~टीका सुवेदी~
दृश्य एक
सहरको अफिस जाने समय। व्यस्त सडकमा एउटा दुर्घटना हुन्छ। मोटरसाइकल-चालक एउटा युवक र ठक्कर लागेकी एउटी युवती दुवै अत्यन्त नराम्रोसँग घाइते हुन्छन्। हल्लाखल्ला मच्चिन्छ, भीड जम्मा हुन्छ। पुलिसहरू आउँछन्, घटनाको जायजा लिन्छन् र दुवै घाइतेहरूलाई नजिकैको ‘नर्सिङ होम’ मा भर्ना गराईदिन्छन्। संयोग, दुवै एउटै वार्डको एउटै कोठामा भर्ना हुन पुग्छन्।
दृश्य दुई
नर्सिङ होमको कम्पाउन्डमा दुइटा ट्याक्सी रोकिन्छन्। एउटाबाट एक युवक र अर्कोबाट एउटी युवती ओर्लन्छन्। उनीहरूका आँखा एकै छिनलाई चार हुन्छन्। तर तुरुन्तै दुवै हतारहतार गर्दै नर्सिङ होमभित्र प्रवेश गर्छन्।
दृश्य तीन
सोधखोज गर्दै दुवै अन्त्यमा एउटै अर्थो वार्डमा पुग्छन्। फेरि एक क्षणलाई उनीहरू दुवैका आँखा जुध्छन्। तर तुरुन्तै उनीहरू आ-आफ्ना घाइते सुतेका बेडतर्फ लाग्छन् र उनीहरूका बारेमा जानकारी लिन थाल्दछन्। घाइते युवकको टाउकामा गम्भीर चोट लागेको र एउटा हात भाँचिएको रहेछ भने घाइते युवतीका दुवै खुट्टा भाँच्चिएका रहेछन्। भर्खर आएका युवकयुवतीका आँखा पुनः एकपटक जुध्छन्। तर अहिले परिस्थिति पहिलेको जस्तो सहज छैन। अत्यन्त तनावपूर्ण वातावरणमा दुवै एकअर्कालाई झम्टन तयारजस्ता देखिन्छन् ।
दृश्य चार
वार्डमा डाक्टरको प्रवेश हुन्छ, युवक अगाडि सरेर भन्छः
‘डाक्टर, मेरी श्रीमती……………।’
उसको बोली पूरा हुन नपाउँदै युवती रिसाएको स्वरमा युवती भन्छेः
‘एक्स्क्युज मी डाक्टर, मेरो श्रीमान्-को कुनै …………..।’
‘ओहो, तपाईँहरूको यो के चाला हो ? हेर्नुस् दुर्घटना नहुनुपर्ने थियो तर भइसक्यो। अब त्यसका बारेमा बहस गरेर केही फाइदा छैन। घाइतेहरूको स्थिति निक्कै चिन्ताजनक छ, बरु तपाईँहरू दुवै वहाँहरूको उपचारमा एकजुट भएर लाग्नुहोस्।’ डाक्टरको यस्तो भनाइले उनीहरूमा घाइतेहरूको गम्भीरताका बारेमा बोध हुन्छ क्यार, दुवैले सहमतिमा टाउको हल्लाउँछन्। वातावरण निक्कै सहज बन्छ, दुवै दत्तचित्तले आ-आफ्ना घाइतेको सेवामा जुट्छन्।
अन्तरदृश्य
घाइतेहरूको अवस्थामा क्रमिकरूपमा सुधार आउन थाल्यो। एउटै वार्डमा भएका कारण दुवै युवक-युवती एकअर्काको सहयोगी हुन थाले। बिस्तारै दुवैमा राम्रैसँग बोलचाल र हाँसखेल हुन थाल्यो। अलगअलग ट्याक्सीमा आवतजावत गर्ने उनीहरू बिस्तारै एउटैमा आउन-जान थाले।
उपसंहार
दिनहरू बित्दै गए। घाइतेहरू निक्कै हदसम्म ठीक भए। दुवै युवकयुवती अलि ढिलो आउने र अलि चाँडो जाने गर्न थाले।
बिस्तारै यो क्रम बढ्दै गयो र अन्त्यमा उनीहरू आउन नै छाडे। केही दिनपछि घाइतेहरू ‘डिस्चार्ज’ भएर आ-आफ्ना घर गए।
दुवैका घरमा ताला लागेको थियो…..।
(स्रोत : साहित्यसरिता – अङ्क २ वर्ष-२ साउन-भदौ-असोज-२०६२)
