~दीपक जडित~
जस्तो कि मैले फेसबुकमा भर्खरै हल्ला गरेको छु – २०२७ सालमा पहिलो पल्ट साझा प्रकाशनबाट प्रकाशित भीमनिधि तिवारीको ‘इन्साफ’ उपन्यास पढें । यो हल्ला तर अहिले पुन: किताब पढेको भएर मात्र भने गरेको थिइनँ । यसअघि पनि केही नजिकका साथीहरूसँग यस उपन्यासबारे खोजिनिती गरेको थिएँ । त्यसबेला दु:ख लागेको थियो कि जतिजनासँग यस उपन्यासको कुरा गरें वहाँ/उनीहरू कसैलाई पनि यसको बारेमा थाहा थिएन । परन्तु त्यो दु:ख मात्र यसकारणले थियो कि मैले सानैमा पढेको, त्यती राम्रो उपन्यासको बारेमा कसैलाई थाहा रहेनछ । त्यसभन्दा बढ्ता, मेरा साथीहरू साहित्य पढ्दैन रहेछन् वा नेपाली साहित्यमा राम्रा किताबहरूको चर्चा हुँदैन रहेछ भन्ने त कुनै आश्चर्य नै होइन । किनभने हाम्रोमा बल्ल बल्लमात्र किताबहरूको आवश्यक चर्चा हुन थालेको अवस्था छ- एउटा कुरा । र अर्को कुरा – मैले संयोगवस पढेको किताब अरूले नपढेको हुन सकिहाल्छ । जस्तो कि कति कति अरूले पढेका असंख्य किताबहरू मैले नपढेको हुँला !
नेपाली साहित्य पनि अब कहाँ सानो तलैया मात्र रह्यो र? यो त फैलँदो छ- सागर र अझ महासागर बन्दै ।
फेसबुकमा उपन्यासहरूकै विषयमा मन्थन गर्ने/गरिने मन्च ‘उपन्यास कुनो’मा चर्चा भैरहेका उपन्यासहरूको कुरा गर्दैगर्दा एकदिन इन्साफको कुरा उठ्यो । उठ्यो के भन्ने; मैले उठाएँ – सानैमा पढेको, अत्यन्तै राम्रो भनेर । कुरामा सहभागी साथी ऋचा हुनुहुन्थ्यो । नेपाली, हिन्दी र अँग्रेजीका साहित्य, साहित्यकार र कृतिहरूका बारे थोर बहुत(थोर बहुत यहाँ मैले भन्ने कुरा हो अन्तरबाट मेरो भन्दा बहुत भनेर स्विकार्ने कुरा छँदैछ ।) जानकारी राख्नुहुने वहाँलाई पनि भीमनिधि तिवारीको उपन्यास इन्साफ बारे थाहा रहेनछ । त्यसो त वहाँसँग इन्साफको कुरा गर्दा म आफैंलाई पनि उपन्यासको नाम इन्साफ नै हो र लेखक भीमनिधि तिवारी नै हुन् भन्ने कुरामा धरमर थियो । एउटा हुन्छ नि, कुनै कुरा यही हो भनेर आफूभित्र विश्वास हुँदा पनि त्यो विश्वासले भर नदिएको अवस्था- ठ्याक्क त्यस्तै । त्यसैबेला मैले यो कुरामा प्रष्ट हुनको लागि दाजुलाई समेत सोधेको थिएँ र दाजुबाट पक्का गरेको थिएँ – भीमनिधिकै हो र इन्साफ नै हो भनेर ।
त्यसदिन इन्साफको कुरा हुँदा ऋचाले म पत्ता लगाउँछु भन्नुभएको थियो । त्यती सुन्दै हर्ष लागेको थियो मलाई । बजारमा पाइन्छ भनेर पत्ता लाग्यो भने कुनै हालतमा मगाएर फेरि पढ्छु भन्ने थियो । त्यो हर्ष त्यसबेला दोब्बर भयो जब वहाँले बागबजारको हिमालय बुक सेन्टरमा पाइने कुरा बताउनु भयो अनि त्यसबेला चौबर भयो जब मेरो लागि पनि त्यहाँ इन्साफ खरिद भयो ।
यत्तिका यत्नले पत्ता लागेको इन्साफ जब मेरो हातमा आयो त्यसबखत मेरो हर्षको वृद्धी अरू कति गुणाले भयो त्यो नभने पनि पुष्टी होला । साथमा आएका अरू नयाँ/पुराना झण्डै तीन दर्जन किताबहरू छोडेर म इन्साफ नै पढिहाल्न चाहन्थें । तर त्यसबेला वीएस नयपालको हिन्दीमा भएको ‘हाफ ए लाइफ’ भन्ने किताब, उपन्यास नै हो सायद, पढिरहेको थिएँ । हाफ ए लाइफ, नयपालको आत्म-कथात्मक लाग्ने किताब पढिरहँदा म यो सोचिरहेथें कि नेपालीमा किन किताबहरू यसरी लेखिंदैनन्? अक्सर नेपाली किताबहरू पढ्दा मलाई लामो दुरीमा चल्ने सवारीमा यात्रा गरे झैं लाग्छ । चानचुने स्थानहरूमा नरोकिइ द्रुत गतिमा गन्तब्यतिर अर्थात् समाप्तितिर दगुरे जस्तो ।
नयपालको किताब मलाई हरेक घट्नाक्रमहरू र परिवेशहरूको सुक्ष्मातिसुक्ष्म वर्णन गर्दै, हरेक मोड र परिस्थितीहरूको सजीब चित्र आँखामा उमार्दै अघि बढाउँदो थियो त्यसैले म त्यसलाई नसकी इन्साफ पल्टाईहाल्न पनि चाहन्नथें । अर्कोतर्फ एउटा डर जस्तो पनि बनेको थियो मनमा कि सानोमा इन्साफ पढ्दा जुन रोचकताका साथ, जति तन्मयताले पढेको थिएँ; के त्यही रोचकता र तन्मयता अहिले फेरि पढदा कायम रहला? आँखीर पठनमा पनि उपयोगिताको ह्रास नियम त लागु हुन्छ नै । भएन उमेरले पनि जिन्दगीमा ग्रहण गरिने मजाहरूमा फरक पारेर ल्याउँछ ।
सानोमा इन्साफ पढेको बेला म निश्चय पनि अहिले जत्तिको साहित्यमा प्रयुक्त विम्बहरू, कलात्मकता, साहित्यिकता, भाषिक सौंदर्य आदिको रस लिँदै पढ्न सक्ने थिइनँ । तर त्यस बखत पढ्दाको चित्र मेरो मगजमा यस्तरी टाँसिएको थियो कि यस पटक पढ्दा पनि उपन्यासका पात्र, स्थान र घट्नाहरू त्यसैगरि उपस्थित भए जसरी मेरो सानो मगजमा गढिएका थिए । अझ यसो भनौं सानोमा भेटेका सबै पात्रहरूलाई दुरुस्तै अहिले फेरि भेटें ।
बाहिरी खोल फाटेको, मोटो न मोटो(त्यो बेला खुपै मोटो लागेको थियो ।) र अलि अलि धमिराले खान पनि भ्याएको इन्साफ पढ्दा म छ/सात कक्षातिर पढ्थें र उमेरमा तेह्र चौधको थिएँ । यो समय अनुमान गर्नलाई पनि मसँग सानो कथा छ मस्तिष्कको कुनै तन्तुमा गाढिएर रहेको ।
‘नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फूल नानी हो
दया र धर्म भाग्दछ ।’
कक्षा सातमा, नेपाली विषयको परिक्षामा महाकवि देवकोटाको कोपिला कविता(पाठ)बाट प्रश्न आएको थियो र मैले कत्ति न धेरै कुरा बुझेको छु भने झैं पारेर इन्साफ उपन्यासमै पढेको ‘दैवी प्रवृति’ र ‘आसुरी प्रवृति’ भन्ने दुईवटै शब्दहरू राखेर उत्तर लेखेको थिएँ । छ कक्षामा हुँदै पढेको थिएँ होला भन्ने चैं यसकारण लाग्छ कि कक्षा पाँचसम्म पढाईमा धेरै तगडा भनेर चिनिएको म कक्षा छमा भुसुक्कै भएर भुर्लुक्कै गुल्टेको थिएँ । गुल्टिनुका अरू पनि अनेक कारणहरू छँदैथिए यद्यपि स्कुलका किताब नपढी नपढी भेटेजति उपन्यासहरू पढ्नु पनि एक थियो । हुन पनि त्यैबेला अनेकओली उपन्यासहरू फेला पर्थे र फेला परेसम्म पढेरै छोड्थें म । हिन्दीका व्यावसायिक भुक्के उपन्याससम्म पढ्ने लत बसेको थियो । वसन्त, युधिर थापा, प्रकाश कोविदहरूको उपन्यासहरू पनि खुब रसले पढिन्थे त्यो बेला । अहिले रंग खुट्याइ खुट्याइकन नाम किन लेख्नु पर्यो र!, कोविदका हीट उपन्यास कस्लाई थाहा छैन र?
जे होस्, स्कुलका किताबहरू छोडि छोडि उपन्यास पढ्दा पनि कस्ता खाले उपन्यास पढे जीवनमा काम लाग्छ भनेर मलाई सिकाउने मध्येको एउटा उपन्यास हो इन्साफ ।
यसपटक पढ्दा इन्साफमा सायद मैले आफूलाई लेखकको भूमिकामा खोजेँ, लेखक सुत्रधारका रुपमा प्रष्ट भेटिन्छन् उपन्यासमा । तर सानोमा पढ्दा भने मैले आफूलाई उपन्यास भित्रकै एउटा पात्र ‘आइते’को भूमिकामा उभ्याएको थिएँ । इन्साफ पढ्दा त्यसबेला म तेह्र,चौध वर्ष उमेरको हुनु र उपन्यासको आइते पात्र पनि त्यस्तै उमेरको हुनु प्रमुख कारण हुनुपर्छ त्यसबेला मैले आफूलाई आइते पात्रमा खोज्नुका पछाडी । त्यस बाहेक उपन्यासमा आइते भैंसी चराउँछ, खोलामा भैंसी आहाल बसाएर लुँडोले मिचि मिचि भैंसीलाई नुहाइदिन्छ, साँझ साँझ भैसीको दुध बेच्न लैजान्छ, बाग्मतीमा माछा मार्दै हिंड्छ र बगरमा माछा पोलेर खान्छ, बाग्मतीमा पौडी खेल्दै हिँड्छ । आइतेले गर्ने यस्तै यस्तै यावत कृयाकलापलाई सायद म आफूसँग दाँज्थें त्यो बेला र पढ्नुको आनन्द उठाउँथें । आइते बाहेक अर्को एकजना प्रमुख पात्र छन् इन्साफमा – शैलराज । उपन्यासमा जुवाडे भनेर कुख्यात पात्र शैलराजलाई दाँज्न पनि मसँग एक जिवित पात्र थिए सानोमा । अझै पनि छन् त्यसो त, त्यसैले उनको नाम उल्लेख गर्न आवश्यक ठानिनँ तर दुरुस्त शैलराज झैं अग्ला अग्ला, दुब्ला दुब्ला र श्रीसम्पती सकेर हरितन्नम् हुँदै गएका थिए ती पात्र । फरक कति थियो भने इन्साफका पात्र शैलराजको एउटै कमजोरी बाह्रमासे(जुवा) थियो भने शैलराजसँग मैले दाँजेका पात्र भने बाह्र मात्र होइन सत्रमासे नै थिए अर्थात् सत्रै अवगुणका थिए उनी । इन्साफका पात्रहरूमा आइते र शैलराज बाहेक मैले सानैमा पढेदेखि कहिल्यै नविर्षिएका अरू पात्रहरू बिरे खत्री, सेती, महन्तकाजी, नर्मदा, मैयाँनानी, हाकिम सानुमान, हाफिज अली र बुधे थिए । यी बाहेकका बाँकी पात्रहरू चैं मेरो विस्मृतिको गर्भमा छिपेर बसेका रहेछन् । यसपाली पढ्दा फुत्त फुत्त त्यसैगरी उफ्रिएर मेरो स्मृतिमा आए जसरी भल बाढीमा सानोतिनो छाँगो पर्दा आत्तिएका माछाहरू उफ्रिएर पाखा पाखा पुग्छन् ।
इन्साफको प्रस्तावनामा तिवारीले अनेक पटक उपन्यास लेख्न आएको अनुरोध र दवावलाई पन्साईरहे पनि पछि एकाएक भूकम्प भएको जस्तो गरेर उपन्यास लेख्ने उत्कट प्रेरणा आयो भन्दै अब म उपन्यास लेख्छु भनेर वैसाख २९, २०१६ को मिति उल्लेख गरेका छन् । यस अनुशार भन्न सकिन्छ उनले २०१६ सालमा यो उपन्यास लेखेका थिए । उपन्यासले पनि २००७ सालको परिवर्तन पछिको र २०१७ सालमा भएको परिवर्तन भन्दा अघिको समय इङ्गित गरेको छ । काठमाण्डौ र यस वरपरको परिवेशमा लेखिएको इन्साफमा तिवारीले त्यो समयको समाजमा उच्व अभिजात वर्गमा गनिने परिवार, मध्ययम वर्गको परिवार, निम्न वर्गको परिवार र परिवार नै नभएर वेवारिस बाँच्ने पात्रहरूलाई समेत उभ्याएका छन् । साथै अन्य धेरै पात्रहरूलाई उपर्युक्त वर्गहरूका माझ माझमा घुसासेर हेर्न सकिने हिसाबले पनि राखेका छन् । ३३ वटा खण्डहरू रहेको यस उपन्यासमा हरेक खण्डहरूको उठान साह्रै चित्ताकर्षक ढँगले गरेका छन् उनले । हरेक पात्रहरूको सुखको क्षण होस् या दु:खको घडी उनले पाठकहरू मुसुमुसु हाँस्दै पढ्न सक्ने गरेर प्रस्तुत गरेका छन् । पुरै उपन्यास राजनैतिक व्यङ्ग्यको पुट र हाँस्य रसले भरेका छन् भन्दा धेरै हुँदैन ।
बिरे खत्रीको परिवारबाट उपन्यासको कथा उठान् हुन्छ । शुरु यस्तरी गरेका छन् उनले –
कति टाढा?
काठ्माण्डौ या हनुमान ढोकाबाट नधापिईकन सुस्तरी हिँड्यो भने पनि करिब एक घण्टामा पुगिन्थ्यो । त्यहीँ उनिहरूको घर थियो- घर त भन्नुपर्यो नि । ठूलाठूला, सेतासेता विशालकायलाई मात्र घर भन्ने र काँचोइँटे, पराले छानोलाई नभन्ने हो भने कोदोलाई पनि अन्न भन्नु भएन, केवल मसिनुका लामालामा दाना भएका चामलाई मात्र । यस्तो फैसलाले के कोदोमाथि इन्साफ होला त?………
उनी पाठकलाई यसरी बिरे खत्रीको घर पुर्याउँछन् । बिरे, उसको छोरो आइते र आइतेकी सौतेनी आमा सेती हुन्छन् परिवारमा । सानो पराले झुपडीमा बस्ने, निम्न बर्गको, सानो खेतीपाती भएको बिरे खत्रीको सामु परिवारको प्राण कसरी बचाउने भन्ने समस्या हुन्छ । सुख्खाले हुनुपर्ने जति अन्नबाली पनि भित्रिएको हुँदैन घरमा । यही चिन्तामा ऊ भैंसी पाल्ने निचोडमा पुग्छ तर भैसी किनेर ल्याउँन पनि दाम पैसाको समस्या हुन्छ उसलाई । तीनसय रुपैयाँ साहु काढेर बिरे दुहुनो भैंसी जोड्छ । साहु हुन्छ उही जुवाडे, मध्ययम बर्गको शैलराज, बिरेको घरबारी बन्धकमा तमसुक बनाएर भैंसी किन्न तीनसय दिने शैलराजलाई बिरेले तीनसय साँवा बुझाउनु पर्ने त यसै भैहाल्यो ब्याजको हकमा भने साँझ बिहान आधा आधा मानो दुध दिनुपर्ने शर्त हुन्छ । मध्ययम बर्गका शैलराजको आफ्नो धेरथोर जायजेथासँगै श्रीमती मैयाँनानी हुन्छिन् आम्दानीको गतिलो श्रोत । सगोलमा रहँदै बस्दै आएका शैलराजको परिवारमा आमा हुन्छिन् र दुई भाइहरू हुन्छन् । शैलराज जुवाको कुलतमा परेर सम्पती सक्दै जान लागेपछि परिवारले उनलाई अलग बनाइदिन्छन् र उनी मैयाँनानीलाई उनका धर्म आमाबाबुले दिएको बंगलामा बस्छन् । मैयानानी आफैं चै कुनै एक गरिव ब्रह्मणकि छोरी भएपनि त्यो समयमा दरबारिया भनिएर, अभिजात वर्गमा गनिएर बस्ने कुनै कर्णेल र उनकी मुमा रानीसाहेब भनिने श्रीमतीबाट पालिएर र कन्यादान भएर शैलराजको जीवनमा गाँसिएकि हुन्छिन् ।
उता अर्का जुवाले नै झण्डै जोगी बनेका पात्र महन्तकाजी हुन्छन् र उनकी गृहलक्ष्मी नर्मदा हुन्छिन् । कुनै जमानामा भएको हावामहल जस्तो घर जुवामा सकेर महन्तकाजीले बाङ्गेमुढाको कुनै एक गल्लीमा काठको चारतले घर किनेका हुन्छन् । देशमा प्रजातन्त्र आइसकेको र प्रजातान्त्रिक सरकारले जुवा बन्द गरिसकेको अवस्था हुन्छ र पनि जुवाले सकिएको जुवाले नै उँभो लाग्छु भनेर महन्तकाजीले आफ्नो घरमा जुवाको अखडा बनाउँछन् । राम्रोसँग घाम पनि नपर्ने गल्लीको घरलाई उनले जुवा खेलाउनैको लागी तिलस्मी रुप दिएका हुन्छन् ता कि कोही नयाँ मान्छे घरमा छिर्यो भने पनि कताबाट माथि जाने घरको भेउ पाउँदैन । जुवा खेल्न आमन्त्रित हुने र जुवाडे भनेर प्रख्यात भएका अरु पात्रहरू हाफिज अली, हाकिम सानुमान, गुरु धर्मनाथ र भान्जाराजा हुन्छन् । अर्को एउटा आइतेकै उमेरको आइते जस्तै देखिने बाबु आमा कोही नभएको पात्र हुन्छ बुधे, ऊ पेट पाल्नलाई कैले आइसक्रिम बेच्ने, कैले के गर्ने, कैले के गर्ने गर्छ । र एउटा मौकामा आइतेसँग भेट भएर मीत पनि बन्छ ।
कथानक अघि बढ्दै जाँदा बिरे खत्रिले दुहुना भैंसी ल्याइसकेपछि ईश्वरको आँखा नलागी सबै राम्रै चलुन्जेल अलि-अलि रुपैयाँ खेलाउन लागेको हुन्छ तर सर्वव्यापि, सर्वशक्तिमान ईश्वरलाई बिरे खत्रीको उन्नति असह्य हुन्छ सायद र भैंसी मर्छ । ३०० रुपैयाँ दाम तिरेर ल्याएको भैंसी ४५ रुपैयामा कसाहीलाई सुम्पेपछि बिरे खत्रीको झन् दुर्दिन सुरु हुन्छ । शैलराजले किनेर भएपनि ब्याजको दुध ल्याईदिनु पर्ने नत्र बन्धक राखेको घर छोड्नुपर्ने उर्दी लगाउँदै जान्छ । बिरे नटेरी अनेक उपायहरूको खोजीमा बसिरहेको हुन्छ तर शैलराज आफैंलाई पनि दुर्दिनले घेरेको हुन्छ । जुवाले भएभरको श्रीसम्पती सिध्याएपछि उनकी श्रीमती, मैयाँनानीले पनि छोडेर जान्छिन् । कुनै उद्दमा नगरी सोह्र श्रृंगार गर्दै दिन बिताउने दरबारिया अदब सिकेकी मैयाँनानीले छोडेर गएपछि शैलराजको गास बासको टुँगो हुँदैन । श्रीमतीले छोडेपछि कर्णेलको निगाहमा पाएको बंगला पनि छोड्नु पर्ने हुन्छ उनलाई । त्यसैले उनी बिरे खत्रीलाई कर्यापेर, उठीबास लगाउँछन् र भोग-बन्दक राखेको बिरे खत्रीको घरमा बस्न जान्छन् । बिरे खत्री गाउँको पुछारमा भएको पाटीमा शरण लिन पुग्छ ।
उता महन्तकाजीको घरमा एकदिन पुलिसले छापा मार्छ । उनको तिलस्मी घरको भेद थाहा पाउन नसकेर पुलिसले कसैलाई पकड्न त सक्दैन तर त्यसदिन देखि महन्तकाजीलाई त्यो जुवा खेलाउने काम छोडाउन उनकी श्रीमती नर्मदा लागिपरेकी हुन्छिन् । संयोगले बिरे खत्री र महन्तकाजीको भेट भएर महन्तकाजीले बिरे खत्रीलाई जुवा घरको पाले समेत राखेका हुन्छन् । पछि उनले जुवा खेलाउन छोडेपछि पुस्तक पसल खोल्छन् र पुस्तक पसलमा पनि कुनै उपायले बिरे खत्रीलाई भेटेर काम दिन्छन् । महन्तकाजीको पुस्तक पसलले महन्तकाजीलाई मात्र उँभो लगाउँदैन, बिरे खत्रीलाई पनि आफ्नो थातबास निखन्न सक्ने बनाउँछ र पाटी छोडेर बिरे खत्रीको परिवार आफ्नै घरमा फर्कन्छन् । बिरे खत्रीले आफ्नो घर निखनेपछि शैलराजको त्यही पाटीको बास हुन्छ जहाँ बिरे खत्रीले शरण लिएको हुन्छ । घरबारी निखन्दा बिरेले फिर्ता गरेको ३०० रुपैयाँले आफ्नो हुलिया केही ठीक गरेर शैलराज अदालत जान्छन् र मैयाँनानीमाथि मुद्दा हाल्छन् । अदालतमा शैलराजले स्वास्नीमाथि मानो चामल भराईपाउँ भनेर हालेको मुद्दा चलनमा नभएको कुरा भनेर त्यसै डिसमिस् हुन्छ र शैलराज पशुपतीतिर जोगीहरूको हूलमा बस्न थाल्छन् । अन्त्यतिर मैयाँनानीले शैलराज प्रति माया देखाउँछिन् र शैलराजलाई खोज्न पशुपतीतिर जान्छिन् तर शैलराज कहीँ टाढा कसैले नदेख्ने ठाउँतिर सन्यासी बनेर बस्न हिँडीसकेका हुन्छन् ।
….पशुपतिनाथ मन्दिरको नैऋत्य कोणको चौबाटोमा उनको (मैयाँनानीको) मोटर पुग्यो । यात्रुहरूले भरिएको ए उटा लरी पनि पूर्वतिरबाट त्यहीँ आ इपुग्यो । मोड परेको हुनाले दुवै ड्राइभरहरूले आफ्ना गाडीको गति केही धीमा गरेर हाँसे । यसकारणले उनीहरू हाँसेका होइनन् जसलाई खोज्न तिमी आ इरहेका छौ, उसलाई लिएर म ग इरहेको छु । यो वियोगात्मक रहस्या कसैलाई पनि थाहा थिएन ।
मैयाँनानी शैलराजलाई खोज्न उही मोटरमा पूर्वतिर गइन् । शैलराज चाहिँ सायद यो भौतिक जगतमा इन्साफ नपाएर हो कि आध्यात्मिक जगततिर उही लरीमा पश्चिमतिर गए !
अब परमेश्वरले मिलाउन् ती विकल दम्पतीलाई !
यसै गरेर अन्त्य गरिएको यो उपन्यासमा अनेक अनेक यस्ता रोचक घट्ना र प्रसंगहरू छन् कि २६४ पेज पढिसकेको पत्तै हुँदैन । आइतेले आफूजस्तै रूप र उमेरको साथी बुधे भेटेको, बुधेसँग मित लाएको र बुधेले ठगेर आइतेको हातको मोहोर पचाइदेको । शैलराजले घरखेत कब्जा गरेर पाटी बास भएपछि आइतेले गाउँका साथी गोरे र साइँलासँग मिलेर घरमा आगो लगाएर शैलराजलाई पनि सके जलाउने नभए पनि बेघर बनाउने योजना बनाएको, उसले यो योजना सुनाउँदा बाबुले स्याबासी दिन्छन् भनेर बाबुलाई सुनाएको र बाबुले गाली नगरी सम्झाएको । पछि त्यो घर निखनेर बस्न आउँदा आइतेले ‘धन्न नकाम गरेनछु!’ भनेर पश्चताप गरेको जस्ता अनेक रोचक घट्नाहरू छन् उपन्यासमा ।
सानै छँदा पढेर प्रभावित भएको यो उपन्यास यसपटक पढ्दा पनि मलाई पठनको रोचकतामा रत्तिभर कमी महसुस भएन बरू अझ बढ्ता नै मजा लाग्यो । अँ बरू नमज्जा लाग्ने केही कारणहरूमा चैं साझा प्रकाशनको किताबहरूमा हुने साझा दु:ख रह्यो । यो सारसौंदो किताबभित्र पनि पेज १३०, १३१, १३४, १३५, १३८, १३९, १४२ र १४३; जम्मा आठ पेजहरू खाली रहेछन् । र पेज १८८ र १८९ चैं तेलमा डुबाएर निकालेझैं मैलिएको, आधाउधि अक्षरहरू पढ्न नसकिने रहेछन् । पहिले नपढेको किताब भए मलाई थक्-थक् हुँदो हो तर पहिले पढेको कुरा मगजमा राम्रै छापिएर बसेको रहेछ र उस्तो विस्मात लागेन । त्यसो त बिरे खत्रीले दुहुनो भैंसी किन्न भन्दा धेरै रुपैयाँ, रु ३१०.००, हालेर किनेको किताब यस्तो पर्नुको नमज्जा त छँदैछ नि!
– होइन यो साझा प्रकाशनले किन सधैं किताबहरू यस्तरी हेल्चेक्र्याइँ गरेर निकालेको होला?
– कति गाली गर्नु हो साझालाई?
भैगो छोडौं गाली गरेर नलाग्नेलाई के गाली गर्ने? बरू तपाईं पनि खोजेर पढ्नुहुन्छ भने इन्साफ उपन्यासले र भीमनिधि तिवारीको लेखनीले निराश विल्कुल बनाउँदैन है ।
अन्त्यमा, एउटा ठूलै खुल्दुली र जिज्ञासा छ मेरो मगजमा कि यति राम्रो र सशक्त सामाजिक उपन्यासको नेपाली साहित्यमा किन कतै पनि, कहीँ पनि र कहिल्यै पनि चर्चा भएन होला?
– के यसको नाम इन्साफ(इन्साफ शब्द कसो कसो हिन्दी शब्द हो जस्तो लाग्छ ।) भएको कारणले हो?
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)