छन्द कविता : साहित्य सुधा

~धरणीधर कोइराला~

छन्द : तोटक

अति सुन्दर मानव जीवन यो
अझ सुन्दर पार्नु कसो गरि हो?
गरि काव्य सुधा-रस-पान अरे
गर मानव जीवन सार्थक रे

न त झाँक्री न वैद्य न ज्योतिषीले
उपचार गरिकन शान्ति दिने
मन रोग निरोग गराईदिने
बुझ काव्य-सुधा-रस औषधी हो

सब कल्मष राशि सुकाउछ यो
मन-मोद विनोद भराउछ यो
दुःख दुरदुर पारि हटाउँछ यो
मन फुर्फुर पारि नचाउँछ यो

झगरा तकरार छिनाउँछ यो
सब नीच र ऊँच झुलाउँछ यो
अत्ति उत्तम ज्ञान दिलाउछ यो
मणि तुल्य छ यो नलिने पशु हो

मह झैं छ मिठो बह पार्छ पिठो
बहलाउछ यो मन लाई छिटो
पढी भै सबै अब काव्य मिठो
मन माझि गरौँ निज बुद्धि ढीटो

पढ पूर्व र पश्चिम उत्तर का
अरु दक्षिणका कविका कविता
कविका कृति वा कविता सरिता
बिच हेलिनु पर्छ है अब ता

नहि त यस मानव-जीवनको
गति व्यर्थ छ यो अकृतार्थ भयो
यस हेतु यहा बिनती यहि हो
पिव काव्य-सुधा-मधु मानव हो

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

1 Response to छन्द कविता : साहित्य सुधा

  1. Pingback: धरणीधर कोइराला : नेपाल-भारतको साहित्यिक सेतु - Shabda Sopan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.