पुस्तक समीक्षा : रङ्गमञ्चीय एकाङ्कीको सँगालो

~तुलसीहरि कोइराला~

नेपाली साहित्यमा सबैभन्दा कम लेखिने विधाका रूपमा नाटकलाई लिइन्छ । यसमा पनि पूर्णाङ्की नाटकको त खडेरी नै परिसकेको अनुभव हुन्छ भने एकाङ्की चाहिँ औंलामा गन्न सकिने स्रष्टाहरूबाट धानिदै आएको छ । पछिल्लो चरणमा आएर नाटकघरहरू खोल्नेक्रम बढ्न थालेको छ र केही नाट्य समूह जुर्मुराएका पनि छन् । केही युवा नाट्यकर्मी यसै क्षेत्रमा समर्पित हुने सोचले निरन्तर लागिरहेकै छन् । यस्तै सक्रिय युवा नाट्यकर्मीमा पर्दछन् कृष्ण शाह यात्री । अभिनय, निर्देशन एवं लेखनमा समेत सक्रिय यात्रीको ‘बामियानका चिसा बुद्धहरू’ पछिल्लो एकाङ्की हो । उनका यसअघि समय अवसान (२०६१), मान्छे मान्छेहरू (२०६४), निर्वासित मनहरू (२०६७), अतिरिक्त यात्रा (२०६७) लगायतका नाटकसङ्ग्रहहरू आइसकेका छन् भने उनी लघुकथा र बालसाहित्यका क्षेत्रमा पनि उत्तिकै सक्रिय देखिन्छन् । प्रस्तुत सङ्ग्रहमा जम्मा ६ ओटा एकाङ्की सङ्गृहित छन् ।

सङ्ग्रहको पहिलो नाटक ‘बामियानका चिसा बुद्धहरू’बाटै सङ्ग्रहको नामाकरण गरिएको छ । अफगानिस्तानको बामियानमा रहेका गौतमबुद्ध लगायतका अन्य प्राचीन मूर्तिकलाको तोडफोड गरी अतिवादी मुस्लिम सङ्गठन तालिवानहरूले गरेको विध्वंसमा आधारित यो एकाङ्की अत्यन्तै मर्मस्पर्शी छ । यो घटनाबाट पर्न गएको असरको सूक्ष्म ढङ्गले नाटककारले चित्रण गरेका छन् र अन्तिम सत्य भनेको निर्माण नै हो र शान्ति–अहिंसा एक मात्र सत्य हो भन्दै ‘बुद्धं शरणम् गच्छामि’को उद्घोष गरेका छन् । यो नाटक धेरैपटक मञ्चन भइसकेको हो भने अर्को मञ्चित नाटक हो ‘निरावण’ । तीन भागमा विभाजित यो नाटकमा रामायण पात्र रावण र उसको चरित्रलाई विनिर्माणीकृत गरी नेपाली राजनीतिका खलपात्रहरूको चरित्रसँग आख्यानीकृत गरेका छन् । सङ्ग्रहका शक्तिशाली नाटकहरूमा पर्दछन् यी दुई नाटक ।

अर्को नाटक – ‘अर्थात् असमाप्त अध्याय’ महाभारतका मूलपात्रहरू द्रौपदी, कुन्ती र कृष्णको भूमिकामाथि यात्रीले नाटक सिर्जना गरेर द्रौपदी र कृष्णको काल्पनिक प्रेमसम्बन्धको पुनव्र्याख्या गरेका छन् । ‘अनन्त सपनाहरू’ मा विदेशमोह र दलगत स्वार्थलाई विषयवस्तु बनाइएको छ । विदेशको इसारामा चल्ने नेताहरूले देशको भलो गर्न नसकेको यथार्थ नाटकमा रङ्गमञ्चीय प्रयोगशालामा पौराणिक आख्यानको नाटकीकरण गरेका छन् । पौराणिक पात्र ययाति र पुरुको उमेर साटासाटको कथामा आधारित नाटकले बिज्ञानको आधुनिक प्रयोगशालामा यो पनि संभव हुनसक्छ भन्ने देखाउन खोजेका छन् नाटककारले । सङ्ग्रहको सबैभन्दा छोटो एकाङ्कीको रुपमा रहेको छ – ‘हामी’ । माओवादी जनयुद्धकालको ज्यादतीमा आधारित यस नाटकमा सुराकी गरेको भन्दै मारिएका शिक्षक शिक्षिका, बेपत्ता बनाइएका अनेक पात्रलाई नाट्यपात्रका रुपमा यात्रीले ब्युँझाएका छन् र न्याय पाउनु पर्ने आवाज उठाएका छन् ।

नाटक लेखन, निर्देशन, प्रशिक्षणलगायतका कर्ममा समर्पित यात्री साङ्केतिक भाषामा समेत नाटक प्रस्तुत गर्ने प्रयोगधर्मी नाट्यकर्मी हुन् । उनी ‘ज्योतिपुञ्ज साइन थिएटर’ नामक नाट्यसंस्थामार्फत् सक्रिय छन् । स्वयं कलाकार र निर्देशकसमेत भएकाले उनका यी नाटक रङ्गमञ्चीय सोच अनुकूल सिर्जित देखिन्छन् । नाट्यक्षेत्रको खोज–अनुसन्धानमा पनि निरन्तर लागिपरेका यात्री भरतमुनिको नाट्यशास्त्रको अध्ययन–अनुसन्धानमा केन्द्रित नाट्यकर्मी पनि हुन् । उनीबाट रङ्गमञ्चले समयसापेक्ष नाट्यकृति निरन्तर प्राप्त गर्नेमा दरिलो आशा गर्न सकिन्छ ।

कृति : बामियानका चिसा बुद्धहरू
नाटककार : कृष्ण शाह यात्री
प्रकाशक : बुकसाइन पब्लिकेसन
प्रकाशन : २०७१
पृष्ठ : ९६
मूल्य : रु. २००/–

– तुलसी

(स्रोत : मधुपर्क, २०७२ पुष)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.