मनोवाद : १९००

~टंक चौलागाई~

सबैजना आउनुभो ? ढोका लाइदेऊ त्यहाँ सहयोग गर्ने कोही भए ! (साउती) भाग्छन् के दर्शक, ढोका लगाएर थुन्नुपर्छ । कोही छैन ? आफैँ लगाइदिन्छु । (केहीबेर ढोकामै अडिएर) जसलाई आवश्यक पर्छ, काम उसैले गर्ने हो । (आदेश) ख्याल गर्नुस्, तपाईँहरूले यो ढोका खोल्न पाउनुहुन्न । ए प्राविधिक ! बत्ती बाल यार । देखिनु परेन ? मान्छे चिनिनु पर्‍यो । चिनिनकै लागि हो, यो युद्ध । …एकपटक दर्शकतिरको बत्ती बाल्देऊ कतिजना आएछन्, हेर्छु । थोरै भए बिस्तारै बोल्नु पर्‍यो । किन घाँटी सुकाउनु?
थुक्क ! उज्यालो अघिदेखि नै थियो है ?
लु,
मोबाइलको स्विच अफ गर्दिनुस्
आपसमा कुराकानी नगर्दिनुस्
खाने कुरा नखाइदिनुस्
फोटो खिच्दा फ्ल्यास अफ गर्दिनुस् ।
दिक्क लाग्यो भने बीचमै उठेर हिँड्नुस् ।
अवधि : ३० मिनेट ­(बीचमा मध्यान्तर छैन ।)
थुक्क !
म किन खान्छु ? म किन सुत्छु ? म किन लुगा लगाउँछु ? (रोकिएर) …र म किन लेख्छु ?
(उद्घोषकको शैलीमा) नेपालीको बानी ! जे कुरा पनि सित्तैमा चाहिने । हुन त, तँ कुन देशबाट आइस् भन्नुहोला । म पनि नेपाली नै हुँ । जन्मथलो काभ्रे । अहिले गोठाटार, कहिले बानेश्वर । ठेगान छैन जीवनको, बोलीको । साथीहरू भन्छन्, ‘बाउले काठमान्डूमा घर बनाइदिएको छ,’ यही निहुँमा धेरै अवसरमा पछाडि पार्दिन्छन् ।
(घुमाउरो पारामा) सित्तैमा पाए अलकत्रा खाएर मट्टितेलले कुल्ला गर्छ भन्थ्यौँ के हामी । हाम्रो बानी त्यस्तै छ । उखान त्यसै बन्या हैन । अंग्रेजीमा यो उखानलाई के भन्छन् होला ? म अंग्रेजी जान्दिनँ के !
ऊ बोल्न सुरु भइसक्यो, हेर्न आको हो कि, बोल्न आको ? टिकट नकाटी आएकाहरू बोल्छन् के । टिकट काटेकालाई पैसाको माया हुन्छ, बोल्दैनन् । …ए आउनुभा छ भने बस्नुस्, किन जानुहुन्छ ? टिकट नकाट्याजति सबै गए, एक सय पचासजनाको यो हल खाली हुन्छ । खाली हलमा कसलाई देखाउनु ? कोसँग कुरा गर्नु ? कि एक्लै ! एक्लै फत्फताउन म पागल हो ?
पागल ! (रिसाउँछ) …के रे ? म पागल जस्तो देखिन्छु रे ? लामो जगल्टा भएका, च्यातिएका लुगा लगाउने सबै मान्छे पागल हुन्छन् ? (स्वीकार) हो, कपडा फोहोर छन्, च्यातिएका छन् । ख्याउटे छु । भोको छु । वर्षाैँदेखि नुहाएको छैन । (अस्विकार) तर म पागल हैन ।
मलाई देख्नुभो ? नेपथ्यमा छु, कहाँबाट देख्नुहुन्छ ! तर म छु । (छेक्काबाट टाउको निकाल्छ) तपाईँले मलाई नदेख्नु भनेको म नहुनु हो ? होइन । तपाईँले मलाई नदेख्नु भनेको पनि म हुनु हो । म छु । तपाईँको वरिपरि छु । तपाईँभित्र छु ।
अबुई ! सन्दर्भ छुट्यो । के कुरा गर्नुपर्ने, के कुरा गरिरहेको छु । (गम्भीर) … म चाहन्छु, शीर्षकमा पस्न म चाहन्छु । (छिटो) यत्रो ! मैले चाहँदैमा
हुन्छ ? तपाईँले चाहँदैमा हुन्छ ? … के रे ? हुन्छ रे ! लौ तपाईँले चाहेको गरेर देखाउनुस् त !
(मञ्चको बक्समा बस्छ ।) एक दिन । त्यो एक दिन । … त्यस्ता एक दिन धेरै आउँछन् हैन र
भन्या ? हैन । कसले बनाइदिएको हो, हप्ता, महिना, वर्ष, तीन सय ६५ दिन ! ती सब एक दिन हुन् । चौबीस घन्टाको एक दिन । भोलि उज्यालो भए त अर्काे दिन होला । नभए ? नभए तपाईँको त्यही एक दिन हो । जुन गयो । त्यो एक दिनबाट यो एक दिनसम्म मैले केही दिनहरू पाएँ ।
(अदबका साथ) हो ! त्यो दिनको अलिकति कुरा गर्नैपर्छ । त्यो एक दिन मन्डला थिएटरमा भुपिनको किताब चौबीस रिलको विमोचन थियो । चौबीस इन्टु चार छयानब्बेजति मान्छे उपस्थित थिए होलान् । तिनैमध्ये हामी पनि थियौँ । हामी भनेको विमल आरोही र म । त्यो दिन त्यस्ता अरू तीनवटा कार्यक्रम रहेछन् । विमल आरोही र मैले केही व्यक्तिगत कुरा गर्‍यौँ । … व्यक्तिगत कुरा तपाईँहरूलाई किन भन्ने ? नभने पनि त्यो कुरा तपाईँहरूले थाहा पाउनुहुन्छ । लेखक भनाउँदो र सम्पादन गर्ने मान्छेबीचको कुराकानी व्यक्तिगत हो कि सार्वजनिक हो, म जान्दिनँ ।
कुरा सकियो ! आजको हैन त्यो दिनको ।
विमल आरोही र म हिँड्दै टुरिजम बोर्डतिर लाग्यौँ । त्यहाँ ब्रजेशको किताब यायावरको विमोचन थियो । त्यसैले । हामी कुरा गर्दै गएका थियौँ । वाल्मीकि क्याम्पस अगाडि कत्रो फोहोरको थुप्रो हुन्छ, त्यो तपाईँलाई पनि थाहा होला । त्यो काठमान्डूवासीको सभ्यता छल्न हामी दुवैलाई हम्मे हम्मे पर्‍यो ।
ओहो ! कुराले लेन छोड्यो कि के हो ? (मौन । पानी पिउँछ ।) … कुरा निरन्तर भइरहेको थियो । लगभग त्यहीँनेर आरोहीले भने, ‘पत्रपत्रिकातिर लेख्नुस् टंकजी, गरिमामा लेख्नुस्, तपाईँ कथाहरू लेख्नुहुन्छ कि हुन्न ? को र छ यो मान्छे भनेर पाठकले चिनेपछि अनि किताब पढ्छन् ।’ उनले बुद्धिसागर, कृष्ण अविरलहरूको उदाहरण दिए । यो संसारमा चिनिने लोभ नभएको लेखक, लेखक …मात्रै के भन्नु …मान्छे कोही होला ! अघिल्लो तीन भेटमा पनि आरोहीले यही कुरा दोहोर्‍याएका थिए ।
(अधैर्य) त्यस दिनदेखि यस दिनसम्म म निदाएको छैन । रिसले हो कि ! ईष्र्याले हो कि ! डाहाले हो कि ! पीडाले हो कि ! वेगले हो कि ! आवेगले हो ? खुसीले हो कि ! दुखले हो ? (मञ्चमा छट्पटाउँछ ।) …म छट्पटाइरहन्छु । त्यही किताबको मुख्य पात्रझैँ राति उठेर हिँड्छु रे ।
…तपाईँ मोबाइल चलाउन थाल्नुभयो ? मोबाइल अफ गर्नुस् । मैले भनेको हैन ? त्यहाँ ढोकामा लेखेको पढ्नुभएन ? लेखेको सबै कुरा सबैले पढिदिए भने त यो महाभारत किन हुन्थ्यो ?
म किन लेख्छु ? (टोलाउँछ) किन लेख्छु ?
एक छिन है त ।
(पढाउँछ) न्युटन थर्ड ल अफ मोसन । एप्पल फल फ्रम दि ट्री । सर, तपाईँ किन स्कुलका केटाकेटी पढाउनुहुन्छ ? तपाईँ किन घरको नक्सा
बनाउनुहुन्छ ? तपाईँ किन फोटो खिच्नुहुन्छ ? (फिल्म शैलीमा) …ए मास्टर ! तपाईँ केटाकेटी फेल भए भनेर पढाउन छोड्नुहुन्छ ?
तपाईँ किन तरकारी बेच्नुहुन्छ ? तपाईँ किन गाडी चलाउनुहुन्छ ? तपाईं किन भारी बोक्नुहुन्छ ? ए भैया ! तपाईँलाई रहर छ ? बिहानदेखि बेलुकासम्म चिच्याउन, (साइकल ठेलेर) ‘लौ आयो काउली, बन्दा, आलु, प्याज, हरियो खुर्सानी, भिन्डी, ए साउनी, ए दाइ सब्जी लिनुस् सब्जी,’ के रहर छ तपाईँलाई ? तपाईँ चाहेर त्यो काम नगर्न सक्नुहुन्छ ? सक्नुहुन्न । (हलुका भएर) …तपाईँ चाहेर त्यो काम नगर्न सक्नुहुन्छ, छोड्दिनुस् । तर, फेरि अर्काे काम गर्न थाल्नुहुन्छ । र गर्नुहुन्छ । गर्नैपर्छ ।
तपाईँ डाक्टर हैन ? तपाईँ किन बिरामीको उपचार गर्नुहुन्छ ? तपाईँ किन फोहोर उठाउनुहुन्छ ? तपाईँ किन भ्रष्टाचार गर्नुहुन्छ ?
तपाई सबैहरू किन यी सबै गर्नुहुन्न ?
(प्लेटफर्ममा विरत्तिएर बस्छ ।) एउटा होटेलले मिठो खाना पकाएन । तपाई सधैँ त्यही होटेलमा खाइरहनुहुन्छ ? पक्कै खानुहुन्न । होटेल फेर्नुहुन्छ । ग्राहक रित्तिएर पनि त्यो होटेलवालाले होटेल चलाइरहन्छ ? चलाउँदैन, विस्थापित हुन्छ । नहुन पनि सक्छ । यदि भयो भने त्यो उसकै क्षमताले गर्दा भयो । यहाँबाट दर्शक उठेर गए भने मेरो प्रस्तुतिले बाँध्न सकेन । प्रस्तुति भनेको मेरो क्षमता । क्षमताले बाँध्न सकेन । गए । म फेल भएँ । जानुस् । यो हुनु वा नहुनु, त्यो हुनु वा नहुनु । सबै मेरो क्षमताले गर्दा हो।
(फिस्स हाँस्छ ।) छ्या ! के कुरा गरेको मैले । ए बाबु ! तपाईँ किन पढ्नुहुन्छ ? तपाईँ किन बच्चालाई माया गर्नुहुन्छ ? तपाईँ किन देवता पूजा
गर्नुहुन्छ ? दिदी तपाईँको साडीको रङ खुइलिएछ ! किन लगाइरहनुहुन्छ ? तपाईँहरू सबै आफ्नै खुसीले यहाँ आउनुभएको हो ? हैन । सबैलाई मैले फोन गरेर, म्यासेज पठाएर बाध्य पारेको हुँ । आउनलाई ।

कहिलेकाहीँ मान्छेले नचाहेको काम पनि काम गर्नुपर्छ । अरूका लागि । अरू… क्या अरू ! खै कसकसका लागि ? म किन लेख्छु ? तपाईँ किन लेख्नुहुन्न ? तपाईँ किन जागिर खानुहुन्छ ? तपाईँ किन रक्सी खानु्हुन्छ ? जागिर खानु र रक्सी खानुमा त्यति ठूलो अन्तर छैन ।

जागिर खानु, रक्सी खानु र लेख्नु एउटै हो ?

(सशंकित) म किन लेख्छु ? (निचोरिएर) म किन लेख्छु ? (रिसाएर) म किन लेख्छु ? (चिच्याएर) म किन लेख्छु ? (अट्टहास गरेर) म किन लेख्छु ? कोही ‘भुक्के’ भन्छन् । कोही ‘हावादारी’ भन्छन् । कोही ‘नपाकेको सुन्तला’ भन्छन् ।
‘वनजंगलको विनाश’, ‘समाजको कुरा भएन’ भन्छन् । (तर्सिँदै) म किन लेख्छु ? (रुँदै) म किन लेख्छु ?

(दर्शकबीचमा जान्छ ।) तपाईँ बिहे गरेर खुसी हुनुहुन्न, अर्काे युवतीसँग प्रेम छ । बहिनी तिमी कति राम्री छ्यौ ! ओ काका ! तपाईँ अझै कुम्ल्याउने सुरमा हुनुहुन्छ ? आहा ! तपाईँको अनुहारमा कति कथा छ । तपाईँहरू सबैका धेरै कथा छन् । मेरा पनि कथा छन् । तपाईँहरू पात्र, म पनि पात्र ।

कोही रुवाउँछन् । कोही हँसाउँछन् । कोही गम्भीर बनाउँछन् । कसैलाई वास्तविकता झल्किएको स्वादिलो लाग्छ, कसैलाई प्रयोग गरेको ।

मेरो सास गन्हाउँछ । गहनाइरहन्छ । मैले भन्या हैन । अरूले भनेको । बुढीले पनि भन्छे । तैपनि म सास नफेर्न सक्दिन । यो पाइन्ट किन्दाखेरि नयाँ थियो । अहिले खुइलियो । च्यातियो । मन पर्दैन, तैपनि लगाइरहन्छु ।
हैन ! आज मैले तपाईँहरूलाई बाँध्न सकिन । जानुस् । बत्ती निभाऊ ।

प्राविधिक ? बत्ती निभाऊ । (मञ्चमा घोप्टो पर्छ । बत्ती निभ्दैन ।) त्यहाँ कोही छैन । बत्ती निभाउन आफैँ जानुपर्छ । …के तपाईँहरू जानुहुन्न ? यसको मतलब … मतलब जे पनि हुन सक्छ ।
मैले साँच्चै भन्या । त्यो दिनदेखि यो दिनसम्म आइपुग्दा मैले खुप सोचेँ, (कवितात्मक) कि जलाइदिउँ पाण्डुलिपि चर्चामा आऊँ एकाएक । त्यसपछिको चर्चा पो चर्चा । …हगे पनि चर्चा पादे पनि चर्चा ! आए पनि चर्चा, हराए पनि चर्चा । अहँ सकिनँ । सक्दै सकिनँ ।

सेक्सपियरले किन लेखे ? कामुले किन लेखे ? बनार्ड साले किन लेखे ? मुराकामी किन लेख्छन् ? जेके रोलिङ किन लेख्छिन् ? चेतन भगत किन लेख्छन् ? …कृष्णमूर्ति किन लेख्छन् ? (रोकिन्छ) पारिजातले किन लेखिन् ? समले किन लेखे ? देवकोटा, रिमाल, भूपि, सम लामिछाने, गोठाले, कुमार नगरकोटी, धरावासी, शान्तदास मानन्धर, अभय श्रेष्ठ, विकलले किन लेखे ?

…कोहीसँग जवाफ छ ? भन्नुस्, किन लेखे ? तिनीहरूले लेखेर के भयो ? नलेखेको भए के हुन्थ्यो ?
त्यो समाज यो समाज बन्दैनथ्यो ?

ए भाइ तिमी नै हैन किताबको किरो ! उठ । कि मञ्चमै आउँछौ ? …आऊ एकछिनलाई तिमी कलाकार, म दर्शक । तिमी लेखक, म पाठक । भन्देऊ त तिनीहरूका दर्शन के के थिए ?

(कवितात्मक) वाद, वाद भन्दै खुप गफिन्छौ । खुपै उडाउँछौ चुरोटको धुवाँ, खुपै रित्याउँछौ रक्सीका बोतल । रोकिएर) के समाज, तिनीहरूको दर्शनले मात्रै चलाएको हो ? मलाई थाहा छैन । यस्ता कुरामा म शून्य छु । शून्यता हैन शून्य । बुद्धु क्या बुद्धु ! के समाज तिनीहरूको किताबले बदलियो ?
बोल्नुस् । सक्नुहुन्छ बोल्न ? गोविन्द वर्तमानले किन कम लेखे ? र मरे । तिनले चार दर्जन किताब निकालेको भए के हुन्थ्यो ? दुईवटा मात्र निकाले, के भयो ? (माथिबाट मोटो डोरी झुन्ड्याउँछ ।)
(रोकिँदै, रोकिँदै) …मदनमणि दीक्षित, अमर न्यौपाने किन लेख्छन् ? …नारायण ढकाल किन लेख्छन् ? (एकै सासमा) झलक सुवेदी, श्यामल, कञ्चन पुडासैनी, धीरकुमार श्रेष्ठ, रमेश क्षितिज, सरुभक्त, नयनराज पाण्डे, बुद्धिसागर, माधव घिमिरे, महेशविक्रम शाह, हरि अधिकारी, मोमिला, सुविसुधा, सरस्वती प्रतीक्षा, गणेश पौडेल किन लेख्छन् ?
(शान्त भएर) ती सबै नलेखेर मासु पसल किन खोल्दैनन् ? जग्गा दलाली किन गर्दैनन् ? सिकर्मी, डकर्मी किन भएनन् ? कुचीकार, सुचीकार, नेता, मन्त्री किन भएनन् ? भएको जागिर छाड्छन् । बरालिएर हिँड्छन् । नाम फेरेर उपनाम राख्छन् । केका लागि ? लेख्नका लागि । त्यही त भन्या, लेखेर के भयो ?
र टंक चौलागाईँ, म । किन लेख्छु ? (वीभत्स) म किन लेख्छु ?
प्राविधिक ! बत्ती निभाऊ । (प्रकाश पर्दा मञ्चको बीचमा झुन्डिरहेको हुन्छ ।) आहा… ! ऐया… ! उहु… ! लौ… ! म पात्र… । थिएँ । केही छिनपछि रहन्न ।
(झुन्डिएको शरीर घुमिरहन्छ, आवाज लगभग अवरुद्ध ।) लेखकहरू मेरो कथा लेख । खुप बिक्ला ! जसरी मन पर्छ लेख । कुमार दाई, डेथ इज टोटल्ली वेस्ट अफ टाइम (मर्छ) ।
(दर्शक ढोका खोलेर बाहिरिन्छन् ।)

‘उम्म … सुत्दैनौँ ? हेर त कति बज्यो ।’
‘मनोवाद । पढ्छ्यौ ?’
‘अहिले ? उम्म … बिहान पढौँला । आऊ न ।’
बल्ल पो उसको शरीरको तातोले छोप्यो । ल्यापटपको देब्रे कुनो तीन बजाउन हतार गर्दै थियो । बत्ती निभाएँ ।
‘१९०० शब्द छ । बिहानै पढेर फिड्ब्याक देऊ न है । रिहियरसल सुरु गर्नुपर्ला ।’ म ब्ल्याङ्केटभित्र उसको शरीरमा टाँसिएँ ।
‘ल, ल सुत ।’ बुढीले नाक मुख मेरो छातीमा जोती । काउकुती लागेन । टर्राे आँखामा निद्राले झपक्क छोप्यो ।

(स्रोत : नयाँ पत्रिका)

This entry was posted in मनोवाद / स्वगत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.