कविता : अतित र वर्तमानमा छटपटाइरहेको भविष्य

~बाबुराम आचार्य “विकल्प”~

अतित अतित नै हुन्छ जहाँ वर्तमान छ
कथित कथित नै हुन्छ जहाँ सत्य छ
तर अतित र वर्तमानमै भविष्य छ
वर्तमान बिनाको भविष्य अन्धकार छ ।

अतित छट्पटाइरहेको थियो वर्तमान जस्तै
वर्तमान छट्पटाएको छ अतित जस्तै
तर वर्तमान भविष्यको छटपटी देख्न चाहँदैन
अग्रगमनको नयाँ छलाङ चाहन्छ ।

अतितका पतित कार्यहरू वर्तमानमा चाहिँदैन
वर्तमानलाई अतित बनाउन कसैले पाइँदैन
तर अतितको कालो बादल मडारिँदै छ
वर्तमान अनि भविष्य कालो बनाउन ।

वर्तमान अतितबाट सिक्छ, भविष्यलाई सिकाउँछ
अतितलाई फाल्छ, भविष्यलाई झिकाउँछ
हो, त्यही माग वर्तमानले गरिरहे छ
सुनौलो भविष्यका लागि वर्तमान मरिरहे छ ।

अतितबाट जन्मिएका काला कर्तुतहरू
वर्तमानसँग पौठेजोरी खेल्दैछन्
आजको वर्तमान भूतबाट जन्मिए पनि
भूतको स्वरूपलाई बदल्न चाहन्छन् ।

तिनै अतितका पतित कार्यहरूबाट
वर्तमान मुर्छित छ भविष्य अनिश्चित छ
तर सुनिश्चित बनाउन प्रयासरत छ वर्तमान
भविष्यले वर्तमानलाई तानिरहे छ ।

यिनै इतिहासका सत्य मोडहरूमा
अतित र वर्तमान कालोमा छटपटाउँदा
भविष्य पनि छलपटाइरहेछ भन्ने
कता कता आभाष भइरहेछ ।

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क १४ – Feb. 25, 2015 – २०७१ फागुन १३ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.