नभाँचिने लौरो

~कुसुम ज्ञवाली~

“हेर्नुस ! कमरेडहरु हामी लोकतान्त्रिक बन्न व्यवहार पनि लोकतान्त्रिक हुनुपर्छ । मार्क्सवाद व्यवहारपरक दर्शन हो । व्यवहारमा उतारेर मात्र लोकतन्त्रलाई सफल बनाउन सकिन्छ ………. ।” सहभागीहरुले कमरेडका कुरा तालिले समर्थन गरे । “लोकतन्त्र भनेको समानता, पारदर्शीता, र सुशासन पनि हो । यो राजनैतिक कुरामात्र होइन । हामीले सरकार सञ्चालन गर्दा हामी एउटा पार्टीको प्रतिनिधिको रुपमा मात्र आफूलाई हेर्नु हुँदैन । आफू मन्त्रालयमा रहँदा हामी सिङ्गै देशको प्रतिनिधि हो भन्ने संझनु पर्छ । हामीले बिचार, आस्था, लिङ्ग जात, भाषा सम्प्रदाय कसैलाई पक्षपात गर्नु हुँदैन । विशाल हृदय वनाउनु पर्छ ……. ।” कमरेडको भाषणाले सबै गम्भिर भए । ” जोसँग व्यवसायिक क्षमता छ त्यसलाई जिम्मा दिनुर्पर्छ ।” कमरेडले भनेका कुरामा प्रशिक्षणमा आएका कसैले विरोध गरेनन ।


“ए हजुर त्यो गोविन्देले बनाएको पारी गाउँको कुलो दुई महिनामा भताभुङ्ग भयो । भरत कमरेडले ठेक्का लिएर बनाएको माथ्लो गाउँको कुलो १० वर्षभयो एक ठाउँमा पहिरो गा’छैन । कामको गुणस्तर हेर्नु पर्दैन हजुर ! सबै पार्टीलाई समेट्न, अर्को पार्टीको मान्छेलाई पनि समान अवसर दिन्छौं भन्ने सन्देश दिने नाममा त्यस्ता ठग ठेकेदारलाई काम दिन उपयुक्त होला त ? ठगलाई कालोसूचीमा हालेर पो कारबाही गर्नु पर्ने होइन त हजुर ।” कान्छी श्रीमतीले कमरेडको भनाई र गराईको बीचको भिन्नतालाई विरोध गरिन ।


“हेर कान्छी आफ्नै पार्टीका इमान्दार कार्यकर्तालाई काम दिनुहुन्न । तीनलाई काम दिंदा कमिशन माग्यो भने मात्र पनि पार्टी कुरा उठ्छ । अनि राजनीति डामाडोल हुँदैन ? अर्को पार्टीलाई ठगनै भए पनि काम दिंदा कमिशन पनि दिन्छ । पार्टीमा कुरा पनि उठ्दैन । पत्रकारले छापे भने “पार्टीको इमेज बिगार्न अर्को पार्टीले षडयन्त्र गरेको भन्यो बच्यो । साँप पनि मर्ने लौरो पनि नभाँचिने ! बुझिस । कान्छी !” कमरेडको अनुहारमा कुटिल मुस्कान देखा पर्‍यो ।

(श्रोत :- अन्तर्जाल अर्थात Internet)

Posted in लघुकथा | Tagged | Leave a comment

साँघुरो

~कुसुम ज्ञवाली~

त्यतिखेर मेरो कोठा साँघुरो थिएन । म सङ्ग खाट, पलङ वा दराज थिएन । म सङ्ग गाडि, मोटरसाइकल वा साइकल पनि थिएन । कोठामा सोफा, कुर्ची, टेबल, टुल नहुदा मेरो कोठा रित्तै थियो तर पनि उ मेरो कोठामा जुनैबेला पनि बारम्बार आइरहन्थ्यो, भुइँमा फ्यात्त बस्थ्यो र जान्थ्यो ।
उसकालागि सुत्न भनेर मैले महँगो मुल्य तिरेर गजबको पलङ किनेँ । उसैले सजिलोसंग बस्न सकोस भनेर मैले मुलायम सोफा किने। उसकै सजिलोको लागि कुर्ची र टेवलहरूको ब्यबस्था गरेँ ।
उ भान्सामा पनि जान्थ्यो, मन लागुन्जेल बस्थ्यो । उतिबेला भान्सा पनि उस्तै खालि-खाली थियो । उतिबेला म संग ग्यास चुलो वा किचेन -याक वा डाइनिङ टेवल केहि पनि थिएन । नरम बस्ने कुसनवाला कुर्ची वा त्यस्तै विलाशका कुनै सामग्री थिएनन् । मैले उसकै लागि डाइनिङ टेबल कुर्ची कुसन लगायतका सामग्री किनेँ ।
कोठामा सर सुबिधाका सामग्री थुप्रिदै जाँदा-जाँदा कोठा साँघुरो हुदै गयो । सामग्री दिनदिनै थपिँदै गए, एक पछि अर्को उसकालागि यहाँ सम्म कि अोभन, वासिङ मेसिन, फ्रीज र एसी सम्म पनि कोठामा भित्रीए । एक दिन कोठा यति सम्म साँघुरो भयो की उ स्वयम कोठामा अटाउन सकेन । उ मेरो जीवनको चीर सुख थियो। उसको वियोगको पिडामा म पुन अरू थप सामग्री कोठामा जोड्ने तैयारीमा छु ।
(श्रोत :- अन्तर्जाल अर्थात Internet)

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शहीदले बिर्सेको गाउँ

~कुसुम ज्ञवाली~

भीरमुनि खोरियामा आइपुग्दा जिपको टायर पञ्चर भयो । झमक्क साँझ परिसकेको थियो । परपरसम्म कतै घर नदेखेपछि म उकालो लागेँ । एक त भरखर-भरखर मोटाएको मान्छे, त्यसमाथि नयाँ गाडी किनेदेखि हिँड्न भनेपछि मरेतुल्य हुन्छु । एउटा झुप्रोमा पिलपिले बत्ती देखेर बोलाएँ ।
“आमा, भित्र को हुनुहुन्छ ?” बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

स्वाभिमानी कवि

~कुसुम ज्ञवाली~

“आँखा बाँधेर बन्दुकका कुन्दाले हिर्काउँदा करङ भाचिएको छ। म सोझो गरी बस्न सक्तिन। आन्द्रामा घाउछ, लठ्ठि कोचेर यातना दिए, दिशा बस्न पनि असहज छ। टाउकोमा चोटैचोट बेहोस हुने गरी कुट्थे हरेक दिन। ती टाटेपाटे कपडा लगाउने जल्लादहरूले। मेरा दाँत भाँचिदिए, हात भाँचिदिए, खुट्टा भाँचे तर मेरो स्वाभिमान भाँच्न सकेनन्।” आदरणीय विद्रोही जनसमुदायको जीत भएपछि आज म रिहा हुन पाएँ। अरू केही महिना म जेलमै रहेको भए म ज्यूँदो रहने थिंईन। “दोसल्ला ओढाइएका सम्मानित कवि विप्लवको भाषणमा जीवनका हृदय विदारक भोगाई अभिव्यक्त भइरहँदा दर्शक दीर्घाका गहभरी आशु थिए। केही युवा दर्शकका आँखामा आक्रोशको आगो बलेको थियो।”

“केही कार्यकर्ताले विप्लवलाई राष्ट्रले सांस्कृतिक विभागलाई लोकतान्त्रिकरण गर्ने जिम्मा दिनुपर्ने माग राखे। ठूला नेताले आफूले सत्ता सम्हालेपछि विप्लवलाई ठूलो जिम्मा दिने घोषणा गरे। सत्ताका अनुहार परिवर्तन भए, जेलमा बस्ने कुर्चीमा बैंसे। पहिले कुर्चीमा बसेका नयाँ नेताका प्रवक्ता बने। नयाँ नेतृत्वको भयानक तारिफ भयो। ठूलठूला वक्तव्य र प्रचारबाजी भए पत्रिकाहरूले विशेषाङ्क निकाले। बडा नेतालाई तारिफ र वन्दना नगर्न सञ्चार माध्यम कुनै भेटिएन। समग्र कर्मचारी संयन्त्र नै आफ्नो भए जस्तो देखिन थाल्यो बडा नेतालाई तपाइहरू कसरी हाम्रो पाटीमा समाहित हुन भयो?” भनेर, बडा नेताले सोध्दा, “विचारको विजय हो, कमरेड! तपाई जस्ता युगश्रष्टाले देश हाँक्नु पर्छ बुझ्नुभो हामीले जहिले पनि नयाँ कुरालाई स्वीकार गरेर आफूलाई फेर्नुपर्छ भन्नै कुरा हजुरबाट सिक्यौ। बडा नेताले कर्मचारीबाट पाएको जवाफले दङ्ग परे।
“तपाई जस्तो त्यागी र स्वाभिमानी कविले पनि बिक्छन् भन्ने मलाई लागेको थिएन। सत्ता बाहिर रहेका हाम्रा विचारसँग सहमत नभएका मान्छेले हामीलाई तारिफ गरेको बेलामा तपाईले नै झन सरकार मातहतको विभाग कै जिम्मा लिएको मान्छेले पनि हाम्रा नेताका ससाना झिना मसिना गल्ती कमजोरी उछालेर आलोचना गर्ने।” अर्का थरी नयाँ टाटेपाटे पोसाक लगाउने कार्यकर्ता आएर कविलाई बडानेताको आदेश अनुरूप धम्क्याए। उनले तारिफ बडा नेताको फोस्रो तारिफ गर्न र माफ माग्न अस्वीकार गरे।

प्रतिगामीको गद्दार बनेको आरोपमा विभागको जिम्मेवारी मुक्त गरेर पुनः जेल हालियो र कारबाहीमा परेका पुरानै विभागीय प्रमुखलाई सोही विभागको जिम्मा पुनः दिईयो भन्ने खबर पत्रिकाहरूमा छापिएको कुरा जेलमै त्यहीको पुरानो सिपाहीले विप्लवलाई सुनायो।

(श्रोत :- अन्तर्जाल अर्थात Internet)

Posted in लघुकथा | Tagged | Leave a comment

अन्ध विद्रोह

~कुसुम ज्ञवाली~

ऊ सानै देखि सुन्दर चित्र बनाउन अभ्यस्त थियो । उसले पढ्न थाल्दा अगाडी आइ परेका रामायण, महाभारत र गीता पढ्यो । उसले गरुड पुराण र भागवत पुराण सुन्यो । अनि उसले थुप्रै पौराणीक पात्रहरुको चित्र कोर्‍यो, देवी, महाकाली, सरस्वती, सीता, राधा, लक्ष्मी आदि आदि ।

उसको उमेरसँगै रुचीहरु फेरिए । उसले भानुभक्त पढ्यो, लेखनाथ पढ्यो, देवकोटा पढ्यो, भूपी पढ्यो र पारीजात पढ्यो । उसले आमा पढ्यो र युवाहरुको गीता पनि पढ्यो । उसको कलाले नौलो मोड लियो । उसका चित्रकलामा पुन देवीका आकृति देखापरे तर मुहारमा भने आमाको छवि थियो । सयौं सरस्वतीका चित्रहरु पुन कोर्‍यो । ती चित्रमा दिदीका छविहरु उतार्‍यो । उसले कोरेका राधा र सीताका चित्रहरुमा उसका प्रेमीका आकृति लेख्यो । उसका चित्रहरुमा नौलो आयाम थपियो । ख्याति चुलिदै गयो । उसले मान सम्मानहरु पनि पाउँदै गयो । उसका कलाहरुले ठूलो मूल्य पाउन थाल्यो ।

उसलाई डि.भि.पर्‍यो । उसले इसाई धर्म मान्ने निर्णय गर्‍यो । उसलाई पुरातन धर्म प्रति द्वेष जाग्यो र बिद्रोह गर्यो ।सम्पूर्ण हिन्दु पुस्तकहरु जलायो र वाइवल पढ्न थाल्यो । शनै शनै बाइबल प्रति अन्ध भक्ति जाग्यो । क्रमश आफ्ना कलाकृतिहरु पनि नष्ट गर्दै गयो । जलाउँदै गयो देवीका सरस्वती र दुर्गाका तस्वीरहरु । उसले दिदीको छवि भएका सरस्वतीका तस्वीर पनि जलायो । प्रेयशीका छवि भएका सीताका तस्वीरहरु पनि जलायो ।

आज हवाइजहाज चढ्ने दिन । उसले आमाका छवि भएका सरस्वतीका तस्वीरहरुका बाँकी अन्तिम पत्रहरु जलाउँदैछ ।

(श्रोत :- अन्तर्जाल अर्थात Internet)

Posted in लघुकथा | Tagged | Leave a comment

शालिकको मुखाकृति

~कुसुम ज्ञवाली~

–“….उहाँ जस्तो महान निस्वार्थ नेताको अभाब सधै खट्कीरह्यो हाम्रो आन्दोलनमा” दिबंगत नेताको योगदान बारे नेताका सहकर्मी एकजना बृद्ध कार्यकर्ताले टिप्पणी गरे। साठीऔँ जन्मदिवशका अबसरमा आयोजित कार्यकर्मको थालनी गर्न प्रमुख अतिथि महासचिब कमरेड नआइपुगेको अबसरलाई उपयोग गर्दै सहभागीहरु आपसमा गफिँदै थिए।

आगामी आन्दोलनको दिशा, देशका भबिश्य, अर्थतन्त्र, बिश्व कलासाहित्यको झुकाव, दर्शन र मानव बिकासको इतिहास सम्मका सबै बिषय भएका यथेष्ट बहश सकिए पछि गफ केन्द्रित भयो नेताको शालिकको मुखाकृतिको बारेमा।
यस अघि कहिलै हेेक्का नगरेका एक जना कला समिक्षक कमरेडले मुखाकृतिको बारेमा यसो सम्म भने –“यस शालिकको भावानुभुति साँच्चीकै अनौठो छ। मैले यसवारे एउटा लेखनै लेख्ने तयारीमा छु। म यसबारे “रिसर्च” गरिराछु।”
– “बास्तवमा उहाँको अनुहारमा गहिरो बेदना छ। उहाँले महासचिबवाट राजीनामा गरेको त्यो उहाँको अन्तिम महाधिबेशनमा भएको अन्तरघातको पीडा प्रतिबिम्वित भएको छ, यस शालिकमा।” एक जना राजनैतिक बिश्लेषक पत्रकार कमरेडले अमिलो मुखाकृति पार्दै भने। त्यतिबेलाको गुटबन्दिको एक झलक तत्क्षण सम्झना पनि भयो उनलाई।
– “पार्टिमा बढ्दै गएको बुर्जुवा प्रबृत्तिले दिबंगत कमरेडलाइ ज्यादै पिरोलेको थियो। जुनकुरो शालिकमा प्रष्टसँग प्रतिबिम्बित भएको छ।” पार्टीमा अलि “हार्डलाइनर”का रुपमा चिनिने कमरेडले टिप्पणी गर्दै सम्पूर्ण समस्याको जरो पत्ता लगाए झै गजक्क परे।
– “त्यसो होइन कामरेड, यस शालिकमा त उहाँको उपप्रधानमन्त्री हुँदाखेरीको सुखद अनुभुति पो प्रतिबिम्वित छ।” अर्का “मनमा पाप नभएका” मानिने कमरेडले ठट्यौली पारामा भने।
– “पहिले यो शालिकको मुखाकृति हँसिलो थियो। पार्टिले चुनाबमा हारे पछि कमरेडको भड्किएको आत्माको कारण शालिकको अनुहारमा गहिरो पीडा देखिन थालिएको छ।” गलामा मुगा र “स्टोन”का माला लगाएका केन्द्रियस्तरका नेताले निधारमा गहीरा रेखाहरु पार्दै जिकिर गरे।

उक्त शालिक बनाउँदा भारतबाट आएका एकजना कलाकारको खेतालो भएर काम गरेको डकर्मी पनि आज त्यही उपस्थित थियो। कसिलो सङ्ग हात धेरैले मिलाए पनि उसलाइ कसैले चिनेनन्। उसले बिभिन्न कमरेडका शालिकको मुखाकृतिका बारेमा कुरा सुनेर मनमनै भन्यो – “मुला देशीले पैसा नदिए पछि झ्वाँक चलेर मैले विगारी द्या’थेँ। कुरै बर्ता नेताका।” ऊ मनमनै हाँस्यो।

(श्रोत :- अन्तर्जाल अर्थात Internet )

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बिल्टुकी दुखिनी

~केशव दाहाल~

बिल्टुकी श्रीमती थला परेको आज १५ दिन भयो । एक्कासी ज्वरो आयो । निकै कडा ज्वरो । भख्खर ३५ वर्ष पुगेकी खाइलाग्दी दुखिनी अहिले ओछ्यानमा छे । कसैको केही नबिगार्ने, सोझी र मेहनती दुखिनीलाई यो सालको असार फापेन ।

बिल्टुले बुझेको छ, ज्वरो निकै कडा हो । तर ऊ बुझ पचाउँछ । उपचार गर्न पैसा छैन ।

मालिकसँग मागौं, हिम्मत पुग्दैन । मनमनै बर्बराउँछ, ‘मालिक पनि यसपालि बडो टेन्सनमा देखिन्छ । पानी नपरेर खेतमा गोरु नार्न पाइएको छैन, के देला र ।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिरानो सहर

प्रदीप बगाले~

ढलमात्र बगिरहेछ । नदी भन्नै नसकिने । यहीँको कञ्चन पानीमा पौडी खेलेका बाल्यकालीन संस्मरण भ्रामकजस्तै लाग्छन् अहिले । नदी साघुरिँदै गयो । किनारका जग्गा अतिक्रमण गरेर टहरा ठड्याइए । राजधानीभित्रकै उक्त दृश्य राज्यले देखेन ? वा मौन रह्यो ? वा राज्य साँच्चै निरिह छ?…

न बिजुली छ, न खानेपानी, न त ढलनिकास नै । लाग्छ, दुःखबाहेक केही छैन नदी किनारको यो बस्तीमा। ‘देह व्यापार नियत वा नियती ?’ यसै शीर्षकमा सर्भे गर्दैछु म यस बस्तीमा।

‘म मेजर इङ्लिसमा स्नातक छु,’ नगरवधु सम्पदाको भनाइ । अंग्रेजी राम्रो बोल्दिरहिछ ऊ । अंग्रेजी र नेपाली साहित्यका केही हस्तीहरुका कृतिमाथि समेत समीक्षा गरी उसले । यस्ता विदुषी पनि यति निकृष्ट, उपेक्षित Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

युद्धकथाः घर फर्किएको मानिस

~यादव देवकोटा~Yadav Devkota__2

मैले देख्दा ऊ आँगनछेउ मेवाको रुखनेर उभिएको थियो । खिया लागेको टिनको बाकस बोकेर । गोठतिर चिहाइरहेको थियो, सातो गएजस्तो उदासी अनुहारमा उतारेर । गोठ रित्तै छ । उसका बा गएदेखि । छोरोको खबर बुझ्न सदरमुकाम गा’थे । फर्किएनन् । भगमान्को घर जाने बेला ढाँट्नु हुन्न । उनी फर्किएका थिए खबर बनेर । त्यही खबरपछि मेरो संसार रित्तो छ गोठजस्तै । गोठजस्तै रित्तिएको मेरो जीवनको आखिरी संघारमा ऊ फर्किएको छ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

युद्धकथाः आँशुको आकास

~यादव देवकोटा~Yadav Devkota__2

‘हाँसी राखन माया बोली राखन …. ।’
उ गुन्गुनाई रहन्थ्यो यही गीत जब हाम्रो भेट हुन्थ्यो । वैशाख–जेठको धुपमा सिरसिर चलेको बतासले फिरफिर पार्र्र्दै हल्लाएको सालको पातझैं देखिन्थ्यो उसको ओठ । स्वर मिठो । लय मिलेको ।

Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : के म द्वन्द्वपीडित होइन?

~टीका बिष्ट~

‘कहाँ हो कमरेड ?’ कतिपछि धनकलीले फोन गरी, ‘काठमाडौंमा आ’छु । भेटौं न मिल्छ भने ।’

कसरी सम्झिछ ! भनें, ‘आज अलि व्यस्त छु । भोली भेटौं न ल ।’

मनमनै सोचें, कमरेड नभन्नुपर्ने उसले । बच्चादेखिकै मिल्ने साथी । लाग्यो, निकै क्रान्तिकारी भइछे । हुन त पार्टीको भाषा नै प्यारो लाग्दो हो उसलाई । उनीहरू प्रायः सबैलाई कमरेड नै भन्छन् । उमेरले मभन्दा छिप्पलै भए पनि पाँचसम्म सँगै पढियो । तँ तँ चल्ने । ६ पढ्न म सहर झर्नेबित्तिकै क्रान्तिमा लागेकी हो ऊ । त्यसयता हाम्रो भेट पातलियो ।

गाउँलेको नजरमा खासै केही गरिन उसले । बिहे गरेर भुरा पाउनुलाई महिलाको सबैभन्दा ठूलो प्रगति ठान्छ समाज । मानौं, उसले कमाएको परिचय प्रगति नै होइन । काली भए पनि मान्छे राम्री हो । तर के चिन्ता लिन्छे कुन्नि ?

हाडछालाकी मात्र भएकी छ रे । तीस पनि काटी होली । कुरा काट्नेहरू अनेक व्यंग्य गर्दा हुन् । कसले पो बिहे गर्ला र यस्तीलाई?

जिल्लामा ‘कमरेड धरती’ भनेर चिनिन्छे ऊ । भर्खरै भएको अधिवेशनबाट डिसिएम भइछे । गोपी नहराएको भए र उसका बाबुले कान्छी नल्याएको भए माओवादी नै हुन्थिन कि !

दमाईकी छोरी । गाउँभरमा एक्लो दलित परिवार थियो । स्कुल जाने उमेरमा आमा गुमाई । बाउको पनि माया पाइन । स्वास्नी मरेको तीन महिनामै बाउले अर्की ल्याए । सुत्केरी कष्टले आमाको ज्यान गएको हो भन्ने थाहा पाएर बिहे नै गर्दिन भन्थी । सौतेनी आमाको रुखो व्यवहार, बाउको पिटाइ, समाजको हेपाहा दृष्टि सबै सम्झेर होला, भक्कानिन्थी मसँग । अर्की ल्याएपछि ‘कान्छा बा’ भएका उसका बाउको पेसा नै रक्सी खाने । बाजेबज्यै उहिल्यै बिते । मैले गाउँ छाडेपछि झनै एक्ली भई । सहर आउँदा जिम्मुवालका घरसम्म पु¥याउन आएकी हो । कम्ता नरमाइलो मानेकी थिइन । साँच्चि, अचेल कस्ती भा’होली ?

भोलिपल्ट बिहानै फोन गरें । शिक्षण अस्पताल महाराजगञ्ज बोलाई । यसै पनि ऊ बच्चैदेखि रोगी हो । के भएछ ? सोच्दै नेपाल यातायात चढें । पानी परेकाले काठमाडौं हिलाम्मे थियो । अस्पतालको गेटमै कुरेकी रैछे । उसले नै बोलाई, ‘पुतली’ । सहर झरेपछि म ‘प्रभा’ भएको उसलाई थाहै रैनछ । ठूलो झोला । गोल्डस्टार जुत्ता । झट्ट हेर्दा उही भूमिगत पहिरन । मरन्च्याँसे । अनुहारभरि कालो पोतो । ४५ वर्षकी जस्ती ।

‘के भो धनकली ? किन यस्ती भ’की ?’

जवाफमा गम्लङ्ग अँगालो हालेर रोई । धनकलीले सबैका सामुन्ने यसरी डाँको छोडेको पहिलोपल्ट देखें । क्रान्तिमा लागेका मान्छेहरूको मन यति कमजोर हुन्छ भन्ने मैले कल्पना पनि गरेकी थिइन ।

सानोमा ऊ जति हाँस्थी, त्योभन्दा दोब्बर रुन्थी । आज बाल्यकालको याद आयो । एक दिन उसलाई बाउको पिटाइबाट जोगाउन हाम्रो गोठमा लुकाएकी थिएँ । आमाले थाहा पाएर मलाई सिस्नुपानी लगाउनुभयो, तल्लो जातकी धनकलीले गोठ छोई भनेर । मिल्ने साथीलाई गाईभन्दा तल्लोस्तरको सोचेकोमा दिक्क लाग्यो । त्यो गाई अघिल्लो वर्ष धनकलीकै घरबाट हामीले किनेर ल्याएका थियौं ।

तल्लो जातसँग संगत गरेको भन्दै घरकाले गाली गर्थे । देखे भकुर्थे । म भनें उसलाई खानेकुरा लुकाएर लगिदिन्थें । यस्तो सोच्थें, उसलाई कुनै भुत नलागोस्, मेरा भगवानले पनि उसैलाई हेरुन् ।

मेरो उमेर मिल्ने गोपीमात्र थिई । ऊ एकाएक हराएपछि धनकली झन् राम्रो साथी भई । दुबैसँग मिल्ने गोपीलाई उसकै भिनाजुले बम्बैतिर लगेर बेचे रे भन्ने सुनियो धेरैपछि ।

उसका आँखा ओभाएपछि नजिकैको क्याफेमा लगें । आमनेसामने गरी बस्यौं ।

‘भन्, के खान मन छ ?’

‘मन पर्ने चाउमिन त हो नि, त्यै खाम् ।’

‘यति बिहानै किन चाउमिन ?’

‘यो खाए खाना खानु पर्दैन के । त्यै भ’र ।’

फिस्स हाँसी । मलाई ब्ल्याक कफी भनें ।

‘के छ त खबर ?’

रुँलारुँलाजस्तो गरी उँधो मुन्टो लगाई धेरै बेर । मानौं ऊ पहिलोपल्ट बोल्ने अभ्यास गर्दैछे, मान्छेको अगाडि । उसको बोली फुटेन ।

‘किन गार्‍हो मानेकी ? बोल् न । म उही पुतली त हुँ क्यार ! मसंग नि अप्ठेरो मान्छेस् ?’

सायद उसले विगत सम्झिई । अलि सहज भई ।

‘थाहा छ पुतली, मेरो बारेमा तँलाई ?’

‘के ?’

‘मेरो बारेमा केइ था’पाइछैनस् ?’

‘अहँ,’ मैले भनें ।

‘कमरेड ‘नदी’ (सन्दीप) सँगको सम्बन्ध बारेमा के ?’

‘छैन । भन् न, के भयो ?’ म जान्न उत्सुक भएँ ।

‘पापी रैछ पुतली, त्यो सन्दीपे त ।’

‘किन र ?’

‘सम्बन्ध तोड्यो । मलाई घर न घाटको बनायो मोरोले ।’

नरोएर सबै कुरा भन्नै सकिन उसले ।

चाउमिन आयो । चाउमिनमा सस फिट्दै गर्दा भित्र पसेका गाला हुँदै बगेको आँसु प्लेटमा तप्प खस्यो । झस्केर पुछेझैं गरी । मानौं आँसु  बेखबर झर्‍यो ।

कफी आयो । चुस्की लिंदै भनें, ‘रोएर केही हुँदैन धनकली । आफैलाई कमजोर पार्ने मात्र हो । अरुको मुक्तिको लागि क्रान्तिमा लागेकी तँ । जे हुनु भइसक्यो । आफुलाई सम्हाल् । मलाई सबै कुरा भन् । पीडा जति सुनायो त्यति घट्छ भन्छन्।’

मैले सम्झाउन खोजें ।

‘तँ सहर आएपछि एक दिन हाम्रो गाउँमा पार्टीले सांस्कृतिक कार्यक्रम गर्‍यो । कार्यकर्ता घर घर बाँडिएर बास बसे । हाम्रोमा आएका दुई जना दिदीको कुराले उनीहरूसँगै जाउँ जाउँ लाग्यो ।’

‘त्यसको केही दिन पछि बा’ले खरीबोटे साइँला दमाईका छोरासँग बिहे छिन्दिएछन् । त्यो था’पाको साँझ नै म दिदीहरूको सेल्टर पुगें र पार्टीको एरिया कलाकार भएँ ।’

सबै कुरा कथा झैं सुनाउन थाली ।

पार्टी जातीय विभेदविरुद्ध थियो । पार्टीकै अगुवाइमा धेरैको अन्तरजातीय विवाह भए । सल्लेरीको सन्दीप केसीसँग मेरो बिहे गरिदिने पार्टीको प्रस्ताव आयो । हामी दुवै राजी भयौं । ०५८ सालमा जनवादी बिहे भयो । हामी आआफ्नो जिम्वेवारीमा खटिएका थियौं । जिल्लाभित्रै तर अलगअलग । बीचबीचमा भेट हुन्थ्यो । अरुहरु जस्तो क्रान्तिका लागि मर्नेभन्दा बाँचेरै युद्ध जित्ने संकल्प थियो दुबैको । पार्टीमा लागेपछि मैले धेरै कुरा सिकें । पार्टीभित्र हुने प्रशिक्षणहरुले वैचारिक ज्ञान मात्र दिएन, समाज बुझ्न सहयोग गर्‍यो ।

२०६१ को अन्त्यतिर सेनाले माओवादी निर्मुल पार्ने भन्दै हाम्रो सेल्टरहरु खोज्न थाल्यो । एक दिन हामी दुश्मनको घेराबन्दीमा पर्‍यौं । घरको झ्यालबाट हाम फालेर बारीका ठुल्ठुला कान्ला र भिर छिचोल्दै घेरा तोडियो । धन्न ज्यान जोगियो । अर्को सेल्टरमा नपुग्दै मलाई असहजजस्तो भयो । महिनावारी रोकिएको पनि दुई महिना नाघेको थियो । भोलिपल्टैबाट त रगत नरोकिने भयो । बच्चा रहेछ, खस्यो भन्ने लख काटें ।

कसैलाई भनिन । सन्दीप कमरेड पनि टाढा । अहिलेजस्तो फोन पनि नाइँ । थकाइ मार्न पनि पाइएन । बिनाउपचार खटिइरहें पार्टीकै काममा । चोक्टाचोक्टा भएर बग्यो रगत । शरीर कमजोर हुँदै गयो । तल्लो पेट दुखिरह्यो । खलंगाबाट औषधी मगाएर खाएँ । के हुन्थ्यो ? भएन । आफैं अस्पताल जाने स्थिति थिएन । घर जाउँ, सेनाले थाहा पाउँथ्यो । तीन महिनापछि मात्र सन्दीपसँग भेट भयो । भेटमा सबै कुरा भनें ।

मैले कफी दुईपटक सुरुपसुरुप पारें ।

उसले पुलुक्क मलाई हेरी ।

भनी– त्यति माया गर्ने सन्दीपले मेरो कुरामा ध्यानै नदिए जस्तो गर्‍यो । भेट्न पनि मन नमानेजस्तो । मलाई अमिलो भयो । मृत्युलाई हत्केलामा राखेर हिँड्दा सँगै बाँच्ने सँगै मर्ने कसम खाएका हामीमा कुनै पल नमीठो होला भन्ने कल्पना समेत थिएन । हतार छ भन्दै सन्दीप हिँड्यो ।

युद्धविराम भयो । पार्टीले बन्दुक बिसाउने चर्चा चल्यो । सोचें, त्यसपछि सन्दीपसँग खुलस्त कुरा गरौंला । वैैधानिक रूपमा पार्टी बन्दुक बिसाएर शान्ति प्रक्रियामा आयो । घर जाने वातावरण बनाउँछु भनी गएको ऊ बेखबर भयो । मसँग टाढिन खोजेको महसुस गरें ।

एकदिन खोज्दै उसको गाउँमै गएँ । म आएको थाहा पाएर चौतारोमै भेट्न आयो । मन खुशी भयो । कतिबेला ‘घर जाउँ’ भन्ला भयो । तर, उसको पहिलो वाक्य नै ‘डिभोर्स गरौं’ भन्ने थियो । त्यसै पनि म लखतरान । कुरा सुनेर उभिरहन सकिन । थचक्क बसें । कारण बुझ्दा म तल्लो जातकी रे !

ऊ रोकिई ।

मेरो मन जिज्ञासाले गह्रौं भयो । सोधें, ‘दमाईकी छोरी भन्ने पहिल्यै थाहा थिएन र ?’

‘किन नहुनु । पार्टीलाई समेत थाहा थियो नि ।’

‘के जातीय समानता पार्टी भूमिगत भएको बेला मात्रै हो ?’ ऊ बर्बराई ।

‘हाम्रो विवाह गरिदिने धेरैजसो कमरेडहरू सहिद  भइसक्नु भो । बाँचेकापनि कता छन् कता ? म कहाँ जाउँ मेरो विवाहको प्रमाण माग्न ?’

‘सरकारी विवाह दर्ता पनि छैन । तै पनि नजिकका नेताकहाँ कुरा राखें । उनीहरूले पनि खासै वास्ता गरेनन् । सन्दीपबाहेक मेरो को नै थियो र ? आखिर पार्टी पनि तिनै ठूला जात भनाउँदाहरूको न रै’छ । पार्टीकै सहयोगमा डिभोर्स भयो । हेर् न पुतली विचल्ली भो । धन्न गाउँमा यो कुरा थाहा भएन ।‘

एकै सासमा उसले कुरा सकी ।

मैले कफीको अन्तिम घुट्को लाएँ।

पार्टीमा लागेर मुक्तिको सपना देखेकी विचरीको कथा सुनेर नमीठो लाग्यो । बाउले विहे गरिदिन खोज्दा पार्टीमै आफ्नो भविष्य देखेकी धनकलीको कुन हविगत भएछ अहिले । दुःखीलाई जहाँ गए पनि सुख छैन ।

के भनौं भनौं भो । सोचें, अस्पताल किन आइहोली ?

‘अहिले कस्तो छ त स्वास्थ्य ?’

‘खै । पेट दुखिरहन्छ । एक्सरे गरेको । डाक्टरले पाठेघरको मुखको क्यान्सर भा’छ भन्छ । पहिले चेक गराउनै पाइन । अपरेसन नै गर्नु पर्छ रे ।’

‘खर्च कसरी चलाकी छेस् त ?’

मेरो प्रश्नले एकछिन मौन भई ।

‘पार्टीले केही सहयोग गरेन ?’

‘के गथ्र्यो ? जस्तो अवस्थामा पनि होमिने कार्यकर्ताको लागि रैनछ यो पार्टी । अनि, त्यो क्रान्ति पनि हामीजस्तालाई हैन रैछ पुतली । हिजो ज्यान जोगाउन जो इन्डीया गए, अरु पार्टीको खोल ओढर सदरमुकाममा बसे र बाँचे, तिनै मान्छेलाई पार्टीले भएभरको सहयोग गर्दोरैछ ।’

‘हेर् न पुतली मर्न पनि सकिंदो रैनछ । बाँचेर पनि सास्ती । युद्धकालमै मरेको भए सहिद त भइन्थ्यो ।’ उसले खुइय्य गरी ।

‘हाम्रो कति भयो ?’ मैले बिल मागें ।

वेटरले कप र प्लेट उठायो ।

द्वन्द्वपिडितलाई राहत दिने भन्ने सुनेपछि धनकली पहिलोपल्ट काठमाडौं झरेकी रैछ । पार्टीकै कमरेडहरूको सहयोगमा सिंहदरबार पनि छिरिछ । शान्ति मन्त्रालय पनि धाइछ पटकपटक । राहत वितरणका लागि बनाइएका विभिन्न समितिसम्म पुगिछ । पार्टीका माथिल्ला नेताहरूको निवास पनि गइछ ।

‘मेरो नाम कहीं पनि राख्न मिल्दैन रे पुतली, हेर् न । कस्तो आपत् ।’

‘के म द्वन्द्वपीडित होइन ?’ आफैंसँग सोधी उसले ।

‘द्वन्द्वपिडित हुँ’ भन्ने प्रमाणसहितको गह्रौं ब्याग निकालेर देखाई ।

‘यी हेर् । के द्वन्द्वकै कारण मेरो यो हाल भा’हैन ?’ मानौं म नै उसलाई निसाफ दिने अधिकारी हुँ ।

वेटरले बिल ल्यायो ।

मैले पर्सबाट १ सय १० रुपैयाँ झिकेर दिएँ ।

‘पार्टीले उपचार त व्यहोरिदिनु पर्ने नि,’ मैले भनें ।

सुनेकी थिएँ, ‘क्रान्ति सत्तामा पुग्ने भर्‍याङ हो ।’ लाग्यो, साँच्चै रहेछ ।

(श्रोत :- Setopati )

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : पिता

~बुद्धिसागर~

 

हजुरका बाको एकतारे अहिले कहाँ छ?’ एकजना संगीतप्रेमीले एसएमएसमा सोध्नुभो।
‘कटासे बजार सर्दा छुटेछ,’ मैले उत्तर दिएँ, ‘अहिले त कतै पनि छैन होला।’

हो, मेरा पिता एकतारे बजाउनुहुन्थ्यो, गजबसँग। सानो छँदा पिताले गरेका सबै कुरा राम्रा र भरपर्दा लाग्छन्। र, अहिले मलाई अलिअलि संगीतको ज्ञान आउँदा सोच्छु- मेरा पिता राम्रो संगीतप्रेमी हुनुहुन्थ्यो।

हरेक शुक्रबार ‘गुड फ्राइडे’ मनाउने म अहिले बुझ्छु, मेरा पिताका साथीसंगाती थिएनन्। एक्लो हुनुहुन्थ्यो। त्यसैले होला, उहाँ आझ्नो एक्लोपन हटाउन एकतारे बजाउनुहुन्थ्यो। किताब पढ्नुहुन्थ्यो। कहिलेकाहीँ त गणितका अप्ठ्यारा-अप्ठ्यारा हिसाब गर्नुहुन्थ्यो। मेरा पितासित उच्चशिक्षाको सर्टिफिकेट थिएन। उहाँले स्वअध्ययन गर्नुभएको थियो। अंग्रेजी, विज्ञान, गणित र इतिहासमा यति दक्ष हुनुहुन्थ्यो कि मौका पाएको भए, कुनै युनिभर्सिटीबाट ‘डा.’ लिएर आउनुहुँदो हो।
तैपनि मेरा पिता कैलालीका धेरै गाउँमा ‘चपाईं डाक्टर’ भनेर चिनिनुभो।
एकपल्ट आमाले सुनाउनुभएको थियो : सुर्खेतको पलैटे छँदा सानैमा पहिलो दुई बच्चा दादुराले बिते। दिदी जन्मिन्, दाइ जन्म्यो। दाइ पनि दादुराले ग्रस्त भयो। पिता त्यहीँको प्राथमिक स्कुलमा हेडसर हुनुहुन्थ्यो। दाइलाई उपचार गराउन अस्पताल लैजाँदा डाक्टरले हेप्यो। त्यति वास्ता गरेन। पिताले इख लिनुभो।
‘यो छोरो भगवानको कृपा,’ पिता झोक्किनुभो, ‘म पनि एकदिन तँजस्तै डाक्टर हुन्छु।’

डाक्टर बन्ने सपना बोकेर पिता मधेस झर्नुभो। कलकत्ता पुग्नुभो। बोकेको पैसा सकियो। कलकत्ताका गल्लीहरूमा भोकै रन्थनिनुभो। मुर्छा पर्ने बेला भो। एउटा स्विट पसलमा काम माग्नुभो। भाँडा माझ्ने काम मिल्यो। भाँडा माझ्नुअघि, एकदमै भोक लागेको साउजीलाई भन्नुभो। उसले रोटी खा भन्यो। टन्न रोटी खाएपछि भाँडा माझ्नुपर्ने भो। अब के गर्ने?
पिताको जुक्ति।
उहाँले पानी निकाल्न नल चलाउन थाल्नुभो। अनि उक्काउँलाझैं नल यताउता हल्लाउनुुभो। त्यो देखेर साउले भन्यो, ‘नल तो चलाना नही आता, क्या काम करेगा साला। चल मैने तुझे निकाल्दिया। फुट।’
पिताले यस्तै तिगडम गर्दै पेट भर्नुभो।
एकदिन एउटा बंगालीको मेडिकलमा काम पाउनुभो, कम्पाउन्डरको। औषधी चिन्नुभो। काठमान्डु आएर मेडिकल खोल्ने अनुमति पाउनुभो। र, कैलालीको मटेरा पुग्नुभो।
र, एकदिन चपाईं डाक्टर बन्नुभो। म जन्मेर चपाईं डाक्टरको छोरा भएँ।

पिता बुढो हुन थालेपछि म जन्मेको थिएँ। त्यसैले मलाई लाग्थ्यो- मेरा पिता अरूका पिताजस्ता ‘हेन्डसम’ हुनुहुन्थेन। त्यसैले आँखामा पावरदार चस्मा लगाएको, अलिकति कपाल फुल्दै गएको त्यो बुढो मानिससित म खुब डराउँथेँ। पिता झोक्की हुनुहुन्थ्यो। रिस उठ्यो कि मुड्की चल्ने। मैले घुच्चुकमा कति मुड्की खाएँ खाएँ। किनभने, म पिताले खोजेजस्तो असल छोरा थिइनँ।
मेडिकलमा चकचक गर्न थालेपछि पिताले मलाई डोर्‍याउँदै भिडियो देखाइरहेको ठाउँ पुर्‍याइदिनुभो। र, भन्नुभो, ‘सक्केपछि आउनु।’
मलाई अझै सम्झना छ- फिल्ममा ट्रक हिलोमा फसेको दृश्य थियो।
र, ड्राइभरले भन्यो, ‘ये रास्ता बडा चिकना है।’
म लाजले पानी पानी भएँ। कस्तो लाजलाग्दो कुरा गरेको। म फुत्त निस्केँ र दगुरँे।
‘नहेरी किन आइस्?’ पिता झर्किनुभो।
‘कस्तो लाजलाग्दो कुरा गर्छ अनि।’
‘भोलि अर्को हेर्लास्।’
पिताले भोलिपल्ट फेरि भिडियोमा लगेर छाडिदिनुभो। एउटा नागले लखेटीलखेटी मान्छे मारेको देख्दा डर र अचम्मले पुरा फिल्म हेरँे। मैले धेरै पछि थाहा पाएँ- त्यो त सुनिल दत्तको नागिन फिल्म रैछ।
पिताले फिल्म हेर्ने लत लाइदिनुभो। पछि फसादमा आफैं फस्नुभो।
म फिल्मको क्रेजी फ्यान भएँ। हुर्किंदै गएपछि दुई हुँदै पाँच रुपैयाँ चोर्ने बानी पर्‍यो। जब हुर्किंदै गएँ, मूल्य बढ्दै गयो। दाइ पनि बेलाबेला चोर्दो रैछ। दाइले चोर्दा म पिटाइ खान्थेँ, मैले चोर्दा दाइले।
म हुर्किंदै गएँ।
एकदिन पिता बजारबाट हतारिँदै घर पुग्नुभो। दाइ र मेरो गालामा चड्कन लाउनुभो।
‘यो तीन रुप्याँ कसैले चोर्‍यो, खुरुक्क देऊ।’
दाइले अत्तालिएर मतिर हेर्‍योे, मैले दाइतिर। मैले त चोरेकै थिइनँ। म दाइतिर हेर्दै कराएँ, ‘दाइ, पैसा दे।’
दाइ पनि आँसु पुछ्दै करायो, ‘तैंले त लको होलास्, दे।’
पैसा न त दाइले दियो, न मैले। त्यसदिन पिताले ओठमुख सुनिन्ने गरी पिट्नुभो। हामी रोको रोयै।
त्यसको तीन दिनपछि पिताजी उदास अनुहार लिएर घर फर्किनुभो। दाइ र मलाइ प्रेमले हेर्नुभो। पिताका आँखा टिलपिल भएका थिए।
पिताले त त्यो पैसा अरूलाई दिनुभएको रैछ। बिर्सिनुभएको रैछ। उसले फिर्ता गर्न आएपछि झल्याँस्स हुनुभएको रैछ।
त्यसदिनदेखि पिताले कहिल्यै थप्पड हान्नुभएन।
फिल्मप्रतिको मेरो नशा अझै उत्रेन। एकदिन कटासे बजारको पहिलो गल्लीको एउटा भारतीय केटाले ‘हिरो-हिरोइन बस्ने ठाउँ देखेको छु, घरबाट भागौं’ भन्यो। हामी साइकल लिएर भाग्यौं।
हामीले तीनचार गाउँ नाघिसकेका थियौं। मैले परबाट देखेँ। पिता हतारिएर आइरहनुभएको थियो। त्यो केटो त टाप! म उभिरहेँ। पिताले थप्पड हान्नुभएन। केवल यत्ति भन्नुभो, ‘घर फर्की।’
पिताको अनुहार एकदमै अँध्यारो थियो। अनुहारभरि पसिना। ओठ सुख्खा। फर्किंदा म अघिअघि, पिता पछिपछि। एकदमै लामो मौनता। केवल दुइटा साइकलको टिङटिङ आवाज।
त्यसदिन मलाई पिताको एकदमै माया लागेर आयो। त्यसपछि पिताले मलाई एकदमै माया गर्न थाल्नुभएको थियो। तर म पिताको मायामा झन्झन् पुलपुलिएँ। मलाई पढ्नै मन पर्दैनथ्यो। पितालाई लाग्थ्यो- नपढेको मानिसले असाध्यै दुख्ख पाउँछ।

पिता र मेरो कहिल्यै मन खोलेर कुरा भएन। कहिलेकाहीँ पिता राति अगेनाछेउमा बसेर रोदी गाएको, वनमा बाघ देखेर भागेकोजस्ता रमाइला कुरा सुनाउनुहुन्थ्यो, त्यत्ति हो। त्यति कसैसँग बोल्नुहुँदैनथ्यो। आफ्नै मनको घेरामा रमाउनुहुन्थ्यो क्यारे। त्यसैले होला, मैले आफ्नो रुचि र सपना पनि पितालाई बुझाउन सकिनँ। त्यसैले पिता एकदमै छट्पटिनुहुन्थ्यो। आठ-नौ कक्षा पढ्दादेखि नै मेरा कविता रेडियोमा बज्न थालेका थिए।
‘तँ आफंै लेख्छस् कि अरूको सार्छस्?’ एकदिन पिताले सोध्नुभएको थियो।
पितालाई पत्यार नै लागेको थिएन- म कविता लेख्न सक्छु र कवि बन्छु भनेर।
एकदिन पितालाई के लाग्यो कुन्नि, ‘किताब तयार पार, म छाप्दिन्छु’ भन्नुभो।
नयाँ कापी पनि किनेर ल्याइदिनुभएको थियो।
मैले चिटिक्क अक्षरमा तीसपैंतिस वटा कविता सारेँ। भूमिकामा ‘पुस्तक छापिदिने आदरणीय बालाईलाई साष्टांग दण्डवत’ लेखेँ। त्यो पढेर उहाँ खिस्स हाँस्नुभो।
तर, किताब छापिएन।
बरु त्यसको तीनचार दिनपछि, पिता ‘पढ्नु-लेख्नु छैन’ भनेर कराउन थाल्नुभो। म त छक्क परेको पर्‍यै!
सायद पितालाई लाग्न थालेको होला- कवि भयो भने छोराले दुख्ख पाउँछ।
तर, म त आत्मैदेखि कवि भइसकेको थिएँ। एसएलसी पास भएपछि म कवि बन्न काठमान्डु आएँ। पिता आफूसँगै बसोस् भन्ने चाहनुहुन्थ्यो सायद। यतै पढ, उता नजा भनेर खुबै सम्झाउनुभो। मैले मानिनँ।
म पूर्णकालीन कविजस्तो भएँ।
झन्झन् बुढो हुँदै गएका पितालाई मेरो चिन्ताले सताउन थाल्यो। फोनमा भन्नुहुन्थ्यो, ‘पढेर जागिर खा, अनि कविता लेख।’
तर मैले जागिर खाइनँ, कविता लेखिरहेँ।
५६ सालमा राष्ट्रिय गजल महोत्सवमा प्रथम भएँ । पिताले रेडियोमा सुन्नुभएछ। त्यसको केही दिनपछि मैले पिताको चिठी पाएँ-
तेरो समाचार सुनेर सबै खुसी भाछन्। म पनि भाछु।
अनि त म झन् कवि भएँ!
त्यसको तीन वर्षसम्म पनि मेरो पितासित भेट भएन। फोनमा कहिलेकाहीँ कुरा हुन्थ्यो। माओवादी युद्ध सुरु भो। म घरै जान सकिनँ। एकदिन पिता आफैं काठमान्डु आइपुग्नुभो। म उहाँलाई लिन पुरानो बसपार्क पुगेँ। मोटो पावरदार चस्मा लाएर मलाई नै खोजिरहनुभएको थियो। सधैं बिग्रिरहने पेट जचाउन पाल्पा गएर आको हुँ भन्नुभो।
पिता असाध्यै दुब्लाउनुभएको थियो। र, एकदमै कमजोर देखिनुहुन्थ्यो। कन्चटछेउछाउ मोटामोटा नसा देखिन्थे।
काठमान्डुको मेरो अँध्यारो डेरामा बसेर पिताले मेरा छापिएका कविता पढ्नुभो। मुसुमुसु हाँस्नुभो। अनि, राति सम्झाउनुभो- कविता पनि लेख्दै गर तर जागिर खा।
पिता काठमान्डु आएकै भोलिपल्ट दरबार हत्याकाण्ड भयो। पिता एकहप्ताजति मसितै बस्नुभो। फर्कने बेला पिताले अलिकति पैसा पनि छाडिदिनुभो। पिता भन्नुहुन्थ्यो- गोजीमा पैसा भएन भने छोरो मान्छेलाई ह्याउ आउँदैन। साथीहरूको अगाडि शिर उठाउन पनि सक्दैन। चिया पिउँदा पनि मैले तिर्नुपर्ने हो कि भनेर चियाको स्वाद लिन सक्दैन।
यस्ता हुनुहुन्थ्यो मेरा पिता।
त्यसपछि एकैपल्ट पितालाई बिरामी हुँदा हस्पिटलमा भेटेँ।
उहाँले घर फर्केर आमालाई भन्नुभएको रैछ- कान्छाले आफ्नो बाटो रोजिसकेछ। अब त्यसलाई फर्की भनेर नसताउनु। ऊ फर्केर आउँदैन।

मेरा पिताले एकतारे त खुबै बजाउनुभो, रिदममा। तर, जीवन रिदममा कहिल्यै बिताउनु भएन। मसँग अहिले धेरै सपना छन्, ठुल्ठुला। तर मेरा पिताका सपना धेरै थिएनन्। म अहिले बुझ्छु। मेरा पिताको जीवन ससाना रहरहरूमा सीमित भो। मेरा पिताले धेरै चिज नभोगी, नदेखी, महसुस नगरी, जीवन बिताउनुभो। उहाँका सपना र रहर हामी सन्तानमा सरे। जसरी सँगै भिजाउँदा कपडाको निर सेतो कपडामा सर्छ, नचाहँदा-नचाहँदै।
पिताले आफ्ना कुन्ठा सन्तानतिर सार्नुभएन। केवल सार्नुभयो त आफूले जीवनमा भोग्न नसकेको मिठो क्षण।
संघर्ष गर्दागर्दै पिता मान्छेले जीवनमा नपाएका कुरा स्वर्गमा पाउँछन् भन्ने अप्सन लिएर बाँच्नुभो। मेरा पितालाई मान्छेको आत्माले काँक्राको बियाँजत्रो भएर मोक्ष प्राप्त गर्छ भन्ने लाग्थ्यो।
मेरा पिताको आत्मा काँक्राको बियाँ भयो कि भएन, थाहा छैन। तर, हाम्रो काँक्राको बियाँजत्रो सपनालाई हुर्किने मौका दिनुभो। जल चढाइरहनुभो।
अरू कसैका अगाडि लाजले झुक्न दिनुभएन। सकेको गर्नुभो। आफ्नो जीवनकालभरि हाम्रै पीरमा पर्नुभो।
पितालाई अस्पतालमा भेट्न जाँदा आँखा देख्न छाडिसक्नुभएको थियो। मैले भर्खरै प्रकाशित आफ्नो गजलसंग्रह बोकेको थिएँ। उहाँले त्यो किताब सुम्सुम्याउनुभएको थियो। सायद, किताब हुँदो हो त मान्छेले आफ्नो सपना त्यसरी नै सुम्सुम्याउँदा हुन्।
मेरा पिता मर्दै हुनुहुन्थ्यो। दाइदिदी, बहिनी कोही पनि साथमा थिएनन्। आमा र ममात्र थियौं। मैले अवरुद्ध गलामा सोधेको थिएँ, ‘बा, केही भन्नु छ?’
म पितालाई बिदा गर्दै थिएँ, सायद।
‘क्यै, छैन। मेरो मनमा कुनै बोझ छैन।’
पिताले आफ्नो जुनीमा मलाई भनेका यिनै अन्तिम शब्द थिए। जसमा चरम सन्तुष्टि थियो।

मैले पिता यो धर्तीमा हुन्जेल उहाँलाई बुझिनँ। जब उहाँ जानुभो, मैले बिस्तारै बुझ्दै गएँ- उहाँका संघर्ष र सपना। भन्छन्- आफ्नो प्रिय मान्छे नजिक नहुँदा उसको मोह थाहा हुन्छ। तर, कहिल्यै नफर्किने गरी गएको प्रिय मानिसप्रतिको मोह अझै गाढा हुन्छ। किनकि ऊ फेरि कहिल्यै भेटिँदैन।
त्यस्तै भो, जब मैले पितालाई चिनँे उहाँ हुनुहुन्न। उहाँले ठुल्ठुला अक्षरमा लेखेका केही चिठीमात्र छन्। जीवनभरि पिताले केही न केही दिइरहनुभो। शिक्षा, सपना र जुत्ता। मेरा पिता जानुभो, जाँदा पनि आफ्नो कथा मलाई दिएर जानुभो। अंशबण्डाको हकझैं मैले उहाँको अलिकति जीवन चोरेर उपन्यास लेखेँ। त्यो पढ्न उहाँ हुनुहुन्न। मैले आफ्नो सपना पुरा त गरेँ तर छोराको पुरा भएको सपना हेर्न पिता रहनुभएन।
पिताहरू धेरै चिज दिन्छन्, हामी बुझ्दैनौं। जब बुझ्छौं, पिता हुँदैनन्।
पिता यस्ता रुख हुन्, जो ढल्दा

प्रकृतिमा अलिकति दाग बस्छ। हृदयमा दाग बस्छ। उनीहरू बादल बनेर बर्सिन्छन् र दाग पुर्छन्। आफू नरहेको चिन्ता गर्दैनन्। सन्तान सधैं रहुन्, यही कामना गर्छन्।


मलाई पुनर्जन्ममा विश्वास छैन। यदि, कैयौं जुनीपछि फेरि जन्मिदा पिता र मेरो भेट भयो, या मैले कतै चिनेँ भने केवल यत्ति भन्नु छ- धन्यवाद पिता

श्रोत :- Writer’s Blog )

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : एक्लो भगवान्

~बुद्धिसागर~

तीखो धुवाँलाई चिर्दै म भित्र पसेको थिएँ ।

 मैतीदेवीको व्यस्त चोकको भित्रपट्टिको क्याफेमा झुन्डझुन्ड मानिस मौरीझैं भुन्भुनाइरहेका थिए । सोमालियाको बाघ भोकले दुब्लाएर बिरालो भएझैं, त्यो क्याफे पनि सन्निपातले ग्रस्त रोगीझैं जीर्ण र लथालिंग देखिन्थ्यो, भट्टीबाट क्याफेतिर बढेको तर क्याफेसम्म पुग्न नसकेको ।

खासामेड धुवाँग्रस्त रेडियोमा हिमेशभाइ चिच्चाइरहेका थिए— एक हसिना थी । एक दिवाना था । दिवाना अर्थात् पे्रमी । क्रेजी । त्यही भट्टीको भित्रपट्टि पश्चिम कुनामा एक्लो-एक्लो-एक्लो । सोझै नाकअगाडि छ्याङको गिलासले उसको स्पर्श खोजिरहेको थियो । मन तातो । म छेउतिरको, चिल्लोपनमा माखा भुन्भुनाइरहेको टेबुलछेउको कुर्सीमा थचारिएँ । जंगल रङको टाटेपाटे मोटो ज्याकेटमा कछुवाझैं टाउको निकालिरहेको उसले हेर्‍यो ।

मुसुक्क हाँस्यो । हाँसिदिँदा पैसा त दिनुपर्दैन नि ! फोकटको हाँसो मैले फिर्ता गरिदिएँ । स-साना कुरामा सहरमा भावुक भइदिनु, मानसिक स्वास्थ्यका लागि हानिकारक छ । दिमागको किड्नी हुने भए, उहिल्यै फेल भइसक्थ्यो ।

प्रायः हुन्छ के भने, एउटी सानी केटी हातमा कपडाको टालो बोकेर बोसो लिपिएझैं चिल्लो टेबुल पुछ्न आइपुग्छे । आज पनि आई । गोलो अनुहार, तर भित्रसम्म धस्सिएका गाला । को हो ? कहाँबाट आएकी हो ?

‘के ल्याऊँ ?’ गम्भीर र आत्मविश्वास भरिएको आवाजमा उसले सोधी ।

मुला जाडो ! निहुँ खोजिरहेको छ । नाकका पोरापोराबाट बगिरहेको छ । एक प्रश्न- के छ हालखबर ?सयौँ उत्तर, ‘सर्दीले खत्तम छु, यार !’ यी सयौँमा एक आवाज, हक मेरो पनि पक्कै छ । म आयुर्वेदको विद्यार्थी पनि होइनँ । त्यस्ता किताब पढ्ने सौभाग्य पनि प्राप्त छैन । आफ्नै अड्कलमा भनेँ, ‘तोङ्बा र भटमास-चिउरा ।’

ज्यान, तातो त पक्कै होला नि !

हाँसझैं मध्यम गतिमा त्यो फुच्ची त्यतातिर सोझिई, जता त्यान्द्रात्यान्द्रा राँगा भट्टीमाथि झुन्डिएका थिए— अंगारझैं काला । सानो बालकझैं पिठ्युँको झोला झिकेँ । महाश्वेतादेवीको किताब ‘जंगल के दावेदार’ को पहिलो अनुच्छेद पढ्दै थिएँ, बिरसा मुन्डा ने… अचानक, एकान्तमा एक टुक्रा आवाजले हमला गर्‍यो, ‘भाइ… इस्टुडेन्ट हो ?’

उही कुनाको मानिसले सोध्यो । खुम्चिएको निधार तल अलिकति मुस्कान फक्रिएको थियो । सूर्यमुखीले यसो मुन्टो उठाएजस्तो ।

‘अँ,’ मैले स्विकारेँ । तर, कलेज नगएको त युग भयो । त्यै पनि ।

‘अनि, तपाईं ?’फेरि फिस्स हाँस्यो, ‘वर्कर ।’
एकछिन मौनता टेबुलटेबुलमा पछारियो । अर्को कोठाबाट चार मुखबाट एक्लो खित्का बत्तिएर भित्ताभित्तामा ठोक्कियो । सानी फुच्चीले गाग्रीझैं बोकेर तोङ्बा मेरो टबुलमा कन्दै राखिदिई । तातो पानी ? उसले अर्को टेबुलतिर आँखा सन्काई । भट्टी आत्मीयता । मुसुक्क हाँस्दै अर्को टेबुलका दुई जुल्फी युवामध्ये एउटाले थर्मस पछारेझैं मेरो टेबुलमा राखिदियो । म ढोकाको अगाडि थिएँ ।
मैतीदेवीचोकबाट सोझै म देखिन सक्थेँ । चिसो बतास पनि सडेका तरकारीको गन्ध बोकेर मसम्म आइरहेको थियो । सर्दीले मरणासन्न भएको नाकले पनि थाहा पाउने गन्ध ? मैले कुनातिर आँखाका काला गेडी कुनातिर पर्लक्क फर्काएँ । औपचारिकताका लागि उसलाई सोधिदिएँ, ‘त्यता बसूँ ?”

हुन्च ।’ नबस् भने पनि म छोड्नेवाला त थिइनँ ।

म साँघुरा टेबुलमा यताउता ठोक्किँदै त्यस टेबुलसम्म पुगेँ । देश-देशका सिमानामा नेपोलियन ठोक्किएजस्तो । तोङ्बामा तातोपानी बाफिइरहेको थियो । टिप्स छ : तोङ्बामा तातोपानी पाँच मिनेटसम्म त्यत्तिकै छाडिदिनू । त्यसपछि, पो स्वाद आउँछ नि यार !

अगाडिको उसले एक घुट्को छ्याङ घाँटीबाट तल ठेलेपछि, धुवाँ पत्र-पत्र जमेको सिलिङ नियाल्यो । मैले कालोपातो भरिएको उसको अनुहार नियालेँ । छ्याङको गिलास र जग नियालेँ । हरियो जगको मैलिएको सतहमा एउटा कमिला माथि उक्लिरहेको थियो । माथि पुगेर तल हाम फाल्यो भने छ्याङ-समुद्रमा त्यसले प्राणत्याग गर्छ । मैले चोरऔँलाको नङले बिस्तारै कमिलाको ढाडमा हिर्काइदिएँ । आवाजहीन कमिला पछारियो । उसले थाहा पायो र मलाई घुर्‍यो ।

म चुइकिएँ, ‘कमिला …।’

झ्यार्र मैले चुरोटको टुप्पामा सल्किएको काँटी झोसिदिएँ । एक सर्को तान्दै बट्टा ऊतिर तेस्र्याएँ ।

’’भयो… एउटैले हुन्च ।’ उसले मितव्ययिता देखायो ।

मैले दोस्रो सर्को तानेँ र धुवाँ उड्दै गरेको चुरोट ऊतिर बढाएँ । लियो । सर्को तान्यो । मैले तोङ्बाको टर्रो एक घुट्को पिएपछि, उसले मलाई सोध्यो, ‘काँ बस्नुहुन्छ ?’

‘घट्टेकुलो ।’

‘ए… म पनि यही छेउमा त हो नि !’ पत्रिकामा लेख्न थालेपछि म अलिकति प्रश्न गर्नसक्ने भएको छु । मुड हेरेर ।

सोधेँ, ‘आफ्नै घर हो कि भाडामा ?’

घर ? छि ! उसले भन्यो, ‘भाडामा ।’

‘कोको हुनुहुन्छ ?’

‘आमा र म ।’ उसले एक घुट्को छ्याङ पियो र ज्याकेटको बाउलाले चिसा ओठ पुछ्यो, ‘अंकलको घर हो । भाडा कमै छ नि !’

‘कामचाहिँ काँ गर्नुहुन्छ ?’

‘पार्किङमा’ उसले आफ्नो कामको बनोट बुझायो, ‘पार्किङका लागि जति गाडी र बाइक आउँछन् नि… ती सबैसँग पैसा उठाउनुपर्छ ।’

‘दिनमा कति कमाइ हुन्छ त ?’

‘कहिले सत्तरी-असी रुपैयाँ हुन्च’ हाँस्यो, ‘कहिले त तीन सयसम्म पुग्छ ।’

उसले आफ्नो हाकिम, जसले पैसा समितिमा पठाउँछ रे, पैसा कहाँ जान्छ, उसलाई राम्रोसँग था’ छैन । उसले दिक्क मान्दै सुनायो, ‘काम के गरिनँ दाइ ! पानी बोकेँ…, घरमा इनामेल लगाएँ…, एउटाले विदेश पठाइदिन्छु भनेर साठी हजार झ्वाम पार्‍यो…, मैले पनि दाइ… पासपोर्टमा आगो लगाइदिएँ… मज्जाले बल्यो ।’

केही राजनीति । केही बजारीकरण । केही काठमान्डूको जाम । केही बढ्दो तरकारीको मूल्यदेखि प्रचण्डका जुँगा किन त्यस्ता बाक्ला छन् ? सम्म गफ फनफनी रिँगेपछि, उसलाई सोधेँ, ‘बिहे किन नगर्‍या ?’

‘पाए पो गर्नी ?’ ऊ हाँस्यो, ‘तर, दाइ… बत्तीस नपुगी त बिहे गर्नुहुन्न है !’

लौ त । भाइबाट दाइमा म प्रमोसन भइसकेको थिएँ । अब मेरो अर्को अर्डर— बफचिल्ली आइपुग्यो । बाफसहितको । लिऊँ न, मैले इसारा गरेँ । उसले एक पिस लियो । र, आत्मीयता भरिएको आजावमा सुनायो, ‘दाइ… साथी त सबै स्वार्थी हुँदा रै’छन् है !’

कुन्नि ?

घट्टेकुलावरिपरिका फाँटमा फुटबल खेल्दाखेल्दै म हुर्किएको हुँ । दाइ ! म त काठमान्डूकै हुँ नि ! बा स्थानीय मन्त्रालयमा काम गर्थे । छ नि दाइ, त्यो के र एउटा पद हुन्छ नि…

‘सुब्बा ?’

‘त्योभन्दा मुन्तिरको क्या ।’

बाले ट्युसन पढाउने दुईजना टिचर राखिदिएका थिए । पढे पो ! ज्वाइन्ट पो लाउन थालियो । पढेर के हुन्छ ? एक ज्वाइन्ट लगायो, झमझम । च्वाँकच्वाँक केटीले पनि लाउँथे, तर फुटेको आँखाले हेरिएन । पढाइ छुट्यो नि ! बाउले क्या कमाउँथे । छ नि, पैँतीसवटा त टेम्पो थिए । उही विक्रम टेम्पो क्या… !

बाउ मरे । टेम्पोका अर्को पार्टनरले सबै खाइदियो नि ! क्या दुख्ख लाग्छ, दाइ ! साथी पनि काँ-काँ पुगिसके । एउटा त यै मैतीदेवी पनि आउँछ, ट्राफिकको इनेस्पेक्टर छ, तर चिन्दैन नि दाइ मलाई । सब साथी ठूला भए नि ! सबै स्वार्थी । हुन त म जस्तोसित संगत किन गर्दा हुन्…

‘अनि प्रेमिका ?’

ह्या ! दाइ पनि… एउटी थिई नि । डिल्लीबजारमा । क्या… ब्लफकल दिन्थेँ नि । मेरो झ्यालबाट उसको कोठा देखिन्थ्यो । गफ पनि क्या दिन्थी । एकदिन फोनमा भन्देँ, भेट्न आऊ न त…सोधी- कता आऊँ ?डिल्लीबजार पीपलबोटमा बोलाएँ । हिहिहि… त्यो छ नि त्यति नजिक… पनि ट्याक्सी पो चढेर आई । मैले सबै लुकेर हेरिरहेको थिएँ । ट्याक्सी रोकी । बाहिर निस्किएर हेरी । क्या दामी रैछ । तर, म कुरा गर्न जानै सकिनँ…किन नि ?लाज पो लाग्यो । ऊ डिल्लीबजार विजयस्मारक हुँदै फेरि फर्की । साँझ मैले फोन गरेर भनिदिएँ- सरी है… तिमीलाई भेट्न लाज लाग्यो ।

एकदिन ज्वाइन्टको सुरमा उसकै कोठामा पुगेँ । घरमा कोइ रै’नछ । भन्न त के भन्नू ? तर… सबैथोक भयो नि दाइ ! त्यसका बाउ नेपाली, आमा इन्डियन रै’छन् । अनि ?एकदिन टिल्ल परेर उसको बर्थ डे गिफ्ट दिन गएको थिएँ नि । उसको बाउले क्या निहुँ खोज्यो । म घर फर्किएँ ।

क्या झोक चल्यो । मैले पनि झोकमा गएर उसको घरको झ्यालका सबै सिसा फोरिदिएँ । हिहिहि… उसको बाउ क्या डराएको । तीन दिनपछि फेरि गएँ नि… क्या र्‍याक भो भने नि…. हिहिहि डेरै सरेछन्…

त्यसपछि, अर्कीसँग पर्‍यो नि, दाइ… रातोपुलमा बस्थी । गाउँबाट आएकी हो कि क्या हो… किस नै गर्न नजान्ने…

‘मैले भनेको मान्छौ नि ?’ एकदिन सोधी ।

‘मानिहाल्छु नि !’

‘चुरोट र रक्सी छाड ।’

अनि दाइ… मैले ज्वाइन्ट र रक्सी छाडिदिएँ । एक दिन त उसैले मलाई छाडिदिई । भनी, ‘तिम्रा आँखा अझै राता छन् ।’

मैले ज्वाइन्ट फेरि सुरु गरेँ । ऐले अलि कम तान्छु । के दाइ ज्वाइन्ट लिनुहुन्छ ?

‘अहँ…!’

नलिनुस् के दाइ ! र्‍याक हुन्छ नि । अब त ज्वाइन्ट तान्ने साथी पनि छैनन् । सबै ठूला भए नि ! पैसा टन्नै कमाएका छन् । अनि दाइ… पार्किङमा कत्राकत्रा गाडी चढेर आउँछन् । तर, ठिसहरू दस रुपैयाँमा कचकच गर्छन् । त्यत्रो पैसा कसरी कमाउँछन् दाइ ?

कुन्नि ?

सबै कालो धन्दा गर्छन् कि क्या हो ?

खै ?

राम्रो काम गरेर त त्यत्रो पैसा कसरी कमाइन्छ र, होइन दाइ ! म त त्यस्तो नगर्ने । पार्किङमा के, गाडीभित्र पैसा भरिएको सुटकेस छाडेर त्यसै हिँडिदिन्छन् । सुटकेस लिएर भागे कसले समात्ने ? त्यस्तो गर्नु हुन्न दाइ…! के गर्नु हुन्छ र ?

‘अहँ’

गर्दिनँ नि दाइ… गर्ने भए त टन्न कमाइसक्थेँ नि ।

उसले आफ्नो गिलास हेर्‍यो । छ्याङ सक्किएको थियो । गिलास उल्टो पारे, पन्ध्र थोपा त झर्दो हो । उसको गफमा मैले तीनपल्ट तोङ्बामा पानी थपिसकेको थिएँ । चुरोट सात-आठ खिल्ली । उसले गोजीबाट कच्याककुचुक परेका बीस र दसका नोट मुठीभरि झिक्यो । टेबुलमुन्तिर मैले नदेख्ने गरी गन्यो । र, सिलिङतिर हेर्दै हिसाब गर्‍यो ।

मैले कुरा बुझेँ र भनेँ, ‘अरू लिने ?… म दिन्छु नि !’

‘ए… !’ फिस्स हाँस्यो ।

जुरुक्क उठेर अर्को कोठामा गयो । धुलो भरिएका गोडा कुर्कुच्चा पातलिएका चप्पलभित्र ङच्िच थिए । ऊ फर्किएर आयो । हरियो जगमा छ्याङ भरिएको थियो । बाहिरसम्म छल्किरहेको सेतो छ्याङ ।

‘नपढेर ठूलो गल्ती गरेँ नि दाइ…!’ उसको अनुहारमा भावुकता भरियो, ‘पढेको भए त यस्तो भइँदैनथ्यो ।’ उसले आफ्ना बा सम्झियो । जसले टिउसनका लागि दुईजना टिचर राखिदिएका थिए । पैसा र अभाव भागेकी आमा सम्झ्यो र ती साथी जसले उसको फोन पनि रिसिभ गर्दैनन् ।

‘दाइसँग भेटेर मन हलुको भयो ।’ मेरो चुरोटको बट्टाबाट एक खिल्ली चुरोट तान्यो र झ्वार्र सल्कायो ।

‘मलाई पनि खुसी लाग्यो,’ मैले पनि औपचारिक भाषा बोलिदिएँ, ‘तपाईंको कथा सुन्न पाएँ ।’

‘ए हे !’ उसले केही सम्झियो र भन्यो, ‘दाइको नाम केरे ?’

मैले आफ्नो कार्ड दिएँ । उसले एकछिन घोरिएर हेर्‍यो । ओठ चलाउँदै इमेल एडे्रससम्म पढ्यो । ‘अनि तपाईंको नाम के नि ?’

‘भगवान् ।’ कार्डमै घोप्टिएर उसले भन्यो ।

चिसा भगवान्का बीचमा सास फेरिरहेको अर्को भगवान् ? म फिस्स हाँसेँ । अब ढोकाका कापकापबाट रातभित्र छिरिरहेको थियो । र, मैले उठ्दै भनेँ, ‘म गएँ है !’

ऊ जुरुक्क उठ्यो । हात अगाडि बढायो । र, मेरो हात समाएर आफूतिर तान्यो । अंगालो मार्‍यो । बढी लाग्दा यस्तै हुन्छ । हिँड्ने वेला भन्यो, ‘म फोन गर्छु है दाइ ?’

‘हुन्छ ।’ आवाजसँगै म व्यस्त मैतीदेवीचोकमा पुगिसकेको थिएँ ।

आवाजहीन भीडमा हराएँ । सायद, उसले भोलिपल्ट उठ्दा मलाई बिर्सिएर उठेको होला । अहिलेसम्म फोन गरेकै छैन । उसले फोन गर्‍यो भने पनि त, म फोन रिसिभ गर्दिनँ । के उसले त्यो थाहा पाइसक्यो ?
(श्रोत :-  Writer’s Blog )
Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मैले भगवान देखें

~बुद्धिसागर~

०५५ भदौको दोस्रो हप्ता । बिहान नौ बजे । मैले २९ नम्बरको गोल्डस्टार जुत्ता गोडामा बाधें । मान्म बजार फन्का लगाएँ । जुत्ता टपक्क टाँसिएका थिए । पाइताला रापिला भए । म जुत्ता छान्न कहिल्यै जान्दिनँ । कि त ठूला छान्छु, कि साना । पछिसम्म थुकथुक भइरहन्छ । ‘अलिअलि टाइट छ । हिँडेपछि खुकुलो भइहाल्ला,’ यस्तो सोच्नु सबभन्दा ठूलो गल्ती थियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : धन्यै मरिगएको ..

~बुद्धिसागर ~

कात्तिक अन्तिम हप्ता थियो, सायद। बिहानैदेखि ‘भिआइपी’ साहुजीलाई छट्पटी थियो। होटलको नाम ‘भिआइपी’ राखेदेखि उनको नामै भिआइपी साउजी भएको थियो। सधैं दौरासुरुवाल र स्टकोटमा यताउता दगुरिरहन्थे। त्यसदिन हतार झन् बढेको थियो।
मसित उनका नौ-दस वर्षका दुइ छोरा र एक्काइसवर्षे भाइ अजय सुर्खेत झर्ने तयारीमा थिए। सुरुवालको पछिल्लो भाग नचाउँदै उनी बिहानभरिमा तीनपल्ट मकहाँ आए।
‘भाइ मेरा साखा सन्तान तिम्रै भरमा जाँदैछन्।’ उनी एकदम गलेका थिए, ‘ख्याल राख्नू।’
मंगलबार। साइतको बार। साढे दस बजे म पिठ्युँमा झोला कसेर तयार भए। दाइले एउटा डिभिडी पनि मेरो जिम्मा लायो। भनेको थियो, ‘हेड बिग्रया छ। बनाएर राख्नू।’
मान्मको ओरोलो झनर्ेे बेला आमाले रुन्चे स्वरमा भन्नभो, ‘राम्ररी जानू।’
‘केटाहरूलाई भीरतिर जान नदिनू,’ भिआइपीले भने।
साँझपख राकम बजार पुग्छौं। बिहान त बस पाइहालिन्छ, यही योजनामा हामी बिस्तारै ओरालो लाग्यौं। तल पुगेर मैले फर्किएर माथि हेरेँ। आमा टोलाउँदै मलाई हेरिरहनुभएको थियो। अनि म ठूलो ढुंगामा छेलिएँ।
डाँडामा डेढ महिना कुजिएका फुच्चेहरू सुर्खेत पुग्नेबित्तिकै फिल्म हेर्ने योजना बनाइरहेका थिए। चन्चल थिए, पन्छीझैं। ती बेलाबेला बाटोछेउका ठूल्ठूला ढुंगामा उफि्रन्थे।
‘ए, त्यता नजाऊ,’ म डिभिडी झुन्डिएको दायाँ हात झट्कार्थें। हात पनि गलिसकेको थियो।
‘अंकल, दिनू हामी बोकिदिन्छौं,’ एउटाले भन्यो। त्यसपछि हाइसन्चो भो। डिभिडी कहिले एउटा हात, त कहिले अर्को हात।
मध्याह्नको घाम। तालु पगाल्नेगरी चर्किरहेको थियो। झन् कर्नालीको किनारमा पुगेपछि त पाइतला पनि जल्न थाले। जुत्ता कर्नालीमा मिल्काइदिउँझैं लाग्न थाल्यो। फेरि फुच्चेहरू जहाँ सितल देख्यो, त्यहीँ थ्याच्च बस्थे।
तन्द्रामा उघिरहेको खुलालु नाघुपघि, भुंग्रोझैं रापिलो भएको कर्नालीको बगर। बाटोलाई गुजुप्प घेरेका सिस्नुका झ्याङ छिचोल्दै हामी हिँडिरह्यौं। काखी र तिघ्राका काप भब्बाउन थालिसकेका थिए।
खिड्कीजिउला पुगुन्जेल त पिडौंला पनि टनटनी दुख्न थालिसकेका थिए, टनक्क फुलेको पिलोझैं। सर्‍याक्क पाइन्ट ददारिँदा पनि दुख्थे। बाटो खुलेपछि, अचानक खेतैखेतले भरिएको खिड्कीजिउलामा पनि बजार बनेछ। गाडीबाट ल्याएका सामान बर्खामा यतै र्झछन्।
अस्थायी बजार भएर होला, प्रायः घर झुपडीजस्ता देखिन्थे। छानाभरि बर्सादी। छेउको कर्नालीबाट हुत्तिएको बतासले ती बर्सादीलाई छोएर जाँदा, ती चराको पखेटाझैं फड्फडाउँथे।
खिड्कीजिउलामा खाजा खाएपछि थकान अलिकता मेटियो। हामी सडकैसडक हिँडिरहेका थियौं। उही गाडीको बाटो। गाडीको बाटो भनेर के गर्नु, बर्खामा हिँडेका ट्रयाक्टरले बाटोमा दुईवटा गहिरा-गहिरा कुला खनेका थिए। जिप त तिनका डिलैडिल हिँड्थे।
‘दाइ,’ हिँड्दाहिँड्दै टक्क अडिएर अजयलेे भन्यो, ‘राकममा जिप पाए त जिपमै जानुहुन्थ्यो।’
‘पाए त हो,’ मैले यत्ति भनेँ।
हुन त मलाई पनि बसमा जान कहाँ मन छ र ? सिटभन्दा दोब्बर मानिस। छतमा त्यसको दोब्बर। बस पनि हाँसझैं ढलक-ढलक भीरतिर ढल्किन्छ। छिः उल्टीको फोहरा। सास र्फन पनि घिनलाग्दो।
बसवालाले जिप त छुनै दिन्नन् रे। कतिलाई जिपबाट ओरालिदिएका छन् रे। जे भए पनि तिनकै बस चढ्नुपर्छ रे। यस्तो पनि हुन्छ क्यै।
कसरी कट्ला भोलिको बसयात्रा ?
पौने चार बजेतिर, बाटोछेउको चियापसलमा दैलेखी साउजीहरू भेटिए। ती सडकछेउको दुबोमा उत्तानो परेका थिए। अगेनामा चियाको कित्लीको बिर्को थर्थराइरहेको थियो।
‘बस, च्या खाऊ,’ एउटाले भने, ‘सागै जाउँला।’
ती साउजी दाइभाइ हुन्। दुवैको मान्ममा कपडा पसल छ। दाइ चैं आइरनको धारवाला सर्ट र पाइन्टमा थिए भने भाइ माथि टिसर्ट र तल गोजी नै गोजीको पाइन्टमा। पाइन्ट ठ्याक्कै त्यस्तो हरियो टाटेपाटे, आर्मीको जस्तो।
‘हुन्छ नि त। खाम्।’
चिया पिएर हिँड्दाहिँड्दै साउजीहरू पछि छुटे। राकम पुगेपछि त भेट भइहाल्छ। हामी अघिअघि हिँड्न थाल्यौं।
अछामको आकासै आकास हिँडिरहेको घाम अगेनाको भुंग्रोझैं सेलाउँदै गयो। कर्नालीको रखवारी गरिरहेका पहाडका तालुमा हिँड्न थाल्यो। आँखाभन्दा परसम्म पसारिएको कर्नाली टल्किन थाल्यो। चिसो बतासले ज्यान सुम्सुम्याउन थाल्यो।
आखिर घाम निभ्यो। आकासको डिलैडिल फिक्का चन्द्रमा देखियो। हामीसागै हिँड्न थाल्यो। हामीले हाम्रा पछि न’आ भनेनौं। बरु, हामी पनि जूनकीरी भयौं। मेरा हातमा सानो टर्च थियो। त्यसको उज्यालोमा फुच्चेहरू छाया अघि पारेर हिँड्न थाले।
अँध्यारोमा फुच्चेहरू डराएछन् कि के हो, त्यति बोलेनन्। लुखुरलुखुर हिडे। बाटोछेउछाउका घरहरूमा मधुरो टुकी बलिसकेको थियो। बेलाबेला कुकुरले भुक्दै पछ्याउँथे।
आखिर आइपुग्यो राकम बजार।

लोडसेडिङझैं चारैतिर अँध्यारो थियो। पसलपसलमा लालटिनको मलिन उज्यालो छरिएको थियो। भोलि बस यहीँबाट जान्छ, त्यसैले बजारमा हल्लाखल्ला थियो। कालीकोटे र अछामीहरू होलान्, सप्पै।
‘यता बस।’
‘ओ बाबुसाहेब, यता बस।’
हामीलाई देख्नेबित्तिकै होटलवालाहरू ढोकामा उभिएर कराउन थाले। म गर्दन तन्काउँदै हिँड्न थालेँ।
‘म पनि कालीकोटकै हुँ,’ एउटा होटलअगाडि ठिंग उभिएको साहुजीले भन्यो, ‘यतै बस। अरू पनि छन्।’
‘अंकल यहीँ बसौं,’ भन्दै फुच्चेहरू होटल छिरे। कालीकोटे साहुजी भएकाले आप|mनिन गएका होलान्। हामीले झोला बिसायौं। एकछिनमा दैलेखी साउजीहरू पनि आइपुगे।
‘ए यता पो,’ उनीहरू हाँसे, ‘हामीले कति खोज्यौं।’
‘हामी त यतैै बस्ने भइम्।’
दैलेखी साउजी पनि यही होटलमा बस्ने भए। लौ त, साउजी कोठा देखाऊ। साउजीले कोठा देखायो। दैलेखी साउजीहरू एउटा पलङमा सुत्ने भए। हामी भने दुइटा पलङ गाफेर लहरै। फुसको छानो। एउटा सानो झ्याल। उकुसमुकुस गर्मी। खटमल मार्न छर्केको मेटासिडको गन्ध।
साउजीले लालटिनको मधुरो उज्यालोमा कुखुरो भुत्ल्यायो। अबेरसम्मको गफैगफमा भात पाक्यो। बाफ उठिरहेको थाल टेबुलअगाडि आयो। तातो भातको बासनाले ह्वात्त भोक बढ्यो।
थकानले चुर ज्यान पिरो मासुले तात्यो।
खाना र बासको पैसा तिरिसकेपछि, लालटिन उचाल्दै साहुजीले भन्यो, ‘ल हड् … सुत्न जाऊँ।’
फुच्चेहरू हाइले च्यातेको मुख फैलाउँदै साहुजीको पछि लागे।

ट्वा ट्वा …
म झल्यास्स ब्युझिएँ। बिहान भयो कि के हो ? बस हिँड्न थाल्या त छैन। निद्रा छुमन्तर भो। म टर्च खोज्न हतारिएँ। खत्रयाक-खुत्रुक आवाजले दैलेखी साउजीहरू पनि ब्युझिए।
‘दाइ, बस हो कि ?’ अजय पनि उठेछ।
‘हो कि के हो ?’ म मख्ख पराे, ‘जाऊ हेर त।’
अजय टर्च लिएर तल दगुर्‍यो। एकैछिनमा आयो।
‘दाइ जिप रैछ,’ उसले सास फुलेको आवाजमा सुनायो, ‘लैजान्छु भन्या छ। सुटुक्क आउनू, पर कुरेर बस्छु भन्या छ।’
‘अरूलाई था नदिऊ,’ दैलेखी साउजीले भने, ‘सुटुक्क जाऊ।’
फुच्चेहरू उठेर हाइ गर्न थाले। मैले हतार-हतार पाइन्ट लगाएँ। यसरी चोरझैं सुटुक्क त कहिल्यै हिँडिएको थिएन। बाहिर चन्द्रमाको मधुरो उज्यालो भुइँभरि छरिएको थियो। फुस्रो सडक तमतन्न परेको थियो। हामी छायाझैं लुसुक्क होटलबाट बाहिरियौं।
बसवालाले थाहा पाए त मार्छन्।
दुई सय मिटर पर … जिप जूनको उज्यालोमा ठिंग उभिएको थियो।
‘टर्च नबाल्नुस्,’ जिपतिरबाट आवाज आयो।
मैले स्वाट्ट टर्च निभाएँ। जिपछेउ दुई जना ठिटा उभिएका थिए। एउटा दुब्लो, अर्को मोटोघाटो। पछि पो थाहा भो, दुब्लोचाहिँ डाइभर रैछ। थारू। अर्को चैं जिप साउ।
डाइभरले जिपको पछाडिको ढोका उघार्‍यौं। हामी उक्लियौं। सिट त दुईतिर लामा। माइक्रोबसका जस्ता। बायाँतिर दैलेखी साउजी र म बस्यौं भने दायाँतिर भिआइपी परिवार। डाइभरले पछाडिको ढोका बन्द गर्‍यो र ताल्चा मार्‍यो। ढोकाको के भर जहाँ पनि ह्वात्त खुल्न सक्छ।
‘सबै आउनु भो ?’ साउले सोध्यो।
‘यत्ति हौ।’
जिप स्वाट्ट स्टार्ट भो र ह्वात्त दगुर्‍यो। खुसीले मेरा गाडा बिस्तारै काँपिरहेका थिए। आनन्दले सुर्खेत पुगिने भो। न त भीड, न त उल्टी।
‘एक जनाको चारसय पचास लाग्छ।’ साउले अगाडिको सिटबाट पछाडि फर्किएर भन्यो।
‘दिम्ला।’
जिप उज्याल प्रकाशका लप्काले रुख सुम्सुम्याउँदै दगुर्‍यौं। सडकछेउछाउका रुख पनि निदाका होलान्, जंगल सन्नाटाले भरिएको थियो। जंगलभरि जिपको थर्थराहट फैलियो। फुच्चेहरू जिप चढ्न पाएर रमाएछन्। बेलाबेला मतिर हेरेर खिस्स हास्थे।
जिप रातामाटा बजारको छेउमा टक्क अडियो। डाइभरले हर्न बजायो। कसैलाई बोलाको होला। यही मौकामा मैले घडी हेरेँ। थुक्क, साढे बल्ल एक बजेछ। जिप हिँडेको आधा घन्टा त भो नि।
साढे बाह्रमा पो हिँडिएछ ? हत्तेरी, साढे बाह्रको साइत राम्रो हुन्न भन्छन् त।
एउटा घरबाट घर्‍याक्क दैलो उघारेर एउटा केटो बाहिर निस्कियो, ब्याग हातमा झुन्ड्याउँदै। जिपतिर हेर्दै आँखा मिच्यो। डाइभरले ताला खोल्यो। केटो भित्र पस्यो र फुच्चेहरूको छेउमा बस्यो। ब्याग सिटमुनि घुसार्‍यो। फेरि ताला लाग्यो र जिप बेस्मारी हुइँकियो।
जिप माथि-माथि चढ्दै गयो, कर्नाली भयो तल-तल। अबेरपछि, मसिनो कर्नालीभन्दा धेरै माथि जिप थर्थराइरहेको थियो। पौने तीन बजे, रामाघाट आइपुग्यौं। पहिलाको चल्तापुर्जा बजारबाटो माथिसम्मै पुगेपछि निखि्रएको थियो।
‘म गाडी चलाउन सक्दिना।’ जिप रोकेर डाइभरले भनी त हाल्यो, ‘एकछिन सुत्छु।’
बजारभन्दा अल्ली माथि सडकछेउ जिप सुस्तायो। सबै जिपमै ढल्किए।
म बाहिर निस्किएँ।
‘जाऊ त दोकानमा चिया पाइन्छ कि ?’ पिसाब फेर्न निस्किएको जिप साउले खुसुक्क भन्यो।
यस्तो पेट खल्लो भा’को बेला चिया पाए त मज्जै हुन्थ्यो। साउले सायद, पहिला बास बसेको होटल हुनुपर्छ, त्यहाँ पुर्‍यायो। बाहिर अगेनामा आगोका झिल्काझिल्कीमात्र थिए। दैलोको चेपबाट मधुरो टुकीको उज्यालोका मलिन धार बाहिरसम्म आएका थिए।
‘साहुजी ?’ जिप साउले दुई पल्ट बोलायो।
जवाफ आएन।
‘सुत्न जाम्।’ ऊ जुरुक्क उठ्यो र घर पछाडि गयो। म पछि लागेँ। बाँसका लिंगाको थोत्रो भर्‍याङ चढाएर माथि पुर्‍यायो। अँध्यारोमा छामछुम गर्दा पलङ भेटियो। पलङमा सिरकका चाङ लागेका थिए।
म एउटा पलङका डङरंग पछारिएँ।

ट्वा ट्वा … जंगली हात्तीझैं जिप कराइरहेको रैछ। अबेरपछि, झल्यास्स ब्युझिएँ। दैलोनेर रमरम उज्यालो पोखिएको थियो।
‘यस्की मा …।’ साउ पनि उठ्यो र पलङबाट हाम फाल्यो।
हामी हतारहतार तल झर्‍यौं। ‘अंकल।’ फुच्चेहरूले देखेछन्, कराए। जिप बजारछेउको खोलाकिनारमा उभिएको थियो। फुच्चेहरू काँतर देखिन्थे। दैलेखी साउजीको पनि अनुहार खस्किएको थियो।
‘कता गएको ?’ उनीहरू कराए, ‘हामीले कति खोज्यौं।’
म बोलिना।
‘अंकल।’ फुच्चेहरूले सासले बोलाए।
म छेउमा गएँ। अघि डाइभरले जिप निद्रामै हाँकिदिएछ। धन्नै खोलाका उल्टिएको रे। डाइभरले भने यत्ति सुनायो, ‘ब्रेक नै लागेन।’
जे भयो, भयो।
चिया दोकानका साउजी उठेछन्। एकएक गिलास कालो चिया पिएपछि, सावधानीपूर्वक जिपले खोला तर्‍यो। र, उक्लिँदै गयो।
पहाडमा घाम झुल्किएको हेर्नु जतिको मजा त अरू कहाँ होला र ? फुङ्ङ उडेका चुचुरा पनि रंगीन हुँदै जान्छन्। नम्बरी सुन जस्ता। माथि-माथिका पहाड पनि त्यस्तै देखिए। यो त एकछिनको आनन्द भो। पीडा त छ नि, पर … पहाडमा मधुरो बिरालोले खोस्रेजस्तो बाटो देखियो, अब त्यहीँ पुग्छ जिप।
यो जिप पनि कम्ती त छैन। सडक विभागको जिप रैछ। पहिलो लटको। अहिले झिल्के साउले सुर्खेत राकम चलाउँछ। अलि अग्लो उकालो आयो कि जिप वरै घोडाझैं हिनहिनाउँछ।
अँध्यारोमा त जिप कता कुद्यो, कता ? उज्यालोमा भने लगलगी गोडा काँप्न थाले। तल ट्युबलाइटझैं बलिरहेको कर्नाली। माथि पहरो। बाटो पनि जता भीर त्यतै ढल्किएको। त्रासले सप्पैका ओठमुख सुक्न थाले। एकमिटर फराकिलो बाटो। बेलाबेला टायरमा ठोक्किएका ढुंगा भीरबाट तल गुल्टिन्छन्। म बाहिर हेर्न सक्दिना। जता आँखा घुमाए पनि पुग्ने त त्यै भीरमा हो।
डेढ दुई घन्टा लगातार दगुरेपछि, जिप घ्याच्च रोकियो। सबैले बाहिर हेरे। बाहिर भर्खर सडक उक्लिएका दुई जना मानिसले हात उठाएका थिए। साउ खिस्स हास्यो। डाइभरले ताला खोल्यो। दुई वृद्ध भित्र पसे र मेरै छेउ बसे। दुवैको निधारमा रातो अक्षता थियो। लामै यात्रामा हिँडेजस्ता छन्।
‘कहाँबाट आउनु भाको ?’ उनीहरूले सोधे।
‘मान्मबाट।’
कुराकानी यत्ति नै भो। डर त तिनलाई लागे होला। ती आफ्नै काखमा घोप्टो परे।
घडी हेरेँ, सवा आठ भैसकेछ। दैलेख लागिसकेछ। जिप पनि पहाडको चुचुरामै पुगेछ। नाकको डाँडीजस्तो ठाडो उकालो सुरु भो। जिप घोडाझैं उपि|mँदै उकालोमा ठसठस कन्न थाल्यो। तल छ, मधुरो कर्नाली। कर्नाली र सडकको बीचमा एउटा हरियो त्यान्द्रो छैन। ढुंगैढुंगा। माथि पहरो। छतमै खस्छन् जस्ता बाहिर निस्किएका ढुंगा। जिप दसको रफ्तारमा थर्थराउन थाल्यो। यो उकालो त साह्रै रैछ। डाइभर स्टेरिङतिर घोप्टियो। जिपले धुवाँको मुस्लो पाद्यो। घ्यार्र घ्यार्र … चिप्लेकिराझैं उक्लिन थाल्यो।
लौ चढ्यो … चढ्यो। मैले मुठी कसेँ।
लौ जा। जिप त पछाडि पो सर्न थाल्यो, रफ्तारमा। एइ, डाइभर बे्रक लगा। दुइपल्ट जिप घ्याच्च घ्याच्च रोकियो।
मरेँ नि आमा।
जिप रोकिएन। झन् स्वात्त पछाडि सर्‍यो। मेरो हंश उड्यो। फुच्चेहरू चिर्र चिच्चाए। जिप पहरोतिर सोझियो। मैले काँतर आँखाले पहरोतिर हेरेँ। पहरो नजिक-नजिक-नजिक हुँदै गयो।
धड्याम्म …
आखिर मरिहालेँ। होस रहेन। डर रहेन। जिप उछिट्टएिर सडकमा पछारियो। झर्‍याम्म फुटेको सिसा खस्यो। म बसेको सिट फुस्किएर फुच्चेहरूको छातीमा बजारियो। ती काठको मुढोझैं यताउता ठोक्किए। जिप घिसि्रादै सडककिनार पुग्यो। डिलबाट दुईपल्ट ढलक-ढलक कर्नालीतिर ढल्कियो।
संसार सक्कियो।
धन्न जिप गुल्टिएन। घ्यार्र घ्यार्र गर्दै सडकमा ददारिन थाल्यो। मैले डाइभरतिर हेरेँ। सिटमै लुलो भएछ। माथि हेरेँ, सिसा फुटेको झ्यालबाट टाटेपाटे गोडा माथि उक्लियो, दैलेखी साउ रैछन्।
अरू त जिपभित्रै एकअर्कामाथि गुजुल्टिएछन्। म चिच्चाउन पनि सकिना। केवल आफ्नो टाउकोमाथिको झ्यालको सिसामा हिर्काइरहेँ। सिसा फुटेन। धुलो र धुवाँले जताततै अँध्यारो भयो।
एकछिन पछि बल्ल होस आयो। पछाडिको ढोका त ह्वाङ्ङै रैछ। म बाहिर लतारिएँ। अजय पनि ढोकातिर लतारियो। जिप बन्द भो। डाइभर खोच्याउँदै बाहिर आयो। दैलेखी साउ र जिप साउ दगुर्दै आए र फुच्चेहरूलाई बाहिर तानिदिए।
म ब्याग खोज्न थालेँ। जिपको कुनामा भने डिभिडी थरर्र हल्लिरहेको थियो।
म ब्याग र डिभिडी तान्दै बाहिर निस्किएँ र भुइँमा लमतन्न परेँ। आखिर कसैलाई केही भएनछ। अघि चढेका एउटा बुढाको कन्चटबाट रगत बगिरहेको थियो। मैले फुस्रा आँखाले फुच्चेहरूतिर हेरेँ। ती पनि ठिक रैछन्। सातोचाहिँ गएछ।
कर्नालीलाई भोक रैनछ, हामी बाँच्यौं।
करिब बीस मिनेटपछि, बल्ल मेरा गोडा लगलगी काँपे। मुटु चिसो भो। मृत्युको डर सुरु भो। जिप अलिकति ढल्किएको भए त सोझै कर्नाली पुग्थ्यो, कसैले थाहा पाउने थिएन, कहाँ पुग्यौं हामी।
‘तपाईंहरूको भाग्य बलियो रैछ। हामी पनि बाँच्यौं।’ अर्काको रगत थामिरहेका बुढाले तुरुक्क आँसु झारे, ‘हामी चढ्नेबित्तिकै जिप पल्टियो। हाम्रा दशा पनि काटिए।’
धुलो र डर भरिएको अनुहार बोकेर दैलेखी साउहरू अलि पर टुक्रुक्क बसेका थिए। ती पनि बोल्न सकिरहेका थिएनन्। डाइभर भने जिपमा छेलिएर रोइरहेको थियो।
साउ ठिक थियो।
‘मेरो जिप त सक्यो।’ उसले एकछिनमा रुन्चे स्वरमा भन्यो, ‘भाडा दिनुहुन्छ कि ?’
म लगलगी काँपे, मर्नुअघि भाडा दिएर मर्नु ?

फुच्चेहरू खोच्चाउँदै हिँडे। अजयको छातीमा रातो डाम थियो। त्यै पनि हिँड्न सक्यो। म पनि हिँडे। दैलेखी साउहरू एकछिन पछि आउने भए। बुढाहरू घर फर्किए। साउ र डाइभर जिपछेउ निन्याउरो अनुहार लाएर टुक्रुक्क बसिरहे।
एक घन्टा खोच्याउँदै हिँडेपछि, दुई चारवटा धुवाँ पुत्ताइरहेका पसल देखिए। पादुखोला आइपुगेछौं। एउटा पसलको पिढीमा थचक्क बस्यौं। धुलाम्मे र डर भरिएको हाम्रो अनुहार देखेर पसलले सोधे, ‘के भो ?’
‘जिप पल्टियो।’
‘कसैलाई केही भयो ?’
‘खासै ठूलो चोट लागेन।’ मेरो आवाज अझै काँपिरहेको थियो।
साउजीले प्रेमले हामीलाई चाउचाउ बनाइदिए। त्यो खाएपछि ज्यान अलिकति तङ्गि्रयो। पादुका खोलाको माथितिर सोझै आकास उक्लेको बाटो छ। हामी त्यही बाटो जानु छ।
करिब साढे दुई घन्टापछि बस आइपुग्यो। उही अटेसमटेस। हामी ठिंग उभियौं। ‘चाँडो आऊ।’ कन्डक्टर करायो। फुच्चेहरू डराईडराई मेरा पछि लागे।
‘इनको जिप भर्खरै पल्टिएको हो।’ साउजीले भनिदिए, ‘राम्ररी लगिदिनुहोला ?’
‘ए, त्यैै जिपमा हो तिमेरू चढेका ?’ कन्डक्टरले सोध्यो।
‘हो।’
‘अर्कोमा आउनू।’ कन्डक्टरले ढ्याक ढ्याक ढोका हिर्कायो, ‘तिमेरूको दशा बिग्रया छ। लैजान मिल्दैन।’
म बोल्नै सकिना।
‘दशा त सक्किहाल्यो नि।’ साउजी हाँसे, ‘लगिदिनुस्। बच्चा छन्।’
कन्डक्टर अल्मलियो।
छततिरबाट एक-दुई जनाले भने पनि, ‘यो बसमा हामी पनि चढ्या छौं। इनको दशाले लतारेछ भने लतारिउँला।’
कन्डक्टरको केही लागेन। फुच्चेहरू लिएर अजय बसभित्र पस्यो। म छततिर उक्लिएँ। एउटा कुनामा टुसुक्क बसेँ। कसैले केही सोधेन। बस हिँड्यो।
अब मसित कुनै डर थिएन।
छतको पल्लो किनारमा एउटा ठिटो घुँडा घुम्चाएर सुन्तलाको बोरामाथि घोप्टिएको थियो। अबेरपछि टाउको उठायो। ए जिपको साउ पो रैछ। आँखा जुधे। खिस्स हास्यो। म पनि हाँसेँ र सोधेँ, ‘के भो ?’
‘आफ्नो गाडी त गोलखाडी गो।’ उसले यत्ति भन्यो र फेरि घोप्टियो।

साँझपख बस वीरेन्द्रनगर पुग्यो। धुलो उडाउँदै बसपार्कमा घ्याच्च रोकियो। दिनभरि खुम्चिएर गोडा निदाएछन्। लुला भएछन्। म लुला गोडा लतार्दै तल झरेँ। उभिनै गाह्रो होलाजस्तो भो। फेरि दायाँ काँधको पातो टनटनी दुखिरहेको थियो। बिहान मृत्युले छोएर गएको म साँझपख ठिंग उभिएको थिएँ, एकदम कमजोर।
के मृत्युले छोएर गएका सप्पैलाई यस्तै हुन्छ ?

(श्रोत :- NagarikNews )

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : छोरी माग्न जाँदा..

~बुद्धिसागर~

करिब एकवर्ष अघि जन्डिसले ग्रस्त एकजना मित्रले पुरानो बानेश्वरको आफ्नो घुर्मेलो डेरामा बोलाएर मलाई भनेका थिए, ‘कविजी, अब बिहे गरौं।’
म हाँसेँ।
‘बिहे नगरेर नै मलाई जन्डिस भएको हो।’
म झन् हाँसेँ।
‘हेर्नुस्,’ उनी भावुक पनि भए, ‘खाना राम्ररी खान पाएको भए, जन्डिस हुन्थ्यो? जे पायो त्यही खाइयो, अहिले यस्तो भो। बिहे गरेका भए, कम्तीमा रद्दी खानाबाट त जोगिइन्थ्यो।’
‘अब आफैलाई धान्न गाह्रो छ,’ म उनको बेडछेउ टुसुक्क बसेँ, ‘ब्या गर्‍यो भने झन् के होला? तनाव थपिन्छ। काठमान्डुमा ब्या गरेर बस्न गाह्रो छ।’
त्यो भर्खरै बेरोजगारीको महासागरबाट फुत्त बाहिर निस्किएको बेला थियो। एउटा अखबारमा मैले जीवनको पहिलो जागिर पाएको थिएँ।
अव उनका जन्डिसग्रस्त पहेँला आँखा ठूला भए। आँखाको सेतो सतहमा पहेँला धर्का प्रष्ट देखिए।
‘ल हेर्नुस्,’ उनले डायरीका पन्ना पल्टाउन थाले, ‘मैले हिसाब निकाल्या छु। पाँच हजारमा दुई जनालाई खान पुग्छ। कोठाभाडा तिर्ने गरी सात हजारले मइना मज्जाले कट्छ।’
अब उनको हिसाब बिवरण सुरु भो। दालको यति, चामलको यति, तेलको यति हुँदै नुन, ग्यास, चिनी र चियापत्तीमा पुगेपछि, हिसाब पूरा भो। मलाई मरिचवाला चिया खुब मन पर्थ्यो, मरिचको हिसाब भने देखिएन, तैपनि हिसाब ठिकै थियो। बिहेपछि चाँडै नै सन्तान जन्माउने योजना उनको हिसाबमा थिएन, त्यसका लागि अत्यन्त आवश्यक कन्डम महंगो पनि थिएन, जम्मा ५ रुपैयाँको ‘ढाल’ युज गरे हिसाबमा गडबडी हुने कुरा थिएन।
‘बिरामी हुँदा एक्लोपन फिल हुँदोरैछ,’ मित्र झन् भावुक भए, ‘अहिले तातोपानी तताएर खान दिने पनि कोही छैन। कुरा गरौं भने पनि कसैलाई फुर्सद छैन। ब्या भएको भए त टन्टै साफ हुन्थ्यो।’
‘ब्या त गर्न हुन्थ्यो,’ म पनि एकाएक जंगिएँ, ‘तलबै राम्रो छैन।’

 बिहानै खबर आयो, केटीका बाउले फेरि भेट्ने रे। मेरो कन्सिरी तातेर आयो, ब्या के बाउसित गर्ने हो? छोरीसित भेट गराउनु छैन। मैले लिडी ढिपी लिएँ, यदि भेट्नु छ भने केटीसित भेट्छु। बाउलाई भेट्दिनँ।


‘तीन हजारले दुइटा बच्चाबच्चीसहित काठमान्डुमा बसेका मानिस पनि छन्,’ मित्रले थपे, ‘त्यो हेर्दा त हामी धेरै नै कमाउँछौं नि, कविजी।’
करिब दुई घन्टाको ‘व्यापक’ छलफलपछि, निर्क्योल निस्कियो – साला, जे भएपनि विवाह चैं गर्नै पर्छ। तातो भात त खान पाइन्छ। सुख्खमा सँगसँगै हास्ने मौका नआएपनि, दुख्खमा सँगै रुन त पाइन्छ। हामी मात्रै कति ओठ-मुख सुकाउँदै, बेमौसमको एक्लो बेलौतीको रुखझैं खिङ्रिङ्ग पर्ने?
कुरैकुरामा मेरा रहरका पातहरू पलाउँदै गए।
‘ठोकम्,’ मित्रले आफ्ना तिघ्रामा मुड्की ठोके, ‘ठोकम्। जन्डिस ठिक हुनेबित्तिकै म पनि ठोक्छु।’
‘हो त?’ मेरा ढुकढुकी बढे।
विवाह गर्न सबैभन्दा पहिले केटी चाहिन्छ, बल्ल होस आयो। दुवै अबेरसम्म टोलायौं। लभै गरेर बिहे गर्ने हो भने पनि क्याफे-कफी, कफी-क्याफे गर्दागर्दै धेरै दिन बित्ने भए, पैसा खर्च हुने भए, फेरि ‘लभ’ बिहेसम्म पुग्ने हो कि होइन? लभै गर्ने हो भने पनि कसैले त पत्याउनु पर्‍यो। यदि लभै परेको भए त यस्ता ‘तनाव’ पनि हुँदैनथे। आफूबाट त केही होलाजस्तो छैन। अब एउटै बाटो छ – घर। सल्लाह भो, धेरै सपना नपालम्, ‘एरेन्ज म्यारिज’लाई दस औंलाको प्रणाम गरौं।
‘ल, घरमा फोन ठोकम्,’ मित्रले आफ्नो मोबाइल ‘अनलक’ गर्दै मतिर बढाए। मैले लजाउँदै लिएँ र घरको नम्बर डाइल गरेँ। फोन पनि लाग्यो। फोन आमाले उठाउनुभो।
आराम-बिरामदेखि मौसममा कुरा हुँदै थिए, मित्र वरैबाट चिच्चाए, ‘अब बुद्धिजीको ब्या गरिदिनुपर्‍यो, आमा।’
‘को हो त्यसरी चिच्याउने?’ आमा हास्नुभो।
‘साथी हो।’
‘के हो, तँलाई ब्या गर्न मन लाछ कि के हो?’
म ट्वाल्ल परेँ, के भनँू?
‘केटी हेर्‍या छस्?’ आमा हास्दै हुनुहुन्थ्यो, ‘कोही छन् भने भन्।’
‘यिनको हुति छैन,’ मित्र फेरि चिच्याए, ‘तपैंले नै खोज्दिनु परो।’
‘तँलाई मन पर्ने केटी मैले कहाँबाट ल्याइदिनु?’ आमाको फाइनल कुरा, ‘तँ आफै खोज।’
म आफै खोज्न कता भौंतारिऊँ त, प्रभु?


तीर ठिक ठाउँमै लागेको रैछ। यसपालि दसैंमा घर जाँदा था’ भो। सुर्खेत, दिदीको घरमा चिट्चिट् पसिना निकाल्दै बोकेको ब्याग के बिसाएको थिएँ – सुत्ने र सिरियल हेर्ने काम पाएर बेस्मारी मोटाएकी दिदी, बेस्मारी फुलेका गाला माथि सार्दै हासिन्, ‘बिहे गर्छस्, हैन?’
‘केटी पाए, किन नगर्ने?’ मैले हत्केलाका रुमालले पसिना पुछेँ, ‘कोही छ?’
‘एउटी छ। आज हेर्न जान्छस्?’
ज्या, अचानक पैतलादेखि तालुसम्म सिरिङ्ग भो। यस्तो उत्तरको त आसै थिएन। दिदीले केटीको बखान सुरु गरिन्, ‘केटी राम्री नै छ। एमए पढ्दैछे। गाउँकी हो, दुख्ख बुझ्छे। पैला तँ केटी हेर्। केटीले तँलाईृ पत्याई र तेरो चित्त बुझ्यो भने यै दसैंमा ब्या गर्ने सल्लाह भा’छ।’ केटी जेठानले खाजेको रैछन्। उनै जेठान मेरी भाउजुका हसमुख दाइ।
‘म जेठानलाई खबर गर्छु,’ दिदीले मलाई गहिरिएर हेरिन्, ‘आजै जा, हेर्न।’
लौजा, मेरो तल्लो पेट कटक्क दुख्यो। हातगोडा फतक्क गले। भननन्न रिंगटा चल्न थाल्यो। साँच्चै विवाह हुनै नै भो त?
‘थाक्या छु,’ म छट्पटिएँ, ‘नुहाको पनि छैन। आज त जान्नँ।’
‘अनि कहिले जाने त?’
‘भोलि जान्छु,’ मेरो आवाज काँप्यो।
दिदीले मेरो कुरा जेठान र आमालाई ‘फर्वार्ड’ गरिन्। म भने सुत्त कोठाभित्र छिरेर अबेरसम्म टोलाएँ। एकछिन त कता-कता लाज पनि लाग्यो, कसरी जाउँला भोलि? तर, एक्कै छिनमा डर लाग्न थाल्यो। केही गरी बिहे भइहाल्यो भने त … छ्या, तल्लो पेट खल्लो भएर आयो।
‘भोलि बिहानै जानुपर्छ केटी हेर्न,’ जेठानले साँझपख खबर पठाए, ‘यसो चिया खाने बहानामा।’
कुरा त झनै गम्भीर हुँदै गयो। म प्यारालाइसिसको रोगीझैं फतक्क गल्दै गएँ। राति छतमा उत्तानो परेर, चन्द्रमा हेर्दै सोचिरहेँ, कस्ता होलान्, विवाहपछिका दिनहरू? एक्लै आएको थेँ, दुई भएर जानु … छ्या। कहिले मन फुरुङ्ग भयो त कहिले भरङ्ग। एकएक गदै काठमान्डुकी उही केटीको झझल्को आइरह्यो, जसलाई मैले कैयौं वर्ष पछ्याएँ। ‘के छ खबर’ लेखेर ‘पाँचसय पल्ट’ पठाएका एसएमएसका जवाफ ऊबाट एकदुई पल्ट मात्र आउँथ्यो – ‘एकदम ठिकठाक।’
काठमान्डुकी तिनै केटीको झझल्कोेले बिथोल्दै गयो। यदि, बाटोमा अचानक भेट हुँदा उसलाई म कसरी भनँूला, ‘मेरो त बिहे भो। उनी मेरी वाइफ।’
कानका भित्री तह र नङका चेप पनि बाँकी नराखेर डसिरहेका मच्छडलाई छल्न टाँगेको झुलभित्र बिहानीपखसम्म पनि म छट्पटाइरहेँ।

‘छिः राम्रा लुगा छैनन्?’ बिहान सवा आठ बजे दिदी च्याँट्ठिइन्, ‘सबै फुङ्ग उडेका छन्। यो त गतिला लुगा लगाउनै जान्दैन।’
‘अहिलेको फेसन नै यस्तै छ,’ म कित्रिक्क हासेँ।
निलो, अगाडिपट्टि रङ खुइलिएको पाइन्ट। खरानी रङको सर्ट। छालाका चप्पल लगाएपछि, मेरो तयारी पूरा भो। धेरै पछि, कपालमा तोरीको तेल लगाएँ। म यस्तै छु, किन बढी देखावटी बनूँ? केटीको मन पराए पराओस्, नपराए यत्रै सित्ती।
बिहानैदेखि पेट खल्लो भइरहेको थियो, मरिचवाला कालो चिया पिएपछि ठिक भो। नौ बज्यो, ढुकढुकी बढ्न थाल्यो।
साढे नौ बजे जेठान आइपुगे।
बाइक जेठानले चलाउने भए, बाटो उनैले देखेका। अल्लि बढी समाजसेवी छन्। गाउँभरिको टन्टा लिएर हिँड्छन्।
‘केटीका बाउलाई राजनीति मन पर्छ,’ जेठान टाउको पछाडि बटार्दै हाँसे, ‘सानातिना नेता हुन्।’
‘कुन पार्टीका?’
‘एमाले।’
‘नेतालाई पत्रिका चाहिन्छ,’ म हासेँ, ‘पत्रकार भनेपछि त छोरी देलान् नि।’
जेठान बोलेनन्। अगाडि बाटोमा आइपुगेका बाख्रालाई बेस्मारी हर्न बजाए।
बाइक गाउँभित्र छिर्‍यो। अगाडि-अगाडि हुइँकिएर गएको जिपले धुलो र धुवाँ उडायो। खत्तमै पार्‍यो कि के हो? अत्तालिँदै मैले बाइकको साइड सिसामा आफ्नो अनुहार र कपाल हेरेँ। धन्य, धुलो जमेको रहेनछ।
दसैंको माहोल भएपनि गाउँ सुनसान नै थियो। त्यसै त, दसैंको उराठलाग्दो मौसम, त्यसमा पनि मौन गाउँ। जे भएपनि गाउँ छोएपछि भने मन चन्चल पनि भयो।
आफूले हेर्न जान लागेकी केटी कस्ती होली?
केटीलाई थाहै नदिई उसलाई हेर्ने योजना छ। यदि, केटी घरमै भेटिई भने म कसरी आँखा जुधाउँला? म आफ्नै मनको सुमेरुमा फन्का लगाउन थालेँ।
र, एकछिनमै झस्किएँ।
जेठानले केही भनेजस्तो लाग्यो। बाइकको चर्को घ्यार्र-घ्यार्र, त्यसमा पनि हेल्मेटभित्र सुस्त बोलेको आवाज मैले बुझ्नै सकिनँ।
अगाडि फिक्का रङको सुरवाल कुर्ता लगाएकी एउटी केटी बाटोको छेउछेउ हामीतिर आइरहेकी थिई। उसकै अगाडि जेठानले घ्याच्च बाइक रोके। केटीको कपाल पछिल्लतिर एकचुल्ठो परेको थियो। अरू मेले ध्यान दिइनँ।
‘कता जान लाको, नानी?’
‘अल्ली पर,’ ऊ लजाई।
‘बा घरमै हुनुहुन्छ?’
‘अँ।’
केटी फेरि लजाउँदै अघि बढी। जेठानले फेरि बाइक हुइँकाए। म फेरि मनको अन्तर्यात्रामा पसेँ। हिन्दी फिल्मका केटाले केटी हेर्न गएका कैयौं दृश्य आँखाभरि फनफनी नाच्न थाले। म पनि त्यस्तै फिल्मको हिरो हुँ कि के हो? गजक्क परेँ।
एउटा घरको गेटअगाडि सुस्त गतिमा बाइक रोकियो। गेट छेउछाउ बेसरमका झाडी थिए। दुईतले घर पुरानो मोडेलको थियो, टायलले छाएकोे। माथिल्लो तलाको देब्रेपट्टिको झ्यालमा ‘इकाई समिति’को बोर्ड टाँसिएको थियो। घरको छेउछाउ अरू घर पनि थिए। केही मानिस ओहोरदोहोर गरिरहेका थिए।
बाइकको आवाज सुनेर एकजना अधबैंसे मानिस तल टावेल र माथि सेतो हाफ बन्डीमा बाहिर निस्किए। उनको मुखमा ब्रस र ओठभरि फिँज थियो। दाँत माझिरहेका रैछन्।

म प्यारालाइसिसको रोगीझैं फतक्क गल्दै गएँ। राति छतमा उत्तानो परेर, चन्द्रमा हेर्दै सोचिरहेँ, कस्ता होलान्, विवाहपछिका दिनहरू? एक्लै आएको थेँ, दुई भएर जानु … छ्या। कहिले मन फुरुङ्ग भयो त कहिले भरङ्ग। 


जेठान ‘नमस्ते’ गर्दै उनीछेउ पुगे र खासखुस गर्न थाले। ती मानिसले मतिर हेरे, मैले बाइकको ऐना। खासखुस गर्दै जेठान ती मानिससँगै घरको पछिल्तिर गए।
केटीको घर त यै हो क्यारे। मैले लजाउँदै वरिपरिका घरतिर हेरेँ। सबै मानिस आआफ्नो काममा व्यस्त थिए। हाम्रो योजना सायद कसैलाई थाहा थिएन।
एकैछिनमा जेठान हतारिँदै आए।
‘ज्याइँ साप,’ उनले कानेखुसी गरे, ‘उहाँ नै हो केटीको बाउ। नमस्ते गर्नू।’
म जेठानका पछिपछि लागेँ।
उनले घरपछाडि लगे। तर घरको मूल ढोका पछाडि नै रैछ। पछिल्तिर टाढा-टाढासम्म फैलिएका फराकिला खेत थिए। आँगनको छेउछाउमा केही फूल।
केटीका बाले हास्दै स्वागत गरे। उनी अहिले भने चट्ट आइरन गरेका लुगामा थिए। मैले हात जोडेँ।
‘ल, यतै बसम्,’ उनले पिढीमा ओछ्याएको गुन्द्री देखाए।
बस्दै गर्दा छेउको झ्यालबाट मैले खुसुक्क भित्र चियाएँ। एउटी महिला नाङ्लोमा चामल हेर्दै थिइन्। आँखा जुधे। म थचक्क बसेँ।
‘केटा उहाँ नै हो,’ जेठानले भने।
म निहुरिएँ।
‘के गर्नुहुन्छ?’ प्रश्न सुनेर मैले शिर उठाएँ। उनले मलाई गढेर हेरिरहेका रैछन्।
‘पत्रिकामा काम गर्छु।’
‘कति भो, काम गर्न थालेको?’
‘तीनचार वर्ष।’
‘काठमान्डुमा बस्न थालेको कति वर्ष भो?’
‘नौ।’
‘बा के गर्नुहुन्छ?’
‘हुनुहुन्न चार वर्ष भो बितेको।’
‘पुर्ख्यौली घर कता हो?’
‘सुर्खेत रतु,’ म हासेँ, ‘तर कता पर्छ, मलाई थाहा छैन।’
‘जग्गाजमिन कति छ?’
‘एउटा घर छ। कालीकोटमा।’
‘एउटा घडेरी पनि छ, यही सुर्खेतमा,’ जेठानको बक बल्ल फुट्यो, ‘एयरपोर्टको छेउमा।’
‘कति भाइ हुनुहुन्छ?’
‘दुई।’
यत्ति सोधेर उनी मौन भए। एकछिन मौनता छायो। भित्रबाट नाङ्लोमा चामल उफारेको आवाज मन्दमन्द आइरह्यो।
‘खै, केही सोध्नै आएन,’ उनी खिस्स हाँसे, ‘मेरो जीवनमा पहिलोपल्ट नै हो, यसरी घरमा मान्छे छोरी माग्न आएको।’
‘मेरो पनि पहिलोपल्ट नै हो, केटी हेर्न आएको,’ नबोलूँ भन्दै थेँ, फ्याट्ट आयो। मेरो कुरा सुनेर जेठान हिःहिःहिः गर्दै हाँसे। बाउको अनुहार भने रातो भयो।
‘अब अहिलेको जमानामा के भर। छोरीको कतै लभसब पो पर्‍या छ कि?’ बाउको मुहारको रङ परिवर्तन भयो, ‘ब्या भन्ने कुरा भावीले लेख्या हुन्छ। म छोरीलाई सोध्छु, अनि खबर गरौंला। अब हामीले भनेको कुरा छोरीले मान्छे कि मान्दिन। अझै पढ्छु भनी भने त मेरो के लाग्छ र?’
यदि केटीको अन्तै लभ-सब छ भने त मलाई नदिने रे!
म आफूलाई फिल्मको साइड हिरोजस्तो अनुभव गर्न र निरास हुन थालेँ।
‘हेर्नुस्, ब्या भन्ने कुरा त लेखेर आको हुन्छ,’ बाउले मेरो निरास अनुहार देखे र सम्झाए, ‘छोरीले मानी भने त मेरो भन्नु केही छैन।’
त्यसपछि, लामो सन्नाटा छायो। जेठान अपराधीझैं टाउको निहुराएर बसिरहे। बेलाबेला सोल नचाउँदै जुत्ता हेर्थे। मौन बस्यो, एकअर्कासँग आँखा जुध्यो भने खिस्स हाँस्यो।
‘लौ त, छोरीलाई नसोधी, अरू कुरा कसरी अगाडि बढाउनू,’ बाउ तिघ्रामा हातले टेक्दै उठे, ‘फेरि यो वर्ष हाम्लाई जुठो पनि लाछ।’
उठ्दै गर्दा मैले फेरि झ्यालतिर चिहाएँ। कसैले खुसुक्क हेरेजस्तो पनि लाग्यो। केटी नै थिई कि?
कस्ता झुर बाउ, यसो भेट त गराउनुपर्छ। अब भेट भइहाल्यो, कुरा त चलिरहन्छ, केटीलाई पछि भेटौंला – सोच्दै हामी फर्कियौं।
‘अनि ज्वाइँ साप,’ बाइकले रफ्तार लिएपछि जेठानले ठूलो स्वरमा सोधे, ‘अनि केटी कस्ती लागिन् त?’
‘देखे पो भन्नु,’ म सारा गाउँ थर्किने गरी कराएँ।
‘लौ, अघि बाटोमा कुरा गरेकी केटी पो हुन् त।’
‘भन्नु पर्दैन?’
‘भनेकै त हो,’ जेठाले हेलमेट पछाडि बटारे, ‘ए … सुन्नु भएनछ।’
हत्तेरिका।
‘ज्वाइँ साप, केटीले झ्यालबाट लुकीलुकी तपाईंलाई हेरिरहेकी थिइन्,’ जेठान हाँसे, ‘मन पराएजस्तो छ।’
मलाई काउकुति लाग्यो। म फेरि हतारमा देखेको केटीको अनुहार फुर्सदमा कल्पन थालेँ।

त्यसरात पनि अबेरसम्म निद्रा लागेन। पूर्ण हुँदै गएको चन्द्रमा हेर्दै टोलाइरहेँ। साँझपख आमाले फोन गरेर ‘हार्दिक बधाई’ टाइपको कुरा पनि गर्नुभएको थियो। दिदी पनि मख्ख थिइन्। म भने एउटा गहिरो उकुसमुकुस र छट्पटीमा थिएँ। आँखाभरि उही काठमान्डुकी ‘ठिकठाक’ एसएमएस केटीको अनुहार आइरहेको थियो।
राति अबेर सुतेँ, बिहान भने चाँडै नै उठेँ। जेठानले खबर पठाएछन्, केटीका बाउले फेरि भेट्ने रे। मेरो कन्सिरी तातेर आयो, ब्या के बाउसित गर्ने हो? छोरीसित भेट गराउनु छैन। मैले लिडी ढिपी लिएँ, यदि भेट्नु छ भने केटीसित भेट्छु। बाउलाई भेट्दिनँ।
‘सोध्दा एउटा कुरा छुटेको छ रे,’ तीन दिनपछि फेरि जेठानले फोन गरे।
‘के रैछ?’
‘केटोको पार्टी चैं कुन हो भनेर सोधेका छन्।’
मैले पनि ‘पत्रकारको जात, धर्म र पार्टी हुँदैन’ भनेर भन्दिनुस्, भन्दिएँ।
उताबाट फेरि कुनै प्रश्न आएन।
काठमान्डु फर्केको एक हप्तापछि, जेठानले फोनमा सुनाए, ‘लौ ज्वाइँ साप। बधाई छ। केटीले बिहे गर्न मानेजस्तो छ।’
‘हत्तेरी,’ मलाई झोक चल्यो, ‘मैले पनि त मन पराउनु पर्‍यो नि।’
‘भेट गराम्ला नि। केटीसित भेटेर तपाईं नै कुरा गर्नुस्।’
‘ठिक छ।’
फेरि समय मौन भएर बितिरह्यो। कुनै खबर आएन। बरु जेठान नै काठमान्डु आए। ‘कोक-गफ’मा जेठानले अबेरपछि सुनाए, ‘आउँदा केटीका बाउसित कुरा भएको थियो।’
‘अनि?’
‘एमाले नभई त छोरी दिन्न भन्छन् त,’ जेठान हाँसे, ‘नत्र उनको छवि बिग्रिन्छ रे।’
हे भगवान्।
‘लौ जेठान यस्तो कुरा पनि हुन्छ?’ म पनि जंगिएँ, ‘ब्या गर्नलाई त यत्रै एमाले भइँदैन।’
जेठान अबेरसम्म मौन भएर कोक घुट्काइरहे। अर्को दिन खिस्स हाँस्दै आफ्नो हात पाइन्टको पछिल्लो जेबतिर लगे र एउटा खाम झिके। र, टेबलमाथि थपक्क राखे। म अझै झोकमा थिए।
‘चिन्ता नलिनुस् ज्वाइँ साप,’ जेठानले खाम खोले, ‘मैले अर्की केटी पनि हेर्‍या छु।’
र, उनले एउटा फोटो झिकेर मतिर बढाए।

(श्रोत :- NagarikNews )

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातभर चन्द्रमा खसिरह्यो

~बुद्धिसागर ~

पुराना दिन पुराना लुगा होइनन्, मनलाग्दा टक्टकाउन मिल्ने।
पुराना कैयौं दिन यस्ता हुँदारैछन्, जो भित्री दिमागमा चेपिएर बसेका हुन्छन्, कहिलेकाहीँ ती चेप उक्किन्छन्।
शिवरात्रिको तयारीसहित पशुपतिका भर्‍याङ, चेप र घुम्तीहरूमा धुवाँ बेस्मरी उड्न थालेपछि, नांगा बाबाहरूले हातमा झाडु समाएर आशीर्वाद दिने तयारी गरिरहँदा अचानक पुराना दिन मेरा आँखामा झलझली आउन थालेका छन्, एकपछि अर्को। एल्बमका पाना पल्टाएजस्तो।
ती कैलाली कटाक्षेका पुराना दिन हुन्थे। नेपालको नक्सामा त्यो कटाक्षे बजार एउटा सानो थोप्लो थियो, अहिले त्यो मेटियो। त्यो वास्तवमा हटेरू बजार थियो। हटेरू आउन छाडे, बजार सक्कियो। भन्छन्, निभ्ने बत्ती चहकिलो बल्छ। झर्ने फूल पूर्ण फक्रिन्छ।
उठ्ने बजार सायद, कटाक्षेझैं, रहस्य भरिएका र चकचके हुन्छ। कटाक्षेको छेउबाट बग्ने अमौरीखोला अहिले पनि बग्दो होला, पूर्वतिरको छत्तिवनको जंगलमा वयर त्यसैगरी पाक्दो होला, तर ती चकचके ठिटाहरू अब कतै छैनन् होला, जसको पंक्तिमा म पनि हुन्थेँ। सायद, ती ठिटाहरूको नाक र ओठबीच यौवनका जर्जर रौं पलाए होलान्।
भेट हुँदा सोध्लान्, बच्चालाई कस्तो छ?
म त्यति बुढो होइन, मानौं आत्मकथा नै थालूँ। कति यस्ता कुरा हुँदारैछन्, जो अरूलाई सुनाउन, ठूलै लेखक हुनुपर्दैन, न त अखबारी नाम।
त, थालूँ अब?
जाडो भर्खरै आफ्नो कोट फुकालेर हिँडिसकेको थियो। शरीरका कापकापमा बिस्तारै छिपछिप पसिना निस्किन थालिसकेका थिए। र, कटाक्षेमा शिवरात्रिको ठूलै प्रतीÔा थियो।
शिव त कहाँ आउँछन् र?
ती त श्रीस्वस्थानीका पन्नामा चुपचाप फकिर्एर निदाइसकेका हुँदाहुन्। शिवरात्रिमा बजारका बैंसको पहिलो खुट्किलो टेकिसकेका युवकलाई छाडा साँढेझैं बजारमा लठारिएर हिँड्न छुट थियो।
अरूले भनून् पनि के?
भन्थे, छौडाहरूलाई शिवरात्रि लाछ। एउटा ग्याङ तयार हुन्थ्यो, जो छत्तिवनका जंगलमा पुगेर रूख गिँड्थे। ती गिड लतारिँदै बजारछेउ आइपुग्थे। र, चाङ लाग्थे। शिवरात्रिको दिन ती रूखका गिँड झर्झरी बल्थे। नाचगान हुन्थ्यो। ठूलो स्पिकरमा फिल्मी गीत बज्थे।
रतन खुब उफ्रीउफ्री नाच्थ्यो। बच्चामा ‘भुरुरुरू’ कराउँदै साइकलको टायर गुडाउँदा-गुडाउँदा उसका ओठ तलतिर लप्रिएका थिए। कहिलेकाहीँ गाउँतिरका ठिटा पनि डान्स कम्पिटिसनमा भिड्न आइपुग्थे। दुवै टिमबाट एक-एकजना नर्तक छानिन्थे र नाच्न थाल्थे। नाच्दा-नाच्दै मुक्कामुक्की सुरु हुन्थ्यो, त्यसपछि अगुल्टा हानाहान।
दुवै ग्याङका कोही पनि एक्लै हिँड्दैनथे। कम्तीमा बैशाखसम्म। नयाँ वर्Èपछि, पुरानो रिसराग मेटिन्थ्यो।
ती दिन कतै छापिएका हुँदा हुन्, त त्यसको मुन्तिर लेखिएको हुँदो हो, २०५१ साल। २०५१ को शिवरात्रि त्यस्तो रहेन। सुनिलले बिहानैदेखि योजना बनाएको थियो, पथरैयामा फिल्म हेर्न जाने। सुनिलको बजारमै चुरा पसल थियो। तिकुनियातिरबाट कटाक्षे आएको ऊ ‘हिन्दी फिल्म’को ठूलो फ्यान थियो। मिथुनको ‘दलाल’ फिल्म सातपल्ट हेरेको छु, भन्दै गर्व गर्थ्यो। ऊ नै यसरी फिल्म हेर्ने योजना बनाउन खप्पिस थियो।
पथरैयाका रमेश थापाको भिडियो थियो। भिडियो चलाउनु कानुनविपरीत मानिन्थ्यो। त्यसैले हामी फिल्म हेर्न लुकीलुकी त्यहीँ पुग्थ्यौं। कटाक्षेमा रहेको एउटामात्र चौकीबाट प्रहरीलाई पथरैया पुग्न सजिलो थिएन। आठ-नौ किलोमिटर त हुँदो हो।
त्यो बाटो भने हाम्रा लागि लामो थिएन।
हामी त्यो जोसमा थियौं, मानौं दुई पाइलामै उफ्रिएर त्यहाँ पुग्छौं। असारका झरीमा हामी हिलो टेक्दै पथरैया पुग्थ्यौं। झन्, खडेरीका दिन झरेका सालका पात ‘सरप-सरप’ बजाउँदै हिँड्दा हिँडेकै थाहा हुँदैनथ्यो।
यसपल्ट पथरैया जाने टोली एघारसदस्यीय बन्यो। एकजनाको पाँचका दरले पचपन्न रुपैयाँ उठ्ने भयो। फिल्म चल्थ्यो, साठी रुपैयाँमा।
‘केटा हो,’ सुनिलले नै भन्यो, ‘अर्को पाँच मै थप्छु।’
मलाई थाहा थियो, केटाहरू एउटा फिल्म मात्र हेरेर फर्किनेवाला थिएनन्। मौका पर्‍यो भने ‘हेर्न नहुने फिल्म’ पनि हेर्नेवाला छन्।
मैले घरमा हतारहतार खाना खाएँ।
‘काँ जान यत्तिको हतारिया छस्?’ आमाले सोध्नुभो, ‘बाले भर्कुछन्।’
‘त्यै चौराहा हो।’ मैले कुपुकुपु भात निलेँ, ‘एकैछिनमा आउँछु।’
घरबाट निस्किँदा बा कतै देखिनुभएन।
पाकेको बेलजस्तो घाम बिस्तारै पथरैयातिर हिँडिरहेको थियो। टोली चौराहामा जम्मा भयो। सबै घरमा कुनै न कुनै बहाना बनाएर आएका थिए। आज कम्तीमा घरमा खोजी हुँदैन, सबैलाई थाहा थियो।
‘ल केटाहरू’ तैयार हुनुहुन्छ?’ सुनिलले सोध्यो।
जुलुसमा ‘जिन्दावाद’ भनेझैं सबैले ठूलो आवाज निकाले।
‘देर हुन्छ ‘ हिडौं।’ सुनिल पनि उत्साही भो।
एकहुल केटाहरू बसपार्कतिर निस्किए।
बिस्तारै चिप्लेकिराको गतिमा टोली बजारबाट बाहिरियो। पथरैया पुग्ने दुई बाटा थिए, एउटा गाउँभित्रभित्रै। एउटा जंगलैजंगल। गाउँमा कोही केटा भेटिए, फेरि फाइट पर्ला भन्ने डर।
‘आज त चेन बोक्न पनि बिर्सेछु।’ एउटाले भन्यो।
‘नडरा ‘ मैले पुलिस जुत्ता ला’छु।’ अर्कोले भन्यो।
उही पुलिस जुत्ता क्या। चुच्चामा फलाम जडिएको। त्यसले, लात्ती हिर्कायो भने तीनदिन पछिबाट दुख्न सुरु हुन्छ। निलो दाग बस्छ।
बिस्तारै ग्याङ सालघारीभित्र पस्यो, जसरी कमिलाको लस्कर अँध्यारो दुलोमा पस्छ।

घना जंगलमा चराहरू गुँड फकिर्रहेका थिए। बाँदर तर्सिंदै एउटा हाँगाबाट अर्कोमा झ्वाम्म हाम फाल्थे। बिस्तारै झ्याउँकिरीहरू कराउन थालिसकेका थिए। बेलाबेला घामका पहेँला मसिना धार पातबाट जोगिँदै भुइँसम्म आइपुग्थे।
सुनिलले पोलिथिन ब्यागमा गिलो-गिलो केही बोकेको थियो।
‘के हो’ पलास्टिकको?’ एउटाले सोध्यो।
‘खुवा हो।’ सुनिलले गर्व गर्‍यो।
‘खाम् न त।’ अर्को सुनिलको नजिक गयो।
‘एकछिन पछि खानुपर्छ।’ सुनिलले कुटिलतापूर्वक भन्यो।
हामी सालमा पात बजाउँदै जंगलकै बाटो हिँड्यौं। बेलाबेला सबै घुटुक्क थुक निल्दै सुनिलको हातमा झुन्डिरहेको पोलिथिन ब्यागतिर हेर्थे।
‘ल केटा हो।’ एउटा ठूलो सालको रुखमुन्तिर टक्क अडिएर सुनिलले भन्यो, ‘अब खुवा खाऊ।’
केटाहरूले ठूलो स्वरमा हल्ला गर्दै पोलिथिन ब्यागतिर हेरे।
रुखको फेदमा टुक्रुक्क बसेर सुनिलले ब्याग खोल्यो। आहा खुवा। खुवाको बासनाले भित्री च्यापु रसाएर आयो।
‘ल थाप।’ सुनिलले भन्यो।
सबैले हत्केला थापे, सुनिलले प्रसादझैं खुवा सबैका हत्केलामा राखिदियो।
जाबो खुवा त एकै गाँस भयो।
खुवा खाइसकेपछि सबैले सालका पातले हातमुख पुछे। एकदुई जनाले धमिराका ढिस्कामा लात्ती हिर्काए। खुवा खाइसकेपछि अलिअलि धुम्म भयो मलाई त। म सबैभन्दा पछि परेँ। बेलाबेला त्रसित म ग्याङको बीचमा पस्थेँ, तर खोई किन हो, पछि पर्दै जान्थँे।
बल्लतल्ल जंगल सकियो। थारू गाउँ आयो।
गरप-गरप हिँडिरहेका हामीलाई देखेर थारू गाउँका सुंगुर र कुकुर बेस्मारी कराउन थाले। धुलो उड्न थाल्यो। घर फर्किरहेका केही मानिस हामीलाई अचम्म मान्दै हेर्थे।
‘कता हिँड्यौ?’ एकदुई जनाले सोधे पनि।
‘पथरैया।’ केटाहरू जोसमा भन्थे।
मलाई थाहा थिएन, के भइरहेछ। हिँड्दा बाटो तलमाथि-तलमाथि ढल्किरहेको थियो। बाटाभित्रको पानी छल्किएजस्तो।
हामी पथरैया पुग्यौं। सुनिलको चिमचिमे घडीमा त्यसबेला सात बजेको थियो।
भिडियोको साहु रमेश गाइँगुइँ आवाज सुनेर होला घर बाहिर आइपुग्यो। ऊ भीड देखेर दंग भयो।
‘दाइ, हामी फिल्म हेर्न आयौं।’ सुनिलले भन्यो।
‘हुन्छ।’ उसले भन्यो, ‘नयाँ-नयाँ फिलिम आछन्।’
‘कत्तिमा चलाउने, दाइ?’
‘नयाँ फिलिम हो, सत्तरी रुपैयाँ लाग्छ।’
‘होइन, दाइ। पहिला त साठीमा हेरेको हो।’
आखिर, ऊ ७० रूपैयाँ नभई फिल्म चलाउँदिनँ भन्दै बाउँठिन थाल्यो।
सुनिलले पैसा जम्मा गर्‍यो। ७० रुपैयाँ पनि उठ्यो। पैसा रमेशको हातमा परेपछि, जेनेरेटर स्टार्ट भयो। बल्बभन्दा पहिला हाम्रो अनुहार झलमल बल्यो।
केटाहरूले अर्को फिल्म पनि भ्याउन सल्लाह गर्दै थिए, साउले भन्यो, ‘ल ल हिँड्’ फिलिम सुरु गरिदिन्छु।’
तलतिर गोठ, माथिल्लो तलामा भिडियो। हामी थोत्रो झर्‍याङ टेक्दै हामी माथि पुग्यौं। भुइँमा पराल ओछ्याएर त्यसमाथि सुकुल राखिएको थियो। जुत्ता खोल्न परेन। हामी एउटा टेबुलमाथि राखिएको स्त्रि्कनतिर हेर्न थाल्यौं। स्त्रि्कन झिर्रझिर्र भयो। रमेशले दसको नयाँ नोट भिसिआरमा घुसार्‍यो। झिर्रझिर्र बन्द भो, सुरु भो फिलिम – फस्ट लभ लेटर। आफ्नै देशकी हिरोइन मनिÈा कोइराला, त्यसै राष्ट्रियता जागेर आयो। धेरैको राष्ट्रियता जाग्यो, तर आफ्नो मचमची। निधार गह्रुंगो भएर तलतिर तन्कियो। भिडियोको स्त्रि्कन कहिले तनक्क तन्किन्थ्यो, त कहिले खुम्चिन्थ्यो। फिल्ममा खलनायकले हिरोमाथि प्रहार गर्दा हात तन्किएर आफूतिर आएझैं लाग्थ्यो।
कता भागूँ?
फिल्मको बीचतिर तल गोठका गाईगोरु र भैंसी कराउन थाले। फिल्ममा खलनायकको संवाद थियो, ‘यो मेरो सिकार हो।’
पछाडिबाट फेरि त्यही संवाद दोहोरियो, ‘यी पनि मेरा सिकार हुन्।’
पछाडि एक हुल प्रहरी थिए, डरलाग्दा। तिनले टर्चको उज्यालो हाम्रो अनुहारतिर फ्याँके। सबैका ओठमुख सुके। आफ्नो त च्यापुको भित्री भाग पहिल्यै सुकिसकेको थियो।

‘भाग’।’ सुनिल बेस्मारी कराउँदै भ्यात्त भुइँतिर हाम फाल्यो।
‘एई’ नभाग’।’ पुलिस पनि करायो।
अनि त के भो, के भो। मानौं, मौरीको गोलामा ढुंगा बजारियो, हामी मौरी यताउता ठोक्किँदै उड्यौं। कति तल गोबरको थुप्रोमा पछारिए। भैंसीको सिङ कतिका डडाल्नामा बजारिए। म भने गोरुको जुरोमा ठोक्किएर भुइँमा पछारिएँ।
‘आमै’ मरेँ नि।’ रतनको आर्तनाद सुनेजस्तो पनि लाग्यो।
कोही कता कोही कता। आफू त कान्लैकान्ला।
हुत्तिादाहुत्तिँदै कुन बाटोले आफूतिर तान्यो थाहा भएन। फेरि जहाँ टेक्यो, त्यहीँ धर्ती भास्सिन थाल्यो। सडकै-सडक दगुर्दा आकासमा चन्द्रमा पनि सँगसँगै दगुरिरहेको थियो। मैले धेरै पछि थाहा पाएँ, मेरा पछिपछि त रतन पनि दगुरिरहेको रै’छ, आतंकित।
‘कता जानी?’ ऊ चिच्यायो।
‘दगुर।’ म कराएँ।
मलाई पनि थाहा थिएन, कता पो हो जानी।
बाटो जताजता घुम्थ्यो, हामी त्यतै घुमिरहेका थियौं। पछाडि प्रहरी त थिएनन्, तैपनि तिनको भुतपछि नै थियो। छातीबीचबाट चकिर्नेगरी फुलिरहेको थियो भने मुटु अगुल्ठोझैं तातिरहेको थियो। पसिना त गालाभरि चिप्लेटी खेलिरहेका थिए, एकपछि अर्को। गाउँमा बेस्मारी कुकुर भुकिरहेका थिए। सालघारीमा स्याल कराइरहेका थिए। बाटामा गुजुुप्प परेका बाँसघारी आइपुग्थे। बाँसघारी आइपुग्दा मेरो हंस चिसो हुन्थ्यो, बासका लिंगा निहुरेर सर्पझैं गोडामा बटारिन आइपुग्थे।
आकासतिर फर्किनै हुँदैनथ्यो, फर्कियो कि चन्द्रमा तलतल आइपुग्थ्यो। खस्छ कि क्या हो? पर’ बत्ती बलेजस्तो लाग्यो, म त्यतै मोडिएँ। हो, घर नै रैछ। सुनसान थियो, सबै सुतेछन् कि क्या हो? घरकै नजिक पुग्दा एउटा कुकुर कानका जाली नै च्यातिनेगरी भुक्दै पिडौलामा मुख जोत्न आइपुग्यो।
हे प्रभु!
कुकुरको मुख पनि कति ठूलो हो?
म बेस्मारी चिच्चाएँ।
मेरो चिच्चाहट सुनेर ‘धुर’धुर’ घरभित्रबाट एकजना अधबैंसे मानिस हातमा लालटिन बोकेर बाहिर निस्किए। कुकुर आँगनको डिलतिर दगुर्‍यो। उनले लालटिनको उज्यालोमा हामीतिर हेरे, देखे – असिनपसिन काँतर दुई फुच्चे।
‘काँबाट आएका हौ?’ उनले सोधे, ‘यत्ति राति?’
हामी बोले पो!
‘काँ जाने हौ?’
मेरो रुन्चे आवाज, ‘कटाक्षे।’
‘कस्का छोरा हौ?’
‘चपाईं डाक्टरका।’
उनले बालाई चिन्दा रैछन्। र, बास दिए, आँटीमा। भात पनि खान दिएजस्तो लाग्छ, र पनि भोकले पेट बटारिरह्यो।
थकित रतन एकछिनमै निदायो। म भने अबेरसम्म निदाउन सकिनँ। उत्तानो पल्टिँदा चन्द्रमा ठिक आँखामाथि झुन्डिएको देखिन्थ्यो, तर त्यो तलतल झर्थ्यो, रफ्तारमा। लौ ठोक्कियो-ठोक्कियो, मुटु त पूरै हिउँझैं चिसिन्थ्यो। एउटा चिसो कम्पन पाइतालादेखि तालुतिर सर्थ्यो। छुलुक्क पिसाब आउलाजस्तो हुन्थ्यो।
रतनले एकछिन पछि घुर्न सुरु गर्‍यो। म भने रातभर दुवै हातले चन्द्रमा थामेर उत्तानो परिरहेँ। घरमालिकले ओढ्नलाई एउटा कम्मल दिएका थिए, बिहानपख्ख त्यसले चिसो छल्ल सकेन। चिसोले हो कि केले हो, मेरो टाउको टनटनी दुखिरहेको थियो।
‘एई उठ्’।’ मैले सुस्त रतनका काँध हल्लाएँ।
रतन झस्किँदै उठ्यो। उसले हाई गर्दै मुख बेस्मारी बिगार्‍यो। घरभित्र मसिनो गुनगुन थियो। रतन र म बिरालो चालमा उठ्यौं र फुत्त सडकतिर निस्कियौं। काखीमा हात च्यापेर कटाक्षेतिर लम्कियौं। आँखा भने अझै तिर्मिराइरहेका थिए।
कटाक्षे पुग्नुअघि नै बतासझैं हल्ला फैलिसकेको थियो – रातभर फुच्चेहरूले भाङ खाएर थारू गाउँ छिचोले।
बल्ल मैले थाहा पाएँ, रातभर चन्द्रमा किन खस्यो?
मुला! सुनिलले खुवामा टन्न गाँजा मिसाएको रैछ। धेरै केटाहरू त राति नै घर पुगेछन्। हामी छुटेछौं। को-को कता छन्, अहिले नै थाहा हुने कुरा भएन। बजार पस्नेबित्तिकै एकदुई जना केटाहरूले अमौरीखोलामा ‘डाइफ’ हानेको भने थाहा भो।
फटेहाल घर पुग्दासम्म मेरा ओठ काप्न थालिसकेका थिए। बा र आमा अगेनाछेउ हुनुहुन्थ्यो। म लुसुक्क पसेँ।
‘ल’ आयो’ यसलाई मुड्क्याउनुस् त।’ आमाले दाह्रा किट्नुभो।
‘काँ गाथिस्’ रातभरि?’ बा उठ्नुभो।
‘फ.. फ..फ.. फिलिम हेर्न।’ मैले टाउको निहुराएँ। त्यही निहुरिएको टाउकाको घुच्चुकमा बाले मुड्की बजार्नुभो। म थुचुक्क बसेँ – दिउँसै तारा पनि खसे।

‘ अब त ती दिन लोककथा भइसकेका छन्, जसलाई कसैले सुनाउँदैन।

(श्रोत :- NagarikNews )

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोस्रो प्रेम

~बुद्धिसागर~

रातिदेखि नै बेस्मारी हिउँ पर्न थालेको थियो। फुसफुस कपासझैं खसेको हिउँले बिहानसम्म त दोकानअगाडिको सडक सेताम्मे पारेछ। मुखबाट निस्केको तातो बाफलाई परपरसम्म उडाउँदै म टोलाइरहेको थिएँ। अनुहार धुने उत्साह पनि भएन। ज्यान पुरै कठ्याङि्ग्रदै गइरहेको थियो। क्यासेट प्लेयरमा हिन्दी गीत बजिरहेको थियो।

… अचानक मैले उसलाई देखेँ। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पिलपिल [लाइभ]

~बुद्धिसागर~

सल्लाघारी भुइँकुहिरोले भरियो। रमेश र म चिरानीले सालका रूख चिरेको हेरिरहेका थियौं। पानी दर्किन थालेपछि घरतिर दगुर्‍यौं। आधा घन्टापछि, मान्मबजारको वल्लो किनारमा पुग्यौं। म भित्रसम्म भिजेको थिएँ। घरघरमा ओत लाग्दै हिँडिरहेको थिएँ। उसलाई देखेँ। ऊ एउटा दोकानको कुर्सीमा उपरखुट्टी लाएर केही पढिरहेकी थिई। मलाई अघि बढ्नै मन लागेन। भित्तामा छेलिएर उसलाई हेरिरहेँ। थाइकट कपाल। निलो जिन्स पाइन्ट। छातीनेर बुट्टा भएको फिक्का हरियो टिसर्ट। काउन्टरमाथि हल्लिरहेका उसका पैताला नौनीले धोएजस्ता थिए। एकदम कोमल। हिँड्दै नहिँडेर जोगाएजस्ता।

उसलाई लेख्नासाथ मलाई लाज लाग्यो। शरीरभरि मिठो काउकुति फैलियो। चिसो बतासले पनि होला।
मलाई के गरूँ के गरूँ भो।

मलाई के गरूँ के गरूँ भो।
आफैंलाई नियालेँ, रुझेको जंगली बिरालोजस्तो लाग्यो। दिक्कलाग्दो झरी मलाई अचानक रमाइलो लाग्न थालेको थियो।
म घरतिर दगुरेँ।
‘फेरि भिजेर आएछ,’ आमा बम्किनुभो, ‘पख्, तेरा कपडा म धुन्न।’
म बोलिनँ। कोठामा गएँ। हतारहतार सबैभन्दा राम्रा लुगा लाएँ।
‘बौलाइस् कि क्या हो?’ आमाले अचम्म मान्दै हेर्नुभो, ‘यस्तो झरीमा नयाँ लुगा लाएर हिँड्छस्?’
म हाँसेँ। छाता समाएर फुत्त निस्केँ।
मलाई एकपल्ट फेरि उसैलाई हेर्ने रहर जागेको थियो। ऊ हाम्रो दोकानभन्दा छ दोकान उता थिई। हामी मान्म आएको एकवर्ष पनि भएको थिएन। वर्षदिनमा पहिलोपल्ट उसलाई देखेको थिएँ।
एकपल्ट उसकै अघिबाट फुत्त निस्कन्छु, मैले सोचेँ। तर, नजिकै पुग्ने बेला आँट भत्क्यो। सुत्त भित्तामा छेलिएँ। गर्दन तन्काउँदै दोकानतिर हेरेँ। ऊ देखिइन। अझै तन्काएँ। देखिइन।
तन्किँदा-तन्किँदै म त सडकमै पुगेछु। फटाफट दोकान अघिल्तिरबाट प्रतिमातिर लम्केँ। उसको दोकानतिर सोझा आँखाले हेर्न सके त मरीजाऊँ। पहिलोपल्ट त्यो दोकान अघिबाट हिँड्दा मेरो ढुकढुकी बढिरहेको थियो।
प्रतिमा पुगेँ। र, फर्किहालेँ।
फेरि दोकाननेर पुग्ने बेला सास बढ्यो। जे पर्ला पर्ला भनेर दोकानतिर हेरेँ, ऊ रैनछ।
‘ममी,’ माथितिरबाट आवाज आयो, ‘माथि आउनू।’
मैले स्वाट्ट हेरेँ। लौ, आँखा त ठोक्किहाले। छाता पछाडि ढल्किँदा पानी मेरो निधारमा तप्तप् खसिरह्यो। उसले वास्तै गरिन। फेरि बार्दलीबाट तल निहुरेर कराई।
‘हैरान नपार त,’ अल्लि वर आएपछि मैले उसकी आमाको आवाज सुनेँ।
रमेश त मान्म आएको पाँच वर्ष भएको थियो। उसैलाई थाहा होला उसका बारेमा, सोध्नुपर्ला।
मैले भोलिपल्ट रमेशलाई सोधिहालेँ।
‘प्रिया हो नाम,’ उसले भन्यो, ‘झरी बिदामा सधैं आउँछे। नेपालगन्ज बोर्डिङमा पढ्छे।’
हामी ठूलो रानीढुंगामा बसेर पर˜˜ कुम जुधाएर बसेका अछामतिरका पहाड हेरिरहेका थियौं। मसिनो कर्नाली पहाड घुँडानेर टलक्क टल्किरहेको थियो।
‘किन सोधेको?’ रमेशले मलाई नियाल्यो।
‘त्यस्सै,’ म रातो भएँ।
‘लभ पर्‍यो?’ उसले मेरो कुममा प्याट्ट हिर्कायो, ‘ऊ त साउन सक्केपछि गइहाल्छे।’
मेरो अनुहार अँध्यारो भो।
*******************************************

 

भोलिपल्टै सुन्दर नाइको सैलुनमा कपाल काटेँ। चिटिक्क परेर हिँड्न थालेँ। प्रियाको दोकानकै छेउमा केटाहरू क्यारेम खेल्थे। मलाई त खेल्नै नआउने। प्रियालाई हेर्न पाइन्छ कि भन्ने लोभमा क्यारेम हेरेको बहाना गर्थें। रेडियोमा बज्ने ‘फुलौसा चेहरा तेरा’ गीत उसैका लागि लेखेजस्तो लाग्थ्यो।
कहिलेकाहीँ प्रिया बार्दलीमा बसेर क्यारेम हेर्थी। कसैको पक्षमा हुटिङ गर्थी। त्यो बेला मलाई लात्तले क्यारेम बोर्ड फोडिदिऊँजस्तो लाग्थ्यो। तर के गर्नु, आफ्नै नुर गिरेजस्तो लाग्थ्यो। म नजर झुकाउँदै उभिरहन्थेँ।
अझै यत्तिले पुगेन।
पुलिसहरू पनि उसैलाई हेरेर हिँड्थे। मुसुक्क हाँस्थे। एउटा कालो न कालो पुलिस सधंै उसको दोकानबाट चकलेट किन्थ्यो। त्यो देखेँ भने त छाती नै चरक्क भएजस्तो लाग्थ्यो।
‘खाऊ मैया मेरो तर्फबाट,’ कहिलेकाहीँ ऊ चकलेट दिँदै हाँस्थ्यो। हाँस्दा त दाँतमात्र देखिन्थे।
‘उल्टो हाँडीलाई गोद्दिऊँजस्तो लाग्छ,’ हतास मैले एकदिन रमेशलाई भनेको थिएँ।
आखिर के गर्नु? लुरुक्क परेर क्यारेम हेरेको बहानामा प्रियालाई हेर्न जान्थेँ। आफूलाई खेल्न नआएकोमा मनमनै मुर्मुरिन्थेँ।
एकदिन उसले गीत गाएको पनि सुनेँ-
रुक रुक रुक अरे बाबा रुक, ओ माइ डार्लिङ गिभ मि अ लुक
त्यो गीत सुन्न मैले धेरैपल्ट रेडियो सर्टवेभमा घुमाएँ तर भाग्यले साथ दिएन। भाग्य त अर्कै कुरामा रैछ। एकदिन भुटुटुटु हेलिकप्टरले सदरमुकाममा फन्का लगायो। सामान आयो कि भनेर म हेलिप्याडतिर दगुरेँ।
‘बाबु, सुन त,’ प्रियाकी आमाको आवाज आयो, ‘हाम्रो सामान पनि आयो कि, हेर्दिनू।’
म नाइँ भनँूला त?
‘हस्,’ मैले ठूलो आवाजमा भनेँ र घोडाझैं दगुरेँ। हेलिप्याड पुग्दा हेलिकप्टरबाट सामान झरिसकेको थियो। मैले आफ्नो समानभन्दा प्रियाको सामान खोजेँ। भेटिएन।
‘सामान आछैन?’
म पछाडि फर्किएँ। प्रिया पो उभेकी रैछ।
एकछिन त आवाजै आएन। मुख प्याक्प्याक् भयो। मैले कन्दै भनेँ, ‘मैले हेरेँ, आको रैनछ।’
‘हेलिकप्टरले उडाको धुलो मन पर्दैन मलाई त,’ प्रिया हाँसी, ‘जाम्।’
म गर्वले पछि लागेँ। अल्लि वरै आएपछि फुलेका तितेपातीको बीचमा उभेर उसले भनी, ‘दगुर्ने हो? कस्ले जित्छ है त!’
म हिस्स हाँसेँ।
‘वन टु थ्री,’ ऊ कराई र बेस्मारी दगुरी। ओरालो लाग्यो, उसैले उछिनिरही। मैले पछ्याइरहेँ। उसलाई जितेर मलाई अगाडि पुग्न मन लागेन। प्रतिमानेर पुग्दा हामी असिनपसिन भइसकेका थियौं। प्रतिमाछेउ एउटा बुढाले डोकोभरि सुन्तला बेच्न राखेको थियो।
‘पैसा छ?’ उसले निधारको पसिना पुछ्दै भनी।
उसका ओठमाथि बिमिराझैं उम्रेका पसिना हेर्दै म रमाइरहेको थिएँ। पैसा त भए पो! मैले लजाउँदै दायाँबायाँ टाउको हल्लाएँ।
‘हुस्सु, दस रुप्याँ पनि छैन?’ ऊ हाँसी।
म वाल्ल परेँ।
‘कटासे साउजीका छोरा हैनौ?’ बुढाले भन्यो, ‘लैजाऊ, पछि दिनू।’
बुढो त भगवान रैछ।
प्रियाले एउटा सुन्तला गोजीमा हाली, एउटा मलाई दिई। एउटाको बोक्रा खोल्साउन थाली।
सुन्तलाको केस्रा मुखमा राखेर ऊ फेरि दगुरी। मैले पछ्याएँ। मलाई यसरी दगुर्न खुब रमाइलो लागिरहेको थियो। ऊ दोकानमा पुगेर भित्र पसी। म बाहिर उभिरहेँ। बोलाउँछे कि भन्ने आस थियो। बोलाइन।
लुरुलुरु घर फर्कें।
एकैछिनमा ऊ टुप्लुक्क मेरो दोकान अगाडि देखा परी।
‘पैसा तिर्न जाम्,’ उसले भनी।
बाले छक्क पर्दै हेर्नुभो तर बोल्नुभएन। म दस रुपियाँ हात मार्ने दाउमा थिएँ। उसका पछि लागेँ। ऊ दगुरी। प्रतिमा पुगेर बुढोलाई पैसा दिई। बुढाले हाँस्दै लियो।
त्यसपछि त कैयौं दिन यसरी बजारमा दगुर्दा-दगुर्दै बिते। एकदिन आमाले मलाई हप्काउनुभएको थियो, ‘किन दगुर्छस् त्यसरी मुटु चुँडिने गरी?’
एकपल्ट ऊ र म घुम्दै पिपलचौतारी पुगेका थियौं। त्यही छेउमा थियो- जिल्ला प्रहरी कार्यालय। काले पुलिस ड्युटीमा रैछ। उसले सोध्यो, ‘तिमीहरू दाजुबैनी हौ?’
म झर्किएँ, ‘होइन, किन?’
‘अनुहार उस्तै लागेर,’ ऊ हाँस्यो।
म भने भित्रभित्रै भुंग्रोझैं डढिरहेँ। दाजुबैनी पो भन्दो रैछ ए!
*******************************************

प्रिया पनि अचम्मकी। कहिले घुम्न जाऊँ भनेर मेरो दोकानमै आउँथी त कहिले मलाई नचिनेझैं गर्थी। दुईतीन दिन त त्यस्सै बोल्दिनथी। बजारमा जम्काभेट भइहाल्यो भने म हाँस्दै सोध्थेँ, ‘कता हिँडेको?’
‘कतै होइन,’ त्यस्सै ठुस्किन्थी।
त्यस्तो भएपछि मेरो त निदै हराम। म रातभरि छट्पटिन्थेँ, अब त बोल्दिन कि क्या हो? मैले केही नराम्रो पो भनेँ कि भनेर सोच्दा दिमाग टनटनी दुख्थ्यो।
एकपल्ट दिनभरि उसको र मेरो कुरा भएन। त्यसदिन उसको आफ्नी आमासित झगडा भएको रैछ। ऊ एक्लै जंगल घुम्न निस्केकी रैछ। जब ऊ बजारतिर उक्लिरहेकी थिई। मैले देखेँ। ओरालोको मुख्खैमा ढेडुझैं टुक्रुक्क बसेँ। उसले उकालो उक्लिँदै दुईपल्ट मलाई हेरी तर हाँसिन। उसका हातभरि फूल थिए। जब ऊ नजिक आई, मैले सोधिहालेँ, ‘के ल्याको?’
‘लौनू,’ उसले एउटा फूल मेरो हातमा राखेर हिँडी। पछाडि फर्केर हेर्छे कि भनेको त हेर्दा पनि हेरिन। म पिलपिल भएँ।
रातभरि निदाउन सकिनँ।
भोलिपल्ट त उसको अनुहारभरि फूल फक्रिए। ऊ हाँस्दै मेरो दोकानमा आई। सुटुक्क बोलाई। घरपछाडि लगी र गीत गुन्गुनाउँदै नाची। नाच्न पनि गजबै रैछ।
मेरो बजारका केटासित संगत छुट्दै गइरहेको थियो। रमेश पनि ठुस्स परेको थियो। प्रिया आएदेखि म एकदमै फरक हुँदै गएको थिएँ। उसले बोलाए, घुम्न निस्किन्थेँ। नत्र, दिनभरि रेडियो सुन्दै दोकानमै बस्थेँ।
मध्यसाउन नहुँदै धेरैपल्ट पानी पर्‍यो, घाम लाग्यो। ऊ फर्किने दिन पनि आइसकेको थियो। ऊबिनाको मान्म कल्पना गरेर म अत्तालिन्थेँ। निद्रामै झस्किएर उठ्थेँ। झ्यालबाट बाहिर हेर्थें, तारा देखिए भने रमाउँथेँ। किनभने, प्रियालाई राति तारा हेर्न मजा लाग्थ्यो।
आखिर साउन १५ लाग्यो। स्कुल खुल्ने बेला भइसकेको थियो। ऊ फर्किने भई। भोलिपल्ट हेलिकप्टर आउने भइसकेको थियो। हेलिकप्टर चढ्नेको लिस्टमा उसको नाम टिपिइसकेको थियो। ऊ दिनभरि आमासित झगडा गरेर बसिरही। खुब रोई। ‘म यतै पढ्छु’ भनेर बिन्तिभाउ गरी। तर आमाचैंले मानिनन्।
त्यसदिन म ऊसित धेरै कुरा गर्न चाहन्थेँ तर ऊ घरबाट बाहिरै निस्किन। मैले कैयौंपल्ट उसको दोकानअगाडि फन्का लगाइरहेँ।
राति अबेरसम्म निदाउन सकिनँ।
बिहानै दस बजे हेलिकप्टरले फन्का लगायो। म अत्तालिएँ। उसको दोकानअगाडि पुगेँ, ऊ त झोला बोकेर तयार भइसकेकी रैछ। हतार थियो- मतिर हेर्दा पनि हेरिन। म उभिरहेँ।
अनि, उसकी आमा र ऊ हेलिप्याडतिर दगुरे। मैले पछ्याएँ।
हेलिकप्टर चढ्ने बेला ऊ फेरि रोई। उसका आँखा राता भएका थिएँ। उसले आँसु पुछी। बल्ल मलाई देखी। म छेउमै उभेको थिएँ। हेलिकप्टरतिर लाग्ने बेला उसले खिस्स हाँस्दै भनी, ‘हेलिकप्टर उडेपछि बाई गर्नू है!’
मेरो आवाज निस्किएन।
भटटट हेलिकप्टर आकाशतिर उक्लियो। सबैले हात हल्लाए। मलाई त के भो, के भो हातै हल्लाउन सकिनँ। बिस्तारै हेलिकप्टर चरा भयो।
*******************************************
अनि त मलाई के भाको?
प्रियाको सम्झनामा टोलाको टोलायै। रेडियो काखमा राखेर गीत सुन्दै पिलपिल। ‘तिमी नै भनिदेऊ ए जाने निठुरी’ सुन्यो कि रुन आउँथ्यो। बजारका धेरै मान्छे मेरो ताल देखेर छक्क पर्थे। एकदिन आमाले देखेर भन्नुभो, ‘के भो तँलाई, रूँलाझैं गर्छस् त!’
आमाले यत्ति के भन्नुभएको थियो, म त ग्वाँ˜˜ रोइहालेँ।
एकदिन प्रियाको खुबै सम्झना आयो। चिठी लेखेँ- ‘तिमीबिना बाँच्न सक्दिनँ आई लभ यु’ भनेर। उसको स्कुलको ठेगाना मलाई थाहा थियो। चिठी तयार पारेँ। रजिस्ट्री गर्‍यो भने हातमै पुग्छ भन्ने पनि थाहा थियो। तर, हुलाकसम्म जाने आँट आएन। हुलाकका मान्छेले के भन्लान् भन्ने लाग्यो।
‘नाइँ, म त जान्नँ,’ रमेशले पनि मानेन।
दस रुप्याँ घुस दिन्छु भनेपछि उसले मान्यो। मोरो त हुलाक गएर हुलाकीको टेबुलमा रुपियाँ र चिठी फालेर भागेछ। त्यसदिन म अछामतिर जोल्ठिएका पहाड हेर्दै टोलाइरहेँ। कहिले पुग्ला चिठी?
त्यसको बीस-एक्काइस दिनपछि प्रियाकी आमा दोकानै आइन्। म मात्रै थिएँ।
‘तिम्ले चिठी लेखेको हो?’ उनले सोधिन्।
मैले शिर निहुराएँ।
‘त्यस्तो पनि गर्ने हो?’ उनी बम्किइन्, ‘बिचरीले रुँदै फोन गरेकी थिई। मिसले चिठी नपढी दिनुभो। पढेको भए त रेस्टिकेट हुन्थेँ भनेर रोई। अब यस्तो गर्छौ?’
‘नाइँ,’ मेरो मरेको आवाज आयो।
त्यसपछि त म झन् पिलपिल। एकदिन मेरो ताल देखेर बा बम्किनुभो, ‘पढ्नु लेख्नु छैन। पिलपिल पिलपिल गर्‍या छ। एक मुक्का हान्छु अनि।’
*******************************************
अर्को असार आयो तर प्रिया आइन। म धेरैदिन छट्पटिएँ। बजारमा हिँड्दा पनि ऊसित दगुरेको याद आइरहन्थ्यो। अर्को असार आयो। मलाई लाग्यो, यसपालि पनि प्रिया आउन्न। एकसाँझ ठुल्ठुलो भारी बोकेका दुईजना मान्छेसित आइछ। हेलिकप्टर पाइनछ। दुईतीन दिन घरबाट निस्किइन। निस्के पनि के, मसित त बोल्दा पनि बोलिन। मलाई बोलाउने आँट पनि आएन। यसपालि ऊ दस दिन घर बसेर फर्किने भई। थाहा पाएँ तर मैले ‘सरी’ पनि भन्न सकिनँ।
ऊ फर्किने दिन म उसलाई पछ्याउँदै हेलिप्याडसम्म पुगेँ। ऊ हेलिकप्टर चढ्ने बेला रोइन। खुरुक्क गई। मलाई त्यहीँ मुर्छा परेर ढल्छुझैं लाग्यो।
भटटट हेलिकप्टर आकाश उक्लियो। सबैले हात हल्लाए। मैले पनि खुसुक्क कसैले नदेख्ने गरी हात हल्लाएँ।
सायद त्यो अन्तिम ‘टाटा’ थियो।
*******************************************
त्यसपछि मैले उसलाई कहिल्यै कतै दखेको छैन। चार-पाँच वर्षअघि मैले सुनेकोथेँ- ऊ अचेल काठमान्डु छ रे। भेट भएको छैन। के उसले यो पढी भने भेट्न आउली?
उसले दिएको फूल सुक्नै लागेको छ।

(श्रोत :- NagarikNews )

Posted in नेपाली कथा | Tagged | Leave a comment

काठमान्डु, म हारेर फर्कन्नँ

~बुद्धिसागर~

अघिल्लो दिन र रात मैले भोकै कटाएको थिएँ। मेरो मनिब्यागमा फुटेको कौडी थिएन, थिए त केवल ठुल्ठुला मान्छेका बिजनेस कार्ड। जसमा म नम्बर डायल गर्न सक्दिनथेँ। आँटै गरेपनि मसँग लोकल कल गर्ने तीन रुपियाँ थिएन। बिहानै पेट कताकता दुखेजस्तो भइरहेको थियो। भोको बस्दा कसरी आन्द्रा बटारिन्छन् भन्ने मैले बल्ल थाहा पाएको थिएँ। बिहानपख कसरी मुख मिठो भएर आउँछ, त्यो पनि थाहा पाएँ।

बिहानैदेखि तातो भातको बाफ मेरो आँखावरिपरि घुम्न थालेको थियो। घरमा तरकारी मिठो नलागेर फ्यात्त फालेको भातको माया लाग्न थालेको थियो।
त्यसैबेला मलाई कलेजको एकजना साथीको अनुहार याद आयो। देवदुतको जस्तो। मैले सोचेँ- बिहानै पुग्दा त कसरी खाना नख्वाउला!
मुख धोएँ र कुदेँ चाबहिल। जेठको पहिलो हप्ता थियो सायद। नौ बजे नै हप्प गर्मी बढेको थियो। म घट्टेकुलोदेखि पुरानो बानेश्वर हुँदै हतार-हतार हिँडिरहेको थिएँ। मलाई चाँडोभन्दा चाँडो हिँड्नु थियो। ताकि साथीले भात खाएर हिँडिनहालोस्।
जब म साथीको डेराछेउ पुगेँ, ऊ बाहिरै किराना पसलमा उभेको थियो। एकदुई जना केटासँग गफ चुट्दै थियो।

मैले टाढैबाट हात हल्लाएँ।

चस्किरहेका कोखा बिर्सेजस्तो गरेँ। अनुहारमा मुस्कान ल्याउने कोसिस गरेँ। साथीले खासै वास्ता गरेन।

म नजिक पुगेँ।

ऊ अझै गफमा मस्त थियो। पल्लो छतबाट हेर्ने केटीका बारेमा गफ चुटिरहेको रैछ। म उभिन पनि सकिनँ। पर्खालमा अढेस लागेर उभिएँ। मेरो मुख प्याक-प्याक भइरहेको थियो।
एकछिन पछि साथीको गफ सुनिरहेका केटाहरू मुखमा पराग राखेर प्याच्च थुक्दै हिँडे।
साथी एक्लो भयो। उसले बल्ल मतिर ध्यान दियो, ‘बिहानै कताबाट, यार?’
‘त्यत्तिकै भेट्न आको,’ मैले आफूलाई सहज देखाउन खोजेँ।
‘अरू के छ?’
भोकले रन्थनिएको छु, भन्दिहालुँ?
‘ल यार, म लागेँ,’ साथीले हात मिलाउँदै भन्यो।
लौ, यसले त कोठमा जाऊँ पनि भनेन। मलाई भाउन्न भयो।
‘यार, मैले हिजोदेखि केही खाको छैन,’ मैले रुन्चे आवाजमा भनेँ, ‘भात खान आको हुँ।’
उसले मलाई एकछिन नियाल्दै भन्यो, ‘यार, मेरोमा त आज पाउना आछन्।’
मलाई चक्कर आयो।
‘यसपालि सरी यार,’ यत्ति भनेर ऊ गयो। मेरा आँखा आँसुले डम्म भरिए। म खोच्याएजसरी हिँड्न थालेँ। गौशालासम्म आइपुग्दा तिखो सूर्य बीचआकासमा थियो। गाडीको कालो धुवाँबाट बच्दै म हिँडिरहेको थिएँ।

 

मलाई काठमान्डु एकदम बिरानो लाग्न थालेको थियो।
म कोखा समाउँदै कोठामा फर्किएँ। घुप्लुक्क ओछ्यानमा ढलेँ। बा र आमाको झल्को बेस्मारी आइरह्यो। मैले पेटमा सिरानी च्यापेँ। गाला हुँदै आँसु झरे। मलाई लागिरहेको थियो- म घरका कसैलाई नभेटी मर्छु कि क्या हो?

मैले आमाले भनेको कुरा सम्झिरहेको थिएँ, ‘तँ उता एक्लै हुन्छस्। केही भइहाल्यो भने त…।’
****

जब म सानो थिएँ, मलाई काठमान्डुबारे थाहा थिएन। एकदिन कैलाली कटासेको बसपार्कमा पुलिसले दुइटा चौधपन्ध्र वर्षका केटालाई समायो। ती घरबाट भागेका रैछन्।
‘कहाँ जान भागेका हौ?’ पुलिसले सोध्यो।
‘काठमान्डु,’ एउटाले भन्यो।
त्यसदिन मैले सोचेको थिएँ- साँच्चै कस्तो होला काठमान्डु? के छ काठमान्डुमा। त्यसपछि महेन्द्र राजमार्गमा कुद्ने बस र ट्रकमा लेखिएको देख्न थालेँ- काठमान्डु।

रेडियोमा पनि खुबै बज्थ्यो गीत- कान्छीलाई घुमाउने काठमान्डु सहर। जब टिकापुर पुगेर नेपाली फिल्म हेर्न थालेँ, बल्ल देखेँ- काठमान्डु। घर। भीड। धरहरा। सिंहदरबार। ‘परिभाषा’ फिल्ममा राजेश हमालले सुनिल थापालाई सिंहदरबारअगाडि लखेटेको दृश्य आयो, त्यसदिन अलिकति रहर पलायो। सिंहदरबारअघिको बाटोमा एकपल्ट हिँड्न पाए कस्तो हुन्थ्यो, जस्तो लागेको थियो तर मैले चाँडै त्यो रहर बिर्सिएँ। किनभने मलाई काठमान्डु लोककथाको देशजस्तो लाग्थ्यो। सुन्न रमाइलो लाग्थ्यो तर आफूले भोगेको कल्पना पनि गर्न सकिन्थेन।

पछिपछि त कटासेबाट धेरै केटा काठमान्डु पढ्न पुगे। जब ती दसैं बिदामा फर्किन्थे, तिनलाई हेर्न गाउँमा भुराहरूको भीडै लाग्थ्यो। घाँटीमा ‘खतरा’ अंकित लकेट तिनले भिरेका हुन्थे। उही क्या, खप्पर! कसैले भने कानमा टप पनि लाएका हुन्थे।

एकपल्ट एउटाले गफ दियो, ‘मैले राजेश हमाललाई भेटेँ। हात पनि मिलाएँ।’

त्यसपछि त ऊ बजारभरि हिट भयो। केटीहरूले लुकीलुकी हेर्न थाले। ऊ जब डान्स गर्थ्यो, मान्छेहरू ताली बजाउँथे। मेरो रहर फेरि पलायो। दसैं गयो। केटाहरू काठमान्डु फर्के। पुस लाग्यो, मेरो सपना ठिहिर्‍याउँदै सुक्यो।

जब हामी बसाइ सरेर कालिकोट पुग्यौं, कालिकोटमा भने काठमान्डु लोककथाजस्तो लाग्न छाडेको थियो। किनभने प्रत्येक घरका कोही न कोही काठमान्डु पुगेकै हुन्थे। अलिअलि राजनीति गर्नेलाई त पानीपँधेरोजस्तै थियो। मलाई लाग्न थालेको थियो- काठमान्डु त्यति टाढा छैन। मेरो हत्केलाले छुन नसक्ने गरी आकासझैं टाढा छैन काठमान्डु।

कालिकोट पुगेर म कवि भएँ। रेडियोबाट कविता बज्न थाल्यो। म कालिकोटको बजारमा हिट भएँ। रेडियोमा बोल्ने मान्छे मलाई ईश्वरजस्ता लाग्थे, तिनै ईश्वरलाई भेट्ने तिर्खा बढ्दै गयो। मेरो सपना भर्खरै जन्मेको बचेराका प्वाँखझैं पलाउँदै गयो। एसएलसी पास भएपछि मेरा सपनाका पखेटा उड्न सक्ने गरी बलिया हुन्छन्- म ठान्थेँ।

म एसएलसी पास भएँ। बा र म सुर्खेत झरेका थियौं।
‘यतै सुर्खेतमा क्याम्पस पढ्,’ बाले भन्नुभो।
‘नाइँ, म काठमान्डु जान्छु,’ मैले पहिलोपल्ट सपना उच्चारण गरेँ।

‘किन जानुपर्‍यो काठमान्डु?’ बा छक्क पर्नुभो।
‘म पत्रकारिता पर्छु,’ मैले अड्डी लिएँ। मलाई थाहा थियो- पत्रकारिता काठमान्डुको आरआर क्याम्पसभन्दा अन्त कतै पढाइ हुन्न।

बाले नजा काठमान्डु भनेर अड्डी लिइरहनुभो। म छट्पटिरहेँ।

बहिनीले कालिकोटबाट मार्कसिट पठाइदिई। जब मैले घोरिएर हेरेँ- मलाई मेरो सपनाले साथ दिएको थियो। किनभने, मार्कसिटमा चपाईंको ‘सि एच ए पि एन आइ
एन’ मा ‘पि’ छुटेको थियो।
मैले बालाई देखाएँ।
बाले गम्भीर हुँदै हेर्नुभो। ‘पि’ थप्न कहाँ जाने?
‘कस्तो लन्ठो आको हो,’ बाले भन्नुभो, ‘भक्तपुर सानो ठिमी पुग्नुपर्छ, मिलाउन।’
म खुसीले लगलग काँप्न थालेँ।
‘म जान सक्दिनँ,’ बा गम्भीर हुनभो, ‘के गर्ने त?’
म अवाक्।
‘तँ मिलाएर आउन सक्छस्?’ बाले मलाई गढेर हेर्नुभो।
‘सकिहाल्छु।’
बाले काठमान्डुसम्म पुग्ने एकजना साथी पनि खोजिदिनुभो। म पर्सिपल्टै हिँड्ने भएँ। अघिल्लो दिन काटेको टिकट बोकेर वीरेन्द्रनगरमा फन्का लगाइरहेँ। हिँड्ने दिन मसित थियो- एउटा छड्के झोला। स्कुले डे्रसको निलो सर्ट र पाइन्ट। गोडामा चप्पल। चोरगोजीमा पन्ध्र सय रुपियाँ र पखेटा बलियो भएको सपना।

‘यताउता नबरालिनू,’ बाले भन्नुभो।
नाइट बसको साइड बिको चौध नम्बर सिटमा बसेपछि ढुक्क भएँ, अब काठमान्डु पुगिन्छ। मेरो साथी कालिकोटकै एकजना आचार्य थिए, उनले मलाई झ्यालतिरै राखे।

घ्यारारार्र बस स्टाट भयो, मैले पखेटा फिजाएँ र भुर्र उडेँ।

****
बसले जब कोहलपुर काट्यो- मेरो मन चन्चल हुँदै गयो। किनभने म कोहलपुरदेखि उता कहिल्यै गएको थिइनँ। आचार्यजी त कोहलपुरमा मासुचिउरा खाएर मस्त निदाएका थिए। म भने अघिल्लो सिटमाथि च्यापु अड्याएर अगाडिको सिसाबाट हेरिरहेको थिएँ- बसका हेडलाइटमा टल्किरहेका सडक छेउछाउका रूखहरू। ती पछिल्तिर दगुरिरहेजस्ता देखिन्थे।
जति रात पर्दै गयो, उति बसका मान्छे निदाउँदै गए। पछि त लाग्न थाल्यो, ननिदाएका त दुई छौं, ड्राइभर र म। बसमा गीत बजिरहेको थियो, तुझसे नाराज नही जिन्दगी हैरान हु मै।
म भने जिन्दगीसित हैरान थिइनँ।
बसको झ्यालबाट चिसो स्याँठ छिर्न थालेपछि मैले सिसा बन्द गरिदिएँ। र, कल्पना गर्न थालेँ, बिहानै त काठमान्डु पुगिन्छ, कस्तो होला काठमान्डु?
अँध्यारोमै बुटवल आयो। बुटवल मस्त निदाएको थियो। झिसमिसे उज्यालोमा नारायणगढ आयो। सडकछेउ चिया र अन्डा बेचिरहेका मान्छे देखिए। बस रोकिएन। कुदिरह्यो। आचार्यजी निदाएकै थिए।
बुटवल नाघिसकेपछि त्रिशुलीको किनारैकिनार बस कुद्यो। सर्पझैं बटारिएको बाटो। जब बस किनारतिर ढल्किन्थ्यो, म बसलाई पहरातिर धकेल्थेँ।
प्यासेन्जरलाई पिसाबले च्याप्न थालेपछि बस एउटा पहरानेर रोकियो। छुछु गर्दै मान्छेहरू झ्याङका पछाडि दगुरे। आचार्यजी गए र फर्किए। अनि फेरि निदाए। मैले भने रात छर्लंग पारेको थिएँ।
मलेखुमा डकार निकाल्दै पुरीतरकारी खाएपछि बस फेरि कुद्यो। फनफनी जेलिएको बाटोमा मलाई चक्कर आउन थाल्यो। अनिद्राले पनि होला। सडकमा बस र ट्रकको भीड बढ्दै गयो।

बिहानको सवा नौ बजेतिर बस उकालो उक्लिन थाल्यो। मान्छेहरू ब्युँझिएर यताउता हेर्न थाले। कोही कलंकी झर्ने कुरा गर्दैथे त कोही बसपार्क। हामी कहाँ झर्ने? मैले आचार्यजीतिर हेरेँ, उनी त घुर्दैथे।

अबेरसम्म घ्यार्रघ्यार्र गर्दै कनेपछि बस सम्मो बाटोमा पुग्यो। मैले बकुल्लाझैं गर्दन तन्काउँदै अगाडि हेरेँ, जहाँ ठूलो साइनबोर्ड टाँगिएको थियो- वेलकम टु काठमान्डु।
मैले आचार्यजीको कुम हल्लाएँ। उनी ब्युँझिएनन्। अगाडि गाडीका लस्कर थिए। बस कमिलाझैं हिँडिरहेको थियो। त्यहीबेला मैले पहिलोपल्ट देखेँ, काठमान्डु। पहिलोपल्ट उडेको बचेराले आकास देखेजस्तो। मेरा आँखाअगाडि सिनेमास्कोप दृश्य थियो- ससाना टल्किरहेका ढुंगाजस्ता घर। जो आँखाको वल्लो कुनादेखि पल्लो कुनासम्म फिजारिएका थिए।
मेरो ज्यानमा खुसीका ससाना काँडा उम्रिए।

कलंकी पनि आयो। केही मान्छे झरे। काठमान्डु त आइपुगियो, जाने कहाँ होला? मैले आचार्यजीतिर हेरँे, उनी त मस्त निद्रामै। म झ्यालबाहिरका लहरै घर हेर्दै छट्पटिरहेँ।

बसपार्क आइपुग्यो। गाडीका त लहरै लहर। मैले जीवनमा पहिलोपल्ट यत्ति धेरै गाडी देखेको थिएँ। चक्कर आउन थाल्यो। आचार्यजी उठे। आँखा मिचे। मलाई झर्ने इसारा गरे। म झोला बोकेर झरेँ, उनी पछिपछि आए।

मैले पहिलोपल्ट काठमान्डु टेकेँ। मेरो आत्मा मुस्कुरायो।
****

‘कहाँ?’ ट्याक्सी ड्राइभरले सोध्यो।
शान्त आचार्यजीले भने, ‘रत्नपार्क।’
रत्नपार्कको नाम सुनेर म दंग भएँ, किनभने मैले काठमान्डुमा जाने तीन ठाउँमात्र थाहा पाएको थिएँ- रत्नपार्क, धरहरा र सिंहदरबार। सिंहदरबार र धरहराछेउछाउ ट्वाइलेट छैनन् भन्ने पनि मैले सुनेको थिएँ। रत्नपार्क नै ठिक।
ट्याक्सी कुद्यो। मैले देखेँ- सकडभरि मान्छे नै मान्छे। तीनपांग्रे टेम्पो। टेम्पोभरि स्कुले डे्रसमा केटी नै केटी। यत्ति धेरै केटी त मैले देखेकै थिइनँ। काठमान्डु त स्वर्गे रहेछ कि क्या हो?
ट्याक्सी एउटा सडकको किनारमा घ्याच्च रोकियो। आचार्यजीले मसित डेढसय मागे। अरू उनले थपेर तिरे। सडक शान्त थियो। ट्याक्सी गयो।
‘ल अब म पनि लाग्छु,’ आचार्यजीले झोला बोक्दै भने।
लौ, म कहाँ जाउँला?
‘कसकाँ जान्छौ?’ उनले सोधे, ‘कसैको नम्बर ल्या छैनौ?’
एकदुईजना साथीको त ल्याएको थिएँ। जसले म कालिकोट हुँदै फोन नम्बर दिएका थिए।
‘अल्लि पर पिसिओ छ। त्यहाँबाट फोन गर्ने’ भन्दै उनी फटाफट हिँडे। पछाडि पनि फर्केनन्। मलाई अत्तालिएर छुलुक्क पिसाब आउलाजस्तो भो।
गणेशको मन्दिरछेउको पिसाओमा पसेँ। खासमा त्यो फोटोकपी पसल रैछ। एउटा साथीलाई फोन गरेँ।
‘डेरा सरिसक्यो,’ उताबाट टर्रो आवाज आयो, ‘डेरा सरेको छ महिना भइसक्यो, कति फोन गरेको।’
लौ, तीनजनाले त डेरा सरिसकेछन्।
बल्लतल्ल पाँचौं भेटियो। उसले सोध्यो, ‘कहाँ हो?’
‘रत्नपार्क,’ मैले भनेँ।
साउजीले सुनिरहेको रैछ, उसले भन्यो, ‘भाइ, यो त रत्नपार्क होइन। हनुमानथान हो।’
‘ए म त हनुमानथानमा रैछु,’ मैले सच्याएँ।
‘खोइ, मलाई हनुमानथान सान थाछैन,’ साथीले भन्यो, ‘सिंहदरबारअगाडि आएर कुर, म आधा घन्टामा आउँछु।’
अब कता हो फेरि सिंहदरबार?
‘यै पर्खालको डिलैडिल जाऊ, ठ्याक्कै पुगिन्छ,’ साउजीले अगाडिको अग्लो पर्खाल देखाउँदै भने।
सिमसिम पानी पर्न थालेको थियो। म हतारहतार हिडेँ। बल्लतल्ल सिंहदरबार गेटअघि पुगेँ। मानिसको लहरो थियो त्यहाँ। अगाडिपट्टि एकले अर्कोलाई धकेल्दै कुदिरहेका गाडीहरू। टिटिटि हर्न। मैले छेउ लागेर उभिँदा अगाडि देखेँ- राजेश हमाल दगुरेको बाटो। अनि, एउटा औंला ठड्याएर उभिएका पृथ्वीनारायण शाह।
साथीले नदेख्ला भनेर म सिमसिम पानीमा भिजिरहेँ। ठिङ्ङ सिहदरबारअगाडि उभिरहेँ। चप्पलले घुच्चुकसम्म उछिट्याएको हिलो बोकेर। बोकेर एउटा झोला जसमा अझै गाउँ मग्मगाइरहेको थियो। जसमा अझै चर्को मग्मगाइरहेको थियो मेरो सपना। र, म थिएँ हड्बडाइरहेको, सहर पसेको जंगली मृगझैं।

लौ सारा कालिकोट नै आएजस्तो भो।
एकहुल केटाहरूले परैबाट हात हल्लाए। छ जना रैछन्। तिनलाई देखेर मेरो आँट आयो। सबैले दह्रो हात मिलाए। र, अघि लागे। म पछि लागेँ। कहाँ हिँडेको मलाई थाहा थिएन।
कर्नालीतिरैका एकजना मान्छेले माइतीघरनेर होटेल खोलेका रैछन्। केटाहरूले मेरो ब्याग काउन्टरमा राख्न लगाए। र, एकै स्वरमा भने, ‘घरबाट आको, टन्नै पैसा होला, फिल्म हेर्न जाऊँ।’
र, केटाहरूले मलाई दगुराए- मनकामना चलचित्र मन्दिर। चलिरहेको थियो फिल्म- प्यार कोइ खेल नही। केटाहरूले इन्टरभलमा कोक पनि खाए। कालिकोटमा सानो टिभीमा फिल्म हेरेर आएको म सिनेमाको ठूलो पर्दामा पनि रमाउन सकिरहेको थिइनँ। ज्यान सकसकाइरहेको थियो, मलाई काठमान्डुका सडकमा बेस्मारी दगुर्न मन लागिरहेको थियो।
फिल्म सकिएपछि केटाहरूका सयौं बहाना। एउटाले भन्यो, ‘मेरोमा त दिदीभिनाजु छन्।’ अर्कोले भन्यो, ‘दाइका साथीहरू आछन्।’ यसरी एकपछि अर्को तर्किन थाल्यो।
मैले रुन्चे अनुहार लाएँ।
‘बुद्धनगरमा भुपेन्द्र एक्लै बस्छ,’ एउटाले आइडिया लायो।
होटेल फर्केर मैले झोला लिएँ। कसैले देखेको रैनछ, उसको कोठा। कोही यता भन्छ कोही उता। यही घर हो कि भनेर शंका लाग्दा केटाहरू चिच्याउँथे, ‘एइ, भुपेन्द्र।’
दसबाह्र घरमा चिच्याएपछि एउटा घरबाट भुपेन्द्र बाहिर निस्कियो। केटाहरू मलाई पार्सलझैंे जिम्मा लाएर फर्के।
‘किन आको?’ उसले सोध्यो।
‘पि थप्न,’ म हाँसेँ।
भोलिपल्टै उसले मलाई आरआर कलेज पुर्‍यायो। स्ववियुका केटा चिनेकै। पछि मार्कसिटमा ‘पि’ थपेर ल्याउने सर्तमा मैले फम भरेँ। र, हस्ताक्षर गरेँ।
म काठमान्डुको भएँ।

जब परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीको झ्यालबाट मैले मार्कसिट भित्र धकेलेँ, भित्रबाट टर्रो आवाज आयो, ‘यत्ति जाबो कामका लागि पनि ह्याँ आउने? सुर्खेत जाऊ, क्षेत्रीय कार्यालयमा थपिदिन्छ।’
सातआठ दिन काठमान्डुमा बरालिएर म सुर्खेत फर्कें। सोझै क्षेत्रीय कार्यालय पुगेँ। त्यहाँ त एकैछिनमा थपियो- पि। निलो मसीले। लौ भइहाल्यो त।
एकैछिनमा म बाको गोडामा निहुरिन पुगिसकेको थिएँ।
‘यत्तिका दिन लाइस् त,’ बाले सोध्नुभो, ‘पैसा पुग्यो कि पुगेन।’
‘साह्रै गाह्रो रैछ, बल्लतल्ल पि थपिदिए।’
छोराले ठूलै काम गरेछ भनेर बा मख्ख पर्नुभो।
त्यही साँझ मैले सुनाएँ, म आरआर क्याम्पस भर्ना भएँ। अब पत्रकार हुन्छु।
बा केही बोल्नुभएन। त्यसको पन्ध्रदिन पछि, सिरक र डसना बोकेर म काठमान्डु हिँडेँ। काठमान्डुको भीडले मलाई पर्खिरहेको थियो।
****

त्यसको चार वर्षपछि, घट्टेकुलोको अँध्यारो कोठामा म भोकै छु। र, काठमान्डु मलाई भोको अजिंगरजस्तो लागिरहेछ, जसले मलाई सुस्त-सुस्त निलिरहेछ। अब यो काठमान्डुमा बस्ने कि नबस्ने? सिरानी कोखामा च्यापेर सोच्दासोच्दै म त निदाएछु।
बिहानपख ब्युझिएँ। टन्न अघाएझैं पेट ढुस्स थियो। खै किन हो, हिजोको पिन्चे म अलिकति बलियो भएको थिएँ। साला, जिन्दगीमा मानिसलाई लोद्धर लाग्यो भने भोकै बस्नुपर्ने त हो।
भोकै त म बसिरहेछु। अब फेरि यस्तै दिन आएपनि म आत्तिन्नँ। काठमान्डुले जति गरोस् म हारेर जान्नँ। मैले मुठी कसेँ।

ओरालो जति तल झरेपनि एक न एकदिन त उकालो आइहाल्छ नि।

(श्रोत :- NagarikNews )

Posted in नेपाली कथा | Leave a comment

कथा : एक मच्छडको आत्मकथा

~बुद्धिसागर~

अफिसमा पस्नासाथ रिसेप्सनबाट मैले एउटा पुलिन्दा पाएँ। रिभ्युका लागि आएको किताब होला भनेर खोल्न हतार गरिनँ। साँझ घर फर्किने बेला के रैछ भनेर खोलेँ। भित्र तहतह मिलाइएका थोत्रा कागजका पन्ना थिए। एकदम केरमेट। कसैले रिभ्युका लागि पान्डुलिपि नै पठायो कि भनेर हाँसेँ। नागरिक विकेन्डका साथीहरूले पनि रमाइलो माने। फुटबल हेर्न राति १२:१५ कुर्नु त छँदैछ। त्यही बेला पढ्न हुन्छ भनेर पुलिन्दा काखीमा च्यापेँ।


म बागमती किनारमा जन्मेकी थिएँ। बीस वर्षअघि जन्मेकी भए, मेरो नाम ‘बागमतीकुमारी’ हुन्थ्यो होला। तर, अहिले जन्मेकाले मेरो नाम भयो- ढलकुमारी। म बैंसमा खुब राम्री थिएँ। आमै भन्नुहुन्थ्यो, ‘ढलकुमारी, ख्याल गर्नू, मच्छडहरू कहिल्यै गतिला हुँदैनन्।’
हुन पनि मेरा बाबा कहिल्यै गतिला थिएनन्। सधैं मात्तिएर आउँथे। लामालामा खुट्टाले आमैलाई गोद्थे। एकदिन टिल्ल भएर बाबा मध्यरात घर आएका थिए।
‘आज पनि धोकेर आयौ, होइन?’ आमै कराउनुभो, ‘सधैं यसरी चल्दैन।’
‘एई रन्डी, नकरा।’ बाबाले आमैको खुट्टा समाएर पछारे, ‘दिनभरि को नाठोसित जान्छेस्? यसरी त कोही सधैं सुत्केरी हुँदैन। तेरा बाउको खा छैन।’
खुट्टा मर्किएर रन्थनिएकी आमा रातभरि भुइँमा लडिरहिन्। बिहान बाबालाई जाँडले छोडेछ। आमैको खुट्टा मर्केको थाहा पाए।
‘एई, मलाई माफ गर्दे।’ आमैछेउ टुसुक्क बसेर बाबाले भने, ‘के गर्नु अचेल फलफूल भन्नु न हो, केही न केही मिस्सेको हुँदोरैछ। यसो चुस्यो, लागिहाल्छ।’
आमै निन्याउरो अनुहार लाएर बसिरहिन्।
त्यसदिन बाबाले माफी पाए। तर, एकदिन राति भुनभुन उड्दै ग’का बाबा फेरि फर्केनन्। मच्चछडको जिन्दगी मान्छेको हत्केलाको एक ‘प्याट्ट’ त हो नि!
बाबा नभएपछि, आमालाई झन् चिन्ताले समाउन थाल्यो। सन्तान जन्माउँदा-जन्माउँदा आमा लिखुरे भइसकेकी थिइन्। जन्मेका कोही पनि बाँच्दैनथे। अन्डाभित्रै मरेका हुन्थे। तातो रगत खान नपाएर आमैका गाला धस्सिँदै गएका थिए। दिनभरि अँध्यारो ढलमा लुकेर बस्थिन्।
एकदिन आमै रगत पिउन निस्किन्। राति अबेरसम्म आइनन्। मलाई खुबै चिन्ताले समायो। मान्छेहरू अचेल के-के जाती धुप बाल्छन्, त्यै सुँघेर ढलिन् कि? म रातभर छट्पटिएँ। बिहानपख आमै आइपुगिन्।
आमै मुसुमुसु हाँसिरहेकी थिइन्। खुट्टा लर्बरिइरहेका थिए।
‘हिजो रगत चुसेदेखि कस्तो झमझम भा’छ।’ आमाले हिस्स हाँस्दै भनिन्, ‘यै मोरी! मलाई फेरि बैंस आयो कि कुन्नि?’
म चुप रहेँ।
‘म राम्री छैन त?’ आमैले फननन नाचेर भनिन्।
मलाई भने डर लाग्न थाल्यो, आमैले गतिलो रगत पिइनन् कि क्या हो? मैले सोधेँ, ‘कस्को रगत पिएको, आमै?’
‘कस्को भन्नु? मान्छेको!’ आमैले कम्मर मर्काउँदै भनिन्, ‘ठूलो घर थ्यो। असलै रगत होला भनेर पसेँ। मान्छे पनि पोटिलै थ्यो। रगत पिएपछि झमझम भो। छोरी, त्यसपछि मैले सारा पीडा बिर्सेर।’
दिनभर आमै टोलाएर बसिन्।
त्यसपछि त लगातार तीनदिन आमा त्यसरी नाच्दै आइन्। त्यै झमझम हुने रगत पिउँथिन् क्यारे। आमाको यस्तो ताल देखेर होला, एकदिन मच्छड काका घरमा आए। मलाई सुटुक्क सुनाए, ‘ढलकुमारी, अब हामी मच्छडका दिन गए। मान्छेका रगतमा के-के मिसिन थालेछन्। अब त हाम्रा चेलीबेटी मान्छेलाई टोक्यो कि उपद्रो गर्दै आइपुग्छन्। आफ्नो ख्याल राख्नू। अब भाउजुको पनि भर छैन।’
आखिरमा काकाले भनेजस्तै भो। आमालाई रगत पिएर आएपछि टोलाउने बेथा लायो। तैपनि बल्लतल्ल रगत पिउन जान्थिन्। एकदिन आमैले रुँदै भनिन्, ‘छोरी, मैले गतिलो रगत पिइनछु। अब त त्यही रगत नपिई बस्न सक्दिनँ। आफ्नो ख्याल राख्नू।’
त्यसदिन आमै र म अँगालो मारेर रोइरह्यौं।
भोलिपल्ट आमै फेरि रगत पिउन गइन्। फर्कंदा त बहुलाजस्तै भएकी थिइन्। जे देखे पनि डरले चिच्याउँथिन्। म रातभर आमाछेउ बसेँ। आमा चिच्याउँदा-चिच्याउँदै बेहोस भइन्। मैले सारा मच्छडलाई गुहारले। ‘के-के जाति रोग सर्छ’ भनेर कोही आएनन्।
अन्तिमपल्ट भएर होला, आमैलाई होस आयो। मेरो शिर सुम्सुम्याउँदै आमैले भित्र धस्सिएका आँखाले हेर्दै भनिन्, ‘छोरी, मच्छडको जुनी यस्तै रैछ। नजन्मिऊँ भने पनि जन्मिनुपर्ने। जन्मेपछि मान्छेको रगत पिउनैपर्ने। अचेल मान्छेको रगत शुद्ध हुन छाड्यो। मलाई अब तिम्रो चिन्ता ला’छ। अब तिमी के पिएर बाँचौली?’
यसरी आमै अबेरसम्म बर्बराइरहिन्।
म भोक लागेर बाहिर निस्केँ। फर्कंदा, आमाको टाउको भुइँमा लतारिएको थियो। सेतो फिँज गालाभरि लत्पिएको थियो। आमै त मरिसकिछन्।
म एक्लै भएँ।


मलाई बागमतीको किनारमा बस्न मन लागेन। म काठमान्डुको बीचतिर सरँे। जहाँ पनि फोहर, जता पनि फोहर। ठूलो सुपरमार्केटको पछिल्तिर एकदम फोहर थियो – त्यहीँ डेरा बनाएँ। त्यही त हो नि, रछ्यान साइलासित मेरो भेट भएको। बसाइ सरेको पहिलो रात म सुपरमार्केटको बाहिरपट्टि चुरोट तान्दै उभिएको मान्छेलाई टोकेर फर्केकी थिएँ।
‘को हौ, रूपवती?’ मच्छड साइलाले मेरो हात समाउन खोज्यो, ‘साक्षात चन्द्रमा धर्तिमा झरेजस्तो।’
‘अहिले थप्पड खाएर तारा देखौला।’ मैले मस्किँदै भनेँ।
‘तिम्रो थप्पड त मलाई फूलले छोएजस्तो।’
‘फूलमा काँडा पनि हुन्छ, घोच्ला नि!’
‘काँडाले घोचेपछि हृदयमा दाग लाग्छ, अर्काको हृदयमा दाग लगाएर जान पाइन्न।’
मच्छड साइलाले मेरो हात समायो। तर, मैले थप्पड हानिनँ। हात छुटाएर दगुरेँ। उसले पछ्यायो। म त्यसै दिन प्रेममा परेँ। त्यसपछि त हामी रातभर गटरैगटर हात समाउँदै भुनभुन गीत गाउँदै उड्थ्यौं। कति मान्छेका काननेरबाट उड्थ्यौं। ‘साले मच्छेड पनि कति हुन्!’ मान्छे बेस्मारी कराउँथे। कति त हामीलाई प्याट्ट हानेर मार्न लखेट्थे। मच्छड साइला भन्थ्यो, ‘हेर प्रिय, यौवनमा यस्ता एडभान्चर चाहिन्छ क्या!’
ऊ कवि रैछ। रछ्यानमा जन्मेकाले उसको नाम रछ्यान साइलो भएको रैछ। ऊ पनि मजस्तै एक्लो रैछ। हामीले बिहे गर्‍यौं। म गर्भवती भएँ। मलाई मान्छेको तातो रगत चाहिने नै भयो। सुपरमार्केट डुब्दै गयो, त्यहाँ मान्छे आउनै छाडे। म रातभर पेट भर्न यताउता भौंतारिन थालेँ।
कति घरका झ्यालमा जाली लगाइएको थियो, छिर्ने नसकिने। कुनै घरको झ्याल खुल्लै देखेर भित्र पस्न खोज्यो कि ज्यानमारा धुपको गन्धले अत्तालिएर बाहिर निस्कन्थेँ। यस्तो धुपको विज्ञापन मैले सुपरमार्केटको टिभीमा देखेकी थिएँ। त्यहाँ हाम्रो खुबै बेइज्जत गरिएको हुन्थ्यो। कसैको घरभित्र छिर्‍यो झुल टाँगेको देख्थेँ, रन्थनिँदै बाहिर निस्कन्थेँ। सधैँ रगत जुर्न गाह्रो हुन थाल्यो।
एकपल्ट अँध्यारो सुरुङजस्तो कोठामा पसेँ। लोग्नेस्वास्नी रैछन् क्यारे! खुब झगडा गर्दैथे। कुनामा लुकेर बसेँ।
‘तिमीजस्तो नामर्दसँग बिहे गर्नु नै गल्ति थियो।’ केटी कराई, ‘जीवनभर म सुब्बेनी साहेब भएर बस्न सक्दिनँ।’
केटीले म्याक्सी झट्कारी। केटो चुपै रह्यो, घोसेमुन्टो लाएर। केटो एकदमै दुब्लो थियो। गालाका हड्डी टल्किरहेका थिए। टेबुल पंखा घुमिरहेको थियो। हावा मतिर आउँदा म छेउमा टाँगेको लुगा च्याप्प समाउँथे। उडाउला भन्ने डर।
‘तिमीसँगैकाले काठमान्डुमा घर लाइसके।’ केटी अझै जोडले कराई, ‘मलाई अझै कहिलेसम्म राख्ने हो यस्तो नर्कमा?’
‘म चोर्न जान्दिनँ।’ केटोले सानै स्वरमा भन्यो, ‘म पापको धनले सुनको पलङ किन्न सक्दिनँ। सुत्नु छ भने यैमा सुत्। यै हो मेरो कमाइ।’
‘इस्।’ केटीले लोप्पा ख्वाई, ‘सुत्दिनँ म, तैं सुत्।’
उनीहरूले अबेरसम्म झगडा गरे। मैले सुनिरहेँ। किनभने, म थाकेर लोत भइसकेकी थिएँ। अन्त उड्नै नसक्नेगरी। एकछिन पछि केटी पलङछेउ टुसुक्क बसी। ढल्की र निदाई। केटो पनि ढल्कियो। एकदुईपल्ट केटीलाई कोट्यायो। केटीले कुइनाले धकेली। एकछिन बर्बराउँदै बस्यो। अनि, बत्ती निभायो।
म भुनुनु उड्दै केटोको पाखुरामा बसेँ। ठुँगेँ, लौ रगत नै आउँदैन। झन् ठुँगेँ, अझै रगत आएन। केटोले प्याट्ट पाखुरामा हिर्कायो। म छक्क परेँ, रगत नभएको मान्छे पनि हुन्छ र? म स्वात्त, केटीको हातको नङछेउ बसेँ। ठुँगेँ र पेटभर रगत पिएँ। केटीले हत्केला पलङमा बजारी। म भुर्र उडेँ।
‘एउटा झुल पनि किन्न नसक्ने, छिः।’ मैले झ्यालबाहिर आउँदा केटीको आवाज सुनेँ। घर फर्किन अलि ढिलो भएछ। रछ्यान साइलाले कुरिरहेका थिए।
‘आज ढिला गर्‍यौ त।’ उनले सोधे।
मैले सारा कुरा सुनाएँ। केटोको ज्यानमा रगतै नभएको कुरा। उनी छक्क परेनन्। गम्भीर भए, ‘अचेल त मान्छेले मान्छेको खुन तनतनी चुस्छन्। हाम्रा लागि थोपै रहँदैन।’


वंशजकै रोग हो क्यारे। मेरा सन्तान जन्मिनेबित्तिकै मरे। म फेरि सुत्केरी भएँ। रगत नभै भएन। एकपल्ट रातभर उडेँ। कुनै घरमा पस्न सकिनँ। ठुल्ठुला घरमा त झ्यालमै जाली थे। वरैबाट फर्कें। उड्दै पर पुगँे। एउटा फोहर खोलाको किनारमा केही झुपडी देखिए। एउटा झुपडीतिर लागेँ। भित्र पस्न गाह्रो भएन। दुब्ला मान्छेहरू लहरै सुतेका थे। एउटाको पाखुरामा बसेँ। ठुँगेँ, रगत आएन। ऊ ढलमल भएन। बानी परेको हो कि, टोकेकोमा मतलबै गरेन। अर्काको ज्यानमा ठुँगेँ, त्यहाँबाट पनि रगत आएन। अर्को झुपडीमा बसेँ। अनि, अर्कोमा। सारा झुपडीमा कसैको रगत रैनछ। मान्छेहरूले त सारा चुसिसकेछन्। म रन्थनिँदै उड्न थालेँ। सडकमा उभिरहेको मानिसलाई टोक्दा रगत भेटेँ, छाक टर्‍यो। फर्कें।
‘यत्तिका टाइम किन लायौ?’ रछ्यान साइला पहिलोपल्ट झर्के।
‘मान्छेको ज्यानमा रगत भए पो!’
‘साँच्चै खुन पाइनौ?’ उनले शंका गरे, ‘अर्कैसँग अफेयर छ भने भन, म आफ्नै बाटो लाग्छु।’
‘यदि तिम्लाई शंका छ भने आफ्नो बाटो लाग।’ मलाई झोक चल्यो।
उनी राति अबेरसम्म बोलेनन्। बिहान उनी घरमा थिएनन्। मलाई आमै र बाबाको सम्झना आयो। आखिर सबै मच्छड मेरा बाबाजस्तै हुँदारैछन्, शंकालु। मलाई रुन मन लाग्यो। म सुपरमार्केटको अँध्यारो कुनामा बसेर टोलाइरहेँ। भुनुनुनु आवाज आयो। उनी फर्के कि भनेर हेरेको त अर्कै मच्छड।
‘म अघिदेखि हेरिरहेकी छु।’ ती मच्छडले भनिन्, ‘किन दुःखी छ्यौ, बैनी?’
म टोलाइरहेँ।
उनी हँसिलो अनुहारकी रैछन्। ज्यान मेरोभन्दा कति हो कति ठूलो। भनिन्, ‘म हिजै आएकी हुँ नेपालगन्जबाट। तिम्रै घरछेवै बस्छु।’
मैले आफ्नो सबै कथा सुनाएँ।
‘यस्तै हो बैनी हाम्रो जिन्दगी।’ उनले मेरो शिर सुम्सुम्याइन्, ‘म पनि के-के न होला भनेर काठमान्डु आएँ। भोकै छु। अब नेपालगन्ज फर्कन्छु। मन छ भने उतै हिँड। त्यता त जति भने पनि खुन पाइन्छ।’
‘अहिल्यै त कसरी भनूँ।’ म अन्कनाएँ। रछ्यान साइला आउलान् भन्ने आश त छ नि!
‘ल त बैनी, म अहिले लागेँ। उतै जाने विचार गर्‍यौ भने भन्नू। यो धम्बोजी कान्छीले बोली त बोली।’
धम्बोजी कान्छी भुर्र उडिन्।
त्यही साँझ भुर्र उड्दै रछ्यान साइला पनि आए। उनलाई देखेर मेरा हिक्का छुटे। म अँगालो मारेर रोएँ। उनले मसिनो आवाजमा भने, ‘एई, म तँलाई छोडेर कतै जान सक्दिनँ।’
अनि, उनले अचम्मका चिज देखाए।
‘यो मास्क हो। यो लायो भने धुपले असर गर्दैन।’ उनले मास्क दिए। अनि, सानो छुरा पनि दिँदै भने, ‘यसले झुल काट्न मद्दत गर्छ।’
मैले रमाउँदै लिएँ।
‘ल अब जहाँ मन लाग्छ त्यहाँ जाऊ, खुन पिऊ। तिम्लाई कसैले रोक्न सक्दैन।’ उनी हाँसे, ‘हामी मच्छडलाई के ठान्या छन् मान्छेले?’

अब मलाई खानाको समस्या रहेन। म जुन घरमा पनि पस्न सक्थेँ। सुटुक्क भेन्टिलेसनबाट भित्र पस्थेँ। धुप बालेको छ भने मास्क लगाउँथेँ, टन्टै साफ। मान्छेका पाखुरामा बस्थेँ, मास्क उघारेर ठुँग्थेँ, तनतनी रगत पिउँथेँ। झुल टाँगेको घरमा भने अलि गाह्रो हुन्थ्यो। आफू पस्ने गरी झुल छुराले काट्न करिब एक घन्टा लाग्थ्यो। फर्कने बेला छिरेको प्वाल पत्ता लगाउन नसकेर म अबेरसम्म फनफनिन्थेँ।
‘बैनी, म पनि जान्छु तिमीसँग।’ एकदिन धम्बोजी कान्छीले भनिन्, ‘मैले पनि पेट बोकेँ। रगत नभई भएन।’
मैले रछ्यान साइलालाई भनेँ। उनले फेरि एकजोर मास्क र छुरा ल्याइदिए। त्यसरात धम्बोजी कान्छी र म खुब रमाउँदै खितखिताउँदै मान्छेका घरघर पस्यौं। धुप देख्दा मास्क लगायौं। झुल देख्दा छुरा उदायौं। खुब रगत पियौं।
‘बैनी, काठमान्डु आउँदा हामी जाजरकोट पनि ग’का थ्यौं।’ त्यही रात उसले उड्दै सुनाइएकी थिई, ‘त्यहाँका मान्छेलाई टोक्नासाथ हाम्रा सारा सन्तान छेरपटी लागेर मरे।’
म छक्क परेँ।
‘त्यहाँका मान्छेका रगत खोई कसले सिनित्तै पारेछ।’ उनले भनिन्, ‘त्यहाँका मान्छे त छेर्दै- वाक्दै मर्दारैछन्। काठमान्डुबाटै ग’का पत्रकारले सुनाका थे। तिनको रगत त तिनकै सर्कारले सिनित्तै पार्छ रे! होला र?’
धम्बोजी कान्छी मेरो छेउ बसिन्। फुलेको पेट सुम्सुम्याइन्। म उदास थिएँ। त्यो देखेर उनले भनिन्, ‘अब काठमान्डुतिर रगत पाइन्न। नेपालगन्जका मच्छडले पनि अरूलाई देखिसहन्नन्। तिम्लाई नेपालगन्ज जाऊँ त भनिहालेँ – तर त्यहाँ पनि काठमान्डुबाट ग’का मच्छडलाई एनजिओवाला भनेर लखेट्छन्।’
म झन् उदास भएँ। पेटमा हुर्किरहेका सन्तानको खुब माया लाग्यो।
‘चिन्ता नगर बैनी।’ मेरो रुन्चे अनुहार देखेर उनले भनिन्, ‘हाम्ले नयाँ ठाउँ पत्ता ला’छौं। अब पहाडतिर गर्मी बढेर मच्छडलाई बाँच्न सजिलो भा’छ। अब त्यतै जानुपर्छ। त्यताका मान्छे न त झुल किन्न सक्छन् न त धुप।’
‘कताको पहाड, दिदी?’
‘जुम्ला-कालिकोट।’ उनका आँखा ठूला भए, ‘त्यता त गाडी जान थालेछन्। हाम्लाई जान सजिलो हुन्छ।’
‘त्यता पनि त सर्कार होला।’ मैले निरासा देखाएँ, ‘त्यसैले रगत चुस्छ नि!’
‘होइन बैनी, त्यताका गाउँ त कहाँ हो कहाँ! सर्कारै पुग्न सक्दैन रे!’ धम्बोजी कान्छी हाँसिन्। त्यता सर्कार रेडियोबाट त पुग्ने हो, अब भन त रेडियोको सर्कारले कसरी चुस्छ रगत?’
ए, हामी मच्छडका लागि कहीँ त शुद्ध रगत रैछ। मलाई आफ्ना सन्तानको भविष्य त्यति अन्धकार लागेन।
‘काठमान्डुमा त हाम्लाई नै असर गर्ने फोहर पनि बढ्या छ।’ मैले भनेँ, ‘दुईचार दिनमै हिँड्नुपर्छ।’

‘साँच्चै पहाडतिरै जाने र?’ मच्छड साइला झस्किए।
मैले धम्बोजी कान्छीले भनेका कुरा सुनाएँ। उनले एकछिन सोच्दै भने, ‘जाम न त। उता चित्त बुझेनछ भने फेरि फकर्ौंला।’
कुरा मिल्यो। हामी पर्सि नै पहाडतिर जाने भयौं। विधिको विधान नै यस्तै छ। त्यही दिन मैले अन्डा पारेँ। त्यसदिन म असाध्यै खुसी थिएँ। यौटा त यौटा बाँच्ला नि, अब हाम्रो वंश चल्छ भनेर। राति धम्बोजी कान्छी र म रमाउँदै रगत खोज्न ठूलो बंगलातिर लाग्यौं। बाहिर पुलिसले पहरा दिइरहेको थियो। मच्छड हुनु फाइदै रैछ, काननेरबाट उड्दा पनि पुलिसले बन्दुक ताकेन। बंगलाका धेरै ढोका बन्द थिए। यौटा ढोकाको चेपबाट भने बत्तीको मधुरो उज्यालो बाहिर आइरहेको थियो। हामी त्यही चेपबाट भित्र पस्यौं। भित्र सोफामा चारजना राता गाला भएका भुँडे बसेका थिए। सबैका हातमा गिलास थिए। हामी सोफाको चेपमा लुक्यौं।
‘यस्पालि हामी सत्तामा आएनौं भने त गाह्रो हुन्छ।’ एउटाले भन्यो, ‘धेरैसँग धेरै चिज लिइसकेका छौं, फिर्ता दिनु परेन? टाट भएपछि केको राजनीति?’
‘डोन्ट वरी।’ अर्कोले चुस्की लगाउँदै भन्यो, ‘यस्पालि गोलपोस्ट खाली छ, जति गोल गरे’नि हुन्च। कुम्भकर्णझैं निदाउनुस्। उठ्दा सारा देश तपाईंकै हत्केलामा। नरिवलझैं जति उफार्नुस्, उफार्नुस्। हाहाहा।’
‘निदाकै त हो नि!’ पहिलो हाँस्यो, ‘भोक लागेर उठेको क्या। पेट भरिएपछि टन्न निदाउनुपर्छ।’
मेरो ठ्याक्कै आँखाअगाडिको भुँडे मौन थियो। अरूको हाँसोमा हाँसो मिलाएन। चुरोटको ठुटो भने एस्ट्रेमा बेस्मारी निमोठ्यो। र, मोटो आवाजमा बर्बरायो, ‘अब आप लोग जो चाहते है किजिएगा, केक का एक हिस्सा तो अपने प्लेट मे आएगा ही।’
‘द्याट्स कुल।’ चौथो आवाज मात्र सुनँे। अबेरपछि सबै गए। एउटामात्र बाँकी रह्यो। बंगला मालिक हुनुपर्छ। उसले गिलास रित्यायो। अर्को कोठातिर लाग्यो। दुब्लो बुढो आयो र टेबुल सफा गर्न थाल्यो। यो बुढोसित पनि के रगत होला र? हामीले भुँडेलाई पछ्यायौं।
ऊ फराकिलो पलङमाथि लतारिएको झुलको चेप उघार्दै भित्र पस्यो। पलङको कुनामा मोटी महिला पनि थिइन्। उसले महिलाको कानमा भन्यो, ‘सुन्यौ? कुरा मिल्यो।’
उत्तर आएन।
एकैछिनमा दुवै निदाए। भोकले हामी रन्थनिएका थियौं। हतारहतार झुल काट्न थाल्यौं। अबेरपछि प्वाल पर्‍यो। पहिला म भित्र पसेँ, अनि धम्बोजी कान्छी। हामी भुँडेलाई ठुँग्न थाल्यौं। रगत त कति हो कति। तनतनी पिउन थाल्यौं।
‘दिदी, कस्तो अचम्म! कति धेरै रगत हो?’ मैले धम्बोजी कान्छीको कानमा भनेँ, ‘मेरो जीवनकालभरि एउटै मान्छेमा यति धेरै रगत देखेकी थिइनँ।’
‘यै त होला नि, सारा मान्छेको रगत पिउने मान्छे।’ उनले ओठ लेप्राइन्। हाम्रो भुनभुन र टोकाइले होला, भुँडे ब्युँझियो। पाखुरा सुमसुम्यायो। हामी डराउँदै झुलको कुनामा टाँसियौं।
‘साले मच्छेड।’ भुँडे करायो, ‘तीस हजारको झुल पनि काम लागेन। थुइक्क!’
उसका पाउरोटीजस्ता पुक्क परेका हत्केला हामीतिर बढे। म प्वालबाट फुत्त बाहिर निस्किएँ। धम्बोजी कान्छी अल्मलिइन्। आत्तिँदै यताउता उडिन्। एकैछिनमा उनी मोटा हत्केलाको बीचमा थिइन्। प्याट्ट आवाज आयो। मृत धम्बोजी कान्छी ताराझैं भुइँतिर खसिन्।
म आफ्ना आँसुमा रुझ्दै फर्किएँ।
रछ्यान साइलालाई सबै कुरा सुनाएँ। उनी गम्भीर भए। मच्छडको जिन्दगी – अघिल्लो रात शोक थियो, अहिले बिहान हर्षोल्लास छायो। किनभने हाम्रो घरमा छोरी आई। सुपरमार्केटमा जन्मेकाले उसको नाम ‘सुप्रिमा’ राख्यौं।
‘अब हाम्रो घर पुरा भो।’ मध्याह्नतिर रछ्यान साइलाले भने, ‘यता बस्यो भने छोरीको ज्यानलाई पनि खतरा हुन्छ। भोलि नै पहाडतिर लागौं।’
सामान त कति नै थिए र, एकैछिनमा गुन्टा बने। साँझ पर्दै गो। मलाई भोक लाग्न थाल्यो।
‘कता जान्छ्यौ?’ रछ्यान साइला डराए, ‘हिजोको ठाउँतिर नजाऊ है!’
‘नजिकै जान्छु।’ मैले भनेँ। तर म त्यही भुँडेलाई ठुँग्न चाहन्छु। म उसलाई धेरै असर गर्न नसकूँला तर धम्बोजी कान्छीको आत्माले शान्ति त पाउला।
म बदला लिन चाहन्छु।


पन्ना सकिए। अन्तिम पन्नासँगै एउटा सानो चिट पनि खापिएको थियो। मैले चिट पल्टाएँ –
सर,
त्यसपछि आमा फर्किनुभएन। हामीले धेरै कुर्‍यौं। आमाकै सुर्ताले बाबा पनि बित्नुभो। म काठमान्डुमै छु र एक्ली छु। रगत पिउन नपाएर सधैं बिरामी पर्छु। कहिले मर्छु, थाहा छैन। हामी मच्छडको त के कुरा भो र! नालीमै जन्मिन्छौं, नालीमै मर्छौं। हाम्रो नियति नै यही हो। हामी नहुनु तपाईंहरूलाई आनन्द नै होला। तर, हामी नभए पनि मच्छडहरू कहिल्यै सकिने छैनन्। किनभने अब त मान्छेहरू नै ठुल्ठुला मच्छड हुन थालेका छन्।
मान्छेकी भए पनि, मच्छडकी भए पनि आमा त आमा नै हुन् नि, हैन र? मलाई मेरी आमाको खुब माया लाग्छ। मेरी आमाको कथा कहिल्यै गुमनाम नहोस्!
… सुप्रिमा।

(श्रोत :-  NagarikNews )

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : जन्डिस

~बुद्धिसागर~

होटेल शंकरमा एउटा साहित्यिक कार्यक्रम थियो। दिउसो ३ः३० बजेतिर, प्रमुख अतिथिको उच्चाटलाग्दो भाषणपछि, एकहुल दर्शक खाजाको लाइनमा लागिसकेका थिए। सभापतिको ‘दुई शब्द’लाई छल्दै, अलिकति निहुरिएर दर्गुदै म पनि खाजाको लाइनमा पुगेँ। म पच्चीस-छब्बीस नम्बरमा परेँ।
पुलाऊ-मटन-चिकन र तात्तातो जेरीको बासना वरैसम्म आइरहेको थियो। मिठो बासनाले होला, भोक अझै बढ्यो। लाइनको अघिल्तिर उभिएका पाँच-छ जनाले प्लेटभरि खाजा बोकेर बाहिर बरन्डातिर निस्किदा कार्यक्रम सक्किएछ।
हुरुरुरु करिब सत्तरी-असी मानिस लाइनमा गाभिन आइपुगे। दुईचार जना भने अघिल्लो पंक्तिका मानिसलाई हात हल्लाउँदै नजिक गए र निर्लज्ज त्यहीँ घुसि्रएर उभिएँ।
मेरो पालो अझ पछि सर्‍यो, म त्यसैको झोकमा थिएँ।
भीडबाट कसैले हात हल्लाएजस्तो लाग्यो। त्यता हेरेँ। हो रैछ।
एक ‘कवि मित्र’ रैछन्। ती काठमान्डुमा बस्थे, एकदिन सारा ‘साहित्य’ खान्छु भन्ने हिसाबले। तर, काठमान्डु आएपछि, दुई महिना बेस्मारी थला परेछन्, जन्डिस लागेर। मैले केही दिनअघि थाहा पाएको थिएँ।
‘के छ, यार?’ उनी नजिक आए, ‘बीचमा जन्डिस भएर कार्यक्रमहरूमा आउन पाइनँ। नयाँ के छ?’
उनी लाइनमै घुसि्रने सुरसहित अझ नजिक आए।
‘त्यस्तो केही छैन।’ भन्दै म उनलाई आफ्नो अघिल्तिर घुसि्रन नदिने अडानसहित उभिएँ।
हिहिहि हास्दै उनी छेउमै उभिइरहे।
‘खै खै।’ अचानक उनले आफ्नो हात मेरो अनुहारतिर बढाए। अनि, मेरो अनुहार ऐनाझैं आफूतिर फर्काउँदै गढेर हेर्न थाले।
‘के भो?’ मैले सोधेँ।
‘एक्कै छिन…।’ उनले डाक्टरले झैं मेरा आँखा च्यातेर भित्र चिहाउन थाले।
‘हत्तेरी… के भो भन्या?’ उनको डाक्टरी-ताल मलाई झर्को र लाजलाग्दो लाग्न थाल्यो।
‘जिब्रो देखाऊ त!’
इस् देखाउँछु। म लाइनसहित दुई कदम अगाडि बढे र झर्किएँ –
‘किन देखाऊँ?’
‘तिमीलाई त जन्डिस भएजस्तो छ।’
जन्डिस? मेरो मुटु डरले गुव्वाराझैं फुल्दै गएर अङनारीमा ठोक्किएलाजस्तो भो।
‘मेरो शरीर अलि पहेँलो नै छ।’ मैले बचावटमा भनेँ, ‘फेरि आज दिनभरि सुतेर आको हुम्। त्यसैले होला।’
‘कस्तो कुरा गर्‍या?’ कवि-मित्रले मेरा हातका नङ हेर्दै भने, ‘म अस्ति भर्खरै जन्डिस ठिक भएको मान्छे हुम्। मलाई थाहा हुन्न?’
मेरा गोडा सुस्त काँपे।
कवि-मित्रको मेरा अंगअंग खानतलासी र मेरो अनुहारमा त्रासको कालो बादल मडारिइरहेको देखेर तीनचार जना साहित्यिक- मित्र नजिक आए।
‘के भो?’ एउटाले सोधे।
‘इनलाई जन्डिस भएजस्तो छ।’
‘हो र…?’ दोस्राले जिब्रो टोके।
‘अघि नै पहेँलो-पहँेलो अनुहार देख्दा मलाई शंका त लागेको थ्यो।’ तेस्रा मित्र बर्बराए, ‘हो… जन्डिसै भ’को रैछ त।’
‘साँच्चै हो?’ मेरो आवाज धस्सियो। म फुत्त लाइनबाट बाहिरिएँ। त्यो ठाउँ कवि-मित्रले ओगटे र सोधे, ‘लाइनबाट किन बाहिर?’
‘जन्डिस भएपछि केही खान हुन्न भन्छन्।’
‘अहिले एकपल्ट खाए… केही नहोला।’
‘म त केही खान्नँ… तिमी खाऊ।’ भन्दा मलाई भनन रिङटा लाग्न थालिसकेको थियो।
‘चिल्ला-पिरो नखाऊ न त…।’
म फेरि लाइनमा पसेँ, कविमित्रका पछाडि।
एकछिन पछि मेरो प्लेटमा सुख्खा रोटी र रायोको साग थियो। जसलाई समातेका मेरा हात रुखको पातझैं सुस्त हल्लिरहेका थिए।

सायद, ६० सालको जेठको गर्मीको दिन थियो।
म हतार-हतार राजदरबारछेउ अग्ला रुखमुन्तिर हिँडिरहेको थिएँ। मेरा ओठ सुख्खा भइसकेका थिए। कवि-मित्रको मलाई जन्डिस भएको घोषणाले म रुन्चे भइसकेको थिए।
जन्डिस भाको मान्छे घामदेखि जोगिनुपर्छ – मैले थाहा पाएको थिएँ। त्यसैले साँझको मलिन घामदेखि पनि जोगिँदै-जोगिँदै हिँडिरहेको थिएँ।
जन्डिस यस्तो रोग हो, जसले जीवनकालभरि लखेटिरहन्छ। खाना बारेन भने ठहरै पार्छ, पनि सुनेको थिएँ। खानाको कुनै रुटिन थिएन, मेरो। म खानाको साटो मःम नै खाएर दिन कटाउथँे। साला… मःमले नै मलाई जन्डिसको रोगी बनायो – म मःमका विरुद्धमा दाह्रा किट्न थालेँ।
एकपछि अर्को गर्दै मःम पसलका साउहरूको झझल्को आउन थाल्यो। जो मुसुमुसु हास्दै मेरो अगाडि डेढ प्लेट मःम राखिदिन्थे। प्याच्च पहेँलो तेल निस्किएका मःमका डल्ला। साउ र ममको सम्झनाले पनि उक्कउक्क हुन थाल्यो।
जमल विश्वज्योति हलछेउ आइपुग्दा ह्वास्स मःमको गन्ध नाकमा ठोक्कियो। मैले सडकबाटै पुरानो हरियो पर्दा झुन्डिएको पसलभित्र चिहाएँ। ग्राहकको भीड थियो।
यी सबैलाई पछि जन्डिस हुन्छ – मैले मनमनै घोषण गरँे।
घन्टाघर आइपुग्दा मलाई पिडौंला गलेजस्तो लाग्यो। एकछिन उभिए। त्यसै-त्यसै खुइय… सुस्केरा निस्कियो। जन्डिस भएपछि शरीर गल्दै जान्छ – मैले सुनेको थिएँ। आफ्ना पिडौंला पनि गल्ल थालेपछि, मलाई विश्वास हुँदै गयो, यो काठमान्डुका हजारौं जन्डिसका रोगीमा म पनि थपिएँ।
जामे मस्जिदछेउको पाठ्य सामग्री पसलमा त्यति भीड थिएन। पसलका साउ कमल सुवेदीले मलाई देखेर हात हल्लाए। ‘एकछिन यही पसलमा थकाइ मार्नुपर्‍यो’ सोच्दै म पसलको काउन्टरअगाडि उभिएँ। जुन काउन्टरमाथि साहित्यिक पत्रिकाका धुम थिए। मलाई एउटा पनि पल्टाउन मन लागेन।
‘के भो? अनुहार त फुङ्ग उठेको छ नि।’ कमलजीका पावरदार चस्माभित्रका आँखा ठूला भए।
‘मलाई त जन्डिस भएछ।’
‘लौ, हो र?’ उनले पनि सिसामा आफूलाई नियालेझैं मेरो अनुहारतिर नजिकिए।
‘हो रैछ।’ उनले भने, ‘आँखा पनि पहेँला-पहेँला भएछन्। सुरुवातजस्तो छ, डराउनु पर्दैन।’
अलि आँट आयो।
‘औषधी खाको?’ उनले सोधे।
‘बल्ल त थाहा पाएँ।’
‘त्यसो भए… नरदेवी जानू, आयुर्वेदिक अस्पताल छ।’ उनले सुझाए, ‘मलाई पनि जन्डिस हुँदा त्यहीँ गथेँ। चाँडै ठिक हुन्छ।’
काँक्रा, उखुको जुस, मेवासहित उनले धेरै थोकको नाम टिपाए, जुन जन्डिसका रोगीले खाने गर्छन्।
म फेरि बागबजारको व्यस्त सडकमा एकदमै सुस्त हिँड्न थालेँ।
मैतिदेवी चोकमा मानिसको घुइँचो थियो। जुन तरकारी पसलमा पनि भीड। काँक्रो त बयालीस रुपैयाँ केजी। मेवा त्यस्तै। एकएक केजी काँक्रो र मेवा किनेँ। छेउको फलफूल पसलमा गएर उखुको दुई गिलास रस पिएँ। पैसा तिर्ने बेला होस हराउलाजस्तो भो – मसँग त जम्माजम्मी आठसय जति मात्र पैसा रैछ।
घरबाट पैसा मगाउँदा पनि कम्तीमा एकहप्ता लाग्छ।
परान त काठमान्डुमै जाने भो – म रुन्चे अनुहार लिएर घट्टेकुलोतिरको अँध्यारो गल्लीमा हेलिएँ।
कोठामा पुग्दा साढे सात भइसकेछ। मच्छडले पनि नभेट्ने अँध्यारो कोठाभित्र पस्दा भनन रिंगटा चल्यो, म थ्याच्च पलङमा बसँे। कानका लोती ताता हुँदै गए। निधारभरि चिसो पसिना निस्क्यो।
पानी भकभकी उमालेर चिसो बनाउन कुनातिर पत्रिकाले छोपेर राखिदिए।
जन्डिसको रोगीले नुन खानु हँुदैन भन्ने पनि सुनेको थिएँ। आफैलाई झिजो लाग्नेगरी कचर-कचर-कचर एककिलो काँक्रो खाएरै सकेँ। पेट डम्म भो।
बाआमाको अनुहार झल्झली आँखाभरि नाच्न थाल्यो।
मैले काखमा सिरान चेपेर निदाउने कोसिस गरँे, अबेरसम्म निदाउन सकिनँ। बल्लतल्ल निदाउन त निदाए तर मध्यरात त्यही पेट बेस्मारी बटारियो।
भोलिको सूर्य नदेखी मर्छु कि क्या हो?

बिहान सवा सात बजे ब्युझिएँ।
जन्डिस भएपछि शरीर पूरै पहेँलिएर सिरक र तन्ना पनि पहेँलिन्छन्, सुनेको थेँ। एउटा लामो हाईपछि हतारिँदै झ्यालको पर्दा खोलँे। तन्नाको एकपाटो तन्काउँदै झ्यालको उज्यालोतिर ल्याएर एकछिन घोरिएँ।
त्यतिसाह्रो भएको रैनछ, तन्नामा कतै पनि पहेँलोपन देखिएन।
जन्डिस भएपछि खुब पानी खानुपर्छ, पनि सुनेकोथेँ, त्यसैले हिजो तताएर राखेको पानीतिर लम्किएँ। पानी चिसो भइसकेछ। दुई गिलास पानी घट्घटी पिउँदा त केही भएन, तर तेस्रो गिलास पानी मुखतिर बढाउँदा भने भाउन्न भएर पछारिउँलाजस्तो भो।
बाथरुम बाहिरपट्टि थियो।
हिँड्दा चक्कर आएर ढल्कूँ कि भन्ने डरले भित्ता छुँदै बाथरुमसम्म पुगेँ। बाथरुममा एकछिन टुक्रुक्क बस्दा पनि पिडौंला बटारिए।
कहाँ आएर फसियो, दैव?
कापिरहेका हातले अनुहार पखालेँ। दाँत माझेँ। कोठामा आएर करिब पाँच मिनेट ऐना हेरेर टोलाएँ। आँखाभित्रको सेतो सतह मैलिँदै गएजस्तो लाग्यो। अब पूरै पहेँलिएर जाने भो – भनेर के सोचेकोथँे, ठिहिर्‍याउँदो जाडोमा कसैले गर्दनमा पानी छ्यापिदिएझैं एकपल्ट सारा ज्यान थररर्र काप्यो।
भोक लाग्यो, बाँकी मेवा र काँक्रो सकेँ।
प्वाँख सबै झरेको बुढो ढुकुर चाराको खोजीमा निस्केझैं, थकित म सुस्केरा हाल्दै मैतिदेव चोकतिर निस्किएँ।
बिहान भएर चोकमा त्यति भीड थिएन। हातमा आधा-आधा केजी काँक्रा र मेवा झुन्ड्याउँदै जुस पसलमा गएर एक गिलास दुध पिएपछि, ज्यान तंग्रियो।
जुसको जोसमा कोठासम्म पुग्न म हतारिँदै गल्ली छिचोल्न थालेँ।
गल्लीका दुई मोड पार गरेपछि, एकजना अधबैंसे मानिस भेटिए। मर्निङवाकमा आएका होलान्। मेरो अघिअघि हिँडिरहेका थिए। उनको भुँडी असहज तरिकाले अघिल्तिर तन्किएको थियो। उनले बल्लबल्ल भुँडी थामिरहेकोजस्तो लाग्थ्यो।
मैले उनलाई उछिनँे।
‘ए… भाइ।’ पछाडिबाट उनको आवाज आयो।
म टक्क रोकिँदै पछाडि फर्किएँ।
‘बिहान-बिहान काँक्रा र मेवा बोक्नु भा’ छ त?’ भन्दै उनी छेउमा आए।
‘मलाई जन्डिस भा’छ।’ मैले सुस्त भनेँ।
‘ए… बर्बादै भएछ त।’ उनले भने, ‘अस्ति भर्खरै मेरो एकजना आफन्त ‘गए’ … बिचराले जन्डिस फर्किएको थाहै पाएनछन्।’
म रुन्चे हाँसो हाँसँे।
‘कहाँ देखाउनुभा’छ?’ उनले सँगसँग हिँड्दै सोधे।
‘देखा छैन… आज देखाउँछु।’
‘ख्याल-ख्यालको नठान्नुस् है… जन्डिसलाई।’
म चुपचाप हिँडिरहेँ।
‘को-को हुनुहुन्छ घरमा?’ उनले दाँत देखाए।
‘घरमा त सबै छन्… म एक्लै बस्छु काठमान्डुमा।’
‘बिचरा… तपाईंलाई गाह्रो-साह्रो पर्लाजस्तो छ… खानामा खुब ख्याल राख्नुपर्छ।’ उनले मलाई गढेर हेरे, ‘आजै नरदेवी जानुस् है… आयुर्वेदिक औषधीले चाँडै सन्चो गर्छ।’
‘हस्।’
ती वृद्ध अब अर्को मोडतिर मोडिने भए।
म अगाडि बढेँ। अल्लिपर पुगेर पछाडि फर्केर हेर्दा उनले मलाई नै हेरिरहेका रैछन्। मानौं, उनी मलाई यो धर्तीबाट बिदा गरिरहेका छन्।
वृद्धको कुराले दिमाग झन् बिथोलियो। जन्डिसजस्तो खतरनाक र कालप्रिय रोग संसारमा अर्को कुनै छैन कि क्या हो?
म फुत्त छेउको किराना पसलमा पसेँ। टेलिफोनको रिसिभर उठाउँदै हतार-हतार नम्बर डायल गरँे।
‘हेलो, को?’ फोनमा एकमित्रको आवाज आयो।
मैले भनेँ, ‘म जन्डिस भएर मर्नै ला’छु। तुरुन्त आइज।’

दस बजेतिर मित्र आइपुगे। यी मित्र नेपाली साहित्यमा भर्खरै बामे सर्दैछन्। जहिले पनि प्रेमको अतृप्तिले रन्थनिएका हुन्छन्। अहिले हाइकुको प्रबर्द्धनमा छन्। यदि पुलिसले पाकेट छामछुम गर्‍यो भने कम्तीमा तीस-बत्तीसवटा हाइकु भेटिएलान्।
उनी मेरो अँध्यारो कोठामा प्रवेश गरेपछि, मेरो अनुहार उज्यालो भयो।
‘नरदेवी जाने भए… हिँडिहालम्।’ उनले मेरो हाल देखेर भने।
ज्यानको पहेँलो रंग सर्छ कि भनेर मैले सेतो सर्ट लगाइनँ। हाइकु-मित्रले ढोकामा ताल्चा लगाइदिन सहयोग गरे। घट्टेकुलोबाट डिल्लीबजार आइपुग्दा म थाकेँ। टेम्पो चढेर वीर हस्पिटलसम्म जाने योजना भो। गर्मीको महिना भएर होला, टेम्पो खालीखाली थियो। टेम्पोमा कुनै कुरा भएन।
वीर हस्पिटल झरेपछि, पैदल यात्रा सुरु भो। असनका साँघुरा गल्ली हुँदै हामी हिँडिरह्यौं। हाइकु-मित्र अघिअघि थिए, बाटो देखेकाले। म छाया-छाया खोज्दै हिँडिरहेँ। कुनै घरअगाडि कुर्सी या त बस्नलायक ठाउँ भेटियो कि म बेलाबेला थ्याच्च बस्थेँ।
‘चाँडो हिड्… नत्र लाइन लामो भइसक्छ।’ हाइकु-मित्र मलाई बल दिन्थे।
बल्लतल्ल आइपुग्यो, नरदेवी आयुर्वेदिक अस्पताल। गेटबाट भित्र छिर्नेबित्तिकै जन्डिसग्रस्त मानिसको भीड देखियो। ती औषधी लिन लाइन लागेका रैछन्। कति त सुनझैं पहँेलिएका पनि रैछन्। मलाई के गरूँ – के गरूँ भयो।
आँगनको पूर्वतिर एउटा ठूलो रुख रैछ, हाइकु-मित्रले मलाई त्यहीँ आराम गर्न भने। र, आफू कुरा बुझ्न दगुरे। त्यही रुखको छेउमा आठ-नौ वर्षका तीन फुच्चे फुटबल खेलिरहेका थिए, मैले बडो इष्यापूर्वक तिनलाई नियालेँ।
‘ल, पहिला ब्लड चेक गर्नुपर्छ रे।’ हतारिँदै आएका मित्रले भने।
‘कहाँ छ ब्लड चेक गर्ने ठाउँ?’
‘ऊ.. गेटबाहिर छ रे।’
मैले फेरि खुइय सुस्केरा हालँे। सय मिटर जति लामो दुरी पनि पार गर्न गाह्रो होलाजस्तो लाग्न थाल्यो।
हस्पिटल बाहिरपट्टिको निजी ल्याबमा व्यस्त एउटा केटाले इसाराले एकछिन आराम गर्न भन्यो। एकछिन आराम गरेपछि, उसले सिरिन्ज पाखुरामा घोपेर रगत झिक्यो।
र, भन्यो, ‘३०० दिनुस्।’
मैले दिएँ।
‘आधा घन्टापछि आउनुस्।’ उसले बिल दिँदै भन्यो।

यति अप्ठ्यारो आधा घन्टा त जीवनमा कहिल्यै भोगेको थिइनँ। त्यही ठूलो रुखमुन्तिर घाम छल्दै बसिरहँे। बेलाबेला नाकको टुप्पातिर बस्न आउने माखा धपाएँ। हाइकु-मित्र भने फुच्चेहरूसँग फुटबल खेल्न भिडे।
बेलाबेला बलमा ड्याम्म प्रहार गर्थे र पूर्वतिर हेर्दै खिस्स हास्थे। उनले यस्तो पटक-पटक गर्न थालेपछि म त छक्क। ड्याम्म बलमा प्रहार गर्‍यो, पूर्वतिर हेरेर खिस्स हाँस्यो। फेरि ड्याम्म, खिस्स। के गरेको होला यस्तो?
‘ओई, के गरेको?’ मैले झर्किदै सोधेँ।
मित्र पूर्वतिर हेरेर फेरि खिस्स हास्दै मेरो छेउमा आए। अनि उनले सुस्त भने, ‘लाइन मारेको क्या।’
मित्रले आँखा सन्काएको ठाउँ ठ्याक्कै म बसेको रुखपछाडि पर्‍यो। मैले चस्किरहेजस्ता कोखा बटार्दै रुखपछाडि चिहाएँ।
छ्या… एउटी अधबैंसे महिला हाइकु-मित्रलाई हेर्दै हाँस्दै पो छिन्!
‘देखिस्?’ मित्रले अनुहार रातो बनाए।
‘के देखिस्… आफू ह्याँ थला पर्‍या छु।’ मैले भनेँ, ‘जा त… ब्लड चेक भो कि हेर्त। आफ्नो उमेरकीलाई लाइन मार्नू नि, पाजी।’
हाँस्दै मित्र गेटबाहिर दुगुरे। फर्किदा उनको हातमा रिपोर्टको कागज थियो।

‘बस्नुस्।’ महिला डाक्टरले भनिन्।
म टुसुक्क अगाडिको टुलमा बसँे। उनले मेरो रिपोर्ट पढिन्, पावरदार चस्माको डिलमा आँखा नचाउँदै। एकछिन मलाई हेरेर हाँसिन्, अनि सोधिन्, ‘किन आ’को?’
‘जन्डिस भएर।’
‘कसले भन्यो।’
‘साथीले।’ म लजाएँ, ‘मेरो आँखा पहेँलो भा’छ रे।’
‘यत्रो लाठे मान्छे… साथीले भन्दैमा पत्याउने?’ डाक्टर हाँसिन्, ‘तपार्इंको आँखाको रंग नै त्यस्तो छ। रिपोर्टमा त क्यै पनि छैन।’
‘भनेको?’
‘भनेको… तपाईंलाई केही पनि भा’ छैन।’
एहेहेहेहे। मलाई एकछिन जुरुक्क उठेर बे्रकडान्स गर्न मन लाग्यो। शरीरमा सररर्र तातो रगत बग्यो। छ्याङ्ग भो।
म हुरीझैं बाहिर निस्केँ। हाइकु-मित्र ढोकाछेउमै रैछन्। ‘मलाई त केही पनि भा’ रैनछ।’ भन्दै म तीन खुट्किलाको सिढीबाट भुइँतिर उफ्रिएँ।
मित्र पनि मुसुमुसु हाँसे।
मैले रमाउँदै चारैतिर हेरेँ। अल्लिपर… काखीमा कोकका दुइटा खाली जम्बो बोतल बोकेका कमल सुवेदी देखिए। मैले बोलाएँ।
‘मलाई त जन्डिसै भा’ रैनछ।’ म हासेँ, ‘तपाईंचाहिँ बोतल बोकेर कता?’
‘मलाई त जन्डिस फर्किएर लास्टै भा’ रैछ।’ उनले हतारिँदै भने, ‘इमर्जेन्सीमा भर्ना भा’छु।’
बिचरा, हिजो जन्डिसको कुरा हुँदा चेक गर्न आरैछन्। यतै बस्ने भएछन्।
अनि, उनी अर्को दिशातिर दगुरे।
म भने गेटबाहिर।
बिजुलीका पोललाई लात्ती हिर्काउँदै हिँडूजस्तो लाग्ने जोससहित म असन पुगेँ। हाइकु-मित्रले मलाई पछ्याइरहे।
असन पुग्नेबित्तिकै मःमको बासनाले स्वागत गर्‍यो। मुख रसायो। मैले मित्रलाई आँखा सन्काएँ। हामी मःम पसलभित्र पस्यौं। एउटा फुच्चे केटाले टेबुल सफा गरिदियो। र, सोध्यो, ‘कति ल्याऊँ?’
‘डेढ-डेढ प्लेट।’ मैले भनेँ।

(श्रोत :- ३० जनवरी २०१० मा नागरिक दैनिकमा प्रकाशित )

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : गैंडा टाइम्स

~बुद्धिसागर~

सिसौको रूखमुन्तिर सुस्ताइरहेको थिएँ। बेलाबेला बाक्लो छाला सुम्सुम्याउन आइपुग्ने चिसो बतास अबेरपछि महसुस हुन्थ्यो। चराहरू चिरबिराइरहेका थिए। सोचिरहेको थिएँ – एकछिन पछि कर्नालीतिर नुहाउन जान्छु।
‘केटा,’ आवाज आयो।
मैले आवाज आएतिर नियालेँ। तीनचार जना केटी रैछन्। मैले मधुरोगरी देखेँ।
‘म केटा होइन,’ मैले ठूलो आवाजमा भनेँ, ‘म गैंडा हुँ, देख्दैनौ चाचरी हो?’
मेरो आवाज सुनेर दुइटी केटी तर्सिए।
‘हामी मान्छे गैंडाको बच्चालाई केटा भन्छौं,’ एउटी कम्मरमा हात राख्दै ठिंग उभिई।
‘आफ्नो प्रेमीलाई पनि केटा त भन्छौं नि,’ म उठेँ, ‘मलाई पनि प्रेमले केटा भन न त!’
‘यस्तो नाकमा सिङ भएकोसित पनि के मायापिर्ती लाउनु?’ एउटी अल्लि नजिक आई, ‘के माला सिङमा झुन्ड्याइदिनु?’
मैले नियालेँ – छेउमा आउने केटीले टाउकोमा सल राखेकी थिई। गालामा मसिना पसिना थिए। पसिनामा औंलाले प्याट्ट हानूँ जस्तो लाग्यो। तर के गर्नु, केटी पछारिई भने?
‘सिङ त गोरुका हुन्छन्,’ मेरो ज्यान थर्थरायो, ‘यो त खाग हो। थाहा छैन, मान्छेहरू यसलाई पाउन ज्यान फाल्छन्।’
म केटीको नजिक पुगेँ।
‘एई भाग्,’ म नजिक पुगेको देखेर पर उभेकी केटी कराई।
‘किन भाग्ने?’ छेउकी केटीले भनी, ‘यो केटो त बच्चै छ, राम्ररी खाग पनि टुसाएको छैन।’
‘मेरो डर लाग्दैन, सत्ये?’
‘किन डराउने?’ केटीले तिखा आँखाले हेरी।
‘मेरो हरियो छाला छ नि त!’
‘डराउन्नँ म त, हरियो छाला भएको गैंडासित।’
‘कोसित डराउँछ्यौ त, मैया?’
‘हरियो छाला भएका मान्छेसित।’
म ट्वाल्ल परेँ।
‘यो वनभरि हरियो छाला भएका मान्छे छन्, ख्याल राख्नू,’ मैले आँखा झिम्काएँ, ‘कता हिँड्यौ यसरी चिरिच्याट्ट परेर, तीज आ’छ कि के हो?’
‘फूल फुल्नलाई वसन्तै आउन नपरेझैं राम्री हुन पनि तीज आउन पर्दैन,’ केटी हाँसी, ‘काउलो टिप्न जान ला’को।’
‘जंगलको भित्रभित्र नजानू,’ सम्झाएँ, ‘जताततै हरियो छाला भएका मान्छे छन्।’
‘तिनले लखेटे भने तिमी भत्ल्याक-भत्ल्याक हाम फाल्दै बचाउन आउनू नि,’ केटी हाँसी, ‘फिलिममा झैं।’
‘फिल्ममा त त्यसरी कुकुर आउँछ, गैंडा आको देख्या छौ?’
अरू केटी अघि लागे। पछि परेकी उसले दगुर्दै भनी, ‘रियल लाइफमा ट्राई गर न त, फिल्ममा लिइहाल्छन् कि?’
म उभिरहेँ। केटीहरू मेरा आँखाबाट परपर हुँदै गए।
कर्नालीतिर नुहाउन हिँडेँ।
एकडेढ घन्टापछि, नुहाएर फर्किंदै गर्दा मेरा कानका जाली हल्लिनेगरी चार-पाँच पल्ट लगातार गोलीको आवाज आयो – ड्याम्म ड्याम्म। ज्यान सिरिंग भयो। बेस्मारी त्यतातिर दगुरेँ, जतातिर मा र पा हुनुहुन्थ्यो।

सारा गैंडा कुल त्यहीँ थिए। ठूलो रूखको छायामुन्तिर मा र पा चिन्तित देखिनुभएको थियो। बाँदर मीत बाका परिवार पनि त्यहीँ थिए। छेउको ढिस्कोमा टुसुक्क बसेका थिए। मितिनी आमा मीतभाइलाई छातीमा च्यापेर ट्वाल्ल परेकी थिइन्।
‘अहम्, काँ पुगेर आइस्?’ मलाई देख्नेबित्तिकै पाले सोध्नुभो, ‘भर्खरै जंगलमा गोली चल्यो, अहम् तेरो चिन्ताले सताथ्यो।’
‘कर्नालीमा नुहाउन गाथेँ,’ छेउमा उभिएँ, ‘कसैलाई केही त भएन?’
‘अह्म, साइलो बुझ्न गा’छ,’ पाले भन्नुभो, ‘अब जंगलमा बस्नु खतरा हुँदै गो।’
म बोलिनँ।
कान्छा पाले मुख फोरे, ‘अब यो आरक्ष छाडेर अन्तै सर्ने हो कि?’
‘अहम्, के गुर्न कान्छा?’ पाको आवाज मसिनो भो, ‘हाम्रा पुर्खाका चिहान यतै छन्। पुर्खाको सम्झनालाई चटक्कै छाडेर जाने कुरा भएन। केही दिन अझै हेरम्, कालबेला अझै बढ्दै गयो भने सबै छाडेर हिँड्नुपर्ला।’
‘हाम्रो कुलमा तपैंकै खाग पुरानो हो, तपैं नै हो जान्ने-बुझ्ने,’ कान्छा बाको ढाड थर्थरायो, ‘हाम्रो काम त तपैंलाई ट्वाल्ल परेर हेर्ने हो।’
लामो सन्नाटा छायो। अनि छेउछाउका झाडीमा सर्‍याक-सर्‍याक आवाज आयो। सबै झस्किए।
साँल्दाइ झाडीबाट फुत्त निस्किए।
‘के भा रैछ साइँला?’ पाका आँखा चनाखा भए। साँल्दाइले एकछिन सास थामे।
‘गैंडाहरूलाई त केही भ’को रैनछ,’ उनले भने, ‘मान्छे नै मारेजस्तो छ। लास त देखिनँ, भुइँभरि रगतका टाटा थिए।’ एकछिन फेरि सनान्नाटा छायो।
‘खिखिखि, मनुष्यलाई पनि के भाको हो?’ मीत बाले अलि ठूलो स्वरमा भने, ‘गोली पड्का छन्, मर्‍या छन्। फेरि तिनलाई मर्न-मार्न जंगललै चाहिने।’
‘मति बिग्रेपछि यस्तै हो,’ पा उठ्नुभो, ‘अहम्, एकपल्ट रगतको तिर्खा लाग्यो भने तिर्खा कहिल्यै मेटिँदो रैनछ।’
अनि, सबै आफ्नो बासस्थानतिर लागे। पा भने रातभरि निदाउन सक्नुभएन। म चन्द्रमा हेरेर टोलाइरहेँ। बिहानै मितबा मुखका पत्रिका च्यापेर रूखका हाँगाहाँगामा हामफाल्दै हामीतिर आइरहेका थिए।
‘अहम्, यस्तरी हतारिया छन् मित,’ बा झस्किनुभो, ‘पक्कै नराम्रो सम्चार ल्याएजस्तो छ।’
मितबा सर्‍याक-सर्‍याक रूखबाट तल झरे। सारा जंगलमा मितबा नै हुन् पढ्न-लेख्न जान्ने। मलाई पनि सानैमा क-ख सिकाएका थिए।
‘खिखिखि, हिजो यो जंगलमा को-को मारिया रैछन् भन्ने थाहा भो,’ पत्रिका भुइँमा फाल्दै मितबाले ढाड कन्याए, ‘सबै नारी रैछन्, दोहोरो भिडन्तमा परेछन्। सिकार खेल्न आथे रे। खिखिखि, आर्मीले भेटेछन्।’
पा बेस्मारी झस्किनुभो। मैले हतार-हतार पत्रिका पल्टाएँ। चारजना केटीको लास लम्पसार परेको थियो। मुटु चस्स भो। थ्याच्च बसेँ।
‘के भो गैंडु?’ पा आत्तिनुभो।
‘यी केटी त हिजो काउलो टिप्न गाथे,’ मेरा आँखा धमिला भए। स्वात्त आँसु खस्यो।
‘अहम्, के भन्छ यो?’
‘एकछिन मसित कुरा गरेका थे,’ मैले आँसु थाम्न सकिनँ, ‘हरियो छाला भाकासित डर लाग्छ भन्थे, ठहरै पारेछन्।’ मौनता छायो।
एकछिन पछि मितबाले मलिन आवाजमा भने, ‘पहिलोपल्ट गैंडा कुलमा कोही रोयो। खिखिखि, राम्रो लक्षण होइन यो।’

भोलिपल्ट ११ः३० बजे। साँल्दाइ परको फाँटमा बेस्मारी दगुरिरहेका थिए। बेलाबेला हावामा खाग नचाउँथे। पिसाब फेर्न टुसुक्क उभिएको थिएँ, सजग भएँ। साँल्दाइ जंगल पसे। म पनि दगुरेँ।
उनी, अगाडिका ठुल्ठुला रूखलाई टाउकैले ढालिदिउँलाझैं फ्वाँ-फ्वाँ दगुर्दै घरतिर सोझिए। मैले पछ्याएँ।
‘खिखिखि, के भयो साँइलालाई, गैंैडु?’ मीत बाको आवाज आयो। उनी पनि हतारिँदै रूखका हाँगाहाँगामा हाम फाल्दै आइरहेका रैछन्। ‘थाहा छैन, मीतबा,’ मैले भनेँ, ‘ठूलै संकट आइलागेजस्तो छ।’
मितबाले बेस्मारी अर्को रूखको हाँगामा हाम फाले। हामी पुग्दा साँल्दाइ पाका अगाडि थरथर काँप्दै उभिएका थिए। गर्धनमा चाख्लो-चाख्लो साङ्लोजस्तो केही बाँधिएको थियो।
‘के भो साइँला?’ पाले सोध्नुभो, ‘अहम्, पापीहरूले तेरो पनि खाग निकाल्न खोजे कि?’
‘थाहा छैन,’ साँल्दाइले रुन्चे स्वरमा भने, ‘पहिला चारपाँच वटा हात्तीले घेरे। हात्तीमाथि सयौं मान्छे थिए। पछि गर्धननेर च्यास्स भयो। होस आउँदा म एक्लै थिएँ। गर्दनमा भने यस्तो यन्त्र बाँधिएको रैछ।’
‘अहम्, फेरि के आपत आइलाग्यो?’ पाको आवाज काँप्यो।
‘चिन्ता नगर, मीत,’ मीतबा भुइँ झरे, ‘यस्लाई जिपियस भन्छन्।’ पा ट्वाल्ल पर्नुभो।
‘यो लाए’छि गैडा काँ-काँ हिँड्या छ, सप्पै था हुन्छ रे!’
‘अहम्, भनेछि पापीहरूले अर्को जालमा पारे हामीलाई?’
‘भन्न त गैंडाकै सुरक्षाका लागि हो भन्छन्। खिखिखि, चिन्ता नगर मीत। यसले फाइदै गर्ला।’
‘यस्तो कुकुरले झैं पट्टी लाएर हिँड्दिनँ म,’ साँल्दाइ रन्किए, ‘अब जंगलमा मेरो के इज्जत होला?’
‘खिखिखि, साइँला, यस्तो कुरा नगर,’ मीतबा मुसुक्क हाँसे, ‘यो त तिम्रा लागि तक्मा हो। अब तिमी सामान्य गैंडाबाट विशेष गैंडा भयौ। पत्रिकामा तिम्रो फोटो छापिन्छ।’
‘म नेता होइन मीतबा, पत्रिकामा फोटा छाप्दै हिँड्ने,’ साँल्दाइले रूखमा गर्धन जोते, ‘यो यन्त्र नफाली म फर्किन्नँ।’ अनि, घना वनतिर दगुरेँ। अल्लि पर पुगेर रूखमा फेरि आफ्नो गर्धन जोतेँ। रात पर्दै गएपछि मैले साँल्दाइलाई खोजेँ, कतै भेटिएनन्।
‘त्यस्तो मुर्ख थ्यो साइँलो,’ सुत्नुअघि माले खुइय सुस्केरा हाल्नुभो, ‘त्यै नै मान्छेको फेला पर्‍यो।’
म रातभरि निदाउन सकिनँ। मध्यरात थकित साँल्दाइ फर्किए। गर्धनमा पट्टी छँदै थियो। घरबाहिर उभिरहे। अनि बस्दै मसिनो आवाजमा भने, ‘गैंडु, अब मलाई खतरै खतरा छ। मलाई केही भइहाल्यो भने मा र पा ख्याल राख्नू।’
म दाइको छेउमा बसेँ, दुवैको छाला ददारिएछ। बिस्तारै आवाज आयो – ख्याट्ट। मलाई थाहा छ, खतरा यस्तै मसिनो ‘ख्याट्ट’सहित आउँछ।

एकहप्तामा गर्मी बेस्मारी बढेको थियो। दुलाबाट सर्प बाहिर निस्कँदै थिए। म दिनभर एकान्तमा टोलाएर बस्थेँ। एकदिन झ्याम्म परेको रूखको छहारीमा बसेको थेँ। फन्टुस लोखर्के दगुर्दै आयो।
‘पहलमान दाइ,’ बुरुक्क उफ्रँदै भन्यो, ‘तिम्रो घरमा भीड ला’छ।’
‘के भो?’
‘तिम्रा बा सिकिस्त बिरामी भा’को जस्तो छ।’
म बेस्मारी घरतिर कुदेँ। सारा जंगलका गैंडाले पालाई घेरेका थिए। पा भुइँमा पछारिनुभएको थियो। मा छेउमा थ्याच्च बस्नुभएको थियो। छेउमै मीतबा पनि थिए। साँल्दाइ आमाछेउ उभिएका थिए। पाको नाकमाथिबाट रगत बगिरहेको थियो। मैले देखेँ – पाको खाग थिएन। मलाई भननन रिंगटा चल्यो।
‘जेठा बा, यस्तो बेला त भन्न नहुनी हो,’ पल्लाघरे गैंडाले भन्यो, ‘अब तपार्इं हाम्रो मुखिया रहनुभएन। हजुर्को मुकुट लिएर पापीहरू भागे। अब त गैंडादेवले पनि हजुर्को प्रार्थना सुन्दैनन्। तपार्इं बुच्चो हुनुभो।’
‘यस्तो दिन देख्नुअघि, अहम्, म किन मरिनँ?’ पाको आवाज मलिन भो।
‘हो जेठा,’ छिमेकी वनका मुखिया बाले भने, ‘अब मुकुट नभएपछि तिमी मुखिया हुन मिल्दैन।’
‘खिखिखि, अबको जमानामा यस्ता वाहियात कुरा नगर मुखिया,’ मितबा रन्किँदै बुरुक्क उफ्रिए, ‘यीजति जंगल बुझेको अरू कोई छ? मुखियाको काम शासन गर्नेमात्र होइन अरूको सुरक्षा दिने हो। अरू कसैसँग यस्तो ह्याऊ छ भने भन।’
‘बरु हामी पालैपालो मरौंला,’ दुईचार गैंडाले नारा लगाए, ‘कि त मुकुट फिर्ता ल्याउनुपर्‍यो कि त अर्को मुखिया चुन्नुपर्‍यो।’
‘अहम्, बनाम्ला त नि अर्को मुखिया,’ पाले भन्नुभो, ‘मैले तिमीहरूमा निरंकुशता लाद्न खोजेको होइन, सबै रीत पुर्‍याउनुपर्छ। पापी मान्छे र हामीमा फरक पनि त हुनुपर्‍यो!’
‘पा, चिन्ता नगर्नुस्,’ मैले भनेँ, ‘म फिर्ता ल्याउँछु मुकुट।’
सबैले छक्क पर्दै मतिर हेरे।
‘मलाई थाहा छ, खाग तस्करहरू कहाँ छन्,’ मेरो आवाज ठूलो भो, ‘म भोलि नै काठमान्डु जान्छु।’
….
चन्द्रमा आकाशको पल्लो पुछारमा पुगिसकेको थियो। जंगल शान्त थियो। मैले मा र पालाई ढोगेँ। उहाँका आँखाबाट छिपछिप आँसु निस्कियो। ‘गैंडु, आफ्नो ख्याल राख्नू। ह्याँ त दस जना मानिसले हाम्रो हंस लुट्याथे,’ माले भन्नुभो, ‘तिमी त लाख-लाख मानिसको बीचमा जाँदैछौ। सके बाको मुकुट लिएर फर्किनू, नसके आफ्नो मुकुट बचाउनू।’
पाका ओठ काँपे, बोल्न सक्नुभएन।
‘म यसलाई परसम्म पुर्‍याएर आउँछु’ भन्दै साँल्दाइ अघि लागे। म मा र पादेखि परपर हुँदै आएँ र ठूलो रूखबाट मोडिएँ। साँल्दाइ बीचरोडमा उभिएपछि रन्किँदै आएको ट्रक रोकियो। म लुसुक्क पछाडि चढेँ। भाग्यबस ट्रक खाली नै रैछ।
‘लौ, आज राम्रै कमाइ होलाजस्तो छ,’ अगाडिबाट ड्राइभरको आवाज आयो, ‘साक्षात गैंडा देखियो।’
खलासीले दुवै हात जोड्यो। साँल्दाइले बाटो छाडे, ट्रक बेस्मारी हुइँकियो। म कतिबेला निदाएँ, थाहा भएन। गाइँगुइँ आवाजले ब्यँुझिएँ। मेरा आँखामाथि दुइटा अनुहार झुन्डिएका थिए।
‘अर्काको ट्रक सुटुक्क चढेर कता हिँड्यौ?’ बुढो अनुहारले सोध्यो, ‘हाम्लाई गंैडा तस्कर भनेर समात्छन्।’
‘चिन्ता नगर्नुस् हजुर, केही भइहाल्यो भने म सम्झाउँला,’ मैले हात जोडेँ, ‘काठमान्डु हिँडेको हुँ, पाको खाग फिर्ता ल्याउनु छ।’
‘आच्या, गुरुजी यो गैंडा त बोल्दो पनि रछ,’ खलासी बुरुक्क उफ्रियो।
‘देखिस् लड्का?’ गुरुजी हाँसे, ‘साह्रै भएपछि त गैंडा पनि बोल्दो रैछ। कलीयुग आको भनेको सही रैछ।’ म हाँसिरहेँ।
‘पिसाब फेर्न झरेको पनि फाइदै भो,’ गुरुजीले भने, ‘तिम्लाई देख्यौं, अब चिन्ता नगर म जसरी पनि तिमीलाई काठमान्डु पुर्‍याइदिन्छु।’
गुरुजी र खलासीले मलाई पाल ओढाइदिए। ट्रक हर्न बजाउँदै बेस्मारी कुद्यो। म पालभित्र फेरि निदाएँ। पहिलोपल्ट गाडी चढेर होला – भननन रिंगटा पनि चलिरहेको थियो। चर्काचर्का हर्नले ब्युँझिएँ। पालबाट बाहिर चिहाएँ, अँध्यारो भइसकेको रैछ।
‘थानकोट आइपुग्यौं, अगाडि चेकिङ छ,’ गुरुजीले पछाडि फर्केर भने, ‘तिमी चुपचाप बस।’
झिलिलिली टर्च बालेर आर्मी आयो र सोध्यो, ‘पछाडि के छ?’
‘खाली छ, हजुर।’
‘एकपल्ट हेर्न पर्‍यो,’ आर्मी ट्रकमा उक्लियो र करायो, ‘के हो यत्रो बेडेमानको?’
मेरो ढुकढुकी बढ्यो। आर्मीले पाल ह्वात्त तान्दै टर्चको उज्यालो मेरो ज्यानमा फाल्यो।
‘के रैछ?’ तलबाट आवाज आयो।
‘सर्कसको सामान रैछ,’ आर्मी झर्‍यो, ‘कागजको गैंडा।’
ट्रक अघि बढ्यो। म ट्रकको मसिनो चेपबाट बाहिर नियाल्न थालेँ – काठमान्डुको एकपाटो उज्यालो र अर्को पाटो अँध्यारो देखियो। एकछिनपछि, ट्रक घ्याच्च रोकियो। गुरुजीले भने, ‘लौ त गैंडाबाबु, कलंकी आइपुग्यो। हामी अब साउकोमा जान्छौं। तिमी यतै झर।’
म अक्मकिएँ।
‘सोचेर आ त हौला, काँ जाने भनेर।’
म झरेँ। खलासीभाइले हात हल्लाए। मैले हाँसेजस्तो गरेँ, ‘सिमदरबार कता पर्छ, गुरुजी?’
‘यै बाटो सोजै जाऊ, पुग्छौ।’ गुरुजीले अगाडिको लमतन्न बाटो देखाए, ‘तिम्लाई थाहा छ कि छैन, सिमदरबार बिहान नस नबजी खुल्दैन।’
मैले शिर हल्लाएँ। ट्रक बेस्मारी हुइँकियो। अब कता जाऊँ? म एकछिन अल्मलिएँ। मीतबाले भनेका थिए, ‘ट्याक्सी चढ्नू।’ नौ-दस हजार गोजीमा थियो। सोचेँ, ट्याक्सी नै चढ्छु। फाट्टफुट्ट ट्याक्सी कुदिरहेका थिए। म हात ठड्याएर उभिएँ। एकैछिनमा ट्याक्सी रोकियो। हतारमा भनेँ, ‘दाजु, सिमदरबार जाने हो?’
ड्राइभर मलाई ठुल्ठुला आँखाले हेर्न थाल्यो। कुर्लियो, ‘के ट्याक्सी रोकेको? टाटा मोबाइल रोक्, त्यसमै अट्छस्। लोद्धर लागेका बेला कस्ता-कस्ता मान्छे…।’ एकनिमेष अल्मलिएर ड्राइभर फेरि करायो, ‘कस्ता-कस्ता गैंडा आइलाग्छन् बा!’
थुक्क थुकेर ड्राइभर कुद्यो।
लौ त, सिमदरबार भोलि नै जाम्ला। आजको रात काटूँ। खोज्दाखोज्दा बल्ल होटेल भेटँे। झिलिमिली बलिरहेको साइनबोर्ड थियो, ‘साक्षात् अप्सरा होटल।’
ढोका ढक्ढकाएँ।
‘को हो ट्यापे? हिच्, यत्ति राति?’ लर्बरिएको आवाज आयो।
‘हजुर, म गैंडा हुँ,’ मैले मसिनो आवाजमा भनेँ, ‘एकरात बास चाहियो।’
‘यस्कीमा, हिच् जिस्किँदो पो रैछ,’ घद्र्याक-घुदु्रक आवाज आयो। ह्वात्त ढोका उघि्रयो। अधबैंसे मानिस ढोकामा उभियो। ट्वाल्ल पर्दै हेर्‍यो। आँखा मिच्यो।
‘यस्कीमा गैंडे, अप्सरा होटेललाई हेप्छस्?’ उसले लात्ती उचाल्यो, ‘रंगशाला जा। जंगली, के तँलाई जंगल सानो भो, सहर आछस्? छिः कस्तो गनाको।’
म ट्वाल्ल परेँ। उसले ढ्याप्प ढोका लायो। मान्छेको जात यत्तिसम्म रद्धी होला – सोचेकै थिइनँ।
बरु हिँडेरै रात कटाउँछु, मैले फेरि सोचेँ। भोकले रन्थनिइरहेको थिएँ। खाना खोज्ने सुरमा अँध्यारो गल्लीमा भौंतारिएँ। कमै घरमा बत्ती बलेका थिए।
‘को हो यत्रो ट्रकजस्तो?’ अँध्यारो कुनाबाट आवाज आयो। ९-१० वर्षको फुच्चे केटो अँध्यारोबाट बाहिर आयो। ज्यानमा मैलो जाँगे र थोत्रो बन्डी थियो। खाली गोडा। जिङरिंग कपाल। ऊ मभन्दा पनि गनाको थियो।
‘गैडा हुँ, बाबु,’ मैले मलिन आवाजमा भनेँ, ‘आजै आको, भोकले रन्थनेको छु।’
उसले रमाउँदै हेर्‍यो।
‘मै त तीन दिनदेखि भोको छु,’ उसले मेरो पेटमा प्याट्ट हान्दै भन्यो, ‘सारा दोकान बन्द भैसके, पैसा छ?’
मैले झोला थप्थपाएँ।
‘अब त पैसा भए पनि पाइन्नँ,’ उसले मलाई अँध्यारोतिर तान्यो, ‘आऊ, आज यतै सुत।’
उसले पेटी देखायो। पल्टेँ। आँखा चिम्लिएँ। केटो मेरो छातीतिर लपक्क टाँसियो। निद्रा लागेन, अबेरसम्म टोलाइरहेँ। आकाशमा चन्द्रमा थियो तर मैले जंगलबाट देख्ने चन्द्रमाभन्दा यो चन्द्रमा मैलो थियो।
‘तिम्रो नाम के हो, बाबु?’ मैले फुच्चेलाई कोट्याएँ।
‘काठमान्डु,’ उसले निद्रामै भन्यो, ‘मलाई त जसले भेटेपनि लात्तैलात्तले गोद्छन्।’

बिहानै काठमान्डुले पाँच पोका पाउरोटी, कागजमा बेरिएका छवटा समोसा र एउटा पानीको बोतल ल्यायो। पैसा फिर्ता दियो। मैले एक निमेषमै साढे पाँचपोका पाउरोटी र तीनवटा समोसा खाएँ। पानी पिएपछि पेट ढुस्स भो। आफ्नो फेरि एकैठाउँ हगासनमा बस्ने बानी पेट गडबड भयो भने के गर्ने होला?
‘पेट ढुस्स भो,’ मैले ढ्याउ गरेँ, ‘ग्यास्टिक होलाजस्तो छ।’
‘कइँ गैंडालाई पनि ग्यास्टिक हुन्छ?’ काठमान्डु खिस्स हाँस्यो।
‘के गैंडाको पेट हुँदैन कि क्या हो?’ मैले दाँत देखाएँ।
‘यस्तै हो, काठमान्डुमा पेट ढुस्स भइरहन्छ।’
मेरा आँखा भर्खरै समोसा ल्याएको कागजको टुक्रामा गयो। लौ, त्यहाँ त साँल्दाइको फोटो पो रैछ! साँल्दाइ भुइँमा लडेका थिए, वरिपरि मान्छे थिए। फोटामाथि ठुल्ठुला अक्षरमा लेखिएको थियो – गैंडा संरक्षणमा अर्को फड्को। खाग चोरलाई फाँसी देऊ।
दायाँपट्टि सानो फोटो पनि थियो – जुँगावाल मान्छेको। मुन्तिर नाम थियो – डा.कर्मदास ‘पसिनाजीवी’।
ए, भनेपछि यिनैले हाम्राबारेमा लेख लेखेका रैछन्।
म मख्ख परेँ – यिनैलाई भेटे पाको खाग खोजिदिन्छन् कि?
‘किन हाँसेको?’ काठमान्डुले सोध्यो।
‘ल हेर, मेरा साँल्दाइको फोटो,’ मैले पत्रिका देखाएँ।
‘तिम्रा दाइ मरे?’
‘होइन। मान्छेले बेहोस बनाका हुन्,’ मैले छेउको फोटो देखाएँ, ‘यिनलाई चिन्छौ?’
‘किन नचिन्नु?’ काठमान्डुले फोटा हेर्दै भन्यो, ‘मेरो नाम काठमान्डु भन्ने था छैन? म ह्याँ बस्ने जसलाई पनि चिन्छु।’
‘फोन पत्ता लगाइदेऊ न!’
‘जाबो त्यति पनि,’ काठमान्डु हाँस्यो, ‘ल हिँड, पिसिओ।’
काठमान्डुले पत्रिका किन्यो। मलाई भीडभाडहीन पिसिओमा पुर्‍यायो। पिसिओवाला छक्क परेर मलाई हेर्दैथ्यो। काठमान्डुले पत्रिका कार्यालयमा फोन गर्‍यो र पसिनाजीवीको ‘फ्यान’ हुँ भन्दै नम्बर माग्यो। एकैछिनमा नम्बर पाइयो। उसले फेरि नम्बर थिच्यो। घन्टी गएछ, मलाई दियो।
उताबाट आवाज आयो, ‘हेलो।’
‘हजुर पसिनाजीवी पर्नुभो?’ मैले नम्र आवाजमा सोधेँ।
‘होइन, आँसुजीवी हुँ। रोको रोयै गर्छु। हिहिहि, मेरो नाम पूरा आउँदैन?’
‘हजुर, कर्मदास पसिनाजीवी होइन?’
‘होइन,’ उनको आवाज मोटो भो, ‘म डाक्टर कर्मदास पसिनाजीवी हुँ। तपार्इं को पर्नुभो त?’
‘मैले हजुर्को लेख पढेको थिएँ।’
‘आम्मामा, पहिलोपल्ट कसैले मेरो लेख पढेर फोन गर्‍यो,’ नरम आवाज आयो, ‘नमस्ते है, के सेवा गरूँ?’
‘हजुर, म बर्दिया राष्ट्रिय निकुन्जको गैंडा हुँ। पाको खाग चोरी भो। सहयोग गर्नुहुन्छ कि?’
‘एइई स्वाँठ, ब्यान-ब्यान जोक गर्छस््?’ आवाज कडा भो।
‘ठट्टा गरेको होइन?’ म झन् नम्र भएँ, ‘म साँच्चैको गैंडा हुँ।’
‘त्यसो भए गैंडाको आवाज सुना।’
म कराएँ।
‘अनि कता हुनुहुन्छ?’ फेरि आवाज नम्र भयो, ‘हजुर मेरै घरमा पाल्नुस्। भाउजुले पकाको खाना खानुस्। मेरी छोरीलाई पनि साक्षात् गैंडा हेर्ने रहर छ।’
‘हस्, तर म हजुर्को घर कसरी पत्ता लगाऊँ?’
‘चिन्ता नगर्नुस्, तपाइं अहिले कहाँ हुनुहुन्छ?’
काठमान्डुले ठेगाना भनिदियो।
‘एकछिन कुर्दै गर्नुस् है त!’ पसिनाजीवीको आवाज मेरोभन्दा नम्र भयो, ‘म एकैछिनमा ट्रक पठाइदिन्छु।’
हामी पिसिओबाहिर आयौं। एकछिन अक्मकिँदै काठमान्डुले भन्यो, ‘ल त गैंडादाइ, म गएँ। तिमी ह्याँ ट्रक कुर।’
मैले पचासको नोट दिएँ। लियो। एकदुई कदम हिँडेपछि काठमान्डुले हाँस्दै भन्यो, ‘यता खराब मान्छे धेर छन्। आपत पर्‍यो भने फोहरको थुपै्रथुप्रो भएको अँध्यारो ठाउँमा आएर बोलाउनू, म त्यतै हुन्छु।’
….
ठूलो भुँडी। राता गाला। चम्किलो तालु। दुवै कन्चटमा अलिकति रौं। तल कुर्ता र माथि बन्डीमा थिए – पसिनाजीवी। सोफामा उपरखुट्टी लाएर बसेका। मान्छे त हुनेखाने नै रैछन्। घर ठूलो थियो। बैठक कोठाको कुनामा भुस भरिएको नक्कली बाघले मलाई एकछिन तर्सायो। ठूलो गेट। गेटमा लेखिएको थियो – सावधान घरमा पाँचवटा कुकुर छन्। तर भित्र कुकुर रैनछन्।
‘हेर्नुस् भाइ, सबै फटाहा मात्रै छन्,’ पसिनाजीवी गम्भीर भए, ‘खाग खोज्न त गारै होलाजस्तो छ। तै म मेरो बर्कतले भ्याएको गरूँला।’
‘हजुर, मैले खुब आश गर्‍या छु,’ म मलिन भएँ, ‘खाग नभएर जंगलमा पाको इज्जत गयो। मलाई त आत्महत्या गर्नुहुन्छ कि भन्ने डर लागेको छ।’
‘गैंडाले पनि आत्महत्या…,’ उनी टक्क अडिए, ‘चिन्ता नगर्नुस् म छु। म डा. कर्मदास पसिनाजीवी हुन्जेल चिन्ता नगर्नुस्। एक पेग जिन लिनुहुन्छ?’
‘हजुर, म मदिरा लिन्नँ।’
‘कफी त लिनुहुन्छ होला नि?’ सुरिलो आवाज आयो, ‘मैले डेढ वर्षपछि कफी बनाकी हुँ, नाइँ नभन्नू।’
भत्ल्याक्क पेट निस्किएकी महिलाले कप मतिर बढाइन्। मैले लिएँ।
‘ऊ तपाईंकी भाउजु?’ पसिनाजीवीले भने, ‘यिनी गैंडालाई, माने तपाईंहरूलाई खुब प्रेम गर्छिन्। तपाईंहर्को बारेमा डकुमेन्ट्री बनाउने सोचमा पनि छिन्।’
मैले कपसहित नमस्ते गरेँ।
‘अनि बाबु,’ उनी पसिनाजीवीको छेउमा बसिन्, ‘ड्याडी-ममीलाई आरामै?’
‘यी भाइ बाउको खाग खोज्न आका हुन्,’ पसिनाजीवीले भने, ‘मैले सहयोग गर्ने बचन दिइसकेँ।’
‘चोरहरू, ह्वाट फ…,’ उनलाई रोक्दै पसिनाजीवी झर्किए, ‘तिम्लाई पनि दुनियाँथरी गाली आउँछन्।’
पसिनाजीवी र भाउजुले किचेनछेउको कोठा खाली गरिदिए। पलङ बाहिर झिके। र, भने, ‘तपार्इं थाक्नुभो होला, एकछिन आराम गर्नुस्।’
म रित्तो कोठामा पस्नै आँटेको थिएँ, चर्को आवाज आयो, ‘ओ माई गड, ओ माई गड, राइनो?’
मैले गेटतिर हेरेँ। जिन्स, टिसर्ट र उच्चअग्लो हिल लाएकी युवती दगुर्दै मतिर आइरहेकी थिइन्।
‘यै हो हाम्री छोरी, इस्टेस्कियानिप्रभा।’ पसिनाजीवीले हाँस्दै भने।
म हाँसेँ।
‘वन मिनेट है, राइनो,’ बडो अप्ठ्यारो नाम भएकी उनी घरभित्र दगुरिन्। फर्कंदा उनको हातमा भिडियो क्यामेरा थियो।
‘डु समथिङ, राइनो।’
म वाल्ल।
‘केही हर्कत गर्नुस् भनेकी हुन्,’ पसिनाजीवीले भने। आखिर म एकघन्टा उफ्रिएँ। दगुरेँ। कफी पिएँ। उनले सबै खिचिन्। र, सन्तुष्ट हुँदै भनिन्, ‘थ्याङ्स, गड सेक! अब यो भिडियो युटुबमा हिट हुन्छ। आई थिङ्क वान लाख हिटिङ।’

भोलिपल्टै मलाई याक एन्ड यतिको फेसन सोमा जानुपर्ने भो। अप्ठ्यारो नामले भनिन्, ‘केही गर न नु, पड्डैन, जस्ट हिरे हुनछ।’
‘पाको खाग।’
‘चिन्ता नगर्नुस्,’ पसिनाजीवीले मेरो कुम थुमथुमाए, ‘म आज मन्त्रालयतिर जान्छु। बुझेर आउँछु – कतै खाग समाछन् कि?’
म अप्ठ्यारो नामका पछि लागेँ। झिलिमिली बत्ती, चर्को आवाज र छजना सुन्दरीका बीचमा म हिँडेँ। सिटी बज्यो। ताली बज्यो। सो सकिएपछि, सयांै युवती मेरा अघिल्तिर लाइन लागे। ‘प्लिज राइनो, अटो ग्राफ।’ सबैले सय-सयका नोट अगाडि बढाए।
म वाल्ल परेँ।
‘यस्समा, नाम लेखनु,’ अप्ठ्यारो नामले भनिन्, ‘यसमा तिमरो फफोटा छ।’
ए, त्यसो पो! मैले कम्तीमा सयवटा नोटमा नाम लेखेँ। फर्कंदै गर्दा मैले थाहा पाएँ – मलाई हेर्न आउनेको भीड थाम्न नसकेर पुलिसले लाठी चार्ज गरेछ। भोलिपल्टदेखि त जताततै मेरै फोटा। म जहाँ गएपनि भीड। मलाई विज्ञापन खेल्ने प्रस्ताव आयो। लेखा भाउजुले हेर्ने भइन्। जताततै होर्डिङ बोर्ड झुन्डिए –
गैंडा किन कुल छ?… गैंडाले लगाउँछ… चमेरो छाप तेल
स्नो… गैंडाले पनि पिउँछ
गैंडाको चाहना… आकाश गंगा चुरोट
सेक्सी गैंडा… वान नाइट फरफ्युम
कन्डमको विज्ञापन खेल्न लाज लाग्यो, मैले मानिनँ। लेखेरै ल्याकाथे, ‘गंैडाझैं शक्तिशाली… कन्डम।’
छ महिना बितेछ। मैले सिगरेट पिउन सिकेँ। बियर हुँदै ब्ल्याक लेबलसम्म पिएँ। म जता गएपनि अटोग्राफ माग्नेकै भीड। जिब्रो टोक्नेकै भीड। एकदिन कुनै एम्बेसीको प्रोग्रामबाट फर्कंदै गर्दा अप्ठेरो नामले मातमा भनिन्, ‘यु नो राइनो, आई हेट बोइज, सबै सेल्पि्कस छन्, आई थिङ्क आ’म इन लभ…।’
उनले आफ्नो शिर मेरो चट्टानजस्तो छातीमा राखिन्, ‘डु यु लभ मी?’
एउटा चिसो झिल्का मेरो पैतालादेखि तालुसम्म पुग्यो। मेरो वक फुटेन। घर फर्केर छतमा उत्तानो परेँ। चन्द्रमा हिँडिरहेको थियो। मलाई एकछिन लाग्यो, म काठमान्डुमा होइन, बर्दिया राष्ट्रिय निकुन्जमा छु।
मातले पनि हो कि मुकुटविहीन पाको खुब याद आयो। आँसु तप्प तप्कियो। म जीवनमा दोस्रोपल्ट रोएँ। मलाई जोडले चिच्याउन मन लाग्यो, ‘पा… मलाई माफ गर्नुस्।’
म तल झरेँ। अप्ठ्यारो नाम रोइरहेकी थिइन्, पसिनाजीवीको छातीमा टाउको राखेर। मलाई देख्नेबित्तिकै उनले राता आँखाले हेरे, ‘के भन्यौ, मेरी छोरीलाई?’
म बोलिनँ।
‘तिम्ले हातपात गर्न खोजेको?’
‘मलाई सहरको रमझम पुग्यो,’ मैले ठूलो स्वरमा भनेँ, ‘खोइ, पाको खाग खोज्देको? तपार्इंको ल्याकतले भएन। म आफैं खोज्छु।’
‘खोजिस् खाग!’ पसिनाजीवी थररर काँपे, ‘युरोप पुगिसक्यो होला, तेरा बा अब बुच्चै हुन्छन्। खोज… इस् भेट्छस्!’
म ड्याम्म ढोका धेकेलेर बाहिर निस्किएँ।
‘के भो?’ भाउजुको आवाज आयो।
‘गैंडाले आफ्नो हैसियत देखायो। त्यसलाई सहर पचेन।’ पसिनाजीवीले मसिनो आवाजमा भने, ‘फेरि यस्तो नगरूँ भनेको, भोलि नै यस्को पनि खाग लुट्छु।’
मेरो ज्यान थररर काँप्यो। मैले सुस्त गेट खोलँे र बाहिर निस्किएँ। अनि, बेस्मारी कुदेँ। मेरो आवाज सुनेर होला, काठमान्डु फोहरको थुप्रोछेउबाट बाहिर आयो। झन् दुबलाएछ। ट्वाल्ल परेर हेर्‍यो र भन्यो, ‘दाइ, तिमी त सहरमै हराएछौ, बल्ल होस आयो?’
मेरा ओठ काँपे।
काठमान्डुले मेरो हात समाउँदै अँध्यारो कुनातिर तान्यो, जसरी पहिलोपल्ट भेट हँुदा तानेको थियो।
‘थाकेछौ, आज सुत,’ काठमान्डुले पेटीमा ढल्कँदै भन्यो, ‘भोलि कुरा गरम्ला।’
….

साँझ पर्न थालिसकेको थियो। ट्रकले निकुन्जमा प्रवेश गर्‍यो। अबेरपछि, बीचसडकमा साँल्दाइ देखिए। ट्रक टक्क अडियो। म सुत्त झरेँ। साँल्दाइले बाटो छाडिदिए। ट्रक गयो। साँल्दाइलाई देखेर मलाई रोऊँ-रोऊँ लाग्यो।
‘गैंडु, तँ आइस् कि भनेर म सधैं ट्रकलाई यसरी रोक्थेँ,’ साँल्दाइले मलिन आवाजमा भने, ‘मुकुट ल्याइस्?’
म चुपचाप हिँडिरहेँ। मेरो दिमागमा त्यही चिठी झलझली आइरहेको थियो, जुन चिठी मैले काठमान्डुको सिरानमा दुई हजारसहित राखिदिएको थिएँ –

प्रिय काठमान्डु,
म ठस्स गनाउँदै पाको खाग खोज्न काठमान्डु आएको थिएँ। तर, सहरको रमझममा मैले पाको खाग र जंगलको सौन्दर्य बिर्सिएँ। पसिनाजीवी स्वयं खागतस्कर रहेछन्। जंगलमा त हरेक जनावरको काम र कर्म छुट्टिन्छ तर मान्छेको त एकदमै रहस्य भरिएको हुँदो रैछ। पाले त केवल खाग गुमाउनुभो, त्यो देखिन्छ तर मान्छेले इमान गुमाएको त देखिँदो रैनछ। मलाई लाग्थ्यो – इमान भनेको मान्छेको मुकुट हो। तर, यो जति गुमायो, मान्छे त्यति असल देखिँदो रैछ।
असल मानिसभन्दा त मलाई मेरै बुच्चै पा ठिक लाग्यो।
गुडबाई काठमान्डु!

Gainda Times
(श्रोत :-  नागरिक दैनिक – २६ अपि्रल २०१० )
Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : जमुनाको रूख

~बुद्धिसागर~

डिल्ली र म हाफटाइममा पिसाब फेर्ने बहानाले स्कुलबाहिर निस्कियौं र दगुर्‍यौं । अल्लि पर पुगेपछि हिँडयौं । हामी सकेसम्म ढिलो हिँडेर कटासे पुग्यौं । मैले स्कुलबाट भाग्न थालेदेखि नै यस्तो कला सिकेको हुँ । स्कुलबाट चाँडै भाग्यो, ढिलो हिँडयो र स्कुल बिदा हुने-हुने बेला कटासे पुग्यो । तर, कहिलेकाहीँ झुक्किएर चाँडै पनि हिँड्थेँ ।

बाले हाम्लाई देख्नुभो र कराउनुभो, ‘फेरि स्कुलबाट भागेर आइस् ?’

‘स्कुल बिदा भो,’ मैले ढाँटेँ ।

डिल्लीले पनि मुन्टो हल्लायो । त्यसपछि बाले अरू केही सोध्नुभएन । अनि, एकछिनमा ‘चिया खान जा’ भन्नुभो । हाम्रो मेडिकलभन्दा अल्लि पर चियादोकान थियो । त्यहाँबाट मेडिकलमा चिया आउँथ्यो । म डाक्टरको छोरा हुँ भन्ने चिनेकाले जानेबित्तिकै चिया पाउरोटी दिन्थे । कहिलेकाहीँ स्कुलबाट भाग्दै कटासे पुगेर चियापसलमा सुटुक्क चिया पिएर म मटेरा फर्किन्थेँ । बाले थाहै पाउनुहुन्नथ्यो ।

डिल्ली र म चियापसल पुग्यौं । मज्जाले चियापाउरोटी खायौ । मटेरामा पाउरोटी पाइँदैनथ्यो । त्यसैले डिल्ली पाउरोटी खान पाउँदा रमाइरहेको थियो । चिया सकेर एकपल्ट बजार फन्का लगायांै । बजार फन्का लगाएर थाकेपछि डिल्लीले भन्यो, ‘स्कुलबाट भागेको थाहा पाए त बाले भकुर्छन् ।’

मैले पनि आमाको थप्पड सम्झेँ ।

‘अब ह्याँबाट जाम्,’ डिल्लीले भन्यो, ‘वनमा कुरेर बसांैला । स्कुल छुट्टी हुने बेला घर पुगौंला ।’

मलाई कुरा ठीक लाग्यो ।

‘दोकानमा जाम्,’ मैले भनेँ, ‘बाले ठन्डा बरफ खाने पैसा दिनुहुन्छ, अनि ठन्डा बरफ खाँदै फर्कौंला ।’

ठन्ठा बरफ सुन्नेबित्तिकै डिल्ली पनि उत्साहित भयो ।

हामी मेडिकल फक्यौर्ं । बिरामीको चाप बढेकाले होला, बाको मुड ठीक थिएन । बिरालोले दूध माग्न मायालु अनुहारले जसरी हेर्छ, त्यसरी मैले बालाई हेरिरहेँ तर बाले मेरो मायालु अनुहार देख्नुभएन ।

तर, बिरामीका बीचबाट भन्नुभो, ‘आज फेरि स्वाट्ट नगएस् ।’

भनेपछि, बाले मलाई आफूसँगै लैजाने सुर गर्नुभो । बाको कुरा सुनेर डिल्लीले अनुहार अँध्यारो बनायो । साँझ बासित जाँदा उसका बाले थाहा पाइहाल्छन्, कटासे पुगेको थियो भनेर ।

उसले इसाराले भागौं भन्यो ।

‘तँ पुलमा गएर कुर्दै गर,’ मैले भनेँ, ‘म ठन्डा बरफ खाने पैसा लिएर आउँछु ।’

डिल्ली खिस्स हाँस्दै एक दुई कदम सर्दै मेडिकलबाट छेलियो । बाका अगाडि उभिँदै मैले मुख फोरेँ, ‘बा, पैसा दिनु ।’

‘किन चाहियो ?’

‘ठन्ठा बरफ खाने ।’

‘आज खानुपर्दैन ठन्डा बरफ,’ बाले झिजो मान्दै भन्नुभो, ‘जैले नि स्कुलबाट भागेर आउँछस् । आज पनि आइस्, हैन ? आज दिन्नँ ।’

ए, आज बा रिसाउनुभा रैछ । म एकछिन मेडिकलबाहिर उभिरहेँ । जब बा भित्री कोठामा पस्नुभो, म फुत्त निस्केँ । जोडले दगुरेँ ।

पुलछेउ टन्नै मान्छेहरू ओहोरदोहोर गरिरहेका थिए । रेडियो दोकानबाट ठूल्ठूलो आवाजमा हिन्दी गीत बजिरहेको थियो । पुलको ठयाक्कै अगाडिपट्टकिो मिठाई पसलमा जेरीको खात लागेको थियो । एउटा भुँडेले जेरी रसमा डुबाउँदै निकालिरहेको थियो । जेरी देखेर मन रसिलो भएर आयो । त्यही छेउमा डिल्ली उभेर कुरिरहेको थियो ।

‘पैसा ल्याइस् ?’ उसले भन्यो, ‘ठन्डा बरफ होइन, जेरी खाम् ।’

‘बाले दिनुभएन । रिसाउनुभा छ ।’

ऊ निराश भो ।

हामी पुलमा उभेका मान्छेलाई छल्दै अमौरीखोला तर्न थाल्यौं । गर्मी भएर होला, अमौरीखोलामा मान्छेहरू डुबुल्की लाइरहेका थिए । किनारमा धोबीहरू कपडालाई आकाशतिर उठाउँदै ठूलो ढुंगामा पछारिरहेका थिए । होहल्ला थियो ।

साढे दुई बजेको थियो, होला ।

हामी वारि आयांै । आकाशमा एकदुई टुक्रा काला बादल थिए । लडिया हिँड्दाहिँड्दा बाटोको दुई छेउमा गहिरा लिक बनेका थिए । हामी लिकको बीचबाट हिँडिरहेका थियौं । हामी जब जंगलभित्र पस्यौं, बोल्न छाडयौं । किनभने, चारैतिर बाँदरैबाँदर थिए । बाँदरतिर नहेरी हिँडिरह्यौं ।

जब बाँदर छुटे । हामी दगुर्‍यौ । दगुर्दा-दगुर्दै जंगलको बीचतिर पुगिसकेका थियांै, डिल्ली करायो, ‘वाह, जमुना रैछन्, खानुपर्‍यो ।’

बाटोको छेउमै सानो कदको जमुनाको रूख थियो । जो बटुवालाई दर्शन गरेझैं बाटोतिर झुकेको थियो । छेउछाउमा ठूल्ठूला सालका रूख थिए । सालको बीचमा त्यै मात्रै जमुनाको रूख थियो । रूखमुन्तिर दुईजना गाउँले आइमाई भुइँमा खसेको जमुना टिपिरहेका थिए ।

‘जमुना छन् रूखमा ?’ डिल्लीले कम्मरमा हात राख्दै आइमाईलाई सोध्यो ।

‘छन् छन,’ एउटीले रूखका हाँगातिर हेर्दै भनिन्, ‘भुइँमै त कत्ति खसेका छन् । हाँगैभरि छन् ।’

हुन पनि, जमुनाको सिजन भर्खरै आएको थियो । बटुवाले यो रूखतिर ध्यानै दिएका रैनछन् । हाँगाभरि कमिलाको टाउकोको रंगका जमुना झुन्डिएका थिए ।

‘ल म रूख चढ्छु है त !’ डिल्लीले जाँगे कस्यो, ‘एउटा हाँगा घरमा लैजानुपर्छ ।’

म पनि रूखको अग्लाइ खासै नदेखेर रूख चढ्न कस्सिएँ । मलाई पनि टन्नै जमुना भरिएको हाँगा घर लैजाने रहर पलायो । खोइ किन हो, गाउँलेहरू टिपेर सँगालेको जमुनाभन्दा हाँगैसितको जमुना खाना मन पराउँथे । सहरमा झुप्पाबाट अँगुर टिपेर खाएजस्तो ।

‘रूख नचढ, भुइँकै खाऊ,’ आइमाईहरूले सम्झाए, ‘जमुनाको हाँगा कच्चा हुन्छ, भाँच्चेर खस्लाउ ।’

‘भुइँमा जमुना हैन, बाख्राको गु हुन्छ,’ डिल्ली करायो, ‘गु खाइँदैन ।’

डिल्ली चप्पल रूखको फेदमा राखेर रूखमा छेपारोझैं चप्कियो र बाँदरझैं खरर्र उक्लियो । मैले पनि ठसठस कन्दै डिल्लीलाई पछयाएँ । जमुनाका रूख सालका रूखजस्ता सलक्क परेका हुँदैनथे । समात्नलाई जताततै ससाना हाँगा हुन्थे, त्यसैले म सजिलै चढेँ ।

रूखका तीन तला थिए । भनेको तिनटा हाँगा थिए, ठूल्ठूला । र, जमुनाका झुप्पा तेस्रो हाँगामाथि थिए । डिल्लीले पहिलो हाँगातिर हात तन्कायो, समायो र सर्कस देखाएझैं माथिको हाँगामा स्वात्त उक्लियो । झलक्क हेर्दा डिल्लीलाई जमुनाको हाँगाले हात समाउँदै माथि तानेजस्तै देखियो । म भने रूखको पेट समाउँदै दोस्रो हाँगा उक्लेँ । तेस्रो हाँगा उक्लिनलाई माथिको हाँगै समाएर झुन्डिएर माथि जानुपर्ने थियो, अर्को बाटो थिएन । डिल्ली बाँदरझैं हाँगा समाएर एकछिन झुन्डियो र स्वात्त हाँगामा सर्पझैं बटारियो । लौ, ऊ त जमुनैजमुनाको बीचमा पुग्यो । ऊ जमुना टिप्दै खान थाल्यो ।

‘हामीलाई पनि हाँगा भाँचेर फाल है !’ तलबाट महिलाहरू कराए । डिल्ली मसिनो र धेरै जमुना फलेको हाँगा खोज्न थाल्यो ।

डिल्लीले जहाँनेर समाएर माथि चढेको थियो, त्यहीँनेरबाट उक्लिन मलाई गाह्रो लाग्यो । म हाँगाको अल्लि छेउतिर आएँ । च्याप्प समाएँ । बाँदरझैं तर्लुंग झुन्डिएँ ।

मलाई त्यतिसम्म होस छ ।

एक्कासि खोला तर्दा बालुवा भास्सिएजस्तो भयो । एउटा ठूलो झट्का मुटुमा पर्‍यो । हेर्नेलाई पो मान्छे स्वात्त भुइँमा खसेको लाग्छ । जब म खसेँ, मलाई त अर्कै लाग्यो । फिल्म हेर्न थालेपछि म त्यसको अझ राम्रो वर्णन गर्न सक्छु । फिल्ममा देखाउँछ नि, जब गाडी भीरबाट खस्छ, बिस्तारै सुस्त, आवाजहीन हावामा तैरिन्छ । र, पातझैं बिस्तारै खस्छ । हो, म पनि झरेको पातझैं एकदमै बिस्तारै खसेँ । अझ चराको प्वाँखझैं ।

म रूखको हाँगासहित तल झरेँ । मेरो दिमागले केही सोचेन । म भइरहेको कुरा सबै देखिरहेको थिएँ तर मनमा कत्ति डर थिएन । हाँगा ह्वात्त खस्दा एकपल्ट चिर्र, ‘आमोई’ भनेको मात्र सम्झना छ ।

म भुइँमा पछारिए, धडयाम्म ।

एउटा गाढा अँध्यारो आँखानेर आउँदा मैले आइमाईहरू चिच्याएको सुनेँ, ‘आम्मै, बाबु खस्यो ।’

एकदम गाढा अँध्यारो ।

lll

कोही दगुरिरहेको आवाजले म ब्युँझिएँ । आधा खुलेका आँखाले मैले सालको रूखको टुप्पो देखेँ । देखेँ- मेरो अनुहारमाथि टाँगिएका आइमाईहरूको अनुहार । अनि, देखेँ- पल्लो गाउँका अधबैंसे कामीदाइ । जो बेस्मारी दगुर्दै हामीतिर आइरहेका थिए ।

डिल्लीलाई कतै देखिनँ ।

भर्खरै जन्मेझैं म मधुरो गरी सबै देखिरहेको थिएँ तर राम्ररी महसुस गर्न सकिरहेको थिइनँ । ज्यान कताकता दुखेजस्तो भइरहेको थियो । कहाँनेर ? मैले पत्तो पाइनँ । मलाई यत्ति थाहा भो- आइमाईहरूले मलाई सालको रूखको छायामा राखेका रैछन् । पछयौराले हम्किरहेका थिए ।

कामीदाइ नजिक आए ।

‘बाबु खस्यो,’ एउटीले अत्तालिएर भनिन्, ‘पानी-पानी भनिरहेको छ । पानी ल्याउनुस् ।’

कामीदाइ अल्मलिए ।

‘खोला छेउमै त छ नि,’ अर्कीले भनिन् ।

मैले देखेँ- कामीदाइ बेस्मारी दगुरिरहेका थिए । उनले लगाएको लुंगी हुरीबीचको प्लास्टिकझैं हल्लिरहेको थियो ।

मेरा आँखा फेरि सालको रूखको टुप्पातिर पुगे । मेरो पेट भित्रभित्र कतै हुडुलिन थाल्यो । सालको रूखको टप्पो फनक्क घुम्यो र धर्तीतिर निहुरियो ।

अँध्यारो ।

अनुहारमा टपटप पानी परेपछि फेरि ब्युझिएँ । आँखा खोल्दा कामीदाइ मेरो अनुहारमा आफ्नो लुंगी निचोरिरहेका थिए । उनले खोलामा लुंगी भिजाएर ल्याएका रैछन् । मेरा कलेटी परेका ओठमा पनि उनले पानी चुहाइदिए । मैले मुख आँ गरेँ ।

मटेरामा तल्लो जातकाले छोएको पानी खाने चलन थिएन । हाम्रो घरमा पनि मनाही नै थियो । र, कामीदाइले छोएको पानीले अमृतको काम गर्‍यो ।

पानी खराब हुँदो रैनछ । पानी दिने नियत पो फरक हुँदो रैछ । असल नियतले दिएको पानी अमृत हुन्छ, खराब नियतले दिएको पानी बिष ।

कामीदाइ मेरा लागि अमृत ल्याउने भगवान् नै भए ।

‘नानी एक्लै रूख चढेका थे ?’ कामीदाइले सोधे ।

‘होइन,’ आइमाईहरूले भने, ‘साथी थ्यो, मान्छे बोलाउन गा छ ।’

‘बिचरा धन्नै मरेथे,’ कन्चट समाएर बसेकी एउटीले भनिन्, ‘छेउमै रूखको ठुटो थ्यो, जोगिएर खसे ।’

कुराकानी जारी थियो । आवाज मधुरो हुँदै गयो । कानमा कसैले रुई ठेलिरहेझैं । मैले सुन्न छाडेँ ।

अँध्यारो ।

होेस आउँदा मेरो ज्यान हल्लिरहेको थियो । मैले मान्छेको होहल्ला सुनेँ । आँखा उघारेँ । म कसैको काँधमा थिएँ । वरिपरि स्कुलबाट फर्केका विद्यार्थी थिए । मलाई कसले बोकिरहेको थियो, मैले थाह पाइनँ । तर, उसको घुच्चुकबाट आइरहेको पसिनाको अमिलो गन्ध मेरो नाकभित्र पसिरहेको थियो ।

मैले कर्के नजर लाएँ । विद्यार्थीको बीचमा डिल्ली पनि थियो, एकदम आतंकित । ऊ पुलुक-पुलुक मतिर हेरिरहेको थियो ।

‘होस आएजस्तो छ,’ कसैले भन्यो ।

मलाई अप्ठयारो लाग्यो । दायाँ गाला र कानको लोती टट्टाइरहेको थियो । खस्दा पुट्ठाले टेकेछु कि के हो, बेस्मारी दुखिरहेको थियो । केटाहरूले के-के सोध्लान् भन्ने लाग्यो । फेरि बेहोस भएझैं आँखा चिम्लेँ ।

केटाहरू मलाई बोकेर हुलमुलसहित गाउँ पसे । मलाई झन् अप्ठयारो लाग्यो । गाउँलेले रूख चढेकोमा पक्कै गाली गर्छन्जस्तो लाग्यो । बेहोस भएजस्तै गरिरहेँ । बेलोबला अलिअलि आँखा उघारेर हेथेर्ं, कहाँ पुगेँ भनेर ।

‘के भयो बाबुलाई ?’ कोही-कोही सोध्थे ।

‘रूखबाट खसेछन्, होसमै आएका छैनन्,’ कसैले जवाफ दिन्थ्यो ।

‘कठै, डाक्टरलाई के दशा आइलाग्यो ?’ गाउलेहरू चुक्चुकाउँथे ।

जब केटाहरू मेरो घरनजिक पुगे, मेरो मुटु बेस्मारी धड्किन थाल्यो । आमाले पक्कै चड्कन लगाउनुहुन्छ जस्तो लाग्यो । मैले अलिअलि उघारेका आँखा पनि बन्द गरेँ ।

मलाई बोक्नेले भुइँमा राखे ।

मैले दिदी बेस्मारी चिच्याएको आवाज सुनेँ । दिदी ‘आमा’ भन्दै कराइन् ।

‘के भो ?’ आमाको आत्तिएको आवाज आयो ।

‘रूखबाट खसेछन्,’ कसैले भन्यो ।

एकछिनपछि कसैको चिसो हात निधारमा सल्बलायो । पक्कै आमाको हात हुनुपर्छ । मैले आमाको रुन्चे आवाज सुनेँ, ‘कहिल्यै सुख देन यस्ले । स्कुल गाको मान्छे रूख चढ्ने हो त ?’

‘होसै आको छैन,’ कसैले भन्यो, ‘बीचमा दुईपल्ट होसमा आका थे रे । डिल्लीले भनेका । हाम्ले भेटेदेखि त होसमै आका छैनन् ।’

‘हनहनी ज्वरो आएजस्तो छ,’ आमाले भन्नुभो, ‘के दशा आइलाग्यो कुन्नि । खोइ त डिल्ली ?’

‘अघिसम्म त पछिपछि आका थे । घर गएजस्तो छ,’ मलाई बोक्नेले भन्यो ।

‘आमा कटासे लैजाम्,’ जेठी दिदीले भनिन् ।

‘लैजाने पर्‍यो के रे,’ आमाको आवाज झन् रुन्चे भयो, ‘कस्तो हिक्क-हिक्क गरेको छ ।’

lll

म आमाको पिठयुँमा थिएँ । आमाले मलाई पछयौराले बाँध्नुभएको थियो । दिदी आमा सँगसँगै लोटामा पानी बोकेर हिँडिरहेकी थिइन् । मैले दिदीको अनुहारमा हतासा देखेँ ।

घरमा दाइदिदी र बहिनी पनि सँगै जाने भनेर कचकच गरिरहेका थिएँ । तर, आमाले घर हेर्नुपर्छ भनेर आउन दिनुभएन ।

आमा छिट्छिटो हिँडिरहनुभएको थियो । जंगलको बाटो मान्छेहरू त्यति देखिएका थिएनन् । साँझ पनि ढल्किँदै थियो ।

‘आमा, कुन रूखबाट होला खसेको ?’ दिदीले सोधिन् ।

‘खै कुन हो कुन,’ आमाले सासले भन्नुभो, ‘खोइ, कुन रूखाँ यसको काल लुक्या थ्यो ।’

मलाई आमा र दिदीको छटपटी देखेर ब्युँझिएको बहाना गरौंजस्तो लाग्यो तर सकिनँ । म भित्रभित्रै गल्दै गइरहेको थिएँ । मलाई पूर्णरूपमा होस आइसकेको थियो । घरमै ब्युँझिएजस्तो गरेको भए आमालाई यत्ति दुख्ख त हुन्नथ्यो । बाले भोलि औषधि ल्याइदिनुहुन्थ्यो । तैपनि केले रोक्यो, कुन्नि ? मैले बेहोस भइरहेको बहाना बनाइरहेँ ।

बाटोमा म खसेको रूख पनि आइपुग्यो । मैले हेरेँ- रूखमुन्तिर रूखको डालो खसेको थियो । त्यै डालोसित म खसेको हुनुपर्छ । आमालाई सुनाउन मन लाग्यो- म खसेको रूख यै भनेर तर आवाज निकाल्न सकिनँ ।

म भित्रभित्रै आत्मग्लानिको आगोमा जलिरहेको थिएँ ।

आमा मलाई बोकेर अघिपछिभन्दा छिट्टै कटासे पुग्नुभयो । पुलमा मान्छेको भीड बढेको थियो । साँझपखको चिसो हावा खाना आएका होलान् । ती छक्क पर्दै आमातिर हेरिरहेका थिए ।

जब आमा पहिलो गल्लीमा पस्नुभो, मान्छेहरू चनाखो भए ।

‘आम्मै, के भो बाबुलाई ?’ पहिलो गल्लीकी चुरा पसले दिदीले सोधिन् ।

‘रूखबाट खसेछ,’ आमाले भन्नुभो ।

पसल्नी दिदी मेरो छेउ आइन् । मैले आँखा बन्द गरेँ ।

उनले एकछिन मलाई नियालिहोलिन् । र, भनिन्, ‘अघि त यतैबाट दगुर्दै गाका थे । बरा । लौ हेर, गाला सुन्निएर । बेहोसै छन् कि के हो !’

‘बेहोसै छ ।’

बजार पसेदेखि मेडिकल पुग्दासम्म आमालाई कत्तिले सोधे सोधे । मैले बेहोस भएको बहाना बनाइरहेँ । जब आमा मेडिकलनेर पुग्नुभो, मलाई साँच्चै बेहोसै हुँलाजस्तो लाग्यो ।

मैले अलिअलि उघे्रका आँखाले देखेँ- बा दोकान बन्द गर्न खोजिरहनुभएको थियो । झ्वास्स आमालाई देखेर झस्किनुभो । पिठयुँमा घाइते म थिएँ ।

‘के भो फेरि ?’ बा आत्तिनुभो ।

मैले आँखा बेस्मारी चिम्लेँ ।

‘रूखबाट खसेछ,’ आमाले खुइय्य सुस्केरा हाल्नुभो, ‘होसमै छैन ।’

‘अघि त यैं थ्यो,’ बाले भन्नुभो, ‘कतिखेर लुत्त हिँडेछ । यसले पनि हैरान पार्‍यो । काँ रूख चढ्न गएछ फेरि !’

आमाले उत्तर दिनु भएन ।

आमाले मलाई पलङमा सुताइदिनुभो । पिठयुँमा झुन्डिँदा-झुन्डिँदा मेरो पाखुरा र पुट्ठा टनटनी दुखिरहेको थियो, राहत भो । रूखबाट खस्दा सड्केर होला, भित्रभित्र करकर दुखिरहेको थियो, ज्यान ।

‘होसमै छैन ?’ बाले मेरो नाडी छाम्दै बोलाउनुभो, ‘बुद्धि, ए बुद्धि !’

मलाई उठेजस्तो गरिदिउँजस्तो लागेको थ्यो तर डरले आँटै गरिनँ । बाले मेरो निधार, छाती, नाडी सप्पै चेक गर्नुभो ।

‘सुई नलाई होलाजस्तो छैन,’ बाले भन्नुभो ।

सुई ? मेरो सातो गयो । म अर्कालाई सुई लाको त हेर्न नसक्ने मान्छे । साँच्चै मलाई होसमा आउँजस्तो लाग्यो । होसमा आए त सुई लाउनु पर्दैन होला नि । म बिस्तारै होसमा आएजस्तो गर्ने तयारीमा थिएँ । अलि ढिलो भएछ । बाले मलाई घोप्टो पार्नुभो । एकैछिनमा पुट्ठामा रातो कमिलाले चिलेजस्तो भो । ज्या, सुई त लाइसक्नुभएछ ।

‘अब एकछिनमा आउला होस,’ बाले भन्नुभो ।

एकछिन मेडिकलमा मौनता छायो ।

‘अकालमै मर्छ कि के हो ?’ आमाले निराश स्वरमा भन्नुभो ।

‘मर्दैन,’ बाले भन्नुभो, ‘जा, चिया ल्याउन भन् ।’

सायद, बाले दिदीलाई भन्नुभएको होला । हो रैछ, दिदीले मसिनो स्वरमा सोधिन्, ‘कतिवटा ?’

‘यो मरेको छैन,’ बाले झर्किंदै भन्नुभो, ‘तिनटा भन । ऐल्यै होसमा आइहाल्छ । च्या भन्यो कि मरिहत्ते गर्छ ।’

‘पाउरोटी पनि भनम् ?’ दिदीले फेरि सोधिन् ।

बा बोल्नुभएन । इसारा गर्नुभयो होला । सर्‍याक-सर्‍याक आवाज आयो, दिदी गएजस्तो छ । फेरि मेडिकलमा मौनता छायो ।

हत्तेरी, बा र आमालाई मैले त्यत्तिकै दुख्ख दिएँ । मेरो मुटु भुंग्रोमा डढेजस्तै दुखिरहेको थियो । मैले बेहोस भएको नौटंकी गर्नै नहुने । अब झन् बेहोस भएको नाटक गरेको थाहा पाउनुभयो भने त बाले घुच्चुकमै मुड्की हान्नुहुन्छ । मैले आँखा उघार्नै सकिनँ ।

‘यो त पढ्दा पनि पढ्दैन,’ आमाले भन्नुभो, ‘स्कुलबाट सुत्त भाग्छ । गतिलो संगत छैन । बुढेसकालमा यसैले दुख्ख दिन्छजस्तो छ ।’

बा बोल्नुभएन ।

एकछिनमै सर्‍याक-सर्‍याक हिँडेको आवाज आयो । दिदी रैछिन्, भनिन्, ‘पसले ले भ्याउन्न भने, मैले आफैं बोकेर ल्याएँ ।’

मेरो कानमा चियाको गिलास ठोक्किएको मधुरो आवाज आयो । मेरो मुख रसायो । अब त होसमा आउँ कि के हो ! सोचेँ, होस् सुई लाएरै होस् आए पनि अल्लि टाइम त

लाग्दो होला । तर पनि चिया चिसो होला भन्ने डर

लाइरह्यो ।

‘उता राख्दे बुद्धिको भाग,’ आमाले भन्नुभो ।

सुरुप-सुरुप चिया पिएको आवाज आयो । आमाले भन्नुभो, ‘यो पनि घरको चिया खान्न । बजारको भन्यो कि मरिहत्ते गर्छ । तपैंले बिगार्देको त हो नि बानी ।’

‘केटाकेटी हो । बजारकै चीज मीठो मान्छ,’ बाले मसिनो स्वरमा भन्नुभो, ‘अघि दिउँसो म रिसाएँ भनेर त भागे होला । रूख चढेछ । ठन्डा बरफ खान्छु भन्थ्यो । किन्ने पैसा देको भए, यतै बस्थ्यो । यस्तो त हुँदैनथ्यो ।’

ए, भनेपछि बा अब रिसाउनुभाको छैन । अब होसमा आए पनि गाली गर्नुहुन्न क्यारे । मन अल्लि हल्का भो । चिया पनि चिसो भो होला । अब त होसमा आउँ क्यारे ।

मैले अल्लि छट्पटाएजस्तो गरेँ । र, ऐया भन्दै आँखा उघारेँ ।

‘होसमा आएजस्तो छ,’ आमाको हतारिएको आवाज आयो ।

आमा मेरो सिरानछेउ आउनुभो । आमाको अनुहार मेरो अनुहारमाथि झुन्डियो । मैले काँ छु भनेजसरी हेरेँ । बा र दिदी कुर्सीमा बसेका थिए । हातमा चियाको गिलास थियो ।

‘बुद्धि भन् त,’ आमाले सोध्नुभो, ‘हामी काँ छम् ?’

मैले यताउता हेरेँ । एकछिन कन्फ्युज भएजस्तो गरेँ । बातिर हेर्न पनि सकिनँ । खित्त हाँस्छु कि जस्तो लागिरहेको थियो ।

मैले भनेँ, ‘खोइ, कहाँ छु म ?’

आमा मुसुक्क हाँस्नुभो, ‘तँ कटासे छस् । अघि रूखबाट खसेको थिस् । बल्ल होस आयो ।’

मैले मुन्टो हल्लाएँ ।

‘चिया खान्छस् ?’ दिदीले भनिन् ।

मैले मुन्टो हल्लाउँदै सोधेँ, ‘पाउरोटी छैन ?’

‘छ ।’

मैले चिया र पाउरोटी खाँदै बा र आमातिर हेरेँ । दुवैको अनुहार सन्तुष्ट थियो । मैले एक्कैछिनमा चिया सकेँ ।

बाले एकछिन मलाई प्रेमले हेरिरहनुभो र सोध्नुभो,

‘अर्को च्या खान्छस् ?’

(श्रोत :- कोशेली – कान्तिपुर – प्रकाशित मिति: २०६९ आश्विन २७ )

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : म मरिहाले सात लाख पाउँछेस्

~बुद्धिसागर~

०६१ साउन १३ गतेले मेरो जीवन नै फेरिदिएको छ। त्यो दिन सम्भि्कँदा म अझै थर्थरी काँप्छु। एउटा दिनले जीवनमा कति असर गर्छ? त्यो म सुनाउँछु-
मेरो नाम हो गोमा कार्की। म अहिले पच्चिस वर्षकी भएँ। मेरो एउटा छोरा छ। उसका बाले नाम सुमन राखेका थिए। अहिले उनी छैनन्। म शंखमुल खोलाछेउ बस्छु। कहिलेकाहीँ लाग्छ, मेरा आँखा पनि त्यै नदीझैं सुक्दै गएका छन्।

उनको नाम जीवन खड्का थियो। छोंटो जीवन लिएर आएका थिए। २७ वर्ष छोंटो उमेर होइन र? पहिलोपल्ट उनलाई मैले प्रकाशपुर-सुनसरीमा देखेकी थिएँ। त्यसबेला म एसएलसी पास भए पनि घरमै बस्थें। माइतीमा क्याम्पस पढाउने स्थिति थिएन। उनी फुपूको घर आएका थिए। मैले पछि थाहा पाएकी थिएँ, उनले आर्मीको जागिर छोडेका रहेछन्। उनका बा र दाइहरू सप्पै आर्मी रै’छन्।

भन्छन् नि, प्रेम त्यत्तिकै हुन्छ, भयो। उनले नै मलाई मन पराएका थिए। तर लभ त्यति चलेन। दुई महिनापछि उनले अचानक भनेका थिए, हिँड्, जाम्। तपाईलाई लाग्ला, म के/के बोकेर भागेकी थिएँ। सत्य भन्छु, एउटा म्याक्सीमा हिडेकी थिएँ। ब्याग बोक्यो भने घरमा थाहा पाउँदैनन् र?

उनी त विवाहित पो रहेछन्। तर श्रीमतीले छाडेर गएकी रै’छन्। उनी एक्ला थिए, मेरो साथ खोजिरहेका थिए। मैले साथ दिन खोज्नु के गल्ती थियो र?

०५६ फागुन ११ गते। दिउँसो चार बजे म सुटुक्क बसपार्क पुगें। उनले मलाई मोरङ पुर्‍याउँछु भनेका थिए। बसपार्क सानो थियो, अरूले चिन्ने डर पनि थियो। हामी बसपार्कमा अपरिचत भएर बस्यौं। कुरा केही भएन। म अगाडिको सिटमा बसें, उनी पछिल्लो सिटमा। म बेलाबेला पछाडि फर्किएर हेर्थें, उनी पनि मलाई नै हेरिरहेका हुन्थे। मन कस्तो चराझैं फुरूक्क भएको थियो।

राती आठ बजे उनले मलाई घर पुर्‍याए। बाटोमा केही बोलचाल भएन। शायद उनी केही सोंचिरहेका थिए। घरमा के भनुँ भनेर सोचिरहेका हुँदा हुन्। घरमा थिए, सासू-ससुरा र दुई नन्द। सबै मलाई देखेर अक्मक्किए। आखिर मैले त्यस घरको संघार टेके।

मोरङ, पचरको शिव मन्दिरमा उनले मेरो सिउँदो रंगाइदिए। त्यसबेला मेरो मुटु ढुक्क फुलेको थियो। मेरो विवाह पो भयो त, रोउँ रोउँ लाग्यो। आखिर बिहे त गर्नैपर्छ, मैले यस्तै सोंचे र मन बुझाएँ।

र, म विवाहित महिला भएँ।

****

०५७ मा छोरा जन्मियो। उनले नै नाम राखिदिए, सुमन। उनी खेतीपातीमै व्यस्त हुन्थे। सिजनअनुसारका तरकारी लगाउँथे। छोरो जन्मिएपछि हाम्रो जीवन रमाइलो भयो। न उनले कुनै सपना देखेका थिए, न मैले, त्यसैले हामी सुखी थियौं। सासू-सुसुरा र नन्दहरू पनि माया गर्थे। उनी दिनभर काम गर्थे र साँझपख गाउँ डुल्न हिंड्थे। सबैले राम्रै गर्थे, तर उनको प्रशंसा कतै सुनेकी थिइनँ। मरेपछि नै सप्पैले प्रशंसा गर्दा रै’छन्।

राती टिभीमा कता-कता बम पड्किएको, मान्छे मरेको समाचार हेर्दा म ठान्थें, यस्तो हामीलाई आइलाग्दैन। कता हो कता, मान्छे लडेका छन्, मरेका छन्। यी माओवादी भनेका को हुन्? कस्ता हुन्छन्? मलाई थाहा थिएन।

०५८ साल लागेपछि वनमा सल्केको डढेलो त हाम्रै घरसम्म आइपुग्यो। यसै वर्ष उनी ससुरासँग छुट्टिएका थिए। र, पनि सम्बन्ध राम्रै थियो। भदौ पहिलो हप्ता हो कि? एकदिन बेलुका पौने सात बजे, हामीले खाना खाइसकेका थियौं, भदौमा चाँडै रात पर्छ, त्यसैले।

त्यहीबेला उनीहरू आइपुगे। ढोका खुल्लै थियो। भित्रै सरासरी आए। ती चारजना थिए। एकजना त उनकी फुपूका ज्वाइ थिए। आउन त चिनेकै मान्छे आए। उनी एक वर्षअघि भूमिगत भएका थिए। मलाई थाहा थियो, उनी माओवादी हुन्।

ती असिनपसिन हुँदै साइकलमा आएका थिए। साइकल हाम्रै आँगनमा ठडिएका थिए। बन्दुक त देखिन, तर सप्पैले ब्याग बोकेका थिए। तिनको अनुहार उज्यालो भए पनि कपडा मैलिसकेका थिए।

कसैले पनि मसँग कुरा गरेनन्। उनलाई लिएर अर्को कोठामा गए, रातभर गुनगुन गरिरहे। म अर्को कोठामा अबेरसम्म बसिरहें। उनी बेला-बेला मेरो कोठामा आए पनि भन्दैनथे, के कुरा भइरहेको छ। उनी त्यो रात मकहाँ आएनन्, उनीहरूसँगै सुते। बिहान चार बजे, उनीहरू गए।

‘जाम् भनेका छन्। मलाई जंगल छिर्न मन छैन,’ उनीहरु गएपछि जीवनले मलिन आवाजमा भनेका थिए, ‘अब उनीहरूले मलाई छोड्दैनन्।’

उनीहरूले भनेका रै’छन्, ‘तपाई बन्दुक चलाउन जान्ने मान्छे, हामीसित जानुपर्छ।’

त्यसदिन उनी खुब छट्पटिएका थिए।

****

हामीलाई थाहा थियो नेपालको जुन कुनामा लुके पनि उनीहरूले भेट्टाउँछन्, छाड्दैनन्। कहाँ जालान् उनी?

एक हप्तापछि फेरि दुईजना केटा, दुईजना केटी साँझपख आएका थिए। एकदम थकित। एकदम भोकाएका। मैले खाना पकाइदिएँ। राती उनीसँग गुनगुन गरे, एकाबिहानै गए।

‘हामीसित आउने भए आउ,’ त्यसदिन उनीहरूले धम्काएका रहेछन्, ‘नत्र घरमा ताला लाइदिन्छौं, भाटा कारबाही गर्छौं, बुझ्यौ?’ त्यसै दिनदेखि म डराउन थालेकी थिएँ। भित्रभित्र लगलगी काँप्थें।

त्यो ०५९ साल थियो। हामीले धान काटिसकेका थियौं। धम्की दिनेहरू साइकलमा त्रास बोकेर आइपुग्थे। कतै बेपत्ता पार्छन् कि? कतै मारिदिन्छन् कि? म एकदम काँतर भइसकेकी थिएँ। तर, ‘म यसरी डराइरहेकी छु’ भनेर उनलाई भनिन।

‘म अब भारत भाग्छु,’ एकदिन उनैले भने, ‘बस्न दिन्नन्।’

****

भोलिपल्टै बिहान पाँच बजे उनी सुटुक्क हिंडे। त्यति बिहान त छाया पनि साथमा थिएन। हिंड्नेबेला उनले भनेका थिए, ‘हेर, म सबै साम्य भएपछि आउँछु, ख्याल राख्नू।’

उनी गएपछि म एक्लै हुनेछु, मलाई थाहा थियो। तैपनि मैले नजाउ भनिन। उनी गएको रात नरमाइलो लाग्यो। बित्थामा पठाइछु भनेर मुटु कट्कटी दुखिरह्यो।

आखिर एक्लै बस्नू लेख्या रै’छ।

उनी गएपछि सासू-ससुरा पनि इटहरी बसाइ सर्नु भयो। म झन् एक्ली भएँ।

उनी एक महिना कता हराए कता? पृथ्वीको कुन कुनामा छन्, मलाई के थाहा? एकदिन पिसिओको भाइले खबर गर्‍यो। आधा घन्टा हिंडेर म पिसिओ पुगें। म म्याक्सीकै भरमा हर्षले हिंडेकी थिएँ। उनी दिल्ली पुगेका रै’छन्।

फोनमा उनले सोधे, ‘मान्छे आ’छन् कि छैनन्?’

मैले त्यही कुरा सुनाइदिएँ- एकदिन छजना मानिस आएका थिए। तिनले ढोकाबाट सोधेका थिए, ‘जीवनजी हुनुहुन्छ?’

‘बाहिर जानु भा’छ।’

‘कहाँ?’

‘नेपाल छोड्नू भा’छ,’ मैले भनेकी थिएँ, ‘कहाँ हुनुहुन्छ, था’ छैन।’ त्यसपछि उनीहरू आउन छाडे। मेरो हंस मैसित थियो।

उनले महिना-महिना चिठी लेख्न थालेका थिए।

****

अचानक एकदिन उनी घर आइपुगे। त्यो ०६० चैतको उराठलाग्दो दिन थियो। राती नौ बजे म सुतिसकेकी थिएँ। उनले ढोका ढक्ढकाउँदै बोलाए- ‘गोमा…।’

मैले निद्राले लठ्ठिएका आँखाले हेर्दा उनी उस्तै थिए, जस्तो गएका थिए। गाला अलिकति पुक्क भएछन्। पिठ्यूँमा सानो झोला थियो। त्यसभित्र केवल उनका पुराना लुगा थिए।

‘साउसित झगडा पर्‍यो,’ उनले भनेका थिए, ‘सप्पै छाडेर आएँ।’ त्यसबेला युद्धविराम भएको थियो। त्यही सुनेर उनी घरतिर हुर्रिएछन्।

‘किन आ’को?,’ मलाई त्यसै डर लागेको थियो।

‘विस्तारै साम्य हुन्छ,’ थकित उनले भनेका थिए, ‘त्यतिञ्जेल लुकेर बस्छु।’

उनी यस्तरी लुक्न थालेका थिए, घरबाटै बाहिर निस्किदैनथे। काखे छोरासित खेलेर बस्थे। उनी घरमा छन्, कसैलाई थाहा थिएन।

तर एउटा मान्छे कहिलेसम्म लुक्नसक्छ र?

****

०६१, वैशाखको पहिलो हप्ता। सात बजेको थियो। म खाना पकाउने सुरसारमा थिएँ। उनी छोरासित खेल्दै थिए।

आँगनमा केही पद्चाप सुनिन थाले। तिनजना केटाहरू आएका थिए। ब्याग बोकेका। उनलाई बाहिरै बोलाए। उनी धर्मराउँदै गए। मैले सुनें, उनीहरू सोधिरहेका थिए, ‘कहिले आउनुभो?’ उनीहरूले फेरि रातभर गुनगुन गरे। हाम्रै घरमा सुते र बिहान गए। म त्यसबेला नजिकैको बोर्डिङ स्कुलमा पढाउँथें। पढाउन गएँ। म हिंड्दा उनी पिंढीमै बसिरहेका थिए, एकदम थकित।

जब म घर फर्किएँ, उनी थिएनन्। यताउता खोजें, कतै भेटिएनन्। कतै गा’होलान्, सोंचेर कुरिरहें। साँझ पनि आइपुगेनन्। छिमेकीहरूलाई सोध्न गएँ। ‘तीन/चारजना मानिस आ’का थे,’ उनीहरूले भने, ‘लिएर गए।’ कता लगे? मेरा गोडा लगलगी काँप्न थाले। उनी हराए।

पन्ध्र दिनपछि उनको फोन आयो। उनी त माओवादीसित जंगल छिरेछन्। उनले भने, ‘म सुनसरीमा छु।’ मलाई रोउँरोउँ लाग्यो। म केही बोल्न सकिनँ।

‘चिन्ता नलेउ। मलाई केही भएको छैन,’ उनले सान्त्वना दिए, ‘राम्ररी बस।’ बितेको दुई महिनामा उनलाई ट्रेनिङ पनि दिएछन्। उनको आवाज त्यसैले थकित र मधुरो थियो। जे भए पनि जिउँदै छन्, मेरो मन शान्त भयो।

जेठको दोस्रो हप्ता फेरि उनले फोन गरे। त्यसदिन उनी आत्तिएका थिए। ‘म चत्रामै छु।’ उनी किन यत्ति हतास? उनले भने, ‘दाइहरूलाई भन्दे, म घेराभित्र छु, निकाल भनेर।’

मैले उनका दाजु पवन खड्कालाई भेटें। उनी इटहरी ब्यारेकमा थिए र सुनाएँ- तपाईका भाइले यस्तो भनेका छन्।

‘ठीक छ। म ल्याउँछु,’ उनले यत्ति भने, ‘उसलाई मेरो मोबाइल नम्बर देउ।’

मैले उनलाई त्यही नम्बर टिपाइदिएँ, जुन उनका दाजुले दिएका थिए। त्यसपछि के भयो, मलाई थाहा छैन। उनले फेरि फोन गरेनन्।

केही दिनपछि म सासू-ससुरा भेट्न इटहरी आएँ। इटहरी आएकै दिन थाहा पाएँ, उनी त ब्यारेकमा छन्। सासूले भन्नुभयो, ‘यतै छ त।’

म ब्यारेक पुग्दा उनी ठीकठाक थिए। उनले सुनाए, ‘ह्याँ खानबस्न राम्रै छ। डर छैन।’ उनलाई अरू आर्मीझैं राखेका रै’छन्। जागिर छाडिसकेका भए पनि ‘ड्युटी’ बस्दा रै’छन्। ‘यसले माओवादीका गुप्त स्थान देखेको छ’ भन्दै गस्तीमा सँगै लैजाँदा रै’छन्।

उनको कुरा सुनेर मलाई चिसो भयो। यो त गतिलो लक्षण होइन। मैले भनें, ‘जाँ पायो त्यैं नजानू।’ उनले मेरो कुरा सुनेनन्।

‘मसित अरू आर्मी पनि त हुन्छन्, मलाई क्यै हुन्न,’ उनी बर्बराए, ‘म मरिहालें भने पनि सात लाख पाउँछेस्।’

८८८

असार लागिसकेको थियो। रातदिन पानी दर्किन्थ्यो। खेती सिध्याएर म माइती बस्न थालें। एक्लै बस्न डर लाग्थ्यो। म हप्ता-पन्ध्र दिनमा उनलाई भेट्न इटहरी गइरहन्थें।

०६१ साउन १२ गते। साँझपख उनी झल्याँस्स आइपुगे। उनलाई देखेर म अत्तालिएँ। किन आ’का होलान्? गाउँमा अझै खतरा छ। आमाले ‘ज्वाइ आउनु भो, काँक्रा काट्नू’ भन्नुभयो। उनी त ‘स्वास्नी बिरामी छ’ भनेर हिंडेका रै’छन्। मैले अत्तालिंदै सोधें, ‘किन आ’को?’

तर्सिन त उनी पनि तर्सिएका थिए, तैपनि भने, ‘आइहालें। बिहानै जान्छु।’ त्रासमा रात बित्यो।

‘बिहान जान्छु’ भनेका मान्छे त ‘खाना खाएर जान्छु’ भन्न थाले। ‘ठीकै छ नि खाना खाएर गए भो,’ मैले यस्तै सोचें, शायद गल्ती यहीँनेर भयो।

बिहान घरका सप्पै रोपाइँ गर्न हिंडेका थिए। घरमा उनी र ममात्र थियौं। म हतारहतार खाना बनाउँदै थिएँ। उनी छोरासँग खेलिरहेका थिए। गाउँकै एउटा केटो आएर सोध्यो, ‘दिदी, भिनाजू हुनुहुन्छ?’

‘हुनुहुन्छ,’ मैले भनिदिएँ। ऊ दगुरेर गयो। मलाई के था’ ऊ त सिआइडी गर्न आएको पो रै’छ। एकैछिन आँगनमा चारजना मानिस आइहाले। ती साइकलमा हुर्रिदै आएका थिए। एकजना त उनकै भिनाजू थिए। भिनाजूलाई देख्नेबित्तिकै उनको अनुहार कालो-निलो भयो। डर कस्तो हुन्छ, मैले त्यही दिन देखेकी थिएँ।

‘पर्तिर जाउँ,’ भिनाजूले भने, ‘अलिकति काम छ।’

‘टाउको दुख्या छ,’ उनी थर्थरी काँपे, आवाज पनि काँप्यो, ‘बिरामी छु।’

‘बरू, म औषधि किन्दिम्ला,’ भिनाजूले हात ताने, ‘हिंड्, आधा घन्टा त हो नी।’

‘नलानू के,’ मेरा हातगोडा लगलगी काँपे। उनीहरू लैजानलाई आएका थिए, लगेरै छाडे। बीचको साइकलपछाडि क्यारियरमा राखेर उनीहरू गए।

मेरो मन बुझाउने बाटो यत्ति थियो- लैजान त भिनाजूले नै लगेका हुन्। मारी त के हाल्लान् र?

****

आखिर भोलिपल्टै रेडियो र एफएमले यस्तो समाचार फुक्न थालेछन्- एउटा बेवारिसे लाश फेला परेको छ।

छोरीको घरबाट फर्किरहेका गाउँका दाइ रामप्रसादले पनि यस्तै खबर ल्याए। नालपुरको चौतारोमा उनले गुजुप्प परेको भिड देखेछन्। के छ त्यहाँ? उनी भिडभित्र छिरेछन्। त्यहाँ त एउटा मान्छेको लाश उत्तानो परेको पो रै’छ। अनुहार त रगतले छुलुप्पै थियो रे, नचिनिने। उनले ससुरालाई भनेछन्, ‘कपडाले जीवन नै हो कि जस्तो लाग्यो।’

आर्मीले नै प्रमाणित गरिदिएका थिए- उनी जीवन नै हुन्।

मैले खबर त्यतिबेला पाएँ, जतिबेला उनको पोष्टमार्टम गरेर दाहसंस्कारका लागि लगिसकेछन्। म ब्यारेक पुग्दा सप्पै घाट गएका थिए। मेरो संसार भननन् रिङग्यो। म घाट जान खोजें। आर्मीले जान दिएनन्। मेरोअगाडि अँध्यारो बादल मडारिंदै आयो।

पछि पो थाहा पाएँ, म त त्यहीँ बेहोस भएर ढलेछु। अरूले नै मलाई घर पुर्‍याएछन्। जब बेलुका म झल्याँस्स ब्युँझिएँ, मेरो सिन्दुर पखालिएको थियो। हातमा चुरा थिएनन्।

म विधवा भइसकेकी थिएँ। जोसँग केवल सुस्केरा हुन्छन्।

****

…अनि म बहुलाजस्तै भएँ। किनभने मेरो दिमागले काम गर्न छोडिसकेको थियो। मलाई लाग्थ्यो, उनी मरेका छैनन्। मैले उनको लाश देखे पो? झल्याँस्स… झल्याँस्स उनी आइपुग्छन् कि जस्तो लाग्थ्यो। म सोच्थें- उनी कतै घुम्न गएका छन्, फर्किन्छन्। झोला भुइँमा राखेर पिंढीमा थकाइ मार्छन्।

तीन वर्षको छोरो कता छ, के गर्देछ, मतलब थिएन। म आफू पनि के गर्थें, थाहा थिएन। जीवनमा यस्तो पनि हुँदोरै’छ। पछि अरूले भनेका थिए- म उनलाई खोज्न जान्थें। कहिले कता, कहिले कता।

बाटोमा कोही भेटियो भने, म सोध्थें, ‘जीवनलाई चिन्या छौ? कतै देख्या छौ?’

म पटक-पटक ब्यारेक जान्थे। बाहिर उभिएको आर्मीलाई भन्थे, ‘जीवनलाई बोलाई देऊ त।’

आर्मी भन्थ्यो, ‘ड्युटीमा गा’छ।’

‘कहिले फर्कन्छ?’

त्यसपछि ऊ बोल्दैन्थ्यो। दुई महिना लगातार धाएपछि उनको रूममेट आर्मीले भनिदियो, ‘ऊ मरिसक्यो, आउँदैन।’ मलाई अझै पत्यार लागेन। र, पनि त्यहाँ जान छोडिदिएँ।

अनि एकदिन मैले घर छाडें, माइती फर्किएँ, प्रकाशपुर। उनी नहुनुमा मेरो केही दोष थियो त? सासू-ससुराले त मलाई नै दोष दिए। पत्याउनुहुन्छ, मैले छोएको पनि खान छाडे। ‘तैंले गर्दा मेरो छोरो गयो।’ उनीहरू भन्थे, ‘तँलाई भेट्न गएर त यस्तो भयो। तँ अलच्छिना।’

माइती बस्न थालेपछि बल्ल म होशमा आएँ, ठूलो निद्राबाट ब्युँझिएजस्तो। पछि भाइ आयो र काठमाडौं ल्यायो। काठमाडौं आएपछि मैले बल्ल थाहा पाएँ कि मजस्ता कैयौं यस्ता महिला छन्, जसले श्रीमान फर्किन्छन् भन्ने आशा गर्देनन्। उनीहरूकै संगतले मलाई पनि लाग्न थाल्यो, उनी फर्किंदैनन्।

एक महिनापछि, म उनको बर्खी बार्न इटहरी फर्किएँ। र, उनलाई सम्झनाहरूबाट बिदा दिएँ।

****

०६२ देखि मैले क्षतिपूर्ति माग गर्न थालेकी थिएँ। यस्तो क्षति त के ले पूरा गर्थ्यो र? तैपनि खानै पर्‍यो। छोरोलाई हुर्काएर उसको बाटोमा छाडिदिनुपर्‍यो।

जिल्लामा गएर निवेदन दिएँ। ‘मारेको कसले हो’ भनेर जिल्ला प्रशासनले प्रमाणित गर्दो रै’छ। फाइलमा उनको नाम भेट्न गाह्रो भयो। डेढ वर्षमा कति धेरै नाम थपिएका हुन्? आखिर अनेक पानापछि उनको नाम भेटियो- जीवन कार्की।

क्षतिपूर्ति दिने की नदिने? निर्णय सात दलले गर्दो रै’छ। निर्णय के गरे, म के था’ पाउँथे? फाइल गृह मन्त्रालय पठाएछन्। जिल्ला-काठमाडौं, काठमाडौं-जिल्ला, म फनफनी रिङ्न थालें।

नागरिकता खोई?
विवाह दर्ता खोई?
नाता प्रमाणपत्र खोई?
मृत्युदर्ता खोई?

छि’ कति दुख्ख दे’का हुन्? जता निवेदन दियो, पैसाको खोला त्यतै बग्यो। आखिर ०६३ कात्तिकको अन्तिम हप्ता मेरो हातमा डेढ लाखको चेक थियो। के गर्नु, डेढ लाख? बिचरा भाइले सप्पै खर्च ब्यहोरेको थियो। भन्न त हुनी हो कि होइन, यताउता दगुर्दा यति पैसा त पहिल्यै खर्च भइसकेको थियो नि त।

पचास हजारले काठमाडौंमा जुस पसल खोलेकी थिएँ, त्यो पनि डुब्यो। बाँकी एक लाख पनि चोइटिंदै सक्किन थालेको छ। भाइ भन्छ, ‘दिदी यसरी चल्दैन, काम गर।’

काम त गर्नी हो, तर के गर्नी? अब त जीवनको बाटो एक्लै हिंड्नु छ। उनी भ’को र नभ’को फरक परिहाल्छ नी, हैन र? अहिले मनमा कुनै आक्रोश छैन। जसले उनलाई मारेको थियो, त्यो पनि त मरिसक्यो।

यति हुँदा पनि आशा त नमर्दो रै’छ, कहिलेकाहीँ निद्रामा उनले ढोका ढक्ढकाएजस्तो लाग्छ।

(श्रोत :- NagarikNews )

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : प्रेमको पक्षमा

~बुद्धिसागर~

हरेक बिहान दैलोमा आइपुग्ने पत्रिकामा घृणामा समाचार छापिन्छन् । दहेजको नाममा मट्टितेल छर्केर जलाइएका युवती, श्रीमानबाट मारिएका श्रीमती, श्रीमतीबाट पिडित श्रीमान, बाबुले भेलमा फालिदिएका सन्तान, बो_िक्सको नाममा यातना दिइएका महिला, पानीको धारा छुँदा पिटिएका दलित- हामीलाई यस्ता समाचार पढ्न नपरोस्जस्तै लाग्छ । समाजजस्तो छ, त्यस्तै समाचार आउने न हो ।

अँध्यारोले छोपिदै गएको युगलाई एउटै कुराले उज्यालो बनाउँछ, त्यो हो– प्रेम । प्रेममाथि मान्छेका अभिलाषा, ठूला सपना, छड्केबाटोको सफलता, वैरभाव कुन्ठाजस्ता कुराले हमला गरिहेका छन् तर प्रेम कहिकतै हरियो रंग भएर बसेकै छ – सुक्दै गएको दुवोको जरातिर बचेको हरियोझैँ ।

भन्नेहरु भन्लान् प्रेम देखाउँनलाई भ्यालेन्टाइनजस्तो कुनै दिन चाहिदैन । तर संसारको क्यालेन्डरमा यस्ता दिनहरु तोकिएका छन्- जसमा पटकपटक मानवताको हत्या गरिएको थियो । इतिहाँसले प्रेमभन्दा बढि घृणा सम्झाउने दिन क्यालेन्डरमा राखेको छ । कयौ आतंकवादी हमला, ठूलो देशले सानो देशलाई निलेको दिन, नरसंहारले रगक्ताम्य भएको पटाँगी- सबै क्यालेन्डरमा झुन्डिएका छन् । प्रेम त्यही बिचमा कहि कतै झुन्डिरहेकै छ । अवको दिनमा घृणालाई प्रेमले जितोस् । भ्यालेन्टाइ- डेको सुरुवात जसरी भए पनि यसको प्रभाव युवापुस्तामा बढ्दै गइरहेको छ, जसलाई अव नकार्न सकिन्न । भन्नेहरु भन्छन् -यो प्रेम नभै फूल र कार्ड बेच्ने षड्यन्त्र हो । ठिकै छ नि नयाँ पुस्ता बम र बन्दुक किन्नुको सट्टा फूल र कार्ड नै किनुन् ।

त्यसो त हाम्रा प्रायः चाडमा प्रेम नै गाँसिन्छन् । र ती चाड पनि चोखा छैनन् । होली सद्भावको चाड हो तर लोला हेर्नुस् । दशै आर्शिबादको चाड हो, बैभव हेर्नुस् । तिहार उत्साहको चाड हो, देउसीको नाममा चन्दा हेर्नुस् । त्यसैले नयाँ पुस्तालाई भ्यालेन्टाइनको नाममा गालि गर्नु भनेको तिनलाई न स्विकार्नु हो । के नयाँपुस्ता लम्पट छन् ? के नयाँ पुस्ता बिचारहीन छन् ? के नयाँपुस्ता भविष्यहीन छन् ? नयाँ पुस्ता स्विकार्छन् । ति देश र सिमानामा बाँधिदैनन् । ति आफूलाई मनपर्ने कुरा अपनाउँछन् । नयाँ बाटोमा हिँड्नै नदिनु भनेको कुज्याउँनु हो, बरु हिँड्न सिकाउनु पो कर्तव्य हो ।

बरु प्रेम दिवशलाई सार्थकरुपमा स्विकार्न सकौँ । अचेलको प्रेममा सेक्स गाँसिएको छ -यस्तो पनि सुनिन्छ । प्रेम र सेक्स आकाश र धर्ति त पक्कै होइनन् । के प्रेम गर्नेले सेक्स नै नगर्नु ?कयौ आर्दशवादीहरु सेक्सकै कारणले लम्पट भएर गुमनाम भएको इतिहाँस हामीसितै छन्– अखवार खोतल्नुस् । सेक्सलाई ओभररेटेड नबनाउ । यौनका बारेमा ज्ञान दिऊ, स्कुलदेखि नै सचेत बनाऊ । के नयाँ पुस्ताको बुद्धि कत्ति पनि छैन ! ति घरबाट निस्कने बित्तिकै सेक्स गर्छन् ?

हामी पुरानो कुरालाई जहिले पनि सुन्दर ठान्छौ । सबै ओल्ड, गोल्ड हुँदैनन् । पुरानो समयमा पनि प्रेममाथि हमला भएकै थियो । आर्दशप्रेमको युगमा पनि कयौ युवती बलात्कृत भएकै थिए । लोकलाजले कुरो बाहिर आउदैन्थ्यो, होला । अहिले धेरै कुरा बाहिर आउँछन्, त्यसैले अहिले प्रेमभन्दा बढि सेक्स देखिन्छ । त्यसो त क्रान्तिमा पनि त खोट देखिएका छन् । कयौले त क्रान्तिलाई पनि बलात्कार गरेका छन् । त्यसैले संसारका कुनै पनि शव्द खराव होइनन्, कुनै पनि पर्व खराव होइनन् । त्यसलाई आफ्नो नियत गाँसेर प्रयोग गर्ने एकाध व्यक्ति खराव हुन् । सबै कुरा सुरुवातमै गंगाझैँ निर्मल हुँदैन, गंगा पनि त बग्दाबग्दै निर्मल भएको हो । समयको खोलामा बग्दै गयो भने प्रेम पनि सङ्लिदै जान्छ । युवाहरु नै प्रेमका राजदूत हुन् । सुरुवात जहाँबाट गरे पनि हुन्छ, भ्यालेन्टाइ डेबाट पनि । नकार्नु घृणा गर्नु हो, स्विकार्नुमा पनि ‘कला’ नै चाहिने हो । यदि संसारमा एकअर्काको ‘अस्तित्व र अधिकार’लाई स्विकार्ने कलाको विकाश भयो भने संसार सुन्दर हुँदै जाला । किनभने ‘स्विकार्ने कला’ को नाम नै ‘प्रेम’ हो ।

ह्याप्पि भ्यालेन्टाइन डे !

Posted in निबन्ध | Tagged | Leave a comment

संस्मरण : मैले रोजेको बाटो

~बुद्धिसागर~

आज म ३२ बर्षको भएँ।

सानोमा स्कुल छाडेर भागेको। मोजाको फुटवल बनाएर खेलेको। खोलामा नाँगै नुहाएको। सरले मुर्गा बनाएर घाममा उभ्याएको। पहिलोपल्ट फिलिम हेरेको। घरमा आमाले पकाएको रारा चाउचाउ गड्यौलाजस्तो लागेर घिन मान्दै नखाएको।
अस्ति भर्खरैजस्तो लाग्छ।
समय त मिलको पट्टा पो रैछ। फनफनी घुमेको घुम्यै गर्छ। भन्छन् – खुशीमा समय चाडै बितेजस्तो लाग्छ। दुख्खमा समय एकैठाऊँमा अडेको अड्यैजस्तो हुन्छ।
सम्झना छ? परिक्षा हलमा एकघन्टा कति छिटो बित्छ? हेरिरहेको टिभीको कार्टुन फिलिम कत्ति चाँडै सकिन्छ? तर, बिचबिचमा आउने विज्ञापन कत्ति लामो लाग्छ।
मनपर्ने सरको कक्षा कत्ति छोटो लाग्छ र मन नपर्ने सरको कक्षा कत्ति लामो। समय र उमेरपनि त्यस्तै त हो।

म सोचिरहेको छु- मेरो जीवनको ३२बर्ष मनपर्ने सरको क्लासझैँ कत्ति चाडै सकिएछ।
कहिलेकाँही म मेरा स्कुले साथी भेट्छु। दुखि र निरास देखिन्छन्। र, तिन्लाई जीवन मननपर्ने सरको क्लासजस्तो अल्छिलाग्दो लागिरहेको देख्छु।
म सोच्छु- समयले मान्छेलाई सुखी र दुखी बनाउने होइन रैछ, त्यो त हामी आफैले बनाउँदा रैछौ। कहिलेकाही लाग्छ- म आफैले नै जीवन मनपर्ने सरको कक्षाजस्तो बनाएँ। मेरा कति साथीले आफुले नै जीवन मननपर्ने सरको कक्षाजस्तो बनाए। कति साथीका बा, आमा र शिक्षकले नै जीवन मननपर्ने सरको क्लासजस्तो बनाइदिए।
साथी र ममा एउटै फरक छ- साथीहरुले बा,आमा र शिक्षकले सिकाएको बाटो हिडे।
म भने आफैले रोजेको बाटो हिँडे।

सानैदेखि म पढाईमा साह्रै कमजोर थिएँ। स्कुलको अन्तिम बेन्चमा बस्थेँ। सरले पठाएको पनि बुझ्दिनथेँ। तर, नबुझेको कुरा सोध्ने आँटै आउदैनथ्यो। सोध्यो भने पनि सरले ‘यत्ति पढाएर पनि बुझिनस् स्वाठ’ भन्दै कान निमोठ्थे। त्यसैले म सरको आँखा अगाडि पर्दिनथेँ। लुकेर बस्थे।
सायद, असल सर भएको भए, मलाई अघिल्लो बेन्चमा राख्दा हुन्। बुझाउँदा हुँन्। प्रेरणा दिँदा हुन्। म अहिले सोच्छु- मेरा जीवनमा कहिल्यै असल सर आएनन्। जति आए, खराव नै आए। ति कक्षामा चाँडोभन्दा चाँडो बुझ्ने बिधार्थीलाई मात्र प्रेरणा दिन्थे। हाम्रा अगाडि उसको सधैँ प्रसंसा गर्थे। सोधेको प्रश्नको उत्तर नजान्दा सर, जान्ने बिधार्थीलाई हाम्रो गालामा थप्पड हान्न लगाउँथे। सधैँ सरले गिल्ला गरिरहे।
बच्चा त गिलो माटो हुन्। सर कारिगर। तिनैको हातले नै हाम्लाई बिभिन्न थरि मुर्ति बनाउने न हो। सरले भने तिक्ष्ण बिधार्थीको जहिले पनि राम्रो मुर्ति बनाउथे। हाम्लाई भने आकार दिन नसकेर त्यतिकै छाडिन्थे।
म जति क्लास उक्लिदै गएँ, उति ल्वादे भएँ।
सरले गिल्ला गर्छन्,कक्षाका साथी हाँस्छन् भनेर म कक्षाबाटै भाग्न थालेँ। म दिनभर जँगल घुम्थेँ। चरा उडेको हेर्थे। जँगलमा गएपछि, मसित पढ्न नआउने किताव हुन्थेनन्, न त चड्कन लगाइरहने सर। म एक्लो हुन्थे। मलाई त्यस्तै मनपर्थ्यो।
म प्रायः जाँचमा फेल हुन्थे। कहिलेकाही बाले हेडसरसित कुरा गरेर पास गराइदिनु हुन्थ्यो।
गाउँमा पनि फष्ट हुने बिद्यार्थीलाई सबैलाई माया गर्थे। फेल हुनेलाई देख्यो कि गालि गर्थे। थुक्थे। तर, कसैले सोधेन- तँलाई किन पढ्न मन लाग्दैन भनेर।
घर, गाऊँ र स्कुलमा म लम्पट बिद्यार्थीको रुपमा चिनिएँ। जहाँ पनि ‘यसले पढेर खादैन’ भन्नेहरु भेटिन्थे। पछिपछि त मलाई पनि लाग्नथाल्यो- म पढेर ठूलो मान्छे हुँदिनँ।
म बरालिएँ।
फिलिम हेर्न घरबाट भाग्न थालेँ। मेरो मन स्कुलमा भन्दा अन्तै रम्न थाल्यो। अनि, जव रिजल्ट आउथ्यो- म फेल हुन्थे। साथीहरु पास भएर नयाँ-नयाँ बासनादार किताव किन्थे। त्यसबेला मेरो मन साह्रै रुन्थ्यो। ‘अव यसपाली मज्जाले पढेर पास हुन्छु’ भन्ने कसम खान्थेँ, तर फेल भएर उहि क्लासमा बस्नुपर्दा झन् पीडा हुन्थ्यो। सरहरु पनि फेल हुनेलाई झनै गाली गर्थे। ‘तँ पढेर खादैनस्’ भनेर बचन लाई रहन्थे। ‘यसपाली पढ्छु’ भनेर खाएको मेरो कसम आँसुसँगै बगेर जान्थ्यो।
पछिपछि, मलाई कोर्सका कितावभन्दा अरु नै किताव पढ्न मनलाग्न थाल्यो। कमिक्स र जासुसी उपन्यास खुवै पढ्थे। ति रोमाञ्चक हुन्थे। पढिसकेपछि परिक्षा पनि दिन पर्देनथ्यो। अनि म बिस्तारै पढन्तेमा गनिनँ थालेँ। तर, कोर्सको किताव बाहिरको पढन्थे।
आफ्नो रुचीको कुरा भेट्टाएपछि त म पढ्ने नै रैछु।

जव बसाइसराइ भएर म कालीकोट पुगेँ। त्यहाँको स्कुल झन् खराव थियो। रामरी पढाइ नै हुन्थेन। एकदुई जना असल सर थिए तर तिन्ले मजस्तो बिग्रिसकेको माटोलाई फेरि मुर्ति बनाउने आँट गरेनन्। मेरो मन बिरक्तियो- मैले कविता लेख्न थालेँ। रेडियोमा पठाउँन थालेँ। मेरो कविता रेडियोमा बज्न थाल्यो। गाँऊ घर, स्कुल जताततै मेरो चर्चा फैलियो। म झन् कवि भएँ।
मेरो कविता रेडियोमा सुनेर बा पहिला खुशी भएका बा, पछि गएर आत्तिन थाल्नु भो। ‘छोरो कवि हुने भो’ भन्ने पीर पर्‍यो। त्यसबेला कविलाई कसैले राम्रो मान्थेन। कवि जीवनमा सधैँ दुखी हुन्छन्। भोकै पर्छन्, भन्थे मान्छेहरु।
सप्पैलाई लाग्थ्यो- डाक्टर र इन्जिनियर पो हुनु, कवि हुने हो?
मलाई अहिले पनि लाग्छ- धेरै अभिभावक सन्तान डाक्टर र इन्जिनियर बनोस् भन्ने एउटै कारणले चाहन्छन्- पैसा कमाउँछन् भनेर। कम्तिमा मलाई डाक्टर बन भन्नेले ‘बिरामीको सेवा गर्ला’ भनेर भनेकाथेनन्।
एसएलसी नजिक आयो। सरहरु ‘यसपाली एसएलसी पास हुने बिद्यार्थी यि यि हुन्’ भनेर दिनकै नाम फलाक्थे, जसमा मेरो नाम कहिल्यै हुन्थेन। मेरै कक्षामा साँच्चिकै प्रतिभाशाली बिद्यार्थी पनि थिए। तिनले आफ्नै सीप र साधनाले पढेकाथे। ति प्रतिभाशाली हुनुमा सरको योगदान एकदमै कम थियो। र, एसएलसी नजिकिदै गर्दा सरहरु प्रतिभाशाली बिधार्थीकै वरीपरी घुम्न थाले। सरहरु सोच्थे- ‘यि केटाहरु ट्यान्लेट त छन् नै। अलिकति चिट चोराउन पाइयो भने त यिनले फष्ट डिभिजन ल्याएर स्कुलको इज्जत राख्छन्।’
एसएलसीको परिक्षामा सरले नै प्रतिभाशाली बिधार्थीलाई चिट चोराए। हामी कमसल बिधार्थीको हातमा भने कमसल मान्छेले नै लेखिदिएको चिट आउथ्यो र ति चिटमा सही उत्तर नै लेखिएका छन् भन्ने पनि बिश्वास गर्न गाह्रो हुन्थ्यो।
जे होस्, म सेकेन्ड डिभिजनमा पास भएँ। दुईचार जनासाथी फष्टडिभिजनमा पास भए।
एसएलसी पास गरेपछि, मैले बासित ढिपी गरेँ, काठमान्डू जान्छु भनेर। मैले हैरान पारेपछि बाले काठमान्डू पठाउनु भयो।
मैले एसएलसी दिँदै गर्दा आफ्नो बाटो रोजिसकेको थिएँ। मैले अठोट गरिसकेको थिएँ- काठमान्डू गएर लेखक बन्छु।

जरा कमजोर थियो, त्यसैले कलेजमा पनि राम्रो बिद्यार्थी हुन सकिनँ। तर, आफ्नो सपना पुरा गर्न कविता लेखिरहेँ। पत्रिकामा छापिरहेँ। मेरा रोमाञ्चक दिन सुरु भइसकेका थिए।
म सितै एसएलसी दिएका एकमित्र पनि काठमान्डू नै आए पढ्न। उनले कर्नाली अञ्चलमै सबैभन्दा बढि नम्बर ल्याएका थिए। हाम्रो डेरा नजिक थियो। बा, आमा र सरले भनेका रैछन्, ‘तिमी अव डाक्टर हुनुपर्छ।’
उनलाई ठूलो बोझ थियो। त्यतिधेरै नम्बर ल्याएको बिधार्थीले अरु बिषय पढ्ने कुरा पनि थिएन। उनी साइन्सका बिद्यार्थी भए। दिनमा अठार-उन्नाइस घन्टासम्म पढ्थे। तर, उनलाई डाक्टर बन्न सुझाव दिनेले उनको मनको कुरा बुझेनन्। उनी के पढ्न चाहन्छन्, उनको रुची के हो? सोधेनन्। बस्, उनलाई डाक्टर बन्न दवाव दिइरहे। तर, उनले लाख कोसिस गरेपनि आइएस्सी कटाउन सकेनन्। एकपल्ट होइन, चार-चारपल्ट फेल भए।
उनका अभिभावक रिसाए। सर रिसाए। र, उनी गाउँनै जान छाडे।
उनीसितैका साथीभाईले घरमा कर गरेरै आफूलाई मनपर्ने बिषय लिएर पढेकाथे। आफ्नो बाटो रोजेकाथेँ। ति पास हुँदै गए। र, आफ्नो क्षेत्रमा अलिअलि स्थापित पनि हुन थाले। उनी त जहाँ को तही रहेँ।
भर्खरै मसित भेट हुँदा उनी दुव्लाएका थिए। अनुहारमा पनि रौनक थिएन। पराग खाएर दाँत पहेलै बनाएका थिए। उनले भने, ‘बिचमा के के भो। अव फेरि पढ्न थालेको छु।’
‘साइन्स।’ मैले सोधेँ।
‘होइनँ ,’उनले भने, ‘आर्टस्। सायद, पहिल्यै आर्टस् पढेको भए, म एमए पास भइसक्थे। अहिले आइए दोस्रो बर्षमा पढ्दैछु। त्यो बेला अरुको कुरा बढि सुनेँ।’
जे होस्, उनले ढिलै भएपनि आफ्नो बाटो रोजेछन्।

मैले भने लेखनमा अलिअलि प्रगति गरिसकेको थिएँ। कवि गोष्ठिमा कविता सुनाउनु र कविता लिएर पत्रिकाको अफिसमा धाउनु मेरो दिनचर्या थियो। बाले पटकपटक फोन गरेर ‘घर आइज’ भनेर बोलाउनुहुन्थ्यो।
‘रामरी पढ्न सकिनस्। काठमान्डू बसेर के काम?’ उहाँ भनिरहनुहुन्थ्यो।
तर, म घर गइनँ। काठमान्डूमा कयौ रात भोकै सुते। नौ दश महिनासम्म घर भाडा तिर्न नसक्दा घरबेटी ढोकामा ताल्चा लगाइदिन्थे। झगडा गरेर खोल्न लगाउथेँ।
म यता भोकै थिएँ। उता बा र आमालाई चिन्ता थियो।
मलाई त भोकै बस्दा पनि पीडा थिएन। अनुभव न हो, पछि काम लाग्छ- म सोच्थे। किनभने, यहिँ नै मैले रोजेको बाटो थियो।
एकदिन म झल्यास्स भएँ। लौ, मैले पो आफु हिँड्ने बाटो रोजेको थिएँ। घरमा त रामरी भनेको नै थिइनँ।
दशैमा घर गएको बेला, मैले बा-आमालाई आफ्नो सपना सुनाएँ। मैले भनेँ – म सित कुनै प्रतिभा छैन। म जागिर पनि खान सक्दिनँ। मलाई अरु काम केही पनि आउदैन। मलाई एउटै कुरा आउँछ, लेख्न। लेखक बन्नलाई गाऊँमा सजिलो छैन। काठमान्डू नै बस्नुपर्छ। म अझेँ दुख्ख गर्छु र लेखक बन्छु।
सायद, मैले बा-आमालाई आफ्नो कुरा बुझाउन सकेँ। त्यसपछि पो उहाँहरुले मलाई बेरोजगार भएर काठमान्डूमा बस्दा पनि केही भन्नु भएन।
मैले केवल लेखिरहेँ। साहित्यका कितावहरु पढिरहेँ। सायद, परिक्षाकै लागि भनेर यसरी लेख्नु र पढ्नु परेको भए, म बिचमै थाक्थे हुँला। तर, रुची र सपनाले कहिल्यै थाक्न दिएन। सफलता एक एक गर्दे मतिर तानिदै आए। नेपाल एकेडेमीबाट स्वर्ण पदक पाएँ। नेपाल सरकारबाट प्रतिभा पुरस्कार पाएँ। जागिर खोज्दै कतै भौतारिनु परेन। मैले लेखेकै कारण पत्रिकामा जागिर पाएँ।
अनि, ‘कर्नाली व्लुज’ उपन्यास लेखेँ।

हो, त्यसबेला लेखनमा पैसा थिएन। तर, मैले जतिजति लेख्दै गएँ, उतिउति लेखनको महत्व बढ्दै गयो। अहिले लेखकले पनि राम्रो पैसा कमाउन थालेका छन्।
म अचेल पत्रिकामा लेख्ने काम गर्छु, त्यसबाट तलव आउँछ। अनि, घरमा बसेर किताव लेख्छु- त्यसबाट रोयल्टी आउँछ। म दिनभरी आफूलाई रमाइलो लाग्ने काम गर्छु र पैसा कमाउँछु।
र, ३२ बर्षको उमेरमा मलाई १ घन्टा पनि ‘काम’ गरेजस्तो लागेको छैन। म त आफ्नो सपना पुरा गरिरहेको छु। लक्ष्मि र सरस्वतीसँगै हुँदैनन् भन्थे। तर, दुवै मिलेर मलाई माया गरिरहेका छन्।

त्यै भएर मलाई मेरो जीवन मनपर्ने सरको कक्षाजस्तो भएको छ।
स्कुलका सरले म काँचो माटोलाई गिथोलेर छाडेका थिए। म आफै त्यसलाई सुन्दर मुर्ति बनाउन खोजिरहेको छु।

मैले मुर्ति तयार गरेका दिन संसार आफै सुन्दर हुनेछ ।

(श्रोत :- Writer’s Facebook Page )

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : स्मृति…..यो रेडियो नेपाल हो

~बुद्धिसागर~

घरमा एउटा मात्र रेडियो थियो । बा राति पौने नौ बजेको बीबीसी नेपाली सेवा सुनेपछि मात्रै निदाउनुहुन्थ्यो । त्यसैले रेडियो राति बाकै सिरानमा हुन्थ्यो । म बा-आमाको ओच्छ्यान छेउमा ठडिएको ठूलो आलमारी पछाडि सुत्थें । घरका सबैमा चाँडै सुतेर चाँडै उठ्ने बानी थियो । म भने राति ढिला सुत्थें र ढिला उठ्थें । त्यसैले म राति खुसुक्क आउँथें र बाको सिरानबाट रेडियो तानेर आपmनो सिरानमा पुर्‍याउँथें ।

एकदमै मधुरो आवाजमा रेडियो सुन्थें । रेडियो नेपाल राति ११ बजे बन्द हुन्थ्यो, त्यसपछि म सर्टवेभमा च्यानलहरू खोज्थें । कति भारतीय च्यानलहरू टिपिन्थे । म १ बजेसम्म सुन्थेँ । बिहान धार्मिक कार्यक्रम सुन्न बा मेरो सिरानबाट रेडियो लैजानुहुन्थ्यो । पछिपछि त नियमजस्तै भयो । बा निद्रामा हुँदा म रेडियो तान्थें, म निद्रामा हुँदा बा । मौनतामै हामीबीच सहमति भएजस्तै भयो ।

एक दिन शनिबार राति सवा नौ बजे रेडियो सुनिरहेको थिएँ । नयाँ कार्यक्रम सुरु भएको रैछ, त्यही दिन- ‘भावसुमन’ । कार्यक्रममा हिन्दी गजल बजिरहेका थिए । कुनै गायकले मधुरो स्वरमा अल्छीलाग्दो किसिमले कन्दैकन्दै गायो भने म गजल हो भनेर बुझ्थेँ । गजलमा धेरै बाजागाजा बज्दैनथे । म कैलालीमा ‘चढ गया उपर रे, अटेरिया पे लौटन कवुतर रे’ जस्ता फिल्मी गीत सुनेर हुर्केको । मलाई त्यस्तै गीत मन पर्थे । र, नौटंकीका ‘लाउड स्पिकर’मा पनि त्यस्तै गीत बज्थे । कसैको बिहे होस् या स्कुलको सरस्वती पूजा, थारूगाउँको नौटंकी होस् या स्कुलको सांस्कृतिक कार्यक्रम मोहमद अजिज, उदितनारायण झा र कुमार सानु कुर्लिहाल्थे । प्रायः सबैलाई साथ दिने अल्का याज्ञिक ।

‘दिदी तेरा देवर दिवाना ।’ मा मैले कम्मर मर्काईमर्काई नाचिसकेको थिएँ, बिहेहरूमा । यस्तै गीतसित मेरा अतीत गाँसिएका थिए । यस्ता गीत सुन्दा म आफ्नो जीवनको अतीतमा पुग्थें र मलाई यस्तै गीत मन पर्थे । म रेडियोमा पनि यस्तै गीत खोज्थेँ ।

तर, मान्ममा यस्ता गीत बज्दैनथे । क्यासेट पसलहरूमा देउडा बज्थे । म भाषाकै कारणले बझ्दिनथेँ । रेडियो नेपालमा पनि थोरै कार्यक्रममा यस्ता गीत बज्थे । लोकगीत, भाषाभाषीका गीत, आधुनिक गीतले रेडियो नेपालको समय पूरा हुन्थ्यो । ‘खाए खा नखाए घिच’ म रेडियोले बजाउने गीत सुन्न बाध्य भएँ । र, यस्तै गीतलाई आफ्नो अतीतमा पुग्ने साँघुरो चेप बनाएँ ।

मलाई सुरुमा ‘भावसुमन कार्यक्रम चलाउने उद्घोषिकाको आवाज मन पर्‍यो । उनी मधुरो स्वरमा बोल्थिन् । हरेक शब्दलाई प्रेमले उच्चारण गर्थिन् । उनले ‘यो मेरो पहिलो कार्यक्रम हो’ भनेपछि मैले अझै ध्यान दिएँ । किनभने, मलाई आइतबारदेखि शनिबारसम्म प्रसारण हुने सबै कार्यक्रम कण्ठ थिए । नयाँ कार्यक्रम कस्तो होला ? कस्ता-कस्ता भागहरू होलान् यसमा ?

म चनाखो भएँ । त्यस दिन धेरै गजल बजे । तर, के चीजले मोहित पार्‍यो कुन्नि ? मैले सारा गजल सुनेँ । साढे नौ बजे सारा मान्म बजार सुतिसकेको थियो । मेरो झ्यालको बर्सादी हावाले मन्द-मन्द फर्फराइरहेको थियो । मैले झ्यालबाहिरको अग्लो पहाड हेरिरहेँ । जो चन्द्रमाको मधुर प्रकाशको सप्को ओढेर बसिरहको थियो । सप्कोमा मोतीजस्ता ताराहरू जडिएका थिए । म ‘जगजित सिंह’को मधुरो आवाजमा हराउँदै गएँ । सुन्दर प्रकृति, शून्यता र तलाउमा तप्किरहेको पानीको आवाजजस्तो गजलले लठ्याइरह्यो ।

मेरा आँखाले झ्यालबाहिर हेरिरहे तर मन अतीतको यात्रामा हिँडिसकेको थियो । मेरा आँखा, हृदय र कान पहिलोपल्ट आनन्दले भरिएका थिए । मनमा गहु्रंगो ढुङ्गो भएर बसेको उदासी चराको प्वाँख बन्यो र खुला आकाशमा उड्यो ।

मैले पहिलोपल्ट शान्त र मधुर गजल सुन्नुको मज्ज्ाा पाएँ । मलाई कार्यक्रम मन पर्‍यो । कार्यक्रम सकिने बेला उद्घोषिकाले भनिन्, ‘तपाईंहरूले पनि कुनै गजल सिर्जना गर्नुभएको छ भने हाम्रो ठेगानामा पठाउनुस् । हामी वाचन गर्नेछौं ।’

उनले ठेगाना भनिन् । मैले टर्च बालें । सिरानछेउको कापीको पन्ना पल्टाएँ र हतार-हतार टिपेँ । र, उद्घोषिकाले अन्तमा भनिन्, ‘म दीक्षा भट्टलाई पनि बिदा दिनुस् । शुभरात्रि ।’

त्यो मेरा लागि साँच्चिकै शुभरात्रि थियो ।

िि

िम बिहानै उठेँ ।

मैले पहिलोपल्ट लेखेको कविता खोजेँ । कुन कापीमा लेखेको थिएँ, बिर्सेछु । धुइँपताल खोजेँ र मेरो कविता विज्ञानको कापीमा भेटियो- कापीमा च्यापिँदाच्यापिँदा सुकेको गुलाबको पत्रजस्तो । एकपल्ट सरर्र कविता पढेँ, ठीकै लाग्यो । मैले यही कविता रेडियोमा पठाउने विचार गरेँ । सुन्दर अक्षरमा सफा पानामा सारेँ ।

रेडियोमा पठाउनुअघि कसलाई देखाउ“m ?

तुलसी दिदी दोकानको काउन्टरमा अडेस लागेर उभेकी थिइन् । म सुरुक्क उनको छेउमा गएँ र उनको अगाडि कापी राखिदिएँ ।

‘के हो ?’ दिदीले सोधिन् ।

‘मैले लेखेको कविता पढ त,’ म लजाएँ ।

दिदी मुसुमुसु हाँसिन्, ‘किन लेखिस् ?’

लौ, मन लाग्यो लेखेँ । यस्तो पनि सोध्ने हो ? तैैपनि म पहिलो पाठकलाई भड्काउन चाहन्नथेँ । सुस्त भनेँ, ‘रेडियोमा पठाउँछु ।’

दिदीले ओठ चलाउँदै कविता पढिन् र हाँसिन् ।

‘कस्तो लाग्यो ?’ मैले मरेको स्वरमा सोधेँ ।

‘कविता त राम्रै छ ।’ दिदीले भनिन्, ‘रेडियोमा पठाउने कविताका अक्षर राम्रा र ह्रस्व-दीर्घ सप्पै मिलेको हुनुपर्छ ।’

लौ, मलाई त यो कुरा थाहा थिएन । म कागजमा डट्पेनको टुप्पो बेस्मारी गाडेर लेख्थें, डट्पेन चिप्लिन पाउँदैनथ्यो, त्यसैले अक्षर त राम्रै हुन्थे तर यो ह्रस्व-दीर्घ कसरी मिलाउने ?

‘तिमी मिलाइदेऊ न त ।’ मैले याचना गरेँ ।

‘मलाई त आउन्न ।’ दिदीले भनिन्, ‘तर तेरा अक्षर हेर्दा ह्रस्व-दीर्घ नमिलेजस्तो लाग्छ ।’

रेडियोमा पठाउनै मिल्ने गरी ह्रस्व-दीर्घ मिलाइदिने मान्छे को होला, मान्ममा ? मैले खुब सोचेँ तर दिमागमा कसैको अनुहार आएन ।

म त्यत्तिकै गलेँ ।

अर्को हप्ता फेरि त्यही कार्यक्रम सुनेँ । स्याङ्जा र चितवनबाट गजल पठाइसकेका रैछन् । दीक्षाले मीठो स्वरमा वाचन गरिन् । गजलहरू उही विछोडको भावमा लेखिएका थिए । यस्सो सुन्दा ठीकठीकै लाग्थ्यो । मेरो मन कता-कता बलियो भएर आयो । रचना काठमान्डुबाहिरबाट पठाएर पनि त वाचन हुने रैछ । र, उत्कृष्ट नभए पनि हुने रैछ । र, मैले मुठी कसेँ- ह्रस्व-दीर्घ नमिलेर पनि के भो र ? भावना ठूलो कुरा हो नि ।

अब म रेडियोमा गजल पठाउँछु ।

कसम त खाएँ तर दुई तिन दिन बितिहाल्यो । मलाई आफ्नै नाम पनि कस्तोकस्तो लाग्थ्यो- बुद्धिराम चपाईं । ‘चपाईं’ म आफैंलाई अप्ठ्यारो लाग्थ्यो । फेरि मान्ममा जसले पनि सोधिहाल्थे, ‘यो चपाइं भनेको के हो ?’

कैलाली छँदा मैले यस्तो प्रश्न सुनेकै थिइनँ । आफूले त थाहा पाउन थालिसकेपछि ‘चपाईं’ सुन्दै आएको । बानी परिसकेको । गाउँभरि पनि चपाईं नै चपाईं । गाउँलेलाई पनि बानी परिसकेको । जब कालीकोट आयौं- गोलोमा ढुंगा बजारिँदा उडेका अरिङ्गालर्झ}{ प्रश्नहरूले ठुँग्न थाले ।

जिल्लाजिल्ला घुमेर आएका सरकारी कर्मचारी भन्थे, ‘गुरागाई, चौलागाई, बजगाई, अम्गाईर्, चापागाई सुनेका थियौं तर पहिलोपल्ट चपाईं सुन्यौं । के हो चपाईं

भनेको ?’

एकपल्ट हाम्रो दोकानमा एकजना कर्मचारीले सोधेका थिए, ‘च्वाई, को दोकान यै हो ?’

च्वाई ?

हामी बेस्मारी हाँस्यौं- यस्तो पनि थर हुन्छ ? पछि पो थाहा भो- च्वाई पनि थर रैछ । पूर्वतिर बढी चल्तीमा छ रे । म बल्ल झल्याँस भएको थिएँ- मैले त कत्ति थर सुनेकै रैनछु । चौधरी, लामिछाने, रावल, खत्री, जैसी, पौडेल, शाही, विक र खान- मैले सुनेका थर यत्ति थिए । जसरी मलाई पहिलोपल्ट ‘च्वाई’ सुन्दा मरीमरी हाँस्न मन लागेको थियो- त्यसरी अरूलाई पनि त ‘चपाईं’ सुन्दा मरीमरी हाँस्न मन लाग्दो हो ।

‘यो चपाईं के हो ? कहाँबाट आएको हो ?’ मैले मात्र होइन, बा र आमाले पनि सुनिरहने प्रश्न थियो । नेपालीहरू ‘थर’मा बढी रुचि राख्छन्, बल्ल मैले थाहा पाएँ । र, ‘थर’ कत्ति महत्त्वपूर्ण रैछ, थाहा पाएँ । म स्कुल होस् या बाटो जहीँतहीँ प्रश्नहरू भेटिरहन्थें तर उत्तर दिन आउँदैनथ्यो । म भन्थें, ‘चपाईं छेत्री हो । सुर्खेत र कैलाली जताततै हुन्छन् ।’ तर, बाले अलि गहिरो उत्तर दिनुहुन्थ्यो, ‘चपाईं सात पुस्तादेखि चलिआएको थर हो । सुदूरपश्चिम र मध्यपश्चिमतिर बसोबास गर्छन् । एकथरी भन्छन्- काठमान्डुको चापागाउँबाट बसाइसराइ गर्दै सुर्खेत पुगेकाले ‘चापागाई’ भन्दा भन्दै अपभ्रंश भएर ‘चपाईं’ भएको हो ।

सुन्दा अचम्मलाग्दो थर भए पनि ‘चपाईं’ इतिहासको लामो बाटो पैदलै हिँडेर आएको थर रहेछ- त्यो पनि नाङ्गा गोडा । चराको चुल्चोजस्तो ‘च’ बाट सुरु हुने मेरो थर यस्सो हेर्दा पनि मौलिक नै देखिन्थ्यो । देवनागिरीका छत्तीस अक्षरबाट छानेरै नियतबस झिकेजस्तो । स्कुलमा सरहरूले मेरो थर शुद्ध लेख्दैनथे । प्रायः सरहरू ‘चपाई’ लेख्थे । अझ अंग्रेजीमा लेख्नुपर्‍यो भने त के हो, के हो । बा ‘सीएचएपीएआईएन’ शुद्ध इस्पिलिङ् हो भन्नुहुन्थ्यो । सरहरू अन्तिमको ‘एन’ छुटाइदिन्थे । ‘एन’ पनि हुन्छ सर भन्दा उनीहरू नाक खुम्चाउँथे, ‘तिमी जान्ने कि म ?’

जे होस् म आफ्नो थरका पक्षमा लडिरहन्थे । त्यसैले ‘चपाइर्ं’को लामो इतिहासलाई बेबास्ता गर्नु पनि भएन । ‘चपाइर्ं’ ठीकै त छ नि । अर्को मन नपर्ने शब्द ‘बुद्धि’ र ‘चपाईं’को बीचमा थियो- राम । बुद्धिराम- आफ्नो नामै कस्तोकस्तो लाग्ने । कैलालीमा धेरै नामको बीचमा ‘राम’ हुन्थ्यो तर थारूगाउँतिर । पहाडिया गाउँमा भने ‘प्रसाद’ ‘कुमार’ ‘बहादुर’ र ‘कृष्ण’ । मेरै बाको नामको बीचमा पनि ‘बहादुर’ थियो तर दाइ र मेरो नामबीच कसरी ‘राम’ आयो ?  म ‘बहादुर’ किन भइनँ ?

मैले सुनेका नाम प्रायः रामायाण र महाभारतबाट पैंचो लिइएका थिए । ज्योतिषबा गाउँभरि महाभारतका योद्धाहरूको नाम छर्थे । ज्यातिषबाका लागि नामको भण्डार रामायाण र महाभारतमात्र थिए । कसैको नाम ‘कृष्ण’ राख्थे, कसैको अर्जुन, कसैको भीष्म, कसैको लक्ष्मण, कसैको शिव, कसैको गणेश । केटीहरूलाई लक्ष्मी, पार्वती र सीता । तर, मैले पुरुषको नाम रावण र स्त्रीको नाम द्रोपदी सुनेको थिइनँ । नाम राख्ने ज्योतिषबाको भ्रम थियो- नाम जस्तो राख्यो, मान्छे त्यस्तै हुँदै जान्छ ।

कैलालीमा दुई भगवान् प्रख्यात थिए, राम र कृष्ण । आफ्ना सन्तान राम र कृष्ण हुन् भन्ने सबैलाई लाग्थ्यो होला । सबैले सन्तानको नाम राम र कृष्ण राखे त गाउँभरि नै ‘राम-कृष्ण’को जुलुसै हुन्थ्यो, हुलाकीलाई पनि गाह्रो । त्यसैले बीचमा सुटुक्क ‘राम’ र कृष्ण घुसाइएको पो हो कि ?

त्यसैले मेरो नाममा पनि ‘राम’ घुस्रेका हुन् कि ?

रेडियोमा गजल पठाउनुअघि मैले नाममा अलिकति हेरफेर गर्ने निर्णय गरेँ । अनुरोध संगीत होस् या साहित्यिक कार्यक्रममा बज्ने नामहरू मेरो दिमागमा फनफनी घुम्न थाले । सबैले नामको पछाडि केही न केही फुर्को झुन्ड्याइरहेका हुन्थे । घायल, आँसु, आवारा, पीडित, छट्पटी, रोदन, दीनदुःखी यस्तै यस्तै । मलाई लागिरहेको थियो- रेडियोमा पठाउने नाम अलि दुःखी नै हुनुपर्दो रैछ । सिर्जना पनि दुःखी, नाम पनि दुःखी । उद्घोषकहरू पनि दुःखी आवाजमा रचना वाचन गर्थे । ०५४ सालताका रेडियो नेपालले राति नौ बजेको समाचारपछि हरेक दिन सांगीतिक कार्यक्रमहरू राखेको थियो । प्रायःमा श्रोतामा कविता, गजल र मुक्तक वाचन गरिन्थ्यो । दुःखी नाम वाचन हुन्थे । यस्सो विचार गर्दा लाग्थ्यो- मुलुक दुःखीहरूले भरिँदै गएको छ । सारा मुलुकका युवायुवती एकोहोरो प्रेमले ‘घायल’ छन् । तिनको पोल्टामा आँसु मात्रै छ ।

मलाई नाम फेर्न मन त थियो तर दुःखी नाम बनाउनु थिएन ।

मैले बाले रातो तुलले बेरेर राखेको नेपाली शव्दकोश झिकेँ । दिनभर घोत्लिएँ तर मन च्वास्स छुने शब्द भेटिए पो । मलाई लाग्यो- लाखौं शब्दले भरिएको शब्दकोशमा मैले खोजेको शब्द नै छैन ।

र, म पत्रिकामा घोरिन थालेँ ।

सरकारी अफिसमा हप्तौंपछि दैनिक पत्रिका आउँथे । हरेक दिन दिउँसो १ बजे पाइपझैँ बटारिएका दैनिक पत्रिका बोकेर हुलाकी अफिसका ढोकाढोका पुग्थ्यो । हाकिम सापहरू अफिसबाहिरपट्ट िघाम ताप्दै, कुर्सीमा ढल्किएर पुराना अखबार पढ्थे । पन्ध्र दिनअघि पल्टेको बसको खबर पढेर पन्ध्र दिनपछि तर्सन्थे । सारा मान्म बजार पुराना खबर पढ्न श्रापित थियो । सरकारी रेडियोले क्रान्तिकारी स्वभावका हाकिमले खोजेको सम्चार फुक्दैनथ्यो । त्यसैले पनि उनीहरू ढिला गरी आएको सम्चार पढ्थे ।

मलाई पत्रिका पढ्न मन पथ्र्यो तर सरकारी अफिसमा पुगेर पत्रिका माग्न धक लाग्थ्यो । मान्ममा एउटै पत्रिका पसल थियो । साउजी कम्न्युस्ट विचारधारका थिए, त्यसैले पार्टीका मुखपत्रजस्ता पत्रिका ल्याउँथे । तैपनि छिटफुट रूपमा नवयुवा, युवामञ्च र मधुपर्कजस्ता पत्रिका ल्याउँथे । पत्रिका ल्याएका दिन म एकएकप्रति किन्थें तर घाममा ढाड सेकाउँदै घोप्टो परेर पढ्थेँ । तर, कहिलेकाहीं महिनौं पत्रिका आउँदैनथे । त्यस बेलामा पत्रिकाको तिर्खाले छट्पटिँदै बजारमा घुमिरहन्थे ।

मान्म अवसरको खोजीमा आएका व्यापारीले भरिएको थियो । पत्रिका पढ्ने कोही थिएन । मान्म लोक सेवा पास गरेर आएका मुखियाहरूले भरिएको थियो । तिनीहरू  लोक सेवाको किताब घाक्थे तर पत्रिका पढ्दैनथे । केवल हाकिम सापहरू पढ्थे, जोसित म बोल्नै डराउँथें । कैयौं दिन छट्पटिएपछि मैले थाहा पाएँ- कृषि सामग्री केन्द्रमा पत्रिकाहरू फाइलिङ गरेर राखिने रैछ । सानोतिनो लाइब्रेरीजस्तो पनि रैछ । त्यहाँ फाइल पल्टाउँदै पढ्न पाइने रैछ । कृषि सामग्री केन्द्र बजारको बीचमै थियो तर कोही आउँथेन, शान्त हुन्थ्यो । म त्यहीं धाउन थालेँ । ढुसी गन्हाइरहेको अँध्यारो कोठामा बसेर म पुराना पत्रिका पढ्थेँ ।

तर, एक दिन कृषि सामग्री संस्थानका हाकिम सापले रातभरि पार्टी गरेछन् । पाँचजनाले सिलबन्दी रक्सी खाएछन् । बिहान एकजनामात्र उठेछन्, जसको आँखाको ज्योति गइसकेको रैछ । अरू त अचेत । विषादी मिसिएको रक्सी रैछ, खत्तमै पारेछ । पुलिसहरूले सुर्खेतबाट आएको हेलिकप्टरमा राखेर सबैलाई पठाए ।

कैयौं दिनसम्म सारा बजारमा खासखुस खासखुस भइरह्यो । अनि, त्यस अफिसमा पत्रिका फाइलिङ हुन बन्द भो ।

म फेरि पत्रिकाको तलतलले ‘घायल’ भएँ ।

तर, मैले बुद्धि लगाएँ । बजारका धेरै व्यापारी चिनेकै थिए । म कोही व्यापारी सामान लिन सुर्खेत र्झन थालेको थाहा पाएपछि पैसा दिँदै पत्रिका ल्याइदिने आग्रह गर्थें । कसैले ‘बिर्सेछु’ भन्दै पैसा फिर्ता दिन्थे भने कसैले हतारमा भेटिएका पत्रिका बोकेर आउँथे । अधिकांशले साहित्यिक पत्रिका मधुपर्क र हिन्दी भाषाको गृहलक्ष्मी ल्याइदिन्थे ।

म आफूसित भएका पुराना पत्रिकाका पृष्ठ पल्टाउँदै आफूलाई सुहाउने नाम खोज्न थालेँ ।

मधुपर्कको पुरानो अंक हेरिरहेको थिएँ- एउटा नाम देखेँ, बुद्धिसागर पराजुली । नामको बीचमा कुम जोडेर बसेको थियो- ‘सागर’ । मैले एकपल्ट ‘सागर’ राखेर आफ्नो नाम मनमनै उच्चारण गरेँ । क्या सुन्दर लाग्यो भनें । म मुसुक्क हाँसें र फेरि उच्चारण गरेँ- बुद्धिसागर चपाइर्ं । नाम त यै ठीक होलाजस्तो लाग्यो । एकपल्ट लेखी हेरूँ न । मैले कापीमा कलमको निब दगुराएँ । लेखेको हेर्दा पनि त राम्रै देखिने रैछ । र, मैले जीवनको पहिलो र गम्भीर निर्णय लिएँ ।

अक्षरका इँटाहरूले बनेको नामबाट दुइटा इँटा झिकेँ र तीनवटा इँटा थपेँ । मेरो नामको जीर्णोद्धार भयो ।

मेरो नामको बीचमा लुकेर बसेका ‘राम’ उदास आँखा लिएर फेरि बनवास गए ।

िि

िनाम तयार भयो । रेडियोले गजल पठाउनु भनेको छ । मैले लेखेको त कविता पो हो । गजल र कवितामा केही त फरक होला । अब कसलाई सोधूँ ?

बजारमा कोही पनि कवि थिएनन् । व्यापारी थिए- ती लेख्नुको नाममा उधारो खातामात्र लेख्थे । कर्मचारी थिए- ती बिदाको चिठीमात्र लेख्थे । पुलिस थिए- ती घरमा श्रीमतीलाई मात्र चिठी लेख्थे । शिक्षकहरू थिए- ती कालोपाटीमा हिसाबमात्र लेख्थे । एक दुई कलाकार थिए- ती साइनबोर्ड मात्र लेख्थे । अहेबहरू थिए- ती थोत्रो कागजमा औषधिको नाम लेख्थे । नेताहरू थिए- ती जिविसमा सहयोगको निवेदनमात्र लेख्थे ।

कविता लेख्ने त कोही थिएन ।

मलाई धेरै सोचेर बस्न मन लागेन । रेडियोमा अरूको गजल सुनेका आधारमा मैले पत्तो पाइसकेको थिएँ- गजल गीतकै छेउछाउको रैछ । दुईदुई हरफको हुनुपर्ने रैछ । अन्तिमका शब्दहरू मिल्दाजुल्दा हुनुपर्ने रैछ । र, मैले कनीकुथी आफूले लेखेको कविता गीतजस्तो बनाएँ र सकेसम्म राम्रा अक्षरमा सफा पानामा सारेँ ।

शुक्रबार थियो । त्यसैले स्कुल गइनँ । खाम किनेर ल्याएँ । गजलको पाना मुटुझैँ पट्याएर खामभित्र

हालेँ । गुँदले खामका ओठ चप्काइदिएँ । खामको

बाहिरपट्ट िठेगाना लेखेँ । जिल्ला हुलाक कार्यालयतिर दगुरेँ ।

बजारको पश्चिमतिर ओरालोमा थियो, हुलाक । थोत्रो घर थियो, शान्त नै रहन्थ्यो । थोरै कर्मचारी थिए । म जाँदा एकजना मात्रै थिए । उनले सोधे, ‘यो चिठी रजिस्टार गर्दिऊँ ?’

मैले बुझिनँ ।

‘रजिस्टार चिठीमा अल्लि बढी पैसा लाग्छ ।’ उनले बुझाए, ‘तर, भरपर्दो यै हुन्छ । यदि चिठी सम्बन्धित ठेगानामा पुगेन भने फेरि फिर्ता आउँछ । रजिस्टार चिठीको जिम्मा हुलाकले नै लिन्छ । हरायो भने दोषी हुलाक नै हुन्छ । र, साधारण चिठीभन्दा चाँडै पुग्छ । साधारण चिठीको जिम्मा हुलाकले लिँदैन । यदि हुलाकीले ठेगाना फेला पारेनन् भने त्यत्तिकै फाल्दिन्छन् ।’

ए, बल्ल पो बुझेँ । सम्झेँ- रेडियोमा रचना वाचन गर्दा सञ्चालकले पनि भनिरहन्थे, ‘अब प्रस्तुत छ फलाना मान्छेको रचना । उहाँले रजिस्टार चिठी पठाउनुभएको हो ।’

कुरा यसो पो रैछ । मैले चिठी रस्जिटार गर्ने निर्णय गरेँ । फुच्चे चिठीको तौल तराजुमा जोख्दा पन्ध्र-सोह्र रुपियाँ पर्न आयो । मैले दिएँ । हुलाकीले भर्खरै थुक लगाएर टाँसेको टिकटमाथि ड्याम्म स्ट्याम्प बजारे ।

म पहिला मनखुसी रेडियो सुन्थें । निद्रा लाग्यो भने प्याट्ट भोलुम बन्द गर्थे । कोल्टे फर्केर सुत्थें । चिठी पठाएकै दिनदेखि रेडियो सुन्दा म पहिलाकोजस्तो रहिनँ । मैले चिठी पठाएको भोलिपल्टै भावसुमन आउने दिन पर्‍यो । सवा नौ बजे भावसुमन सुरु भयो । तर, मेरो ढुकढुकी बढिरहेको थियो । मलाई बेग्लै खाले अनुभूति भइरहेको थियो । मलाई थाहा थियो- हिजै मान्मबाट पठाएको मेरो चिठी आजै त काठमान्डु पुग्दैन । तैपनि, मेरै रचना वाचन हुन्छ कि भने जसरी छट्पटी भइरहेको थियो ।

सञ्चालिका दीक्षाले सुरुमै पर्वतबाट आएको रचना पढिन् । र, गजल बजाइन् । कार्यक्रममा उनले पाँचवटा रचना पढिन् । कत्ति रचना मैले पठाएको भन्दा पनि कमजोर थिए, मलाई आँट आयो, मेरो त राम्रै छ, पक्कै वाचन हुन्छ । कार्यक्रमको अन्तमा उनले खुसी हुँदै आफूले श्रोताहरूको प्रशस्त चिठी पाइरहेको जानकारी दिँदै धन्यवाद दिइन् । सबैलाई आफ्ना रचना पठाउन आग्रह गरिन् । म मुसुक्क हाँसें- मैले पठाइसकेँ । त्यो पनि रजिस्टार गरेर ।

जीवनकालको सबैभन्दा लामो हप्ता बित्यो । शनिबार आयो । भावसुमन आयो । दीक्षा आइन् । पाँच-छजनाका कविता आए तर मेरो रचना आएन । मन कटक्क दुख्यो तर सोचेँ- चिठी अझै पुगेको छैन होला । कार्यक्रम सकिएपछि ज्यान त्यसै तातो भएर आयो । छ्या, अझै एक हप्ता कुर्नुपर्ने भयो ।

मैले लामो सुस्केरा हाल्दै कोल्टे फेरेँ ।

कष्टकर दिनहरू बित्न थाले । एक हप्ता कसरी बित्ला ? मलाई बेलाबेला लाग्थ्यो- खुइयय घडीको सुईझैँ समय पनि घुमाउन मिल्ने भए क्या जाती हुन्थ्यो । म आइतबारदेखि शुक्रबारसम्म फनक्क घुमाइदिन्थें । भावसुमन आइहाल्थ्यो । तर, समय त आफ्नै स्टाइलमा हिँड्थ्यो । मेरा लागि समय उकालो चढिरहेको भुँडे मानिसझैँ स्याँस्याँ गर्दै सुस्त-सुस्त हिँडिरहेको थियो ।

म समयलाई अगाडि हुत्ताउन खोज्थें, समय मोरो अटेरी बाख्रोझैँ जमिनमा खुर जोतेर तनक्क तन्किन्थ्यो, हिँड्दै हिँड्दैनथ्यो ।

िि

िजेनतेन मेरो जीवनको असाध्यै कष्टकर हप्ता बित्यो । र, भावसुमनको दिन आयो । राति नौ बजे नै उत्तानो पल्टेर मैले रेडियोलाई बिरालोझैँ छातीमाथि राखेँ । भावसुमन सुरु भयो । सुरुमै चितवनतिरका श्रोताको गजल वाचन भयो । अनि हिन्दी गजल बज्यो । दोस्रो गजल वाचनमा झापाका श्रोता परे । म छट्पटिन थालेँ । मेरो त पालो आउँदैन कि के हो ? कार्यक्रम सुरु हुँदा बेस्मारी धड्केको मेरो मुटु, बिस्तारै धड्किनै बन्द होलाजस्तै भयो । कार्यक्रम अन्तिमतिर पुग्दा मूच्र्छै पर्छु कि जस्तो भयो । मेरो आत्माको बार्दली ह्वात्त तल खसिसकेको थियो । मैले आस मारेँ । हृदय भन्थ्यो- अर्को हप्ता आउला कि ? दिमाग भन्थ्यो- आउँदैन, कहिल्यै आउँदैन ।

कार्यक्रम सञ्चालिका दीक्षाले कार्यक्रमको अन्तिममा भनिन्, ‘हवस् त आजको कार्यक्रम यहीँ सकिन्छ । तर जाँदाजाँदै प्रस्तुत छ – ‘खाँडाचक्र, मान्म-५, कालीकोटका श्रोता बुद्धिसागर चपाईले पठाउनुभएको गजल ।’

यसपछि मेरा कान पानी भरिएझैँ बन्द भए । सासै रोकिएलाजस्तो भो । कताकता पेट हुँडुलिएजस्तै भो । मलाई के गरूँ के गरूँ भयो । दीक्षा मेरो गजल वाचन गरिरहेकी थिइन् । मेरो मुटु छाती च्यातेर बाहिर निस्क्यँुलाझैँ गरिरहेको थियो ।

म चेत गुमिसकेको मान्छेझैँ टोलाइरहेँ । कार्यक्रम सक्किसकेको थियो । निद्रा लागे पो । पिसाब लागे लागेजस्तो भो । म अँध्यारोमा एक्लै खिस्स-खिस्स हाँस्न थालेँ ।

बाटो परिवर्तन गर्न यसै पल, जीवनको हवाइजहाजले कोल्टे फेरिसकेको थियो ।

(श्रोत :- कोशेली – कान्तिपुर प्रकाशित मिति: २०६९ फाल्गुन )

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : म बाइक किन्दिनँ

~बुद्धिसागर~

आठ वर्षको उमेरमा साइकल चलाउन सिकेको मैले बाइक चलाउने आँट गर्न सकिनँ। २० वर्षको उमेरमा बाइकमाथि बसेर ५० वर्षको उमेरमा पनि नओर्लेकाहरू भन्छन्, ‘साइकल चलाउन सक्नेले बाइक मज्जाले चलाउन सक्छ।’
सत्य हो। एकपल्ट सुर्खेतमा मैले दाइको बाइक चलाएको थिएँ। कोसिस गरेको भए म लाइसेन्स पनि लिन्थेँ होला। काठमान्डुका थोत्रा सडकमा कुदाउँथे होला। ब्लु बुक र लाइसेन्सको विषयमा ट्राफिकसित झगडा गर्थें हुँला। बाइक जहीँतहीँ बिग्रन्छ भनेर पर्सको भित्री जेबमा पाँचसयको नोट राख्थेँ हुँला। जाम भएको बेला पेटीपेटी कुदाउँथेँ हुँला। कुदिरहेका ठुल्ठुला गाडीको बीचको सानो स्पेसबाट फुत्त बाइक अगाडि हुत्ताउँथेँ हुँला। घन्टौंदेखि पेट्रोलको लाइनमा उँघिरहन्थेँ हुँला।

तर खोइ! जब-जब म बाइकको आवश्यकता बोध गर्छु, बाइक किन्ने मनसाय बनाउँछु, कुनै न कुनै घटना भइहाल्छ।
दुई वर्षअघिको कुरा। साथी उमेश खतिवडासित म अफिस सुन्धारा आइरहेको थिएँ। चर्को घाम थियो। लुखुर-लुखुर हिँड्नुपर्दा मन बोझिल पनि भएको थियो। म सोचिरहेको थिएँ, यदि बाइक भएको भए सर्टभित्र बतास कोचेर कुद्न पाइन्थ्यो। उमेश पनि मलाई बाइक किन्न उक्साइरहेका थिए। सायद, मेरो बाइक भएको भए, उनी पछिल्लो सिटमा टुसुक्क बसेर अफिस आउन पाउँदा हुन्।
हामी सिंहदबारको फराकिलो पेटी हुँदै भद्रकालीतिर बढिरहेका थियौं। थोरै गाडी थिए, सडकमा। तर ती बेस्मारी हुइँकिइरहेका थिए। म बाइककै कुरा गर्दै सडकतिर हेर्दै हिँडिरहेको थिएँ। एउटा बाइक हुइँकिदै आइरहेको थियो। पछिपछि टाटा मोबाइल। अचानक पछाडिबाट हुत्तिएर आएको टाटा मोबाइलले बाइकको पुच्छरमा सिङ जोत्यो। हावा खुस्किएको गुब्वाराझैं बाइक उछिट्टियो। र, बाइकसँगै चालक उछिटिए। बाइक त सडकमै खस्यो तर चालक हुत्तिएर सडकको किनारमा राखिएको सिमेन्टको ठूलो गमलामा ठोक्किए।
मैले पहिलोपल्ट गाडीले यसरी बाइक हिर्काएको देखेको थिएँ। मेरा हातगोडा लुला भए। टाटा मोबाइल घाइतेलाई उठाउनको सट्टा भाग्नलाई मोडिन थाल्यो। त्यही बेला सिटी बजाउँदै ट्राफिक प्रहरी आइपुग्यो। बल्ल टाटा मोबाइलबाट ड्राइभर र दुई सहयोगी निस्के। र, घाइतेतिर दगुरे। हामी पनि दगुर्‍यौं। घाइते भुइँमा लतारिइरहेका थिए। मानिसहरू उनलाई बसाल्ने कोसिस गरिरहेका थिए। घाइतेको मुख बन्द थियो। कसेर बाँधिएको हेलमेटको चेपबाट रगतको धारा गालातिर खसिरहेको थियो।
‘कत्तिको चोट लाग्यो?’ ट्राफिक सोधिरहेको थियो।
घाइतेको मुख सिलाएझैं टम्म बन्द थियो। जब उनले मुख खोले- रगतको धारा र भाँचिएका दाँत भुइँमा खसे। र, उनी लल्याकलुलुक भए।
अघिअघि हिँडिरहेको बाइकलाई बेकाममा हिर्काएर भाग्न खोज्ने टाटा मोबाइलको ड्राइभर छेउमा निर्लज्ज उभिरहेको थियो।
मानिसको भीड बढेपछि उमेश र म अघि बढ्यौं। लामो मौनतापछि उमेशले मुख खोले, ‘भो यार, बाइक नकिन्नुस्।’

जब-जब म बाइक किन्ने रहर गर्छु, यस्ता घटना आइपर्छन्। मैले चिनेका बाइकवालामध्ये थोरै होलान्, जसको दुर्घटना भएको छैन। कहिले हात भाँचिन्छ त कहिले खुट्टा। अघिल्लो दिन मज्जाले बिदा भएकाहरू भोलिपल्ट हातमा पलास्टर र सुन्निएको गाला लिएर आइपुग्छन्।
यस्सो हेर्दा लाग्छ- काठमान्डुमा बाइक चलाउनु भनेको जीवनलाई कालो पोलिथिनमा पोको पारेर बाइककै हेन्डिलमा झुन्ड्याउँदै हिँड्नुजस्तै हो। काठमान्डुका सडकमा बाइकल चलाउनु भनेको एकदमै ‘रिस्की गेम’ हो। तैपनि काठमान्डुमा सबैभन्दा सजिलो बाहन बाइक नै भएको छ। र, अधिकांश मानिस बाइकमै यात्रा गर्छन्। यदि काठमान्डुका आकाशे पुलमा उभेर सडकमा हेर्ने हो भने बाइकको समुद्र नै देखिन्छ र बाइक एकले अर्कालाई लखेटेजस्ता देखिन्छन्।
काठमान्डु हतारको सहर भइसकेको छ। काठमान्डुबासीलाई कत्ति हतार छ? त्यो जान्न बाइकवालालाई हेर्नुस्। ट्राफिक जाममा सुद्ध बाइकहरू रोकिँदैनन्। ती पेटीपेटी दगुर्छन् र आफ्नो भागमा पेटी परेका पैदलयात्रुको बाटो हडप्छन्। पेटीमै पनि हर्न बजाइदिन्छन्। मलाई लाग्छ- काठमान्डुका पेटीमा हिँड्ने अधिकांश यात्रु केही न केही कुराको झोँकमा हुन्छन्। पहिलो झोँक आफू पैदल यात्रु हुनुपरेकोमा। दोस्रो बेरोजगार होला, तेस्रो अस्वस्थता होला, चौथो बढ्दै गएको मोटोपनको चिन्ता होला, पाँचौं सार्वजनिक यातायातमा झुन्डिएर हिँड्न मन नलागेकोले होला। एकाध रहरले हिँड्ने होलान्। काठमान्डुका सडकमा कहीँकतै मात्र पेटी छन्। र, तिनको तीनचौथाइ भाग फुटपाथका पसलले अतिक्रमण गरिसके। एकचौथाइ बाटोमा अनेक तनाव लिएर हिँडिरहेका बेला पछाडिबाट हर्न बजाउँदै आउने बाइकसित कसलाई रिस उठ्दैन?
एकमित्रले एकपल्ट भनेका थिए, ‘म गोजीमा पैसा नभएको झोँकमा पेटीपेटी हिँडिरहेको थिएँ। एउटा बाइकवालाले पछाडिबाट हर्न बजायो। मेरो दिमाग फनक्कै घुम्यो। मैले बाइकवालाको हेल्मेटमा मुड्की बजारँे। पछि आफ्नै हात दुख्यो।’
काठमान्डुमा बाइक चलाउनु धेरैसित दुश्मनी मोल्नु हो। ट्याक्सी ड्राइभर आफ्नो सबैभन्दा ठूलो दुश्मन बाइकलाई ठान्छन्। र, चारपांग्रे गाडीका सबै चालक काठमान्डुको जाम केवल बाइकवालाको योगदान हो भनिहाल्छन्। आरोप छ- यस्सो सानोतिनो जाम के सुरु भएको हुन्छ, बाइक चेपचेपबाट छिर्छन् र पाँच मिनेटको जामलाई आधा घन्टाको बनाइदिन्छन्। मलाई केही हदसम्म यो कुरा सत्य लाग्छ। काठमान्डुका बाइकमा ब्रेक नै हुँदैनजस्तो ती कुदिरहन्छन्। तीस सेकेन्ड पनि कुर्दैनन्।
कुदिरहेका बाइक हेर्दा लाग्छ- पछाडिबाट पृथ्वी भत्किँदै आइरहेको छ र ती ज्यान जोगाउन भागिरहेका छन्।
र, बाइकको हतार देखेर चारपांग्रेहरू कराइहाल्छन्, ‘सालेलाई कालले लखेटिरहेको छ।’
आफंैले बाइक चलाउन नसके पनि म कहिलेकाहीँ संयोग पर्दा बाइकको पछिल्लो सिटको यात्रु भएको छु। र, एकाध बाइकमा मात्र सन्तोषको यात्रा गरेको छु। नत्र अधिकांश बाइक-चालकको हाँक्ने तरिका देखेर कहिले उत्रिऊँजस्तो हुन्छ। मैले भेटेका प्रायः बाइक चालकको एउटै मनोविज्ञान पाएको छु। जब बाइकको तीव्र रफ्तार देखेर डराउँदै ‘स्पिड स्लो गर, डर लाग्यो’ भन्छु, कुनै पनि बाइकको स्पिड स्लो हुँदैन। बाइक चालक झन् स्पिड बढाएर मज्जा लिन्छन्।
झन् पछाडि लपक्कै टाँसिएर बसेकी युवती भएपछि त बाइकको रवाफै अर्को। ती काठमान्डुको थोत्रो सडकमा बाइक कुदाउँदैनन्, रकेट उठाउँछन्।
र, पैदलयात्रु र चारपांग्रेको श्राप खान्छन्।

बाइकवालाका पनि आफ्नै दुख्ख छन्। थोरै बाइकवाला मात्र बाइक चढेकोमा खुसी होलान्। धेरै ‘नकिनी नहुने भएको भएर मात्र किनेको’ भनेर बर्बराइरहन्छन्। बर्षोसम्म बाइक हाँक्दा सिधै असर कम्मरमा पर्दोरैछ। जाडोमा बाइक हाँक्दा स्याँठ सिधै घुँडा र छातीमा पर्दोरैछ। भुक्तभोगी भन्छन्, ‘बाइक चलाउँदाको असर ४५ वर्ष नाघेपछि देखिन्छ।’
बतासको कालो धुवाँ, धुलो खाँदै दिनभर कुदिरहनु सास्ती नै हो। तर, काठमान्डुमा डेरा भाडा तिर्न, भात खान र छोराछोरीलाई पढाउन बाइकवालाले काठमान्डुका सडकमा नकुदी सुख्ख छैन। ठाउँ-कुठाउँ आकाशलाई पखाला लागेजसरी ह्वात्त खस्ने झरी बाइकवालाको दुश्मन नै हो। चाबहिलमा लुछुप्पै भिजेर पुतलीसडक पुग्दा चर्को घाम लागेको हुन्छ। लामो जाम जब खुल्छ, त्यै बेला बाइक स्टार्ट हुँदैन। असिनपसिन हुँदै किक हानिरह्यो, पछाडिको गाडीको लस्करको गाली खायो। र, ङच्च हाँस्दै बाइक लतार्‍यो। दिनभरिलाई मुड अफ।
बल्लतल्ल किनेको बाइक एक वर्ष भाको छैन, अलिकति उकालो चढ्यो कि घोडाझैं हिन्हिनाउन थालिहाल्छ। रुन्चे अनुहार लाएर वर्कसप गयो, कम्तिमा पाँच सय डाढिहाल्छ। बाइक किनेपछि पहिलो दिनमै पर्सको चेपगोजीमा पाँचसयको नोट पट्याएर राखिहाल्नुपर्छ। ममः खान मन लाग्छ- तर ज्यान गए, पाँचसयको छुट्टा गर्नु हुँदैन। मट्टितेल मिसिएको पेट्रोलले कम्तिमा सातपल्ट गधाझैं नहाँसी बाइक स्टार्ट हुँदैन। पछिपछि त त्यस्ले धुवाँको ठूलो मुस्लै फाल्छ। धुवाँको मुस्लो फाल्दै कुद्यो भने समाजको बदनाम मान्छेझैं छिछि, दुरदुर भइहालिन्छ।
जेनतेन बाइक कुदाइरह्यो। ठाउँ कुठाउँ ट्राफिकले हात ठड्याउँछ। अनेकथरी गल्ती खोज्छ र चिट काट्छ। दाह्रा किट्नैपर्छ। एडुकेसन बुक हाउसका रमन राउतले एकपल्ट अमिलो मुख लाउँदै भनेका थिए, ‘हेर्नुस् दाइ, हिजो म पसलबाट घर फर्किरहेको थिएँ। थापाथली चोकमा चेकिङ रैछ। ट्राफिक्नीले बाटो रोकी र ब्लु बुक मागी। साउको बाइक, मसित फोटोकपी मात्र थियो। ट्राफिक्नीले ओरजिनल ब्लुबुक मागी। मैले भनेँ- यो साउको बाइक हो, ओरजिनल उहाँसितै हुन्छ। म त कामदार, फोटोकपी मात्रै छ। अनि दाइ, त्यसले मलाई रद्दी गाली गर्दै भनी- आफैं बाइक किन्न सकिनस्?’
रमनको भनाइ थियो- किन्न सक्ने भए त कालो सिसा भएको गाडी नै किन्दो हुँ, त्यसले स्यालुट पनि गर्दी हो।’
बाइकवालाका दुख्ख।
ट्राफिकसित झगडा गर्दै जेनतेन बाइक कुदाइरह्यो। एकठाउँ रोकेर राखेको बाइक फर्किंदा भेटिँदैन। चोरले कति बेला हेन्डिल लक सुद्ध खोलेर कुदाइसकेछ। प्रहरीमा निवेदन दियो, बस्यो। बाइक फेरि कहिल्यै भेटिँदैन। बाइकवालाहरू भन्छन्, ‘काठमान्डुमा प्रेमिका बनाउनुभन्दा बाइक किन्न गाह्रो छ। बाइक नभई प्रेमिका हुँदैनन्।’
कत्ति दुख्ख गरेर किनेको बाइक गयो। बाइकवालाहरू प्रेमिकाले छाडेर गएभन्दा बढी उदास हुन्छन्। फेसबुकमा ‘मेरो बाइक हरायो’ भनेर लेख्यो। सैयौं ‘समवेदना’ आउँछन्। कसैकसैले त ‘लाइक’ पनि गरिदिन्छन्। यता उदास भयो, उता बाइक भारत पुगिसकेको हुन्छ।
मेरा एकजना मित्र यदुनाथ बञ्जाराले ५८ सालतिर पत्रिकामा रिपोर्टिङ गरेका थिए- बाइक चोरीबारे। बाइक चोर्नेहरूको समूहमा कम्तीमा ३ जना हुँदा रैछन्। जब बाइक पार्किङ हुन्छ, पहिलो बाइककै छेउमा बस्छ। दोस्रो छेउछाउका मानिस नियालिरहन्छ। र, तेस्रो बाइकवालाका पछि लाग्छ। बाइकवाला फर्किन लाग्यो भने उसले सिटी बजाउँछ या त जनाउ दिन कुनै न कुनै इसारा गर्छ। अनि, उनीहरू आफ्नैझैं मज्जाले बाइक कुदाउँछन् र लैजान्छन्। र, चोरिएका कति बाइक सग्लै भारत पुग्छन् भने कतिका मोटर मात्र। र, बाइकको मोटर बिहारतिर पानी निकाल्ने पम्प बनाइन्छ।
यदुनाथको रिपोर्टिङको राम्रै चर्चा भएको थियो। तर, त्यसको तीन दिनपछि उनकै बाइक हरायो।

बाइक काठमान्डुका मध्यवर्गीय मानिसको बहान हो। र, सानोतिनो वैभव पनि। अगाडि सानी छोरी र पछाडि श्रीमती बोकेर कहिलेकाहीँ नगरकोटको लोकल कुखुरा र ककनीमा ट्राउट माछा खान हिँडेका बाइकवालाहरू जति खुसी पनि कोही लाग्दैन।
तर, त्यही बाइक चोरी भो भने? पीडा आफैं कल्पना गर्नुस्।
मेरो मौलिक धारणा यत्ति हो- अहिले विहारको जुन प्रगति भएको छ। त्यसमा काठमान्डुका बाइकवालाको पनि योगदान छ। किनभने, हाम्रै बाइकवालाको मोटरले गरिब किसानको खेत हराभरा भएको होला।
तर मलाई बिहारको प्रगतिमा कुनै योगदान दिनु छैन, त्यसैले बाइक किन्दिनँ।

(श्रोत :- Writer’s Facebook Page )

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : आँसुको बिजनेस

~बुद्धिसागर~

हृदयको सुख्खा मैदानको माथिपट्ट िउदासीको एक टुक्रा बादल देखापरेको थियो । लामो समय खडेरी भोगेको किसानझैं, म ट्वाल्ल परेर बादल बर्सने प्रतीक्षामा थिएँ ।

मेरा आँखा पिरा भइसकेका थिए । मेरी श्रीमती पटक-पटक कौतूहलपूर्वक मेरा आँखामा हेरिरहेकी थिइन् ।

किराना पसलेले उनलाई एक हप्ताको समय दिएर पाँच किलो चामल र केही तरकारी उधारो दिएको थियो । भर्खरै जन्मेको राजबहादुर उनका दूध खाएर अघाउँथेन । उसका लागि भनेरै दैनिक एक पोका दूधको भार थपिएको थियो ।

मेरो जागिर चट् भइसकेको थियो । मेरो काम १० बजेदेखि ४ बजेसम्म आँसु एक्सपोर्टमा गएर रुने थियो । मसित ४५ जना अरू पनि थिए । कोही जनयुद्धपीडित, कोही अभावले पीडित त कोही आफ्नै सन्तानले पीडित । हामी अँध्यारो कोठामा बसेर आफ्ना पीडा सम्भि“mदै रुन्थ्यौं । कम्पनीले दिएको सलाईको जस्तै ‘आँसु संग्रह’को पित्तलको बट्टामा आँसु खसाल्थ्यौं । जसले आँसुको टेम्पेचर ठीक बनाइराख्थ्यो । आँसु दर्ता गथ्र्यो र फर्किन्थ्र्यो । जब कसैको आँखाबाट आँसु निस्किन छाड्थ्यो, कम्पनीले अवकाशपत्र थमाउँथ्यो । मलाई लाग्थ्यो, आँसु त हो नि जति पनि आइहाल्छ । तर, म गलत रहेछु । एक दिन मेरा आँखाबाट पनि आँसु तप्किन छाडे । हप्ता पन्ध्र दिनमा मात्र तप्किन्थे । आँसु तप्किन छाडेपछि, ‘आँसु एक्सपोर्ट’ कम्पनीले मेरो हातमा अवकाशपत्र थमाइदिएको थियो ।

म बेरोजगार भएको थिएँ ।

मेरी श्रीमतीले पनि त सप्पै आँसु बेचिसकेकि थिइन् । मलाई थाहै नदिई पनि बेचेकी थिइन् । अहिले त आँसु निकाल्न खोज्यो कि उनका आँखा सुनिन्छन् । धमिलो देख्छु भन्छिन् ।

अस्ति भर्खरै ससुराली जाँदा ससुराले मरेको आवाजमा भनेका थिए, ‘ज्वाइँ साप, तपैले त मेरी छोरीका सप्पै आँसु बेचेर खानुभएछ ।’ मेरो आधा मुटु त्यही क्षण आधा ढुंगा भएको थियो । अभावले घाँटी अठ्याउन थालेपछि, हामीले दैनिक खाद्यान्नको लिस्ट छोट्याएका थियौं ।

मैले भनें, ‘मैले सुनेको, दूध चियाले ग्यास्टिक बढाउँछ रे !’

‘ए त्यै भएर होला, दूध चिया पियो कि मेरो पेट ढुस्स हुन्थ्यो,’ श्रीमतीले शिर हल्लाउँदै भनिन्, ‘ग्यास्टिकले रैछ । भो अब दूध चिया नपिऊ है ।’ दूध चिया सहिद भयो ।

मेरी श्रीमती दूध चिया पिएर हुर्केकी थिइन् । दूध चियाको लती पनि थिइन् । उनले सजिलै दूध चिया आफ्नो दैनिकीबाट हटाइन् । यसरी हामी कारण खोज्थ्यांै र हरेक दिन केही न केही कुरा दैनिक जीवनबाट हटाउँथ्यौं ।

खानाको लिस्ट छोट्याउँदा छोट्याउँदै बिहान खायो, साँझको चिन्ता । साँझ खायो, बिहानको चिन्ता हुन थालिसकेको थियो । हुँदाहुँदा मलाई होस् या मेरी श्रीमतीलाई पसलमा देख्यो कि मोटो पावरदार चस्मा लगाएको साहुजीले अमिलो अनुहार लगाउन थालिसकेको थियो ।

हामीलाई कहिलेकाहीं नाबालक सन्तान राजबहादुरको आशा लाग्थ्यो । एक दिन ऊ पनि पीडाले रुनेछ । र, उसको आँसुबाट पनि पैसा आउनेछ ।

‘आज पनि तपैको आँसु झरेन भने बर्बादै हुन्छ,’ श्रीमतीले भनी ।

‘चिन्ता नगर । मेरो हृदय बटारिन थालिसकेको छ । साँझसम्म आँसु र्झछ, र्झछ,’ मैले उनलाई सान्त्वना दिएँ ।

‘पानी कम खाएर हो कि आँसु नआएको ?’ श्रीमतीले भनिन्, ‘एक गिलास पानी ल्याइदिम् ?’

मैले मुन्टो हल्ल्ााएँ । मलाई यस्ता कुरामा विश्वास लाग्दैनथ्यो, तर जीवन उधो गतिमा लागिसकेपछि सप्पैसप्पै कुराको विश्वास लाग्दो रैछ ।

श्रीमतीले पानी ल्याइन् । एकै सासमा पिउँदै भनें, ‘मलाई एक्लै छाडिदेऊ । म फेरि कोसिस गर्छु ।’

श्रीमती पलङको छेउमा निदाइरहेको राजबहादुरलाई पछ्यौरा ओढाएर बाहिर निस्किइन् । झ्यालको अलिकति उघ्रेको पर्दाबाट मसिनो घामको धारभित्र पसिरहेको थियो । पर्दा टमक्क लगाएँ । पलङछेउ धुम्धुम्ती बसें । सुस्केरा काढें । र, अतीतको घना जंगलमा पसें ।

भोकभोकै काठमान्डुका गल्लीहरूमा रन्थनिएको सम्झें । कोखा चस्किँदा एउटा बु्रसेट किन्ने दुई रुपैयाँ नहुँदा सिरकको छेउलाले कोखा बाँधेर सुतेको सम्झें । दुवै मृगौला बिग्रेर अँगारझैं काला भएर बितेका बाबु सम्झें । गाउँमा मेरै बाटो हेरेर बसेकी बूढी आमै सम्झें । नौ महिनाअघि आफ्नो अन्तिम आँसु पठाइदिएकी थिइन् । मैले ११ सय ३६ रुपैयाँमा बेचेको थिएँ । अहिले त उनका आँसुका नशा सुकिसकेका छन् ।

म यस्तो सन्तान थिएँ, जसले आमाका आँसुहरू पनि बेचिसकेको थिएँ ।

मैले ती सारा स्मृतिहरू सम्झें, जसले मलाई एकान्तमा रुवाउँथे । बर्बरी आँसु खस्थे ।

मैले त सारा स्मृतिका आँसुहरू सस्तो मूल्यमा बेचिसकेको रैछु । अब त मसित आँसु झर्ने स्मृतिहरू पनि बाँकी रैनछन् ।

‘आँसु एक्सपोर्ट’ कम्पनीको अँध्यारो कोठामा बसेर मैले सारा स्मृतिहरूबाट आँसु निचोरिसकेछु ।

म त साह्रै गरिब भइसकेछु ।

हृदय फेरि बटारियो । आँखाहरू भत्भताए । आँखाका कुनाहरू चिसिएजस्तो भो । म भक्कानिएँ, मसित अब बेच्नलाई एक थोपा आँसु पनि छैन ।

अचानक माकुराको जालमा अल्भिmएको पानीको थोपा बिस्तारै तन्किँदै भुइँतिर खस्न लागेझैं एउटा आँसुको थोपा मेरा आँखामा देखा पर्‍यो । मैले हतारहतार ‘आँसु संग्रह’को बट्टा आँखा नजिक लगें । खुसीले मेरा हातहरू बिस्तारै काँपिरहेका थिए ।

कमिलाले मरेको पुतलीलाई जोड लगाएर धेकेलेझैं, मेरो हृदयले आँसुको डल्लो धकेल्न थाल्यो । आँसुको डल्लो आँखाको डिलमा आयो । फुत्त बट्टामा खस्यो । मैले बट्टा बन्द गरें । जुरुक्क उठें ।

मैले बट्टालाई सिरानमुन्तिर जतनसाथ राखें । र, दैलो उघारें ।

एकैछिनमा श्रीमती देखापरिन् र सोधिन्, ‘भयो ?’

मैले नाकबाट बगेको पातलो सिंगान पाखुराले पुछें । मुस्कुराएँ, ‘भयो । यसपालि त नम्बरी आँसु नै झरेजस्तो छ ।’

‘टियर्स बिजनेस’को ठूलो ढोकाबाट भित्र पसें । हुन त, काठमान्डुमा आँसु खरिद गर्ने कैयौं कम्पनी खुलेका थिए । म आफैंले काम गरेको आँसु एक्सपोर्ट पनि थियो । तर, मलाई विश्वास टियर्स बिजनेसकै लाग्थ्यो । मालअनुसारको दाम पाइन्थ्यो ।

रिसेप्सनमा सुख्खका आँसु मात्रै झर्लान् जस्ती कल्कलाउँदी युवती उभेकी थिई । उसको ठीक पछाडि भित्तामा ठूलो पोस्टर टाँसिएको थियो । पोस्टरमा अंग्रेजी फिल्मकी हिरोइन मुस्कुराइरहेकी थिई । उसका कानमा टलक्क टल्किएका झुम्काहरू थिए । पोस्टरमा देवनागरी लिपिमा लेखिएको थियो, ‘नेपाली महिला शान्तिमायाका आँसुबाट बनेका झुम्काहरू ।’

त्यसकै छेउमा पत्रिकाको न्युज कटिङ् ठूलो बनाएर टाँसिएको थियो । मैले हतारमा पढ्दा थाहा पाएँ- नेपाली आँसुको माग संसारभरि रैछ । नेपाली आँसुबाट झुम्का, घडीका सुई, दाँतमा चमक ल्याउने पेस्ट, औंठी के के बन्दो रैछ, के के । हलिउडकी हिरोइनले झुम्का लागइदिएपछि, शान्तिमायाका आँसुहरूको माग असाध्यै बढेको छ रे ।

आँसु हुन् त शान्तिमायाको जस्तो ।

‘के ट्वाल्ल परेर हेरिरहेको ?’ रिसेप्सनमा बसेकी केटीले चिट दिंदै भनी, ‘ल्याबमा गुणस्तर देखाउनुस् ।’

म छत्तीस नम्बरमा परेछु ।

अफिसमा भीडभाड थियो । मानिसहरू आँसु राखेको बट्टा बोकेर यताउता दगुरिरहेका थिए । कोही आँसुको पैसा कुनामा बसेर गनिरहेका थिए । कोही कुनाका कुर्सीमा बसेर बट्टामा आँसु झार्ने कोसिस गरिरहेका थिए । म भीड छल्दै गुणस्तर मापन शाखाको झ्यालमा पुगें । लामो लाइनको पछिल्तिर गाँसिएँ ।

मेरो अघि दुब्लो मानिस उभेको थियो । उसका कपालले कानलाई छोपेका थिए । मैलो सर्ट लगाएको थियो । गोडामा चप्पल । आँसुको बट्टा समाइरहेका उसका हात काँपिरहेका थिए । उसले पछाडि फर्केर मलाई हेर्‍यो । मैले पनि हाँसेजस्तो गरें ।

‘दुख्खको आँसु ल्याउनु भा कि सुख्खको ?’ उसले सोध्यो ।

‘दुख्खको,’ म हाँसें ।

‘मेरो पनि दुख्खकै हो,’ ऊ पनि हाँस्यो, ‘सुख्खको आँसु त सपनै भो । एकपल्ट सुख्खको आँसु झरेको भए, टन्टै साफ हुन्थ्यो ।’

मैले मुन्टो हल्लाएँ ।

‘अस्ति मेरी घरबेटी बूढीले अमि्रकाको नातिसित फोनमा कुरा गरिछन् । सुख्खको आँसु खसिहालेछ । बेचिछन् र हातभरि पैसाको मुठो बोकेर आइथिन्,’ उसले अलिकति अगाडि सर्दै भन्यो, ‘सुख्खको आँसु त धनीलाई मात्रै आउने है ।’

म आधा ओठ हाँसें ।

‘आफ्नो त आँसु नै आउन छाडेको छ,’ उसले अमिलो अनुहार बनाउँदै भन्यो, ‘हिजो कब्जियतको रोगी कनेझैं कन्दाकन्दा एउटा थोपो झर्‍यो । डाक्टरले पनि अब धेरै आँसु नझार्नु, आँखालाई असर गर्छ । यस्तै पारा हो भने अन्धो नै हौला भनिसकेको छ । क्यार्नु, आँसु नबेची खानै पुग्दैन ।’

म चुप रहें । म पनि आँसु बेचेरै खाइरहेछु ।

आँसुको बिजनेस सुरु भएको केवल १० वर्ष त भएको छ नि । १० वर्षमा मैले जीवनकालभरिको आँसु बेचिसकेको छु । भविष्यमा साँच्चिकै रुनुपर्‍यो भने मसित आँसु हुने छैनन् । म बुच्चो रुनेछु ।

लाइन सर्दै गयो । मेरो अघि उभिएको दुब्लो मान्छेले सिसाको झ्यालको सानो प्वालमा आँसुको बट्टा छिरायो । एकैछिनमा उसको हातमा रसिद थियो । उसले हतारहतार पढ्यो । उसको अनुहार कालोनिलो भयो । ऊ करायो, ‘मेरा आँसु असली हुन् । नम्बरी हुन् । १६ क्यारेटको लेख्दिनी ?’

‘कनेर निकाले हो अँासु । काँबाट नम्बरी हुन्छ ?’ भित्रबाट आवाज आयो ।

‘माँसाला ठग्नी ?’ ऊ करायो, ‘म मेरा आँसु चिन्दिनँ ?’

उसको हल्लाखल्ला सुनेर दुई बलिष्ठ गार्ड आए । उसको पाखुरा समातेर लतार्दै लगे । ट्वाल्ल परेर हेरिरहेका मानिसहरू फेरि चल्मलाए । मैले सिसाको प्वालबाट बट्टा छिराएँ ।

मुखमा हरियो मास्क र टाउकोमा हरियो टोपी लगाएको मानिसले बट्टा समायो । मैले प्वालबाट देखें, भित्र ठूलै प्रयोगशाला थियो । सिसाका टल्किरहेका भाँडाहरू थिए । कुनै जगजस्ता । कुनै हुक्काजस्ता । कुनै पाइपजस्ता ।

उसले आँसुको थोपा हुक्काजस्तो भाँडामा राख्यो । त्यहाँबाट निलो धूवाँ निस्कियो । त्यसपछि उसले कलमजस्तो सिसाको टुक्रा हुक्काजस्तो भाँडामा राख्यो । एकछिनमा बाहिर निकाल्यो । सिसाको टुक्रा आँखा नजिक लगेर नियाल्यो । ठ्याक्कै, डाक्टरले ज्वरो नापेजस्तो ।

उसले शिर हल्लायो । र, टेबुलको रसिदमा कलम दगुरायो । मेरो आँसु पास भयो । प्याज काट्दा निक्लेका आँसु यहाँ पास हुँदैनन् । उसले र्फम मतिर र मेरो आँसु राखेको हुक्काजस्तो भाँडा भित्रतिर बढायो ।

मैले रसिद हातमा आउनेबित्तिकै हतारिँदै पढे । त्यहाँ लेखिएको थियो- शुद्ध आँसु । चौबीस क्यारेट ।

आज आँसुको रेट के छ ? म सूचना टाँसिएतिर दगुरेझैं हिँडे । भित्तामा ३२ इन्चको टीभी टाँसिएको थियो । त्यहाँ, एयरपोर्टमा छुट्ने प्लेनका नाम लेखेझैं, विभिन्न नाम र रेट डिस्प्ले भइरहेका थिए । मानिसको घुइँचो थियो । म मानिसको भीड ठेल्दै अघि बढे र पढ्न थालें ।

खुसीको आँसुको भाउ बढेको रैछ ।

चौबीस क्यारेटको भाउ उस्तै रैछ ।

बाइस क्यारेटको भाउ घटेछ ।

प्याज काटेर निस्केको आँसु अझैं ब्यान्ड रैछ ।

ठूल्ठूला अक्षरमा विशेष सूचना थपिएको थियोे, संविधान बनेन भनेर रोएका सभासदका आँसुहरू ब्यान्ड गरिएको छ । ती मूल्यहीन आँसु हुन् । म भीडबाट बाहिर निस्कें ।

क्यास काउन्टरतिर बढ्नै लागेको थिएँ, कसैले हात च्याप्प समायो । लेखक चिन्तक उदास पो रहेछ । घ्याम्पोजस्तो भुँडी निस्किएको । सर्टको पाकेटमा लहरै रातो, हरियो र निलो डट्पेन राखेको । मलाई आफ्नो कथा भन् किताब लेख्छु भनेर हैरान पार्छ । म जहिले आउँछु, उसलाई यतै देख्छु । उसले देख्ला कि भनेर डराउँछु । देखिहालेछ ।

‘भाइ, धेरैपछि रोयौ कि के हो ?’ उसले मेरो हात समात्दै कुनातिर लग्यो ।

‘हजुर,’ म हाँसें ।

‘अनि तिम्रो कथा कहिले सुनाउने ?’ सोधिहाल्यो ।

‘सुनाउँला नि सर, कुनै दिन ।’

‘त्यसो नभन भाइ, मलाई तुरुन्तै कथा सुनाऊ । म फटाफट लेखेर छापिहाल्छु,’ चिन्तक उदासले मेरो दायाँ काँध सुम्सुम्याउँदै भन्यो, ‘किताबमा सूचना पनि हाल्छु, यो किताबले तपाईंलाई यत्ति धेरै रुवाउनेछ कि आँसु बेचेरै तपाईं लखपति हुनुहुनेछ ।’

‘मेरो कथा पढ्दै अरू रोएर मलाई के ?’ म बिच्किएँ, ‘म आफैं रुन सकिरहेको छैन ।’

चिन्तक उदास गम्भीर भयो । मैले कुरा मोड्न सोधें, ‘अनि तपैंचैं कति रुन सकेको ? म जहिले पनि आँसु बेचिरहेकै देख्छु ।’

‘म त दिनदिनै रुन्छु भाइ ।’

‘साह्रै पीडा छ हो तपाईंसित ?’

‘छ नि । बाईसवटा किताब निकाले, कतै कुनै चर्चा छैन, रोको रोयै गर्छु ।’ उसले मलीन अनुहार लाउँदै भन्यो, ‘अस्ति मिडियाले साह्रै हेप्यो भनेर रोएँ । हिजो नयाँ लेखकको चर्चा भएको सुनें, रोएँ । म दिनदिनै रुन्छु भाइ ।’

बोल्दाबोल्दै चिन्तक उदासका आँखा टिल्पिलाए । कति सजिलै आँसु आएका ? उसले हतारहतार बट्टा आँखा नजिक लग्यो । उसका आँसु तप्किनै लागेका थिए, म सुत्त भागें ।

क्यास काउन्टर अगाडि भीड थियो । म थपिएँ । मानिसहरू रसिदसहितको हात काउन्टरभित्र पसाउँथे । बाहिर निकाल्दा हातभरि पैसा हुन्थ्यो ।

लाइन चिप्लेकीराको गतिमा अघि बढिरहेको थियो । मेरा अघिल्तिर दुई मानिस मन्द गतिमा कुरा गरिरहेका थिए ।

‘तीन महिनाअघि मेरैअघि आँसु बेचेर गको थियो एकजना । अस्ति पत्रिका हेरेको त उसैको फोटो देखें । उसका आँसुले त घडीका सुई बनेछन् । र, त्यै घडी कम्युनिस्ट नेता टुकारामले किनेछ । अझ अन्तर्वार्तामा भनेछ, यो घडी लाएपछि मेरो टाइम ठीक चलिरहेको छ ।’ मेरो अघिल्तिर उभिनेले सुनाइरहेको थियो, ‘त्यसपछि त त्यो आँसु बेच्नेको चर्चैचर्चा । उसको आँसु किन्न कैयौं कम्पनी गाउँमै पुगेछन् । अगि्रम पैसा दिएछन् । बिचराले भनेजति आँसु निकाल्नै सकेनछ । कम्पनीले मुद्दा हालेछन् । बिचराको त उठिबासै भएछ ।’

‘है, आँसुलाई पनि लक नै चाहिने रैछ,’ अर्कोले च्व च्व गर्‍यो, ‘लक हुनेका आँसु काँ काँ पुगिसके । आफ्ना आँसु त मात्र बाइस क्यारेट ।’

‘के च्व च्व गरिरा, नारायणजी,’ पहिलोले भन्यो, ‘हाम्रा आँसुले त टुथपेस्ट बनेका छन् । त्यसैले माझेर त होला, नेताहरूका दाँत सेता भाका । हाहा ।’

‘ए नेता भन्दा पो याद आयो । अस्ति जुल्फी नेता टीभीमा रोएका थिए नि,’

‘त्यो आँसु बेचे र ?’

‘होइन, देशको नाममा डोनेसन दिएछन्,’ दोस्रोले भन्यो, ‘भनेछन्, एउटा श्रीपेच बनाउनू, अनि त्यसमा मेरो आँसु जडान गर्नू ।’

मलाई राजनीतिक कुरा मन परेन । ध्यान अन्ततिर मोडें । मानिसहरूलाई लाइन लाग्दा अल्छी नलागोस् भनेर काउन्टरको सोझैमाथि भित्तामा ठूलो टीभी जडान गरिएको थियो । त्यहाँ आँसुबाट बनेका गहनादेखि टुथपेस्टसम्मका विज्ञापन पालैपालो आइरहेका थिए । टुथपेस्टको विज्ञापनचैं एकैपल्टमा याद हुने खाले थियो ।

टुथपेस्टमा आँसु,

मुस्कान हुन्छ धाँसु,

केको लाज, के को धक

हाँस्नुस् मुसुमुसु ।

यी गहनादेखि टुथपेस्टसम्मका चिजहरू हामी आँसु बेच्नेहरूका लागि थिएनन् । ती त केवल आँसु खरिद गर्न सक्नेहरूका लागि मात्र थिए । कम्पनीहरू सस्तो मूल्यमा आँसु किनेर महँगोमा बेच्थे । सिंगापुर र अमेरिकातिर पठाउँथे ।

हामी काठमान्डुमा बस्नेहरू त आफ्नो आँसुको मूल्य ठीकठीकै पाउथ्यौं । तर, दुर्गम गाउँमा बस्नेहरू त खुबै ठगिएका थिए । आँसुका दलालहरू गाउँ गाउँ पुग्थे, एकदम सस्तो मूल्यमा गाउँभरिको आँसुको किन्थे र काठमान्डुमा महँगोमा बेच्थे । मेरै गाउँको रूपसागरले बेलैमा आँसुको बिजनेस चिन्यो, गाउँगाउँमा गएर आँसु किन्यो । अहिले उसको के छैन, घर, गाडी, बैंक ब्यालेन्स ।

काउन्टरमा मेरो पालो आयो । मैले रसिद देखाएँ । काउन्टरको मानिसले मेरो रसिद हेर्दै क्याल्कुलेटर थिच्न थाल्यो । एकैछिनमा क्याल्कुलेटरको लाम्चो स्त्रिmनमा देखियो, १९६२ । उसले मेरो हातमा १९ सय ६० रुपैयाँ र एउटा चुइगम थमायो ।

‘भित्र जान मिल्दैन,’ गार्ड कराइरहेको थियो ।

‘मेरो गर्दन छिनाले छिनाल । तैंले रोकेर रोकिन्नँ,’ दुब्लो कायाको मानिस कराइरहेको थियो । झुप्प दाह्री जुँगाधारी उसले थोत्रो कालो कोट र मैलो दौरा-सुरवाल लगाएको थियो । शिरमा ढाकाटोपी थियो, निधारनेर उधि्रएको । उसले पिठ्युँमा मैलो झोला बोकेको थियो । जुत्ताभरि धूलो जमेको थियो । कपडाको हो कि छालाको पत्तो पाइनँ । ऊ भित्र पस्न खोजिरहेको थियो । तर, गार्डले उसको पाखुरा समाइरहेको थियो ।

‘म त्यो रणेलाई नभेटी जान्नँ,’ त्यो मानिस कराइरहेको थियो । ‘ह्या कुनै रणेले काम गर्दैन भनेको,’ गार्ड कराइरहेको थियो, ‘कस्तो अटेरी हो ।’

गार्डले घिच्चाउँदै उसलाई ढोका बाहिर पछारिदियो । उसले पहिला पुठ्ठाले भुइँ टेक्यो, अनि घुच्चुकले । ऊ पछारिएको देखेर मसँगै ढोकाबाहिर निस्किएका मानिसहरू ऊतिर दगुरे ।

त्यो मानिस बिस्तारै उठ्यो । शरीरमा लागेको धूलो टक्टकायो । उसका अगाडि ‘टियर्स बिजनेस’को भीमकाय ढोकातिर हेर्दै प्याच्च थुक्यो र जोडले करायो, ‘एई रणे, हाम्रा आँसु फिर्ता दे ।’

उसको आवाज छेउछाउका ठूल्ठूला बिल्डिङमा ठोक्किँदै हरायो । र, ऊ बेस्मारी हिक्का छाडेर रोयो । मैले पहिलोपल्ट आँसुविहीन रुवाइ देखें । बुच्चो रुवाइ । उसको अनुहार सुकेको पातजस्तो थियो । उसका ओठ कानसम्म च्यातिएका थिए । निधार गाँठो परेको थियो ।

उसको नाम जुद्धबहादुर रैछ । पश्चिम नेपालको दुर्गम गाउँबाट आएको । रणेले काठमान्डुबाट गएर सारा गाउँलेका आँसुहरू जम्मा पारेछ । काठमान्डुमा लगेर बेच्यो भने टन्नै पैसा आउँछ भन्ने आस देखाएछ । जुद्धबहादुरलाई साक्षी बनाएर काठमान्डु ल्याएछ । सारा गाउँलेले जुद्धबहादुरको विश्वासमा आँसु पठाएका रैछन् । रुनुजति रोएर । रुँदारुँदै थाकेर ।

गाउँलेहरूलाई आशा थियो, जति रुनु छ, अहिले नै रोऊ, जुद्धबहादुर काठमान्डुबाट फर्केपछि, खुसी नै खुसी आउँछ ।

हिजो साँझ जुद्धबहादुर नयाँ बसपार्क आइपुगेका रैछन् । रणेले बसपार्क नजिकैको थोत्रो होटलमा राखेछ । राति कति मीठा मीठा कुरा गरेर सुतेका थिए उनीहरू । बिहान उठ्दा त छैन, रणे । र, छैन, जुद्धबहादुरको झोलामा जतनसाथ राखेको आँसु ।

हे दैव, रणे त सारा आँसु चोरेर भागेछ । रणे टियर्स बिजनेस पुगेको होला भनेर कसैले भनिदिएछ । उनी खोज्दैखोज्दै आइपुगेका रैछन् । उनी टियर्स बिजनेसको ढोकासम्म रोइरहे । कराइरहे । उनको आर्तनाद रणेले सुनेन, या सुनेर पनि आएन, थाहा छैन । रणेलाई कसैले चिनेको पनि छैन ।

हुन त, धेरैको आँसु चोरेर धेरै रणेहरूले काठमान्डुमा बंगला बनाएका छन् । ती आँसुहीन आर्तनाद सुन्दैनन् ।

‘म अब गाउँ कसरी जाऊँ ?’ जुद्धबहादुर रोइरहे, ‘मैले सारा गाउँको आँसु हराएँ । गाउँलेले मैले नै बेचेर खाएको ठान्नेछन् ।’

अब जुद्धबहादुरले रुँदै सप्पै कथा भने पनि, गाउँलेहरूले पत्याउने छैनन् । किनभने, उनीहरूलाई जुद्धबहादुरको रुवाइ झुठो लाग्नेछ । यदि साँच्चिकै रोएको हो भने उनका आँखामा आँसु खोइ त ?

पीडाको साक्षी केवल आँसु मात्र रहेछ ।

मेरो ज्यान थररर काँप्यो । म कोठातिर दगुरे । श्रीमती मलाई नै कुरेर बसेकी रैछन् । मलाई देख्नासाथ मुस्कुराइन् । मैले पैसा उनको हातमा राखिदिएँ ।

‘म किराना पसलको उधारो तिरेर आउँछु,’ उनले भनिन्, ‘क्यै ल्याइदिउ“m तपैंलाई, क्यै खानुहुन्छ ?’ मैले मुन्टो यताउता हल्लाएँ । श्रीमती बाहिर निस्कनै लागेकी थिइन्, उनले ढोकानेर उभेर भनिन्, ‘आज त अचम्म भो । छोरो रोको रोयै गर्‍यो । भोकको पीडाले त रोएको होला, उसका आँखाबाट पनि केही थोपा आँसु झरे । मैले बट्टामा राखेकी छु । सिरानमुन्तिर ।’ यत्ति भनेर उनी रमाउँदै गइन् ।

मैले सिरानमुन्तिरबाट बट्टा झिकें । त्यहाँ राजबहादुरका दुई थोपा आँसु थिए । चौबीस क्यारेटका । मोतीझैं टल्किरहेका । मैले आनन्दले निदाइरहेको राजबहादुरको अनुहार नियालें । ऊ निद्रामै मुस्कुराइरहेको थियो ।

बट्टा समातिरहेका मेरा हात बिस्तारै काँपे । मैले सोचें, राजबहादुरका पनि आँसु बेच्न थाल्ने हो भने हाम्रो पेट उसकै आँसुको भरमा रहनेछ । र, उसले बलजफ्ती रुनुपर्नेछ । र, एक दिन साँच्चिकै रुने बेला ऊसित आँसु हुनेछैनन्, जुद्धबहादुरकोझैं । चाहिएको बेला आँसु किन्न कहाँ सकिन्छ र ?

म आफ्नो नाबालक छोराको आँसु बेचूँ कि नबेचूँ ?

राजबहादुर निद्रामै झस्कियो र बेस्मारी रुन थाल्यो । उसका आँखाका चेपचेपमा छिपछिप आँसु देखा परे । मैले ती आँसु कान्छी औलाले छोएँ ।

र, उसका आँसुमा चुम्बन गरें ।

(श्रोत :- कोशेली – कान्तिपुर प्रकाशित मिति: २०७० श्रावण २६ )

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : घोडाझैँ उफ्रिने जिप

~बुद्धी सागर~

‘बाटो जुम्ला पुग्यो’ भन्दै काठमान्डुतिर अखबार र टिभी बर्खे भ्यागुताजस्तै चिच्याउन थालेका थिए । काठमान्डुमा टिभीहरू जुम्लामा फूल लिएर गाडीको स्वागत गरिरहेका गाउँले देखाइरहेका थिए। अझ ‘जुम्ला–कालिकोट मोटर पुग्यो’ भन्ने गीत हिट भइसकेको थियो।

तैपनि, कर्नालीको बाटो भोगिसकेका यात्रु भन्थे, ‘गाडी त जुम्ला पुग्ला, गाडीभित्रको मान्छे त कुन्नी!’

०६४ साल । पाँच वर्षपछि दसैंमा सबै पारिवारिक सदस्य भेला हुने योजना थियो । र थियो– स्नेह र प्रेमको कार्ड रिन्यु गर्ने सुवर्ण अवसर । दुई दिदी र बहिनी पाँच वर्षदेखि कालिकोट गका थेनन् । त्यसैले पनि आमा उत्साही हुनुहुन्थ्यो । घर पुगेर खसी काट्ने योजना बनिसकेको थियो । सबैभन्दा बढी दसैं रेडियो, टिभी र एफएमलाई लागिसकेको थियो । माहोलमा दसैं आइसकेको थियो । आफूलाई भने घर नपुगी के दसैं लाग्नु!

सुर्खेतबाट दाइले रिजर्भ जिप लैजाने योजना पनि बनाइसकेको रैछ । हाम्ले दसैंको मौसमको बसको भीडभाड र असह्य उल्टीबाट मुक्ति पाउने भयौं।

अघिल्लो दिन सुर्खेत वीरेन्द्रनगरमा, भोलिपल्ट कालिकोट जाने भनेर ठिक्क परिसकेका थियौं– भोलिपल्ट त दैलेखतिर टाप ठोकिसकेछ । यसरी दुई जिप बाचा गरेर पनि भागे । रुपैयाँ त उनीहरूले मागेजति पाएकै थिए तर किन टाप दिए?

पछि थाह भो, तिन्ले त कर्नालीको बाटोबारे थाहा पाएछन्।

धेरै सोधखोजपछि पन्ध्र हजार रुपैयाँमा एउटा जिप मान्मसम्म पुगिदिन राजी भयो।

बाटो बनेपछि व्यापारीका सामान ट्याक्टरले बोक्न थालेका थिए । त्यसैले मान्मको आकाशमा हेलिकप्टरले फन्का लगाउन छाडिसकेको थियो । नत्र, १५ हजारले त सबैजना ‘उडेर’ कालिकोट पुगिन्थ्यो।

‘अल्लि चाँडै हिँडियो भने साँझ नौ बजेसम्म त मान्म पुगिन्छ,’ जिप साहुजीले बिहानै भने । यिनी यात्राभरि साहुजी नै रहे । न त यिनले आफ्नो नाम भने, न मैले सोधेँ।

साउजीले फिक्का निलो कपडाको पाइन्ट, खैरो सर्ट र इस्टकोट लगाएका थिए । उनीसित ढाकाटोपी पनि थियो तर प्रायः इस्टकोटको दायाँ गोजीमा कोचिएको हुन्थ्यो । यस्सो हेर्दा उनी कर्नालीतिर हिँडेका सरकारी जागिरेजस्ता देखिन्थे।

पहिलोपल्ट २०५३ सालमा कैलाली चिसापानीबाट छदिने जंगल गुफा बसाइपछि भरियासित सातौं दिन मान्म पुगेको मलाई रत्तिभर आशा थिएन– गाडी चढेर मान्म पुगुँला भनेर । अचेल त वीरेन्द्रनगर बसपार्कमा बसको अगाडिपट्टिको प्लेटमा जुम्ला लेखेको देख्न पाइन्थ्यो । कर्नाली, नेपालसित गाँसिएको यो पहिलो र दह्रो चिह्न थियो।

यात्रा के भन्नु!

तैपनि यात्रा सुरु भयो, बिहानको साढे सात बजे । दिदी, दाइ, बहिनी र चारजना भान्जाभान्जी र म । दुई पुस्ता । सातआठ वर्षे भान्जाभान्जीको पहिलो लामो बसयात्रा । खुब रमाइरहेका थिए । पछि यी रुन्छन्, मलाई था थियो।

सुर्खेत बड्डीचौरसम्मको फराकिलो र सुविधाजनक बाटो हेर्दै दिदीले सोधिन्, ‘अगाडि पनि बाटो यस्तै राम्रो छ र?’

मैले भनेँ, ‘अगाडि बाटो होइन, लिक छ रेलको जस्तै।’

मेरो हातमा ‘हेन्डी भिडियो’ क्यामेरा थियो । दाइले रहरले किनेको । म परपर देखिएका पहाड र बाटो छेउछाउका तोरीबारी खिचिरहेको थिएँ । असोजका दिनहरू तोरी फुलेर पहेँलै भएका थिए । तोरीबारीले मलाई कैलालीको मटेरामा उछिट्टाइदिएका थिए । जहाँ म पहिलोपल्ट मान्छे भएर जन्मेको थिएँ । मान्छे हुनुभन्दा पहिले म के थिएँ हुँला ? म अन्टसन्ट सोचेर गम्भीर भइरहेको थिएँ । पहाडी चिसो बतास निर्लज्ज भएर शरीरभरि जताततै सल्बलाइरहेको थियो । सालघारीका पोथ्रापोथ्रीबाट अपरिचित जनावरहरू तर्सिएको र भागेको आवाज कहिलेकाहीँ आइपुग्थ्यो र जिपको तातो पांग्रामा चेपिएर मर्थ्यो।

दसैंको मौसम, क्लासिकल आर्टिस्टले बनाएको ल्यान्डस्केप वा म्युजिसियनले कम्पोज गरेको धुनजस्तो, कस्तो–कस्तो उराठलाग्दो भनुँ कि, खै कस्तो थियो कस्तो । यस्तो मौसम मलाई असाध्यै प्रिय लाग्थ्यो । जिपको थोत्रो प्लेयरमा नारायण गोपाल दमले सास फुलेजस्तो अड्की–अड्की गीत गाइरहेका थिए– केही …म…मिठो बात गर…

उकालो सुरु भयो । नारायण गोपाललाई अझै गाह्रो भयो । साहुजीले प्याट्ट हान्यो । नारायण गोपालले भने ‘शुभयात्रा।’

र, चुप रहे ।

संगीतबिनाको यात्रा पनि यात्रा हुन्छ र?

मैले सोचेँ– यो भीरमाथि उडिरहेको जिपमा सुरतालबिनाका लोकदोहोरी झेल्नुभन्दा त यस्तै शुन्यता ठिक।

बड्डीचौरमा भर्खरै राखेजस्तो देखिने ‘यातायात समिति’को काउन्टरमाथि कालो वर्णको यौटा युवा गोडा हल्लाइरहेको थियो । जिप साहु ओर्लिएर त्यता मोडिए । मैले फर्किएर दिदी र दाइतिर हेरेँ । उनीहरूको कपाल काँस फुलेझैं सेताम्मे भएका थिए, धुलोले।

मैले आफ्नो कपाल हेर्न जीपको अगाडिपट्टिको सिसातिर चिहाएँ । म त पहिल्यै हिमाल भइसकेछु।

अचानक यातायात समितिको कालो वर्णको युवाले गर्जिएर भन्यो, ‘पछि यै बाटो त आउलास्, जाँठा।’

जिप साहुजी अमिलो र रातो अनुहार बनाउँदै आए र अघिल्लो सिटमा बसे । त्यसपछि जिपले ठुल्ठुलो स्वरमा सास फेर्न थाल्यो।

‘त्यल्ले जिपमा प्यासेन्जर राख्न भन्दैथ्यो । मैले रिजर्भ हो भनेँ,’ धेरै पछि साहुजी बड्बडाए, ‘बाटो बनिसकेको छैन, गुन्डागर्दी सुरु भइसक्यो । सालेको कानमुन्तिर चड्कन लाउन मन थ्यो।’

युवा ड्राइभर चुपचाप थियो, उसले साहुजीतिर पुलुक्क हेर्‍यो र पुरानै लयमा फर्कियो । सायद प्रेमिका सम्झिरहेको थियो ! कि विवाह भइसक्यो ? उसले धुलोबाट कपाल जोगाउन टाउकोमा ठूलो आकारको ‘लन्डन रुमाल’ बाँधेको थियो । ऊ निशब्द जिप लतारिरहेको थियो।

बिस्तारै बाटोले आफ्नो रङ देखाउन थाल्यो । कर्नाली नदीलाई तलै छोडेर जिप आकाशतिर उक्लिरहेको थियो । कहिले बाटो छ्यांग देखिन्थ्यो त कहिले जिप तुँवालोको घना जंगलभित्र हराउँथ्यो।

एकाबिहानको यात्राले खाली पेट बाउडिन थालिसकेको थियो।

अमिलो पानी मुखसम्म आइपुग्दा म कराएँ, ‘लौ यै हो त्यो ठाउँ।’

हो, यही ठाउँ त थियो, जहाँ अघिल्लो वर्ष म जिप दुर्घटनामा परेको थिएँ । ओरालोमा जिप ब्याक भएर पहरामा ठोक्किएको थियो।

सबैले हेरे । जिप पछारिएको ठाउँ सुनसान थियो । म जिउँदै छु र पनि सुनसान थियो, म मरेको भए ? सायद, यस्तै हुन्थ्यो । केही वर्षपछि ‘दुर्घटना’ जनाउन सडक विभागले एउटा साइनबोर्ड राख्थ्यो होला । त्यति त हो, जिन्दगी एक साइनबोर्ड।

म उदास भएँ।

 

जिप अगाडि बढ्यो । कर्नाली नदी धेरै तल ट्युबलाइटजस्तै मसिनो भएर टल्किरहेको थियो । धुलेबाटो कहिलेकाहीँ जिपका पांग्रामा ठोक्किएर डुंगाहरू गुरुरुरु खस्थे । गाडी बाहिर धुलो उड्थ्यो भने गाडीभित्र सातो । केटाकेटीहरू बसभित्र असन्तुलित लयका हिन्दी गीत गाइरहेका थिए । केटाकेटीका लागि त मामाघर यात्रा रमाइलो हुने भो । विचरा मामालाई पो आपत परिरहेछ।

धेरैपल्ट मैले सुन्दर प्रकृति क्यामरामा कैद गर्न बिर्सिएछु । काठमान्डुको धुलो, धुवाँ, असह्य भीडभाड र छट्पटीबाट बाहिर म मनमोहक प्रकृति नियालिरहेको थिएँ । जो सुन्दर सपनाभन्दा पनि मिठो लाग्थ्यो । हामी यति माथिसम्म आइपुगिसकेका थियौं कि बादलभन्दा माथि पहाडका तिखा शिरहरू हाम्रो स्वागतमा मुस्कुराइरहेजस्ता लाग्थे । ती उच्च पहाड, खोलानाला र जंगल अनि कतैकतै पाखातिर भेटिएका गोठाला केटाकेटी असाध्यै निर्दोष देखिन्थे । छलहीन, विषहीन र कुण्ठाहीन । जसलाई साँझबिहान र हिमालभन्दा अरू केही था थिएन।

जिप घ्याच्च रोकियो । अगाडि गठिलो युवकले हात ठड्याएको थियो । असिनपसिन युवक करायो, ‘गाडी चढ्न पाइएला कि?’

तिखा आँखाहरूले जिपका सिसापछाडि नियाल्यो।

जिपमा अगाडिपट्टि सिट खाली छैन । पछाडि राकमबाट अर्की दिदी पनि थपिने छिन्।

‘फ्यामली रिजर्भ हो,’ साउजीले धोद्रो स्वरमा भन्यो।

युवक आवाजको गाँठोले हिर्काउने शैलीमा बोल्यो, ‘के हाम्ले चढ्न नपाउने?’

‘बस आउँदैछ, त्यसमा आउनुहोला।’

‘पुलिस हुम्,’ फेरि करायो, ‘हाम्ले चढ्न हुन्न?’

‘मिल्दैन हजुर,’ साउजीले नम्र स्वरमा भने, ‘बच्चाबच्ची छन् । नयाँ मान्छे देख्दा डराउँछन्।’

‘के म भुत हुम् ?’ पुलिसको स्वर झन् चर्को भयो, ‘म के यिन्लाई खान्छु । पख्, तँ फर्केर आउने यै बाटो त हो!’

साउजीको अनुहार रातो भयो।

वास्तवमै यो देशमा पुलिसलाई ठूला हतार हुन्छ । मैले सोधेँ, ‘काँसम्म हो?’

‘तल्लो डुंगेश्वर।’

लौ त, बस्नुस् साप । नौ किलोमिटर त हो नि । अपरिचित मान्छेको प्रवेशपछि बच्चाबच्ची चुप । खोइ अरू पनि कोही बोलेन । पारिपारि डाँडाको टुप्पाछेउ, पहाडको गहिरो मौनतालाई कोतर्दै केवल एउटा जिप थर्थराइरह्यो।

तल्लो डुंगेश्वरमा पुलिसलाई बाटोछेउकै चौकीमा झारिदियौं । घाम तापेर बसिरहेका पुलिसलाई हात हल्लाउँदै ऊ नजिक गयो।

जिप उक्लियो, अगाडि।

‘साले माबादीको गोली नभेटेको !’ साउजी बर्बराए।

हाम्ले उनको कुरा नसुनेजस्तो गरिम्।

‘भात यतै खाने कि ?’ बहिनी धेरै पछि बोली । तर सबैले अगाडि खाने भनेपछि फेरि गहिरो मौनता छायो।

चिच्याउँदा–चिच्याउँदै थाकिसकेका थिए केटाकेटी । अचानक कहालीलाग्दो भीरमा जिप अड्कियो । न त अगाडि जान मिल्ने, न त पछाडि । लौ पर्‍यो फसाद । ओर्लिन खोज्दा साहुजी कराए, ‘लोड कम भएछि जिप हिँड्दैन, नउत्रनुस्।’

अब जिप गयो गयो भन्दाभन्दै बल्लतल्ल उक्लियो । तर, सबैको बाँकी मुटु त्यै भीरबाट तल गुर्कियो।

केही बेरपछि म केटाकेटीतिर फर्किएँ । तिनको अनुहारमा डरको कालो बादल मडारिइरहेको थियो । मैले भान्जातिर हेर्दै सोधेँ, ‘क्या हो भान्जा, डरायौ कि क्या हो?’

‘काँ, म डरा छैन,’ उनले रुन्चे आवाजमा भने।

म हाँसेँ।

एउटा सानो बजार आएपछि सबैको एउटै आवाज भयो, खाना नखाई त अब मुटु र आन्द्राभुँडी थर्थराउँदै जिपमा बस्न सकिन्न । र, परियो शरण।

‘दाल’ खोज्नुपर्ने दालमा भात चोप्दै घाँटीबाट तल धकेल्दै ‘लन्च’ खायौं।

फेरि घना पहाडी इलाका हुँदै जिप गुर्किरह्यो । बांगाटिंगा बाटाहरू । बाटोका दायाँबायाँ, तलमाथि सर्लक्क परेका सल्लाका रुख । माकुराका जाल र अनौठो गहिरो शुन्यता भरिएको जंगल । गएका दस वर्षमा यहाँ कति अपराध भए होलान् ? म भातको मातमा सोच्न थालेँ । र, एउटा सिनेमामा जासुस सर्लक होम्सले भनेको सम्झेँ– एकान्तमा सुन्दरताभन्दा बढी अपराध लुकेको हुन्छ।

जिप राकम पुग्यो, ट्रान्जिटमा । थकित जिप थर्थराउँदै शान्त भयो । अछामबाट आएकी दिदी अर्को जिपमा केही सोध्दै गरेको भेटिइन् । हामीलाई देखेर खिस्स हाँसिन् । चिया खाएर हिँड्ने तयारी हुँदै गर्दा, जाँडले लर्खराएको मान्छेझैं धङधङिदै एउटा जिप जुम्लातिरबाट आइपुग्यो।

‘कति दिन भो हिँडेको ?’ साहुजीले सोध्यो।

‘तीन दिन,’ खङरंग सुकेको पातजस्तो अनुहार बनाएर ड्राइभरले भन्यो, ‘बीचमा फसियो।’

‘अगाडि बाटो कस्तो छ?’

ड्राइभरले दुवै हातका औंला आपसमा जेलेर हत्केला उल्टाउँदै इसारा गर्‍यो, ‘यस्तै छ ।’ र, रुन्चे स्वरमा थप्यो, ‘जिप हिँड्दैन, घोडाझैं उफ्रिन्छ।’

साउजी खिस्रिक्क परे र प्रेमले आफ्नो जिप सुम्सुमाए । घोडाको गर्दन सुम्सुम्याएझैं।

‘त्यो पट्टा के भाको !’ अर्को जिपको ड्राइभरले जिपको पांग्राछेउ इसारा गर्दै भन्यो।

हाम्ले त्यतातिर हेर्‍यौं । लौ, ‘पट्टा’ त फुस्किएर अगाडि पो आइपुगेछ।

‘यस्कीमा,’ साउजी काँप्दै निहुरिए।

हामीले आतिँदै सोध्यौं, ‘कति लाग्छ, बनाउन?’

‘पाँच मिनेट,’ ड्राइभरले फुस्किएको पट्टा हेर्दै भन्यो, ‘एउटा किला कसे पुग्छ।’

तर, पन्ध्र मिनेट खोज्दा पनि किला भेटिएन।

सूर्यले पल्लो डाँडाबाट कर्नालीमा फाल हालिसकेको थियो । जलेर हो वा तातेर, कर्नालीको सुस्त सुस्केरा कानसम्म आइरह्यो।

जुम्लाबाट आएको जिपसित पनि किला रैनछ । खुट्टा बंग्याउँदै गयो।

आज मान्म पुगिन्छ भन्ने झिनो चुँडियो । ‘पाँच मिनेट’ भनेर बनाउन थालेको ‘पट्टा’ साढे दुई घन्टा बितिसक्दा पनि बन्ने छाँटकाँट देखिएन । समस्या बनेको थियो केवल ‘तीन’ रुपैयाँ पर्ने पेचकिला । जो अरू जिप र राकमभरि खोज्दा पनि पाइएन।

‘साला, दुःख पाइयो,’ साहुजी असिनपसिन हुँदै बर्बराए । बर्बराहट बढ्दै गएपछि कराए, ‘गाडी त जारले पनि नकिनोस् !’

 

धेरै पर्खिएपछि बल्ल एउटा जिप आइपुग्यो सुर्खेतबाटै । बाढीपीडिततिर थोत्रा लुगा फालेझैं त्यसले हामीतिर पेचकिला फाल्यो । त्यो जिप पनि मान्मकै लागि हिँडेको रैछ । जिपको पछाडिपट्टि काठमान्डुका ब्वाइलर कुखुरा जसरी चाङमाथि चाङ लगाएर ल्याइएका रैछन्, मान्छेहरू । खातमाथि खात, मान्छेहरू न्याकिएर अर्धबेहोसजस्तै थिए । धुलो र अँध्यारोले चिन्ने आँट गरिएन।

साँझको सात बजिसकेको थियो । अँध्यारो फ्याउराको बथानझैं दगुर्दै राकम बजार आइपुग्यो।

दुई जिप सहयात्री भएर हिँड्ने भए । पछि आएको जिप अघि लाग्यो । त्यस जिपको पछाडिपट्टि फेरि सोह्रसत्र थान मान्छे चाङ लागे । खलासीले पछाडिको आँखीझ्यालजस्तो ढोका ढप्काइदियो र लगाइदियो ताल्चा । ढोका अत्यन्त कमजोर देखिन्थ्यो र साना खाल्डाखुल्डी आए पनि थरर्र हल्लिन्थ्यो, उकालोमा ह्वात्तै खुल्लाजस्तो । त्यसभित्रका मान्छेहरू गहिरो मौनतामा कैद थिए । हामीले त्यस जिपको नामकरण गरिदियौं– मोबाइल कारागार।

अँध्यारोमा धिपधिप बल्दै जुनकिरीजस्तै जिप लहरै घिस्रिरहेका थिए । सडक घोडेटोको हैसियतमा ओर्लिंदै थियो । मुल फुटेर सडकबीच पानीको ताल जमेको थियो । सडकको मलिलो माटोमा अजंगका ट्याक्टरले दुइटा गहिरा कुलकुले खोला बनाएका थिए । तिनको छेउछाउ रेलका लिकजस्ता मसिनो बाटोमा टेक्दै जिप हिँडिरहेका थिए । जति माथि गयो, जिपलाई ठसठस बढ्दै गयो । हामीलाई डर, साउजीलाई रिस र ड्राइभरलाई एकाग्रता । जिपको रफ्तार, आठ । जिप त हाँसजस्तै ढलक–ढलक हिँड्न थाल्यो।

सडकको बीचमा ठूलो खाल्टो आयो । जिप जोगिएर हिँड्न थाल्यो । सिंगै हात्ती अट्ने यो खाल्टो कसरी बन्यो होला ? के लामपुच्छ्रेतारा खसेथ्यो?

खाल्टो पार गरेर अघिल्लो मोडमा पुग्दा अघिअघि हिँडिरहेको जिप त परै पो पुगिसकेको रैछ । धर्मराउँदै उकालो चढिरहेको थियो । यस्सो हेर्दा जिपलाई चन्द्रमाले हात समाउँदै माथि तानेजस्तो लाग्थ्यो।

र, एकैछिनमा जिप फुच्चे ताराझैं अलप भयो।

अगाडि प्रकट भयो– भीमकाय बस । बसभित्र र छतमा पृथ्वीभरिका मान्छे जम्मा भएर बसेजस्तै लाग्थ्यो। अघिपछि खुब होहल्ला हुने बस ढलक–ढलक हिँडिरहेको थियो । र, बसमा थियो, चीर शुन्यता । सायद मान्छेहरू त्रासले बोल्न पनि सकेका थिएनन् । बस कहिलेकाहीँ भीरतिर नब्बे डिग्री ढल्किन्थ्यो र पनि हिँड्थ्यो।

हे भगुमान, अब बस भीरबाट खस्यो खस्यो । हामी सास थामेर हेर्थ्यौं । एउटा अनिष्टको प्रतिक्षामा बसेजस्तो बसको पछि–पछि घिस्रिरह्यौं।

धेरै पछि माइलीदिदीले सुस्केरा हाल्दै भनिन्, ‘कस्तो बाटो हो, छिः!’

शब्दमा त्रास र आक्रोश मिसिएको थियो।

‘मैले भनेको थिएँ नि अगाडि, बाटो होइन लिक छ,’ म हाँसेँ।

‘यो बाटो त के खराब !’ अलि अघिसम्म सर्पले सुँघेजस्तै मौन साहुजीले आफ्नो वीरगाथा सुनाए, ‘जुम्ला जाँदा त यस्तो खराब बाटो रैछ, मैले यताउता हेर्न नसकेर आँखामा कालोपट्टी बाँधेँ र ड्राइभरलाई भनेँ, ‘लौ त भाइ, जे गर्नु छ, गर।’

साहुजीको कुरापछि कसैले बोल्ने आँट गरेन।

रातको करिब दस बजे ‘खिड्किजिउला’ पुगेपछि जिपले सास फेर्न छोड्यो । अब योभन्दा उता जान ‘आर्मीको पास चाहिन्छ, त्यो साँझ छ बजेपछि पाइन्न’ भन्ने सूचनासहित ड्राइभरले टाउकोबाट ‘लन्डन रुमाल’ फुकायो । एकपल्ट ‘काल’ को पानीपेटमा लात्ती हिर्काएजसरी ‘मस्त’ मुस्कुरायो।

कालिकोट र अछाम छुट्याउने सिमाना खिड्किजिउला पुगेपछि कालिकोट आइपुगेको अनुभूति हुन्थ्यो । एक वर्षमै सडकछेउछाउ होटेल खुलिसकेका रैछन् । ‘यहाँ, आउनुस्, खाना खाए बस्न फ्री,’ यस्ता नयाँ–नयाँ स्किम सुरु भसकेछन् । हामी भर्खरै खुलेजस्तो देखिने होटेलमा बस्यौं।

पैला–पैला पैदलयात्रामा, बास बस्दा लोकल कुखुराको मासु र भात खाने आफ्नो पुरानो बानी फेरि जागृत भयो।

ग्राहक आएपछि खुसीले यताउता गरिरहेकी साहुनीले मुस्कुराउँदै सोधिन्, ‘कुखुरा काटौं?’

ठूलो बटुकामा ठुल्ठुला मासुका चोक्टा र पिरो झोल सम्झँदै भनेँ, ‘हुन्छ।’

‘म पकाउँदै गर्छु तपैंहरू सुस्ताउँदै गर्नुस्’ भन्दै साहुनीले हामीलाई कोठा देखाइन्, घरको छेउमै । त्यो भर्खरै स्याउला र निगालाले बारेको एउटा आलो कोठा थियो । जहाँ हामी एघार थान चपाईं वंश छरिएर ढल्कियौं। भित्ताबाट भर्खरै लिपेको गोबरको गन्ध असह्यै हुनेगरी नाकमा ददारिन आइपुगेको थियो । बाथरुम रैनछ। दिसा–पिसाब मान्छे, अँध्यारो र सर्प हेरेर।

कसैले ढोकामा आएर भन्यो, ‘खाना पाक्यो।’

भोकले रन्थनिएको म हुर्रिंदै बाहिर निस्किएँ । होटेलछेउमै रसाएको पहाडबाट धारा बनाइएको थियो । चिसो पानीले हात धोएँ । भर्खरै ताछेका फल्याकको बेन्च र टेबुल बनाइएको थियो, होटेलको दैलोछेउमा । जसबाट काँचो काठको गन्ध मन्द–मन्द आइरहेको थियो । लालटिनको उज्यालो फैलिरहेको थियो । हामी लहरै बस्यौं।

भित्रपट्टि ड्राइभरहरू रक्सीको मातमा चर्काचर्का कुरा गरिरहेका थिए।

साहुनीले फटाफट हाम्रा अगाडि बाफ उडिरहेको तातो भात राखिदिइन् । तरकारीसितै साहुनीले थालको दायाँपट्टि एउटा सानो प्लेटमा अँगारजस्ता कालाकाला चारवटा टुक्रा राखिदिइन् । छामेँ, असाध्यै चिसा रैछन्, गिला–गिला । ठम्याउन सकिनँ । भोकले सबैले पकापक भात खान थाले।

म भने तात्तातो मासुको झोल पर्खिरहेको थिएँ।

साहुनी पानी लिएर आइन्।

‘दिदी, मासु तयार भएन ?’ मैले सोधेँ।

उनले छक्क पर्दै भनिन्, ‘त्यहीँ त छ नि!’

म छक्क।

‘काँ छ ?’ मैले कटौराहरूतिर हेरेँ।

‘त्यैं त छ’ भन्दै उनले अघिका अँगारका जस्ता डल्ला देखाइन्।

खित्तित्त हाँस्दै दिदीहरूले भने, ‘लौ खा।’

खै, के खानु ! मेरो मन असाध्यै अमिलो भएर आयो, लप्सीको अचारजस्तो।

सोचेँ– ह्याँ पनि जिप र ट्याक्टर पछाडि झुन्डिएर सानो सहर आइपुगेछ । बालक सहर मलाई हेरेर कुटिल हाँस्यो । म उसको बैंस सम्झेर थरर्र काँपेँ।

न मिठो खाना न त राम्रो ओछ्यान । थोत्रा लुगाको ओछ्यानमा ढल्किएपछि शरीरभित्र हड्डीका जोर्नीबाट धुवाँ फुसुसुसु निस्केजस्तो भयो । खै के निदाइएला भन्दाभन्दै निदाइएछ । कतिबेला निदाएँ, पत्तै भएन।

हल्लाखल्लाले निद्रा खुल्यो । घडी हेरेँ– सवा पाँच भैसकेको रैछ । गाडीहरू घ्यार्रघ्यार्र ‘गुडमर्निङ’ भन्दै कराउन थाले । म बाथरुम गएँ, मान्छे र सर्पसित बच्दै । मान्छेहरू बाथरुम जान पहाडका कुनाकाप्चातिर दगुरिहेका थिए।

हगेरै पहाड खराब बनाउने भए।

 

हाम्रो जिप धुलोले भरिएको थियो । टाढाबाट हेर्दा तराईको घना जंगलमा देखिने हात्तीजस्तो । ड्राइभर माउतेझैं गाडीभित्र बसेको थियो । उसको अनुहार एकरातमै खप्लक्कै सुकेजस्तो लाग्थ्यो।

साउजी आफ्नो जिपलाई प्रेमले नियालिरहेका थिए । ठ्याक्कै निमोनियाग्रस्त भएर घ्यार–घ्यार गरिरहेको वर्षदिनको छोरोलाई नियालिरहेको बाबुजस्तो।

हामी जिपनेर पुग्यौं।

‘मामा, आज हिँडेरै जाम्,’ भान्जाले जिपतिर हेर्दै याचना गरे।

भान्जासँगै सबै केटाकेटी केही तर्सेजस्ता देखिएका थिए । सातो त हिजै राति गएछ । हिँडेरै जाम् भन्दै खुट्टा बजार्न थाले।

‘हिँडेर गयो भने त भोलि पुगिन्छ,’ मैले सम्झाएँ, ‘घर आजै पुग्ने कि भोलि?’

एकछिन सोचेर सबैले भने, ‘आजै पुग्ने।’

‘त्यसो भए बस जिपमा।’

सुसाइड नोटमा हस्ताक्षर गरेर आत्महत्या गर्न हिँडेझैं सबै जिपमा उक्लिए।

अगाडिको बाटो वर्णन गर्ने सामर्थ्यका शब्द छैनन् । सौ जिब्रो भएको शेषनागले पनि कुन्नि । बाटो त केवल पहाड खोस्रेजस्तो । जिप उक्लिनुअघि मैले सुनेँ– सडक विभागले त ‘पास’ पनि गरेको छैन रे । यो त ‘डमी’ हो । जानकारीमाथि जानकारी थपिए । केही भएर गाडी सुत्त कर्नाली गयो भने जिम्मा कसैको छैन । कसैले सुनायो, बिमा पनि छैन।

‘तँलाई बिमा ?’ मुक्का बर्साइदिउँजस्तो।

जिप हिँड्यो।

अगाडि त बाटाभरि ढिस्कैढिस्का । जिप एकछिन अडिन्थ्यो, घ्यार्रघ्यार्र शक्ति सञ्चय गर्थ्यो र हामफाल्थ्यो, घ्याच्च । बल्ल एउटा ढिस्कोमाथि पुग्थ्यो, जिप । अलि अगाडि फेरि त्यस्तै ढिस्को । आज भने हाम्रा अगाडि ‘बस’ हैन, अर्को ‘जिप’ थियो । जिपमा अग्ला र मृदुमुस्कानधारी गोरा साहेब विराजमान थिए । एनजिओकै होलान् । सबैभन्दा बढी एनजिओ भएको राज्यमा अरू कल्पना पनि त गर्न सकिन्न।

त, यी गोरासाहेब रातभरि होटेलहरूमा ‘होटल’ खोज्दै हिँडेछन् र जिपमै सुतेछन् । खिड्किजिउलामा दिसा पनि गरेनन् रे । झाडीमा सर्प हुन्छ भनेर कसैले भन्देछ । आँटै गरेनछन् । मिनरल वाटरको बोतल बोकेर गएका थिए, त्यत्तिकै फर्केछन् । यिनले सुर्खेत–जुम्ला यात्राको तेत्तिस हजार रुपैयाँ जिपलाई तिरेका रैछन्। जिप थियो– शिघ्र स्खलन हुने पुरुषजस्तो, सानो ढिस्को आयो कि फ्वाँफ्वाँ।

जिप चाँडो हिँड्ने छाँटकाँटको थिएन । उछिनेर अगाडि जाने बाटो थिएन । आफैं त त्यो जिप साँघुरो बाटोमा बल्लतल्ल हिँडिरहेको थियो– ओभरटेक गर्ने खोज्यो भने सिधै कर्नालीको माछा खान पुगिन्थ्यो।

हेर्न त रमाइलो नै थियो । जब अल्लि अप्ठ्यारो भीर आउँथ्यो, गोरासाहेब ओर्लिन्थे । लामो समय लगाएर जिप मोडिन्थ्यो । हुन त स्वाट्ट घुम्ती मोड्ने बाटो पनि थिएन । एउटा मोडमा तीनपल्ट गाडी ब्याक गर्दै, ओटी राख्दै, विस्तारै मोड्नुपर्ने । स्वात्त चिप्लियो कि ह्वात्त कर्नाली।

जब जिपले अप्ठ्यारो मोड पार गर्थ्यो, गोरासाहेब चढ्थे।

जिपहरूको हालत झन् खराब हुन थालेको थियो । कहिले जिपका भित्री पाटपुर्जा बेस्सरी बज्थे त कहिले पूरै जिप थरर्र काँप्थ्यो । मान्मको धामी पतुरेजस्तो।

भान्जाभान्जीको सातो गइसकेको रैछ । ती दिदी, दाइ र मेरो काखमा घोप्टो परे । विचरा, अगाडिको भीर र ढिस्को हेर्न नसक्ने भएका रैछन् । जब भीर आउँथ्यो, भान्जा मेरो काखमा घोप्टो पर्थे र पाँचछ मिनेटपछि सोध्थे, ‘मामा, गयो?’

एकछिनमा ढिस्को कटेपछि म उनको शिर थपथपाउँदै भन्थेँ, ‘उठ भान्जा, गयो।’

भान्जा शिर उठाएर झ्यालबाहिर हेर्थे । एक्कैछिनमा अर्को ढिस्को आउँथ्यो । उनी अनुहार कालो बनाउँदै कराउँथे, ‘फेरि अर्को आयो ।’ अनि, मेरो काखमा घोप्टो पर्थे।

भर्ताको डाँडाको छातीछाती जिप हिँडिरहेको थियो । अगाडि यात्राको सबैभन्दा भयावह ढिस्को थियो।

जिपहरू करिब सय मिटरको दुरी राखेर ढिस्कोमाथि हाम फालिरहेका थिए । यदि जिप स्पिडमा ब्याक आयो भने ठोकिन्छ भनेर होला । बाटोभरि मसिना ढुंगा थिए, तिनले जिप चिप्लाइरहेका थिए।

अब पालो आयो, गोरा साहेबको जिपको । गोरा साहेब जिपबाट बाहिर निस्के । ढिस्कोले सातो लिएर होला, जिप चढ्नुअघि नै काप्न थाल्यो । खलासीले घ्यार्र–घ्यार्र गर्दै उक्लिरहेको जिप पछाडि सर्‍यो कि टायरमा ओटी राख्थ्यो।

चिप्लेकिराको गतिमा जिपले ढिस्को नाघ्यो । खिस्स हाँस्दै गोरासाहेबले हाम्रो जिपतिर हेर्दै हात हल्लाए । शुभकामना देका होलान्।

अब पालो आफ्नै जिपको । जिप नयाँ भएरै होला, एकपल्ट जंगली हात्तीझैं करायो र घोडाझैं उफ्रिँदै दगुर्‍यो। म अघिल्लोपल्ट यस्तै उकालोबाट जिप ब्याक आएर धन्नै मरेको मान्छे । मुटु त मुखमै आउलाजस्तो भो । भान्जाभान्जी काखमा घोप्टो परे।

जिप यत्ति स्पिडमा थियो कि ढिस्कोलाई नाघ्न त नाघ्यो तर आकाशबाट खसेझैं थचारियो । झ्वाट्ट पछाडिको ढोका उदांगो भो । मैले स्वाट्ट हेरेँ । आँखाभरि परपरसम्म फैलेको तिलानदी थियो।

सातो गएर होला, कसैको बक फुटेन ।

ड्राइभरले जिप बन्द गर्‍यो । साहुजी हुत्तिँदै बाहिर निस्के । ढोका हेरे र कराए, ‘लक भाँच्चेछ।’

ड्राइभरले रस्सीले बाँधेर ढोका बन्द गरिदियो।

जिप हिँड्यो, बिस्तारै–बिस्तारै।

अल्लिपर ओरालो थियो । थाम्दाथाम्दै जिपको स्पिड बढ्यो । जिप एकपल्ट फेरि बेस्मारी थर्थरायो । जे भए पनि साहुजी त साहुजी नै हुन् । साउजीको पीडाको पित्तथली मुखैमा आएर प्याट्ट फुटेछ । ड्राइभरतिर हेर्दै बर्बराए, ‘एले त नजाऊ भनेकै हो । मैलाई आउनुपर्ने।’

एकदम सचेत भएर ड्राइभ गरिरहेको ड्राइभरले निलो अनुहार लाउँदै उनीतिर हेर्‍यो र मुन्टो हल्लायो।

मध्याह्नमा जिपले कर्नाली पार गर्‍यो । एउटा पुरानो मुलुकमा नयाँ पुलबाट जिपले टेक्यो । परार साल मैले यतै ‘तुइन’ मा झुन्डिएर कर्नाली तरेको थेँ । म एकछिन भावुक भएँ । तर, भावुकता एक्कैछिनमा गयो। टाउको टनटनी दुख्न थाल्यो।

अगाडि सानो खोल्सो थियो । त्यहाँ त एउटा होइन, लहरै तिनटा ट्याक्टर फसेका रैछन् । रमितै थियो । खोलाको डिलडिलमा सर्कस चलेझैं मान्छेको गुजुप्प भीड थियो।

सानोतिनो जाम नै सुरु भैसकेको रैछ । हाम्रो जिप धेरै पछि पर्‍यो । म जिपबाट बाहिरिएँ।

ट्याक्टरको हालत जिपको भन्दा खराब रैछ । बिचरा पछाडि ट्रलीमा कुन्टल सामान बोकेका थिए । तिनका दुइटा ठुल्ठुला पांग्रा जमिनमा भासिएका थिए । जब ट्याक्टर खोल्सामाथि उक्लिन जोडले कराउँथ्यो, ठुल्ठूला दुइटा पांग्रा फनन्न घुम्थे, अगाडिको मुख जुरुक्क उचालिन्थ्यो । ठ्याक्कै सुँगुरले थुतुनो नचाएजस्तो । पांग्राबाट पिरो धुवाँ निस्किन्थ्यो । र, ट्याक्टर स्खलन हुन्थ्यो।

ट्याक्टरको थुतुनो यताउता मच्चिन थालेपछि दुई मानिस थुतुनोको तौल बढाउन ख्याप्प अगाडि बसे । तर, ती बिचरा त थुतुनोसितै मच्चिए । ठ्याक्कै सर्कसमा पिङ खेलेजस्तो । ती हाँस्दै र अलिअलि डराउँदै तल झरे।

गोरासाहेब माथिल्लो ढिस्कोमा उभिएर सबै हेरिरहेका थिए । आफ्नो नियतिमा हो या ट्याक्टरको गतिमा, मुसुमुसु हाँसिरहेका थिए । जब ट्याक्टरले माथि उक्लिन बल गर्थ्यो, उनी मुठी कस्थे, जब ट्याक्टरले लत्तो छाड्थ्यो, उनी एकपल्ट फनक्क घुम्थे । मुख बिगार्थे।

नियति त चिलले माछा कुरेजस्तो जिप कुर्नुपर्ने भयो । कर्नालीको फेदबाट एउटा सिंगो पहाड उक्लिनुपर्थ्यो, मान्म पुग्न । अत्यन्त गाह्रो उकालो । पापी छ यो उकालो– सबै भन्थे । दिनभरि रुङेर बस्नुभन्दा त हिँड्नु नै बेस लाग्यो । फेरि, ‘नयाँ सडक’ जिपबाट राम्ररी हेर्न पनि पाएको थिइनँ । पैदल हिँड्दा सडक राम्ररी हेर्न पाइने र यत्रो पहाडमा आएपछि त अलिकति उकालो उक्लिउँ भन्ने लाग्यो । चल भाइ जुजुमान । म हिँडेँ, एक्लै–एक्लै।

कर्नालीबाट पहाड उक्लिएको चिसो बतास मेरा कानका लोती छुँदै सदरमुकाम हिँडिरहेको थियो । त्यसैको पछिपछि थिएँ, म । पहाडका तिखा–तिखा दाँतजस्ता ढुंगाहरूमा अल्झिएका थिए, गाउँहरू । जहाँ टेके पनि ढुंगैढुंगा, माटो भेट्नै गाह्रो । म तिनलाई नियाल्दै ढुंगेधाराको पानी पिउँदै उक्लिरहेँ । बीचमा केही घट्ट पनि भेटिए, तर ती सबै बन्द भइसकेका रैछन् । घट्ट सुनसान देखिए । खालीपेट उकालो हिँड्दा पेटका आन्द्राभुँडी बटारिन थाले । के खानु, ढुंगाबाहेक केही छैन।

एक घन्टापछि अग्लो ढिस्को उभिएर मुन्तिर नियालेँ, धुलो उडाउँदै जिपहरू माथि आइरहेका थिए । मान्मको उदांगो डाँडामा ठूलै हुरी चलेजस्तो देखियो । यस्तो दिनको कल्पना त कहिल्यै गरेको थिइनँ, मैले। यै मान्ममा पढ्न बस्दा।

म बाटोको डिलमा उभिरहेँ।

अल्लिबेरमा जिपहरू माथि नै आए । पहिलो रैछ, तिनै गोरासाहेबको । पछिल्लो हाम्रो । हप्प गर्मीले थकित भएको म जिपमा बसेको पाँच मिनेटमै अघिल्लो जिप उकालोमा अल्झियो । त्यो जिपभन्दा अगाडि लहरै तीनवटा ट्याक्टर फसेका रैछन् । अब भने माथि डाँडामा जिप चढेर पुगिने छाँटकाँट देखिनँ।

‘कालिकोटे नसुध्रिएसम्म,’ एउटा ट्याक्टरको ड्राइभर बिरामी बकुल्लाजस्तो चिच्याइरहको थियो, ‘अब कालिकोट आइँदैन ।’

ऊ आफ्नो घाइते ट्याक्टरतिर हेरिरहेको थियो, बाटोको डिलमा बसेर । बाटोभरि पानी जमेर आहाल भएको थियो । आहाल बसेका थिए, दुई ट्याक्टर । ड्राइभरहरू सोच्दा रहेछन्, छेउका होटेलवालाहरू जानी–जानी बाटोमा पानी फाल्छन्– गाडी फसेपछि खाजा र खाना आफ्नै होटेलमा खान्छन्, भनेर । हुन पनि, ट्याक्टर फसेकै ठाउँमा टन्नै होटेल खुलेका थिए।

गाडी चढेर बजार पुग्ने मेरो सपना यो पल्ट पनि पूरा हुने भएन । केही सपना अत्यन्तै अल्छीलाग्दा भइदिन्छन्।

आठ वर्षअगाडि मैले पढेको पञ्चदेव उच्च मावि पनि आइसकको रैछ । स्कुलबाट त म तीनवर्ष उकालोमा कुदेकै थिएँ । हिँड्न गाह्रो होलाजस्तो लाएन । स्कुलका पुराना दिन सम्झँदै अनौठो असफल प्रेम, झगडा र मेहलको रुखलाई फेरि एकपल्ट अनुभूतिमा संगाल्ने इच्छाले म हिँड्ने नै भएँ।

‘मामा, हामी पनि जाने’ भन्दै केटाकेटी पछि लागे।

केटाकेटी भोकले रन्थनिएका थिए, तिनलाई डोर्‍याउँदै उक्लिएँ । तिनीहरू पनि ‘माउन्टेन–माउन्टेन’ भन्दै हिँडे । अतितको उही रोमाञ्चक बाटोले मलाई माथिमाथि हुत्ताइरह्यो । तर, स्कुल पढ्दाको बाटो उस्तै लागेन । कहीँ कतै केही नपुगेझैं लागिरह्यो । सायद, मसित स्कुल पढ्दाका जस्ता रुमानी रहर साथमा थिएनन् । ती साथीहरू थिएनन् । बीचबीचमा पुरानो बाटोमाथि नयाँ सडक लम्सार परेको पनि देखियो । सायद, नयाँ सडकले मेरा पुराना पदछाप मेटिदिएको थियो।

मैले काठमान्डुमा छँदा पनि बेलाबेला सम्झिरहने मेहेलको रुख कतै थिएन । काटिएछ । जसको फेदमा बसेर म चिसो बतासले छाती सेक्दै रुमानी सपनामा डुब्थेँ । र, त्यहाँ पुरानो बतास पनि थिएन । सायद, रुख नभएपछि बतासले पनि बसाइ सर्छ।

बल्लतल्ल मैले पहाड उक्लेँ । डाँडाको निधारमै आमा बाटो हेरेर उभिनुभएको रैछ । एक्लै । सायद, बा जिउँदै भएको भए उहाँ पनि यसरी नै बाटो हेरिरहनुहुन्थ्यो।

मन अमिलो भो।

आखिर जति अग्लो पहाडको तालुमा उभिए पनि अतितहरू पछाडि नछुट्ने रैछन्।

चार थान नातिनातिना उहाँलाई सुम्पिएँ । आमा हर्षले बोल्न सक्नुभएन । मसित भने बोल्नलाई शब्द र सास थिएन।

‘कान्छा,’ मौन आमाले सोधेजस्तो लाग्यो, ‘आइपुगिस्?’

भयानक ठूलो समरबाट जिउँदै फर्किएजस्तै मैले भनेँ, ‘हो आमा, म आएँ।’

आमाले आँसु पुछ्नुभो।

मैले आँसुका खुट्किला टेक्दै उहाँका आँखामा प्रवेश गरेँ।

 

दाइ, दिदी र बहिनीहरू पनि साँझसम्म पालैपालो घर आइपुगे । जिप पनि साँझतिर जिरो पोइन्टमा आइपुगेछ । गोरासाहेबको जिप भने थलै परेछ । कालिकोटबाट माथि जानै नसक्ने भएछ । गोरासाहेबले हामी आएको जिपलाई मान्मदेखि जुम्ला पुर्‍याएको बीस हजार दिने कुरा गर्दा क्रुद्ध साहुजीले भने रे, ‘जुम्ला त के, अब एक मिटर पनि माथि जान्नँ । यो जिप जति थचारिन्छ, मेरो मन उति दुख्छ।’

मान्म आइपुग्दा भित्रभित्र सारा पाटपुर्जा हल्लिएको जिप हेर्दै उनी बर्बराएछन्, ‘अब कालिकोट त चालिस हजार दिए पनि आउन्नँ । लौ जा।’

 

राति लालटिनको उज्यालोमा आमाले भन्नुभो, ‘सबै एउटै जिपमा हिँड्छौ भन्ने था पाएर त मेरो हंसले ठाउँ छाडेको थ्यो । बरु दुइटामा आउनू । एउटा कर्नालीमा खसे पनि अर्को त रन्थ्यो । अब यस्तो कहिल्यै नगर्नू।’

यसरी त घर पुगियो । म थकित थिएँ । ओछ्यानमा पल्टेर सोचिरहेँ, बल्ल आइपुगियो । फेरि फर्किनु त छँदैछ । फर्किनु कसरी?

 

(श्रोत :- Setopati e-magazine)

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : स्वर्ग बंक

~बुद्धी सागर ~

भाग  – १
——–
अर्काको बाइकमा चढ्नै नहुने। सडकको डिभाइडरमा लगेर ठोक्कायो। म त ठहरै। यति चाँडै मरिएलाजस्तो त लागेको थिएन। मरेपछि, सुख्ख पाइन्छ भन्ने कुरा पनि बकवास नै रैछ। असली दुख्ख त मरेपछि सुरु हुँदोरैछ।
माथि हेर्दा आँखा तिर्मिराउने भर्‍याङको आठसय छप्पन्न खुट्किलामाथि छु। हिँड्दा खुट्किला गन्ने बानी पनि राम्रै हो, कम्तीमा उक्लिएका खुटि्कला त याद रहे। पिडौला बेस्मारी गलेका छन्। आँत सुकेको छ।

हिँडेको हिँड्यै छु। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment