~बाबुराम पन्थी ‘गुल्मेली’
~
एउटा सानो एकनले खरले छाएर बनाएको गाइगोठ को एउटा कुना । जसमा बस्ने भाग लाई बाँस चिरेर बनाएको भाटा ठोकी बारीएको र त्यै माथी गोबर माटोले लेप लगाएर बनाएको साँहीला मामाको जिवनका सुनौला सपना बुन्ने महल । एक श्रीमती र एक छोराको सानो परिवार दु:खी परिवार । त्यै घर माथी छिमेकीको जग्गामा पर्ने ठूला ठूला रूखहरू । रिप्यानले गर्दा खरको छाना छिट्टै कुहिने हुनाले प्रत्यक बर्ष कटेरो छाउनै पर्ने बाध्यता । अगाडी पट्टी बलेनी संगै अग्लो काल्नो । बर्षा याममा लेउ पलाएर हरीयै र चिप्लै हुने चिप्लीयो भने काल्नो मुनी । पल्लो पट्टी एक हल मत्त बलिया गोरू र एउटा भैंसी । यिनै गोरू संगै बुनेका उनका सुनौला सपनाहरू । अझ भनौ न गोरू लाई उनले हलो भिराएर जोत्छन् वा हलो भिरेर गोरूले उनलाई जोत्छन् ?
गाँऊको पाखो बारी , टारी खेत र पनाहखोला वरपरी रहेको गैह्री खेत रंगाउदा पनी उनको जिवन कहीले रंगिएन । उनको शरीरमा कहिले सुकिलो कपडा देखीएन दिन चर्या नै रात दिन माटो संग खेल्दा फुर्सदनै थिएन होला बिचारा लाई । कती साह्रो दु:ख गर्न सकेका साँईला मामा । उनको जिबनका धेरै समय हलो संग बढी बितेकोमा द्विबिधा छैन
खास गरी तेतीबेलाको समयमा ग़रीब लाई हाम्रो नेपाली समाजमा निकै पिडा दिईन्थ्यो र बाध्य बनाएर बालीघरे जोत्ने बनाईन्थ्यो । त्यती बेला दुई तिन हजार रूपैया चलाए बापत त्यसैको ब्याजमा साहुको खेत बारीमा बर्षौ सम्म अर्थात साँबा चुक्ता नगर्दाको दिन सम्म जोतीदिनु पर्ने । दिन भरीको ज्याला बिहान दिउसो खाना र साँझ एकमानो मकैको चाँख्ला दिने चलन थियो गरिबहरू लाई अली ठुलो रकम कुनै कामको लागी चाहीयो भने बाँधा राखेर मात्र पैसा दिईन्थ्यो त्यो पनी तमसुक लेखेर । साँईला मामा पनी यस्तै फन्दामा फसेका थिए । एउटा साहूको ऋण चुक्ता नगर्दै फेरी ऋण चाहियो भने अर्कों साहूकोमा त्यही प्रकृया अनुशार ऋण लिनुपर्ने । कस्तो विडम्वना ? यस्तै कारणले साहूहरूको ब्याज तिर्न जोतिदा उनको आर्थिक प्रगति हुन सकेन । बिचराले साहूको ऋणको ब्याजमा जोत्नु बाहेक अरू सायद सोंच्नै सक्दैनथे ।
साँईला मामाको चिलिम तान्ने बानी घरमा उत्पादन गाँजाले बर्ष भरी पुग्दैन थियो । टोलमा प्राय सबैकोमा दुई चार बोट गाँजा हुने गर्थ्यो । प्राय ऊनी नै किनेर सकाउथे भने जोत्न उनको सहयोग चाहीनेहरू चैं उनलाई गाँजा उपहार दिन्थे । जोत्दै गर्दा पनी जब चिलिम तान्ने मन लाग्छ गोरू अडाएर चिलिम सल्काउने उनको बानी । अनी साथमा काम गर्नेहरू कोही पुरूषहरू . केटाहरू छन् भनेपनी सोध्ने गर्दथे । एक स्वाँठ लगाउने की ? कत्तीपटक मलाई पनी सोधेकोले कुनै कुनै दिन लुकेर म पनी एक दुई स्वाँठ तानेका थिए । निकै पावरफुल हुन्थ्यो उनको चिलिम एक दुई स्वाँठ तान्दै भिम्मल ।
रमाईलो स्वभावका उनी जिबन भर कडा मेहनत गर्दा पनी कहिले जिबनको पाटो बदल्न सकेनन् । यसरी श्रम शोषणको शिकार भएर जिबन कटाउन बाध्य थिए उनी ।
मैले जान्दा देखी उनको मृत्यु सम्म पनी साहूको बाँधा बाट मुक्तहुन नसकेरै परमधाम भए साँइला मामा ।
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
