~विजय ध्वज थापा~
आमा तिम्रो माया लाग्छ
तिमी राम्री भइदियौ
हिमाल ,पहाड,तराइ मधेश
तिम्रा गहना भइदिए
लाली गुँरास सुनगाभामा
तिमी सुगन्धित भइदियौ
असंख्य झर्ना, हिम नदीले
तिमी सुसज्जित भइदियौ
आफ्नै अमूल्य खागले
असुरक्षित बनेका गैंडा झै
आफ्नै सुगन्धित वासले
असुरक्षित भएका कस्तुरी झैं
असंख्य जडीबुटीको विविधताले
अटूट हिमनदीले
मणि माणिक्यको पहराले
असंख्य अदृश्य खनिजले
प्राकृतिक विविध गहनाले
विश्व केन्द्रित वाटिका भइदियौ
आमा तिम्रो माया लाग्छ
तिमी असुरक्षित भइदियौ ।
तिमी कुरूप भइदिए
अपार जलस्रोत नभइदिए
सर्वोच्च सगरमाथामा
डाँफे मुनाल ननाचिदिए
तिम्रो सौन्दर्यमा
कुदृष्टि पर्ने थिएन
तिमी अपहरित होउली भन्ने
मलाई कुनै त्रास हुने थिएन
उजाडिएको अशोक वाटिका जस्तो भए
विस्फोट भएको मरुभूमि जस्तो भए
बाढीले बगाएको वस्ती जस्तो भए
आमा तिमी सुरक्षित हुने थियौ
आमा तिम्रा सन्तान
वैसाखी टेक्न पर्ने भए
खान मुख ताक्ने भए
फाटेका थोत्रा लुगा ओढी
पुष माघको सिरेटो काट्ने भए
कोही पदमा बिक्ने भए
कोही पैसामा बिक्ने भए
तेरो मेरो भन्दा भन्दै
एक आपसमानै लड्ने भए
आमा तिम्रो माया लाग्छ
तिम्रो काखमा खै को बस्ने भए ?
आमा तिम्रो माया लाग्छ
खै कहिले सम्म मेरो भनिरहन पाउने भएँ !
Bijaya Dhwaj Thapa
Baluwatar, Kathmandu
(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 47 | पुर्णाङ्क 93 | Baisakh-Jestha)
