समीक्षा : नव सापकोटाको कवित्व

~डा. खगेन्द्रप्रसाद लुइटेल~

१. परिचय

सन् १९४८ जनवरी २५ असम, गुवाहाटीको बडगाउँ, देवकोटा नगरमा जन्मिएका नव सापकोटाले स्नातकसम्मको शिक्षा हासिल गरेका छन् । असमको साहित्यिक, सांस्कृतिक, जातीय र भाषिक उन्नयनमा विशिष्ट योगदान पु¥याउने नव सापकोटाको सेवा, पेसा र संलग्नता यसप्रकार रहेको छ:

बरागाउँ फरेस्ट विभाग उद्देश्य प्रतिरोध समितिको सचिव (१९६८)
गोर्खा प्रोसिडिङ् हाइस्कुल पल्टन बजार गुवाहाटीमा सचिव र हेडमास्टर (१९७१)
शिलाङमा असम सचिवालयको निम्नसहायक क्लर्क (१९७२)
नेपाली साहित्य परिषद् गुवाहाटीको अध्यक्ष (सन् १९७३)
नेपाली विद्यालय व्यवस्थापन समिति बरागाउँको सदस्य (१९७५)
नेपाली मन्दिर निर्माण तथा व्यवस्थापन समिति मालिगाउँको सचिव (१९७५)
शिलाङमा असम सचिवालयको अपर डिभिजन क्लर्क (१९७७)
कवि हरिभक्त कटुवाल स्मृतिग्रन्थको सम्पादन (१९८१)
सयपत्री सांस्कृतिक कला सङ्गम, देवकोटा नगरको संस्थापक अध्यक्ष (१९८४)
पूर्वाञ्चल भाषा संवादको सम्पादन (१९८४)
नेपाली साहित्य परिषद् असमको सचिव (१९८९)
शिलाङमा असम सचिवालयको अध्यक्ष (१९९३)
नेपाली साहित्य परिषद्को उपाध्यक्ष (१९९४)
भानुस्मारिकाको सम्पादन (१९९४)
भाषा समितिको निकासी अधिवेशनको स्मृतिग्रन्थको सम्पादन (१९९६)
नेपाली साहित्य परिषद् असमको सभापति (१९९७)
साहित्य अकादमीको सल्लाहकार सदस्य (१९९८)
नेपाली साहित्य परिषद्को सम्मानित सदस्य (२००१)
नेपाली साहित्य परिषद्को अध्यक्ष (२००९)
बरागाउँ नेपाली माध्यमिक विद्यालयका अध्यक्ष (१९९१)
नेपाली उच्च माध्यामिक विद्यालयको अध्यक्ष (२००५)
श्री माधवदेव क्षेत्र ट्रस्टको अध्यक्ष (२००६)
बृहत् बरागाउँ ज्येष्ठ नागरिक समितिको अध्यक्ष (२००६)
महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्म शताब्दी तथा मूर्ति प्रतिष्ठापन समितिको सल्लाहकार (२०१०)
नेपाली साहित्य परिषद् असमको आजीवन सदस्य
समकालीन नेपाली साहित्य, असमको सम्पादन
शिवकुमार राई स्मृति परिषद् खरसाङको आजीवन सदस्य
नेपाली भाषा सान्यता सङ्घर्ष समितिको सचिव
अखिल असम नेपाली भाषा समितिको सहसचिव
असम सचिवालय सेवाको उपसचिव
वाणी प्रकाशन विराटनगरको सदस्य

यी विभिन्न क्षेत्रमा संलग्न रहनका साथै साहित्यका क्षेत्रमा पनि त्यत्तिकै क्रियाशील रहेका नव सापकोटा आधारभूत रुपमा कविका रुपमा परिचित छन् । कवि पुष्पलाल उपाध्याय स्मृति पुरस्कार (२००१) पाउनाका साथै कवि एवं भाषा सङ्ग्रामीका रूपमा नेपाल र भारतका विभिन्न ठाउँमा सम्मानित नव सापकोटाका निम्नलिखित कृतिहरू प्रकाशित छन् :

कविता सङ्ग्रह :
युक्लिप्टस : आउने पिँढीलाई आशीर्वाद (१९८०),
काव्यान्तर (१९९६),
मदिरा होइन मेरो पसिना (२००८) ।

लेख–निबन्ध सङ्ग्रह :
समिधा (१९८६) ।

अनुवाद:
वेदान्तावाणी (१९९९) ।

भारतीय नेपाली कविताको इतिहासमा विशेष गरी उत्तरपूर्वी भारतका विशिष्ट कविका रुपमा रहेका नव सापकोटाको काव्यप्रवृत्ति केलाउँदै उनको प्रसिद्ध कविता सङ्ग्रह मदिरा होइन मेरो पसिनामा सङ्कलित ‘वैशाख आउँछ’ र ‘मदिरा होइन मेरो पसिना’ शीर्षक कविताहरूको विभिन्न कोणबाट विश्लेषण यस आलेखमा गरिएको छ ।

२. नव सापकोटाका काव्यप्रवृत्ति

भानुस्मृति पत्रिकामा प्रकाशित ‘श्रद्धाञ्जलि’ (१९६९) शीर्षक कविताका माध्यमबाट नेपाली साहित्यका क्षेत्रमा प्रवेश गरेका नव सापकोटाका लेख–निबन्ध तथा समालोचनात्मक लेखरचनाहरू प्रकाशित भएको देखिए पनि यिनी आधारभूत रूपमा कविका रूपमा परिचित छन् । यिनले फुटकर कविताका साथै केही गीत, मुक्तक र हाइकुको समेत सिर्जना गरेका छन् । नेपालीका अतिरिक्त असमिया, बङ्गाली, हिन्दी र अङ्ग्रेजीमा समेत केही कविताको सिर्जना गर्ने नव सापकोटाका कतिपय कविता यी विभिन्न भाषामा अनूदित पनि छन् । प्रायः छोटा आयाममा संरचित यिनका कविता प्रगीतात्मक संरचनामा आबद्ध छन् ।

समाजमा व्याप्त कुरीति, कुविचार र कुतत्वप्रति विद्रोहका स्वर घन्काउने नव सापकोटाले आप्mना कवितामा युगीन विसङ्गति र विकृतिप्रति व्यङ्ग्य प्रहार गरेका छन् । शोषित, पीडित र असहायहरूको दुरवस्थाप्रति सहानुभूतिशील रहने यिनका कवितामा कतै कोमल र कतै कठोर भावको अभिव्यक्ति पाइन्छ । प्रेमको उदात्त अभिव्यक्ति पाइने यिनका कवितामा मानवीय प्रेमका अतिरिक्त जातीय प्रेम र देशप्रेमका भावनाहरू पनि मुखरित छन् । मानवप्रेममा आधारित मानवतावादको अभिव्यञ्जना पाइने यिनका कवितामा मानवीय पीडा र व्यथालाई संवेदना र सहानुभूतिमा रङ्गाएर प्रस्तुत गरिएको छ । यिनका कतिपय कवितामा विषादपूर्ण आक्रोशका साथै क्रान्तिकारी विद्रोही स्वर पनि अभिव्यञ्जित भएको छ । आपूmलाई कुनै वाद र मान्यतामा केन्द्रित नभई कविता सिर्जना गर्ने व्यक्तिका रूपमा चिनाउन रुचाउने सापकोटाका कवितामा सामाजिक यथार्थको स्पष्ट छनक पाइन्छ । यिनी जातीय अस्तित्वलाई विशेष महत्वका साथ सशक्त रूपमा अभिव्यक्त गर्ने कवि हुन् । जातीय अस्तित्वको जगेर्नाप्रति सचेत अभिव्यक्ति पाइने यिनका कवितामा जातीय र वर्गीय चेतनाका साथै आशावादी–जीवनवादी दृष्टिकोण पनि मुखरित भएको छ । भारतलाई स्वतन्त्र तुल्याउनमा भारतीय नेपालीहरूको बलिदानीपूर्ण विशिष्ट भूमिका हुँदाहुँदै पनि नेपाली जातिको वीरता त के अस्तित्वसमेतलाई उपेक्षा गरिएकोमा यिनले चिन्ता र आक्रोश व्यक्त गरिएका यिनका कवितामा नेपाली जातिको सङ्कटग्रस्त अस्तित्व र गौरव जोगाउनुपर्ने भाव अभिव्यञ्जित छ । चरम गरिबीप्रति सहानुभूतिशील देखिने सापकोटाका कवितामा मानवतावादमा आधारित प्रगतिशील चेतनाको अभिव्यक्ति पाइन्छ ।

सापकोटाका कवितामा वैज्ञानिक आविष्कारले मानव विनास होइन मानव कल्याण गर्नुपर्छ भन्ने भाव मुखरित भएको छ । गरिब जनता, निम्नवेतनभोगी कर्मचारी आदिका दैनन्दिन समस्यालाई पनि यिनले कवितामा स्थान दिएका छन् । ठाउँठाउँ निराशाका स्वरहरू अभिव्यक्त भएको पाइए पनि यिनी खासमा आशावादी र जीवनवादी स्वर उराल्ने कविका रूपमा देखापर्छन् । स्वच्छन्द प्रकृतिचित्रण पाइने यिनका कवितामा कतै प्रकृतिका सुन्दर, शान्त, रौद्र आदि रूपको चित्रण गरिएको छ भने कतै प्रकृतिलाई साधनका रूपमा लिई अन्य विषयवस्तुको अभिव्यक्ति गरिएको छ । भूपि शेरचनका कविताको छनक पाइने यिनका कवितामा अत्याचारीको अवसान अवश्यम्भावी रहेको अभिव्यक्ति पनि पाइन्छ । यिनका कवितामा पुर्खाको गौरवगान गर्दै वर्तमानका सन्तति बिग्रिएकोमा चिन्ता व्यक्त गरिएको छ । युगीन विसङ्गति र विकृतिप्रति आक्रोशपूर्ण ढङ्गबाट व्यङ्ग्य प्रहार गरिएका यिनका रचनामा साहित्यिक विधा सचेतता र यसको स्तरीयता खस्केकोप्रति चिन्ता व्यक्त गरिएको पनि पाइन्छ ।

आपूmले दैनिक जनजीवनमा देखे, भोगे, सुने, जाने, सोचेका अनेक सन्दर्भलाई सहानुभूतिशील र संवेदनशील ढङ्गबाट अभिव्यक्त गर्नु यिनका कवितामा पाइने एउटा मूल प्रवृत्ति हो । आप्mनो जीवन भोगाइका विविध पक्षहरूलाई कवितात्मक बान्कीमा उनिएका यिनका कवितामा युगीन परिवेशप्रतिको सचेतता र युगबोध विशेष ढङ्गबाट अभिव्यञ्जित छ । वर्तमान युगीन विखण्डित राष्ट्रियता र जातीय सङ्कीर्णताप्रति चिन्ता व्यक्त गरिएका यिनका कतिपय कवितामा वर्गद्वन्द्वका अभिव्यक्ति पनि मुखरित छन् । सामाजिक यथार्थवादी दृष्टिकोणका साथ कविता सिर्जना गर्ने सापकोटाका कवितामा पाइने वर्गीय र जातीय चेतना, मानवतावादी, आशावादी र जीवनवादी स्वरको अभिव्यञ्जना मूलभूत काव्यप्रवृत्ति हुन् । अभिधात्मक मात्र नभएर प्रतीकात्मक अभिव्यक्तिका कारण यिनका कविता विशिष्ट बनेका छन् ।

नव सापकोटाका कवितामा प्रयुक्त भाषा अत्यन्त सरल, सहज र प्रभावकारी छ । अनुकरणात्मक शब्दयुक्त ठेट नेपाली भाषा प्रयोगका साथै कतिपय कोशीय विचलनयुक्त भाषिकविन्यास पाइने यिनका कवितामा अङ्ग्रेजी, अरबी, फारसी, असमिया भाषाका कतिपय शब्दको प्रयोग पाइए पनि तिनले कविताको भावलाई नबिगारी सहज र स्वाभाविक तुल्याएका छन् । यिनका कवितामा वर्णनात्मक, सम्बोधनात्मक, प्रश्नात्मक र संवादात्मक शैलीको प्रयोग पाइन्छ । यिनका कतिपय कवितामा पूर्ववर्ती नेपाली कविहरूको प्रभाव पाइए पनि त्यो निजात्मक पहिचान दिने खालको छ । शास्त्रीय छन्दमा नबाँधी मुक्तछन्दमा रचिएका यिनका कविताहरू आनुप्रासिक संयोजन, पुनरावृत्तीय भाषिक प्रयोग र समानान्तरताको उपयुक्त विन्यासका कारण लयात्मक र गेयात्मक गुणयुक्त बन्नपुगेका छन् ।

३. ‘वैशाख आउँछ’ कविताको विश्लेषण

(१) शिल्पसंरचना

‘वैशाख’ शीर्षक कविता नव सापकोटाको तेस्रो कविता सङ्ग्रह मदिरा होइन मेरो पसिना शीर्षक कविता सङ्ग्रहमा सङ्कलित छ । यो कविता स्पष्ट छुट्टिने गरी ३ पङ्क्तिपुञ्जका छोटाछोटा १४ पङ्क्तिमा संरचित छ । यसको पहिलो पङ्क्तिपुञ्मा ५, दोस्रोमा ७ र तेस्रोमा २ पङ्क्ति रहेका छन् । मुक्तछन्दमा लेखिएको छोटो आयामको यो कविता वैशाखका माध्यमबाट जीवनवादी दृष्टिकोणसम्बन्धी एउटै भावमा वर्तुलित विस्तार गरिएको प्रगीतात्मक संरचनामा आबद्ध गद्यकविता हो । पूर्णविराम चिह्नबाट पङ्क्तिपुञ्ज विभाजन गरिएको यस कविताको शिल्पसंरचना सुगठित रहेको छ ।

(२) विषयवस्तु वा मूलभाव

नव सापकोटाको ‘वैशाख’ शीर्षक कविता प्रकृतिका माध्यमबाट जीवनको अभिव्यक्ति गरिएको लघुआयामको रचना हो । अभिधेयार्थमा हेर्दा यस कवितामा रुगरुगे दुङ्गे डाँडाको चिहान र गहिरो कालभन्ज्याङ्मा पनि वैशाख आउँछ, वैशाख आएपछि एटमको थुप्रामा आत्मा हाँस्ने, महाकालको राज्यमा पनि वसन्त आउने र नीरस बलौटे टारमा पनि अन्तर रसाउने स्थिति आउँछ र वैशाख आएपछि सर्वत्र नयाँ जीवन पलाउँछ भनिएको छ । यस कविताको विषयवस्तु अत्यन्त सङ्क्षिप्त भए पनि लक्ष्यार्थमा विशिष्ट अर्थ दिने खालको छ ।

यस कवितामा प्रकृतिचक्रको ऋतुराज मानिने वसन्त ऋतुमा पर्ने वैशाख महिनाको वर्णन गरी त्यसका माध्यमबाट वर्तमान युगीन सिङ्गो जीवनलाई प्रस्तुत गरिएको छ । वैशाख प्रकृति हराभरा हुने महिना हो । वैशाख आएपछि जस्तोसुकै शुष्क र नीरस ठाउँ पनि हराभरा र मनोरम हुन्छ । अगिल्ला ऋतुहरूको कठ्याङ्ग्रिँदो चिसो पार गरेर ताप र हराभराका रूपमा वैशाख महिना आएभैmँ मान्छेका जीवनमा पनि विभिन्न दुखकष्टपछि सुखका दिन अवश्य आउँछन् भन्ने आशावादी–जीवनवादी अवधारणाको प्रस्तुति नै यस कविताको चुरो हो । उजाडिएको प्रकृतिका ढुङ्गे डाँडापाखा तथा भन्ज्याङमा नवकोपिला र मुना पलाएभैmँ अनि बलौटे भूमिमा पनि सरसता छाएभैmँ मानवजीवनमा पनि दुखद क्षणपछि सुखद क्षण आउँछ भन्ने भावाभिव्यञ्जित गरिएको यस कवितामा प्रकृतिका माध्यमबाट मानवजीवनलाई प्रस्तुत गरी प्रकृति र मानवजीवनका बीच तादात्म्य स्थापना गर्ने प्रयत्न गरिएको छ ।

(३) परिवेश, उद्देश्य र दृष्टिबिन्दु

यस कवितामा परिवेशसूचक स्थानका रूपमा ढुङ्गे डाँडो, कालभन्ज्याङ र बलौटे टार तथा समयका रूपमा वैशाखको प्रयोग गरिएको भए पनि यिनले खास स्थान र समयलाई नबुझाई सार्वस्थानिकता र सार्वकालिकतालाई सङ्केत गरेका छन् । यस कविताको पहिलो र दोस्रो पङ्क्तिपुञ्जमा दुखद र सुखद तथा निष्कर्षरूपी तेस्रो पङ्क्तिपुञ्जमा सुखद वातावरणको प्रयोग पाइने हुँदा समग्रमा यसको वातावरण सुखद रहेको देखिन्छ । युगीन त्रासद परिवेश, सुखा डाँडाकाँडा तथा मरुभूमितुल्य बलौटे भूमि पनि वैशाखमा हरिलोभरिलो र रसिलो भएभैmँ कष्टकर मानवजीवनमा पनि कुनै क्षण सरसता छाउँछ भन्ने आशावादी–जीवनवादी दृष्टिकोणको प्रस्तुति यस कविताको मुख्य उद्देश्य हो । तृतीय पुरुष दृष्टिबिन्दुमा संरचित यस कवितामा जीवनमा दुख मात्र होइन सुख पनि आउँछ भन्ने आशावादी विचार अभिव्यक्त गरिएको छ ।

(४) भाषाशैलीय विन्यास

अत्यन्त सरल शब्दहरूको प्रयोग गरिएको यस कवितामा वर्णनात्मक शैली र मितव्ययी भाषिक विन्यास पाइन्छ । यस कवितामा ढुङ्गे डाँडो, कालभन्ञ्जयाङ्, बलौटे टारजस्ता प्राकृतिक बिम्ब तथा एटमको थुप्रोजस्तो विज्ञानसम्मत बिम्बका माध्यमबाट जीवनका दुखद, त्रासद एवं कष्टकर पाटाहरू प्रस्तुत गरिएको छ । यस कविताको विषम पङ्क्तिमा ‘आउँछ, हाँस्छ, बर्सन्छ, सर्सन्छ, पलाउँछ, पनि’ जस्ता शब्दहरूको प्रयोग गरी आनुप्रासिक संयोजन गरेर कवितालाई लयात्मक र सङ्गीतात्मक गुणयुक्त तुल्याइएको छ । यसमा ‘बर्सन्छ’ को सादृश्यमा ‘सर्सन्छ’ शब्दको तुकबन्दीयुक्त प्रयोग गरेर पनि कवितामा लयात्मकता भर्ने प्रयत्न गरिएको छ ।

(५) उपसंहार

मूलतः प्रकृतिको सुन्दर महिना वैशाखलाई आलम्बन बनाएर प्राकृतिक बिम्बका माध्यमबाट प्रकृति र मानवजीवनका बीच तुलना गरी वैशाखमा प्रकृतिका डाँडाकाँडा, भन्ज्याङ, बलौटे भूमि सब हराभरा भएभैmँ मानवजीवन पनि दुखद, त्रासद र कष्टकर भए पनि सुखका दिन अवश्य आउँछन् भन्ने आशावादी–जीवनवादी स्वरको अभिव्यञ्जना यस कवितामा पाइन्छ । प्रकृतिको चक्रभैmँ मानवजीवनमा पनि दुख र सुख घुमिरहने वस्तु भएको अर्थसमेत ध्वनित हुने यस कवितामा प्रकृतिका माध्यमबाट मानवजीवनका दुखसुखात्मक अभिव्यक्ति अत्यन्त सरल, सहज, स्वाभाविक र कलात्मक पाराले अभिव्यक्त गरिएको छ । प्रकृतिको हरिलोभरिलो वैशाख महिनालाई विषयवस्तु बनाई त्यसकै केन्द्रीयतामा लेखिएको यस कविताको शीर्षक अभिधार्थ र लक्ष्यार्थ दुवै सन्दर्भबाट सामञ्जस्यमूलक, सार्थक र औचित्यपूर्ण छ । मुक्तछन्दको ढाँचामा सरल भाषाशैलीय विन्यासमा लेखिएको यो प्रगीतात्मक संरचनायुक्त गद्यकविता हो ।

४. ‘मदिरा होइन मेरो पसिना’ कविताको विश्लेषण

(१) शिल्पसंरचना

नव सापकोटाको ‘मदिरा होइन मेरो पसिना’ शीर्षक कविता यही नाम गरेको कविता सङ्ग्रहमा सङ्कलित छ । यो कविता स्पष्ट छुट्टिने गरी ६ पङ्क्तिपुञ्जका छोटाछोटा ३७ पङ्क्तिमा संरचित छ । यसको पहिलो, तेस्रो र चौथो पङ्क्तिपुञ्मा ४÷४, दोस्रोमा ७ र पाँचौँमा १२ तथा छैटौँमा ६ पङ्क्ति रहेका छन् । मुक्तछन्दमा लेखिएकोे यो कविता पसिना वा परिश्रमको महिमागानसम्बन्धी एउटै भावमा वृत्तात्मक विस्तार गरिएको प्रगीतात्मक संरचनामा आबद्ध गद्यकविता हो । पूर्णविराम चिह्नका माध्यमबाट पङ्क्तिपुञ्ज विभाजन गरिएको यस कविताको शिल्पसंरचना कसिलो छ ।

(२) विषयवस्तु वा मूलभाव

सूर्यलाई सम्बोधन गरी लेखिएको यस कवितामा मेरो पसिना पिएर मदिरा पिएको मतुवाभैmँ तँ धेरै नमात्, रक्स्याहाकी स्वास्नीले घैँटाबाट पानी खन्याई उसको मात उडाएभैmँ म मेरो पसिनालाई असिना बनाई चिस्याइदिन सक्छु, विश्वकर्माको शिष्य म डकर्मी, कालिगढ, सिकर्मी, शिल्पी र निर्माणधर्मी हुँ । मेरो धर्म निर्माण गर्नु हो । म निर्माणका लागि पसिना बगाउँछु र कर्मबाटै भोलिको सुन्दर इतिहास लेख्छु र म निर्माणमै बाँच्छु त्यसैले तँ मेरो पसिना पिएर नमात् । मेरो पसिना पिएर मात्ने मदिरा नभई कर्मफलबाट पाइने र मानिसलाई अमर तुल्याउने अमृत हो । यसरी अभिधार्थमा हेर्दा यस कवितामा अर्काको पसिना पिएर मातिने व्यक्ति सूर्यप्रति आक्रोश व्यक्त गरिएको छ भने व्यञ्जनार्थमा शोषक र शोषितका बीचको कटाक्ष अभिव्यञ्जित छ । अर्काको पसिना पिउनु र त्यसलाई पुरुषार्थ ठान्नु उपयुक्त होइन, स्वयं पसिना बगाएर काम गर्नुपर्छ र परिश्रमबाट मात्र नवनिर्माण हुन्छ र त्यसबाट आनन्द पनि प्राप्त हुन्छ भन्दै परिश्रमको महिमागानका साथ कर्मवादी चिन्तन प्रस्तुत गरिएको यस कवितामा कर्म वा कामबाट प्राप्त फल अमृत समान हुन्छ भनिएको छ । आप्mनो परिश्रमबाट प्राप्त फल अमृतसमान हुन्छ भने अर्काको श्रम वा पसिना मदिरातुल्य वा विषतुल्य हुन्छ भन्ने भाव यस कवितामा अभिव्यञ्जित छ ।

सूर्यले पृथ्वीबाट पानी सोसेर लिएभैmँ उच्च वा शोषक वर्गले निम्न वा शोषित वर्गको परिश्रमलाई शोषण गरिरहन्छ भन्ने भावाभिव्यक्ति पाइने यस कवितामा श्रम शोषण गरी सुखभोग गर्नेहरूप्रति कटाक्ष गरिएको छ । सूर्यले आप्mनो राप र ताप पैmलाई पृथ्वीबाट पानी सोसेभैmँ दीनदुखीको पसिनालाई मदिरातुल्य पिउने र तिनीहरूप्रति नै अत्याचार गर्ने शोषकहरूप्रति आक्रोश व्यक्त गरिएको यस कवितामा धर्तीको पानी शोषण गरेर आकाशमा रमाउने सूर्य र निम्नवर्गको पसिना चुसेर उन्मत्त हुने उच्चवर्गको चरित्र समतुल्य रहेको भावाभिव्यक्ति पाइन्छ । यस कवितामा प्रकृतिको प्रियपात्र, निर्माणको एक्लो गुरु विश्वकर्माको शिष्य, डकर्मी, कालिगढ, सिकर्मी, शिल्पीका रूपमा आएको ‘म’ पात्रले कर्मशील र परिश्रमी व्यक्तिलाई ध्वनित गरेको छ । कर्मशील व्यक्तिले पसिना बगाएर भोलिको सुन्दर संसार निर्माण गर्ने भएकाले तिनका पसिनाको अवमूल्यन कहिल्यै गर्नु हुन्न भन्ने भाव यस कवितामा अभिव्यञ्जित छ । डकर्मी, कालिगढ, सिकर्मी, शिल्पी सब एक भई कर्मप्रति क्रियाशील रहेमा यस संसारलाई सुन्दर बनाउन सकिन्छ भन्दै काम नगरी अरूको पसिना चुसेर उन्मत्त हुने शोषकका विरुद्धमा असिनाभैmँ बर्सिनु पर्ने स्वच्छन्दतावादी, क्रान्तिकारी–विद्रोही भावना पनि यस कवितामा मुखरित छ । कर्मवादी चिन्तनमा आधारित यस कवितामा हरेक व्यक्तिले दत्तचित्त भएर निरन्तर कर्म गरी संसारलाई सिंगारेर सुन्दर तुल्याउनु पर्ने प्रगतिशील दृष्टिकोण अभिव्यञ्जित छ ।

(३) परिवेश, उद्देश्य र दृष्टिबिन्दु

परिवेशसूचक स्थान र समयको स्पष्ट उल्लेख नभएको यस कवितालाई सार्वस्थानिक र सार्वकालिक कृति मान्नसकिन्छ । यस कविताको वातावरण कर्मशील र आशावादी खालको छ । कसैले कसैको शोषण गर्नु हुँदैन, सबैले परिश्रम गर्नुपर्छ र त्यसबाट सुन्दर संसारको निर्माण गर्न सकिन्छ भन्ने यथार्थको प्रकटीकरण यस कविताको मुख्य उद्देश्य हो । प्रथम पुरुष दृष्टिबिन्दुमा संरचित यस कवितामा कर्मशील भएमा जीवन र संसारलाई सुन्दर तुल्याउन सकिन्छ भन्ने विचार अभिव्यञ्जित छ ।

(४) भाषाशैलीय विन्यास

नव सापकोटाको ‘मदिरा होइन मेरो पसिना’ शीर्षक कवितामा सरल शब्दहरूको सहज र स्वाभाविक प्रयोग गरिएको छ । सम्बोधनात्मक शैलीमा लेखिएको यस कवितामा उपमादि अलङ्कारका साथै प्रचलित प्रकृति र समाजका बिम्ब र प्रतीकको सार्थक प्रयोग पाइन्छ । यसमा प्रयुक्त ‘सूर्य’ ले शोषक वर्गलाई तथा ‘म’ पात्रले शोषित वर्गलाई बुझाई यिनकै माध्यमबाट शोषकप्रति आक्रोश व्यक्त गरिएको छ । सरल शब्दबाट निर्मित छोटाछोटा वाक्यमा आबद्ध यो कविता भावका दृष्टिले गम्भीर प्रकृतिको छ । गहन भावलाई सरल भाषिक विन्यासबाट प्रस्तुत गरिएको यस कवितामा ‘पसिना, असिना’ जस्ता समध्वन्यात्मक शब्दहरूको प्रयोगका साथै आनुप्रासिकता र वाक्यात्मक पुनरावृत्ति एवं समानान्तरताका माध्यमबाट कवितालाई लयात्मक र सङ्गीतात्मक गुणयुक्त तुल्याइएको छ ।

(५) उपसंहार

नव सापकोटाको ‘मदिरा होइन मेरो पसिना’ कविता समाजमा विद्यमान वर्गीय विभेद तथा शोषणवृत्तिप्रति आक्रोश व्यक्त गर्दै मुक्तछन्दमा लेखिएको प्रगीतात्मक संरचनायुक्त गद्यकविता हो । प्राकृतिक र सामाजिक बिम्बप्रतीकका माध्यमबाट समाजमा प्रचलित सामन्तीवृत्ति तथा श्रमशोषणको विरोध गरिएको यस कवितामा कर्मवादी चिन्तनको प्रस्तुति पाइन्छ । कविताको मूलभावअनुरूप रहेको यस कविताको शीर्षक सामञ्जस्यमूलक, सार्थक र औचित्यपूर्ण छ । यो सुगठित संरचनाका साथ मुक्तछन्दको ढाँचामा सरल एवं सुबोध भाषाशैलीय विन्यासमा लेखिएको प्रगीतात्मक संरचनायुक्त उत्कृष्ट गद्यकविता हो ।

५. समापन

जीवनका अनुभवजन्य अनुभूतिलाई सरल र सहज भाषाशैलीय विन्यासका माध्यमबाट अभिव्यक्त गर्ने नव सापकोटा उत्तरपूर्वाञ्चलको भारतीय नेपाली कवितामा विशिष्ट कविका रूपमा चिनिन्छन् । प्रेमप्रणयमूलकता, सामाजिकता, जातीयता, मानवता, गिर्दाे मानवीय मूल्य, भारतमा प्रवासी नेपालीहरूले भोग्नुपरेका अन्याय, अत्याचार, दुराचार, पीडा, आपूmले जीवनमा भोगेका र अनुभूत गरेका अनेक सकसहरू आदिका अनुभूतिजन्य अभिव्यक्ति, नेपाली जाति, नेपाली संस्कृति र भाषासाहित्यप्रतिको प्रेमभाव, राष्ट्रियता, देशप्रेम वा जन्मभूमि भारतको महिमागान आदिलाई सरल र सुबोध भाषाशैलीय विन्यासमा प्रस्तुत गर्नु नव सापकोटाका मूलभूत काव्यप्रवृत्ति हुन् । समग्रमा यिनको कवित्व भारतीय नेपाली कविताका सन्दर्भबाट मात्र होइन सिङ्गो नेपाली कविताकै सन्दर्भबाट पनि उल्लेखनीय रहेको छ ।

This entry was posted in समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.