~कृष्ण शाह यात्री~
आरम्भ–खण्ड
(जीवनको अन्तिम दृश्य देखिन्छ। एक नायक पात्रको मृत्यु भएको छ। यतिबेला रंगमञ्च अर्थात् आर्यघाटको चितामा जलिरहेको नायकको लास पोलिरहेका छन्— यस नाटकको मुर्दा पोल्ने घाटे पात्र अर्थात् जीवन नेपाली।
पृष्ठभूमिमा शोधधुन बजिरहेको हुन्छ। हजारौं मानिस नायकप्रति श्रद्धाञ्जली दिइरहेका छन्। नदीकिनारमा बसेर जलिरहेको चिता हेरिरहेका छन्। जीवनलाई ती सबैले आफूलाई नै हेरिरहेझंै लाग्छ।)
जीवन : (मनमनै) यी मानिसहरू के हेरिरहेका छन्? मृत्यु वा जीवन? मृत्यु नै हुन सक्छ। अनि मैले लास पोल्दा मानिसहरू सधैं किन यसरी चिता छेउमा बसेर रुने गर्छन्? मलाई मानिस रोएको मन पर्दैन। ती मेरै कारणले रोएझैं भन्ने लाग्छ मलाई। यसरी नरोइदिए हुन्थ्यो। मेरो काम त नयाँ बाटो खोलिदिने हो। उनीहरू झन् खुसी पो हुनु पर्ने। (बाँसको घोचोले चिताको लास मिलाउँदै) यसरी पोल्नु मेरो मौलिक काम हो। म आफ्नो कामबाट आनन्द पाउँछु। मैले धेरै लासहरूलाई मेरो कामबाट न्याय दिएको छु। काम उत्सव हो। अहिले म नायकको पार्थिक शरीरसँग अग्नि–उत्सव मनाइरहेको छु। (त्यसैबेला शोकधुन बज्छ) यो शोकधुन पनि बारम्बार किन बजाइन्छ?
(मलामी–स्वर सुनिन्छ। जीवन सोच्न छोडेर उनीहरूको कुरा सुन्न थाल्छ।)
क मलामी : नायक निकै असल पात्र थिए।
ख मलामी : नायक सबैका नायक थिए।
ग मलामी : यसरी अनि यति छिटै जालान् भन्ने मैले सोचेकै थिइन।
घ मलामी : कसले गर्योत होला नायकको हत्या?
ङ मलामी : यो घोर निन्दनीय कार्य हो।
च मलामी : नायकको मृत्युपछि अब कसरी अगाडि बढ्छ यो नाटक?
(मलामीहरू नि:शब्द बन्छन्। फेरि रोदन सुनिन थाल्छ। जीवन फेरि सोच्न थाल्छ।)
जीवन : (मनमनै) मलाई अचम्म लाग्छ? मानिसको मृत्युमा मानिसहरू किन दु:खी हुन्छन्? सबै मानिस एक न एक दिन यसरी नै आ–आफ्नो बाटो लाग्नैपर्छ। हिटलर, प्लेटो, बुद्ध, कृष्णहरूको पनि एक दिन सारा कुरा छाडेर प्रस्थान भयो यस रंगमञ्चबाट। (फुत्किन लागेको हाँसो रोक्दै) मैले पनि कुनै दिन यसरी नै बाटो तताउनुपर्छ ।
(शोकधुन अविराम बजिरहन्छ। हेर्दाहेर्दै चिताको लास खरानी बन्छ। मलामीहरू पातलिन थाल्छन्। रात छिप्पिँदै गइरहेको हुन्छ। आफ्नो सबै काम सकेर जीवन नजिकैको धारामा नुहाउन थाल्छ। त्यहीँ उसको भेट एक वृद्ध पुरुषसँग हुन्छ।)
वृद्ध : आज कति कमाइ भयो त जीवनबाबु?
जीवन : कति कमाउनु नि बा? उही त हो नि दुई–चार दिनलाई छाक टर्ने भयो।
वृद्ध : राम्रै कमाइ भएछ त आज।
जीवन : खै के राम्रो भन्ने र बा? छोराछोरी दुवैलाई भोलि कलेजको शुल्क तिर्न पैसा दिनुछ। यो आम्दानीले खाने कि छोराछोरी पढाउने?
बृद्ध : कति कतिमा पढ्छन् नि छोराछोरी?
जीवन : छोरो बिबिए पढ्दैछ। छोरी प्लस टु पढिरहेकी छे।
वृद्ध : पढाउनुपर्छ जीवनबाबु! छोराछोरीलाई पढाउनुपर्छ। मैले त नपढाएरै मेरो छोरो धन–पिपाशु भयो। ज्ञान र संस्कार त बेलामै दिनुपर्छ उनीहरूलाई। मैले त्यो नदिएकाले नै मैले जिन्दगीभरि कमाएको सबै सम्पत्ति बेचेर मलाई वृद्धाश्रममा छाडेर हिँड्यो मेरो एक्लो छोरो।
जीवन : अनि कहाँ छन् त तपाईंका छोरा?
वृद्ध : कुरा नगरौं बाबु। भेटघाट र कुराकानी नभएको नै दस वर्ष बितिसक्यो। छोरो सानै छँदा रोगले थलिएर बूढी मरी। दोस्रो बिहे गरिन। आज यो दिन देख्नुपरिरहेको छ। (लामो सास फेर्दै) जीवनबाबु! एउटा कुरा सोधौं?
जीवन : के कुरा? भन्नूस् न।
वृद्ध : म मरेँ भने मेरो लास तपाईंले नै पोलिदिनूस् है जीवनबाबु। मसँग त तपाईंलाई दिने पैसा पनि छैन।
जीवन : कस्तो कुरा गर्नुभएको तपाईंले? तपाईं त मेरा बाजस्तै हुनुहुन्छ। तपाईंलाई अझै दुई–चार वर्ष केही हुँदैन। केही भइहाल्यो भने म छँदैछु नि।
वृद्ध : जीवनबाबु! मलाई त आगोदेखि खुबै डर लाग्छ। चितामा त्यसरी बाँसको घोचोले हान्दै लास मिलाएको देखेर त मेरो आङ नै सिरिङ्ग हुन्छ। तपाईं निकै साहसी हुनुहुन्छ जीवनबाबु।
जीवन : (हाँस्दै) मरेको मानिसलाई घोचोले हान्नु केको साहस हो र बा? ल त, म अहिले जान्छु। घर ढिलो पुगियो भने चिसो खानाले स्वागत गर्छ।
(जीवनको प्रस्थान हुन्छ। वृद्ध कहिले निभेको चिता र कहिले जीवन गएतिर हेरिरहन्छ। रंगमञ्चको आलोक हराउँछ।)
मध्य–खण्ड
(प्रकाश छरिँदा रंगमञ्चमा जीवनको घरको भान्छाकोठाको दृश्य देखिन्छ। कोठाको झ्यालबाट बाहिर पानी परिरहेको देख्न सकिन्छ। नेपथ्यमा झ्याउँकिरी र वर्षाको आवाज निरन्तर आइरहेको हुन्छ। कोठामा जीवन र संगी छन्। संगी अर्थात् जीवनकी धर्मपत्नीले जीवनलाई खाना पस्किरहेकी हुन्छिन्।)
संगी : आज पनि ढिला आउनुभयो नि। पैसा कति ल्याउनुभयो त?
जीवन : (गोजीबाट सय–सयका केही नोट झिकेर पत्नीलाई दिँदै) यत्ति भयो आजको कमाइ। राख, छोराछोरीलाई बिहानै दिनू।
संगी : छोराछोरीलाईं तपाईंले पैसा दिँदा पनि त हुन्छ कहिलेकाहीँ। जहिल्यै ढिला आउनुहुन्छ। उनीहरू सुतिसकेका हुन्छन्।
जीवन : के गर्नु बूढी! मेरो काम नै यस्तै छ। दस–पाँचको अफिस हैन। काम परेको बेला अबेर पनि हुन्छ। तलाई सबै कुरा थाहै छ नि। बीस वर्ष भइसक्यो। अब त समयको हेक्का पनि रहन छाडिसक्यो। फेरि छोराछोरीले मसँग कहिले पो राम्ररी कुरा गर्न चाहेका छन् र?
संगी : त्यसैले त मैले भनेको मान्नूस्। अब मान्छे पोल्ने काम छाडिदिनूस्। घाटे बन्न छाडिदिनूस्। कति दिन छिमेकी र घरबेटीसँग कुरा लुकाएर यो काम गर्ने? अनि कति दिन डेरा फेर्दै हिँड्ने? अब त छोराछोरी पनि ठूला भइसके। उनीहरूले पनि भनिरहेका थिए।
जीवन : के भनिरहेका थिए?
संगी : बुबाको कामले गर्दा बुबा भन्न पनि लाज लाग्छ रे। कसैले बुबाको कामबारे सोधिहाले पनि अरू नै कुरा बनाएर ढाँट्नुपर्छ रे। हिजो छोरीले भन्दै थिई। उसले बुबाको पेसाबारे कलेजको फाराममा रिस उठेर डाक्टर पो लेखिदिई रे।
जीवन : ठिकै त लेखी। के म डाक्टरभन्दा कम छु र। डाक्टरले मृत्युअघि नयाँ जीवन दिन खोज्छन्। म मृत्युपछि नयाँ जीवन दिन्छु।
संगी : हैन कति कुरा बनाउन जानेको तपाईंले। मलाई अरू कुरा थाहा छैन। यो घाटेको काम छाडिदिनूस्।
जीवन : अनि मैले काम छाडेपछि के खाएर बाँच्छौ तिमीहरू?
संगी : खोज्नू नि अरू काम। पाइहालिन्छ नि।
जीवन : अँ, पाइन्छ काम? बीस वर्षपहिले खोजेजस्तो काम नपाइएको यो सहरमा अहिले काम पाइन्छ होला नि।
संगी : मलाई अरू कुरा थाहा छैन। मान्छे पोल्ने काम छोडिदिनूस्। भोलि घाट जानु पर्दैन। म गएँ सुत्न। खाना खाएर भान्छाको बत्ती मारिदिनुहोला।
(संगीको प्रस्थान हुन्छ। जीवन किंकर्तव्यविमूढ हुन्छ। ऊ चिसो भातमा हात खेलाउँदै सोच्न थाल्छ।)
जीवन : (एक्लै) मैले आफ्नो काम किन छाड्ने? जसले जे भने पनि म आफ्नो काम छाड्दिनँ। म घाटे हुँ। घाटे नै रहन्छु। मैले के गल्ती गरेको छु र? चोरेको छैन। फट्याइँ गरेको छैन। आफ्नै श्रम र सिप बेचेर पनि खान नपाउनु? यो कस्तो समाज हो? अनि यो कस्तो परिवार हो? मेरो कामले छोराछोरीलाई आत्मग्लानि किन हुन्छ? मेरो पेसाले संगीलाई मानसिक पीडा किन हुन्छ? के मेरो खुसीका निम्ति यो काम गरेको हुँ र मैले? मैले यो कामबाट गरेको आम्दानी उनीहरूकै खुसीका निम्ति खर्चिएको छु।
(भात खाँदाखाँदै पूरा नखाईकनै जीवन उठ्छ। हात चुठ्छ। सुत्ने कोठामा जानुपर्ने उसका पाइला एक्कासि घरबाहिर लम्किन्छ। भान्छाकोठाको बत्ती बली नै रहेको हुन्छ। जीवन मध्यरातमा घरबाहिर निस्कन्छ। बाहिर पानी परिरहेको हुन्छ। एक्कासि चट्याङ पर्छ। मञ्चको सबै बत्ती झ्याप्पै निभ्छ।)
अन्त्य–खण्ड
(मधुरो प्रकाशमा मसानघाटको दृश्य देखिन्छ। चिसो बतास चलिरहेको हुन्छ। चितामा बनाउने घाटमा एक वृद्ध व्यक्ति सुतिरहेको हुन्छ। यो व्यक्ति जीवनले पहिलो दृश्यमा भेटेको वृद्ध नै हो। जीवनको प्रवेश हुन्छ। उनी चारैतिर नियालेर हेर्छन्। लामो सास फेर्छन् अनि थोरै मुस्कुराउँछन्।)
जीवन : आजदेखि म यहीँ बस्छु। मेरो लागि यो नै उपयुक्त ठाउँ हो। यहाँ मैले कसैको गुनासो सुनिरहनु पदैन। मेरो काममा कसैले हस्तक्षेप पनि गर्न सक्ने छैनन्। (सुतिरहेको व्यक्तिलाई देखेर) मानिस पनि अचम्मकै प्राणी हो। यस चिसो घाटमा पनि आनन्दले निदाउन सक्ने को होला? हुन त आनन्दको निद्रा किनेर किन्न सकिने कुरा होइन। महलमा नपाइने आनन्द यहाँ कसैको लागि पाइन्छ भने त्योभन्दा अचम्मको कुरा के हुन सक्छ? को होला यसरी निदाउन सक्ने? (सुतिरहेको व्यक्तिको नजिक जान्छ) यी त वृद्धाश्रमका बा पो रहेछन् त। वृद्धाश्रममा सुत्न छाडेर यो घाटमा किन सुतेका होलान्? आज मात्रै हो कि अरू दिन पनि यहीँ सुत्छन् यी बूढा? (एकदमै नजिक जान्छ) के गरूँ? उठाऊँ कि सुत्न छाडिदिऊँ? हैन सुतिरहेको मानिसलाई ब्युँझाउनु राम्रो कुरा होइन। बरु परको पाटीमा गएर म पनि निदाउनुपर्योत। (नजिकैको पाटीमा गएर बस्छ। टोपी फुकाल्छ। त्यहीँ ढल्किन्छ। निदाउने प्रयास गर्छ।) कस्तो निद्रा नलागेको आज मलाई? सायद नयाँ ठाउँ भएर होला। तर यो मेरो निम्ति नयाँ ठाउँ होइन नि। पाटीको पहिलो बसाइ भएर पनि यस्तो लागेको होला।
(त्यसैबेला एक साधु देखा पर्छ। ऊ जीवन नजिक आउँछ।)
साधु : जीवन भाइ! यति राति घाटमा के गरिरहनुभएको छ? घर जाने बेला अझै भएन?
जीवन : आज जाँदिन। यतै बस्ने हो साधु–महाराज! अनि तपाईं पनि त निदाउनुभएको रहेनछ त!
साधु : हामी जोगीलाई निद्रा कहिले पो लाग्छ र जीवनबाबु? निद्रा नलागेको बेला मध्यरातमा मसानघाट डुल्न मलाई खुबै मन पर्छ। अनौठो बासना र शान्त अनुभव गर्छु म यहाँ। (सुतिरहेको वृद्धलाई देखेर) ओहो! त्यो मानिस को हो?
जीवन : वृद्धाश्रममा बस्ने बा हुन्। खै किन सुतिरहेका छन् आज यहाँ!
साधु : लामो यात्रामा हिँडिसके जस्तो लाग्छ मलाई त।
जीवन : (जुरुक्क उठ्दै) के भन्नुभएको तपाईंले?
साधु : हो। यसरी कोही पनि ज्युँदै यहाँ सुतेको मैले देखेको छैन।
(जीवन दौडिँदै वृद्ध सुतिरहेको ठाउँमा पुग्छ। घचघच्याउँछ। वृद्ध उठ्दैन।)
जीवन : बा! उठ्नूस्। किन यहाँ सुत्नुभएको?
साधु : अब उनी उठ्दैनन् जीवनबाबु। उनलाई यसरी नै यस रंगमञ्चबाट प्रस्थान गर्न दिनूस्। बरु यस नाटकको पटाक्षेपको तयारी गर्नुस्।
(जीवन केही बोल्न खोज्छ। तर गलाबाट आवाज निस्कँदैन। साधु घाटको नदिनभित्र प्रवेश गर्छ। जीवन घरी साधु र घरी वृद्धको लास हेरिरहन्छ। उसलाई यो वातावरणदेखि एक्कासि निकै डर लाग्छ। ऊ त्यहीँ घोप्टो परेर रुन थाल्छ। शोकधुन बज्न थाल्छ।)
– १९ भाद्र, २०७२
(स्रोत : नागरिक – शनिबार)