कार्यपत्र : समकालीन नेपाली उपन्यासका प्रमुख प्रवृत्तिहरू

~कुमारप्रसाद कोइराला~

विषय प्रवेश

समकालीन भनेको एउटै समयको वा उही समयको वा अहिलेको, भरखरैको, तत्कालैको हो । यसलाई समसामयिक पनि भनिन्छ । समकालीन वा समसामयिक उपन्यास भनेको अहिलेको वा भरखरै प्रकाशित भएको उपन्यास भनेको हो । समकालीन वा अहिले भनेर कहिलेदेखिको अवधिलाई मान्ने भन्ने प्रश्न आउँछ । यसका साथै विचार र शैलीको पनि प्रश्न आउँछ । भरखरै लेखिएको तर भरखरैको विचार शैली नभएको उपन्यासलाई समकालीन भन्न सकिँदैन । पश्चिमी साहित्यमा समकालीन भनेर द्वितीय विश्वयुद्धपछि लेखिएको साहित्य वा उत्तरआधुनिक साहित्य भनेर चिनिन्छ । नेपालीमा भने दोस्रो विश्वयुद्ध अर्थात् वि.सं.१९९६—२००२ पछि लेखिएको साहित्यलाई आधुनिक भनिन्छ । नेपालीमा उत्तरआधुनिक साहित्य लेखन इन्द्रबहादुर राईको लीलालेखन वि.सं.२०३४ देखिमात्र सुरु भएको हो । यसरी सामान्यतः समकालीन नेपाली उपन्यास भनेर वि.सं.२०३५ पछि लेखिएका उपन्यास भन्न सकिन्छ, तर पचासको दशकदेखि मात्र नेपालीमा समसामयिक विचार वा उत्तरआधुनिक चेतना वा विशेषता भएका उपन्यास लेखिन थाले । त्यसैले यस लेखमा पचासको दशकदेखिका उपन्यासलाई आधार बनाएर तिनका प्रमुख प्रवृत्ति पर्गेल्ने प्रयास गरिएको छ ।

समकालीन उपन्यास
समकालीन उपन्यासलाई चिनाउन अप्ठ्यारो छ किनभने यसका अनगिन्ती विशेषता छन् । यसका अनन्त विषय छन् र उपन्यासकार पनि अनेक ठाउँ र अनेक प्रकृति र संस्कृतिका छन् । त्यस्तै समकालीन उपन्यासले आफ्नै बारेमा आलोचना गर्छ । नयाँ र पुराना विषयवस्तुलाई मिसाउँछ र टाँस्छ । रूप र संरचनामा निरन्तर प्रयोग गरिरहन्छ । यसको शैली यही हो भनेर हत्तपत्त पत्ता लगाउन सकिँदैन । त्यसैले शैली पत्ता लगाउन पाठक र लेखकमा भर पर्न बाध्य हुनुपर्छ । वास्तवमा समकालीन उपन्यास भन्न सजिलो छ, तर समकालीन उपन्यास कस्तो हुन्छ भनेर परिचय दिन गारो छ । समकालीन उपन्यासले अहिलेको जीवन र संस्कृति प्रतिविम्बित गर्छ । जीवन र संस्कृति सदा परिवर्तनशील र विरोधाभासपूर्ण हुन्छ । यसले जीवन र संस्कृतिको त्यही परिवर्तनशीलता र विरोधाभास देखाउँछ । समकालीन उपन्यास झट्ट हेर्दा निर्दोष वा सोझो देखिए तापनि यो व्यङ्ग्यात्मक हुन्छ । यसले हाम्रो राजनीतिक, सामाजिक र वैयक्तिक भ्रममुक्तता प्रतिविम्बित गर्छ । यसले जे कुराको पनि नव सिर्जना गरिदिने साहस गर्छ । यसले पुरानालाई नयाँ रूपमा देखाउँछ । यसले विश्वमा कुनै निश्चित सत्य वा यथार्थ हुँदैन भनेर देखाउँछ, किनभने हामी जे जान्दछौँ, त्यो हाम्रै परिप्रेक्ष्यमा आधारित हुन्छ । कुनै पनि वस्तुलाई सबैले आफ्नै दृष्टिले हेरिरहेका हुन्छन्, त्यसैले सत्य वा यथार्थ पनि दृष्टि अनुसारकै हुन्छन् । सत्यको पूर्णता, अविनाशितता र ठोस आधार छैन । सत्य इतिहासरूपी मरुभूमिको बालुवाजस्तो बदलिरहने स्वभावको छ । यो स्थानीय हुन्छ, अनिश्चित हुन्छ । यसलाई मानव पिँढीले आफू सत्तामा टिकिरहन र सम्मानित भइरहन सांस्कृतिक पद्धतिबाट  निर्माण गरिरहन्छ । त्यसैले हाम्रो मूल्य वा परिचय भनेको सांस्कृतिक निर्मिति मात्र हो, त्यो हाम्रो स्थायी अस्तित्व होइन । शब्द भनेको प्रतीक हो र प्रतीकले वास्तविकतालाई वा वस्तुलाई प्रत्यक्ष उपस्थित गराउन सक्दैन । शब्दसँग सन्दर्भार्थ मात्र हुन्छ र यो विशिष्ट रूपमा हुन्छ । त्यसैले शब्दका कुनै निश्चित र स्थिर अर्थ छैनन् । अहिलेका उपन्यासले यिनै माथिका कुरा व्यञ्जित गर्छन् ।

समकालीन नेपाली उपन्यास लेखनका प्रेरक तत्व 
कुनै पनि कुरा विनाकारण हुँदैनन् । समकालीन उपन्यास लेखिनाका पनि खास कारण छन् । ती कारणलाई राष्ट्रिय र अन्तरराष्ट्रिय भनेर छुट्टयाउन सकिन्छ । प्रमुख राष्ट्रिय कारणमा विभेदमूलक सामाजिक संरचना, २०४६ सालको पुनःप्राप्त प्रजातन्त्र र यसले ल्याएको उदारता, २०५२ सालदेखि २०६२ सालसम्म चलेको द्वन्द्व र युद्ध तथा २०६३ मा भएको राजनीतिक परिवर्तन पर्दछन् । प्रमुख अन्तरराष्ट्रिय कारणमा विश्व राजनीतिमा रहेको द्वि ध्रुवीय दृष्टिकोणको अन्त्य र बहुलवादी दृष्टिको उदय, सञ्चार र प्रविधिको तीव्र विकास र त्यसको प्रभाव तथा विश्व उपन्यास लेखनमा आएका नवीन प्रवृत्तिको विश्वव्यापी प्रयोग पर्दछन् । यीबाहेक डार्विन, कार्लमाक्र्स र सिग्मन्ड फ्राइडले प्रतिवादन गरेका वैज्ञानिक र भौतिकवादी दृष्टिकोण, माक्र्सवादोत्तर समयमा आएका नवमाक्र्सवादी र अन्य समसामयिक धारणा र पूर्वीय समन्वयवादी (आध्यात्मिक र भौतिक) विचार पनि समकालीन उपन्यास लेखनका कारण बनेका देखिन्छन् । यीबाहेक विभिन्न कारणले नेपाली जातिको तीव्र बहिर्गमन पनि समकालीन उपन्यास लेखनको कारण बनेको पाइन्छ । यिनै कुराहरू नै समकालीन नेपाली उपन्यास लेखनका प्रेरक तत्व हुन् ।

समकालीन नेपाली उपन्यासका प्रमुख प्रवृत्तिहरू
समकालीन नेपाली उपन्यासका प्रमुख प्रवृत्तिलाई मूलतः आधुनिक र उत्तरआधुनिक गरी दुई खण्डमा बाँडेर विश्लेषण गर्नु बढी उपयुक्त हुन्छ, किनभने यस चरणमा आधुनिक र उत्तरआधुनिक दुवै किसिमका विशेषता भएका उपन्यास लेखिएका छन् । सामान्यतः आधुनिक भन्दा पनि अहिलेको र उत्तरआधुनिक भन्दा पनि अहिलेकै भन्ने बुझिन्छ, तर यी दुवैमा धेरै भिन्नता रहेको कुरा समालोचकहरूले देखाएका छन् । आधुनिकताबाट उत्तरआधुनिकतालाई छुट्टयाउने आधार इहाव हसनले द पोस्टमोडर्न टर्नः एसेज इन पोस्टमोडर्न थ्योरी एन्ड कल्चर (सन् १९८७) मा प्रस्तुत गरेका र नेपाली समालोचक गोविन्दराज भट्टराई (२०६१) र कृष्ण गौतम (२०६३) ले हसनकै आधारलाई उद्धृत गरेर देखाएका छन् । उनीहरूले उद्धृत गरे अनुसार आधुनिकता र उत्तरआधुनिकताबिच निम्न प्रकारका भिन्न विशेषता देखिन्छन् ः केन्द्रण र विकेन्द्रण, आधार र शून्यता, मूल र निर्माण, एकल र बहुल, सार्वभौम र सापेक्ष, समग्र र खण्डित, वस्तुपरक र व्यक्तिपरक, बुद्धिवाद र अलङ्कारवाद, प्रगति र प्रगतिहीनता, इतिहासको गतिमयता र इतिहासको अन्त्य, लेखकको अस्तित्व र लेखकको मृत्यु, बद्ध र मुक्त, उच्च र निम्न, उत्पादन र उपयोग, गहिराइ र सतह, अन्तरराष्ट्रियता  र भूमण्डलीकरण÷स्थानीयता, मौलिक र मिश्रित, कृत्रिम, यातायात र सञ्चार, नियमित र स्वच्छन्द, निश्चित र अनिश्चित आदि । समकालीन नेपाली उपन्यासमा माथि उल्लेख गरिएका आधुनिक र उत्तरआधुनिक दुवै विशेषता देखिन्छन् । दुवै खाले विशेषता पाइने उपन्यास लेखिँदै गरेका छन् । त्यसैले प्रवृत्तिगत हिसाबले ती आधुनिक  र उत्तरआधुनिक दुवै हुन सक्छन् । यहाँ पहिले आधुनिक र त्यसपछि उत्तरआधुनिक प्रवृत्तिको विश्लेषण गरिएको छ ।

(क) समकालीन उपन्यासका आधुनिक प्रवृत्तिहरू
समकालीन उपन्यासका प्रवृत्तिको अध्ययन विभिन्न अध्येताले विभिन्न किसिमले गरेका छन् । एटम (२०६६) ले समकालीन नेपाली उपन्यासका विषयहरूको वर्गीकरण र विश्लेषण गरेका छन् । उनले उल्लेख गरेअनुसार समसामयिक नेपाली उपन्यासका विषयमा राजनीतिक विकृति, पीतपत्रकारिता, लैङ्गिकता, मिथकको पुनःसिर्जन, वर्गीय र जातीय शोषणबाट मुक्ति, युद्धको प्रभाव र पलायन, डायस्पोरा सङ्घात, स्वैरकल्पना, आत्मकथा, शरणार्थी समस्या, साइबर संस्कृति, उपन्यासभित्र उपन्यास पर्दछन् । सुवेदी (२०६८) ले समसामयिक नेपाली उपन्यासलाई पुराकथा, माक्र्सवादी चेतना, सीमान्तीय (जातीय, कुसङ्केतन, लैङ्गिक, पहिचानगत) अध्ययनका आधारमा विवेचना गरेका छन् । लुइटेल (२०६९) ले आधुनिक नेपाली उपन्यासका प्रमुख धारागत प्रवृत्तिमा यथार्थवादी धारा (आदर्शोन्मुख यथार्थवाद, ऐतिहासिक यथार्थवाद, सामाजिक यथार्थवाद, आलोचनात्म यथार्थवाद, समाजवादी यथार्थवाद, मनोविश्लेषणात्मक यथार्थवाद), स्वच्छन्दतावादी धारा र प्रयोगवादी धारा (अस्तित्ववादी—विसङ्गतिवाद, नारीवाद) गरी तिन धारामा विभाजित गरेर अध्ययन गरेका छन् । बराल (२०७०) ले समकालीन उपन्यासका माओवादी जनयुद्ध, त्यसको प्रभाव र परिणाम, सिमानामा हुने थिचोमिचो र राष्ट्रिय अस्मिताको चिन्ता, नश्लवादी र जातिवादी राजनीतिप्रतिको मोह र क्रान्तिकारी निरन्तरताप्रतिको प्रतिबद्धता गरी चार वटा मुख्य प्रवृत्ति छन् भनेर उल्लेख गरेका छन् । यहाँ यिनै कतिपय पूर्वाध्ययनका आधारमा समकालीन उपन्यासका प्रमुख प्रवृत्तिको पहिचान र विवेचन गर्ने प्रयास गरिएको छ ।

स्वच्छन्दतावादी उपन्यास लेखन : यो प्रवृत्ति पाश्चात्य साहित्यमा आधुनिक कालभन्दा अगाडिको मानिन्छ, तर नेपाली उपन्यासमा चाहिँ आधुनिक उपन्यासको एक प्रवृत्तिका रूपमा चिनिएको छ । यो प्रवृत्ति आधुनिक उपन्यासको आरम्भदेखि नै निरन्तर रूपमा प्रवाहित छ । यस प्रवृत्तिमा लेखिएका समकालीन उपन्यासहरूमा हिरण्य भोजपुरेका छिटेन, गोरी, होमराज आचार्यको निर्दोष कैदी, श्रेष्ठ प्रिया पत्थरका रङ्गभूमि, मर्यादा, कसिङ्गर, पुनरावृत्ति, इन्दिरा बुढाथोकीको अमूर्त सपना, भारती खरेलका कुमारी आमा, लाहुरे, राजेन्द्र पौडेलका समाजले देखिनसहेको प्रेम, बिछोडको चोट, सपनाको राजकुमार, किसनसिंह धामीको कलेजगर्ललाई इमेल, रामचन्द्र पोखरेलको दीपशिखा, सङ्गीता स्वेच्छाको ओभानो सिउँदो, चन्द्रप्रसाद न्यौपानेको बुद्धको नायिके, कलानिधि दाहालको अरस्तुदेखि बङ्करसम्म आदि पर्दछन् । जीवनलाई आदर्श देखाउनु, कल्पनाको बढी प्रयोग गर्नु, उपन्यासको मानक संरचनाप्रति अरुचि देखाउनु, वस्तुपरकता भन्दा वैयक्तिकता बढी हुनु, आलङ्कारिक भाषाको प्रयोग गर्नु, कष्टपूर्ण जीवनबाट पलायन हुने, संवेगप्रधान, अन्तर्मुखी र भावुक पात्रको निर्माण गर्नु, सिर्जना भन्दा सर्जक महŒवपूर्ण लाग्नु क्रान्तिकारी र परिवर्तनकामी सोच देखिनु आदि स्वच्छन्दतावादी उपन्यासका प्रमुख प्रवृत्ति हुन् ।
यथार्थवादी उपन्यास लेखन
भौतिक सत्यमा विश्वास गर्ने सिद्धान्तलाई यथार्थवाद भनिन्छ । यसले देखेभोगेको वास्तविकतालाई मात्र सत्य ठान्छ र कल्पना र आदर्शलाई अस्वीकार गर्छ । साहित्यमा लेखकले गरेको कल्पनालाई सत्यको भान पार्ने कला वा टेक्निक पनि यथार्थवाद हो । यसका अनेक प्रकार छन् । यहाँ विभिन्न प्रकारका यथार्थवादी नेपाली उपन्यास केकस्ता छन् भनेर चर्चा गरिएको छ ।
क. आदर्शोन्मुख यथार्थवादी लेखनः यो प्रवृत्ति यथार्थवादको एक पक्ष हो । यो नेपाली उपन्यासको विकासकाल वा आधुनिक कालदेखि नै निरन्तर रूपमा प्रवाहित हुँदै आएको छ । आदर्शोन्मुख यथार्थवादी प्रवृत्ति भएका समकालीन उपन्यासहरूमा विकास आचार्यको अप्पो दीपो भव, विनोद धितालको योजन गन्धा, गीता केशरीका खोज, अन्तिम निम्तो, विश्वास, खुला आकाश, नोकरी, बदलिँदो क्षितिज, राजेश्वर देवकोटाका पूर्णिमा, डबली, विश्वास, सूबसेन ओलीको अञ्जुश्रीदेखि आन्दोलनसम्म, बखतबहादुर थापाका परदेश, कुहिरो र काग, कालचक्र आदि पर्दछन् । यी उपन्यासले जीवनको उच्च वा भव्य पक्षको चित्रण, हीनपक्षको चित्रण, सुधारवादी दृष्टि, असल वा अनुकूल पक्षको विजय आदि देखाएका छन् । त्यसैले यिनलाई आदर्शोन्मुख यथार्थवादी उपन्यास भनिएको हो ।
ख. सामाजिक यथार्थवादी लेखनः यो प्रवृत्ति पनि आधुनिक कालको प्रथम चरणदेखि नै रहेको पाइन्छ । यस प्रवृत्तिलाई आधार बनाएर लेखिएका समकालीन उपन्यासहरूमा नयनराज पाण्डेका नाङ्गो मान्छेको डायरी, उलार, लू, घामकिरी, शैलेन्दु प्रकाश नेपालको अपरिभाषित, बलदेव मजगैयाँका कुहिरो, चारु, विवशता, मानसी, शिव अधिकारीका आखेट, पुंश्चली, सुस्मिता नेपालका एकान्त पनि रुन्छ, मेरा छातीका कोलाजहरू, उडेका उमेरहरू, गोवद्र्धन पूजाका शून्यताको आँचलभित्र, अब इतिहास रुँदैन, अप्सरा लावतीको लोजिमा, श्रीधर पौडेलको दुई ढुङ्गाबीचको तरुल, हरिप्रसाद पाण्डेको मुटुभित्रका ढुकढुकीहरू, विन्द्या सुब्बाका फूलहरूः धर्साहरू, अथाह, प्रकाश सुबेदीको बैँसालु सुन्दरी, होमबहादुर रानाभाटको आदर्श शिला, शशि भण्डारीको लक्ष्मीदिदी, विचलन, पुण्यप्रसाद प्रसाईँको छापामार, कृष्ण धरावासीका शरणार्थी, आधाबाटो, तपाईं, टुँडाल, कञ्चन पुडासैनीको अधुरो उपन्यास अधुरा इच्छा आदि पर्दछन् । जीवनको उज्यालो पक्षको भन्दा अँध्यारो पक्षको चित्रण, समकालीन वा समसामयिक घटनाको प्रस्तुति, आञ्चलिकता, निम्न वर्गको जीवनलाई केन्द्र बनाउनु, बोलीचालीको भाषा प्रयोग गर्नु, यथार्थपरक प्रस्तुतिलाई महŒव दिनु, प्रतिनिधि पात्रहरूको प्रयोग गर्नु, सामाजिक विकृति, अन्धविश्वास र कुरीति देखाउनु आदि सामाजिक यथार्थवादी उपन्यासका मूल पहिचान हुन् । सामाजिक यथार्थवाद यथार्थवादको एक पक्ष हो ।
ग. समाजवादी यथार्थवादी लेखन : यो प्रवृत्ति पनि नेपाली उपन्यासको आधुनिक कालदेखि नै प्रवाहमान देखिन्छ । यस प्रवृत्तिमा लेखिएका उपन्यासलाई कतिले आलोचनात्मक यथार्थवादी, कतिले प्रगतिवादी पनि भनेका छन् । यी सबैलाई समेट्ने गरी भन्दा समाजवादी यथार्थवादी भन्नु नै बढी समीचीन देखिन्छ । यस प्रवृत्तिका उपन्यासले मूलतः माक्र्सवादी सिद्धान्तलाई जीवनदृष्टि बनाएका हुन्छन् । यस्ता उपन्यास लेख्ने उपन्यासकारहरू भने कोही बढी कट्टर जो माक्र्सवादलाई अक्षरशः पालना गरेर लेख्छन् भने कोही उदार माक्र्सवादी पनि हुन्छन् जो माक्र्सवादलाई जीवनदृष्टि त बनाउँछन् तर त्यसको पालना कट्टरतापूर्वक गर्दैनन् । माक्र्सवादलाई गतिशील, परिवर्तनशील दर्शन मान्नेहरू नै उदार माक्र्सवादी हुन् । दुनियाँमा माक्र्सवाद मात्र ठिक अरू सबै बेठिक भन्नेहरू चाहिँ कट्टर माक्र्सवादी हुन् । यी सबैलाई समाजवादी यथार्थवादी भन्न सकिन्छ । यस प्रवृत्तिलाई आधार बनाएर लेखिएका समकालीन उपन्यासहरू यी हुन्ः आहुतीका नयाँघर २०५०, स्खलन २०५९, रमेश विकलका सागर उर्लन्छ सगरमाथा छुन, मदनमणि दीक्षितका त्रिदेवी, भूमिसूक्त, पुष्पनाथ शर्माको बिहानीको खोजी, विजयकुमार चालिसेको मुस्ताङको गुफा, ऋषिराज बरालको समरगाथा, खगेन्द्र सङ्ग्रौलाको जुनकीरीको सङ्गीत, नारायण ढकालका दुर्भिक्ष, पीतसंवाद, प्रेतकल्प, अनिल अधिकारीको प्रकृति, रामप्रसाद ज्ञवालीको जीवनका घुम्तीहरू, नारायण तिवारीको पिताम, एमपी खरेलको पुस्तान्तर, भक्तबहादुर नेपालीका बेचिएका दिदीबहिनीको कथा, भूतको ओखती, लीलावती, प्रदीप नेपालका स्व्प्निल सहर, अनौठो प्रेमकथा, यात्रा, चरैवेति चरैवेती, बर्बरिक, शरद पौडेलका लिखे, सिमाना वारिपारि, हरिहर खनालको समयको रेखाचित्र, भास्करका अमर बस्ती, अचम्मको फैसला, इस्मालीको जिरो माइल, सुकुम शर्माका सङ्घर्षशील युवाको डायरी’, अनवरत यात्रा, घनश्याम ढकालको रातो आकाश आदि । माक्र्सवादी दृष्टिले समाजको अध्ययन गर्नु, वर्गीय द्वन्द्वलाई महŒव दिनु, सामन्त, शोषक र सत्ताधारीहरूबाट हुने अन्याय, अत्याचार, दमन, शोषणको विरोध र प्रतिकार गर्नु, गरिब, निमुखा, तल्लो जात भनेर हेपिएका, नारी भनेर पछाडि पारिएकालाई नायक नायिका बनाउनु, उनीहरूको क्रान्तिकारी, विद्रोह र परिवर्तनकामी स्वर मुखरित गर्नु, राजनीतिक अधिकार प्राप्तिका लागि सचेत, सङ्घर्षशील हुन प्रेरित गर्नु, जीवनलाई आशावादी दृष्टिले हेर्नु, हरेक प्रकारका बन्धबाट मुक्तिको लागि प्रयत्नशील रहनु, विषयवस्तु अनुरूपको भाषा शैली प्रयोग गर्नु आदि समाजवादी यथार्थवादी उपन्यासका मूलभूत प्रवृत्ति हुन् । समाजवादी यथार्थवाद पनि यथार्थवादकै एक पक्ष हो ।
घ. ऐतिहासिक यथार्थवादी लेखन : यो यथार्थवादकै एक पक्ष हो । इतिहासका यथार्थ घटनालाई विषयवस्तु बनाएर लेखिएका उपन्यास नै ऐतिहासिक यथार्थवादी हुन् । यस प्रवृत्तिका उपन्यास पहिलेदेखि नै लेखिँदै आएका छन् । यस प्रवृत्तिमा आधारित समकालीन उपन्यासहरूमा डायमन शमसेरका धनको धब्बा, गृहप्रवेश, एसपी आशाका पृथ्वीनारायण शाह, हामीले कसरी प्रजातन्त्र ल्यायौँ, नेपालको पहिलो कोतपर्व, सुन्दरप्रसाद शाहका बहादुर शाह, कान्तवती, सानुहजुर, श्रीकृष्ण श्रेष्ठका जङ्गबहादुर, भीमसेन थापा, दौलतविक्रम विष्टको फाँसीको फन्दा भुवनचन्द ठकुरीको आहुती आदि पर्दछन् । यी उपन्यासले प्रायः पहिलेको र भरखरैको इतिहासलाई विषय बनाएका छन् । बितिसकेका महŒवपूर्ण घटना वा व्यक्तिलाई विषय बनाउनु, ऐतिहासिक तथ्यमा निजी कल्पनाको रङ्गरोगन लगाउनु, इतिहास सापेक्ष परिवेश सिर्जना गरी ऐतिहासिक जीवनलाई यथार्थवादी ढाँचामा प्रस्तुत गर्नु, अतीतको पुनः सिर्जना गरेर यथार्थको भ्रम सिर्जना गर्नु आदि नै ऐतिहासिक यथार्थवादी उपन्यासका प्रमुख प्रवृति हुन् ।
ङ. अतियथार्थवादी लेखन : यो पनि यथार्थवादकै विस्तारित रूप हो । बाह्य यथार्थ भन्दा आन्तरिक यथार्थ खास गरी फ्रायडेली स्वप्नसिद्धान्तमा आधारित यथार्थमा जोडदिनु, स्वचालित लेखन, प्रयोगपरकता, अवचेतन मन अनुसारको विशृङ्खलित वा व्याकरण असम्मत भाषाको प्रयोग गर्नु आदि अतियथार्थवादी उपन्यासका मूल प्रवृति हुन् । यो प्रवृति पनि नेपाली उपन्यासमा आधुनिक उपन्यासको प्रथम चरणदेखि नै खास गरी वाङ्गदेलको लङ्गडको साथी  उपन्यासदेखि प्रयुक्त भएको मानिन्छ । यस प्रवृतिमा लेखिएका समकालीन उपन्यासहरूमा चाहिँ गोविन्द गोठालेका अर्पणा, पियानानी, हिरण्य भोजपुरेका गोरी, सगरमाथा भन्दा माथि, सिता पाण्डेको अन्तद्र्वन्द्व आदि पर्दछन् ।

च. प्रकृतिवादी यथार्थवादी लेखन : यो पनि यथार्थवादकै एक पक्ष हो । यस प्रवृतिको प्रयोग पनि नेपाली उपन्यासमा पहिलेदेखि नै भएको पाइन्छ । समकालीन उपन्यासमा पनि यो प्रवृति पाइन्छ । आदर्शरहित, नैतिकताहीन मान्छेको प्राकृत रूपलाई देखाउनु, मानवीय आवेग वा संवेगलाई महŒव दिनु, मान्छे अरू कुनै अलौकिक कुराबाट सञ्चालित हुँदैन प्रकृतिबाट हुन्छ भन्ने विश्वास गर्नु, वैज्ञानिक दृष्टिले मानव जीवनको निरीक्षण गर्नु, वैयक्तिकताको गहिरो छाप पार्नु, आहार, निन्द्रा, भय, मैथुन जस्ता कुरा मान्छे र पशुमा समान हुन्छन् भनेर देखाउनु, मान्छेमा देवता हुँदैन पशुत्व चाहिँ हुन्छ भनेर पाशविक प्रवृतिको उद्घाटन गर्नु, भाषा शैलीलाई अमूर्त पारेर प्रस्तुत गर्नु प्रकृतिवादी यथार्थवादी उपन्यासका मूल प्रवृति हुन् । यस्ता प्रवृति भएका समकालीन नेपाली उपन्यासमा ध्रुवचन्द्रको जेलिएको, उपसंहार अर्थात् चौथो अन्त्य, कृष्ण धारावासीको टुँडाल, हिरण्य भोजपुरेको सगरमाथाभन्दा माथि, सरुभक्तको समय त्रासदी, सीता पाण्डेको अन्तद्र्वन्द्व, शोभा भट्टराईको अन्त्यहीन अन्त्य राजेन्द्र थापाका खेलौना, द्रौपदी, अनुपम रोशीका कुमारी आमा, नाङ्गो मान्छे आदि पर्दछन् ।

मनोविश्लेषणात्मकता : मानव मनको यथार्थ प्रस्तुत गर्ने हुनाले यसलाई मनोवैज्ञानिक यथार्थवाद पनि भन्ने गरेको देखिन्छ (श्रेष्ठ र शर्मा, २०५६) । फ्रायड एडलर, युङ र ज्याक लकाँहरूका मनोवैज्ञानिक विचारहरूलाई प्रमुख आधार मानेर लेखिने उपन्यासलाई मनोविश्लेषणवादी भन्न सकिन्छ । मानव मनका विविध पक्षको चित्रण गर्नु, वैयक्तिक चरित्रलाई महŒव दिनु, मान्छेका अन्तद्र्वन्द्व प्रस्तुत गर्नु, विविध मनोग्रन्थिको चित्रण गर्नु, जीवनका आन्तरिक यथार्थको खोज गर्नु, उपन्यासलाई खास गरी अचेतन मनकै प्रतिक्रियाका रूपमा स्वीकार्नु, भाषा र अवचेतनको सम्बन्ध खोतल्नु, कलात्मक पक्षलाई कम महŒव दिनु आदि मनोविश्लेषणात्मक उपन्यासका मूल प्रवृति हुन् । यस प्रवृत्तिको प्रयोग गरेर पहिलेदेखि नै नेपाली उपन्यासहरू लेखिँदै आएका थिए । यस्ता समकालीन उपन्यासहरू परशु प्रधानको सीताहरू, हिरण्य भोजपुरेको सगरमाथाभन्दा माथि, सीता पाण्डेको अन्तद्र्वन्द्व , गोविन्द गोठालेका अर्पणा, पियानानी, इन्दिरा प्रसाईंको विश्वामित्र, शिखा, कृष्ण धरावासीको टुँडाल, कुलचन्द्र कोइरालाको वासना र प्रेम, विजय मल्लको श्रीमती शारदा, तेराखको सर्वजा, जगदीश शम्सेरको सेतो ख्याकको आख्यान, धु्रवचन्द्र गौतमको जेलिएको, मोहनराज शर्माको सलिजो, सञ्जीव उप्रेतीको घनचक्कर आदि हुन् ।

विसङ्गतिवादिता वा अस्तित्ववादिता : विसङ्गतिवाद र अस्तित्ववादलाई बेग्लाबेग्लै राखेर पनि विश्लेषण गर्न सकिन्छ, तर यहाँ यी दुवैलाई एकै ठाउँमा राखेर विश्लेषण गर्ने प्रयत्न गरिएको छ । किनभने विसङ्गतिको बोध नभई अस्तित्वका कुरा नै आउँदैनन् । अस्तित्ववादको कुरा गर्दा स्वतः विसङ्गतिवाद आउँछ । यी दुवैका चिन्तक र लेखक प्रायः समान छन् । कुनै पनि कृति वा कृतिकार विसङ्गतिवादी हुन अनिवार्यतः अस्तित्ववादी हुनै पर्छ । दुवैको दृष्टिकोण मानवतावादी हुन्छ । दुवैले व्यक्तिको महŒवलाई सर्वोपरि ठानेका छन् । दुवैले अस्तित्वको अभिलक्षण पीडा र विसङ्गतिमा खोजेका छन् । (शर्मा र लुइटेल, २०६१, पृ. ३४९) । जीवनको निस्सारता, शून्यता, अर्थहीनता, अभिशप्तता, एक्लोपन, मृत्युभय, व्यक्तिको सर्वोपरिता, मान्छे आफ्ना कर्मको लागि ऊ स्वयम् जिम्मेवार हुन्छ भन्ने मान्यता राख्नु कलात्मकतालाई महŒव दिनु आदि विसङ्गतिवादी अस्तित्ववादी उपन्यासका मूल प्रवृति हुन् । यो प्रवृतिको प्रयोग नेपाली उपन्यासमा आधुनिककालको दोस्रो चरणदेखि भएको देखिन्छ । समकालीन नेपाली उपन्यासमा विसङ्गतिवादी अस्तित्ववादी प्रवृतिमा लेखिएका कृतिहरू धु्रवचन्द्रका जेलिएको, एउटा असफल आख्यानको आरम्भ, भीमसेन ४ को अन्तिम खोजी, दुबिधा, अग्निदत्तअग्निदत्त, फूलको आतङ्क, तथाकथित, सहस्राब्दीको अन्तिम प्रेमकथा, गोविन्दराज भट्टराईको सुकरातका पाइला, शोभा भट्टराईको अन्त्यहीन अन्त्य, सरुभक्तको पागल बस्ती, तरुनी खेती, समय त्रासादी, चुली, रोशन थापाको प्रत्येक श्रवणकुमार अर्थात् युद्ध, प्रस्थान्तर, कृष्ण धरावासीको टुँडाल, तेराखको सर्वजा, धु्रव सापकोटाको अकल्पनीय, आदि हुन् ।

पुराकथात्मकता : पूर्व र पश्चिम दुवैतिरका पुराण वा लोकमा प्रचलित कथाहरू जो अतिमानवीय हुन्छन्, असम्भव हुन्छन्, अतिकाल्पनिक हुन्छन्, रहस्यात्मक रोमाञ्चक हुन्छन्, तर तिनले कुनै सत्यलाई यथार्थलाई व्यञ्जित गरिरहेका हुन्छन् तिनलाई पुराकथा भनिन्छ । उपन्यासकार यस्ता पुराकथालाई प्रतीक वा अन्योक्ति बनाएर युगीन सत्यलाई व्यञ्जित गर्न उपन्यास लेख्छ । त्यस्ता उपन्यासलाई पुराकथात्मक भनिन्छ । पुराकथालाई मिथकीय पनि भनिन्छ । सूक्ष्म यथार्थलाई व्यञ्जित गर्नु, कथ्यलाई प्रतीकात्मक र अन्योक्तिमूलक बनाउनु, प्राचीन र नवीन युगका सत्यविशेषलाई दाँजेर प्रस्तुत गर्नु, कलात्मक पक्षलाई जोड दिनु, सामूहिक अवचेतनलाई व्यञ्जित गर्ने आद्यरूपीय चरित्र पुनः सिर्जना गर्नु पुराकथात्मक उपन्यासका प्रमुख प्रवृत्ति हुन् । नेपाली उपन्यासमा पुराकथात्मक उपन्यासको लेखन आधुनिक उपन्यासको दोस्रो चरणदेखि सुरु भएको पाइन्छ । समकालीन नेपाली उपन्यासमध्ये पुराकथाको प्रयोग गरेर लेखिएका उपन्यासहरूमा ध्रुवचन्द्र गौतमका अग्निदत्त+अग्निदत्त, भीमसेन ४ को अन्तिम खोजी, विनोदप्रसाद धितालको योजन गन्धा, जगदीश शम्सेरको सेतो ख्याकको आख्यान, कृष्ण धरावासीको राधा आदि पर्दछन् ।
प्रयोगपरकता ः पराम्परागत उपन्यास सिद्धान्तबाट मुक्त भएर नवीन शिल्पको आविष्कार गर्नु प्रयोग परकता हो । प्रयोग उपन्यासकारको जीवनदृष्टि, उपन्यासको विषयवस्तु, भाषाशैली र संरचना आदिमा गरिएको देखिन्छ । उपन्यासका स्थापित मान्यताप्रति अनास्था, परम्पराप्रतिको मोहभङ्ग, समसामयिक जटिल मानवीय चेतनालाई अभिव्यक्ति दिने चेष्टा, दुर्बोधता आदि प्रयोगपरक उपन्यासका प्रवृत्ति हुन् । प्रयोगवादी उपन्यासकारहरू अउपन्यासको रचना गर्न मन पराउँछन्, नवीनता खोज्छन् र पाठकलाई विचित्र प्रयोगद्वारा आश्चर्यमा पार्न चाहन्छन् । नेपाली उपन्यासमा प्रयोगपरकताको प्रवेश यथार्थवादसँगसँगै भएको हो । कथालाई एकै ठाउँ राखेर कथोपन्यास नाम दिइएका उपन्यासमा परशु प्रधानको सीताहरू र कृष्ण बरालको अवतरण, कुमार भट्टराईको धनबहादुर र म हुन् । ध्रुवचन्द्र गौतमका फूलको आतङ्क, भीमसेन ४ को अन्तिम खोजी, जगदीश शम्सेरको सेतो ख्याकको आख्यान, सरुभक्तका समय त्रासदी, चुली, एक अविनवको आत्मकथा, रोशन थापा नीरवका प्रत्येक श्रवण कुमार अर्थात् युद्ध, प्रस्थान्तर, स्वागत नेपालको मातृसम्भोग, नयनराज पाण्डेको लू, मनुजबाबु मिश्रको स्वप्न सम्मेलन, कृष्ण धरावासीका शराणार्थी, आधा बाटो, तपाईँ, टुँडाल आदि पर्दछन् । प्रयोगवाद आधुनिक र उत्तरआधुनिक दुवै प्रवृत्तिमा पर्दछ ।

(ख) समकालीन उपन्यासका उत्तरआधुनिक प्रवृत्तिहरू
माथि ‘समकालीन नेपाली उपन्यासका प्रमुख प्रवृत्ति’ नामक शीर्षकमा आधुनिकता र उत्तरआधुनिकतालाई छुट्टयाउने आधार प्रस्तुत गरिसकिएको छ । समकालीन नेपाली उपन्यासमा आधुनिक प्रवृत्तिका साथै उत्तरआधुनिक प्रवृत्तिहरू पनि पाइन्छन् । खास गरी पचासको दशकदेखि यताका उपन्यासमा उत्तरआधुनिक प्रवृत्तिहरू प्रशस्त पाइन्छन् । ती प्रवृत्तिको अध्ययन पहिले गोविन्दराज भट्टराई (२०६१) ले गरेको देखिन्छ । त्यसमा उत्तरआधुनिक परिस्थितिमा देखिएका उपन्यास लेखनका प्रवृत्ति, शैली, प्रक्रिया र नौल्याइँका बारेमा विमर्श प्रस्तुत गरेको छ । त्यस्तै उत्तरआधुनिक प्रवृत्तिहरूलाई विषय, शैलीशिल्प र विचारका आधारमा वर्गीकरण गरेर देखाउन पनि सकिन्छ, तर यहाँ एकै ठाउँमा प्रस्तुत गरिएको छ । नारीवादिता, लैङ्गिक चेतना, जातीय पहिचान, दलित चेतना, सीमान्तीकृत वर्गको आवाज, द्वन्द्व र युद्धको अभिघात, डायास्पोरिक भावना, आत्मकथात्मकता, तथ्य र स्वैरकल्पनाको मिश्रण, पर्यावरणीय चेतना, नवइतिहासवादिता वा बहुसांस्कृतिकता, साइबर संस्कृतिको चित्रण, बहुलता, पराऔपन्यासिकता, विधामिश्रण आदि प्रमुख उत्तरआधुनिक प्रवृत्ति हुन् । यी सबैको यहाँ सङ्क्षेपमा चर्चा गरिएको छ ।

नारीवादिता :हुनत नारीवादी उपन्यासहरू पहिले पनि लेखिएका छन् र यसलाई आधुनिक प्रवृत्ति मानेर चर्चा गर्न पनि सकिन्छ, तापनि पश्चिमी साहित्यमा सन् १९६० पछि प्रबल रूपमा देखापरेको नारीवादको प्रभाव नेपाली उपन्यासमा यही समयमा बढी परेको देखिन्छ । पुरुषकेन्द्री साहित्यका विरुद्धमा नारीकेन्द्री साहित्यको सिर्जना गर्नु, पुरुषको एकाधिकारवादी चिन्तनको विरोध गर्नु, उपन्यासमा नारी अनुभवलाई अग्रभूमिमा ल्याउन खोज्नु, नारी समानता, स्वतन्त्रता र सबलताको पक्षधर हुनु, शोषित, पीडित, अपहेलित नारीहरूका कुण्ठा, पीडा र अवसादलाई प्रमुखता दिनु, नारीमाथिका यावत् विभेद अन्त्य गर्न खोज्नु आदि नारीवादी उपन्यासका प्रमुख प्रवृत्ति हुन् । नारीवादी उपन्यास नारीले मात्र नभएर पुरुषले पनि लेखेका छन् । नारीवादी प्रवृत्ति भएका समकालीन नेपाली उपन्यासहरूमा प्रेमा शाहको ममी, नकुल सिलवालको तेस्रो पाइला, शवनम श्रेष्ठको मनीषा, भाषा भण्डारीको सम्झौता, पद्मावती सिंहको समानान्तर आकाश, कमला कुँवरको अन्त्यहीन पीडा, मनीषा गौचनको बल्लीको डायरी, कृष्ण धरावासीका राधा, टुँडाल, परशु प्रधानको सीताहरू, शशि भण्डारीको लक्ष्मी दिदी, सङ्गीता स्वेच्छाको पखालिएको सिउँदो, अप्सरा लावतीको लोजिमा, गौरा रिजालको अघोषित द्वन्द्व, शारदा शर्माको ताप, जलेश्वरी श्रेष्ठको नियति चक्र आदि पर्दछन् ।

लैङ्गिकताः लैङ्गिक विभेदप्रति विद्रोह र आक्रोश व्यक्त गर्नु, समलिङ्गीयता, तेस्रो लिङ्गीका हक र अधिकारका कुराहरू उठाउनु, लैङ्गिक विभेद देखाउने भाषाको विरोध गरी समतामूलक भाषाको आविष्कार गर्न खोज्नु आदि लैङ्गिकतालाई विषय बनाएर लेखिएका उपन्यासका प्रमुख प्रवृत्ति हुन् । यी बाहेक परालैङ्गिकता, विषम लिङ्गीयता, सन्धिग्दता जस्ता कुराहरू पनि यसैभित्र अटाउन सक्छन् । यस्ता उपन्यासमा मोहनराज शर्माका सलिजो, पल्ली, शोभा भट्टराईको अन्त्यहीन अन्त्य आदि पर्दछन् ।

द्वन्द्व र युद्धको अभिघात : पश्चिममा पनि प्रथम र द्वितीय विश्वयुद्धपछि युद्ध साहित्य खुब लेखियो । हाम्रो नेपाली साहित्यमा युद्धलाई विषय बनाएर साहित्य रचना नभएको होइन, भएको छ तर थोरै । नेपालमा विक्रम संवत् दुईहज्जारको पहिलो, तेस्रो र पाँचौँ दशकमा युद्ध भएका छन् । पहिलेका युद्धलाई विषय बनाएर उपन्यास कम लेखिएका छन् तर पछिल्लो युद्ध (२०५२–२०६२) लाई विषय बनाएर धेरै उपन्यास लेखिएका र लेखिँदै पनि छन् । युद्ध दर्शनलाई विषय बनाएर उपन्यास लेखिएका छन् । केही नेपाल बाहिरका नेपाली उपन्यासकारहरूले नेपाली लाहुरेहरूले विश्वयुद्धमा लडेको प्रसङ्ग समेटेर पनि युद्ध उपन्यास लेखेका छन् । द्वन्द्व र युद्ध सम्बन्धी उपन्यासमा हत्या, हिंसा, अपहरण, त्रास, धराप थापना, नाकाबन्दी, अङ्गभङ्ग, वैधव्य, अनाथत्व, अपुत्रत्व, बमविस्फोट, गोली हानाहान, आतङ्क, पलायन, विस्थापन, अनिश्चय, अराजकता आदि अनेक कुरालाई विषय बनाइन्छ । यस्ता उपन्यासबाट दुःख, वेदना, अवसाद, अभिघात बोध हुन्छ । द्वन्द्व र युद्ध सम्बन्धी उपन्यासमा एकथरी माथि लेखिएका विषय भएका दुःखान्त उपन्यास हुन्छन् भने अर्काथरी उपन्यासहरू युद्धको, हिंसाको आवश्यकता बोध गराएर युद्ध मोर्चामा लड्ने योद्धाहरूलाई धैर्य, जोस र साहस प्रदान गर्ने खालका पनि हुन्छन् । समकालीन उपन्यासमा यी दुवैखाले द्वन्द्व र युद्ध सम्बन्धी उपन्यास लेखिएका छन् । यस्ता उपन्यासमा रुकु कार्कीको जीवन ज्योति, गणेश राईका युद्ध एम्बुसमा राइफलको सङ्गीत, राइफलको नालबाट जीवन नियाल्दा, डि.बि. गुरुङको हिमालयको चीत्कार, धीरकुमार श्रेष्ठको घुर, नारायण वाग्लेको पल्पसा क्याफे, गोविन्दराज भट्टराईको सुकरातका पाइला, शारदा शर्माको ताप, बुद्धिसागरको कर्णाली ब्लुज, प्रदीप नेपालको देउमाईको किनारमा, ऋषिराज बरालको समरगाथा, हरिहर खनालको समयको रेखाचित्र, घनश्याम ढकालको रातो आकाश, अन्विका गिरीको मान्छेको रङ, दीपशिखाको रात फुलेको याम आदि पर्दछन् ।

  डायास्पोरिक भावना : अनेक कारणले आफ्नो देश छोडेर अर्को देशमा पुगेका र उभय परिचय बोकेका पात्र प्रयोग गरेर रचिने उपन्यासलाई परादेशीय वा आप्रवासीय वा डायास्पोरिक भनिन्छ । आफ्नो ठाउँ छोड्नु तर जोडिन नसक्नुको बाध्यता, नयाँ देशमा बस्दा हुने भय, चिन्ता, अपरिचितता, असुरक्षा, स्वसंस्कृति र परसंस्कृतिबिचका आकर्षण विकर्षण, विस्थापन भय, पूर्वस्मृति, ऐकान्तिकता, क्षयबोध, उभयबोध, विच्छिन्नता आदि भाव भएका उपन्यासलाई डायस्पोरिक भनिन्छ । डायास्पोरिक प्रवृत्ति भएका समकालीन उपन्यासमा होमनाथ सुवेदीका द्यौराली, अङ्कुर, यमपुरीको महल, राजवको एटलान्टिक स्ट्रिट, कृष्णराज खनालको पातालकी प्रेयसी, शोभा भट्टराईको अन्त्यहीन अन्त्य आदि पर्दछन् ।

आत्मकथात्मकता : आत्मकथात्मकता उपन्यास लेखनको शैलीगत प्रवृत्ति हो । प्रथम पुरुष दृष्टिबिन्दुमा लेखिएका र कथककै जीवनलाई प्रस्तुत गर्ने उपन्यास आत्मकथात्मक हुन्छन् तर यहाँ उपन्यासकार स्वयम्ले आफ्नो जीवनलाई विषय बनाएर लेखेको उपन्यासलाई मात्र आत्मकथात्मक भनिएको छ । यस्ता उपन्यासलाई आत्मन्यास पनि भन्न सकिन्छ । उपन्यासकारको निजी जीवनलाई संस्मरणका रूपमा प्रस्तुत गर्ने समकालीन उपन्यासहरूमा ध्रुवचन्द्र गौतमका बाढी, घुर्मी, कृष्ण धरावासीका आधा बाटो, पाण्डुलिपि होमनाथ सुवेदीको यमपुरीको महल, शोभा भट्टराईको अन्त्यहीन अन्त्य, पुरुषोत्तम दाहालको शान्ता, प्रदीप नेपालको बर्बरिक आदि पर्दछन् ।

तथ्य र स्वैरकल्पनाको सम्मिश्रण : यो एउटा उपन्यास लेख्ने उत्तरआधुिनक तरिका हो । यसलाई उत्तरआधुनिक औपन्यासिक शिल्प पनि भन्न सकिन्छ । उपन्यासकारले यथार्थ र स्वैरकल्पना मिसाएर अर्कै नवीन संसारको रचना गर्दछ । त्यसबाट व्यञ्जित हुने सन्देश प्रभावकारी हुन्छ । यस्तो शिल्प प्रयोग गरेर लेखिएका समकालीन उपन्यासहरूमा सरुभक्तको समय त्रासदी, मनुजबाबु मिश्रको स्वप्न सम्मेलन, ध्रुवचन्द्र गौतमका जेलिएको, अग्निदत्त+अग्निदत्त, तथाकथित, दुबिधा, स्वागत नेपालको मातृसम्भोग आदि पर्दछन् । त्यस्तै वास्तविकता र कल्पित वास्तविकता मिसाएर पनि समकालीन उपन्यास लेखिएका छन् । यस्ता उपन्यास लेख्ने कृष्ण धरावासी हुन् । उनका आधा बाटो, टुँडालमा यस्तो शिल्प प्रयोग भएको छ । त्यस्तै कृष्ण बरालको अवतरण, शोभा भट्टराईको अन्त्यहीन अन्त्यमा पनि यो शिल्प प्रयोग भएको छ ।

पर्यावरणीय चेतनाः यसलाई मानवेतर जगत्प्रतिको चिन्ता पनि भन्न सकिन्छ । वनस्पति, मानवेतर प्राणी र तिनीहरूको वासस्थान, जलवायुका साथै समग्र पृथ्वीप्रतिको चिन्ताले लेखिएका उपन्यासलाई पर्यावरणीय चेतना भएका उपन्यास भन्न सकिन्छ । औद्योगिकीकरणले, प्रविधिको विकासले, दिगो विकासको धारणा नभएकाले दिनानुदिन पृथ्वी यावत् जीवजन्तुका लागि बस्न अयोग्य भइरहेको छ । पृथ्वीलाई यस अवस्थामा पु¥याउने मान्छे नै हो । मान्छेका अदूरर्शी कृत्यले पृथ्वीको वातावरण प्राणी मात्रका लागि प्रतिकूल हुँदै गएको छ भनेर दर्शाउने उपन्यास वातावरणीय चेतना भएका हुन्छन् । यस खाले विचारले लेखिएका समकालीन उपन्यासहरू तेराखको सर्वजा, सरुभक्तको चुली, हिरण्य भोजपुरेको सगरमाथाभन्दा माथि, ध्रुवचन्द्रको जेलिएको, प्रदीप नेपालको स्वप्निल सहर, हरिहर खनालको उज्यालोको खोजीमा आदि हुन् ।

नवइतिसाहवादिता वा बहुसांस्कृतिकता : यो सन् १९८० पछि आएको उत्तरआधुनिक विचार हो । यसले साहित्यलाई संस्कृति सापेक्ष मान्दछ । इतिहास र संस्कृति सापेक्ष उपन्यास नै जीवन सापेक्ष हुन्छन् । इतिहास र संस्कृति निरपेक्ष उपन्यास सार्थक हुँदैनन् । ज्ञान वा सत्य सत्ताद्वारा लागू हुन्छ । सत्ता परिवर्तन हुने बित्तिकै सत्यमा पनि परिवर्तन हुन्छ । सत्य वा ज्ञानको केन्द्रीयता र सीमान्तता सत्ताले निर्धारण गर्दछ । जो शक्तिशाली छ ऊ आफ्नो सत्ता चलाइराख्न अनेक प्रपञ्च गरेर विभेदक कुराहरूलाई कायम गराइरहन्छ भन्ने विचारसँग मिल्ने उपन्यासहरू नवइतिहासवादी वा बहुसांस्कृतिक हुन्छन् । नवइतिहास वा बहुसंस्कृतिभित्र दलित उत्पीडन, जातीय पहिचान, सीमान्तीकृत वर्गको आवाजको प्रतिनिधित्व जस्ता इस्यु पनि समाविष्ट हुन्छन् । यस्तो विचारको प्रभावमा लेखिएका समकालीन उपन्यासहरूमा भरत जङ्गमका रातो घाम, ख्वपदेश, कृष्ण धरावासीको टुँडाल, श्रीकृष्ण श्रेष्ठको भीमसेन थापा, नारायण ढकालको प्रेतकल्प, राजन मुकारुङ्का हेत्छा कुप्पा, दमिनी भिर, डि.बि. गुरुङको हिमालयको चीत्कार, देश सुब्बाको अपमान नेपाल कुश्शाको छोटो फ्रक आदि पर्दछन् ।

साइबर संस्कृतिको चित्रण : अहिलेको युग प्रविधिको युग हो । अब मनुष्यको निर्णय मनुष्यले होइन प्रविधिले गर्दछ । आज मानिसको चयन स्वतन्त्रतालाई प्रविधिले अपहरण गरिदिएको छ । मान्छेले कि त यसलाई स्विकार्नुपर्छ कि त बाँच्न छोडिदिनुपर्छ । प्रविधिको युग माध्यमको युग हो । प्रविधिमा माध्यम र अन्तर्ववस्तुमा फरक हुँदैन । प्रविधि स्वयं अन्तर्वस्तु हुन्छ । साहित्यको माध्यम पहिले मौखिक थियो । त्यसपछि छापा भयो र अहिले विद्युत् भएको छ । यही विद्युतीय माध्यमलाई साइबर संस्कृति भनिएको हो । यसलाई टेक्नोकल्चर पनि भन्न सकिन्छ । हुनत विद्युतीय माध्यममा, रेडियो, टिभी पनि पर्छन्, तर यहाँ साइबर भनेर कम्प्युटर र इन्टरनेट माध्यमलाई लिइएको छ । अहिले इन्टरनेट स्वयं संस्कृति वा अन्तर्वस्तु भएको छ । सञ्चार प्रविधिले विश्वलाई आज ग्रामीकरण गरिदिएको छ । समय र स्थानको दूरत्व कम भएको जस्तो लाग्दछ । यी आधुनिक सञ्चारले ज्ञान ओसार्ने मात्र होइनन्, ज्ञान उत्पादन पनि गर्दछन् । यी आज स्वयं उत्पादक भएका छन् । आज ज्ञान जोसँग हुन्छ त्यही शक्तिशाली हुन्छ । प्रविधि आज शक्तिशाली भएको छ । यसको प्रभावमा लेखिएका उपन्यासलाई साइबर संस्कृतिको चित्रण गर्ने उपन्यास भनिन्छ । यस्ता उपन्यास हाइपर रियल हुन्छन् । समकालीन नेपाली उपन्यासहरू मनुजबाबु मिश्रको स्वप्न सम्मेलन, शोभा भट्टराईको अन्त्यहीन अन्त्य, सरुभक्तको समय त्रासदी, ध्रुवचन्द्र गौतमको फूलको आतङ्क, दुबिधा, तथाकथित, सहस्राब्दीको अन्तिम प्रेमकथा, होमनाथ सुवेदीको यमपुरीको महल, नारायण वाग्लेको पल्पसा क्याफे, रोशन थापा नीरवका प्रत्येक श्रवणकुमार अर्थात् युद्ध, प्रस्थान्तर, राजवको एटलान्टिक स्ट्रिट आदि हुन् ।

बहुलवादी विचार :आधुनिक प्रवृत्तिमा आधारित उपन्यासहरू एकलवादी हुन्थे कुनै एक वादका पक्षधर हुन्थे, तर उत्तरआधुनिक प्रवृत्ति भएका उपन्यासहरू बहुलवादी हुन्छन् । यिनीहरू एकलवाद विरोधी हुन्छन्, केन्द्र विरोधी, स्थापना विरोधी हुन्छन् । पहिले एक वाद अर्को वादको विरोधी भनिन्थ्यो, अहिले एक वाद अर्को वादको सहयोगी मानिन्छ । यसरी अहिले एकलताको साटो बहुलताको धारणा आएको छ । उदारताको, समानताको पूर्णको होइन अंशको, जात, जाति, जनजाति, स्त्रीलिङ्गी, पुलिङ्गी, विषमलिङ्गी, समलिङ्गी, तेस्रो लिङ्गीबिच हुने विभेद र असमानता हट्नुपर्छ भन्ने विचार आएको छ । पहिले खास विचार राम्रो अरू विचार नराम्रा खास विचार शक्तिशाली, अरू विचार शक्तिहीन हुन्छन् भन्ने वैचारिक विभेद थिए । पहिले विचारको निषेध गरिन्थ्यो । अब विचार राम्रा नराम्रा, साना, ठुला, शक्तिशाली शक्तिहीन हुँदैनन्, तिनलाई सत्ताले त्यस्तो बनाउँछ र आफ्नो वर्चस्व कायम राख्न तिनलाई त्यस्तो बनाइरहन्छ । हामीले शक्तिशालीहरूको कुत्सित चाल बुझ्नुपर्छ र बहुलवादी हुनुपर्छ भन्ने विचार आएका छन् । यसरी आज विचारमा मात्र होइन, लेखन शैलीमा, चरित्र निर्माणमा, कृतिको अर्थ लगाइमा बहुलताले प्रवेश गरेको छ । बहुलतालाई आधार बनाएर लेखिएका समकालीन उपन्यासहरूमा कृष्ण धरावासीका शरणार्थी, आधा बाटो, टुँडाल, कृष्ण बरालको अवतरण, तेराखको सर्वजा, पद्यावती सिंहको समानान्तर आकाश, मोहनराज शर्माको सलिजो, शोभा भट्टराईको अन्त्यहीन अन्त्य, ध्रुवचन्द्र गौतमका फूलको आतङ्क, जेलिएको, तथाकथित, दुबिधा, एक असफल आख्यानको आरम्भ, जगदीश शम्सेरको सेतो ख्याकको आख्यान, गोविन्दराज भट्टराईको सुकरातका पाइला, देश सुब्बाको आदिवासी, डि.वि. गुरुङको हिमालयको चीत्कार, होम सुवेदीको यमपुरीको महल आदि पर्दछन् ।

पराऔपन्यासिकता : यथार्थको चमत्कारपूर्ण उद्बोध गराउनु नै पराऔपन्यासिकता हो । यथार्थलाई चमत्कारी बनाउन यथार्थमा स्वैरकल्पना, परीकथा, चमत्कारी कथा मिसाइन्छ । पराउपन्यास उत्तरआधुनिक औपन्यासिक प्रवृत्तिको देन हो । वस्तुगत यथार्थको साटो विषयगत यथार्थ, सामाजिक यथार्थ भन्दा व्यक्तिगत यथार्थलाई महŒव दिने, आदर्शोन्मुख यथार्थवाद, सामाजिक यथार्थवाद, समाजवादी यथार्थवाद भन्दा भिन्न यथार्थ प्रस्तुत गर्ने उपन्यास पराउपन्यास हुन्छन् । यथार्थवादले कल्पित यथार्थ प्रस्तुत गरेर पाठकमा यथार्थको भ्रम सिर्जना गर्छ भने परायथार्थले यो यथार्थ होइन, काल्पनिक यथार्थ हो, साहित्यिक यथार्थ हो भनेर पाठकलाई पर्ने यथार्थको भ्रम हटाइदिन्छ । यस्ता उपन्यासमा उपन्यासको रचना प्रक्रियाको पनि उल्लेख हुन्छ वा उपन्यासले उपन्यासकै आलोचना गरिरहेको हुन्छ । पराऔपन्यासिक उपन्यासलाई अधिऔपन्यासिक पनि भनिन्छ । यस्ता प्रवृत्ति भएका समकालीन नेपाली उपन्यासमा तेराखको सर्वजा, जगदीश शम्सेरको सेतो ख्याकको आख्यान, ध्रुवचन्द्र गौतमका जेलिएको, एक असफल आख्यानको आरम्भ, कृष्ण धरावासीको शरणार्थी, नारायण वाग्लेको पल्पसा क्याफे, ध्रुव सापकोटाको अकल्पनीय, होमनाथ सुवेदीको यमपुरीको महल, गोविन्दराज भट्टराईका सुकरातका पाइला, सुकरातको डायरी, राजेन्द्र पराजुलीको अनायिका, सञ्जीव उप्रेतीको घनचक्कर आदि पर्दछन् ।

विधामिश्रण : साहित्यिक विधा भन्ने बित्तिकै पाठकका मनमा साहित्यिक पाठको खास स्वरूपको  बोध हुन्छ, तर अहिले साहित्यिक पाठहरू पहिलेका जस्ता विधाका निर्धारित ढाँचामा आउँदैनन्, तिनले विधाको स्वरूपलाई दुरुस्त देखाउँदैनन्, ती एक अर्कामा मिसिएर, एकअर्काले एकअर्काका गुण वा विशेषता बोकेर आउँछन् । साहित्यिक पाठकको यस्तो मिश्रित रूपलाई विधाहीनता भनिन्छ । सबैभन्दा बढी विधामिश्रण आत्मसात् गर्ने क्षमता उपन्यासमै हुन्छ । त्यसैले विधामिश्रण समकालीन उपन्यासको प्रवृत्ति भएर देखापरेको छ । उपन्यासभित्रै कथा, निबन्ध, नाटक, कविता आदि विधाका विशेषता वा गुण पाइनु नै विधामिश्रण हो । यस्ता उपन्यासले उपन्यासका परम्परागत संरचनात्मक ढाँचालाई भत्काएका हुन्छन् । जेनेटिक इन्जिनियरिङले विभिन्न प्राणी र वनस्पतिहरूलाई एकअर्कासँग मिसाएर क्रसब्रिड वा हाइब्रिड निकाले जसरी उपन्यासकार पनि हाइब्रिड संरचनामा उपन्यास लेख्छन् । त्यसैलाई विधामिश्रण भनिएको हो । विधाहीन वा मिश्रित संरचना भएका समकालीन उपन्यासहरूमा वानिरा गिरीको शब्दातीत शान्तनु, परशु प्रधानको सीताहरू, कृष्ण बरालको अवतरण, कृष्ण धरावारीको टुँडाल, जगदीश शम्सेरको सेतो ख्याकको आख्यान, ध्रुवचन्द्र गौतमका फूलको आतङ्क, भीमसेन ४ को अन्तिम खोजी, होमनाथ सुवेदीको यमपुरीको महल, गोविन्दराज भट्टराईको सुकरातका पाइला, मोहनराज शर्माको सलिजो, गणेश राईका युद्ध एम्बुसमा राइफलको सङ्गीत, राइफलको नालबाट जीवन नियाल्दा, रश्मि शेखरको जोहिना आदि पर्दछन् ।

निष्कर्ष
वर्तमान समयमा लेखिएका र अहिलेकै विचार र शैली भएका उपन्यास नै समकालीन हुन् । पाश्चात्य साहित्यमा दोस्रो विश्वयुद्धपछि लेखिएको उत्तरआधुनिक साहित्यलाई समकालीन भनिन्छ । नेपाली साहित्यमा भने दोस्रो विश्वयुद्धपछि मात्र आधुनिक साहित्य लेखिन थालेको पाइन्छ । नेपाली साहित्यमा उत्तरआधुनिक साहित्य लेखन २०३४ पछि आरम्भ भएको हो, तर उत्तरआधुनिक नेपाली उपन्यास भने पचासको दशकदेखि मात्र लेखिए । त्यसैले पचासको दशकदेखि लेखिएका उपन्यासलाई मात्र समकालीन भनेर चर्चा गरिएको छ । समकालीन उपन्यास विषयवस्तु, रूप र संरचना, शैलीशिल्प आदि दृष्टिले परम्पराभिन्न र नवीन हुन्छन् । यिनले वर्तमानको जीवन र संस्कृतिलाई प्रतिविम्बित गर्छन् । अहिलेका उपन्यासले सार्वकालिक, सार्वभौम सत्य प्रकट नगरेर स्थानीय सत्य, आंशिक सत्य मात्र प्रकट गर्छन् । उपन्यासकारले देखेका अनुभव गरेका र उनीहरूलाई सत्य लागेका कुरा देखाउँछन् । समकालीन उपन्यास लेखिनाका मुख्य राष्ट्रिय कारणमा विभेदमूलक सामाजिक संरचना, २०४६ सालमा पुनःप्राप्त प्रजातन्त्र र त्यसले दिएको उदारता, २०५२—२०६२ को द्वन्द्व र युद्ध तथा २०६३ सालको राजनीतिक परिवर्तन र नेपालीको तीव्र बहिर्गमन पर्दछन् भने अन्तरराष्ट्रिय मुख्य कारणमा विश्व राजनीतिमा रहेको द्विध्रुवीय दृष्टिकोणको अन्त्य र बहुलवादी दृष्टिको उदय, सञ्चार र प्रविधिको तीव्र विकास र त्यसको प्रभाव तथा विश्व उपन्यास लेखनमा आएका नवीन प्रवृत्तिको विश्वव्यापी प्रयोग पर्दछन् । यसरी नै डार्विन, माक्र्स र फ्रायडका वैज्ञानिक भौतिकवादी धारणा, माक्र्सवादोत्तर समयमा देखा परेका नवमाक्र्सवादी र अन्य समसामयिक विचार तथा पूर्वीय समन्वयवादी विचार पनि पर्दछन् । समकालीन उपन्यासका मुख्य प्रवृत्तिलाई आधुनिक र उत्तरआधुनिक गरी दुई वर्गमा राखेर देखाउन सकिन्छ । आधुनिक प्रवृत्ति स्वच्छन्दतावादिता, यथार्थवादिता, मनोविश्लेषणात्मकता, विसङ्गतिवादिता अस्तित्ववादिता, प्रयोगपरकता आदिको प्रयोग समसायिक उपन्यासमा पर्याप्त मात्रामा भएको र यी प्रवृत्तिहरू नै मूल प्रवाहका रूपमा देखिन्छन् । खास गरी यथार्थवाद र यसका विविध पक्ष जस्तै ः आदर्शोन्मुख, यथार्थवाद, सामाजिक यथार्थवाद, समाजवादी यथार्थवाद, प्रकृतवादी यथार्थवाद, अतियथार्थवाद, ऐतिहासिक यथार्थवादमा आधारित उपन्यास नै बढी देखिन्छन् । उत्तरआधुनिक प्रवृत्तिहरू जस्तै ः बहुलवादी विचार, नारीवाद, लैङ्गिकता, द्वन्द्व र युद्धको अभिघात, डायस्पोरिक चेतना, आत्मकथात्मकता, तथ्य र स्वैरकल्पनाको सम्मिश्रण, पर्यावरणीय चेतना, बहुसांस्कृतिकता, साइबर संस्कृतिको चित्रण, पराऔपन्यासिकता, विधामिश्रण, पुनर्लेखन अन्तरपाठीयता, अपरम्परितता आदिको प्रयोग पनि भएको देखिन्छ । अरू विधाका तुलनामा उपन्यास बढी स्वतन्त्र भएर लेख्न सकिने भएकाले यो क्रमशः गतिशील र प्रयोगशील पनि हुँदै गएको पाइन्छ ।

परिशिष्ट १
समकालीन उपन्यास र उपन्यासकारहरूको विवरण
वि.सं. २०५० देखि हालसम्म एक्काइस वर्षको अवधिमा प्रकाशित उपन्यासमध्ये पहिलो पुस्ताका वा आधुनिक कालको प्रथम चरणदेखि उपन्यास लेख्न थालेका उपन्यासकारका उपन्यास छन् । त्यसपछि दोस्रो पुस्ताका अर्थात् आधुनिक कालको दोस्रो चरणदेखि उपन्यास लेख्न थालेका उपन्यासकारका उपन्यास छन् । तेस्रो पुस्ताका वा समकालीन अवधिमा उदाएका उपन्यासकारका उपन्यास पनि छन् । समकालीन पुस्तामध्ये कतिपय चालिसको दशकमा, कतिपय पचासको दशकमा र कतिपय साठीको दशकमा उदाएका उपन्यासकार पनि छन् । यहाँ यथासम्भव यी सबैका उपन्यासको विवरण प्रस्तुत गरिएको छ । अध्ययन सजिलाका लागि २०५० देखि २०५९ सम्म र २०६० देखि २०६९ सम्म र २०७० देखि हालसम्ममा प्रकाशित उपन्यासको विवरण छुट्टाछुट्टै प्रस्तुत गरिएको छ ।
२०५० देखि २०५९ सम्ममा प्रकाशित उपन्यासहरू
आहुती–नयाँघर २०५०, स्खलन २०५९, चन्द्रप्रसाद न्यौपाने– बुद्धको नायिके २०५०, लव गाउँले– भूगोलको एक छेउ २०५१, चन्द्रकान्त– ज्वाला २०५७, दिनेश आँसु–पैसामा लोभिएका मान्छेहरू २०५५, भवानीदत्त पाण्डे भास्कर–अमर बस्ती २०५३, अचम्मको फैसला २०५६, रामप्रसाद ज्ञवाली–परिवर्तनको मोडमा २०५०, जीवनका घुम्तीहरू २०५३, नारायण ढकाल–पीत संवाद २०५६, केपी ढकाल– जुठेको घर २०५८, कृष्णप्रसाद रिमाल– इन्द्रेणी, विनोदप्रसाद धिताल–योजन गन्धा २०५२, गायत्री विष्ट–जूनकीरी २०५४, ध्रुवचन्द्र गौतम–दुबिधा २०५१, ज्यागा २०५०, बाल्यकाल २०५०, अग्निदत्तअग्निदत्त २०५३, फूलको आतङ्क २०५५, बाढी २०५६, सहस्राब्दीको अन्तिम प्रेमकथा २०५८, तथाकथित २०५९, रमेश विकल–सागर उर्लिन्छ सगरमाथा छुन २०५२, मदनमणि दीक्षित– त्रिदेवी २०५१, भूमिसूक्त २०५८, वासु शशि– संसारमा सबभन्दा एक्लो २०५२, खगेन्द्र केसी–परिवर्तन २०५१, जीव २०५२, हिरण्य भोजपुरे–छिटेन, गोरी २०५४, होमनाथ सुवेदी–द्यौराली २०५१, अङ्कुर २०५३, कृष्ण धरावासी– शरणार्थी २०५६, आधा बाटो २०५९, एसपी आशा–सेरोफेरो २०५१, हामीले कसरी प्रजातन्त्र ल्यायौँ २०५७, भीमसेन, पृथ्वीनारायण शाह २०५६, किशोर नेपाल–पाताल २०५४, गीता केशरी– २०५० अन्तिम निम्तो २०५१, विश्वास २०५२, खुला आकाश २०५४, नोकरी २०५५, सूबसेन–अञ्जुश्री २०५५, शङ्कर कोइराला–जनतालाई बकस ः भोक, रोग र सकस २०५२, रिमा २०५३, एउटा पुरानो घर २०५४, माथिको आदेश २०५४, विकास आचार्य–अप्पो दीपो भव २०५७, होमराज आचार्य–निर्दोष कैदी २०५४, राजेन्द्र पौडेल–समाजले देखिनसहेको प्रेम २०५८, बिछोडको चोट २०५९, इन्दिरा बुढाथोकी–अमूर्त सपना २०५९, भारती खरेल– लाहुरे २०५२, पुष्पलता आचार्य– मादीकी पूर्णिमा २०५९, नयनराज पाण्डे–उलार २०५३, बलदेव मजगैया–कुहिरो २०५१, चारु २०५४, शिव अधिकारी–आखेट २०५३, विदिशा २०५३, पुंश्चली २०५, प्रदीप नेपाल–आकाशगङ्गाको तीरैतीर २०५८, एक्काइसौँ शताब्दीकी सुम्निमा २०५९, नन्दिता २०५९, सुस्मिता नेपाल–एकान्त पनि रुन्छ २०५३, मेरा छातीका कोलाजहरू २०५५, गोबद्र्धन पूजा–शून्यताको आँचलभित्र २०५४, बखतबहादुर थापा–परदेश २०५८, ठाकुरप्रसाद गुरागाई–गङ्गा,  विन्द्या सुब्बा–अथाह २०५६, श्रेष्ठ प्रिया पत्थर–रङ्गभूमि २०५०, मर्यादा २०५२, कसिँगर २०५२, पुनरावृत्ति २०५७, केशव मरहठ्ठा– डोमा २०५५, अरुण सायमी– रातो टिका २०५०, आस्था २०५४, अनुराग– पापी देवता २०५७, डायमन शमसेर–धनको धब्बा २०५१, गृहप्रवेश २०५९, कल्याण गौतम–रात २०५१, भरत जङ्गम–रातो घाम २०५१, श्रीकृष्ण श्रेष्ठ–जङ्गबहादुर २०५१, दौलत विक्रम विष्ट–फाँसीको फन्दामा २०५३, गोविन्दबहादुर मल्ल– अर्पणा २०५३, पियानानी २०५६, गोविन्द गिरी प्रेरणा– पाखण्ड पर्व २०५०, अन्तिम खाडल २०५३, मृगतृष्णा २०५४, मात्र एकरात २०५५, नारायण तिवारी–पिताम २०५७, तेजप्रकाश श्रेष्ठ–सङ्कल्प जिउँदो रहेछ २०५२, खगेन्द्र सङ्ग्रौला–जुनकीरीको सङ्गीत २०५६, रामप्रसाद पन्त– तीन आमाका छोरा २०५७, शान्ता श्रेष्ठ–सङ्घर्षभित्रका अनौठा पाइला २०५८, सीता पाण्डे –अन्तद्र्वन्द्व २०५६, इन्दिरा प्रसाईं–विश्वामित्र २०५५, शिखा २०५६, सुजात (कमला कुँवर)– बन्धन २०५७, विजय मल्ल– श्रीमती शारदा २०५६, कुलचन्द्र कोइराला– वासना र प्रेम २०५६, वानिरा गिरी–शब्दातीत शान्तनु २०५६, सरुभक्त–तरुनी खेती २०५३, समय त्रासदी २०५९, तेराख–सर्वजा २०५९, खगेन्द्र प्रधानाङ्ग– अविवाहित श्रीमती मेनका २०५६, भक्तबहादुर नेपाली– बेचिएका दिदीबहिनीको कथा २०५१, शरद् पौडेल–लिखे २०५९, जङ्गबहादुर शाह– विश्वामित्र २०५८, नेपाल कुश्शा–त्यान्द्रो २०५९,  कन्यैया नासननी– सिपाही २०५७, इस्माली– जिरो माइल २०५६, सुकुम शर्मा– सङ्घर्षशील युवकको डायरी २०५७, अनवरत यात्रा २०५९, शोभा राना–बेवारिसे २०५२, शिकार २०५६, रोहिणी शाह– प्रेरणा २०५० पुण्यरश्मि खतिवडा– जयन्त जुनू २०५१, अक्लान्त २०५२, ईश्वरी खडका– सविता पोइल गई २०५४, टिकाकुमारी याख्या–औँलाको सिन्दूर २०५७, गायत्री विष्ट –जूनकीरी  २०५४, वेदकुमारी न्यौपाने– धूवाँ २०५७, उमेश उपाध्याय कालान्तरमा फेरि २०५८, शोभा भट्टराई–अन्त्यहीन अन्त्य २०५८ आदि ।
२०६० देखि २०६९ सम्ममा प्रकाशित उपन्यास
जगदीश शमशेर–सेतो ख्याकको आख्यान २०६०,  ऋचा ढुङ्गेल– अल्झिएका जीवनहरू २०६०, इन्दिरा प्रसाईं–उसको लोग्ने र बिरालो २०६०, शान्ता श्रेष्ठ– घाउ उसको दुखाइ मेरो २०६०, कृष्ण बराल– अवतरण २०६१, हिरण्य भोजपुरे २०६२,आत्मराम ओझा–तीला २०६३, नेपाल कुश्शा–छोटो फ्रक २०६५, किसनसिंह धामी–कलेज गर्ललाई इमेल २०६३, हराएको समय २०६५ कृष्ण धरावासी– राधा २०६२, तपाईँ २०६३, टँुडाल २०६५, पाण्डुलिपि २०६९, गेस्टापो, नारायण वाग्ले– पल्पसा क्याफे २०६१, विनीता राई– साथीको मन २०६० शङ्कर भारती– महापुरुषको सन्तान २०६४, परशु प्रधान– सीताहरू २०६४ एमपी खरेल– पुस्तान्तर २०६४, स्वागत नेपाल– मातृसम्भोग २०६१, ध्रुवचन्द्र गौतम– भीमसेन ४ को अन्तिम खोजी २०६०, घुर्मी २०६१, जेलिएको २०६३, एक असफल आख्यानको आरम्भ २०६५, सातौँ ऋतु २०६८, मनीषा गौचन–बल्लीको डायरी २०६३, धीरकुमार श्रेष्ठ– घुर २०६४, गीता केशरी– निष्कर्ष २०६०, बदलिँदो क्षितिज २०६६, नीलम कार्की निहारिका– तिमी, म र उनी, कपिल काफ्ले– सुसम चण्डिका २०६३, श्रीधर पौडेल– दुई ढुङ्गाको तरुल २०६४, हरिप्रसाद पाण्डेय– मुटुभित्रका ढुकढुकी २०६५, पुष्पलता आचार्य– लामो अन्तरालपछि २०६०, रोजी २०६१, अप्सरा लावती– लोजिमा २०६२, बखतबहादुर थापा– कुहिरो र काग २०६१, रामप्रकाश पुरी— नानीकी आमा २०६३, कालचक्र २०६४, सदानन्द अभागी– जीवनलीला २०६०, नियति २०६१, शशि भण्डारी– लक्ष्मी दिदी २०६०, विचलन २०६२, श्रीमती सरस्वती–बिछोडका पाइला २०६१, मित्रलाल पार्दे– तडपाइएका मनहरू २०६३, पुण्यप्रसाद प्रसाईं–छापामार २०६३, कञ्चन पुडासैनी–अधुरो उपन्यास अधुरा इच्छा २०६५, शुभ श्रेष्ठ–अस्मिताको खोजी २०६०, पुण्यरश्मि खतिवडा– अपुरो अभिलाषा २०६०, सुस्मिता नेपाल– उडेका उमेरहरू २०६०, काला काला रातहरूमा टेक्दै २०६० पीताम्बरा उपाध्याय–बाटोमा बसेको बाघ २०६०, हरिसिंह थापा– सुन्तली २०६६ चन्द्रकान्त– मित्रता २०६२, महालक्ष्मी श्रेष्ठ—मोडहरू २०६२, दासता मुक्ति २०६३, नारायण ढकाल–दुर्भिक्ष २०६०, प्रेतकल्प २०६५, ध्रुव सापकोटा–अकल्पनीय २०६६, गोविन्दराज भट्टराई– सुकरातका पाइला २०६३, सुकरातको डायरी २०६९, अनिल अधिकारी– प्रकृति २०६३, पद्मावती सिंह– समानान्तर आकाश २०६२, दीपक खड्का– च्यात्न नसकेको चिठी २०६३, कविता पौडेल–बाल चीत्कार २०६१, थिरप्रसाद कट्टेल– नफर्किएका दिनहरू २०६३, भूपेन्द्रजङ्ग शाही– बन्दीगृह २०६३, राजेन्द्र पराजुली– अनायिका २०६३, युवराज सङ्ग्रौला– शिशिरमा फुलेको गुराँस २०६४, मूलवीर राई– मृत सहर २०६१, भाषा भण्डारी– सम्झौता २०६०, परिवर्तनको पृष्ठभूमि २०६१, सञ्जीव उप्रेती– घनचक्कर २०६४, भक्तबहादुर नेपाली–लीलावती २०६५, सरुभक्त– चुली २०६०, एक अविनवको आत्मकथा, रोशन थापा नीरव–प्रत्येक श्रवण कुमार अर्थात् युद्ध २०६४, प्रस्थान्तर २०६५, प्रदीप नेपाल– स्वप्निल सहर २०६३, रामप्रकाश पुरी— सच्चाइको गीत २०६४, अनौठो प्रेम कथा २०६३, ऋषिराज बराल– समरगाथा २०६४, शरद पौडेल– सिमाना वारिपारि २०६१, हरिहर खनाल– समयको रेखाभित्र २०६५, भरत जङ्गम–ख्वप देश २०६६, रुकु कार्की– जीवन ज्योति २०६५, गौरा रिजाल– अघोषित द्वन्द्व २०६०, सुजात (कमला कँुवर)– अन्त्यहीन पीडा २०६१, देश सुब्बा–आदिवासी २०६४, गणेश राई–युद्ध एम्बुसमा राइफलको सङ्गीत २०६६, राइफलको नालबाट जीवन नियाल्दा २०६२, राजन मुकारुङ– हेत्छाकुप्पा २०६५, दमिनी भिर २०६९, किरण रिमाल सान्नानी २०६६, डि.बि. गुरुङ– हिमालयको चीत्कार २०६६ मोहन राज शर्मा–सलिजोे २०६६, राजनप्रसाद निरौला– सङ्घर्ष र शान्ति २०६६, यज्ञबहादुर कार्की–मनमोह २०६६ बलराम श्रेष्ठ–गेहिनी २०६६, कुमार भट्टराई– धनबहादुर र म २०६६  बाबा बस्नेत– रातकी रानी २०६६, श्याम रेग्मी– कनोटट्री २०६६, युग पाठक–उर्गेनको घोडा २०६६, सरला रेग्मी– प्रवाह २०६६, आत्माराम ओझा—जावेश्वर पृथ्वी मल्ल २०६७, निमबहादुर थापा— निस्तो २०६७, दिलबहादुर थापा— नखरो २०६७, सरोज ओली—हडतालै हडताल, जुलुसै जुलुस २०६७, मोदनाथ सादा— पैगम्बरेश्वर २०६७, प्रदीपमान तुलाचन— आस २०६७, अरुण शर्मा— सुशी र प्रशान्त महासागर २०६७, हरि कार्की—सुषमा २०६७, राजव—मोटेल अमेरिका २०६७, रमेश रेग्मी—सपनाहरूको देश २०६७, कविताराम श्रेष्ठ— महाभिनिष्क्रमणका अस्वीकृत पाइला २०६७, लक्ष्मीप्रसाद तिमल्सिना— थोते जर्नेल २०६७, विश्वगोपाल लम्साल— सम्बन्ध २०६७, रवीन्द्र माकाजू—सुमन २०६७, मृत सहर २०६७, रामेश्वरप्रसाद गौतम— नारी अबला होइन २०६७, लिली रिमाल— पूर्णिमाको आकाश २०६७, पञ्चम अधिकारी—पथिक प्रवासन २०६७, बुद्धिसागर चपाईं— कर्णाली ब्लुज २०६७, डोलेन्द्ररत्न शाक्य— अनुपम नगरीमा धर्मसन्देश २०६८, वसन्तश्री— रूपान्तरण २०६८, भोजप्रसाद त्रिपाठी— मान्छेको सन्तान २०६६, ऋषिकेशवराज रेग्मी— बलिरहेको चिता २०६८, माधवप्रसाद पन्थी—बूँद २०६८, सदानन्द अभागी— यात्री २०६८, प्रदीपमान तुलाचन— भोटखोला २०६८, रमेश उप्रेती—बहुलानन्द २०६८, भूमिराज बस्ताकोटी— निर्मोचन २०६८, टङ्क चौलागाईं— जिरो कटेज २०६८, हरिप्रसाद पाण्डेय—डाँडामाथिको घाम २०६८, कपिल काफ्ले— बाघपाश २०६८, राजनप्रसाद निरौला— मृत्यु विरुद्ध २०६८, चन्द्रकान्त आचार्य— न्युयोर्ककी सुन्दरी २०६८, राजेश्वर देवकोटा—महाराजको भूत २०६८, अनुपम रोशी— कुमारी आमा २०६८, पाण्डे— लू २०६८, अमर न्यौपाने— सेतो धरती २०६८, किशोर नेपाल— पाताल २०६८, गणेश राई— राइफलको मूच्र्छना २०६८, दीपकिरण शर्मा—चक्रवात १ २०६७, चक्रवात २ २०६८, ऋषि तिम्सिना— विस्थापन २०६८, भक्ति सिवाकोटी—सारस र सञ्जीवनी २०६८, धनराज गिरी— अनन्त पाइला २०६८, तारिणीप्रसाद कोइराला—अग्निवाटिका २०६८, मणि राई— तसाल्मु २०६८, नरबहादुर नरु थापा— सामाजिक क्रान्ति २०६८, ऋषिराम ढकाल— दोस्रो जन्म २०६८, श्रीधर पौडेल— तस्करीको सञ्जाल र रक्तचन्दन २०६८, किरण इङनाम— होर्डिङबोर्डमाथि विद्यार्थीको परेड २०६८, सुस्मिता र रजनी—पत्रैपत्र २०६८, गेहेन्द्र न्यौपाने— दरबारबाहिरकी महारानी २०६९, शारदा शर्मा— ताप २०६९, सुबिन भट्टराई— समर लभ २०६९, राजब— बेकारीमा उपन्यास २०६९, रोसन थापा नीरव—आवाजहरू जङ्गलभित्र २०६९, महेश्वर शर्मा—भूचालो २०६९, शीलु घिमिरे न्यौपाने— परको देशमा २०६९, अहर्निश आर्यन— अज्ञात शान्तिदूत २०६९, व्रजेश— यायावर २०६९, भाउपन्थी— पात्रहीन २०६९, रमेश पौडेल— द सुप्रिम ह्युमान २०६९, प्रकाश त्रिपाठी विवश— सङ्कल्प सूत्र २०६९, वाई.एन. चौलागाईं—साक्षी २०६९, सीताकुमारी भट्टराई— सापकोटा रहस्य २०६९, शिवभक्त शर्मा न्यौपाने— भुवानी २०६९, कृष्ण पहाडी— ग्रहण लागेको वेला २०६९, कमल रिजाल— सुकर्म २०६९, वासु जम्मरकटेल—अभिनन्दन २०६९, माधव सयपत्री— सीमान्त विचलन २०६९, राजेन्द्र थापा—खेलौना २०६९, शिवराज भण्डारी— गोठकी काली गाई २०६९, करेसाको काउछो २०६९, जननी २०६९, श्री किरात (डायमन दास राई)— कुण्डल २०६९, वासु पासा— प्रताप मल्ल २०६९, मोहनबहादुर कायस्थ— विवश जिन्दगी १,२,३, २०६९, सीताराम अधिकारी—उज्यालाको खोजी २०६९, मायादेवी शर्मा— उर्मिला २०६९, कृष्ण पोखरेल— रे बौआ २०६९, केशव नेपाल— लाहुरेको चिठी २०६९, सूर्य सुवेदी— दिशाहीन यात्रा २०६९, भूवनहरि सिग्देल— उर्मिला २०६९, जगदीश घिमिरे— सकस २०६९, डायमन शम्शेर— धनको धब्बा २०६९, गोपाल सन्जेल— बिस्मात २०६९, देवप्रकाश त्रिपाठी— प्रलय प्रारम्भ २०६९, डियर कल्याण— रेडियो छाप सलाई २०६९,  आदि ।
२०७० देखि हालसम्ममा प्रकाशित उपन्यास
अखण्ड भण्डारी— मलाया एक्सप्रेस २०७०, अनुपम रोशी— कालो छाया २०७०, इन्दु पन्त— यन्त्र मानव २०७०, विकलचन्द्र आचार्य— मोह २०७०, एस.पी.आसा—बुद्ध २०७०, टङ्क चौलागाईं— काठमाडौँ गीत २०७०, सिर्जना शर्मा— गोल्डेन गेट २०७०, योगलाल गौतम— प्रेमको मलामी २०७०, राजेन्द्रकुमार आचार्य—बाढी २०७०, उमा सुवेदी— तोदा २०७०, डम्बर थापा— प्रेम पैँचो २०७०, प्रदीप नेपाल— चरैवेति चरैवेती २०७०, बर्बरिक २०७०, पुष्कर खतिवडा—खुल्ला मैदानभित्र २०७०, अचलराज आचार्य— टापुमा एक्लै रबिन्सन क्रुसो २०७०, नयनराज पाण्डे— घामकिरी २०७०, रामेश कोइराला— कोपिला आश्रम २०७०, राज सरगम— चिम्नी २०७०, नीलम कार्की निहारिका—अर्की आइमाई २०७०, भाउपन्थी— सूत्रधार २०७०, भीम कोइराला— हेटान २०७०, रामप्रसाद आचार्य— नेपाल बा २०७०, राजेन्द्र थापा— द्रौपदी २०७०, पुण्यप्रसाद प्रसाईं— युद्धका डोबहरू २०७०, रमेश गौतम— भाँचिएको लौरो २०७०,  मुक्तिनाथ शर्मा न्यौपान—कल्पना संसार २०७०, तुलसीप्रसाद उप्रेती—म केशरी २०७०, प्रकाशमणि दाहाल—चुनौती २०७०, विश्वदीप अधिकारी— अनामिका २०७०, कविता पौडेल—सीमावारि सीमापारि २०७०, पुरुषोत्तम दाहाल—शान्ता २०७०,रुकु कार्की— विसङ्गत जीवन २०७०, प्रेमशाली घिमिरे—डा.पल्लवी २०७०, होमराज आचार्य—टुल्कु २०७०, शान्ति शर्मा तारा—सुरुचि २०७०, ध्रुवचन्द्र गौतम— वञ्चक २०७१, शिवभक्त शर्मा न्यौपाने— धारादी २०७१, उन्नती बोहरा शीला— तृष्णा २०७१, राजेश्वर देवकोटा— विश्वास २०७१, भूमिराज बस्ताकोटी— निमित्तमात्र २०७१, लाटो साथी— शान्ताकुञ्ज २०७१, रघुराम न्यौपाने—कोलाहलभित्रको सहर २०७१, काशीनाथ न्यौपाने—आत्मघात २०७१, तोयनाथ पौडेल—सम्झौता २०७१, अन्विका गिरी—मान्छेको रङ २०७१, दीपशिखा—रात फुलेको याम २०७१, कृष्ण अबिरल—रक्तवीज २०७१, कलानिधि दाहाल—अरस्तुदेखि बङ्करसम्म २०७१ आदि ।

सन्दर्भ ग्रन्थ सूची
पुस्तक
एटम्, नेत्र, (२०६६), “समसामयिक नेपाली उपन्यासमा प्रयुक्त विषय” नेपाली डायस्पोरा र अन्य समालोचना, काठमाडौँः एकता बुक्स, पृ.११—१८ ।
गौतम, कृष्ण, (२०६४), उत्तरआधुनिक जिज्ञासा, काठमाडौँ ः भृकुटी एकेडेमी पब्लिकेसन ।
बराल, ऋषिराज, (२०५६), उपन्यासको सौन्दर्य शास्त्र, ललितपुरः साझा प्रकाशन ।
बराल, कृष्णहरि र नेत्र एटम, (२०६६), उपन्यास सिद्धान्त र नेपाली उपन्यास (ते.सं.), ललितपुर ः साझा प्रकाशन ।
भट्टराई, गोविन्दराज (२०६१), पश्चिमी बलेँसीका बाछिटा, काठमाडौँः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।
भट्टराई, गोविन्दराज, (२०६१), आख्यानको उत्तरआधुनिक पर्यावलोकन, काठमाडौँ ः रत्नपुस्तक भण्डार ।
भट्टराई, गोविन्दराज, (२०६४),  उत्तरआधुनिक विमर्श, काठमाडौँ ः मोडर्न बुक्स ।
लुइटेल, खगेन्द्र (२०६९), नेपाली उपन्यासको इतिहास, काठमाडौँः नेपाल प्रज्ञाप्रतिष्ठान ।
शर्मा र खगेन्द्र लुइटेल, (२०६१), पूर्वीय पाश्चात्य साहित्य सिद्धान्त, काडमाडौँ ः विद्यार्थी प्रकाशन ।
श्रेष्ठ, दयाराम र शर्मा मोहनराज, (२०५६), नेपाली साहित्यको संक्षिप्त इतिहास, (ते.सं.),ललितपुरः साझा प्रकाशन ।
सुवेदी, राजेन्द्र, (२०६४), नेपाली उपन्यास ः परम्परा र प्रवृत्ति, (दो.सं.) ललितपुर ः साझा प्रकाशन ।
सुवेदी, राजेन्द्र (२०६८), “समसामयिक नेपाली उपन्यासः सांस्कृतिक र सीमान्तीय अध्ययन,” रत्न बृहत् नेपाली समालोचना, प्रायोगिक खण्ड, सम्पा.राजेन्द्रसुवेदी र लक्ष्मण गौतम, काठमाडौँः रत्न पुस्तक भण्डार, पृ.१९५—२२१ ।

पत्रिका
बराल, ऋषिराज (२०७०), “समकालीन नेपाली उपन्यासः समीक्षा र संश्लेषण,” गरिमा, ३७१, पृ.६६—९१ ।
रेग्मी, सनत, (सं) (२०६०), नेपाली उपन्यास शतवार्षिकी, स्मारिका, (२०६०), काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
लुइटेल, लीला, (२०६६), “महिलालेखन र नारीवादी नेपाली उपन्यास” मधुपर्क, चैत्र २०६६ ।

कुमारप्रसाद कोइराला (विद्यावारिधि)
प्राध्यापक, त्रि.वि.पद्मकन्या क्याम्पस

नेपाल प्रज्ञा – प्रतिष्ठान र महाकाली साहित्य संगमको आयोजनामा २०७२ साल बैसाख ३१ गते कन्चनपुरको महेन्द्रनगरमा आयोजित “समकालीन नेपाली उपन्यासका प्रमुख प्रवृत्तिहरू” विषयक गोष्ठीमा प्रस्तुत कार्यपत्र।

This entry was posted in कार्यपत्र and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.