~ज्ञानु अधिकारी~
१. विषयप्रवेश
प्रेमा शाह (२००२) को साहित्यिक यात्रा २०१६ को शारदा पत्रिकामा प्रकाशित दुई कविता शीर्षकको कविताबाट आरम्भ भएको हो । उनको आख्यान विधाको लेखनयात्रा प्रतिक्रिया शीर्षकको कथा २०१८ को शारदा पत्रिकामा प्रकाशित भए पछि अघि बढेको देखिन्छ । प्रौढ साहित्य र बाल साहित्य दुबैमा सक्रिय शाहका बालकथा, बालउपन्यास र बालगीतका झण्डै एक दर्जन कृति प्रकाशित छन् । साहित्य यात्राको प्रारम्भिक चरणमा कविता विधामा सक्रिय शाहका दुई दर्जन भन्दा बढी फुटकर कविता विभिन्न साहित्यिक पत्रपत्रिकाहरुमा प्रकाशित देखिन्छ । उनले कथा, उपन्यास, कविताका साथै नाटक, एकाङ्की, निबन्ध आदि विधामा समेत कलम चलाएकी छिन् । साहित्यका प्रायः सबै विधामा कलम चलाए पनि उनलाई साहित्यिक उचाइमा पु¥याउने केन्द्रीय विधा भने आख्यान नै हो ।
प्रचार र प्रशंसावाजीको साहित्यिक दुनियाँमा प्रेमा शाह फरक किसिमको नाम हो । उनलाई पहेँलो गुलाफ र लोग्ने कथामा मात्र खुम्च्याएर उनको साहित्यिक मूल्याङ्कन गरिनु पक्कै पनि उनको साहित्यकार व्यक्तित्व माथि गरिएको अन्याय हो । बालसाहित्यको पाटोलाई छोडेर पनि उनका पहँेलो गुलाफ (२०२३) र विषयान्तर (२०२८) गरी दुई कथासङ्ग्रह र मम्मी (२०४०) उपन्यास जस्ता बौद्धिक तथा उत्कृष्ट कृतिहरू प्रकाशित देखिन्छन् । यौनमनोविज्ञान, अस्तित्ववाद, विसङ्गतिवाद र नारीवादजस्ता अवधारणालाई केन्द्र बनाएर बोल्ड कथा लेख्ने शाहले यसप्रकारको सशक्त लेखनलाई निरन्तरता किन दिन चाहिनन् यो अस्पष्ट नै रहे पनि उनी पछिल्लो समय भने बालसाहित्यका क्षेत्रमा क्रियाशील रहेको देखिन्छ । नवीन चेतना, युगबोध र सशक्त अभिव्यक्तिका साथ सचेत रूपमा लेखन कार्यमा लागेकी प्रेमा शाह न त आपूm विज्ञापित हुन नै चाहिन्, न त नेपाली साहित्यबाट कुनै अपेक्षा नै गरिन् । ‘एउटै धार र प्रवृत्तिका बासी कुरा मात्रै लेख्ने’ भनी आरोप लगाउने नेपाली साहित्यका विद्वान्हरूले उनको उचित मूल्याङ्कन गर्न नसक्नु कतै नारीस्रष्टा प्रतिको अवमूल्यन त होइन भन्ने प्रश्न उब्जिएको देखिन्छ ।
२. प्रेमा शाहको आख्यानसन्दर्भ र प्रवृत्ति
प्रेमा शाह नेपाली साहित्यमा पृथक पहिचानका साथ उपस्थित स्रष्टा हुन् । बीसको दशकताका साहित्यमा हस्तक्षेपकारी उपस्थिति देखाएकी शाह प्रत्यक्षतः साहित्यिक वातावरण र साहित्यकारहरूको सम्पर्कमा आउन नचाहने व्यक्तित्व हुन् । विज्ञापित हुन नचाहने अन्तर्मुखी स्वभावकी शाह केवल आफ्ना साहित्यिक कृतिहरूका माध्यमबाट मात्र यस क्षेत्रमा परिचित छिन् । त्यसकारण, उनको समग्र साहित्यिक व्यक्तित्वको अध्ययन मूल्याङ्कन र विश्लेषण पर्याप्त रूपमा भएको देखिदैन । उनको नेपाली साहित्यमा देखिएको शक्तिशाली उपस्थिति र एकाएक पलायनतिर उन्मुख भएको उनको लेखन नेपाली साहित्यका पाठकहरूका लागि एउटा रहस्य नै बन्न पुगेको छ ।
प्रेमा शाहका साहित्यिक लेखनका मुख्य रूपमा तीनवटा प्रवृत्तिहरू पहिलो यौनमनोविज्ञानवादी, दोस्रो विसङ्गतिवादी र तेस्रो नारीवादी स्पष्ट रूपमा देखा पर्दछन् । यी तीन प्रवृत्तिमध्ये नेपाली साहित्यमा उनको मूल्याङ्कन यौनमनोविज्ञानवादी कथाकारका रूपमा मात्र गरिएको छ । उनी नारीहरूको मनोदशा र कुण्ठालाई विषयवस्तु बनाएर नारीपरक कथा लेख्ने कथाकार हुन् । ,,,, तर सैद्धान्तिक रूपमा नारीवादलाई पछ्याएर कथा लेख्ने कथाकार भने होइनन् । उनको मम्मी उपन्यासमा भने नारी अस्तित्व र अहम्लाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । उनको कथायात्राको समयावधि २०१८ देखि २०२८ सम्मको दस वर्षलाई हेर्दा दुई चरण देखा पर्दछन् । पहिलो चरणमा उनको पहँेलो गुलाफ (२०२३) कथासङ्ग्रह प्रकाशित छ र यसमा सङ्कलित अधिकांश कथाहरूमा यौनजन्य विषयवस्तु र कुण्ठाग्रन्थिहरूको उदात्तीकरण प्रकट भएका छन् भने उनको दोस्रो चरणमा लेखिएको विषयान्तर (२०२८) कथासङ्ग्रहमा सङ्कलित कथाहरूमा विसङ्गतिवादी, अस्तित्ववादी तथा शून्यवादी चिन्तनको प्रभाव पाइन्छ ।
सहरिया परिवेश, साम्भ्रान्त परिवार, महलका सजिसजाउ कोठा, साजसज्जा र ती भित्र कुण्ठाले जलेका र निस्सारताको बोधले छटपटाएका मानिसहरूको जीवन भोगाइलाई प्रस्तुत गर्न रुचाउने शाहका आख्यानमा काव्यिक भाषाको प्रस्तुति पाइन्छ । छोटा वाक्य, गहन अभिव्यक्ति, प्रतीकात्मक र बिम्बात्मक भाषा शैलीका कारण उनका रचना शैलीगत दृष्टिले पनि विशिष्ट देखिन्छ । बीसकै दशकमा लेखिएका यिनका नारीपरक कथाहरूमा नारीहरूको विलौना, दुखेसोहरूको एकोहोरो वर्णन पाइदैन । बाँच्नु आफैमा सबैभन्दा जटिल, सबैभन्दा यन्त्रणा र सबैभन्दा निस्सार कार्य हो भन्ने कुरा प्रस्तुत गर्दै उनले आफ्ना रचनाहरूमा मानिसको जीवनलाई अन्त्यहीन समयको वेगमा देखा परेको पानीको फोकाका रूपमा चित्रण गरेकी छिन् । व्यक्तिवादी कथा लेख्ने यिनका कथाले कुनै वर्ग, सम्प्रदाय र पक्षलाई भन्दा पनि मानिसभित्रका निराशा, कुण्ठा, छटपटीका साथै अस्तव्यस्त जिन्दगीको संवेदनाहीता, यान्त्रिकता र विसङ्गत जीवनशैलीको चित्रण गरेको पाइन्छ । धार्मिक, सामाजिक मान्यता, नैतिक मूल्य सबैप्रति अनास्था प्रकट गर्ने पात्रहरूको प्रयोग गरी मानवीय जीवनको निरर्थकता प्रकट गर्नु नै यिनका कथाका मुख्य प्रवृत्तिगत विशेषता हुुन् ।
३. कृतिका आधारमा प्रेमा शाहको साहित्यिक मूल्य
२०१६ बाट प्रारम्भ भएको प्रेमा शाहको साहित्यिक यात्रामा उनको सक्रिय उपस्थिति भने सुरुको दुई दशक मात्र रहेको देखिन्छ । कविता विधाबाट प्रारम्भ भएको उनको लेखन यात्रा कथा, उपन्यास, एकाङ्की, निबन्ध तथा बालसाहित्य हुँदै अघि बढे पनि उनको विशेष योगदान र सक्रियता भने आख्यान विधामा देखिन्छ । यिनका अन्य विधामा प्रकाशित रचनाहरूलाई छाडेर आख्यान विधामा लेखिएका कृतिहरूलाई मात्र यहा चर्चा गर्ने प्रयास गरिएको छ । उनका आख्यानात्मक तीन कृतिहरूको संयुक्त सङ्ग्रह पहेँलो गुलाफ (२०६८) नयाँ संस्करणका रुपमा प्रकाशित भएको छ । यी तीन कृतिहरूमध्ये पहेँलो गुलाफ (२०२३) र विषयान्तर (२०२८) कथासङ्ग्रह हुन् भने मम्मी (२०४०) उपन्यासका रूपमा प्रकाशित देखिन्छ । यस बाहेक यिनको आकाश विभाजित छ (सहलेखन, २०३२) उपन्यास पनि प्रकाशित छ । दसजना सहित्यकारको संयुक्त लेखनमा प्रकाशित भएको उक्त उपन्यासको अन्तिम खण्ड प्रेमा शाहद्वारा लेखिएको थियो र उपन्यासको यो अंश २०३० को रूपरेखा पत्रिकामा प्रकाशित भएको थियो । तथापि यहाँ प्रेमा शाहको साहित्यिक मूल्यको निरुपण गर्न उनका तीन आख्यान कृतिलाई नै आधार बनाइएको छ । पहेँलो गुलाफ यौन मनोविज्ञानवादी चिन्तनमा आधारित कथाहरूको सङ्कलन हो भने विषयान्तर विसङ्गतिवादी चिन्तनमा आधारित कथाहरूको सङ्कलन हो । यसैगरी मम्मी नारीवादी चिन्तन र मान्यतामा आधारित उपन्यास हो । उनका यी तीनवटा कृतिहरूमा भिन्न प्रवृत्ति, चिन्तन र चेतना अभिव्यञ्जित भएको पाइन्छ ।
प्रशस्त समयको अन्तरालमा लेखिएका यी तीनओटा आख्यानात्मक कृतिहरूमा विषयवस्तु, प्रस्तुतीकरणको शैली तथा विचारपक्ष आदिमा पनि पृथकता पाइन्छ । पहिलो कथासङ्ग्रहका सबैजसो कथाहरु फ्रायडको यौनमनोविज्ञानको सिध्दान्तबाट प्रभावित भई लेखिएका छन् । यसमा यौनजन्य कुण्ठा, आवेग, संवेग, ग्लानी र छटपटीहरूको चित्रण गरिएको छ भने दोस्रो कृति विषयान्तर मा फरक विषयवस्तुको प्रयोग गरिएको देखिन्छ । अमूर्त लेखन, प्रयोगपरक शैली कथाहीनता र वैचारिक पक्षको प्रधानता भएको यस सङ्ग्रहका कथाहरूमा विसङ्गतिवादी चेतनाको प्रस्तुति पाइन्छ । यसैगरी झण्डै बार वर्षपछि प्रकाशित मम्मी शीर्षकको उपन्यास सरल भाषाशैलीमा लेखिएको आख्यानात्मक कृति हो । यो उपन्यास नारीको उच्च अहम् र अस्तित्वको स्थापनामा जोड दिई लेखिएको छ । सम्भ्रान्त र सम्पन्न वर्ग, सहरी परिवेश र एउटी शिक्षित, स्वभिमानी र अस्तित्वचेतना भएकी नारीको जीवनशैली र सङ्घर्षको प्रस्तुति रहेको यो उपन्यासमा नारीवादी चेतनाको स्वर अभिव्यञ्जित भएको पाइन्छ ।
३.१. पहेँलो गुलाफ कथासङ्ग्रहमा यौनमनोविश्लेषणात्मक पक्ष
प्रेमा शाहको साहित्य यात्राको पहिलो (२०१८–२०२३) चरणका कथाहरूमा यौनपरक विषयवस्तुहरूको व्यापक प्रयोग भएको देखिन्छ । २०२३ मा प्रकाशित पहेँलो गुलाफ कथासङ्ग्रह भित्र सङ्कलित आठओटा कथाहरूमा यौनमनोविज्ञानलाई नै केन्द्र बनाई कथावस्तुको चयन गरिएको छ । विभिन्न प्रतीक र बिम्बहरूको प्रयोग गरी लेखिएका यी कथाहरूमध्ये केही कथामा अमूर्त लेखनको शैली पनि आत्मसात गरिएको छ । प्रकृतिका विविध सन्दर्भहरूलाई प्रतीकात्मक रूपमा प्रयोग गरी अभिव्यक्तिलाई गहन बनाउन र भाव सम्प्रेण गर्न प्रेमा शाह निपुण देखिन्छिन् । प्रस्तुत सङ्ग्रहका कथाहरूमा पात्रहरूका बाह्य पक्षलाई नभई आन्तरिक पक्षलाई सूक्ष्मरूपमा देखाइएकाले यी कथाहरू पूर्णतः मनोवैज्ञानिक धरातलमा लेखिएका देखिन्छन् । उनका कथामा यौनजन्य सन्दर्भ र क्रियाकलापहरूको चित्रण गरिएको भए पनि ती अन्यन्तै शालीन र मयार्दित रूपमा प्रकट भएका छन् । प्रतीकात्मक र कलात्मक भाषाका कारण कथा उत्कृष्ट बनेको छ ।
प्रस्तुत कथासङ्ग्रहमा पहेँलो गुलाफ, लोग्ने, प्रतिक्रिया, चायाँ, मीना, एउटा जीवन्त क्षण जो मरी–मरी पनि बाँच्छ, वाल्जपछि, सिउँडीको भ्mयाङमा शीर्षकको आठवटा कथाहरूमध्ये अधिकांश कथाहरूमा नारी मनोविज्ञानको यौनपक्षलाई सूक्ष्म रूपमा चित्रण गरिएको छ । पहेँलो गुलाफ प्रेमा शाहको सबैभन्दा चर्चित कथा हो । दैनिकी लेखनको शैलीमा लेखिएको यस कथामा समाख्याता म पात्रको दिनचर्या र मानसिक छटपटी, कुण्ठा र विक्षिप्ततालाई प्रस्तुत गरिएको छ । यौनलाई जैविक आवश्यकता र यौनजन्य क्रियालाई मान्छेको जन्मजात गुण मानेर मनोविश्लेषणको कोणबाट व्याख्या गर्ने फ्रायडको यौनमनोविज्ञान सिध्दान्तलाई पछ्याइएको यस कथामा म पात्रको श्रीमान्को यौनजनिक संवेग र आवेगहरू मनोविकारका रूपमा प्रस्तुत भएको देखाइएको छ । क्षयरोगले ग्रस्त भएर हस्पिटलको बेडमा सुतिरहेकी श्रीमतीको रोग र अस्वस्थाको समेत पर्वाह नगरी कामवृत्तिमा संलग्न पुरुषको आवेग र उन्मादलाई देखाइएको यस कथामा पहेँलो गुलाफ नारी प्रतीकका रूपमा र पहेँलो गुलाफको पातमा टाँसिन आउने झुसिलकीरालाई पुरुषको प्रतीकका रूपमा प्रस्तुत गरी पुरुषको आक्रमक र परपीडक प्रवृत्तिको चित्रण गरिएको छ । म पात्र श्रीमान्को अतिकामुकताजन्य यौन विकारबाट अत्यन्त पीडित भएको र उनले गर्ने प्रेम साँचो अर्थमा प्रेम नभएर वासना मात्र भएको भाव कथामा अभिव्यक्त गरिएको छ । परम्परागत रूपमा नारीहरूले भोग्दै आएका यौनजन्य पीडा र कुण्ठाका साथै यस कथामा पुरुषहरूको स्वेच्छाकारी प्रवृत्तिलाई प्रभावकारी रुपमा प्रस्तुत गरिएको छ ।
लोग्ने कथा पनि पहिलो कथाजस्तै यौनमनोविज्ञानमा आधारित कथा हो । सामाजिक मान्यता, यौनमनोविज्ञान र पात्रको असमान्य अवस्थाको चित्रण गरिएको यस कथामा लोग्नेको मृत्यु भई वैधव्य जीवन बिताउन बाध्य एउटी युवतीको यौनजन्य मनोविकारको चित्रण गरिएको छ । लोग्नेको सामिप्य र मायाको अभाव, यौन अतृप्तिजन्य कुण्ठा र बहिनीको तीव्र इष्र्याबाट उत्पन्न मनोविकृतिहरूलाई देखाइएको यस कथाकी केन्द्रीय पात्र निर्मला हीनता र दमित यौन मानसिकताले ग्रसित पात्र हो र उसले बहिनीलाई हेर्न आएको केटोलाई मन पराएपछि मनोविकारका रूपमा देखिएको उसको असामान्य व्यवहार र प्रतिक्रिया नै कथाको सबैभन्दा महत्वपूर्ण पक्ष हो । यस कथाले एकातिर कलिलो उमेरमा नै विधवा भई सबै चाहना रहरलाई मारेर बस्नुपर्ने सामाजिक संस्कारलाई देखाएको छ भने अर्कोतिर दमित अवस्थामा रहेका मनभित्रका एषणा, कुण्ठाहरूले मनोविकार ल्याई मानिसलाई असामान्य अवस्थामा पु¥याउने अवस्थालाई चित्रण गरेको छ ।
यस सङ्ग्रहको प्रतिक्रिया शीर्षकको तेस्रो कथामा पुरुषहरूको शङ्कालु मानसिकतालाई चित्रित गरिएको छ । सिंहदरबारमा पालेको काम गरेर राति अबेला घर फर्कने मने आफ्नी स्वास्नीलाई आफ्नो मुठ्ठीभित्रको माखो सम्झन्छ र आफ्नी स्वास्नीको सुन्दरताबाट लोभिएको ऊ अरु पुरुष पनि यस्तै लोभिदा हुन् भन्ने आशङ्काले त्रसित हुन्छ । आफ्नी स्वस्नीले पराइसित हाँसीहाँसी बोलेको सहन नसक्ने मने दिनभरि म नभएको बेलामा कतिसँग हाँसी होली भन्ने शङ्का गर्दै आफ्नै साथीहरूलाई सम्झन पुग्छ । आधारात सम्म भान्सा कुरेर बसेकी स्वास्नीलाई बिना कारण तथानाम पिट्छ । स्वास्नी घर छोडेर हिडेपछि आधा रातमा स्वास्नी खोज्दै हिड्ने मने विक्षिप्त अवस्थामा पुगेको देखाइएको यस कथामा पुरुषको क्रुर मानसिकतालाई पनि अभिव्यञ्जित गरिएको छ । यसैगरी चायाँ शीर्षकको कथामा पनि यौनमनोविज्ञानलाई प्रस्तुृत गरिएको छ । धनाढ्य र सम्पन्न परिवारकी दालचिनी यस कथाकी मुख्य पात्र हो । यसको अनुहारमा आएको कालो चायाँ कथाको बाह्य कथावस्तुका रूपमा देखिएको छ भने आन्तरिक कथावस्तुका रूपमा यौनेच्छा र यौन कुण्ठालाई देखाइएको छ । कालो चायाका कारण आफ्नो रूपमा कुरूपता देखिन थाले पछि लोग्नेको आकर्षण घट्दै गएको र ऊ बाहिरबाहिरै बरालिएर हिडेकाले दालचिनी मर्महात् हुन्छे । उसको मनभित्र दमित अवस्थामा रहेको यौन कुण्ठाले निकास नपाए पछि उसले घरमा काम गर्न राखेको किशोर गोरेलाई नै यौनतृप्तिको माध्यम बनाएको घटनालाई यस कथामा प्रस्तुत गरिएको छ ।
मीना कथामा विपरीतलिङ्गी प्रतिको आकर्षण र त्यसबाट निर्मित आवेग संवेगलाई देखाइएको छ । सानुराजाको कोठामा जान मनपराइरहने मिना सानुराजाले गरेको ठट्टालाई प्रेम सम्झन पुग्छे र आफ्नो नोकरको हैसियतलाई समेत बिर्सन्छे तर एकदिन अनायास सानुराजाले प्रेमगरेको केटीको फोटो देखेपछि ऊ बिक्षुब्ध भएर पल्लो घरमा काम गर्न बसेको दिलेसँग भागेर टाढा जाने निर्णय गर्छे । यस कथामा नारी र पुरुषवीच हुने स्वभाविक आकर्षणलाई कलात्मक रूपमा देखाइएको छ । एउटा जीवन्त क्षण जो मरी–मरी पनि बाँच्छ शीर्षकको कथामा मानिसको जीवनको निस्सारता, जटिलता र अचेतनमा दमित अवस्थामा रहेको यौनजन्य भावलाई एउटा अशक्त अपाहिज, केटाको माध्यमबाट देखाइएको छ । त्यसैगरी वाल्जपछि र सिउँडीको भ्mयाङ्मा शीर्षकको दुई कथामा विदेशी परिवेश र आधुनिक जीवनशैलीको चित्रण गरिएको छ । वाल्जपछि शीर्षकको कथा विषयवस्तु र प्रस्तुतीकरणका दृष्टिले निकै शक्तिशाली कथा हो । यसमा स्वास्नीको यौनैच्छा पूरा गर्न नसक्ने एउटा दुर्बल पुरुषको मनोदशा, हीनताभाव र आत्मग्लानीको प्रकटीकरणका साथै अक्रोशलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ भने सिउँडीको भ्mयाङ्मा कथामा मानसिक तथा शारीरिक सम्बन्धमा देखिएको अनास्था र बिमेललाई देखाइएको छ ।
प्रस्तुत सङ्ग्रहका कथाहरूमा यौनको विविध सन्दर्भ विषय र मानिसका यौनजन्य प्रवृत्तिहरूलाई देखाइएको छ । यौनको उदात्तीकरण, दमित यौनकुण्ठाको परिणति, इश्र्यालु र शङ्कालु पुरुषको हीन मनोग्रन्थि, अतृप्त यौन दुर्वलताका कारण पलाएको हीन भावना आदि जस्ता सन्दर्भहरूको सेरोफेरोमा यस सङ्ग्रहका कथाहरू लेखिएका देखिन्छन् भने यौनजस्तो विषयवस्तुलाई पनि मनोविश्लेषणात्मक रूपमा र प्रतीकात्मक शैलीमा अभिव्यञ्जित गरिएको हुँदा कथा शिष्ट र उत्कृष्ट देखिन्छ ।
३.२ विषयान्तर कथासङ्ग्रहमा प्रयुक्त विसङ्गतिवादी चेतना
प्रेमा शाहको कथायात्राको दोस्रो चरण (२०२४ – २०२८) मा लेखिएका कथाहरूको सङ्ग्रह विषयान्तर पहिलो कथासङ्ग्रह भन्दा नितान्त फरक कथासङ्ग्रह हो । नवीन शिल्पविन्यासमा लेखिएका उनका यी कथाहरूमा अमूर्त शैलीको प्रयोग पाइन्छ । जीवनका विसङ्गत पक्षहरूलाई केलाउदै जीवन र जगत्प्रति निराशाजनक दृष्टिकोण राख्ने विसङ्गतिवादी चिन्तनबाट प्रभावित यिनका यस चरणका आख्यानात्मक सिर्जनाहरूमा अस्तित्ववादी र शून्यवादी चिन्तनको प्रभाव पाइन्छ । अस्तित्ववादी – विसङ्गतिवादी दार्शनिक सात्र्र र कामुबाट भन्दा पनि मार्टिन हाइडेगरका मान्यता र फ्रान्ज काफ्काका कथाहरूबाट यिनका कथाहरू बढी प्रभावित देखिन्छन् । मानवीय आस्था र मूल्यहरू क्रमशः विघटित हुदै जान थालेपछि बौद्धिक जगत्ले अनुभूति गर्ने विसङ्गतिको प्रस्तुति यिनका रचनाहरूमा पाइन्छ । जीवनका निस्सारता, व्यर्थता, बाध्यता र जटिलता नै यिनको कथामा पाइने मुख्य विषयवस्तु हो । दार्शनिक तथा बौद्धिक दृष्टिकोणबाट लेखिएका यस सङ्ग्रहका अधिकांश कथा प्रयोगशीलता र प्रतीकात्मक शैलीका कारण गम्भीर प्रकृतिका देखिन्छन् ।
प्रस्तुत कथासङ्ग्रहमा विषयान्तर, कुन रङ, अनिश्चितता, स्थितिबोध, कहीँ देखि कहीँसम्म, विरोध, उदात्तरेखा, सन्त्रासदेखि पर, मार्तोल र चट्टान वरपर गरी जम्मा दसवटा कथा सङ्गृहीत छन् । आयामका दृष्टिले छोटा देखिने यी कथाहरू परम्परित ढाँचा भन्दा पृथक् किसिमले लेखिएका छन् । मानिस संसारमा जन्मिसके पछि चाहेर होस् वा नचाहेर जसरी पनि बाँच्नैपर्छ भन्ने आशय व्यक्त भएका प्रस्तुत सङ्ग्रहका कथाहरूमा कथानकको प्रस्तुति विशृङ्खलित रूपमा गरिएको छ । निरुद्देश्य जीवन, रिक्तता र शून्यबोध, विसङ्गत परिवेश, असमान्य अवस्था आदिको सूक्ष्म विश्लेषण गरी बुनिएका यी कथाहरू वैचारिक पक्षको गहनता र अमूर्त भाषाशैलीका कारण केही असम्प्रेषणीय पनि देखिन्छ ।
यस सङ्ग्रहको विषयान्तर शीर्षकको पहिलो कथामा पक्षघातले पीडित लोग्ने, उसको हीनताबोधी भाव र स्वतन्त्र जीवन बिताउन चाहने शिक्षित श्रीमतीको बीचको सम्बन्धलाई देखाई संसारका सबैमानिस बाध्यात्मक जीवन बाँच्न बाध्य छन् भन्ने कुरा देखाइएको छ भने कुन रङ शीर्षकको कथामा संवेदना मर्दै गएको जीवन भोगाइ अनिश्चित र अस्तित्वहीन जीवनप्रति गरिएको विसङ्गतिबोधलाई प्रस्तुत गरिएको छ । अत्यधिक मात्रामा अङगे्रजी शब्दहरूको प्रयोग गरिएको यस कथामा नारीको मनले अनुभूत गरेको विसङ्गतिबोधलाई व्यक्त गरिएको छ ।
अनिश्चितता शीर्षकको कथा अस्तित्ववादी विसङ्गतिवादी चेतनालाई प्रयोग गरी लेखिएको कथा हो । कथानकविहीन, पात्रविहीन र घटनाविहीन यस कथामा जीवनको क्षणभङ्गुरतालाई दार्शनिक रूपमा व्यक्त गरिएको छ । मृत्यु ले हरपल लखेटिरहेको मान्छेको नियतिलाई सुरुङ + ड्याङ + खाल्डो + इनार = शरण भनेर देखाइएको प्रस्तुत कथा बौद्धिक र प्रयोगवादी कथा हो भने स्थितिबोध कथामा एउटा निरूद्देश्य जीवन भोगिरहेको मानिसको निस्सारतालाई देखाइएको छ । बाँच्नुको बाध्यताबाट पन्छिएर मर्न खोज्दा पनि मृत्यु प्राप्त गर्न नसकेको ऊ पात्रको विसङ्गत जीवनलाई यस कथामा देखाइएको छ ।
अनिश्चितता र असुरक्षित नियतिलाई नै जीवनको पर्यायका रूपमा प्रस्तुत गरिएको कहीँदेखि कहीँसम्म शीर्षकको कथामा असामान्य दुराग्रहपूर्ण जीवनको चित्रण गरिएको छ भने विरोध शीर्षकको कथामा मानिसको नियति, दुर्नियति तथा समयप्रतिको विरोधलाई दार्शनिक रूपमा व्याख्या गरिएको छ । प्रतीकात्मक रूपमा लेखिएको यस कथामा पिँजडाभित्रको चराका माध्यमबाट सन्तोषले कैदभित्रै पनि स्वतन्त्रतालाई स्वीकार गरेको हुन्छ । यो पनि नियति नै हो भन्ने भाव व्यक्त गरिएको छ । उदात्त रेखा शीर्षकको कथा अमूर्त शैलीमा लेखिएको कथानकविहीन कथा हो । आधुनिक युगको विसङ्गति, सहरिया बिरानोपन र निरर्थकताको प्रस्तुति यस कथामा पाइन्छ ।
मानिस जति दुश्चिन्तारहित र सन्त्रासमुक्त हुन खोज्छ उति नै ऊ निरुपाय र विवश बन्छ भन्ने अभिप्राय बोकेको सन्त्रासदेखि पर शीर्षकको कथामा अनास्था र विक्षिप्तता बोकेको पात्रको विसङ्गत व्यावहारलाई अभिव्यक्त गरिएको छ भने मार्तोल कथामा फरक शैली र विषयवस्तु संयोजन गरिएको छ । रक्सी भट्टीको दृश्य देखाइएको यस कथमा दुई जना ग्राहकको अस्तित्ववादी चेतनामा केन्द्रित संवाद तथा पुलिस र चोरको सन्दर्भ प्रस्तुत गरी मानिस जे जति गर्छ त्यो केवल आफ्नो अस्तित्वरक्षा कै लागि गर्छ भन्ने आशय व्यक्त गरिएको छ । प्रयोगपरक र काव्यात्मक भाषामा लेखिएको चट्टान वरपर कथा यस सङ्ग्रहको अन्तिम कथा हो । वाक्य रचनाका नियमहरूको समेत उल्लङ्घन गरी लेखिएको यस कथामा प्रतीकात्मक तथा ध्वन्यात्मक भाषाका कारण कथा जटिल बन्न पुगेको देखिन्छ । नयाँ नयाँ प्रतीक तथा बिम्बहरूको प्रयोगद्वारा मानवीय विसङ्गति र शून्यबोधको अभिव्यक्ति यस कथाले व्यक्त गरेको छ ।
प्रेमा शाहको प्रस्तुत कथासङ्ग्रह पूर्णतः अस्तित्ववादी, विसङ्गतिवादी चिन्तनमा आधारित देखिन्छ । जीवन जटिल, दुरुह र विसङ्गत छ र यसै भित्रबाट मानिस जहिलेसुकै अस्तित्वको खोजी गरिरहन्छ तर त्यो निरर्थक छ भन्ने अभिप्राय प्रस्तुत सङ्ग्रहको कथामा पाइन्छ ।
३.३ ‘मम्मी’ उपन्यासमा नारीवादी चेतना
२०४० मा प्रकाशित मम्मी शीर्षकको आख्यानात्मक कृति प्रेमा शाहद्वारा लिखित एक मात्र उपन्यास कृति हो । पूर्णतः नारीपात्र अर्थात मम्मीमा केन्द्रित रहेको प्रस्तुत उपन्यासमा नारी अस्तित्वको स्थापना र नारी अहम्को संरक्षणमा जोड दिइएको छ । आकारगत रूपमा उपन्यास छोटो भए पनि विषयवस्तुको गहनता, वैचारिक अभिव्यक्तिको कुशलता र सरल भाषा शैलीको प्रयोगले उपन्यास विशिष्ट बन्न पुगेको देखिन्छ । कुलीन तथा साम्भ्रान्त वर्ग, सहरिया परिवेश, शिक्षित र बौद्धिक पात्रहरूको प्रयोग भएको यस उपन्यासकी प्रमुख पात्र मम्मी विद्रोही स्वभाव भएकी स्वाभिमानी नारी पात्र हुन् । परम्परागत मान्यता, पितृसतात्मक समाज र पुरुषवादी हैकमको उल्लङ्घन गरी स्वतन्त्रतापूर्वक जीवन बाँच्न सफल मम्मी को जीवनसङ्घर्षको कथा नै यस उपन्यासको मुख्य कथानक हो ।
महलभित्रको सुख, सयलमा रमाएर अस्तित्वहीन जीवन बाँच्नुभन्दा सङ्घर्षपूर्ण जीवन भोगेर आफ्नै पहिचानका साथ अस्तित्वपूर्ण जीवन बाँच्न चाहने र बाँचेर देखाउने यस उपन्यासकी मम्मी पुरुषद्वारा निर्मित सम्पूर्ण सामाजिक मूल्य मान्यता भत्काई नयाँ सत्यको स्थापना गर्न सफल नारी पात्र हुन् । संस्मरणात्मक शैलीमा लेखिएको प्रस्तुत उपन्यासको समाख्याता मम्मी कै कान्छी छोरी रिमी हुन् र उनले आफ्नी मम्मीको प्रवृत्ति, स्वभाव, विचार र सङ्घर्षलाई अभिव्यक्त गर्ने क्रममा नै उपन्यासको रचना भएको देखिन्छ । सोचाइ, व्यवहार, काम गर्ने पद्धति, अभिरुचि सबै बौद्धिक हुनाका साथै आधुनिक जीवनशैली अपनाउने मम्मीका जीवनमा घटेका घटना र उनले लिएको निम्नप्रकारका निर्णयहरूका आधारमा नै यस उपन्यासमा प्रयुक्त नारीवादी चेतना अभिव्यञ्जित हुनपुगेको देखिन्छ, जसलाई निम्नलिखित बुँदाहरुमा देखाउन सकिन्छ :
- लोग्ने घरकी नोकर्नी निर्जलातिर लहसिए पछि तीनवटी छोरी लिएर घरबाट निस्कनु,
- सुख, सम्पत्ति र वैभवलाई भन्दा आत्मस्वाभिमानलाई उच्च देख्ने मम्मी म कसैकी आश्रित हुन्न भन्दै माइतमा नबसी डेरामा बस्नु,
- आत्मनिर्भरताका लागि काम खोज्नु र नोकरी गर्न थाल्नु,
- मानसिक सुरक्षाका लागि किशोर भन्ने पात्र सँग प्रेम सम्बन्ध बढाउनु,
- किशोरलाई आफ्नै डेरामा ल्याएर राख्नु ,
- छोरीहरूलाई आत्मनिर्भर, सक्षम हुन र स्वतन्त्र जीवन बिताउन प्रेरित गर्नु र रिमीलाई डाक्टर बनाउनुु,
- किशोरको पुरुषवादी प्रवृत्ति र हैकम क्रमश बढ्दै जान थालेपछि उसलाई घरबाट निकालिदिनु,
- आफ्नै पसिनाको कमाइले सुन्दर घर किन्नु,
- कसैका अगाडि उदासी, खिन्नता, रोग, व्यथा नदेखाउनु र अन्त्यमा गलस्टोनको अप्रेशन गर्ने क्रममा मृत्यु हुनु आदि ।
उपन्यासका यी घटना शृङ्खलाले मम्मी पात्रको आत्मस्वभिमान, अस्तित्ववादी चिन्तन र परम्परित मूल्य मान्यताप्रतिको अनास्थालाई प्रकट गरेको छ । लोग्नेमा इमान्दारी र कर्तव्यबोध नभएपछि आलिसान महल, सुख, सम्पत्ति सबैलाई लत्याएर हिड्नु, डेरामा गई बस्नु, जागिर खानु अस्तित्वपूर्ण जीवनको खोजी हो भने, यौन आवश्यकता र मानसिक सुरक्षालाई पूरा गर्नका लागि किशोर नामको पात्रलाई आफ्नै घरमा ल्याएर राख्नु परम्परित सामाजिक मान्यताको उल्लङ्घन हो । प्रेमको नाममा पुरुषलाई ईश्वरको दर्जा दिएर पूजा गर्ने परिपाटीप्रति विरोध जनाइएको यस उपन्यासमा ऊ सधै मेरो वरिपरि होस् , मेरा सबै आवश्यकता पूर्ति गरिदेओस, मेरो सेक्युरिटी उसैले गरिदेओस् भन्ने भावना त दुश्चिन्ता हो भन्दै नारीले आपूmलाई नै सर्वोपरि ठान्नुपर्ने र कुनै पुरुषका आश्रय, सुरक्षामा बाँच्ने परम्परालाई त्याग्नुपर्ने भाव व्यक्त गरिएको छ ।
सभ्य, बौद्धिक र चेतनशील पात्रहरूको प्रयोग गरी लेखिएको प्रस्तुत उपन्यास नारी अस्तित्व, नारी अहम् र नारीवादी चेतना प्रस्तुत गरिएको उत्कृष्ट कृति हो ।
४. नेपाली साहित्यमा प्रेमा शाहको स्थान र योगदान
चार दशक अघि नै प्रकाशमा आइसकेका उनका दुई कथासङ्ग्रहमा समेटिएका कथाहरु नेपाली कथासाहित्यकै उत्कृष्ट नमुना हुन् । विषयगत, शैलीगत र प्रस्तुतिगत दृष्टिले यति सशक्त र बोल्ड कथाहरू लेख्ने कथाकारका बारेमा कहीँ कतैबाट कुनै मूल्याङ्कन र चर्चा नहुनु नेपाली साहित्यकै एउटा आश्चर्यलाग्दो पाटो हो । नारी साहित्यकारहरूको त कुरै छाडाँै समकालीन कुनै पनि पुरुष कथाकारहरूका तुलनामा कमजोर नदेखिने, सशक्त कथा लेख्ने यी साहित्यकारले आखिर नेपाली साहित्यबाट के पाइन् अर्थात् उनलाई नेपाली साहित्यले कस्तो मूल्याङ्कन ग¥यो ? भन्ने कुरा त इतिहासले नै बताउला तर चालीस वर्षपछि पनि उत्तिकै नवीन चेत, युगवोध र दार्शनिक दृष्टिकोणका गहिराइ पाइने यी कथाहरूको समग्र मूल्याङ्कन नहुनु एउटा साहित्यकारका लागि विडम्वना नै हो । यसो भनेर नेपाली साहित्यका क्षेत्रमा उनको कत्ति पनि चर्चा भएकै छैन भन्न खोजिएको होइन । साहित्यिक विषय अन्तर्गत उनका कथाहरू पाठ्यक्रममा परेका छन् र उनलाई मनोविश्लेषणात्मक धाराका प्रतिनिधि कथाकारका रूपमा परिचय दिइएको छ तर पनि उनको योगदानका आधारमा हेर्दा यो पर्याप्त देखिँदैन ।
आजसम्म पनि उनको समग्र साहित्यिक कृतिहरूको गहन अध्ययन र विश्लेषण गरी कृतिका दार्शनिक पक्ष, यथार्थपक्ष तथा अन्य छोपिएका र प्रकाशमा नआएका विविध पक्षहरूलाई उजागर गर्दै लेखिएको देखिदैन । यसो हुनुमा उनको कथा लेखनबाट पलायन हुनु पनि एउटा कारण हुन सक्छ । गुणात्मक मूल्य बढी भए पनि पाठकहरूले उनका कथा निरन्तर रूपमा आस्वादन गर्न नपाउनु र सामान्य पाठकका लागि उनका रचनाहरू असम्प्रेषणीय हुनु पनि अर्को कारण हुन सक्छ तर नेपाली साहित्यमा कम लेखेर धेरै चर्चा पाएका अन्य साहित्यकारहरूका तुलनामा प्रेमा शाह छायामा भने परेकै देखिन्छ ।
५. समापन
नेपाली साहित्यमा परम्परित लेखनका मान्यताहरुबाट माथि उठेर नवीन सोच र चेतनाबाट प्रेरित भई सशक्त कलम चलाउने प्रेमा शाह पारिजात पछिको प्रतिभाशाली र विशिष्ट नारी स्रष्टा हुन् । समकालीन कथाकारहरूका भीडबाट अलग्गिएर आफ्नो छुट्टै पहिचान र परिचय बनाएकी प्रेमा शाहका कथाहरू आज चालीस वर्षपछि पनि उत्तिकै नवीन र सशक्त देखिन्छन् । पाश्चात्य साहित्य र हिन्दी साहित्यबाट प्रभावित यिनका कथाहरूको परिवेश राष्ट्रिय तथा अन्तराष्ट्रिय भूगोलसम्म पैmलिएको देखिन्छ । अभिजात वर्गको जीवन शैलीको प्रस्तुति पाइने यिनका सिर्जनामा नेपाली समाजको ग्रामीण परिवेश, निम्नमध्यम वर्गीय पात्रहरूको प्रयोग तथा विपन्नता र आर्थिक दूरावस्था भोग्न विवश पात्रहरूको प्रयोग भने प्रायः भएको पाइदैन । साहित्य राष्ट्रकै निधि हो । साहित्यबिनाको सभ्य र आधुनिक समाजको कल्पना गर्नै सकिँदैन । यस्तो साहित्य सिर्जना गर्ने साहित्यकारहरूले दिएका योगदानको कदर नहुनु भनेको लाचारी हो । प्रेमा शाह जस्तो गहन र बौद्धिक कृति दिएर ओजपूर्ण उपस्थिति देखाउने साहित्यकार नेपाली साहित्यको इतिहासमा धुमिल बन्दै जानु भनेको सम्पूर्ण नेपाली साहित्यकारहरूकै अस्तित्वमाथि उठेको गम्भीर प्रश्न हो ।
पाश्चात्य वादहरूको प्रभाव नेपाली साहित्यमा तिव्रत्तर हुँदै गइरहेको समयमा आफ्ना सशक्त कथाहरूका साथ देखा परेकी प्रेमा शाह परिमाणात्मक रूपमा थोरै लेख्ने तर बौद्धिक र सशक्त सिर्जना लेख्ने साहित्यकार हुन् । नारी स्रष्टाहरूको न्यून उपस्थिति देखिएको तत्कालीन परिवेशमा पनि अन्य साहित्यकारहरूका लेखनशैली, विषय प्रस्तुति र दृष्टिकोण भन्दा पृथक रहेर साहित्य सिर्जना गर्ने उनी साहित्यका अन्य गतिविधिबाट भने टाढै रहेको देखिन्छ । मुख्य रूपमा वैयक्तिक समस्याहरूको अभिव्यञ्जना र आंशिक रूपमा सामाजिक समस्याको चित्रण पाइने उनका रचनाहरूमा दमित कुण्ठाका उदात्तीकरण र मान्छेका आन्तरिक तथा बाह्य चरित्रको उद्घाटन नै मुख्य अभीष्ट बनेर आएका देखिन्छन् । उनका रचनाहरूमा नारीपरक विषयवस्तु र नारी मनोविज्ञानको प्रस्तुति प्रभावकारी रूपमा प्रस्तुत भएका छन् ।
प्रमुख सन्दर्भ सूचीे
अधिकारी ज्ञानु ; प्रायोगिक समालोचना ः केही प्रतिरुप, काठमाडौँ ः भुँडीपुराण प्रकाशन, २०६७ ।
……………….., साइबर सिद्धान्त, प्रयोग र अन्य समालोचना, ललितपुर ः साझा प्रकाशन, २०७४ ,
गौतम लक्ष्मणप्रसाद, र अधिकारी ज्ञानु, नेपाली कथाको इतिहास, काठमाडौँ ः नेपाल प्रज्ञाप्रतिष्ठान, २०६९ ।
जोशी, कुमारबहादुर, पाश्चात्य साहित्यका प्रमुख वाद, ललितपुर ः साझा प्रकाशन, २०५४ ।
ढकाल, रजनी, त्रिपाठी गीता र अधिकारी ज्ञानु, विश्व नारी नेपाली साहित्य ः परम्परा र प्रवृत्ति, काठमाडौँ ः त्रिमूर्ति निकेतन, २०७१ ।
प्रेरणा, गिरी, गोविन्द, प्रेमा शाहसँगको अन्तर्वार्ता, गरिमा (नारी ः अस्तित्व र अस्मिता विशेषाङ्क) पूर्णाङ्क ३५६, पृ. २३ – ३० ।
शाह, प्रेमा, पहेँलो गुलाफ, काठमाडौँ ः रत्नपुस्तक भण्डार, २०६८ ।
शर्मा मोहनराज र लुइटेल खगेन्द्रप्रसाद, पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौँ ः विद्यार्थी
पुस्तक भण्डार, २०६३ ।
————————————-
प्रेमा साहका बारेमा काशिनाथ तमोटको Web Site बाट
प्रेमा शाहको साहित्यसम्बन्धी धारणा
प्रेमा शाहको आत्मजीवनी
बी.एच.यु.बाट पठाएका प्रेमा शाहका पत्रहरु
प्रेमा शाहको पहिलो विवाह प्रसंग