कविता : आऊ हामी मुस्कान साटासाट गरौं

~नरेश शाक्य~

आऊ, हामी मुस्कान साटासाट गरौं
मुस्कुराऔं
हाँसौं
नाचौं ,
गाऔं
जिन्दगी झंकृत साज भई उठोस्
तिम्रो हृदय कमलिनी फुलोस्
मेरो पनि ।
दुइ पलमै बितिजाने हाम्रो जिन्दगी होइन
बिहानी उदाएर साँझ अस्ताउने
मरुभूमिको यात्रा जस्तो जिन्दगी
पहाड उक्लिनुको कठिनाई जस्तो
काँडाको माझ फुल्ने व्यवधानहरूको जिन्दगी
आऊ, हामी अंकमाल गरौं ।
चुमौं एक अर्कालाई
ह्रदय साटासाट गरौं ।

हाम्रो टाउको माथि सँधैभरि झुण्डिएको छ
डेमोकल्सको तरवार
विपदाहरूको वीच घेरिएका छौं
तूफानहरू अवात जावत गर्छन
भक्षकहरू छन् मँडारिरहेका
दुइ क्षण भए पनि उत्सव मनाऔं जिन्दगीको
रमाइलो गरौं ।
रमाइलो कुराकानी गरौं
आऊ हामी एक अर्कालाई माया गरौं ।
“मरु” मा फूल फुलाऔं
मायाको सरोबर हुर्काउँदै
के थाहा ?
भोलि नै हामीले बित्नु पर्ने हो कि ?
यो अनिश्चित जिन्दगीको यात्रालाई
पूर्णविरामको चिन्ह दिनु पर्ने हो कि ?
संकटको भुमरीमा फँसेको
आँधी वीच छटपटाएको
यातनाको पहाडले थिचिएको
आऊ, हामी मरुद्यान सजाऔं
ओसिस् ।
वसन्त मनाऔं
एक ऋतु हरियालीको वसन्त
फेरि शिशिरको
हिउँदको प्रताडना सहनु त छँदैछ ।
एउटा घनघोर कालो रात अमावस्याको
झेल्नु छँदैछ

एक पल भएपनि
यो जिन्दगीलाई माया गरौं
म्वाइँ खाऔं
आल्हादित बनौं
आऊ हामी मुस्कान साटासाट गरौं ।

२०६३।६।११

– Kathmandu

(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 47 | पुर्णाङ्क 93 | Baisakh-Jestha)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.