समीक्षा : पूर्ण राईको जय-बिजय कथा

~अज्ञात~

जय-बिजय कथाको कथाकन :-

जय-विजय पूर्ण राईद्वारा लिखित मनोवैज्ञानिक कथा हो ! यस कथाका प्रमुख पात्र लामाबाबु अनि सहायक पात्र कान्छा पिउन हुन्छ ! यो कथा लात्तेभकुण्डो खेललिएर संरचना गरिएको छ ! खेल मैदानको विचमा खेलाड़ीहरु खेलको निम्ति तयारी छन् अनि गाउँका सबै मानिसहरु खेलको मज्जालिन अोहोलिन्छ ! यसैविच लामाबाबु र कान्छा पिउन पनि आफ्नो दललाई उत्साह दिन तयारी भई वसेका छन् ! यसैबिच खेल शुरु भयो निर्णायकले लामा सिटी फुक्यो ! खेलको मनोरञ्जन साथ-साथै सबै एक अर्कामा युद्ध गरेझै अनुभव गरिरहेका छन् ! यसै बिच लामाबाबुको दलले कान्छा पिउनको दलका एकजना खेलाड़ीलाई ढकेल्छ यसैविच कान्छा पिउन कराउँदछ :-

” ऐ ! ऐ ! घचेट्छस् ? त्यसलाई निकालिदे ,निकालिदे ! “

लामाबाबुले एसो हेर्दा आफ्नै डफ्तरको कान्छा पिउन पो रहेछ ! यो वाक्य सुनेर लाम्बाबु क्रोधित हुन्छ ! त्यसरी खेल संचालन भइरहेको छ ! यसरी फेरी लामाबाबुको पक्षको खेलाड़ी र विपक्ष खेलाड़ीबिच गोली खोसा-खोसहुदा दुवै लड़े यसैमा आफ्ना-आफ्नै पक्षको खिलाफ गालीहरु बर्साउन थाले ! यसैविच कान्छा पिउन कराए :-

” ऐ ! खेल्नु सक्तैनस् घचेट्छस् ? बरु निक्लि हौ ! “

यो सुनेर लामाबाबुलाई घाउँमा नुन छर्केको अनुभव भयो र लामाबाबु पनि कराउँछ –

ऐ मुख छ भन्दैमा जतसुकै नबोल,तैले निक्लि भन्दा निक्लिन्छ र ,नाच्न जान्दैन आँगन टेड़ो !

कान्छा पिउनले लामाबाबुको कुरालाई भन्दा पनि खेलमा उत्तेजित हुँदै भन्छ –

ऐ ऐ राम्रो खेल !

यसरी कान्छा पिउनले खेलको जोशमा आफ्नै डफ्तरका लामाबाबुसित मुख लागे झै भयो ! कान्छा पिउनले खेलको जोशमा लामाबाबुको दलहरुप्रति नराम्रो शब्द वा गाली गरेकोमा लामाबाबुले कान्छालाई कराउछन् !

ए कान्छा ! चुप लाग्छस् कि निकालिदेउँ यहाँबाट कसको चम्पा हो त्यो प्रमाण दिन्छस् ? गधा अर्थ न वर्थ कराउछस् !

खेल अन्त हुन्छ विजय लामाबाबुको दलको हुन्छ तर लामाबाबु विजयमा भन्दापनि कान्छा पिउनसंग बाझेकोमा मन खिन्न पारेर घर पुग्छन् !

उता कान्छा पिउन बड़ा साहेबसंग बाझेकोमा साह्रै वेस्वाद मानि घर पुग्छन् ! स्वास्नीले त्यहि माथि अझै लोग्नेलाई वा कान्छा पिउनलाई कराउछन् उता लामाबाबुको स्वास्नीले पनि कराउछन् अझै मानसिक चाप बड़ाई दिन्छन् !

भोलि भयो लामाबाबु दफ्तरमा पुग्यो तर कान्छा पिउन आएन कसैको हातमा पत्र पठाएको रहेछ कान्छा पिउनले बिदा मागेको रहेछ ! यो कुराले त अझै लामाबाबुको पश्चातापको ज्वाला बड़ो ! लामाबाबुले कान्छा पिउनलाई भेटन जाने निर्णय गर्यो उसले आधा किलो मिठाई किनेर घर ल्यायो ! कान्छा पिउनले भेटन भनि हिड़ेको लामाबाबु गेटमा मात्र पुकेको थियो कान्छा पिउन गेटमाई आईपुगेछ ! कान्छा पिउन अतालियो र कान्छाले भन्यो ..

” सर ! माफ गर्नुहोस भूल…….!

भन्छ लामाबाबुले तँ पो नरिसान भन्दै कान्छालाई भन्छ र दुवै जना जान्छ घरभित्र ! लामाबाबुले मिठाईको पोको थमाई दिन्छ ! यसरी वात-चित गर्दा -गर्दै दुवैजनाको मनको पश्चातापको आगो निभेर जान्छ !

पूर्ण राईका परिचय / कथाकारीता :-

‘‘जीवन कथा हो। हरक्षण कथा हो। यसैले कथामा जीवन हुनु नितान्त आवश्यक छ। हाम्रो विश्व ब्रह्माण्ड कथाभित्र अटाउनुपर्छ भने आफ्नो माटोको गन्ध त्यहाँ हुनुपर्छ,”यसरीकथाबारे आफ्नो विचार प्रकट गर्ने कथाकार पूर्ण राई नेपाली साहित्यका महान् कथाशिल्पी हुन्। जीवनलाई नै कथा ठान्ने कथाकार पूर्ण राईले जीवनका साना साना घटनाहरूलाई पनि अति संवेदनका साथ प्रस्तुत गरेका पाइन्छ।

३जुन १९४८ कादिन माता देवीमाया राई र पिता एस. डी. राईको सुपुत्रको रूपमा कालेबुङ महकुमाको मन्सोङ कुलैनबारीमा जन्मेका पूर्ण राई मूलतः कथाकारकै रूपमा परिचित छन्। उनको जन्म मन्सोङ कुलैनबारीमा भए पनि बाल्यकाल भने मङ्पूमा बितेको हो। यसै सम्बन्धमा कवि मोहन ठकुरी भन्छन् – “मङ्पू त पूर्णको प्रिय ठाउँ। अनेक कुराले उनी मङ्पूसित सम्बन्धित छन्। यहीँ पढेका, उनका किशोर र युवाकाल यहीँ बितेका, उनको पहिलो प्रेम यहीँ भएको, उनको साहित्यिक यात्रा यहीँबाट सुरु भएको।पूर्ण राई दस एघार वर्षको हुँदादेखि आफ्नो परिवारमा सामेल गराएर उच्च शिक्षा प्रदान गर्नुहुने थापा परिवारका पदम सर यहीँ छन्। पदम थापा सर त पूर्णको धर्मपिता, पूर्णलाई जेठा छोरा मान्छन् उनले।” (अविस्मृत क्षणहरू पृ.सं. ६६)।

मन्सोङ कुलैन बगानमा जन्मेर मङ्पूमा हुर्केका पूर्ण राईले आफ्नो कर्मक्षेत्र भने सिक्किमलाई बनाएका थिए। उनी सिक्किम सरकारको तत्कालीन शिक्षा विभागमा २० वर्षसम्म पाठ्यपुस्तक शाखामा कार्यरत रहेर सेवा कार्य गरेका थिए। उनले सिक्किमलाई कर्म क्षेत्र बनाउन अघि मामरिङ सिटोङको एउटा बिद्यालय (सम्भवत पञ्चवती हाई स्कूल) मा केही वर्ष शिक्षण पेशामा संलग्न रहेर समाजमा शिक्षा दिने कार्य गरेका थिए। यद्यपी उनले शिक्षण पेशालाई धेरैवर्षसम्म निरन्तरता दिएनन्। उनले शिक्षण पेशा त्यागे पछि पुन मङ्पूमा मौरी पालन कार्य गरेको कवि मोहन ठकुरी भन्नुहुन्छ। “पूर्ण राई सिक्किम जान अघि मामरिङ सिटोङमा शिक्षक भएर कार्य गरे। त्यसपछी मङ्पूमा फर्केर मौरी पालनको काम गरेका हुन। सोही समय पूर्णलाई पालन पोषण र शिक्षा दिक्षा दिने पदम थापा सरले मङ्पू एरिया लाईबेरीमा लाईबेरियनको पदमा कार्य लगाई दिएका थिए। उनले एरिया लाईबेरीमा काम गर्न थालेपछि साहित्यिक पुस्तकहरू धेरै पढ्न थाले। त्यसै समय देखि पूर्णले राम्रो कथाहरु लेख्न थालेका हुन्” कवि मोहन ठकुरी पुराना बितेका दिनहरुको सम्झना गर्दै भन्नुहुन्छ। उनको औपचारिक शिक्षा कला सङ्कायमा उत्तर बङ्गाल विश्व विद्यालयबाट स्नातक तहसम्मको रहेको थाहा लाग्दछ।

कथाकार पूर्ण राई सानै उमेरदेखि साहित्य क्षेत्रमा चासो राख्ने गर्दथे। सानै उमेरदेखि साहित्यप्रति रुचि राख्ने राईको साहित्यिक यात्रा मङ्पूबाट सुरु भएको थाह लागे पनि उनको भत्केको घर कथालाई पहिलो प्रकाशित कथा मानिएको छ। उक्त कथा सन १९६५ मा दार्जिलिङबाट सुवास घिसिङको सम्पादनमा निस्किने पत्रिका धुँवा मा प्रकाशित भएको थियो।

सामान्य लाग्ने विषयवस्तुलाई टिपेर कथाकार पूर्ण राईले असाधारण कथाहरू लेखेका छन्। तिनका कथाहरूमा मानवीय संवेदनाका सूक्ष्मतम तहहरूलाई अति कलात्मक अनि हृदयस्पर्शीरूपमा प्रस्तुत गरेका पाउँछौँ। जसमध्ये पासाङहरूका कथा उल्लेखनीय छ। उनले आफ्ना कथाहरूमा समाजको सजीव चरित्र चित्रण गरेको पाइन्छ। समाजको यथार्थ स्थितिलाई कथाका पात्रहरूकामाध्यमबाट बोल्न लगाउनु कथाकार पूर्ण राईको कथागत विशेषता हो। उनका कथाहरूमा मनोविज्ञानको विशिष्ट प्रयोग भएको कुरालाई डा. घनश्याम नेपालले आफ्नो कृतिनेपाली साहित्यको परिचयात्मक इतिहास मा उल्लेख गरेका छन् (पृ. स.२१४)। कथाकार पूर्ण राईबारे आफ्नो विचार प्रकट गर्दै डा. घनश्याम नेपाल लेख्छन्– “नेपाली कथाको वस्तु जगत् कतिसम्म बहुआयमिक र विविधापूर्ण रहनसकेको छ भन्ने कुरा विचार गरेर स्रष्टाहरूको दृष्टि नपरेका विषयबारे लेख्नुपर्ने आवश्यकता अनुभव गरी त्यसतर्फ कलम चलाउने कथाकरहररूमध्ये एकजना अग्रणी हुन् पूर्ण राई” (चरित्र – कथा विशेषाङ्क पृ. सं.४३)।

कथाकार पूर्ण राईका कथाहरूमा हामी लोक तत्त्व पनि लछेप्रै प्राप्त गर्न सक्छौँ। तिनले आफ्ना कथाहरूमा लोकव्यवहार र लोकविश्वासका कुराहरू क्रमैले उखान, बाग्धारा, लोक उपचारका विधि, लोक सांस्कृतिक चेतना आदिलाई कौशलगत रूपमा प्रस्तुत गरेका छन्। यसै सन्दर्भमा पुष्कर पराजुली लेख्छन् – “भारतेली भूमिअन्तर्गत सिक्किम र दार्जिलिङका गाउँ पाहाडमा आबाद लोकजीवनको चित्र उनका कथामा देख्न पाइन्छ। यही आञ्चलिकतामा लोक जीवनका परम्परागत र व्यवहारगत परिचिति नै उनका कथामा पाइने लोकतत्त्वगत वैशिष्ट्य पनि हो” (अभिज्ञान अङ्क २ पृ. सं. )। उनले आफ्ना कथाकै माध्यमबाट लोक-सांस्कृतिक चेतनाका कुराहरूको पनि उठान गरेका छन्। राईले सांस्कृतिक चेतनाका कुराहिजोका कुराहरू शीर्षक कथामा यसरी लेखेका छन् – “हाम्रो संस्कृतिमा खिया परिसक्यो, सबै पश्चिमे भइसके। दौरा सुरुवाल लगाए पाखे देखिन्छ, टाई लगाए सभ्य भनिन्छ। दासत्व हामीबाट भागेको छैन”।

सामाजिक विषयवस्तुलाई टिपेर समाजको स्तरअनुसार त्यहीँको भाषा कथाका पात्रहरूको मुखबाट बोल्न लगाई पाठकहरूका मनलाई ठ्याक्क छुने कथा लेख्ने नेपाली साहित्यका कथाकार पूर्ण राईका प्रकाशित कथासङ्ग्रहहरू निम्नानुसार छन्–

१.सिमलको भुँवा (कथासङ्ग्रह)–१९७२
2. गल्ली गल्ली क्रान्तिको उद्घोषणा (कथासङ्ग्रह) -१९८५
3.फूल झरेको पत्रदल (कथा सङ्रग्रह)- १९९३
4. जय बिजय (कथा सङ्ग्रह) –१९९८
5. पूर्ण राईका लघुकथाहरू अनि
6. सिन्कोना खेती (पुराना कुराहरू)

नेपाली साहित्यलाई माया गरेर साहित्यको क्षेत्रमा बहुमूल्य योगदान दिने पूर्ण राई यस भौतिक संसारबाट सन २००१ मा सधैँका निम्ति बिलाएर गए। आज उनी हाम्रो समाजमा नभए पनि तिनले दिएका बहुमूल्य कृतिहरू हामीमाझ छन् अनि उक्त कृतिहरूमा नै बाँचेका छन् पूर्ण राई।

कथाकारका रूपमा पूर्ण राई – प्रवृतिगत अध्ययन

नेपाली साहित्यमा पूर्ण राईलाई एक सफल कथाकारका रूपमा चिनिन्छ। नेपाली कथा क्षेत्रमा उनको नाम उज्ज्वल देखिन्छ। उनी आफ्नो समयको युगसचेत भई पाठकका सामु एक सफल र लोकप्रिय कथाकार रूपमा परिचित छन् कथाका तीनवटा कथासंग्रह लिएर नेपाली साहित्यमा सदा जीवित छन्। उको जन्म कालिम्पोङको मन्सोङमा भएको थियो। आफ्नो जीवन यात्राका क्रममा उनी सिक्किममा शिक्षा विभागको पाठ्य पुस्तक अधिकारी भएका थिए। उनको निधन सन् २००३ मा भएको थियो। उनी सन् १९६५ सालमा दार्जिलिङको धुँवा पत्रिकामा सर्वप्रथम नेपाली कथामा देखा परेका थिए। सन् १९७२ मा सर्वप्रथम उनको सिमलको भुवा कथासङ्ग्रह प्रकाशित भएको थियो. उनकै अनुसार उक्त कथासङ्ग्रह अल्लरे बुध्दिको सारै कलिलो उपज थियो। त्यसको लगत्तै पछि नाङ्गो धरती कथासङ्ग्रह तयारी पारेर प्रकाशकलाई दिएका थिए त बनारसमा पाण्डुलिपि हराएको थियो (पूर्ण राई फूल झरेका पत्रदल, गान्तोक आजको सिक्किम प्रकाशन, १९७३)।

सानु लामाका अनुसार पूर्ण राई एक सशक्त कथाकार हुन्। उनी जस्तो सुगमतासित कथामा चित्र कोर्छन्, त्यस्तै सुललित ढङ्गमा कवितामा प्राण भर्छन्। आफुजस्तै लेखेका कथामा हृदय छुने सरलता पाइन्छ। पात्र-पात्राहरूलाई बोल्न लगाइँदैन कथामा तर सोचिराखेका कुरा बोलिदिन्छन्। कथा आफ्नै जस्ता लाग्छ। पूर्ण राई यथार्थवादी कथाकार हुन्। उनका कथामा सामाजिक पक्षका यथार्थलाई नजिकैबाट केलाइएको छ। जीवनमा अनेक कुरा देखिन्छन्, भोगिन्छन्, सुनिन्छन्, यी सबैलाई कथाकारले कथामा समेटेका छन्। जीवन र जगतका यथार्थलाई कथाकार नजिकमा पुग्न सकेका छन्। उनी समाजको सुक्ष्म निरीक्षक हुन् र आफ्ना कथामा समाजको विभिन्न अवस्थाको चित्रण-वर्णन पाइन्छ। समाजका नदेखिएका, नकेलाइएका कुराहरूलाई उनले आफ्ना कथामा समेटेका छन्।

पूर्ण राईका कथामा मूलरूपमा करूण, नैराश्यको प्रबलता, वैचारिकताको सघनता, युगचेतना, आञ्चलिकता, शिल्प-शैलीगत सचेतता, कथ्य भाषा प्रयोग, अकथात्मक प्रस्तुति आदि प्रव़त्तिहरू पाइन्छन्। यद्यपि मूल रूपमा उनका कथाहरूलाई केलाउँदा
१. विसङ्गतिवाद, २. सामाजिक यथार्थवाद, ३. मनोविज्ञानपरक, ४. आञ्चलिकपरक आदि प्रवृत्तिहरू देख्न पाउँछौं।

१. विसङ्तिवादी चेतना- पूर्ण राईका प्रायः जसो कथाहरू विसङ्तिवादी चेतनामा आधारित छन्। पात्रहरू कुनै न कुनै रीतले विसङ्गतिग्रस्त छन्।

पासाङहरूका कथामा हाम्रा समाजका निम्न वेतनभोगी व्यक्तिहरूको रेखाचित्र खिँचिएको छ। अफिसको एक कर्मचारी पासाङ व्यक्ति बाहिरी रूपमा हँसी-खुशी र आनन्दित देखिन्छ। तर उसको भित्री पीडा अर्कै छ। उसकी बाह्र-चौधकी किशोरी छोरी बिरामी भएर मर्छे, उसकी स्वास्नी पनि रोगी छ। उ आफु रोएको अरूलाई देखाउँदैन तर भित्रभित्रै पीडित छ। उसले अन्य अफिसका अन्य पासाङ नाम गरेका कर्मचारीहरू पनि त्यसरी नै पीडित छन्। मानिसलाई दुःख परिरहन्छ र पासाङले अरूका दुःख पीड़ालाई बुझेर देखेर आफ्नो चित्त बुझाउँछ र कार्यलयमा साविकझैं हाँस्छ, हँसाउँछ र रमाइलो मान्छ। जीवन त भोग्नैपर्छ, बाँचुन्जेल केही न केही सहनै पर्छ भन्ने दर्शनलाई कथामा अभिव्यक्ति गरिएको छ। हामी सबै नै उही कर्मचारी पासाङ झैं छौं । संसार नै यस्तै दुःखहरूको जञ्जाल हो भन्ने भाव व्यक्त गरिएको छ। ल्याण्ड रेभेन्यूको पासाङ, ब्याङ्कको पासाङ, फरेस्ट विभागको पासाङहरू सबै नै कुनै न कुनै व्यथामा पीडित छन्। पीडा नै जीवनको अभिन्न अङ्ग बनेको छ।

निर्णय कथामा बूढा मानिसमा फूटबल खेल हेर्ने जुन तीब्र लालसा छ, त्यो नैसर्गिक बनेको छ। आफ्नो जवानीमा उनी आफैं खेलाडी हुनाले त्यो खेल उनको निम्ति नशा लागेझैं बनेको छ। अन्तमा फूटबल फाइनल हेर्न नजाने निर्णय गर्नु एउटा अप्रत्याशित घटना बनेको छ। उनी फूटबल हेर्न नजानुमा आफ्नो पराजय ठाने पनि उसले नजाने नै निर्णय गर्छ। गाउँले फूटबल प्रतियोगितामा उसको रूचि उभित्रको सुषुप्त अचेतन अवस्थामा बसेको खेलको लालसा विद्यमान रहेको छ। उनका एकेक कथामा नै जीवनका जटील कुराहरूको अङ्कन छ। कतै गरीबीले सताएको छ कतै प्रेमको पीडा छ। संसारको अनेक पीडा, दुःखमा पात्रहरू जेलिएका छन्। पात्रहरूमा नैराश्य भावको प्रधानता पाइन्छ।

उनका कथामा जीवनका नैराश्य पक्ष देखाइएको छ। सत्तरी र अस्सीको दशकको समयमा दार्जिलिङ सिक्किममा विशेषगरी युवा समाजमा व्याप्त असन्तुष्टी, बेरोजगारीपन, विभिनिन किसिमका समस्याका जङ्जाललाई उनका कथाहरूमा प्रतिविम्बन गरिएको पाइन्छ। उनका प्रायः प्रत्येक पात्र नै नैराश्यको शिकार बनेका छन्। जीवनमा उनीहरू दुःखित छन्, कुनै न कुनै पक्षबाट पीडित छन्। यस किसिमले हेर्दा उनका कथाहरूको भयवादी सिद्धान्तका आधारमा विश्लेषण गर्न सकिन्छ। कुनै कारणवस पात्रहरू भयबाट आक्रान्त छन्। गरीबी, अमानवता आदिले ग्रस्त छन्।

पूर्ण राईका कथामा सिक्किम –

दार्जिलिङे जनजीवनको सर्वेक्षण पाइन्छ। यहाँको जनजीवनलाई नजिकैबाट हेरिएको छ। विशेष गरी सत्तरको दशकमा दार्जिलिङ सिक्किमतिर उद्योग धन्धाको घोर न्यूनताबाट उब्जेको शिक्षित बेरोजगारी समस्या, सरकारी नौकरी प्राप्त नहुँदाको पीडा, अर्कापट्टि गोर्खाली-नेपालीहरूको जातीय अस्तित्वको पीडा आदिबाट उब्जेको मानसिकता नै पूर्ण राईको कथागत मूल स्वर सन्धान हो। यस हिसाबले उनी सत्तरी र अस्सीको दशकका दार्जिलिभ-सिक्किमेली नेपाली जनजीवनका प्रतिनिधि कथाकार हुन्।
“जीवन कथा हो। हरक्षण कथा हो। यसैले कथामा जीवन हुनु नितान्त आवश्यक छ। हाम्रो विश्व ब्रह्माण्ड कथाभित्र अटाउँनु पर्छ भने आफ्नो माटो गन्ध त्यहॉं हुनुपर्छ।’ अथार्त राई आफ्नै समाज भित्र रहेर कथा रच्ने अनि आफ्नै समाजको कथा रचने गर्छन्। जीवनका स-साना घटना प्रसङ्गलाई सुक्ष्म सम्वेदनाको लेपनबाट गम्भीर सार्न्दभिक्ता प्रदान गर्नु कथागत विशेषता रहेको पाइन्छ। उनका कथा यात्रामा चारवटा चर्चित तथा लोकप्रिय कथा सङ्ग्रह प्रकाशित छन्।

1. सिमलको भुँवा- 1972
2. गल्ली गल्ली क्रॉंन्तीको उत्घोषणा -1985
3. फूल झरेको पत्रदल- 1993 र
4. जय बिजय- 1998

शुरुका कथाहरू त्यती बौद्धिक नभएर प्रेम प्रसङ्ग भावनात्मक प्रसङ्ग साथै अल्लारेपन जोसले भरिएको भए तापनि उत्तरारद्धका कथाहरू केही गम्भीर तथा यर्थाथ अनुभवहरूको छविले भरिएका पाइन्छन्। “सिमलको भुवा’ सङ्ग्रहका कथाहरू प्राय भावनात्मक तथा प्रेम प्रसङ्ग अनि अल्लारेपनले भरिभराउ पाइन्छन्। तरै पनि कतिपय कथाहरू जस्तै दुइ वक्र रेखा, 24 घण्टाको एउटा मान्छे, खोक्रो आवाजहरू र तरङ्गहीन तरङ्ग आदिले भने राइको कथाकारितामा देखिने लक्षण स्पष्ट पार्दछ।

सिमलको भुँवासङ्ग्रहका कथाहरू विषय डा. जश योञ्जन “प्यासी’ लेख्छन्- यस सङ्ग्रहका कथाहरूमा कथ्य र विन्यास प्राथमिक चरणका भएकाले त्यती प्रभावकारी छैनन्। कथाकार कथ्याधारहरू मुलतः माया प्रीति, इच्छा आकॉंक्षा, छटपट्टि, उकुश मुकुश, सन्यास नैराश्य, समस्या, विरक्ति कुण्ठा र आवेश नै देखिन्छन्।

राईका कथाहरू पठनीय छन्। सामाजिक परिवेश ग्रामिण तथा नगर दुवै जीवनशैलीलै समेटेर कथा लेख्ने राईले पाठकहरूको बौद्धिक स्तरलाई क्रमगत राखेर कथाहरू लेखेको आभास हुन्छ। वास्तवमा पूर्ण राईका कथाहरूले पाठकको बुद्धि र हृदय दुवैलाई छोएर बसेको जस्तो लाग्नु स्वभाविक हो। उनको पहिलो कथा सङ्ग्रहका कथाहरू समाजका सबै किसिमका पाठकलाई स्पर्श गर्न सक्नेछन्। गल्ली गल्ली क्रान्ति उद्घोषणा पूर्ण राईको दोस्रो कथा सङ्ग्रह हो। पहिलो संकलनमा देखिएका कमजोरीहरूलाई निक्कै ढाक छोप गर्ने काम दोस्रो सङ्कलनले गरेको बुझिन्छ। उक्त सङ्ग्रहबारे शुरुमा राधा कृष्ण लेख्छन्- “गल्ली गल्ली क्रान्तिको उद्घोषणामा यस युगको बोल, अघिको युगको इतिहास र पछि आउने युगको आभास लिएर नेपाली संसार हेर्न आइरहेछ।’ यस भनाईले पूर्ण राईको कथाहरूमा भएका युगबोध एवं समय सापेक्षताको संकेत दिँद छ।

यस सङग्रहका कतिपय कथाहरू जस्तै सूचना जरूरी सूचना, आजकल ऊ यहॉं पनि छैन, देखेको यो कथा, जय बिजय योर्स फेथफुल्ली, गल्ली गल्ली क्रान्तिको उद्घोषणा- हरू राईका स्तरीय कथाहरूको श्रृङ्खलामा राख्न सुहाउने किसिमका छन्। उनका यी कथाहरूमा आजको समय, क्षणभङ्गुर मानव जीवन, व्यवस्थाप्रतिको आक्रोश, यौनजन्य समस्या, कुण्ठा जस्ता कुराहरूले पोलेका नेपाली समाजको चित्रण पाइन्छन्। आजको व्यवस्था, राजनैतिक परिवेश अनि आर्थिक समस्याले पोलेका राईका पात्रहरू यसरी आक्रोस व्यक्त गर्छन्- हामीलाई भाषण होइन, राशन चाहन्छ।

उनका कथाहरू सत्य बोल, राम्रो सोँच, ठीक गर भन्ने उपदेशात्मक विचारहरूले ओतप्रोत भएका पाइन्छन्। उनका कथा यात्रालाई नियाल्दा कथाहरू क्रमशः सिँडी चढे झैं एकपछि अर्को अनि अर्कोपछि फेरि अर्को अझ राम्रा र स्तरीय भएर आउँदछन्। शुरुमा प्रेमप्रसङ्ग तथा भावनात्मक आवेगका कथाहरू “सिमलको भुवा’ कथा सङ्ग्रहमा पाइन्छ भने “जय विजय’सम्म आइपुग्दा राईले समाजका विभिन्न पक्षलाई समेट्दै पात्रहरूको मनोभावहरूमा केलाउन सफल भएका देखिन्छन्।

पूर्ण राईको तेस्रो कथा सङ्ग्रह “फूल झरेको पत्रदल’का प्रायः कथाहरू मनोवैज्ञानिक किसिमका छन्। पात्रहरूका अन्तर्मनको कुण्ठा, यौनजन्य विषय, इच्छा- आकॉंक्षाहरूलाई राईले अध्ययन गर्ने प्रयास गरेका छन्। यसले गर्दा राईका कथा प्रवृत्ति विश्वेश्वरप्रसाद कोइरालाका कथाहरूको जस्तो लाग्नु स्वभाविक हो। पात्रद्वारा प्रयोग गरेको भाषा, रहन- सहन साथै कथाको परिवेशले गर्दा उनका पात्रहरू नेपाली समाजको कुन स्तरका पात्रहरू हुन खुट्याउन साह्रो भने हुँदैन। उनका कथाहरूमा नेपाली समाजका पासाङहरू हॉंस्छन्, आमाहरू व्यस्त रहन्छन्, आफ्नै भन्नेहरूको उन्नतिमा जल्छन् अनि जलाउँछन्। सिमलको भुवा कथाको प्रकाश, आजकल ऊ यहॉं पनि छैन-को मदन, आघात जस्तो एउटा आघात-को मेजर, सुमानसिह राई जस्ता पल्टनेहरूको मनोवैज्ञानिक अध्ययन कथाहरूमा पाइन्छन्। राईको कथा बनोट विषय जस योञ्जन “प्यासी’ यसो लेख्छन्-राईका कथाहरूमा मनोवैज्ञानिक पुट पाइन्छ। तर तन्तुको तनाइ र बुनाइका रूप आकृति भने भिन्न भिन्नै पाइन्छन्।

फूल झरेको पत्रदल- कथा सङ्ग्रहमा – मेरो दुई शब्द, लेख्दै असीत राई पूर्ण राई र उनका कथा विषय यसो लेख्छन् – श्री राई एक सशक्त हस्ताक्षर आधुनिक नेपाली कता साहित्यमा। जस्तो सुगमतासित कथामा चित्र कोर्नु हुन्छ उस्तै सुललित ढङ्गमा कवितामा प्राण छर्नुहुन्छ। आफू जस्तै लेखेको कथामा सरलता पाइन्छ- हृदय छुने। पात्र- पात्राहरूलाई बोल्न लगाउँदैन कथामा तर सोचिराखेका कुरा बोली दिन्छन्। कथा आफ्नै जस्तो लाग्छ।

त्यस्तै जस योञ्जन “प्यासी’ पूर्ण राईका कथाहरू केलाउँदै लेख्छन्- सम्भाव्यता मात्र पक्रेर पनि मानव अन्तर्दशा, अन्तः स्थिति र अन्तर्वेग संवेगहरूलाई भावानुकुलता साथ यतिका कथ्य संयोग र कथ्य स्वरूप दिनसक्नु चाही कथाकार पूर्ण राईका विशेषता नै पत्याउनु पर्ने देखिन्छ। राईले आफ्ना कथाहरूमा मूलतः मानव जीवनको सॉंचो छविलाई कथामा उत्तार्ने कोशिस गरेका छन्। कुनै विषयलाई टिपेर तिनका बाहिरी जगतको चित्रण वर्णनलाई कथाको विषय क्षेत्र बनाए तापनि संवेदना र मनोविम्बको उद्घाटन नै चूरो बनेको देखिन्छ पूर्ण राईका कथामा। पासाङहरूको कथा र टिस्टा रङ्गीतको अर्को एउटा कथामा पूर्ण राईको कौशल मान्छेका संवेदनाको तह- तहलाई पल्टाएर छुन सक्नुमा छ। सदैं हॉंसिरहने, अफिसको चौथो दर्जाको कर्माचारी पासाङले बुद्ध भगवानसमक्ष गुनासो पोख्दा पनि उसलाई लज्जा अनुभव भएको प्रसङ्गलाई टिप्न सक्ने पूर्ण राईले दाम्पत्य जीवनको उत्तरकालतिर पति पत्नीबीच भएको हलुको भनावैरीमा अन्तर्भावन अति कुशलताका साथ गरेका छन्।

राईका कथाहरूमा फ्रायडीय मनोविज्ञानको प्रयोग पनि भएको कुरा विद्वानहरू स्वीकार्दछन्। उनका – फूल झरेको पत्रदल, पासाङहरूको कता, मे आई कमइन? आदि कताहरूमा पात्रहरूको कुण्ठित मनोभव, इच्छा- आकॉंक्षा, अभिलाषा तथा चाहनाहरूको एउटा अध्ययन पाइन्छन्। जसमा उनले फ्रायडीय मनोवैज्ञानिक सिद्धान्तलाई अङ्गालेको भान हुँदछ। तर यी कथाहरू विषय डा. घनश्याम नेपालले- नेपाली साहित्यको “परिचयात्मक इतिहास’मा बेग्लै मत व्यक्त गरेको पाइन्छ। उनी लेख्छन्- कथामा मनोवैज्ञानिकताको शिष्ट प्रयोग छ तापनि, कोइराला, भिक्षु, गोठालेको परम्पराका सापेक्षतामा हेर्दा यी कथाहरू रूपनारायण, मैनाली, इन्द्र बहादुर राईको कथा धारासित धेर खाप खाने देखिन्छन्।

पूर्ण राईका कतिपय कथाहरूलाई बुझ्न निक्कै गम्नु पर्ने भए तापनि प्रायः कथाहरू सरल, सजिला किसिमका साथै पाठकलाई मन पर्ने किसिमका छन्। कथाहरूको बीच-बीचमा अनुप्रासीय वाक्यहरूको प्रयोग, गजल तथा शेरहरूको प्रयोगले झण्डै हिन्दी कथाहरू जस्ता लाग्ने उनका कथाहरू नेपाली खताकार रूपनारायण सिंह र गुरूप्रसाद मैनालीसित प्रभावित जस्तो लाग्नु स्वभाविकै हो।

उनका पात्रहरू स्थानीय भाषामा बोल्छन्। उनका अशिक्षित बाहेक शिक्षित पात्रहरू पनि स्थानीय भाषा एवं परिवेश अनुसार भाषा बोल्दछन्। यसलाई कथाकारको कमजोरी नठानेर कटुसत्यको उद्घाटन गर्ने आँट हो भन्न सकिन्छ। उनका साधारण पात्रहरू यस्तो बोल्ठन्-कम दुक्ख गरेना बाबुनी, रोटमा काम गऱ्यो, क्षगेरेफमा कॉं-कॉं पुग्यो, माछा पनि माऱ्यो, बएना…। -(पासाङहरूको कथा)

पूर्ण राईका कतिपय कथाहरूका शीर्षक नै प्रतीकात्मक अनि ब्यङ्ग्यात्मक हुन्छन्, जासलाई उनको कथाकारिताको अर्को ठूलो विशेषता मान्न सकिन्छ। कथाको शीर्षकबाट नै थुप्रै कुरा भन्न सक्ने राईले नेपाली भाषा मात्र नभएर अङ्ग्रेजी, हिन्दी, बङ्ला आदि भाषाका शब्दहरूको प्रयोग सक्दो गरेका छन्। जसले गर्दा भाषिक कमजोरी उनमा देखिनु स्वभाविक हो। वास्तवमा त्यसताक लेखकहरू प्रायः हिन्दी तथा बङ्ला साहित्यद्वारा प्रभावित भएर नै राईमा पनि त्यसतो लक्षण देखा परेको कुरा पनि स्वीकार्य छ। राई बाहेक नेपाली साहित्यका रूपनारायण सिंह, इन्द्र सुन्दास, शिवकुमार राई अनि इन्द्रबहादुर राई जस्ता कथाकारहरूमा पनि यस्ता भाषिक प्रयोग पाइन्छ। राईका कथाहरू आमाको चिट्ठी आमालाई, दार्जीलिङको चिट्ठी, पेन-पाल, लेख्नुपर्ने एउटा प्रेम-पत्र आदि कथाहरू पत्रात्मक शैलिमा रचिएका प्रमुख कथाहरू हुन्।

निष्कर्षमाः पूर्ण राईलाई विशेष सामाजिक यथार्थवाजी, मनोवैज्ञानिक साथै प्रगतिवादी प्रवृत्ति अँगाल्ने कथाकारको रूपमा स्वीकार्न सकिन्छ। उनका कथाहरू विषय बलराम पाण्डे लेख्छन्- उनका कथाहरूले आधुनिकता, विविधता, सामाजिकता, यथार्थोन्मुख बौद्धिकता र नयॉं परिपाटीका आग्रहलाई ग्रहण गरेको पाइन्छ।

यसरी हेर्दा भारतीय कथा साहित्यमा स्व. ङ्ला, लिम्बू तथा विभिन्न भाषामामा अनुदित भइसकेकाले पनि उनका कथाकार पूर्ण राईको स्थान जल्दो-बल्दो छ। उनलाई भारतका कथाकारहरू गुप्त प्रधान, आर्य लामिछाने, सानु लामा, मोहन ठकुरी, जयवीर सुब्बा जस्ताका मालामा गुँथेर राख्न सकिन्छ। उनका थुप्रै कथाहरू हिन्दी, बकथाकारिताको राम्रो पक्षको आभाष गर्न सकिन्छ।

के तपाईंलाई यस् लेखको लेखकका बारेमा थाहा छ ? कृपया kritisangraha@gmail.com मा सूचित गरिदिनुहुन बिनम्र अनुरोध छ ।
– साहित्य सङ्ग्रहालय

(स्रोत : फेसबुकबाट सभार)

This entry was posted in समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.