कविता : मृत सपनाको अँगालोमा सहयात्रीहरु

~सुनील बाबु श्रेष्ठ~

हिजै मात्रै त हो साथी !
हत्केलामा जिन्दगी राखेर हामी
कठिनभन्दा कठिन एउटै बाटाहरु हिडेको ।
नाकै छुने बेतालका उकालो चढेर
माथि पहाडका हरिया नागीहरुमा पुग्दा
क्षितिजपारीको डाँडाका कापबाट चिहाइरहेका
सेताम्य अग्ला हिमालहरु नियाल्दै
ती हिमालहरुभन्दा पनि
अझ अग्ला कदका सपनाहरु देखेको ।
त्यो बेला
तिमी र मैले जिउने जीवन
पहाडका बेमेल थुम्काहरु झैँ
न अग्ला थिए न त होचा नै
ती त समतल मैदानी जमिन जस्तै थिए ।

तिमी भोकै हुदाँ,
म पनि भोकै हुन्थे
तिमीले सातु खान पाउँदा
म पनि सातु नै पाउँथे
तिमी तिर्खाएको बेला,
म पनि तिर्खाउथे
फरक थिएन हाम्रा सुत्ने ओछ्यानहरु
न विभेद नै थियो
हाम्रा शरीरबाट निस्किएका पसिनाका गन्धहरुमा
आफ्नै ठान्थ्यौ एकअर्काको पीडालाई
किनकि हामी
एउटै यात्रामा निस्किएका सहयात्री थियौ ।

सम्झिरहेको छु अझै
लालीगुराँसका जंगलहरुमा थकाई मार्न बस्दा
तिमीले सुनाएका तिम्रा घरका कथाहरु
गरिवीले उपचार गर्न नपाई
छोराछोरीको अंकमालमा आँशु झार्दै झार्दै
संसार छाडेर गएकी तिम्री आमाको व्यथा
गरिवीको बोझ थाम्न नसकी
आत्महत्या रोजेको तिम्रो बा’को पिडा
असह्य भोकले कहालिदै चिच्याएको
तिम्रो सानोभाईको रोदन
वर्षात् छेक्ने गतिलो छानो नभएर
रातभरी उज्यालो पर्खेर बसेको दिनहरु
उफ ! यी बगरका पीडाभन्दा पनि ठुलो पीडा सुनेर
साच्चिकै नि:शब्द भएको थिए
किनकी जुन उदाउने त्यो आदिम पहाडमाथि
विजयको झण्डा गाड्न हामी
एउटै यात्रामा निस्किएका सहयात्री थियौ ।

सुदुर भविष्यको यात्रामा
हिडेका अविचलित पाईलाहरु
वारुलाले छिन्नभिन्न पारेको मौरीको घार जस्तै बनेपछि
शहरउन्मुख भयो तिम्रो यात्रा
र, मेरो यात्रा चाही हिजोको जस्तै
सिमित हुनपुग्यो घरगोठ, आँगन, र खेतवारीहरुमा ।
भाग्योदय चिट्ठा परे झैँ
सत्तासिन हुनपुग्यौ दरवारमा
र, देखिन थाल्यो स्पष्टसंग ‘सम्बृद्धीका नमूनाहरु’ ।

प्रिय साथी !
विशाल क्षेत्रफलमा फैलिएको
तिम्रो स्वर्णिम महलको ग्रेटवाल
हत्यारा कुनै जेलको पर्खाल झैँ लाग्छ
शहरको बिचमा ठिङ्ग उभिएको तिम्रो महल
आफैमा एउटा झ्यालखाना
र, तिमी एक कैदी जस्तै लाग्छ ।
तिम्रो महल अगाडी तिमीलाई भेट्न
घन्टौ घण्टा कुरेर थाक्नुपर्ने
रहनसहन मिल्नुपर्ने
साच्चिकै फरक भएछन बाटाहरु
एउटै सपना बोकेका सहयात्रीहरुको !
तिमी महलको जिन्दगीमा रमाउन थालेछौ
यता हामी कहरको जिन्दगी बिताईरहेका छौ
तिम्री दु:खी आमा-बा’को जस्तै नियति बोकेर
परित्यक्त बन्जर जमिन झैँ
वाचिरहेका छौ जसोतसो हालको जिन्दगी
मृत सपनाहरुको अँगालोमा ।

१०/११/२०१९

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.