समीक्षा : साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैपर्व

~धनराज भट्टराई~

नेपाली साहित्यलाई समयानुकूल, गतिशील तथा जीवन्त बनाउनका लागि समयसमयमा नयाँनयाँ चिन्तन एवं विचारधाराहरूको प्रादुर्भाव हुँदैआएको पाइन्छ । समयको प्रवाहमा जब सामाजिक-सांस्कृतिक मूल्यमा परिवर्तन आउँछ अनि विश्वसाहित्यमा आएको परिवर्तनको प्रभाव अकाट्य बन्न पुग्दछ । परिणामस्वरूप विभिन्न साहित्यिक आन्दोलन र अभियानहरू जन्मन थाल्छन् । यस दृष्टिकोणबाट हेर्दा आधुनिककाल सुरु भएपूर्व तथा त्यसपश्चात् नयाँ परम्पराको स्थापनार्थ र राष्ट्रिय साहित्यको पहिचानार्थ विधि आन्दोलन र अभियानहरू सम्पन्न भएको पाइन्छ । जस्तो कि मोती मण्डली, हलन्त बहिष्कार, झर्रोवाद, आयामेली, राल्फा, अस्वीकृत जमात, अमलेख, लीलालेखन, बुटपालिस, सडक कविताक्रान्ति, सडक नाटक अभियान साहित्य सञ्चारको लागि हवाइ आन्दोलन, तरलवाद, आन्दोलन कविता, संरक्षण कविता आन्दोलन आदि । यी सबै स्रष्टाका कार्यहरू कुनै न कुनैरूपमा साहित्यिक आन्दोलनका रूपमा नै जन्मिएका पाइन्छन् ।

नेपाली साहित्यिक क्षेत्रमा भएका माथि उल्लिखित आन्दोलनहरूलाई नियाल्दा नेपाली साहित्यिक आन्दोलनमा कतिपय लेखकले सम्झनासम्म पनि नगरेको तर बिर्सनै नहुने अर्को एउटा साहित्यिक आन्दोलनको नाम हो- मकैपर्व । विक्रम संवत् १९७७ सालमा श्री ३ चन्द्रशमशेरका पालामा कौशल अड्डाका सुब्बा कृष्णलाल अधिकारीले छपाएको कृषि शिक्षावली ‘मकैको खेती’ नामक पुस्तकलाई लिएर उठेको काण्डलाई नै ‘मकैपर्व’ भनिन्छ । यसो त कतिपय विद्वान्हरूले मकैपर्वलाई साहित्यिक आन्दोलनको रूपमा नराखी नेपालको इतिहासमा घटेका विभिन्न घटनाहरूमध्ये एउटा प्रमुख घटनाको रूपमा राखेर अध्ययन गर्ने गरेको पनि पाइन्छ । तथापि विक्रम संवत् १९७७ सालमा नेपालका तत्कालीन श्री ३ चन्द्रशमशेरको पालामा कृष्णलाल अधिकारीले ‘मकैको खेती’ नामक पुस्तक लेखेकोमा उनलाई गाथागादी ताकेको र अङ्ग्रेजहरूको अपमान गरेको अभियोग लगाई कोर्रैकोर्राले हिर्काइ नौ वर्ष कैद र उक्त पुस्तक लेखनमा उनलाई सहयोग गर्नेहरूलाईसमेत पाँच/पाँच वर्ष जेल सजाय तोकिएको थियो । यसरी एउटा पुस्तक लेखेबापत् कसैले आफ्नो सम्पूर्ण जीवन जेलमा बिताउनु परेको यस घटनालाई साहित्यिक आन्दोलनभित्र नसमेट्नु आफैँमा अन्याय हुनजान्छ । यसर्थ वि.सं. १९७७ को यस मकैपर्व घटनालाई नेपाली साहित्यिक आन्दोलनको इतिहासमा राखेर ‘नेपाली साहित्यमा मकैपर्व’ नामले चिनिनु र चिनाइनु न्यायोचित हुनआउँछ ।

यसो त चेतनामूलक साहित्यिक रचना गर्ने असङ्ख्य स्रष्टाहरू पटकपटक शासक वर्गको सिकार बन्ने गरेका प्रशस्त उदाहरणहरू हामीकहाँ नभएका होइनन्, तथापि यी उदाहरणहरूको बीचमा नेपाली साहित्यिक क्षेत्रमै स्रष्टालाई पक्राउ गरी सजाय गरिएको सबैभन्दा पहिलो घटना थियो- मकैपर्व । सामान्य सजाय मात्र नभएर अत्यन्तै कठोर सजायको कारण एउटा स्रष्टाले पुस्तक लेखेबापत आफ्नो प्राण अर्पण गर्नुपरेको घटना भएका कारणले ‘मकैपर्व’ लाई नेपाली साहित्यिक क्षेत्रमा विशेष महìवका साथ हेरिनु आवश्यक छ ।

‘मकैपर्व’ को इतिहासतर्फ फर्केर हेर्दा, विक्रम संवत् १९५८ देखि विक्रम संवत् १९८६ सालसम्मको एउटा लामो कालखण्डमा यो देशको शासनको बागडोर चन्द्रशमशेरले सम्हालेका थिए । सामान्यरूपमा शासन सम्हाल्नु मात्र नभएर उनले झण्डैझण्डै जङ्गबहादुरजत्तिकै शक्तिशाली भएर राष्ट्रिय प्रशासन चलाए । कलकत्ता युनिभर्सिटीमा अध्ययन गरेका चन्द्रशमशेरलाई शिक्षाले मानिसलाई कसरी प्रभाव पार्नसक्छ तथा शिक्षाको कारणले कसरी मानिसमा चेतना फैलन्छ भन्ने कुरा राम्रोसँग थाहा थियो । अन्य राणाशासकहरूको प्रवृत्तिजस्तै चन्द्रशमशेर पनि विलासी प्रवृत्तिका थिए । चाहिनेभन्दा बढी ठाँटबाँट देखाउनुपर्ने चन्द्रशमशेरलाई उनको शारीरिक बनावटले भने त्यति साथ दिएको थिएन । सानो गाँठीका चन्द्रशमशेर ‘फिस्टेमहाराज’ भनेर चिनिन्थे । तथापि अलि मोटो ठूलो र खाइलाग्दो शरीर देखाउनका लागि यिनी एकैपटक तीन-चार जोरसम्म लुगा लगाएर हिँड्ने गर्थे रे ! जे होस्, यहाँनेर सम्झनुपर्ने कुरा के छ भने चन्द्रशमशेरको त्यसबेलाको नित्य पहिरनमध्येमा रातो टोपी र उनका भाइ भीमशमशेरको नित्य पहिरनको रूपमा कालो टोपी रहने गथ्र्यो ।

विक्रम संवत् १९४४ सालमा रामेछाप जिल्लाको तिल्पुङ कठजोर भन्ने ठाउँमा जन्मेका कृष्णलाल अधिकारी पिता लक्ष्मण अधिकारी र माता इन्द्रकुमारीका माहिला छोरा थिए । पाँचै वर्षको उमेरमा अक्षर चिनेर संस्कृत पढ्न थालेका कृष्णलालले विशेष शैक्षिक योग्यता प्राप्त गरेका त थिएनन्, तथापि उनी राम्रोसँग संस्कृत तथा नेपाली लेखपढ गर्न सक्तथे । यिनै कृष्णलाल नै मकैपर्वका नायक थिए । उनको स्वतन्त्रचिन्तनका विरुद्धमा तत्कालीन बि्रटिस साम्राज्यवादी चिन्तनका तलुवा चाट्ने राणाशासक दिलो ज्यानले नै लागिपरे । परिणामतः कृष्णलालले दुःखद मृत्युलाई आत्मसात् गर्नुपर्‍यो ।

रौतहट जिल्लाको सदरमुकाम गौरको छतौना गाउँमा एउटा काठसम्बन्धी काम गर्ने कार्यालयमा कृष्णलालका माहिलाबाट चन्द्रलाल अधिकारी मुखिया पदमा जागिरे थिए । तिनै माइलाबासँग बसेर कृष्णलालले पढेका थिए । यसको केही समयपछि नै उनले माइलाबाकै कार्यालयमा जागिर पनि पाए । यता चन्द्रशमशेर जाडो मौसमको तीन महिना (मङ्सिर, पुस, माघ) जाडो छल्न भनी त्यही छतौना गाउँमा रहेको हजमनियाँ दरबारमा जान्थे । त्यहाँ जाडोको तीन महिनासम्म बस्दा चन्द्रशमशेर स्थानीय जनताका गुनासाहरू पनि सुन्थे । त्यस दरबारमा आएका जनताका गुनासाहरूले भरिएका विभिन्न किसिमका बिन्तीपत्रहरू सफा र शुद्धरूपमा सार्ने कामका लागि राम्रा अक्षर लेख्ने कृष्णलाल नियुक्त भए । कृष्णलाल आफ्नो काममा अत्यन्त लगनशील रहन्थे, परिणामतः चन्द्रशमशेर उनको कामबाट प्रभावित बनिहाले । यसरी यहाँ कृष्णलालको राम्रो कामबाट प्रभावित बनेका चन्द्रशमशेर काठमाडौँ फर्केपछि पनि उनले कृष्णलाललाई बिर्सन सकेनन् । यसो हुँदा उनले कृष्णलाललाई काठमाडौँ झिकाए र उनलाई नक्सालको काठगोदाममा काम पनि दिए । यहाँ पनि कृष्णलालले अत्यन्तै इमानदारीपूर्वक काम गरे । उनको आफ्नो इमानदारीको कारण तत्कालीन राणाशासक सजिलै प्रभावित भई केही समयपछि नै कृष्णलाललाई श्री ३ को बिन्तीपत्र सुनाउने डिट्ठा पदमा जागिर दिइयो र यस काममा पनि कृष्णलाल दत्तचित्त भई लागिपरे । परिणामतः थोरै समयपछि नै उनी सुब्बा पदमा बढुवा पनि भइहाले ।

कृष्णलाल सुब्बा पदमा बढुवा हुँदासम्म तत्कालीन जहानियाँ राणाशासनको विरोधमा नेपाली जनता विस्तारैविस्तारै जागरुक हुन थालिसकेका थिए । भित्रभित्रै राणाशासनको विरोध सुरु भइसकेको थियो । विस्तारै कृष्णलालमा पनि राणाहरूप्रति घृणा उब्जी जनतालाई राणा विरोधी क्रियाकलापमा उठाउनुपर्छ भन्ने विचार जागृत हुँदै थियो तर राणाहरूले दिएकै जागिर खाएर उनीहरूकै विरोध गर्न कृष्णलाललाई अप्ठ्यारो पर्‍यो । यसो हुँदा कृष्णलालले तत्कालीन निरङ्कुश शासक राणाहरूले प्रत्यक्षरूपमा बुझ्न नसकुन् भनी घुमाउरो भाषा प्रयोग गरी एउटा पुस्तक लेखे-‘मकैको खेती’ ।

कृष्णलाल वास्तविकरूपमा एक कुशल लेखक थिए । उनले मकैको खेती गर्ने तरिका सिकाउन एउटा उपयोगी पुस्तक लेखे- ‘मकैको खेती’ जुन पुस्तकमा ‘राता टाउके कीरा र काला टाउको कीरा मकैमा लाग्ने रोग हुन्’ भन्ने लेखिएको थियो । त्यतिबेला चन्द्रशमशेर टाउकामा रातो टोप र भीमशमशेर कालो टोप लगाउँथे । त्यसैले बुझ्नेहरूले मकैको रोगको बारेमा लेख्दा चन्द्रशमशेर र भीमशमशेरको विरोध गरेको भन्ने अर्थ लगाइहाले । यसैगरी सो पुस्तकमा ‘हामी स्वदेशी कुकुरलाई भन्दा विदेशी कुकुरलाई बढी मान गर्छौं तर चोर-डाँकुबाट हाम्रो रक्षा गर्नेबेलामा गद्दीमा सुत्ने विदेशी कुकुर काम नलागी स्वदेशी कुकुर नै काम लाग्छन्’ भनी लेखिएको थियो । यसका साथै उक्त पुस्तकमा ‘मकैलाई चोरबाट बचाउन भोटे कुकुर चाहिन्छ’, ‘जुन कुकुरले खोले खान्छ, परिआएमा त्यसले चोर र बाघसँग पनि ज्यान अर्पेर लड्छ तर अचेल यसको वास्तै नगरी बेलायती कुकुर पाल्न लागेका छन्, त्यो कस्तो त भन्दा दूधभात खाई बलिष्टमा बसेर मालिकको पछिपछि लाग्दै देख्दाका राम्रा मात्र बेलायती कुकुरले केही काम गर्दैन’ भन्ने वाक्यहरू उल्लेख गरिएको थियो ।

(स्रोत : मधुपर्क २०६६ साउन)

This entry was posted in समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.