~निलिमा पुन~
यस पटकको चाडमा माइत जाने रहर छ
सबै माइती दिदी बहिनी भेटने मलाई मन छ
हिमालबाट दिदी पनि आउने कुरा गर्थिन्
तराईबाट फुपु पनि पहाड जाने भन्थिन्
भारतबाट ठूला दाजु छुट्टी लिई आउने रे
विदेशबाट भाइ पनि घर फर्की आउने रे
कस्तो होला हिमालबाट आउने नयाँ नानी
कस्तो होला तराईबाट आउने नयाँ नानी
कस्ता होलान पहाडमै हुर्किएका नानी
कस्तो होला भेषभुसा कस्तो होला बानी
थरी थरी भेष होला थरी थरी जात
सबै मिली सँगै हिड्दा कस्तो होला साथ
जहाँबाट आए पनि उही आमाका सन्तान
भेटघाट हुँदा सबै कति खुशी होलान्
सबै सन्तान फर्की आउँदा आमा कति खुशी
कति रमाइलो होला हाँस्दा सँगै बसी
किन किन यो मनले माइत जाउँ भन्छ
सबैसँग सँगै बसी हाँस्ने मलाई मन छ
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ४७ – Oct. 9, 2013 – २०७० असोज २३ गते, बुधबार)
