समीक्षा : चालीस वर्षपछि युधीर थापा

~रोशन शेरचन~

अकस्मात विचार आयो, अहिलेको समयमा युधीर थापाका उपन्यासहरुको पुनर्पठन गर्ने हो भने त्यसले कस्तो प्रभाव उत्पन्न गर्ला ? स्कुले जीवनमा उनका उपन्यासहरुले वशमा पारेको प्रगाढ सम्झना छ । अनुमान गर्छु, त्यस तहको प्रभाव अब पक्कै उत्पन्न नहोला । तर, कस्तो अनुभव होला ? उनका उपन्यासमा के त्यस्ता तत्त्व छन्, जसले किशोर मनलाई लट्ठै पार्छ ? पुन: पढ्छु र पर्गेल्छु भन्ने ठानेँ । विसं २०३५ को गन्तीले ४० वर्ष नै हुन आउँछ । उमेर पनि १२–१३ को थियो । कौतूहलाको पाइन चढेको ।

जगजाहेर नै छ, गम्भीर पाठकहरुबीच युधीर थापा कमजोर, सतही र निम्न कोटिका लेखकमा पर्छन् । तर, आश्चर्यको कुरो– अहिलेका कैयन् स्थापित लेखक युधीर थापाकै उपन्यासहरु पढेर, प्रभावित भई हुर्केका हुन् । अन्तर्वार्ताहरू पढ्दा थाहा लाग्छ । त्यस अर्थमा, उनी औपन्यासिक विम्ब नै हुन् । खास उमेर समूहको पाठकका निम्ति उनी अत्यन्त लोकप्रिय उपन्यासकार थिए ।

पढ्न बाँकी आठ–दस पुस्तक यतिखेर र्‍याकमा छन् । अधिकांश विमोचन कार्यक्रममा किनेका, लेखक हस्ताक्षरसहित । तर, युधीर थापाकै पुस्तकहरुबाट पठन थाल्नुपर्छ भन्ने लाग्यो । प्रदर्शनीमार्गस्थित फिनिक्स बुक स्टोरमा थापाको उपन्यासबारे खोजीनीति गरेँ । संयोगवश केही उपन्यास रहेछन् । स्कुले जीवनमा अत्यधिक प्रभाव पारेको र नाम नबिर्सेको दुई उपन्यास सिंगमरमरको ढुंगा  र हुरीको लहर  किनेँ ।

अहिलेको कलेवरको तुलनामा झुत्रो लाग्ने, ख्याउते र भद्दा स्केच भएको उपन्यास हातमा लिँदा पनि अप्ठ्यारो लाग्यो । कसैले देख्ने पो हो कि ? खैर, कसैले देखेन । मोल २५ रुपैयाँ रहेछ । सिंगमरमरको ढुंगा  रत्न पुस्तक भण्डार, भोटाहिटीबाट प्रकाशित रहेछ । विसं २०४६ मा । हुरीको लहर  भने त्रिमूर्ति प्रकाशन वाराणसीबाट प्रकाशित रहेछ ।

उपन्यास झोलामा लिएर फर्कंदा समयको बर्बादी हो कि जस्तो लाग्यो । नोस्टाल्जियाको मन्द विषमा नपरुँ भन्ने लाग्यो । त्यसको सट्टामा बजारमा भर्खर आएका नयाँ आख्यान पढ्न सकिन्थ्यो । तर, मलाई आफ्नो पठनको रुचिमा परिवर्तन आएको छ कि ? छ भन्ने कस्तो परिवर्तन थाहा पाउन मन लाग्यो । विगतमा परेको गहिरो प्रभावमा उमेरको भूमिका ठूलो छ वा पुस्तककै गुणवत्ताको ? परख गर्ने मन भयो । के कारणले उनका उपन्यासले उबेला उधुमै मच्चाएका रहेछन् ? विश्लेषण गर्न मन लाग्यो ।

कम्तीमा पनि आठ वटा उपन्यास पढेछु– सिंगमरमरको ढुंगा,  हुरीको लहर,  एक फूल धेरै काँडाकक्टेल्सफेरि कहिले भेट होलाएक मुटु अनेक ढुकढुकीयहाँ यस्ता यस्तै हुन्छसिस्टर कल्पनारातो दरबारलुकेको समाज । हुरीको लहरको ब्याक कभरमा सूची हेर्दा थाहा भयो । केही नाम सम्झन नसकेको पनि हुन सक्छ ।

दसैँ २०७५ को छेकोमा हुरीको लहर  दुई अढाई घन्टामै सकियो । कथानक यस्तो छ– मदन नामको एक जना धनी युवक छ । त्यस्तै, अर्की सुन्दरी नलिनी छिन् । नलिनी महात्त्वाकांक्षी छिन् । नीलिमाकी दिदी छन्, रोशनी । सादा शील स्वभावकी । उपन्यासकारकै शब्दमा, दुई दिदीबहिनीबीच आकाश–जमिनको भिन्नता । मदनको जीवन दर्शन छ, दुई दिनको जिन्दगीमा मोज गर । आर्थिक स्तर समृद्ध छ । गाडी छ, बंगला छ, अफिस छ । विलासिताका निम्ति सम्पूर्ण बन्दोबस्तीका सामान छ । जीवन त्यही लिकमा चलेको छ, अनवरत ।

यौवन, यौन, मादकता, प्रपञ्च, प्रेम र लज्जा रोमाञ्चक यात्राका मोड भएका छन् । पात्रहरु सीमित छन् । पात्रहरुको आर्थिक सामाजिक पृष्ठभूमिको लेस पनि छैन । सोझो वर्णन छ । तत्कालीन राजनीतिक व्यवस्थाको संकेत छैन । केही हिन्दी पदावलीहरुको प्रयोग छ । भाषा सरल छ । अधिकांश पात्रको अतिशय भावुक संवादबाट थाहा लाग्छ– रोमान्टिसिज्म छ्यालब्याल छ । संवादप्रधान छ उपन्यास । डेपिक्सन, परिवेशको दृश्यांकन छैन ।

सिंगमरमरको ढुंगा  बेड टी समातेरै सक्काएँ, एक डेढ घन्टामै । यसमा कथानकको थोरै फैलावट छ । अशोक शर्मा नामको लेखक मुख्य पात्र छ । मदनजस्तै धनी बाउको छोरा पनि छ । नाम प्रकाश । अशोकको साथी । थापाकै शब्दमा, प्रकाश र अशोकमा आकाश जमिनको अन्तर छ । प्रकाश सधैँ आकर्षक युवतीहरु बाहुपासमा पार्ने योजना बुनिरहन्छ ।

अर्कातिर, अशोक गरिब र आदर्शको भारी बोकेका युवक छ । मूलघर डोटी । संर्घषरत उपन्यासकार । तर, कृष्ण पुस्तक भण्डार प्रकाशनले कम रोयल्टी दिएर उनको आर्थिक शोषण गरिरहन्छ । गरिब भएकैले अशोक सम्झौता गर्न बाध्य छ । निजी प्रकाशनगृहले संघर्षरत लेखकहरुलाई आर्थिक शोषण गरेको कथानकले भने उपन्यासकारलाई थोरै भए पनि सामाजिक सरोकारको नजिक पुर्‍याएको छ, जसबाट अहिलेको समय पनि मुक्त हुन सकेको छैन ।

एउटा उपन्यासको लेखनको तयारीमा गोदावरीको बसाइमा बाख्रा चराउँदै गरेको पार्वती नामक ग्रामीण युवतीसँग अशोकको भेट हुन्छ । दोहोरो कुराकानी हुन्छ । र, एक आपसलाई मन पराउँछन् । अशोककै शब्दमा, स्वच्छ, निर्दोष र कपटरहित गाउँले केटीको प्रेममा उनी पर्छन् । दुवैले सँगै बाँच्ने, सँगै रहने बाचा गर्छन् । एक दिन अशोकको प्रतिभा पहिचान गरेर चन्दन नाम गरेको भारतीय प्रकाशकले उनलाई भारतको विभिन्न स्थान घुमाउँछ र उपन्यास लेख्न आर्थिक हिसाबले सघाउँछ । तर, अशोकले नेपालकै भावभूमिमा उपन्यास लेख्ने अठोट गर्छ । चन्दन थप प्रभावित हुन्छ । शीर्षक बेपत्ताको छ, संसारको सबभन्दा अग्लो ठाउँ । उपन्यास अत्यन्त लोकप्रिय हुन्छ । लोभलाग्दो सफलतासहित छ–सात हजार रोयल्टी बोकेर अशोक नेपाल फर्कन्छ । व्यग्र हुँदै गोदावरी पुग्दा कालो ज्वरोले पार्वतीको मृत्यु भएको थाहा पाउँछ । संसारै खसेजस्तो अशोकलाई रित्तो अनुभव गरेको देखाउँदै वियोगान्तमा उपन्यास सकिन्छ ।

दुवै उपन्यासलाई कुन औपन्यासिक विम्बले न्यायपूर्ण प्रतिनिधित्व गर्ला ? आफैँलाई प्रश्न गरेँ । धेरै सोचेपछि जवाफ पाएँ । मादकता । युवती पात्रहरुको वर्णनमा उपन्यासकारले मिहिनेत गरेका छन् । पर्याप्त आकर्षक, गुलाबी बनाएका छन् वर्णन । पृष्ठपृष्ठलाई शृंगार रसमा चोपलेका छन् ।

समाज टाढाटाढासम्म पनि देखिँदैन । पात्रहरु समाजमा होइन, हावामा अडिएजस्तो लाग्छ । केही पात्रहरुको चरित्र र स्वभावमा विपर्यास देखाइएको छ । कोही आदर्शको भारीले किचिएको, कोही फुक्काफाल भएर हिँडेको । कोही धनी, कोही गरिब । कोही भावुक, कोही माहिर । विपरीत स्वभावका पात्रहरु फेरि घनिष्ट साथी छन् । कथानकले अघि बढ्न कैयौँ पटक संयोगको सहारा लिएको छ । मादकता र यौवन किशोरलाई उमेरजन्य कारणले मनपर्ने विषय नै हो । थप, विपर्यासले किशोर मनलाई भावुक र द्रवित बनाएको छ । मादकता र विपर्यासको गज्जबको ककटेल्स । सरल भाषाशैली बुझ्न बल गर्नु नपर्ने । डिटेलिङमा नअल्झेको संवादप्रधान शैली उसै रसिलो । उनी किशोर मनोविज्ञानलाई नजिकबाट बुझ्न सक्ने लेखक रहेछन् ।

झिनो सम्झना छ । सिंगमरमरको ढुंगा  पढ्दा म टिलपिल टिलपिल भएको थिएँ । समयको खातमा कथानक बिर्सिसकेको थिएँ । सम्झेको थिएँ त, त्यसले सम्मोहित पारेको अवस्था र सिंगमरमरको ढुंगा  मसिनो प्रसंग । ४० वर्षपछि पढ्दा थाहा भयो, द्रवित पारेको अन्तिम परिच्छेदमा रहेछ । लामो संघर्षपछि स्थापित भएको उपन्यासकार अशोक नेपाल फर्कन्छ । र, सरासर पार्वतीलाई भेट्न गोदावरी आउँछ । थला परेकी पार्वतीको बूढी आमाबाट पार्वती कालो ज्वरोले मरेको सुन्छ । अशोकलाई सिंगमरमरको ढुंगा  दिँदै बूढी आमै भन्छिन्, ‘आखिरी समयसम्म पनि पार्वतीले हजुरकै नाम लिइराखेकी थिई । पार्वती ज्वरोमा बर्बराउँदा पनि हजुरकै नाम मात्र बर्बराइरहन्थी । आखिरी समयमा केही नलागी पार्वतीले हजुर आउनुभयो भने त्यो सेतो ढुंगा दिनु भनेर आखिरी सास फेरेकी थिई ।’ यिनै अतिशय भावुक हरफहरुले मेरो किशोर मन पगालेको हुनुपर्छ ।

स्मृतिले विगतका प्रभावहरु सोहोरेर ल्यायो । तर, पठनमा कुनै प्रभाव पाइनँ । उबेला अनुभूतिको सघनताले झ्वाम्म छोपेजस्तो उपन्यास यो पटक फिका अनुभव भयो । समाजसँग बिच्छेद भएको रुमानी कथाभन्दा बढी लागेन । निश्चित फम्र्याटमा बुनिएको उपन्यास पढ्दा बरु हाँसो उठ्यो । त्यतिबेला रुवाउने उपन्यासले किन हँसायो ? अचम्ममा परेँ ।

समय फेरिँदो छ । राजतन्त्रबाट प्रजातन्त्र हुँदै देश संघीय गणतन्त्रमा गइसक्यो । उथलपुथल गर्दै सशस्त्र संघर्ष भयो । सूचना प्रविधिको विशाल संसार कोठाभित्र छिर्‍यो । सामाजिक सञ्जाल विश्वव्यापी बन्यो । तर, सायद मान्छेका आदिम वृत्तिहरु मूलभूत रुपमा उस्तै छन् ।

यस्तो समय, युधीर थापाहरु नयाँ अवतारमा देखिएका छन्, नयाँ सन्दर्भ, नयाँ ट्वीस्ट, नयाँ क्लिसे लिई । तर, केन्द्रमा मनोरञ्जनलाई नै राखेर । मनोरञ्जन पनि स्वच्छ होइन, मादक । यौनकेन्द्रित । इन्द्रियजनित । नयाँ अवतारहरु यौवन, प्रेम, वियोग र मादकताको रिप्याकेजिङमै व्यस्त छन् । निजी प्रकाशन गृहहरु लगानी गरिरहेका छन् । नौलो पनि होइन । मूलमन्त्र नाफा भएपछि जस्तो सिर्जनाको बजार छ, प्रकाशनगृहले त्यसैलाई प्रबर्धन गर्ने हो । विगतलाई नजीर मान्ने हो भने नवअवतारहरुको ठूलो ट्रयाजेडी, खास उमेर कटेपछि रुचि परिष्कार गर्दै पाठकहरु आफ्ना लेखकहरुलाई छाडेर अगाडि निस्कन्छन् । गम्भीर र सचेत पाठकहरुको लेखक बन्न नसक्नुजस्तो निराशा लेखनमा अरु छैन ।

मनले भन्छ, ‘प्रारम्भिक पठनयात्रामा थापाका उपन्यासहरुले सघाएकोमा जस पनि देऊ न । कति कञ्जुस भएको ।’ मस्तिष्कले सोच्छ, ‘पाठमा के लेखिएको छ, कसरी लेखिएको छ भन्ने नै प्राथमिक कुरो हो । पाठ स्तरीय छैन ।’ यस्तो बेला जिम रोन सम्झन्छु । जिम रोन भन्छन्– ‘सजिलो किताब मात्र नपढ, त्यसले मनोरञ्जन त देला तर त्यसबाट सिक्ने कुरा खासै केही हुँदैन ।’

पुनपर्ठन नगरेको भए म चार दशकअगाडिकै प्रभावलाई समाती बस्ने रहेछु । प्रभावलाई नयाँ दृष्टिबाट अनुभव गर्न नपाउने रहेछु । र, आफ्नो रुचिमा आएको परिवर्तनलाई अनुमानकै भरमा छाड्ने रहेछु ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक प्रकाशित: कार्तिक २८, २०७५)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.