लघुकथा : राष्ट्रिय चिन्ता

~आर.सी. रिजाल~

यस साउनको अविरल वर्षाले आफ्नो जिल्लामा केकति क्षति भयो, सोबारे बुझ्न म मेरा मित्र इन्जिनियर देशभक्त शर्माकहाँ पुगेँ।

फरासिलो स्वभावका धनी मित्र कोठाभित्र दारीसमेत नखौरी जिङरिङ्ग परेको देख्दा बाढीपहिराले राष्ट्रिय सम्पत्ति नोक्सान पु-याएको कारण चिन्ताले सताएको हो भन्ने मलाई पूर्णविश्वास भयो। मैले मित्रलाई सान्त्वना दिँदै भनेँ- ‘पीर नगर देशभक्त, तिम्रा कारणले महामारी आएको हैन, राष्ट्रिय चिन्ता हुनु स्वाभाविकै हो। त्यसैले आफूलाई सम्हाल, हृदय कठोर पार। मनुष्य चोला हो । यस्ता समस्यासँग जुध्नैपर्छ।’

मित्रले भित्रैदेखिको कुरा ओकले- ‘प्रकृतिले मलाई किन ठग्यो ? मेरो कार्यक्षेत्रमा न पहिरो आ’छ न एक मिटर सडक कटान भा’छ, उता लक्ष्मीभक्त इन्जिनियरको कार्यक्षेत्रमा हेर्नुस् त ! एक करोडको भन्दा बढीको सडक क्षति भएको छ। कस्तो बलियो पुर्पुरो त्यसको ?’

-हेटौँडा-4, मकवानपुर

(स्रोत  : साहित्यसरिता – अङ्क २ वर्ष-२ साउन-भदौ-असोज-२०६२)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.