निबन्ध : मलाई माफ देऊ

~कृष्ण धरावासी~Krishna dharabasi

टाउको किचिसक्दा पनि लिरिक-लिरिक पुच्छर हल्लाइरहेको सर्पले झैँ संवेदना मरिसकेको काठजस्तो मन फेरि एकपटक झल्याँस्स भएर बौरियो, तर्सियो । कल्पनै नगरिएको, नसोचिएको, नचिताइएको समाचारले लास पनि बौरिँदो रहेछ क्यारे, लासै त भइसकेका छौँ नि हामी । हामीलाई दुख्न छोडेको, ऐया हुन छोडेको कति भइसक्यो – सहनु भनेको पनि असहनुको अनुभूतिको विपर्यास हो । असह्यता नै नरहे पछिको सहनु भनेको शब्दकै मृत्यु भइसक्छ, हो । कति देखियो-देखियो मृत्यु, कति भोगियो । आफ्नै देशमा, आफ्नै घरआँगनमा, आफ्नै घरभित्र भएका हत्या, बलात्कार र वीभत्सताहरूले सुकेका आँसु र अस्ताएको मन बोकेर नमरिरहेका हामीलाई अझै दुख्छ होला, ऐया हुन्छ होला, छटपटाहट आँउछ होला भन्ने नै लागेको थिएन मलाई तर जब एकाएक सञ्चारमाध्यमहरूले आतङ्कपूर्ण रूपमा यो समाचार प्रसारण गरे कि- वैदेशिक रोजगारीका लागि खाडी क्षेत्रमा लगिएका बाह्र नेपाली युवाहरूलाई झुक्याएर इराक छिराउँदै गर्दा त्यहाँका आतङ्ककारीहरूले अपहरण गरी एघार दिनपछि निर्मम सामूहिक हत्या गरे । सुन्दासुन्दै आकाश घुम्यो, वरिपरिको वातावरण सुनसान भयो, हावा रोकियो, आँखामा उज्यालो हरायो । एकपल्ट नमिठो गरी मुटु गाँठो पर्‍यो- छिः सधैँ त यी कानहरू पनि सुनिनु राम्रो होइन रहेछ ।

हिमाल हेरर हाँस्थ्यौँ हामी । पहाडको चुचुरामा उभिएर सुसेली मार्थ्यौँ हामी। हामी अनिकालमा बाँडेर खान्थ्यौँ, शोकमा सबै रुन्थ्यौँ । अत्याचारका विरुद्ध एक हुन्थ्यौँ, शत्रुहरू डराउँथे । दुःखलाई उपहारै ठानेर पनि सहअस्तित्वको जीवन भोगेकै थियौँ । डाँडापाखाहरू हाम्रै थिए, भीरका ढुङ्गाहरू हाम्रै साथी थिए । दुःखले कहाँ आत्तिएका थियौँ र हामी ! हाम्रै जडिबुटी, खोरिया र कपास हाम्रा थिए । सपनाहरू पनि धेरै ठूला-ठूला थिएनन् । सानै सुखलाई ठूलो प्राप्ति ठान्थ्यौँ हामी ।

तर हामीलाई संसारतिर डोहोर्‍याएर लोभ्याउने दुष्टहरूले आँखामा उज्यालोको टक पारेर आफ्नै वरिपरि देख्न नसक्ने बनाउन थाले । हामीलाई भौतिक सुख र सुविधाको सपना देखाएर दासताको आधुनिक सङ्गीत सुनाउन थाले । महत्त्वाकाङ्क्षाका आकर्ष बिच्छी-डसाइहरूले हामी घाइते हुँदै गयौँ ।

आफ्नै आँखाअघि आफ्नै देश पनि परदेश लाग्न थाल्यो । हामी विदेशीहरूका ब्वाँसे सहानुभूतिले सम्मोहित भएकाहरू आत्मदाहको कहालीलाग्दो यात्रामा होमियौँ। हामीले हाम्रै परम्परा, संस्कृति र आदर्शमा युगको सुनौलो रङ पोत्ने सोचेनौँ । हामीले आफैँभित्र उम्रीउम्री आउने आस्थाको उचाइ नाप्न सकेनौँ । एउटा घाँसको डालो देखाएर डोहोरिएको पशुझैँ हामी डोहोरिदैँ गयौँ दुष्टहरूका घिनलाग्दा षड्यन्त्रहरूमा ।

गरिबी त हाम्रो पैतृक अनुभूति नै थियो । त्यसलाई जित्न हामीले यहीँका पाखाभित्र खन्नु- पर्थ्यो। यहीँका ढुङ्गा माटो खोस्रिनुपर्थ्यो । हामीले हाम्रै उचाइमा अग्लिन खोज्नुपर्थ्यो, हाम्रै शब्दहरूले गीत रच्नुपर्थ्यो । हामी किन आँखै टिप्ने उज्यालातिर आकर्षित भयौँ- किन आफैँले टेकेको पाइलामाथि प्रेम गरेनौँ ।

जब-जब म यस्ता समाचारहरू सुन्छु- यस्तै बाउँडिएर आउँछ मन। प्रत्येक दिन त्रिभुवन विमानस्थलबाट सयौँ नेपाली युवाहरू आफ्नी आमालाई ढोग्दै देशको आकासे सीमा काटिरहेछन्, प्रत्येक दिन बाकसमा बन्द हुँदै तिनका दुर्गन्धित लासहरू जेटबाट उत्रिरहेछन् । आफ्नै छोराहरूको यस चिहानघारीमा बसेर कति रोइरहनु हामीले, कति – जसका पाखुरीहरूको यहाँ खाँचो थियो, जसका पसिनाले यहाँको माटो सिँचिनुपर्थ्यो, तिनीहरूलाई गाड्दै र रुँदै बस्नुपर्ने यो सुनसान धरती हामी किन सुँघ्न बाध्य छौँ।

आफ्नो घरबार, जग्गाजमिन सबै बेचेर, धितो राखेर लक्का जवान छोरो, जसले अब विधवा आमाको, टुहुरा भाइबहिनीको र देशको सेवा गर्नुपर्थ्यो त्यसलाई जेट विमान चढाएर विदेशी डलरको ऐँठनलाई कसले सपना भनिदियो हामीलाई – जसले कस्तै दुःखमा पनि खाली पेट बसेन, खाली खुट्टा हिँडेन, स्कुल गयो, राम्रै लुगा लगायौँ जीवनमा । पढ्ने छोरो जसले धेरै कठिन श्रम पनि गरेन बालकमा शारीरिक श्रम गर्ने पटक्कै बानी नभएको त्यस छोरालाई जेट विमान चढाएर प्रसन्न मन लिई डलरको सपना देख्ने हे बाबुहरू ! हे आमाहरू ! किन रुने आज छोराको मृत्युमा ? उसको लास हेरेर के त्यसले उहाँ तीस तला अग्लो घरको बाहिरी भित्तामा रङ दल्दै गरेको, सर्पैसर्पको जङ्गलमा आरा चिर्दै गरेको, पचास डिग्रीभन्दा बढी तापक्रम भएको मरुभूमिमा भेडा हेर्दै गरेको तिमीले यहाँ बसेर देखेका थियौ – सानैदेखि घरमा हुर्किएको बहरलाई बेच्दा पनि आँखामा आँसु आउँछ, तर आफ्नो मुटुको टुक्रालाई अर्काको दास बनाउन रमाई-रमाई जेट चढाएर हाँस्ने तिमी बाबुले आज उसको लास बुझ्दा किन रुनु ?

धिक्कार छ हामी नेपालीलाई, जो आफ्नै सन्तान बेचेर सम्पन्नताको जीवन बाँच्न चाहन्छौँ । धिक्कार छ हामीलाई जसले आफ्नै मुटुमा कीला ठोकेर पनि हाँस्न चाहन्छौँ। अनि धिक्कार छ त्यो देश र त्यस देशको सरकारलाई पनि, जो आफ्ना युवा नागरिकहरू कौडीको भाउमा अर्काको देशका लागि कुल्ली बनाई बेच्दछ र त्यसको राजस्वबाट यहाँ रात्रिभोज गर्दछ । मासुका लागि एउटै ट्रकमा दर्जनौँ भैँसी खाँदेर काठमाडौँ लगिरहेको दृश्य मेरा आँखाअघि नाच्दछ र नाच्दछ मेरा भाइहरू त्यसैगरी कुनै दलालको बन्दी भएर कुनै कालकोठरीमा आफैँ पैसा तिरी दास भएको दृश्य। पढेथेँ धेरै अघि दक्षिण अफ्रिकाबाट गोराहरूले हप्सीहरूलाई बाँधेर युरोपतिर ल्याई किनबेच गर्दथे, दास बनाउँथे, तर आज एक्काइसौँ शताब्दीको नेपालमा सरकारले नै छोरा बेच्ने दास बिक्री पसलहरूलाई स्वीकृति दिएर व्यापार गरिरहेछ । छोरीहरूलाई बम्बै पुर्‍याएर फर्कनेहरू र छोराहरूलाई इराकका कसाईका हातमा सुम्पनेहरू आज काठमाडौँमा महल बनाएर सिरानतलाबाट सडकमा भड्किएको दङ्गा हेरिरहेका छन् ।

के हामी कुनै ठूलो व्यवसायीले पालेका ब्रोआइलर कुखुरा हौँ जो अन्डा पारिरहेछौँ र मालिकले त्यसलाई बेचिरहन्छ । के देश भनेको जनता बेच्ने पसल हो – होइन भने अब सोच्नुपर्छ । देशले सोच्नुपर्छ, सरकारले सोच्नुपर्छ । देशभित्रै रोजगारीका सम्भावनाहरूको खोजी गर्नुपर्छ, विकल्पहरू उभ्याउनुपर्छ । काठमाडौँमा बसेर गोष्ठी र सेमिनारले देशको विकराल समस्याको समाधान कहाँ हुन्छ ? अनन्त सम्भावनाहरू बोकेर हाँसिरहेको धरतीकै सबैभन्दा सम्पन्न प्राकृतिक यस केन्द्रलाई चिन्न नसक्नु हाम्रो अन्धता मात्र हो । यस नृशंस हत्याको समाचारले आतङ्कित हामीलाई आफ्नो यथार्थमा ब्युँझाउनुपर्छ अब । अब हामीले आफूलाई अडिने दह्रो कीलो ढुङ्गाको आड खोज्नुपर्छ।

तर आफ्नै देशभित्र असुरक्षित हामी विदेशमा सुरक्षित भएनौँ भनेर पनि किन रुनु – देशभित्रै बाँच्न पाएको भए, आफ्नो सुतीखेती गरी खान पाएको भए, विदेश पनि किन जानुपर्थ्यो ? हे मेरा भाइहरू ! तिम्रो नाममा रुन आँसु पनि आउँदैन मलाई । जब यही देशभित्र भइरहेका हत्या र बलात्कारका दृश्यहरू आँखाअघि नाच्दछन् । माओवादीका नाममा मारिनेहरू पनि त तिमीहरू नै हौ । अरे यहाँ पनि त घाँटी रेटी-रेटी मार्तोलले टाउकोमा बजारी-बजारी प्रत्येक दिन हत्या भइरहेकै त छ नि ! यहाँ पनि त लोग्नेलाई पाता फर्काई उसकै सामु स्वास्नीमाथि बलात्कार भइरहेकै त छ नि ! यहाँ बसेकै भए पनि हे प्रकाशभाइ ! के तिमी सुरक्षित हुन्थ्यौ र ! हे मङ्गलभाइ के तिमी नरेटिने थियौ र – हे ज्ञानेन्द्र, राजेन्द्र, मनोजहरू, बुधन, ललन र संजयहरू, हे छोक, रमेश, जीतबहादुर र विष्णुहरू ! तिम्रा नाममा खस्नै लागेका आँसुहरू आज त्यसै परेलीमै सुक्दछन् ।

हामी आत्मदाहको सँघारमा छौँ भाइहरू ! हामी देश बेच्ने प्रतिस्पर्धामा छौँ । हामीले देशलाई लिलाम चढाइरहेछौँ । टाट पल्टिन लागेको भैँसीगोठजस्तो पारेका छौँ हामीले देशलाई । तिमी इराकमा पुगेर ती कसाईका हातले किन सेरियौ, थाहा छ तिमीहरूलाई ? किनभने तिमी कुनै पशुपालकका गोठको खसी थियौ। यदि तिमी देशको नागरिक थियौ भने तिम्रा निम्ति तिम्रो देश आज रुने थिएन। हिजै बोल्थ्यो, हिजै तिमीलाई मुक्ति दिन त्यहाँ पुग्थ्यो । एउटा-एउटा नागरिकले बनेका हुन्छन् अरु देशहरू, तर हामी त देश बन्नै बाँकीको भूभागमा छौँ, जहाँ सरकार भन्ने एउटा गतिहीन ढक हुन्छ जो प्रत्येक साँझ तिमीलाई बेचेको पैसाले किनिएको विदेशी रक्सी खान्छ ।

यदि यो देश हो भने, यहाँ सरकार छ भने आफैँ अलिकति भरोसा गर्ने समय छ भने, देशलाई दासउत्पादक भूमिबाट मुक्त गरिदेऊ । देशलाई नागरिकहरूको स्वाभिमान धरती देऊ । हे ! राजनेताहरू ! हे शासनसत्ताका सपना बेच्नेहरू ! हामीलाई आफ्नै देशको नागरिक बाँच्न देऊ, विदेशमा भुटिने तरकारी नबनाऊ । मैले भन्न जानिनँ भने हे ठूला मानिसहरू ! मलाई माफ देऊ ! मलाई माफ देऊ !

(स्रोत  : साहित्यसरिता – माघ-फागुन-चैत-2061 अङ्क ४ )

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.