~नारायण शर्मा~
घुमिफिरी आयो तीज चेलीबेटी नचाउन
उठ्नु पर्यो दिदीबहिनी देश बचाउन
गण्डकी र कोशी जस्तै कर्णाली नी गुम्दैछ
आकाशैमा विस्तारवादी चिल घुम्दैछ
विस्तारवादले फेरि हाम्लाई महाजालमा पार्दैछ
कर्णालीमा जिएमआरलाई अघि सार्दैछ
राजनैतिक सङ्क्रमणको नेपालको अवस्था
मौका छोपी गर्न लागे अन्तिम सम्झौता
दक्षिणबाट प्रभु आए त्यही कर्णाली लिनलाई
आतुर थिए ठूला नेता भेटी दिनलाई
प्रभुजीले भाषण दिए आश्वासन बाँडेर
हाम्रा नेता सुनिरहे र्याल काढेर
सडकमा आवाज‘थ्यो जिएमआर चाहिँदैन
राष्ट्रघाती पिडिए गर्न पाइदैन
कर्णाली हो नेपालीको शीर उँचो पार्ने शान
गिर्न दिनु हुन्न हाम्ले हाम्रो स्वाभिमान
संसारकै सस्तो अनि सुन्दर परियोजना
बन्न दिनु हुन्न विस्तरावादको भोजन
विद्युतभन्दा पानीमाथि उसले आँखा ला’को छ
देशभक्त नेपालीले थाहा पा’को छ
स्थानीय जनता पनि विरोधमा आ’का छन्
सरकारको रवैयाले आगो भा’का छन्
परियोजना सञ्चालनमा अघि बढे जिएमआर
छौँ भन्दैछन् ज्यानकै बाजी थाप्न तयार
एक थोपा रगत हुञ्जेल विश्राम हामी लिँदैनौँ
कर्णालीलाई विदेशीको हातमा दिँदैनौँ
लाक्षी सरकार प्रभुजीकै कुरा सुनिरा’को छ
षडयन्त्रका तानाबाना बुन्दै गा’को छ
गण्डकी र महाकाली विक्री भए जसरी
कर्णाली नि गुम्न नदिऔँ अब त्यसरी
कर्णालीलाई पीडा पर्दा मेची जाग्नु पर्ने छ
होइन भने विस्तारवादले राज गर्ने छ
आमा दिदी बहिनीहरू कुरा बुझौँ यसपाली
देशभरिका जनता उठौँ जोगाऔँ कर्णाली
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ३९ – Aug.27, 2014 – २०७१ भाद्र ११, बुधबार)
