समीक्षा : आधुनिक नेपाली कविता र कवि : एक चर्चा

~शरद प्रधान~

आधुनिक नेपाली कवितालाई सर्वेक्षण गर्दा यसको इतिहास विस्तृत पाउँदैनौं । तर यस लेखको उद्देश्य आधुनिक नेपाली काव्यको इतिहासलाई केलाउनु होइन आधुनिक नेपाली कवि र उनीहरुको काव्य प्रवृतिलाई चर्चा गर्नु हो । चर्चा गर्नु पूर्व म आधुनिकताको परिचय दिन चाहन्छु । आधुनिकता व्यापक अर्थमा आर्थिक, सामाजिक राजनैतिक र नैतिक स्थितिमा परिवर्तन आउनु हो। तर आधुनिक कविताको अर्थ हुन्छ परम्परागत रुढी र संस्कारहरूलाई तिलाञ्जलि दिएर नयाँ मूल्यहरूको स्थापना गर्नु हो । स्वचेतनता. बौद्धिकता, वैज्ञानिकता, धर्मनिरपेक्षता अनिभाषिक सृजनात्मकतामा विशेषता दिनु आधुनिक कविताको मूल तत्व हो, जसको प्रभावले अमूर्तता र परिमित कथनको विकाश हुन्छ । बद्लँदो परिवेशका जटिल अनुभूतिहरू, नयाँ यांत्रिक सभ्यताको संग्राममा विच्छिन्न भएका सामाजिक, आर्थिक र राजनैतिक मूल्यहरूको विरुद्ध ठोस अभिव्यत्ति, दिनु आधुनिक कविताको प्राप्ति हो ।

श्री मोहन कोइराला आधुनिक नेपाली काव्याकाशमा ध्रुबताराकोरुपमा अवस्थित छ । उनको प्रवेशपछि नेपाली कविताले आधुनिकताको मोड़ ग्रहण गर्यो । मोहन कोइरालाको कवितामा वैयक्तिक र अपरिशोषित अभिव्यक्तिको बोध हुन्छ । आधुनिक समाजले प्रदान गरेको सुविधा र ध्वसांत्मक क्रियाकलापप्रति विरक्तताको भाव प्रकट गर्छन् “घाइते युग” भन्ने कवितामा मोहन कोइरालाले । उनको कतिपय कविताहरू इलियटका प्रवृत्तिका छन् किनकि आधुनिक कविताको मूल स्रोत युरोपेली बाद, दर्शन र सिदान्त हो । सानो पसलमा एक कप चिया पिएर हिंड्न पर्नेजिन्दगीलाई प्रतीकात्मक अर्थ दिन खोज्छ कवि जगदीश शमशेर राणा । उनको कवितामा पौराणिक मिथक, बिम्ब र प्रतीकको प्रशस्त प्रयोग भएका छन्। आफ्ने समस्याले जन्माएका प्रतीकलाई उनले कवितामा कलात्मक ढंगले कवितामा छन् । नेपालीका सचेत कवि भूपि शेरचनका कविताले विभिन्न वर्गका जनजीवनको समस्या र मर्काहरू बोकेका हुन्छ । भूपिका कविताले राष्ट्रिय अन्तराष्ट्रिय समस्यालाई चिन्तन गरेका छन् जसले आधुनिकको परिवेशलाई । समाजको आर्थिक विषमता, राजनैतिक युगको अस्थिरता, र वर्तमान युगका संत्रासलाई सशक्त, प्रतीक र विम्बद्वारा अभिव्यक्त गरेका छन् । अस्वभाविक समसामायिक जीवनको विरुद्ध कवि भूपिले उपहासजनक व्यंग र भावी विद्रोहात्मक परिवर्तनको प्रतिच्छाया प्रतिविम्वित हुन्छ ।

आधुनिक नेपाली कविताको मूल स्वर निस्सारता हो । जीवन भोग्नुको निस्सारता, भौतिक अप्राप्ति र सिमीत अस्तित्वको विरुद्ध सुश्री पारिजातले आफ्नो भावना व्यक्त गर्छन् । आफ्नो दयनीय स्थितिमा भोगेका अनुभूति र संवेदनालाई कवितामा समावेश गरेकी छन् । पारिजातले शुन्यवादलाई बिम्बद्वारा मिठो भाषा शैलीमा प्रस्तुत गरेकी छन्। कृष्णभक्त श्रेष्ठको कवितामा जीवनको संकिर्णतालाई सफलतापूर्वक शब्द चित्रमा रेखाकंन गरेका छन् । मोहन हिमाशु थापाले अपरम्परागत प्रतीक र बिम्बले आफ्नो कवितालाई केही हदसम्म सुन्दर र प्रखर बनाएका छन् ।प्रखर विचारलाई अनुभूतिको स्तरसम्म पुराउन सक्ने प्रबल क्षमता आधुनिक कविताले विकासित गरेका छन् । तुलसी “दिवस” आधुनिक नेपाली कविताका सशक्त कविको रुपमा परिचित छन् । उनको कवितामा विद्रोहात्मक भावनाको फाँट पाउँछौं । “दिवस” ज्यूको कवितामा मार्मिकता र उच्चकोटीको विचार व्यक्त गरेका छन् । उनले गुनासो प्रकट गर्छन् हाम्रो युद्ध सिमाना र विदेशमा होइन तर आफ्नै मुलुकको पछौटेपनसित गर्न पर्छ । उनले आफ्नो देशको पछौटेपन, अशिक्षितजन, मानसिक असंतुलनता देखेर कराउँछन् , “एउटा युद्ध”–अशिक्षा र अज्ञानको विरुद्ध ।

एउटा युद्ध-अकर्मण्यता र आलस्यको विरुद्ध

एउटा युद्ध– अभाव र वेरोजगारीको विरुद्ध

एउटा युद्ध-अशान्ति र असंतुलनको विरुद्ध

कवि अगमसिंह गिरी दार्जिलिङ्गे आधुनिक नेपाली कविताका उपज

उनको कविताले नेपालीको मार्मिक कथा र व्यथापूर्ण माया बोकेका हुन्छ । उनको कविताले प्रत्येक प्रवासी नेपालीको हृदय द्रवीभूत पारेका छन् । एउटा सचेत कविको रुपमा गिरीले राष्ट्रिय र अन्तराष्ट्रिय संवेदना लाई अभिव्यक्ति दिएका छन् । दिन-प्रतिदिनको जिन्दगी र समस्यासँग कवि विरेन्द्रका कविता टाँसिएका हुन्छ । । सावित्री सुन्दास, जगत राई,विक्रम रुपासा, रामकृष्ण शर्मा, तुलसी अपतन आदिले दार्जीलिङ आधुनिकनेपाली कवितामा धेरै नै योगदान दिएका छन्। आधुनिक कवितामा कविहरूले प्रतीक अत्योक्ति, चमक र व्यंग शैली आत्मसात् गरि आफ्नो विद्रोह, व्यथा आक्रोशहरू इतिहास मिथकहरूको दृष्टान्त प्रस्तुत गरेर आफ्नो भावना व्यक्त गर्छन् । तेस्रो आयामेली आन्दोलनका कवि वैरागी काईला र ईश्वर बल्लभ जीवनलाई आफ्नै आयाम र विन्दुबाट हेर्न खोज्दा कवि वैरागी काईलाले वर्तमान जीवनको कुण्ठाग्रस्त स्थितिलाई खुबकलाकारितासाथ विद्रोहात्मक शैलीमा प्रस्तुत गरेका छन । जीवनमा संघर्षरत हुनुपर्ने वाध्यता र जिन्दगीबाट पलायन हुनुबाट निवृतिको आह्वान गर्छन बैरागी काइँला जसले उपयुक्त वाध्यतालाई बौद्धिकतापूर्ण अभिव्यक्ति दिएका छन् । काईंलाको कवितामा असाधारण कल्पना, भावना, जिन्दगीलाई सुक्ष्मनिरक्षण र युगचेतना पाउँछौं । तेस्रो आयामबाट मान्छेको जटिल अस्तित्वलाई अन्वेषण गर्छन अनि आधुनिक जीवनको बहिष्कार,पलायन र त्यागप्रति विद्रोह आवाज उठाएका छन । ईश्वर वल्लभ अर्को आयामेली आन्दोलनका कर्णाधार कवि हुन् । वल्लभका कवितामा कल्पना र भावनाको उड़ानभन्दा अनुभूतिको प्रखरता आभाशित हुन्छ । आफूले भोगेका व्यथा र वेदनालाई कविले खरोरुपमा व्यक्त गरेका छन्। देशको सकीर्णता र मान्छेको जीवनको साँघुरोपनलाई कवि वल्लभ व्यापक विस्तृत पार्ने आग्रहगर्छन् । उनको कवितामा ग्रीसेली प्रतीक र बिम्बहरूको यथेष्ट प्रयोग भएका छन् । मूलतः आफूले भोगेका अनुभूति र अरुले भोगेको सादृश

अनुभूतिलाई आफ्नो कवितामा व्यक्त गर्छन । कवि वल्लभ भन्छन्-

कि पानी नपाएका तिर्खाले ग्रस्त पातहरू

कि वर्खा नपाएका शुष्कताले ग्रस्त अवयवहरू

कि हिउँले खाएका कठाँग्रले ग्रस्त हाँगाहरू ।

वास्तवमा हामी अभावको तिर्खाले सुकिसकेका छौं, प्रत्येक याममाशुष्कताले मरिरहेका छौं, अनि प्रत्येक ठिहिमा हामीकठांग्रिएका छौं । सँधै अस्तव्यस्त हुन्छौं तर कुनै अभिप्रायबिना, कुनै कार्य गर्न असमर्थ छौ ।

आधुनिकताले समाजमा सुधारात्मक प्रवृति बोकेर ल्याएका छन् ।प्रत्येक रुढी र अवैज्ञानिक विचारहरू त्याग्न आधुनिकताले आह्वान गर्छन । नौलो आवश्यकतालाई अनुकूल परिवेशमा गुणात्मक परिवर्तनको आग्रह गर्नु आधुनिक कविताको विशिष्ट उपलब्धी हो । कवि पुष्कर लोहनीको कविता विशेष यौनवृतिलाई आधार मानेर लेखेका छन् । मान्छेको कुन्ठित मनोदशा, संयमित यौनभावना र निराश कवितामा व्यक्त हुन्छ । नवीन विम्ब र प्रतीकको सफलतापूर्वक प्रयोग मदन रेग्मीको कवितामा भएका छन् । जिन्दगी भोग्नुको असजिलोपन र असत्यतालाई कलात्मक ढंगमा अभिव्यक्ति दिएका छन् । राजनैतिक अस्थिरता, आर्थिकविषमता, सामाजिक प्रतिबद्धताबाट सृजित राष्ट्रिय र अन्तराष्ट्रियसमस्यालाई कवि वाशु शशीले चित्रात्मक रूपमा अभिव्यक्ति दिएका छन् । आधुनिक नेपाली कविताले मानिसप्रति अनास्था र मानवीय मूल्य विघटनप्रति विद्रोह र आक्रोश व्यक्त गरेका छन। उपेन्द्र श्रेष्ठको कवितामा बिशौं शताब्दीको संत्रास, असंगति र वर्तमान युगको समस्या प्रस्टरूपमा परिदर्शित छन् । उनको कवितामा चित्रात्मक विम्बसंयोजना, मूल्य परि वर्तनप्रति विद्रोह, बौद्धिकता र बाह्यजगतको अभिव्यक्ति सुन्दर शैलीमा प्रस्तुत गरेका छन् । बानीरा गिरीका कवितामा समसामायिक युगको चित्र रेखांकन भएका छन्। इतिहास र संस्कृतिलाई प्रतीकात्मक रूपमाकविताभित्र सन्निवेश गरेकी छन् । उनले कवितामा अतीतको मिठो संझना र वर्तमानको तितो अनुभव व्यक्त गरेकी छन् । उनका “काठमांडौ” शीर्षक कविता अति तालमय र रोचक छन्। “काठमाडौको प्राकृतिक सौन्दर्यता र राजधानीको रूपमा मात्र विशेषता नदिएर कवियित्रीले त्यसको सम्पूर्ण पक्षलाई प्रस्तुत गरेकी छन्। कवियित्री गिरी लेख्छिन् :

“नेताहरूका भीषण भाषणका मंगलाचरण

जनताका अभाव र दरिद्रताका सामूहिक गान

तलब–वृद्धिको संयोग

महंगी-वृद्धिको वियोग

मट्टितेल र चिनी हराउनु पाउनुको अनवरत संघर्ष के छैन यसमा ?”

यो लेख सन्त जोसेफ कलेज, दार्जिलिङको मुखपत्र नर्थ पोइन्टरपत्रिकाको सन् १९८३-८४ अंकमा छापिएको थियो । म त्यस बखत बाह्रौं श्रेणीको विद्यार्थी थिए । विगत ३८ वर्षमा नेपाली साहित्यमा धेरै परिवर्तन आइसके र यस लेखमा उल्लेख गरिएका धेरै कविहरु दिंवगत भइसके पनि । यसर्थ यो लेखलाई तत्कालिन लेखनको रुपमा नै लिइदिनु हुन अनुरोध गर्दछु ।- लेखक

(स्रोत : शब्दसोपान डट कम)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.