरामी भाको छु भनेर थाहा दिईयो भने “अस्पताल जानुपर्छ अनि खसी किन्न राखेको पैसा सबै खर्च हुन्छ र यो दशैंमा पनि छोरी फेरी रुन्छे । खसी किन्ने खसी किन्ने भनी ” भनेर त्यो रात जबरजस्ती सहेरै सुत्छ । उसलाई रातभर पनि खसीकै चिन्ता हुन्छ । बरु उसलाई आफ्नो रोगको बारेमा चिन्ता लाग्दैन । अनि भोलिपल्टपनि बिहानै उठेर खोज्न हिड्ने निधो गरि निधाउछ दिनभरको थकाईले ।

भाले बास्नु अघि नै निंद्रा खुल्छ रामेको । उठ्न खोज्छ, उठ्न सक्दैन चल्न खोज्छ सक्दैन । अब भने आफुलाई सारै गाह्रो भएको महसूस हुन्छ उसलाई । त्यतिबेला उसको मुटु अनौठो तरिकाले धडकिएको हुन्छ । ऊ छट्पटिन्छ अनि कराउन थाल्छ बेहोसीमै । अनि उसको स्वर सुनेर सबै जना बिउझिन्छ्न ।

उठेर “के भयो तपाइलाई” उसको श्रीमतीले सोध्छे ।

“हैन केही भाको छैन मलाई” रामेले बास्तबिकता लुकाउन खोच्छ ।

“त्यसो भए के भयो नि त ” सबैले सोध्छन ।

“अस्पताल जाउँ त्यसो भए ।”

ऊ मान्दैन । मलिन अनि थकित आवाजमा “मलाई ठीक छ अलिकति हिजो हिडेकोले थाकेको होला । म ठीक हुन्छु, केही बेर आराम गरेपछि । बरु आज आमाछोरी पल्लो गाउको मोहनलाई मैले खसी भनेको थिएँ हिजो । आज हेर्न जाऊ, म जान सक्दिन होला । ”

औंलाले कोटलाई देखाउँछ र भन्छ, ” ऊ त्यो खल्तिमा पैसा छ लिएर जाऊ । अनि अलिकति मोलमोलाई गरेर मिलाएर लिएर आऊ” ।

आमाछोरी सबेरै निस्कन्छन खसी किन्नको लागि बिरामी घरमा एक्लो छाडेर । दिनभर डुलेर खसी पाउँछन । खसी पाएपछि सपना धेरै खुसी हुन्छे । सकी-नसकी आफैले खसीलाई डोर्याएर घर सम्म ल्याउँछे । उसमा खुसीको कुनै सीमा हुदैन । ऊ बाटोमा कहिले खसीसँग कुरा गर्छे त कहिले खसीमाथि चढ्छे। घर पुगेपछि सपना डोरी समातेरै आफ्नो बाबालाई खसी देखाउन भनेर कोठामा जान्छे ।

“बाबा बाबा हेर्नु त कति ठूलो खसी है?” सपना ठूलो स्वरले भन्छे कोठाको ढोकामा छिर्ने बित्तिकै ।

रामे केही बोल्दैन।

सपना नजिक गएर फेरी “बाबा हेर्नु न दशैंको खसी भन्या” हात समाएर भन्छे । तर केही बोल्दैनन मात्र टोलाएर रहन्छ रामे ।

अनि सँगै रहेकी सपनाकी आमा त्यो अबस्था देखेर डराउक्षछे ।

“हजूरलाई के भयो ? पानी खानुहुन्छ? हामीले खसी किनेर ल्यायौं हजूर उठ्नु न भन्या”आत्तिएर भन्छे ।

तर पनि केही बोल्दैनन ।

पानी खुवाउछे करुवाले । रामे अनि अलि चलमलाउन थालेको जस्तो देखिन्छ । यस्सो खसीलाई हेरेको जस्तो गर्छ त्यातिकैमा उसको दुबै आँखा बन्द हुन्छ अनौठो तरिकाले ।

रामेको मुटु छाम्छे, मुटु चल्न छोडिसकेको हुन्छ। नाडी छाम्छे, रगत बग्न रोकिसकेको हुन्छ । शरीर पुरै चिसिसकेको हुन्छ । यो अबस्थामा रहेको आफ्नो श्रीमान, परिवार र संसार छोडेर गएको हो भन्ने कुरा थाहा पाउछे उसले । ऊ डाँको छोडेर रुन थाल्छे अनि मूरुछा पर्छे पछारिएर भुईंमा । अनि आमा सँगसँगै सपना पनि आफ्नो खुसी (दशैंको खसी) समाती रहेको डोरी छोडेर आमासँगै रुन थाल्छे । सिंगो घर स्तब्ध हुन्छ र रुवावासी चल्न थाल्छ । यो पालीको दशैं पनि पोहरको दशैं जस्तै भयो सपनाको लागि उही रोदन खसी अनि नयाँ लुगा भएरै पनि । सपना त्यसैले रोईरही दिनभर, कहिले खसीको मुख हेर्दै त कहिले आफ्नो प्यारो बाबाको मुख हेर्दै ।

आज सपनालाई खसी हैन आफ्नो बुबा प्यारो लागेको छ । यदि उसले आफ्नो बाबुको अबस्था बुझेकी भए, अनि दशैंको लागि खसी किन्न कर नगरेकी भए छोरीको खुसीको लागि ज्यानको माया मारेर रामेले काम गर्ने थिएन होला । अनि यो ठूलो घटना हुने थिएन होला । तर बिचरीलाई के थाहा? उसलाई त अरु जस्तै दशैं मनाउनु छ अनि राम्रो लगाउनु छ भन्ने कुरा मात्र थाहा छ । किनकि ऊ सानै थिई अनि अबोध बच्ची थिई ।

(श्रोत :- अन्तर्जाल )

Posted in नेपाली कथा | Tagged | Leave a comment

फरक फरक रुवाई

~मित्र पाठक~

‘नाई, आज म अघाउन्जेल खाने हो’ पाँच दिन अगाडि म सदरमुकाम गएर आएपछि अघाउन्जेल भातै खालास भन्नु भएको होइन ? जाजरकोटको एउटा गाउँमा छोरो बाउसँग रुँदै थियो अघाउन्जेल सेतै भात खान पाउनु पर्छ भन्ने माग राख्दै ………।

त्यति नै बेला राजधानी को एउटा घरमा काम गर्ने नोकर हकारिंदै थियो – ‘पाजी, यत्रो वर्ष काम गर्दा पनि तँलाई अक्कल छैन? मेरो पप्पीले चिकन खाँदैन भन्ने थाहा हुँदा-हुँदै झुक्काएर मटनको ठाउमा चिकन दिन्छ्स, चाँडो मासु-मासु छानेर प्लेटमा राखिदे…. हेर त बिचरा मेरो पप्पी रोइरहेको ……. ।’

आखिर ती रुवाई…. रुवाईहरू नै थिए जेसुकै मागका लागि होउन्…….।

(श्रोत :- अन्तर्जाल )

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मरणच्याँसे मौन भयो

~गीता थापा (दोषी)~

पाँच बर्ष अघि काठमान्डौ पसेको अन्तरे आज आउला भोलि आउँला भन्दभन्दै घर फर्किएन।अन्तरीले भने उसको प्रतिक्षा गरी नै रही । यता अन्तरेले काम केही नपाएर पशुपति छेउमा हात पसारेर माग्न थाल्यो। दिनानुदिन मानसिक तनाबका कारण अन्तरेले आफ्नो चेतना गुमाइसकेको थियो। त्यसैले उसले घरको बाटो भुलेसकेको थियो।

पानी पँधेरो मेलापात जाँदा भेला भएका दिदीबहिनीहरू अन्तरीलाई देख्ने बित्तिकै भन्ने गर्थें, “अन्तरेले शहरमै स्वास्नी ल्याएर मोज-मस्ती गरेको होला, तँ भने यहाँ के दाउरा सुकेको जस्तै सुकेर बस्छेस् है अन्तरी?”

अब त अन्तरीसँग उनीहरूलाई दिने जवाफ पनि थिएनँ। त्यसकारणले गर्दा अन्तरी कुपोषणले बत्तिस मुजा परेको सात बर्षको मरन्च्यासे छोरो च्यापेर सहर पसी। त्यहाँ उसले कोही चिनेको र जानेको थिएन।

लोग्ने खोज्दै हिँड्ने क्रममा अन्तरी सिंहदरवार अगाडि पुगी र केहिबेर त्यहाँ अगाडि उभिएर आफ्नो स्याउले झुप्रो सम्झिदै सिंहदरवारलाई नियाली। उसको मरन्च्यासे छोराले पनि मनमा उथलपुथल भएका सब्दका झटारो आमा समक्ष हुत्यायो, “आमा!हामी यो घरमा बस्न पाइदैन ?”

आमा अन्तरीको जवाफ -”पाईन्छ।”

“कहिले आमा?”

“मन्त्री भएपछि। ”

“त्यो मन्त्री कहिले भइन्छ आमा ?”

“भाषण गर्न जानेपछि।”

“त्यो भाषण कहिले गर्न जानिन्छ आमा?”

“ठुलो भएपछि।”

“अनि म ठुलो कहिले हुन्छु आमा?”

“कुपोषणले छोडेपछि।”

“मलाई कुपोषणले कहिले छोड्छ आमा?”

“अघाउन्जेल खाना पाएपछि।”

“यो अघाउन्जेल चाहिं कहिले खाना पाईन्छ त आमा?”

“जब नेताले आफ्नो स्वार्थभन्दा माथि उठेर हामी जस्ता गरिब दुखीका लागि पनि सोच्ने गर्छन्, त्यसदिन।”

अनि मरनच्यासे आमाको हातको औंला निमोठ्दै भन्छ, “आमा! नेतालाई भेटेर छिटो हाम्रो लागि पनि सोच्नु भनौं न!”

आफ्नो छोराको अन्तिम जिज्ञासा पनि टाउको सुम्सुमाउँदै लामु सास बाहिर फ्याक्दै मेटाइदिन्छे अन्तरी, “त्यो हामीले भनेर हुदैन बाबु । त्यस्ता कुरा त व्यक्ति स्वयमको मनबाट उत्पन्न हुने कुरा हो।”

आमाको त्यो जवाफबाट खै मरनच्यासेले के बुझ्यो मौन भयो।

त्यसपछि अन्तरी मरनच्यासेलाई डोर्याउँदै लोग्ने खोज्ने यात्रामा अगाडि बढी।

(श्रोत :- अन्तर्जाल )

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भारी

~भागीरथी श्रेष्ठ~Bhagirathi Shrestha

आज कवि भुपेनको बिहेको पार्टी । किताब पढ्दापढ्दै झलक्क सम्झन्छु । र्‍याडिसन होटलमा ५ बजे पुग्नुपर्छ मलाई ।

बिहेका पार्टीहरूमा जान तयार हुन नै गार्‍हो । दराज खोल्छु-अनगिन्ती हृयाङ्गरमा झुण्डिएका विभिन्न रङका पार्टीमा जाने सारीहरू छान्न खोज्छु-कुन रङको सारी लगाएर जाउँ ? एकएक सारीहरू छान्दाछान्दा रानी कलरकै भरेको सारी र सारीको सेट निकाल्छु । गहनाको बट्टा निकाल्छु-हीराको सेट लगाउँ कि सुनको सेट लगाउँ ? हीराकै सेट रोजेर अलग्गै राख्छु । तयार भएर श्रीमान्लाई मोटरका लागि फोन गर्छु ।

पार्टीमा पुग्दा ६ बजेको हुन्छ । साथीहरू आइपुगेका रहेछन् । त्यो बिहे पार्टीमा चार/पाँच सय उच्च व्यक्तिहरू, सभ्रान्त परिवारहरू, राजनीतिक नेताहरू, लेखकहरू, सङ्गीतकार, गायक, कलाकार, डाक्टर, इन्जिनियर, प्रोफेसर, वकिल, समाजका विभिन्न तह तप्काका व्यक्तिहरू सम्मिलित भएका हुन्छन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँध्यारो/उज्यालो

~गोपालचन्द्र भट्टराई~

छोराको तेह्र दिने काजकिरिया हिजो मात्र सकियो । घरमा आउने-जाने मानिसको हूल अब रहेन, बिहान एकछिन तेह्र दिनभरि भएको खर्चको हिसाब-किताब सम्झाउन छिमेकी नरेशमान आएको थियो । ऊ पनि गएपछि बूढा दिनभरि आफ्नो कोठाबाट बाहिरै निस्केनन् । साह्रै खुम्चेजस्तो, हातखुट्टै कक्रिएजस्तो भएपछि बेलुकीपख भने उनी एक्लै टहल्न भनेर बाहिर निस्के ।

तर उनलाई कहीँ कतै जान मन लागेन- एक्लै कहाँ जानु र ? सूर्य पश्चिमी क्षितिजमा अस्ताइसकेको देखेर उनको मुटु ढुकढुक भयो । एउटा अत्यासलाग्दो लामो मुख ‘आँ’ गर्दै सारा चराचरलाई निल्न उद्यत् भएर दौडँदै आफैँतिर आइरहेझैँ लाग्यो । रातसँग कृष्णध्वजलाई त्यसैत्यसै डर लाग्छ- उनको आफ्नो मनको निस्पट्टता, निशब्दता, निरवता र निस्सारता रातको अनन्त फैलावटसँग जब एकाकार हुन्छ, उनलाई ऐँठन भएजस्तै हुन्छ, उकुसमुकुस र ऐँ ऐँ हुन्छ- होसहवास गुम भएर उनी विक्षिप्तजस्तै बन्छन् । आउँदै गरेको यो भयङ्कर रात सम्झेर उनको शरीरमा काँढा उम्रन्छन् र आत्तिएझैँ उनी घरतिर लम्कन्छन् मानौँ उनी रातसँग भाग्न खोज्दैछन् तर पाइला त्यति छिटो चालिँदैनन् र विस्तारै हिँड्छन् एउटा एमानको तौल खुट्टामा बाँधिएझैँ गरेर । कति फूर्तिला थिए उनी, छरछिमेकीहरू भन्थे ‘छोरोभन्दा बाउ तन्नेरी र जोसिला छन्’ तर कसले, कहिले र किन हर्‍यो उनको त्यो जोस र फूर्ति ?

उनी लर्खराउँंदै घरभित्र पसे । छेउको कोठाको ढोका अलिकति खुल्लै थियो, विनाउद्देश्य उनले ढोका अलिकति अरू खोले र भित्र हेरे – भित्रबाट उनकी श्रीमती र विधवा बुहारीले उनलाई टुलुटुलु हेरे । दुखियाको दुःख दुखियाले बुझ्छ – कसैले केही बोलेनन् तर सबैले, सबैको कुरा बुझे । कृष्णध्वजले बुहारीको दुर्दशायुक्त स्वरूपलाई केहीबेर आँखा टिकाएर हेरे … त्यति चञ्चल, सुन्दर र हँसिली उनकी बुहारी कति बिघ्न दुब्लाइसकिछ, कति पहेँलो, कान्तिहीन र शुष्क भएको उसको अनुहार, सफेद वस्त्रमा बेरिएको उसको शरीरमाथि जिङ्रिङ्ग जगटा फिँजिएको कति नसुहाउँदो लागेको । उनले बुहारीलाई धेरैबेर त्यसरी हेरिरहन सकेनन् र केही चल्मलाउँदै आँखा कोठा वरिपरि घुमाए । “बुहारी त्यो आसन यता ओछ्याइदेऊ” अत्यन्त झिनो स्वरमा उनकी श्रीमतीले बुहारीसँग बोलिन् । कृष्णध्वजले आफ्नी श्रीमतीतर्फ हेरे- सजीवताको नाममा केही पनि नभए जस्ती र सारा जिन्दगीको रसिलोपन सुकेर खोष्टिएकीजस्तो देखिने उनकी श्रीमती उनका लागि बस्ने आसनको प्रबन्ध गर्दै थिइन् । बुहारीमा कुनै उत्साह, फूर्तिलोपन वा ससुरालाई देख्नेबित्तिकै उनले अपनाउने गरेको सतर्कता वा अदवको कुनै अंश छैन, ओठ वा अनुहारमा कुनै …भावभङ्गीमा छैन- मानाँै उनी जिन्दगीसँग थाकिसकेकी छन्, पाकिसकेकी छन् । बसीबसी थकित र यन्त्रवत् चालले उनले अलि परको पराले आसन अलि पर सारिन् र चुपचाप स्थिर भइन् । कृष्णध्वजले के गर्ने कसो गर्ने केही मेसो पाएनन् र एकछिन ढोकामै अन्य मनस्क भावले उभिइरहे । श्रीमतीले ‘बस्न खोजेको होइन ?’ भन्ने आसयको दृष्टिले लोग्नेलाई हेरिन् र अन्योलमै कृष्णध्वज त्यस आसनमा बसे ।

तर खै के बोल्नु ? अरू केही कुरा गरौँ भने यस्तो गम्भीर र डम्म पीडा भरिएको वातावरणमा असङ्गत लाग्छ, फेरि त्यस्तो अरू नै केही कुरा उनको दिमागमा तयार पनि कहाँ छ र ? छोराकै कुरा गरौँ भने पनि कुन चाहिँ प्रसङ्ग कसरी निकाल्नु ? तीनै जना बसेर रुन थाल्नु कि, छोराको कुनै रमाइलो प्रसङ्ग निकालेर खुसी हुन बल गर्नु ? कृष्णध्वज झन् अन्योलमा परे । एउटा बडो असहज मौनता छायो कोठामा । उनलाई के गरौँ र कसो गरौँ जस्तो असुविधा भयो र उनी जुरुक्कै उठे । फेरि पनि कसैले केही बोलेन बरु दुवैका आँखाले प्रश्नवाचक आसयले बूढालाई पछ्याए । बूढाको होस सुद्धि केही भएन र ढोका खोलेर फुत्त बाहिर निस्के ।

बूढा भित्र किन आएका हुन्, किन केही बोलेनन् र किन तुरुन्तै बाहिर निस्के भन्ने कुरा सासू बुहारी दुवैले बुझे । बूढाले भोग्दै गरेको असहृय दर्द उनीहरूले पनि महसुस गरे तर उनीहरू एकअर्कालाई हेर्ने साहस गरेनन् र त्यसै शिर निहुराएर सुख्खा भइसकेका आँखाबाट पुनः बररर आँसु खसाले ।

कृष्णध्वज भने माथिल्लो तलामा चढे फेरि पनि विनाउद्देश्य । माथ्लो तलाको पहिलो कोठाको ढोका अगाडि टक्क अडे उनी । उनलाई ढोका खोलेर भित्र पस्ने आँट तुरुन्तै आएन । यो उनको स्वर्गीय छोराको कोठा थियो तर उनले आफैँलाई रोक्न पनि सकेनन् र विस्तारै ढोका खोले । उनको शरीर सिरिङ्ग भयो एकपटक जब उनको छोराको ठूलो तस्बिरले अगाडि टेबलबाट एकटकसँग उनैलाई हेरिरहेको पाए । कति उज्यालो, हँसिलो र बोलिहालौँला जस्तो तस्बिर । केश छोटो गरी काटेको, ठूलो निधार, तेजयुक्त मुखाकृति र चम्किला आँखा, शारीरिक व्यायामले सुगठित बनेको शरीरमा चटक्क मिलेको सैनिक पोसाक लगाएको उनको आफ्नै छोराको तस्बिर !तर कठै, यति दुरुस्त र लायकको देखिने छोरो अब उनीसँग छैन, यो दुनियाँमै छैन । एकटकले तस्बिर हेर्दाहेर्दै बूढाले झण्डै आफ्नो सन्तुलन गुमाए र लड्न खोजे । उनले आफैँलाई सम्हाले र लड्नबाट त बचे तर उनको सारा शरीर लुलो र गिलो भएझैँ लाग्यो उनलाई र थचक्क छोराकै पलङमा बस्न पुगे ।

कोठामा हल्का अँध्यारो प्रवेश गर्न खोजिरहेको थियो, अलिकति खुलेको झ्यालबाट हावा छिरेर पर्दा हल्लिरहेकोले निस्किएको एउटा अरू चिकर फटफट आवाजबाहेक कोठामा नमिठो शान्ति छाएको थियो । बूढाले सर्सर्ती कोठा हेरे – हृयाङ्गरमा झुण्ड्याइएका छोराका लुगाहरू, छोरोले सुन्ने गरेको क्यासेट प्लेयर, छोरोले पढ्ने गरेका टेबलका केही किताबहरू, उसले बोक्ने गरेको झोला, उसका दुई जोर जुत्ताहरू … । बूढाले हेर्न नसकेर आँखा चिम्म गरे र धेरैबेर गरिरहे ।

तीन वर्ष अगाडि एकदिन अचानक क्याम्पसबाट फर्किएर छोरोले उनलाई भनेको थियो “बुबा, सैनिक अधिकृतमा भर्ना खुलेछ, मैले त र्फम भरेर आएँ ।” आफ्नो छोरो सैनिक अधिकृत हुने लायकको भइसकेछ, उनले त यादै नगरेका । कृष्णध्वज खुसी भएका थिए तर त्यसदिन बेलुका खाना खाने बेलामा उनकी श्रीमतीले यो कुराको ठाडै विरोध गरिन्, “कहाँ हुन्छ, देश दुनियाँमा आगो सल्किरा’छ, गोला बारुद चलेर मान्छे नमरेको दिन छैन, आफ्नो एउटा भाको छोरो, म त कुनै हालतमा जान दिँदै दिन्न ।” उनको यो डर अनावश्यक ठानेर दुवै बाबुछोरा एकपटक हाँसेका थिए र बाबु छोरा भएर धेरै बेर उनलाई सम्झाएका थिए । बूढीले सम्झिरहेकी थिइनन् र कुनै हालतमा मानिरहेकी थिइनन् तर छोराको जिद्दी र बाबुको स्वीकृतिका अगाडि उनले केही गर्न सकिनन् र हार खाएर छोडिदिइन् । उफ, कति जाति हुन्थ्यो उनको कुरा बाबुछोराले मानिदिएको भए !

नभन्दै ऊ सैनिक अधिकृत भयो, तालिम सक्यो र काठमाडौँ बाहिर खटेर गयो । यद्यपि कतिखेर के होला भन्ने डर मनमा रहिरहन्थ्यो बाबुआमाको तर छोरोेले “यत्रो लाखौँको फौजमा तपाइँहरूकै छोरोलाई चैँ कसले ताकीताकी गोली हान्छ र ?” भनेझैँ आखिर केही पनि भएन छोरोलाई । बरु बाबुआमालाई बडो गर्व लाग्दै गयो आफ्नो छोरो बेलैमा इलममा लाग्यो, त्यही पनि सरकारी अफिसर भएर भन्ने सम्झेर । अझ सात महिनाअघि ऊ बिदामा आउँदा जब उनीहरूले छोरोको विवाह पनि धूमधामसँग गरे र एउटी सुन्दर र सुशील बुहारी घर भित्र्याए – उनीहरूलाई लाग्यो उनीहरूको परिवारलाई भगवान्ले सबै कुरा पूरा गरिदिए ।

अनि आयो त्यो कालो रात जब कालिकोटको पिलीमा रहेको सैनिक बेशमा लडाकुहरूले आक्रमण गरे र धेरैको साथमा उनीहरूको छोरोलाई पनि गोली लाग्यो । आखिर लाखौँको फौजमा पनि उनीहरूको छोरोलाई गोली लाग्यो र वीरगति प्राप्त गर्‍यो ।

कृष्णध्वजले आँखा चिम्लिरहेकै थिए एक्लै छोरोको कोठामा बसेर ।

“बुबा, सुतिसक्नु भएको ?” छोराको स्पष्ट आवाज अचानक उनको कानमा परेझैँ लाग्यो र झसङ्ग भएर आँखा खोल्दै यताउति हेरे उनले तर उही उजाडउजाड कोठा, उही पर्दाको झर्कोलाग्दो फट्फट् आवाज, उही गुम्म पीडा भरिएको परिवेश । बूढाको आँखा फेरि छोरोको फोटोमा परे- उनले हेरिरहन सकेनन्, आँखा धमिला भए, प्लावित भए र लगातार बग्न थाले । एकछिनसम्म त चुपचाप आँसु खसाए तर त्यतिले पुगेन उनलाई र तकियामा घोप्टो परेर क्वाँक्वाँ रोए ।

बुहारी माइत गएको दुई महिनाभन्दा बढी भयो । तेह्र दिनको काम सकेको भोलिपल्टै उनको दाइ लिन आएका थिए । जब बुहारीले, “दाइ लिन आउनु भएछ, म के गरौँ ?” भनेर सोधेकी थिइन्, बूढाबूढी एकपटक झस्केका थिए, आफ्नो अगाडिको अजङ्गको एक्लो र सुनसान भविष्यको कल्पना गरेर हतास भएका थिए तर बुहारीलाई कसरी रोक्न सक्थे र उनीहरू ? बिदा गरेर पठाए । त्यति कलिलो उमेरकी बुहारी सेतो वस्त्रमा बेरिएर लुखुरलुखुर दाइको पछि लागेर हिँडेकी बूढाबूढीले हेरिरहे- यस्तो लाग्यो उनीहरूको आफ्नै छोरो उनीहरूबाट टाढाटाढा गइरहेछ- त्यतिखेर बूढाबूढी पिँढीमा टक्र्‍याकटुक्रुक बसेर फेरि रोएका थिए ।

दुई जना बूढाबूढी मात्र भएको त्यति ठूलो घर र त्यो घनघोर एकान्त अनि जतिखेर पनि रोइरहन पुग्ने छोराका सम्झनाहरू । समयको गति तर जे भए पनि रोकिएन । दिन बित्दै गए, बूढाबूढी पनि विस्तारै तङ्गि्रएर दुनियाँदारीमा संलग्न हुँदै गए । बूढा खानेपानी संस्थानका सुब्बा- दिउँसो अफिस जान थाले । बूढी घरमै धानधान धुनधुन गर्थिन् । जब अफिस छुट्टी हुन्थ्यो, बूढा हतारहतार घर पुग्थे बूढीलाई अत्यास लाग्यो होला भन्ने सम्झेर । त्यसो त बूढीको छेउमा नपुगुञ्जेल उनी आफैँलाई अत्यास लाग्थ्यो । डुब्न लागेको मानिसले परालको त्यान्द्रो भेटे पनि जोडले समातेभैं”m यो संसारमा एक्लो भएका बूढाबूढीले एक आपसलाई बलियो गरी समातेका थिए ।

एक दिन अचानक सैनिक मुख्यालयबाट फोन आयो । कृष्णध्वजलाई भोलिपल्ट दस बजे त्यहाँ आउन भनियो । किन हो, कसो हो, केही नबुझेकोले छिमेकी नरेशमानसमेतलाई साथ लगाएर भोलिपल्ट उनी समयमै बोलाइएको ठाउँमा पुगे ।

तर उनले देखे उनीभन्दा पहिल्यै उनकी बुहारी र बुहारीको दाइ त्यहाँ पुगिसकेका रहेछन् । धेरैपछि बुहारीलाई देख्दा कताकता एउटा झिनो सुखको महसुस भयो उनलाई ।

त्यहाँका सैनिक अधिकारीले भनेपछि पो थाहा भयो बोलाइनुको कारण । छोरोले शहादत प्राप्त गरेकोमा राज्यका तर्फबाट दिइने क्षतिपूर्तिको रकमका लागि बुहारीको तर्फबाट आवेदन परेकोले उनलाई पनि सोको जानकारी दिन वा यसबारेमा उनको के राय छ ? बुझ्नलाई बोलाइएको रहेछ । उनले त यस बारेमा सोचेकै रहेनछन्- उनी छक्क परे तर बुहारीले आफूलाई एकपटक पनि नसोधी यति हतार गरेर किन त्यो रकम झिक्न खोजेकी होलिन् ? बुहारीप्रतिको कृष्णध्वजको दृष्टिकोण हलुका धमिलो भयो अहिले ।

कृष्णध्वज वास्तवमा अलमल्ल परे । उनीसँग प्रस्तुत गर्नलाई तयारी राय नै भएन । के भन्नु ? त्यहाँका सैनिक अधिकारीलाई बुहारीलाई त्यो पैसा नदेऊ भन्नु कि, त्यो मैले मात्र पाउनुपर्छ भन्नु कि- नियममा कस्तो छ- अरूले कसो गर्छन्- उनले आफ्नो तर्क निर्माण गर्नै सकेनन् तर बूढा चुपचाप लागेको देखेर बरु नरेशमानले विरोध जनायो ।

“हैन मेजरसाब, बुहारीको तर्फबाट त्यो रकमका लागि आवेदन पर्दैमा उनैलाई दिने निर्णय भयो भने त बाबुआमाप्रति पूरापूर अन्याय भइहाल्यो नि । मलाई थाहा भएसम्म बुहारीले सासूससुरासँग यसबारेमा कुरा पनि गरेकी छैनन्- यस्तो कसरी हुनसक्छ ? यत्रो वर्ष जम्माएर, हुर्काएर, पढाएर, बढाएर जागिर खान योग्य बनाउने बाबुआमा, अनि अहिले राज्यले क्षतिपूर्तिचैँ छ/सात महिना अगाडि सम्बन्ध जोडिएकी बुहारीलाई दिने – कस्तो नियम हो यो ?”

तर नरेशमानले बोलिसक्न भ्याएको पनि थिएन, बुहारीको दाइले कडा प्रतिक्रिया दिइहाले, “ए त्यसो भए मेरी बहिनी छ/सात महिनाअघि मात्र त्यो घरसँग सम्बन्धित भइन् भन्दैमा उनी स्वर्गीय रणध्वज खत्रीकी पत्नी नै होइनन् भन्न खोजेको ? पतिको सबैभन्दा नजिकको हकदार भनेकै पत्नी हो, उसले नपाएर कसले पाउने त क्षतिपूर्ति ? एउटी विधवालाई आफ्नो खाइजीविकाको लागि सरकारले दिएको क्षतिपूर्ति हो यो, कसैले लोभी नजर नडुलाए हुन्छ ।”

कृष्णध्वजलाई बुहारीका दाइका शब्दहरूले तीक्ष्ण तवरले घोचेजस्तो भयो- उनको अनुहार अचानक उत्तेजनाको प्रवाहले रातो भयो र उनले तीखा आँखाले बुहारीका दाइलाई हेरे- तैपनि केही बोल्न सकेनन् वा बोलिहालेनन् ।

नरेशमानले नै जवाफ फर्कायो, “त्यसरी जथाभावी नबोल्नुस् दाइ लोभी नजर डुलाएको भनेर । तपाइँकी बहिनी रणध्वजकी पत्नी थिइनन् भनेर कसैले भनेको छैन ।” उसले फेरि मेजरतर्फ फर्किएर भन्यो, “यो तर्कातर्की गर्ने कुरा हैन मेजरसाब, थपक्क त्यो रकम मृतकका बाबुआमालाई दिनुपर्छ, बुहारी सासूससुरासँग बस्छिन् भने उनले पनि त्यसको भोग गर्छिन्- होइन भने त्यसमा बाबुआमाको बाहेक कसैको अधिकार हुन सक्दैन ।”

बुहारीका दाइ फेरि पड्किए, “मेरी बहिनी कहाँ र कोसँग बस्छिन् भन्ने कुराले यो रकम उनले पाउने वा नपाउने कुरासँग केही सम्बन्ध राख्दैन- उनी मसँगै बस्छिन् र क्षतिपूर्तिको रकम पनि उनैले पाउँछिन्, हेरौँ कसले के गर्न सक्दोरहेछ … ।”

नरेशमानलाई पनि बुहारीका दाइका तीखा, चुनौती दिनेखालका र रिस उठ्दा कुरा सुनेर झोँक चल्दै गयो र उसले पनि कडा प्रतिवाद गर्दै गयो । दुवैबीच घमासान चर्काचर्की र वाक्युद्ध चल्न थाल्यो तर क्षतिपूर्तिको रकमका मुख्य हकदारहरू ससुरा र बुहारी दुवै चुपचाप रहे । बुहारी त घोसेमुन्टो लाएर बसिरहिन् तर ससुरा भने रिस, ग्लानिबोध, अपमानबोध, आफ्नो तार्किक असक्षमताबोध र यो हठात परिस्थितिको सामना आदिको कारण अज्ञात उत्तेजनाभावले रातो भएको अनुहार लिएर किंकर्तव्यविमूखरूपमा प्रस्तोताहरूको तर्क सुन्दै र त्यसको प्रतिक्रिया मेजरमा हेर्दै गरिरहेका थिए ।

साँच्चै यो पूरै वादविवादको अवधिभर कृष्णध्वजले केही बोल्न सकेनन् । उनलाई आफ्नो छोराको मृत्युसँग सम्बन्धित यति गहन र संवेदनशील विषयलाई तुच्छ पैसासँग सम्बन्धित बनाएर अत्यन्त निम्नकोटिको किचलो र झगडा भइरहेको अनुभव भइरहेको थियो ।

उनलाई बुहारीका दाइका शब्दहरूले क्षुब्ध र मर्माहत त बनायो नै तर त्योभन्दा बढी यो सारा वादविवाद नै उनलाई अत्यन्त घीनलाग्दो लाग्यो । छोरो मरेको छ आफ्नो, आफ्नो मृत छोराको मूल्य तोक्छ अर्कै कोही र त्यो मूल्य मेरो हो भनेर दावी गरिरहेछ अर्कै कोही । आफ्नो छोरोको मृत्यु वा शहादतको यो हदसम्मको निकृष्ट अवमूल्यन भएको बोध भएर उनलाई खपिनसक्नु पीडाको अनुभूति भयो ।

अबचाहिँ अति नै भयो । उनलाई एकैछिन त्यहाँ बसिरहन मन लागेन । उनलाई त्यो क्षतिपूर्तिको रकमप्रति पहिलेदेखि नै कुनै आशक्ति वा लगाव पनि थिएन र त्यसका लागि अहिले यहाँ कुनै दावी प्रस्तुत गर्न पनि मन लागेन । यहाँ अरूकै स्तरमा गिरेर यो किचलोमा सम्मिलित हुनु भनेको उनलाई छोराको लाश काटेर भाग लगाउँदै बेचेको जस्तो र आफू पनि त्यसैमध्येको एउटा भाग लिन खोसाखोस गरिरहेकोझैँ हुन्छ होलाजस्तो लाग्यो र उनी आफ्नो सिटबाट अचानक जुरुक्क उठे । उपस्थित सबैले प्रश्नवाचक दृष्टिले बूढालाई हेरे, बूढाले काँपेको स्वरमा बलैले केही शब्दहरू निकालेर अडी अडिकन भने, “मेरो अमूल्य छोरो मरेर गयो, … यो जावो रकमले कुनै अंश पनि उसको क्षतिपूर्ति गर्दैन मेरो लागि, मलाई चाहिँदैन यो, जसलाई दिनु पर्ने हो दिए हुन्छ तर बिन्ती मेरो छोरोको बलिदानलाई बगरेको मासुजस्तो सस्तो नबनाइदिनुस्, मलाई असहृय हुन्छ … ।” यति भनिसक्न बूढालाई हम्मेहम्मे पर्‍यो उनका आँखाबाट आँसुका थोपा खसे र आँसु पुछ्दै कसैको प्रतिक्रिया नपर्खी सरासर ढोकाबाट बाहिर निस्किए ।

साँझपख हैरान भएर कृष्णध्वज घर पुगे । शोकबाट बल्लबल्ल तङ्गि्रएका उनलाई यस घटनाले पुनः तीव्र शोकमा डुबायो । बूढाले सबै कुरा श्रीमतीलाई सुनाए । उनीहरू दुवैको खाटा बस्दै गएको घाउ कसैले निर्दयतापूर्वक गिजोले जत्तिकै भयो । बूढाबूढीहरू आज पनि धेरैबेर रोए ।

राति बूढालाई पटक्कै निद्रा लागेन । उनलाई कताकता आफूले गल्ती गरेजस्तो लाग्यो त्यो रकमका लागि आफूले दाबी नगरेकोमा । उनलाई लाग्यो त्यो रकम उनको छोराको मृत्युको क्षतिपूर्ति नभएर छोराको सम्झनास्वरूप प्राप्त हुने छोराको नामको अन्तिम चिनो थियो, त्यस रकमको हरेक आनाआना, सुकीसुकीमा छोराको आत्मा समाहित थियो, छोराले देशको लागि गरेको बलिदानको लागि राज्यका तर्फबाट दिइएको सम्मान थियो त्यो … । उनलाई धेरै छटपटी भयो व्यर्थै भावावेशमा आएर त्यो रकम लिन वा त्यसका लागि मागदावी गर्न अस्वीकार गरेकोमा । उनले कोल्टे फेर्दै पूरै रात सुस्केरामा बिताए ।

त्यो राशिलाई कुनै काममा लगाएर, त्यसैको अभिवृद्धिका लागि आफ्नो बाँकी जिन्दगी बिताउन पाएको भए आफू बाँचिरहनुको अलिकति सार्थकता पनि हुन्थ्यो र आफ्नो छोरो पनि सधैँसधैँ आफैँसँग भए जस्तो हुन्थ्यो तर उनले ठूलो गल्ती गरे । अब त त्यो रकम बुहारीको हातमा परिसक्यो होला, बुहारीले गुटुमुटु पारेर लगिसकी होली …। ठूलो पश्चातापबोधले बूढालाई कर्‍याप्पै समात्यो, यस्तो लाग्यो उनलाई कि छोरालाई जवर्जस्ती एउटा हातमा तानेर बुहारी र उसको दाइ अनन्त अन्धकारतर्फ घिसारिरहेछन्, छोरोले आफूलाई बचाउन याचना गर्दै बाबु भएतर्फ अर्को हात फैलाइरहेछ तर उनी छोरालाई बचाउने कुनै प्रयास नगरी चुपचाप हात बाँधेर यो दृश्य हेरिरहेछन् । एउटा भयानक अपराध बोधले बूढालाई रातैभरि आगोको भुङ्ग्रोमा तड्पिएजत्तिकै भयो ।

बिहानीपख एकछिन आँखा लागेको थियो, उठ्ने बेला भइहालेछ । बूढा उठेर बाहिर बरण्डामा आए र त्यहीँ बसे । बूढीले चिया लिएर आइन्, दुवै जना बसेर चिया पिउँदै चुपचाप बसिरहे ।

पूर्वी क्षितिजबाट रातो सूर्यको किरणहरूले सारा जगत्लाई अभिषेक गरिरहेझै लागिरहेको थियो । बिहानीपखको चीसो हावा सरसर बगिरहेको थियो र त्यस हावामा नयाँ ताजगी र फूर्तिका साथ वरपरका रूख बिरुवाहरू हल्लिरहेका थिए । बूढाबूढीको चकमन्न संसारमा पनि कताकता प्रकृतिको यो विशेष छटा र विलासपूर्ण रवैया धक मानीमानी भए पनि उनीहरूतर्फ लम्किरहेझैँ लागिरहेको थियो ।

अचानक घरको छेउको बाटोमा उनीहरूले देखेकी उनीहरूकी बुहारी आइरहेकी छिन् । बूढाबूढीले छक्क परेर एकअर्कालाई हेरे- उनीहरूमा अनायास एउटा सुखको सञ्चार भयो ।

उनीहरूकी बुहारी साँच्चै घरमा आइन्, दुवैलाई ढोग गरिन् र उनीहरूसँगै बसिन् । तिर्खाले आकुल भएर मरुभूमिमा भांैँतारिरहेको बटुवाले पानीको मुहान भेटेझैँ बुहारीको उपस्थिति र सामीप्यले उनीहरूलाई हुनसम्मको सन्तुष्टि र सुख प्राप्त भएझै भयो । बुहारीले सबै कुरा बताइन् ।

उनका दाइ एकदम जँड्याहा रहेछन्, घरमा सबैका लागि समस्या बनेका । सरकारले क्षतिपूर्तिबापत बहिनीलाई रकम दिन्छ भन्ने कताकताबाट थाहा पाएर त्यही रकम हत्याउन बहिनीलाई लिएर गएका रहेछन् उनले । रकम आज मात्र दिने भनेको रहेछ तर दाइको चाला ठीक नदेखेर उनी बिहानै यता आएकी रहिछन्, यहीँबाट त्यता जाने र त्यो रकम यतै ल्याउने भनेर ।

बूढाले अनन्त राहतको अनुभव गरे । छातीमा थिचिरहेको एमानको ढुङ्गा अचानक आफैँ पल्टिएर गएझैं भयो उनलाई ।

बुहारीले गम्भीर भएर विस्तारै भनिन्, “हजुरहरूको छोरा छैनन्, मेरो बुबा आमा छैनन्- म हजुरहरूकै छोरी भएर बस्छु ।” उनका आँखाबाट आँसुका थोपाहरू खसे, बूढाबूढीको त मानौँ सम्पूर्ण अस्तित्व नै पग्लियो, कोसी-गण्डकीझैँ बगिदिए उनीहरू । बुहारीले फेरि भनिन् “हजुरहरूको नातिलाई म हजुरहरूबाट छुट्याएर राख्न पनि कसरी सक्छु र ?”

“हँ !” बूढाबूढीलाई त मानौँ बिजुलीको झट्का लाग्यो, उनीहरू जुरुक्कै उठे । हठात् आइलागेको अपरम्पार खुसीको थामी नसक्नु बोझले लगभग असन्तुलित भए र भावावेशमा बुहारीलाई च्याप्पै समातेर अँगालो हाले ।

(श्रोत :- मधुपर्क असार २०६७  )

Posted in नेपाली कथा | Tagged | Leave a comment