कविता : पेरिसको प्यास

~रेखा पन्त~

त्यहाँ
थिएनन् कुनै पधेर्नीहरु
कम्मरमा पटुकी
अनि
गुन्यु र बुट्टे चोली लगाइ
सङ्गीनीहरु सङ्ग
खितितिती खित्का छोड्दै
जिस्कदै
पानी भर्न आएका ।

न त थिए
मुखिया बा का बुहारीहरु
लक्ष्मी र पार्वती
जो भालेको डाको सङ्गै
आखा मिच्दै आइपुग्थे
जोडी तामे गाग्री बोकेर डोकोमा
सबैभन्दा पहिले ।

देखिएनन् डाँडा घरे भाउजु

पिपलबोटे काकी
जो हप्तै पिच्छे
पकाउथे कपडा खरानीमा
भात पकाए जसरी भकभक

धुन्थे मुंग्राले पिटी पिटी
गाउँ थर्काएर ।

न त त्यहाँ
एफ.एम. बज्यै नै थिइन्
जो दतिवनले दात कोट्याउदै
सारा गाउलेका नालीबेली कोट्याउथिन्
फलाना यस्तो

ढिस्काना उस्तो भन्दै
एका बिहानै
काट्थिन् कुरा
कानेखुसी गर्दै ।

खोजे यी आँखाले
तर
भेटिएनन्
ती अल्लारे
गाउँले ठिटाहरु
श्यामे, हर्के, रामे र हरी
जसले
सुइइइइय एक सिटी हालेपछि
कपालको चुलठी हल्लाउदै
पछेउरीको छेउले आधा मुख छोपी
लजाउदै
मुस्कुराउदै
तछाडमछाड गर्दै
झर्थे
रित्ता गाग्री बोकेर
चम्पा, चमेली, ठुली कान्छी र सुन्तली ।

न त थिए कुनै बटुवाहरु नै
जो आफ्नो थाप्लोको भारी बिसाएर
टोपीले पसिना पुछ्दै
भोक र प्यास एकैचोटि मेट्थे
कलकल चिसो पानीले ।

यो भिडभाडमा
त्यो गाउले रौनकता कहाँ देखियोस्
यी अपरिचित मान्छेहरुमा
त्यो आफ्नोपन कहाँ भेटियोस्
आमाको छाती रसाएर
बच्चाको भोक मेटिए जस्तै
पहाडको छाती रसाएर
निस्केको मूलको पानी पिएर
हुर्केकी म
उही गाउको पधेरो सम्झेछु क्यारे
तिर्खायो मन
अन्जुली भरी
उठाए पानी
उखर्माउलो घामले
कलेटी परेका ओठ भिजाए
खै के भो
यो पानीले
शरीर त भिज्यो
तर
भेटिएन स्वाद
मेटिएन तिर्खा
अतृप्तै रह्यो प्यास ।

-रेखा पन्त, गोरखा
हाल:ईजरायल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.