~हरिमाया भेटवाल~
रात सकिएको थिएन ,ताराहारु टुक्रिएर झरेको पनि थिएन् । कुनै नवदुलहीले पहिलो पटक माईती छोडे झै आकाशमा तुवाँलो पल्टिएर धुम्म परेको थियो । जब झिसमिसे बिहानी भयो जताततै आगो दन्कियो हल्लाको – पिपल डाँडामा मान्छे झुन्डिएर मरेको छ रे ।
चिस्यानको बिहानीमा आगो ताप्न सलहका बथानसरी धुईरिए त्यतैतिर गाँउलेहरु आलि र खेत नाग्दै । कुरामा खाप पर्यो अनि एक्कान ……दुईकान……मैदानमा त् झुन्डिरहेको निउरीको लास ।
ए बाब्बै ,,,,,जात्रै पो लाग्यो । अरुबेला जस्तो जात्रामा मादलु बजेन , दोहोरी चलेन ! फिरिक फिरिक कोहि नाचेन । डाँडा , थुम्का ,घरआँगन सबैतिर नाच्दै हिड्यो कुरो ।
सदरमुकाम देखि झरे पुलिसका डफ्फा । तुनरङ झुन्डिएकी नीउरीलाई डोरि काटेरै झारे पिपलको रुख बाट ।
– काँहि नपाएर त्यो ठाँटीले मर्न पनि यहि पिपलको बोटमा झुन्डिनु पर्छ त् ? सङकट मोचनको माग राख्दै सारा कुलिनजातीले पुजा गरेर घुम्ने यो पिपलको बोट । यहि पिपलको बोटमा फनफनी घुमेर खाप लागेको
काँचो धागो । हरे ! कस्तो जुठो लगाई त्यो अकुलिन निउरीले ।
– निउरीले त बिद्रोह नै गरि । – स्कुलका माड्साप कानेखुशी गर्दै थिए । हुनपनि जिउँदो छँदासम्म निउरीलाई त्यो पिपलको बोट छुने त के घुम्न समेत बर्जित थियो । त्यो कुजाति निउरीले छोयो भने पिपलको बोट बिटुलिन्छ भन्थे सुजातीहरु । संकटमोचन सबैले गर्थे,त्यो पिपलको बोट घुमिघुमी काँचोधागो बान्थे जिउभरी पिपलको । तर निउरी र उसका बगालहरुलाई वरिपरी जान पनि दिदैनथे कुलिनजातिहरुले । त्यसैले होला निउरी र उसका बगालको कहिल्यै संकटमोचन भएन,उनिहरु त दुखमा घुन झै पिसिदै मर्दै गर्थे । तर मर्दा मर्दै पनि सुजातिहरुको अभिमानलाई लोप्पा ख्वाएर त्यहि पिपलको बोटमा झुन्डिएर मरिदिई निउरी ।
– अब के गर्ने ?
– सुनपानी छर्केर पिपलको जात त फेरिहाल्छ नि बरु अब पो छुन दिनु भएन ति कुजातिलाई । अनेकन तर्क बितर्क कै माझमा निउरीलाई पोस्टमाटमको लागि सदरमुकाम लगियो । रुदैरुदै पुलिसको पछी लाग्यो निउरीको बाउ धनबिरे ।
हुन त दलितले छुन नपाएका अरु पनि थुप्रै ठाँउहरु छन् गाँउमा मनग्गे । पधेँरामा दलितको पाउ आजसम्म पर्न दिएका छैनन गाँउलेहरुले । पानी त उनिहरु पनि खान्थे तर कोषै टाडाको तुरतुरे मुलको । पानी सफा नभएरै होला बर्सेनि हैजाले लैजा पाथ्यो दलितहरुलाई ।
त्यो सिन्गे कामीले ढलोटको देवता बनायो बोल्लई जस्तो तर बोल्न सक्ने सास हाल्न सकेन उसले । बोल्ने भए के भन्थिन होला देउतीले ?………म त साबैको देउता मेरालागि सबै बराबर । तर देउता बोल्दैनन बरु बोल्छन कुलिनजातीहरु । सिन्गेको सिपै कमालको । यो मन्दिरमा दलितको खुट्टो परे अनिष्ट हुन्छ , कमलनारायण पन्डीतले यस्तै हल्ला फिजाएर मुठ्ठीभरी पैसोमा त्यो मुर्तिलाई उछिट्याएर मन्दिरमा स्थापना गरे । बनाउने सिन्गेले समेत फेरि कहिल्यै दर्शन गर्न पाएन । बिचरा सिन्गे आफ्ना छोरानातीलाई त्यो कैद गरेर राखीएको देबीको रुप बयान गर्दागर्दै मर्यो ।
बर्षहरु फेरिए ……क्यालेन्डर फेरिए तर सात गाउँ पर सम्म अझै चुमजुम्रा झै टाँसिएको छ बिभेद ,त्यसैले त होला नि यो गाँउ नफेरिएको । तर नफेरिएको त्यो गाँउमा फेरिएरै आयो पन्डित कमलनारायण को छोरो यग्यनारायण । शहरमा पड्न गएको यग्यनारायण एकैचोटी गाँउको स्कुलमा सरकारी मास्टर भएर आयो । जुन स्कुलमा पड्थी निउरी । सानैमा आमा मरेकि निउरीले कम्ती सकस खेपेकी छैन अहिले सम्म । सकसकै माझमा उसको इखालु बाउले असल मान्छे बनाउँछु भनेर स्कुलमा हालेको थियो उसलाई । मिहनती निउरी पढेर ठुलो मान्छे हुन्छु भन्थी,आखिर बन्न खोजेकि कस्ती ठुली !!
“तल्लो जातकी त्यो निउरीले जति उफ्रीए पनि कुवाको भ्यागुत्तो कुवामै,भोलि दलितको जोई बन्नै पर्छ अनि आरनको धुँवा खानै पर्छ “ –यसै भन्थे मान्छेहरु उसलाई ।
हेर्दा हेर्दै निउरी ठुली भई तर क्यार्नु ! ज्यान जसरि जात बढेन । देख्नेहरु हिड्दा हिड्दै रोकिएरै हेर्थे उसलाई र सोध्थे – के थरीकी छोरी नानि तिमी ?
– म निउरी बिस्वकर्मा ।
– उसको नाम र थरले अघि देखिएको सुन्दरता एकछिनमै हराउँथ्यो मान्छेहरुको अनुहार बाट र उनिहरु थप कुनै कुरा नसोधी बाटो लाग्थे । कोहि कोहि जिस्काउन पछी पर्दैनथे ।
– मन भित्र कस्तो लाग्थयो कुन्नी !! तर बाहिर मुसुक्क हाँसेर बोलिदिन्थी ऊ ।
– निउरी ………हिड्दा हिड्दै आज पनि बोलायो कसैले । पछाडी फर्केर हेर्दा उनै यग्यनारायण सर लमक लमक गर्दै आउदै थिए निउरीतिरै । उसो त एकघन्टा हिड्नु पर्ने निउरीलाई हिजोआज यग्यनारायण सर बाटोका मुखबोलि भएकाछन् । निउरीको घर बाट अलि मास्तिर पर्छ यग्यनारायणको घर । शुरु शुरुमा त बोल्नै डराई निउरी तर शहरमा बसेको यग्यनारायणको मिठो बोलिले नबोलि बस्नै दिएन उसलाई । झन्डै दुईमहिना एउटै बाटोमा हिडेपछी मनको बाटोले सोध्न थालेको थियो उसलाई – के साँच्चै यग्यनारायण सरले भने जस्तै मान्छेको जात मान्छेले नै बनाएको हो त ? मान्छेले के के बनाए होला अहिलेसम्म ? आजभोली एकान्तमा मन संग के के सोध्छे के के निउरी ! यग्यनारायण सर सङग सोध्न नसकेका अनगिन्ती कुराको जवाफ कसरि दिन सक्थ्यो र उसको मनले ! मनले त प्रश्न उठाउथ्यो र मस्तिष्कलाई भन्थ्यो मस्तिष्कले के खै कस्तो आदेश दिन्थ्यो कोन्नि ! शरिरभरी काँडा उमारिदिन्थ्यो,आफै संग आफैलाई लाज लाग्ने बनाइदिन्थ्यो । धत् यग्यनारायण सरको कुरा पनि …..!
– तिमी हिजो किन स्कुल नआएकी ? एस एल सी मा राम्रो ल्याउन पनि स्कुल आउनै पर्छ,फेरि भएन !
– के फेरि भएन सर ?
– मैले निक्कै मिस गरे तिमीलाई ।
दुबैको आँखा ठोक्कीए,लाजले आँखा र टाउको एक्कैचोटी निउराई निउरीले ।
– फुलेको फुलमा भमरा बस्न आउनु कस्को दोस ?
– भमराको कि फुलको ?
– दुबै निर्दोस ।
– कसरी ?
– फुल फुल्नु उसको कर्म , भमराले भोक मार्नु उसको धर्म ।
– किन फुलहरु भोकाउदैनन ?
– भोकउछन् र त जरा बाट पानी खान्छन् ।
समय उकालो चडेर अनि अरालो झरेर कति टाडा पुगीसक्यो र त्यहि बाटोको सामिप्यताले नजिक गरायो र मनको सामिप्यताले प्रेम लहरायो निउरी र यग्यनारायण बिचको ।
सुरुसुरुमा त त्यहि बाटोले देख्यो उनिहरुको माया …बाटोका बोटबिरुवाले देखे ….उत्ताउलेर आउने बतासले देख्यो हुँदाहुदै बाटो मास्तिरको ठुलो ढुङगाको चेपले पनि देख्यो । चेप जँहा मान्छेको त के कुरा र ! घाम जुन तारा कसैले देखेनन सिबाय ति दुई ।
– हामी कसरी एक हुन सक्छ्उ ? मन एक भए पनि ….बिचार एक भए पनि …. सपना एक भए पनि जातको अग्लो पर्खाल म नाग्न सक्दिन ।
– तर म नाग्न सक्छु ।
– तिमी बाउनको छोरा !
– मान्छेको एउटै जात हुन्छ ,र लिंङ्ग दुईटा ।
– तर समाज र घरपरीवारले मान्दैनन् यस्तो कुरा ।
– हामी यो समाजको उदारण बन्ने हो ।
यग्यनारायण ले नै जिद्दी गरेपछी नीउरीले केहि बोल्न सकिन ।
न घरपरिवार न म कुनै जमघट न त दाईजोको बहस ! न त कुनै खर्चको पिर ! न जन्ती न त दुलही ! सबै कुराको छिनोफानो त्यहि ढुंन्गे चेपमा बसेर गरे ति प्रेमील जोडीले । भागेर सदरमुकाम जाने र स्थती स्वभाबिक भएपछी गाँउ फर्कने निधो पनि गरे उनिहरुले ।
निउरी घरमा आई । अलिपर धनबिरे दाउराको लागि बकाइनाको बोट छिमल्दै थियो । धनबिरेले उनिहरुका आवश्यकता पुरा गरिदिएरै होला निउरी झै नै हलक्क बढेका थिए रुखहरु पनि । तर निउरीको आवश्कता सायद यग्यनारायणले मात्र पुरा गर्न सक्छ अब ।
– ए निउरी…………….निउरीउ………………….कराएरै बोलायो धनबिरेले छोरिलाई ।
निउरी लोटाभरी पानी बोकेर बाउ नजिक पुगि । अरुबेला हुदो हो त बाउको जस्तै तिर्खा उस्को पनि मेटिन्थयो होला पानीले तर आज ……!
– कत्तीकाम गरेको बा ! खालि यिनै रुखलाई माया गर्नु हुन्छ तपाई ।
– के गर्नु त छोरी ! माया त तेरि आमालाई गरेको थिए नि छोडेर गइगई …अब तँ नि एकदिन जालिस ! कसै सग । यो बुढो बाउलाई यि रुखहरुले छोडेर जादैनन् कहिल्यै ।
निउरी हेरेको हेरेकै भई बाउको अनुहार । मुखबाट एउटै कुरा नि निस्कीएन ।
– के भो ? किन टोलाएकी ? जा उपर तरकारी टिपेर राखेकोछु लैजा र बेलैमा पका भात ।
निक्कैबेर बाउको अनुहार हेरिरही उसले । मन मनमै माफी पनि मागी र तरकारि बोकेर घरमा आई ।
कपिको भित्री पन्ना च्याति र लेखी –
– “बा मलाई माफ गर्दिनु ! मैले यग्यनारायणको सिन्दुर हालेर सदरमुकाम जाने निर्णय एक्लै गरे जे परिणाम भोग्नु पर्छ म एक्लै भोग्छु तपाँइलाई दुख दिन्न म । “केहिजोर लुगा झोलामा हालि उसले । बा र आमाले सगै बसेर खिचेको फोटो पनि त्यहि झोलामा राखि ।
झमक्क साँझ पर्दा उनिहरु मन्दिरको आगँनमा आइपुगे । देबीको मन्दिर एक्लै थियो त्यो बेला । त्यहि मन्दिरलाई साँची राखेर यग्यनारायणले बोकि ल्याएको सिन्दुर र पोते लगाइदियो निउरीलाई र दरोगरि अङगालोमा कसेर छेउमा तान्दै भन्यो – “म बाँचुन्जेल तिमीलाई माया गरिरहन्छु ।“
– “ म पनि ……..”।
– ल चिटो हिड्उ ….हामी सदरमुकाम पुग्दा निक्कै राति हुन्छ ।
यग्यनारायण निर्धक्क अघिअघी, टाउको मुख अनि घाँटी पुरै छोपेर निउरी पछिपछी हिडिरही ।
एउटा सामान्य होटलमा पाँच दिनको लागि बुक गर्यो यग्यनारायणले । लेख्यो . यग्यनारायण र निउरी बुढा बुढी ।
– प्रेमका कति रुप हुन्छन !! ति सबै रुप त्यो पाँच दिनमा देखे होला त उनिहरुले ? तर जे देखे फेरि कहिल्यै नबिर्सने गरी देखे ।
चार दिनको दिन यग्यनारायण सदरमुकाम घुमेर एक्कैछिनमा आउछु भनि निस्कियो बाहिर ,जादा जादै भन्यो –ढोका नखोलि बस्नु म आइहाल्छु ।
ऊ भन्दा चिटो आईपुगेका रहेछन् उसका घरका मान्छे सदरमुकाम । च्याप्प यग्यनारायणलाई समातेर अङगालो हाल्दै गाउँतिरै हिडाउन थाले बाउ काका बाउहरुले ।
– मैले बिहे गरिसके बा ! मलाई माफ गर्नु । -उसको कत्तिकुराको पनि सुनुवाई भएन त्यो बेला ।
– तँ जादैनस भने तेरि आमा र म यहि झुन्णिएर मर्छउ । -धर्मका अनेकन श्लोकहरु सुनाइयो जातले पार्ने असरको भलिभाति उदारण देखाईयो समाजमा भोलि पानी काटीएर बाँच्नु मरेपछी नर्कमा पुग्नु भन्दा कठीन सजाय नदिन छोरालाई हात जोडेरै सम्झाइयो र फकाउदै फकाउदै एउटा घरमा पुर्याइयो जाँहा अघि बा आमाले केटीको कुरा छिनेर फुलमालाको तयारी थियो ।
– बिहे त म गर्न सक्दिन बा ! मैले निउरी संग गरे । बरु म उसलाई नले घर भन्नुहुन्छ भने ल्याउदिन तर बिहे अरु संग गर्दिन बा ।
– बिहे बिस्तारै गर्ने हो आज कुरा छिन्ने मात्रै हो ,नाँई नभन्दे छोरा हाम्रो अनुहार बाँचेकै देख्न चाहन्छस भने नाँई नभन्दे ।
– ऊ चुपचाप उभियो गोरी अग्ली बाउनकी छोरीले उसको घाँटीमा थोरै मुस्कुराउदै माला लगाइदिई । उसकी आमाले त्यो केटीलाई छोराको हात समातेरै माला लगाइदिई । फुलमाला सकियो यग्यनारायण फटापट होटलतिर जान खोज्यो तर सबै मिलेर घरतिर लगे उसलाई ।
एकछिनमा आउछु भनि निस्किएको यग्यनारायण चारबजे सम्म पनि नआएपछि निउरी होटल बाट बाहिर निस्किई । यता हेरि उता हेरि ,सडकका दुबै पेटिलाई आँखामा बोक्दै निक्कै पर सम्म गई ऊ ।
यग्यनारायण कतै थिएन, सिबाय निउरीको मन र आँखामा बाहेक ।
भोलिपल्ट बिहान उही होटलवालाले खबर सुनायो उसलाई ।
– तिम्रो लोग्नेलाई उसका बा आमाले आएर उसकै घरतिर लगेछन् ।
उभिएको ठाउँमै थचक्कै बसि निउरी । फेरी के सोची कुन्नि कुदेर कोठातिर गई र उभिइ ऐना अगी । यग्यनारायणले लगाईदिएको सिन्दुर सिउँदोमा र पोते घाँटीमा उस्तै थियो । उसले गाला छामी,हिजो बेलुका त्यहि गालामा कति पटक चुम्मा खाएको थियो थियो यग्यनारायणले । ओछ्यान्मा गई र त्यहि ओछ्यान समातेर बेस्सरि रोई ऊ । झमक्क साँझ परेपछी युद्दमा गम्भिर चोट लागेको सिपाई झै ऊ लरबरिदै आफ्नै घरको आँगनमा पुगि । धनबिरे चुलोमा दाउरा झोस्दै थियो
– बा……………….! म आए । भक्कानिएर रोई ऊ बाको अघि । यो चारदिनमा धनबिरेले थाहा पायो कि छोरी नहुदाको अफ्टेरो । ऊ एकछिन अकमकायो र यतिमात्रै भन्यो कि –“भेगो नरो अब” ।
भोलिपल्ट बिहान यग्यनारायणको घरलाई छुने घामले निउरीको घरलाई पनि छोयो । सायद हावा पनि उता छोएर यता आयो चिस्याउन निउरीलाई । आँगनको डिलमा उभिएर उसले यग्यनारायणको घरतिर हेरि यो सोचेर कि एकपटक यग्यनारायण देखियोस । आज यग्यनारायणको घरमा निक्कै मान्छेहरुको भिड थियो । उसले परै बाट नियाल्ने कोसिस गरी । लामु दारिजुँगा भएको एउटा अग्लो मान्छे फटाफट दैलोबाट भित्र छिर्यो उसको पछिपछी एउटा कालो कुकुर पनि घरभित्र पस्यो । अचानक निउरीका आँखाबाट आँसु झर्न थाल्यो । उसले मन मनै भनि –
– एउटा कुकुरले बाउनको घरभित्र बास पाउछ तर मैले ………..??
– अई निउरी………………सुन्तलि कराउदै भित्र पसि । आँखालाई सलले पुछेर लुगा मिलाउदै गरे जस्तो गरी निउरीले ।
– तँलाई थाहा छ यग्यनारायण सरको बिहे हो नि आज ? बेहुलि लिन हिडिसके जाने हैन जाँउ हिड् !!
– म त अर्को जन्ममा कुकुर्नि भएर जन्मिन पाँउ बुजिस …!
– धत के भनेकी ? अर्को जन्म हुनलाई त मर्नु पर्छ ,छोड यस्तो कुरा बरु बिहेमा जाउ हिड ।
– म नजाने ….आजमेरो अन्तैको यात्रा छ सुन्तलि तँ जा । निम्तो नभइ कसरी जानु त भन त !
– लु उसोभए म गए , सुन्तलि गई ।
– कस्तो देखियो होला बेहुलो हुँदा यग्यनारायण ? सायद घरका सबैले यसो गर्न बाध्य पारे होला उसलाई । जे भए पनि उसले एकपटक मलाई भेटनु पर्थ्यो र भन्नु पर्थ्यो – निउरी म माया चाँहि तँलाई नै गर्छु ।
– धत् …..माया मलाई अनि बिबाह अर्कै लाई ?
– यस्तो हुनुहुदैन ….सायद ठिकै गर्यो होला यग्यनारायणले
– ठिक कसरी गर्यो ?
– त्यो त म कसरी जान्नु र !!
मन न हो उत्तर नआए पनि प्रश्न गर्न छाड्दैन ,सायद प्रश्नहरुले भरियो मन त्यसैले कति उत्तर उसले आफै दिई कति उत्तर दिने यग्यनारायण पनि ठाउँ ठाँउमा आफै बनि । कति उत्तर बाँकी रहे सायद युगै युग देखि उत्तर नपाएका प्रश्न थिए ति ।
पाँच बज्न लाग्दा यग्यनारायणले पन्चै बाजा सहित बेहुली भित्राएको टाडै बाट हेरिरही उसले । भात पकाई र छोपछाप पारेर राखी । धनबिरे खेत बाट आउनासाथ भात खान दिई ।
– बा सुते म ।
केहि बोल्न पनि डरायो धनबिरे आफै । छोरीको अनुहार सायद पड्यो उसले ,पड्नलाई सर्टिफिकेट काँहा चाहिन्छ र !
छ दिन सम्म पनि यग्यनारायणले भेट्न सकेन निउरीलाई । त्यहि राती बिस्तारै घर बाट बाहिर निस्किई निउरी कालो सलले मुख छोपेर । अध्यारो मै कसरि हिड्न सकेकी होला ऊ फटाफट ! माथि पिपलको बोट नजिक पुगि । झुन्डिनु केहि सेकेण्ड अघी पनि उसका आँखाले यग्यनारायणलाई नै खोजि रहेका थिए ।
(स्रोत : कान्तिपुर – कोसेली)