नियात्रा : टिम्बुरबोटेको बाटोमा

~भेषराज रिजाल~

सोलुको सल्लेरीमै बित्न लागेथ्यो बिहान ।

अघिल्लोदिन लेकाली चिसो छुनखोज्दै मज्जाले डुलिएथ्यो सल्लेरीको सेरोफेरो । होटल मिडप्वाइन्टको आलुको रोटी र भीर महले भोजनको तृप्ति मात्र होइन दिएथ्यो एउटा स्वादिलो सम्झना ।

भीर मह चाख्ने इच्छासँगै सुनिँदैथिए अनेक रोमाञ्चक कथा ।

‘एकपसर मह खानाले दिनभर उठ्नै नसक्ने भएथेँ ।’

‘केटाकेटीमै खाएथेँ, छाद्ने, छेर्ने बनाएथ्यो ।’

‘मेरो त हातखुट्टामा करेन्ट लागेझैँ भएथ्यो ।’

युवराज पोखरेल, पेमादिदी र शेर्पाभाइका यी कुराले रहर, उत्सुकता, आश्चर्य र हाँसोको भुमरीमा पारेथ्यो धेरैबेर हामीलाई ।

‘जताबाट ल्याउनुभएथ्यो, उतै फर्काउनुस् ।’ बिखैसरि कसैलाई चाख्न नदिन भूषण खरेल टक्टकिनुभएथ्यो ।

औषधि हुन्छ कि भनेर दुदुई चम्चा खाएथ्यौँ रिजाल र मैनालीहरूले । अमृत चाखेझैँ एकथोपा चाट्नुभएथ्यो प्रमोद ढुङ्गानाले ।

यस्तै खाने, पिउने र रमाउने भएरै बितेथ्यो सल्लेरीमा अघिल्लो साँझ पनि ।

सगरमाथाको आधार भूमिमा पुग्दाको उमङ्गले बढ्तै उफ्रिरहेथेँ म । फाप्लुबाट लुक्लातिर उड्न उचालिइरहथ्यो मन । नुम्बुर हिमालको कर्के नजरले लगाइरहेथ्यो मोहनी । लेकाली स्पर्शले रोमाञ्चित हुँदै कल्पिरहेथेँ हिउँ दुनियाँका अनेक चित्रहरू । नाम्चे, स्याङबोचे र खुम्जुङ उक्लन निम्ता थियो टासी ल्यामू शेर्पाहरूको । सगरमाथाको आधार शिविर, कालापथ्थर र गोक्यो पुग्न आग्रह थियो आत्मियताको । जन्तरधापको तेर्सो छिचोल्दै पिके डाँडातर्फको पदयात्रा, नुम्बुर फेदीको जुनबेँसी र दुधकुण्ड हेर्न रहर थियो अन्तरमनको । रहरसँग मिसिन आइपुगेको मिठो अभिलाषालाई हृदयको एउटा कुनामा जतनसाथ साँचेर मुस्कुराएथेँ म ।

अहिले भने सल्लेरीबाटै फर्केर पुग्नुथियो टिम्बुरबोटे । टेक्नुथियो नेपालको एउटा कालखण्डमा राजनीतिक परिवर्तनको चर्चित अध्याय भए पनि मान्छेको मनबाट विस्मृत हुनलागेको टिम्बुरबोटे शहीद स्मृति भूमि । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव दीर्घराज मैनालीको संयोजकत्वको टोलीमा सरकारी कामले खटिँदा प्रकृतिको स्नेहिलो काखमा पनि रमाउन खोजेथ्यौँ हामी ।

जति दिन छिप्पिइरहेथ्यो उति मन पोलिरहेथ्यो । टिम्बुरबोटे शहीद स्मृति पार्कको अवस्था जाहेर गर्ने जिम्मेबार अधिकारी र हामीलाई टिम्बुरबोटे पुर्‍याउने कर्मचारीबीच भइरहेथे अनेक भलाकुसारी ।

‘टिम्बुरबोटे भालु लाग्ने लेक हो, जान कठिन छ ।’

‘घना जङ्गल र चारघण्टे उकालो छिचोल्नुपर्छ टिम्बुरबोटे पुग्न ।’

‘टिम्बुरबोटे जाने नै हो भने आज फर्कन गाह्रो छ ।’

कृष्णप्रसाद सापकोटा, बुद्धिनारायण श्रेष्ठ, युवराज पोखरेल आदिबीच चलिरहेथे अनेक तर्कवितर्क ।

‘कठिन भए पनि जानैपर्छ ।’ डरत्रासको प्रवाह नगरी बोल्नुभएथ्यो दीर्घराज मैनाली ।

तब त, दिशानिर्देश भएथ्यो एउटा गन्तब्यको । अनि त, तारतम्य मिलाएर निमेषभरमा सल्लेरीबाट कुदिहालेथ्यौँ हामी ।

‘के ल्याइदिनुहुन्छ त मलाई ? सोलुखोला किनारको साल्मेमा आइपुग्दा छोरी प्रज्ञाको सोधनी थियो यो ।

‘सेतो सिमी, बुङको आलु, भीर मह र किबी ।’ नौलावस्तुप्रतिको छोरीको उत्सुकता जाँच्न खोजेथेँ मैले ।

‘अलिकति हिउँ पनि ल्याइदिनु न ।’ मेरो मानसदुनियाँ हल्लिनेगरी सानो चिज मागिन् छोरीले ।

‘कसरी ल्याउने त हिउँ ?’ छोरीको प्रकृति प्रेमलाई समर्थन गर्न खोजेँ मैले ।

‘जसरी भए पनि ।’ छोरीको बालापन झन् छोइयो छातीमै ।

‘तल हिउँ परिसकेको छैन, तुषारो मात्र देखिएको छ, बरु हिमालै ल्याइदिन्छु हुन्न ?’

‘कसरी ल्याउनुहुन्छ त हिमाल ?’

‘उचालेर छातीभरि, मनभरि, आँखाभरि ।’ किताबको हिमाल र हिउँसँग मात्र परिचित सानी छोरीसँग अलि बढी नै जिस्किएँ म ।

‘हुन्न, हिउँ नै चाहिन्छ मलाई । हिउँ नभएर तुषारो ल्याइदिनु न त ।’

छोरीसँगको सम्वादमा रमाउँदा आफैसँग जिस्किइरहेथेँ म बढ्ता । मेरोजस्तै छोरीको चाहना बुझेर खुसीले रमाइरहेथेँ म बढ्ता । सहयात्रीका हाँसोठट्टासँग एकछिन रल्लिए पनि हिमालतिरै तानिइरहेथेँ म बढ्ता ।

साँच्चै, मेरो आँखामा टाँसिएको थियो हिउँको तस्वीर । मेरो मनमा थुप्रिएको थियो हिउँको भुवा । मेरो छातीमा छोइएको थियो हिउँको हावा । मेरो मुटुमा सजिएको थियो हिउँको माया ।

बेलीडाँडाबाट टिम्बुरबोटेतर्फ उकालियौँ हामी ।

अलिकति हिलो देख्नासाथ गाडी जान नसक्ने निष्कर्षसहित गुरुजीहरू पाखा लाग्नाले सुन्दर लेकाली भूमिलाई आफ्नै पैतालाले छुनपायौँ हामीले ।

दीर्घराज मैनाली र बुद्धिनारायण श्रेष्ठ पुगिसक्नुभएको छ निकै अगाडि । भूषण खरेल र छत्र खड्का छोडिनुभएको छ धेरै पछाडि । आयुषराज मैनाली र म सँगसँगै छौँ । अघिपछि जो जहाँ भए पनि मन समेटिको छ टिम्बुरबोटेको यात्रामा ।

जति उक्ल्यो उति ठडिएको छ उकालो । जति हिँड्यो उति दूरक्षितिज भएको छ सामुन्नेको पहाड । मनमा भने घुमिरहेछन् अनेक जिज्ञासा ।

मुलुकको मुहार फेर्न र जनताको हृदयमा खुसी फुलाउन हिँडेकाहरू कसरी मारिए होलान् निर्ममतापूर्वक ? नेपाल आमाका हजारौँ सपुतको बलिदानीपछि पनि किन बन्दैन मुलुक ? शहीदको रातो रगतले सिञ्चिएको भूमिमा कतिदिन फस्टाइरहला अन्याय, अत्याचार र भ्रष्टाचार ? रात्रीको अन्धकारमा हराएको छायाजसरी मेटिन लागेको शहीदको धमिलो इतिहाससँग भक्कानिएँ एकछिन म ।

बीपी कोइरालाको सशस्त्र क्रान्तिमा लागेका कप्तान यज्ञबहादुर थापाको नेतृत्वका योद्धाहरू ओखलढुङ्गा व्यारेक कब्जा गर्न नसकिने अवस्था भएपछि सोलुखुम्बु व्यारेक हान्न अघि बढे । टिम्बुरबोटेको ओढारमा लुकेर बसेका अठारजना योद्धाहरू सेनाको घेरामा परे । सम्बत् २०३१ साल पुस १ गते बिहान सबैरै सेनाको गोली र ग्रिनेड बर्सँदा तेह्रजना योद्धा ओढारमै ढले । भाग्न सफल भएका केही योद्धालाई पछि पक्रेर मारियो । यसरी केहीलाई तत्काल त केहीलाई त्यही विद्रोहसँग जोडेर सल्लेरी, सातसल्ले, ओखलढुङ्गा आदि ठाउँमा धेरै योद्धाको हत्या गरियो ।

हो, मैले सुनेको टिम्बुरबोटे हत्याकाण्डको नालीबेली यत्ति नै हो ।

शहीदको बलिदानीको सच्चा सम्मान गर्न नसकेको मजस्तै अनभिज्ञ वर्तमानले गर्ला त शहीदको गौरवपूर्ण इतिहासको अन्वेषण ? बनाउनभन्दा बिगार्नमा मुलुकको स्रोतसाधन खर्चिरहेको वर्तमानको कर्तुती यथार्थ चस्कन्छ मनभरि ।

घुमाउरो गोरेटोमा उक्लँदै दूर भागिरहेछ अजङ्गको पहाड । त्यसको ढाडमा टेकेर बुई चढ्न खोजिरहँदा जत्तिउफ्रे पनि कान्लामुनिको भ्यागुतो भएको छु म । पाइला सुस्तिए पनि धैर्यता भने गुमाएको छैन । उकाली ओराली हिँड्दा सानैदेखि मनमा भरिएको धैर्यताको बल झिकिरहेछु भित्रैबाट ।

शेर्पामुढेमा नपुग्दै थकानले गलिसकेथे पाँसुला, पसिनाले भिजिसकेथ्यो शरीर, प्यासले सुकिरहेथ्यो छाती । उत्साह उचालेरै गतिशील बनाउन चाहेथेँ पाइलाहरू । सोचेथेँ, शक्ति र गति निरन्तर रहे भेटिएला नि सफलता । साहस, विश्वास र धैर्यता घट्न नदिए छोइएला नि उचाइ ।

हिँडेर आएको बाटोको नागबेलीतिर फर्केर सुस्ताउँछु म । हिमालको उचाइ, थुम्कोको सुन्दरता र आकासको सामीप्यतासँग रमाउँछु म । डाँडो छोएर आकासमा उडिरहेको सेतो बादलमाथि उड्नखोज्छ मेरो मन । जमिन थामिरहेका अनगिन्ति भीरपाखा, आलीकान्ला र तरेलीमाथि कुद्नखोज्छ मेरो मन । मनलाई थामथुम पारेर सम्झाउँछु, उड्नैपरे उँचो उचाइबाट उड्लास, अहिले खुरुखुरु हिँड मसँगै ।

हिमालतिर हेरेँ, हिमालमा लागिरहेथ्यो एकधर्सो बादल । शायद टिम्बुरबोटेको अनुहार दिनहुँ हेर्दा उदेक लागेर बादलमा अनुहार लुकाउँदो हो हिमाल ।

सल्लेरी वनको सरस हावामा रमाउँदैथिएँ, सयौँ रुखहरू फडानी गरेको पाखो देखेर स्तब्ध भएँ । मुलुकको स्रोतसाधनउपर चलिरहेको गुण्डाराज देखेर विक्षिप्त भएँ । बाटोभर पसारिएका सल्लाका गिँडहरू नाघ्दै पाखो छिचोल्यौँ हामीले ।

सङ्लो पानीको सङ्गीतमा गाउँदै बगिरहेथ्यो लेकाली खोलो । घाँटी सुक्दा भिजाउन हुन्छ भनेर त्यही खोलाको चिसो पानी बोतलमा भरेँ मैले ।

अलिकति चउर उक्लेपछि आइपुग्यो घना जङ्गल ।

‘अब बाघभालु लाग्नसक्छ सँगसँगै हिँडौ है ।’ पथप्रदर्शन गरिरहेका श्रेष्ठ बोल्नुभो ।

‘शहीदको बाटोमा हिँड्नेलाई बाघभालुदेखि केको डर ?’ नेतृत्व गरिरहेका मैनाली बोल्नुभो ।

‘अनेक कुरा सुन्दासुन्दै डरले डर भगाइसक्यो ।’ शरीर थाके पनि एउटा जोश निकालेर बोलेँ म पनि ।

हो, डर थिएन बाघभालु र उकालोदेखि । डर थियो त केबल आफैसँग– शरीर गल्छ कि फत्रक्क । आत्मबल बलियो भए कठिन परिस्थिति पनि सामना गर्न सकिन्छ भन्ने सोचले दिइरहेथ्यो असीम उर्जा ।

अनि फालिएका हाँगाबिंगा भाँचेर एकेकवटा लठ्ठी टेक्यौँ हामीले ।

घरि सल्लीपिरमा चिप्लेटी खेलाएर वालवयको सम्झना दिलाउनखोज्छ प्रकृति । घरि जङ्गली जन्तुको सन्त्रास देखाएर मनमा सुर्‍याइँ भरिदिनखोज्छ प्रकृति । घरि रसिला रुखपात र सङ्लो पानीले हृदय सफा गरिदिनखोज्छ प्रकृति । सुन्दर प्रकृतिको हार्दिक स्वागत छ पाइलादेखि धड्कनसम्म । विशाल प्रकृतिको स्नेहिलो आँचल छ पैतालादेखि शिरसम्म । स्वच्छ प्रकृतिको स्पष्ट छवि छ आँखादेखि मनसम्म । लाग्छ, असल जीवन, नवीन सोच र सुन्दर चेतना प्रकृतिमै छ । दीर्घ जीवन, असीम आनन्द र उत्पात सन्तुष्टि प्रकृतिमै छ ।

अक्कासिएको आकाससँग बात मारिरहेछन् गोब्रे सल्लाका विशालकाय रुखहरू । जङ्गली हरियाली हेरेर आफूलाई बिर्सिरहेछन् पातले साथ छाडेका अङ्गेरीका रुखहरू । साथ पच्छ्याउँदै एक्लै कुदिरहँदा मेरो साथी भएको छ त्यही जङ्गली एकलास । एकलासमा सुनिँदोरहेछ मनको चर्को आवाज । घरि हप्काउँदै घरि फकाउँदै मसँग एकोहोरो बोलिरहेछ मेरै मन । पहिल्यैदेखि परिचित बोटविरुवा हेरेर भगाउन खोजिरहेछु मनको डर ।

वनेली स्याहार पाएको पतकरे गोरेटोमा घिस्रिरहेछौँ हामी । निर्जिनताले निल्नखोजिरहेको एकलासमा सजिलरी अघि बढ्न दिएको छैन थकानले ।

जङ्गलका अनेक रुप र रहस्यसँग भइरहेछ साक्षात्कार । आँखामा बिझाइरहेछ बाटोमै जोडिएको निगाली झाडी र कुइनेटोको सामुन्ने ठडिएको डाँडाको नाक । कानमा बजिरहेछ टाढा पुगिसकेका सहयात्रीको पदचापले ध्वनित पतकरको सर्याङ मर्याङ । खुट्टामा ठोक्किइरहेछ जङ्गली शून्यता र आफ्नै शरीरको शिथिलता ।

ती सब बिर्सेर एउटा रोमाञ्चक उत्सुकताले उफ्रिरहेथेँ– आहा, टिम्बुरबोटेको यात्रामा छु म ।

सल्लिपीरमा फेरि चिप्लिएँ म । हातको भर परेँछु, हत्केलामा असह्य पीडा भयो । अगाडिबाट फर्केर दौडँदै उठाउन आइपुग्नुभो आयुष । एउटा आडभरोसा पाएर तुरुन्तै दुरुस्त भएँ म ।

अँध्यारो खोल्सोको खोँचमा पसारिएको ठूलोढुङ्गोनेर फेरि लखेट्यो डरले । पर्खेर बस्नुभएको सहयात्रीको आकृति देखिनासाथ गलेर पानीपानी भयो त्यो । थाहा पाएथेँ, मनको कुनामा लुकेर बस्दोरहेछ भय, थकान र उदासी । परिस्थितिको असहज मोडमा आफैमाथि आइलाग्दोरहेछ त्यो । मनै नभए कति सहज हुँदो हो मान्छेको जीवन यात्रा । मनको नियोजन खोजिरहेथेँ मनमनै मैले ।

अलिकति सिँढीदार बाटो उक्लेपछि आइपुग्यो टिम्बुरबोटे ।

कालोमुख बाएको अँध्यारो ओढार, जीर्ण विश्रामस्थल, बिग्रेको पानी–धारो, शहीदहरूको नामअङ्कित स्तम्भ– यस्तै हुलियामा नियाल्यौँ टिम्बुरबोटेलाई ।

‘को को थिए निरंकुशताको बिरुद्ध बलिवेदीमा प्राणाहुती चढाएका वीर योद्धाहरू ?’

‘नेत्रबहादुर कार्की, श्याम गुरुङ, मानबहादुर बोखिम, शिवकुमार राई, मानबहादुर मगर, चन्द्रबहादुर तामाङ, प्रजालाल राई, राम उपाध्याय, लक्ष्मण उपाध्याय, लालबहादुर मगर, महेश कोइराला, पूर्णबहादुर माइला राई र पदमप्रकाश पुरी गरी तेह्रजना ओढारमै मारिएथे ।’

‘आफूभन्दा देश र जनता महान सम्झने टिम्बुरबोटेका बहादुर सपुतहरू को को थिए त अरू ?’

‘कृष्णबहादुर लिम्बु, मानबहादुर लिम्बु, रामबहादुर राई, झक्शेर राई, केशव कोइराला आदि घाइते योद्धाहरूले पछि शाहदत प्राप्त गरे । साजन आगमनि राई, रामकुमार सुनुवार, भीमबहादुर कटुवाल, हर्कबहादुर कार्की, अम्मरसेन राई, अम्मरबहादुर खड्का, टीकाराम राई, होमशेर राई, शम्सेर बहादुर कार्की, पेशल दाहाल आदिलाई पक्रेर मारियो । कर्णबहादुर बस्नेत, भवेन्द्र बस्नेतलाई सैनिक अदालतको फैसलाले गोली हानी मारियो ।’

जिज्ञासा मेरो थियो, जवाफ शहीदस्तम्भका धमिला अक्षरहरूको ।

विभिन्न कालखण्डका शहीदहरू पहिचान्न नसकेको वर्तमानजस्तै अस्पष्ट थियो लेउ लागेको शहीदस्तम्भ ।

सम्बत् २०७४ साल पुस ७ गतेका दिन चवालीसवर्ष पहिले टिम्बुरबोटेमा शहीद भएका नेपाली सपुतहरूप्रति सम्झना र श्रद्धाञ्जली चढायौँ हामीले ।

हिउँले कठ्याङ्ग्रिएको कालोरात बितेर सुनौलो बिहान हेर्न नपाई अस्ताए ती सपुतहरू । गोली र ग्रिनेटको आगोमा पोलिए मुलुक सिङ्गार्ने तिनका सपना । बहादुरीसाथ लड्न नपाई त्रासद युद्ध अपराध र निरंकुश बर्बरताले निठोठिए ती ।

‘छुटेका सहयोद्धाको अन्तर्घात र चुहिएको गोप्य सूचनाका कारण सेनाको फन्दामा परेका रे उनीहरू ।’ सहयात्रीको कुरो थियो यो ।

‘टिम्बुरबोटेबाट भागी ओखलढुङ्गास्थित पुरोहितको घरमा शरण लिएका कप्तान यज्ञबहादुर थापालाई पुरोहितले नै पक्राएथे रे । काठमाडौँ जेल चलान गरिए पनि जेलबाट अन्तै लगी हत्या गरिएथ्यो रे उनको ।’ सल्लेरीमै सुनेको कुरो थियो यो ।

‘राजनीतिक कमिसार भएर खटिएका नेवि संघका प्रखरवक्ता जुम्ल्याहा दाजुभाइ राम–लक्ष्मणले अन्तिम समयमा पनि प्रजातन्त्रकै नाम लिएथे रे ।’ कतै पढे-सुनेको कुरो थियो यो ।

ओढारभित्र खोजेको भए देखिँदो हो शहीदको आलो रगत । ओढारको भित्तो नियालेको भए भेटिँदो हो बम र गोलीको निशाना । हृदयको कान थापेको भए सुनिँदो हो प्रजातन्त्रका लागि बलिवेदी चढेका शहीदको चित्कार ।

शहीदको रगत बेचेर खानेहरूको कर्तुतले ओढारभित्र छिर्न नपाई बाहिरै लगायो चड्कन । ठूलोमान्छेको ठूलो कर्तुतको चर्चाले बिथोल्यो मनमथिङ्गल ।

ठूलोमान्छे नै अभिषाप हो त वर्तमानको ? ठूलो भनिएकाहरूको व्यवहार चस्कनथाल्यो छातीभरि ।

शहीदको सपनाको मलामी बनेका घनाजङ्गलका रुखहरूको पिलपिले हेराइले स्तब्ध भएँ म । ती रुखमाथि तप्किरहेथ्यो मनै ठिहिर्‍याउने शीतबिन्दु । मानौँ, भक्कानिएको आकासले बगाइरहेथ्यो अविरल आँसु । प्रकृतिले मौनतामै कहिरहेथ्यो शहीदको रक्तमुच्छेल इतिहास । शहीदको रगत र प्रकृतिको आँसुले लतपत लाग्थ्यो टिम्बुरबोटेको सेरोफेरो ।

पेकनासाको पक्कीसडकमा पाइला परे पनि टिम्बुरबोटेतर्फ आँखा उचालेर लामो सास फेरेथेँ मैले ।

कहाँ आइपुगेँ म ? कहाँ जाँदैछौँ हामी ? भेउ पाउन सकेको थिइनँ ।

देशभक्त सपुतहरूलाई निलेर मनलाग्दी गर्न पल्केको निर्लज्ज इतिहासको अँध्यारो कालखण्डमा घिस्रिरहेको त थिइनँ म ?

अनिश्चितताको मोडबाट चियाएर एउटा कुत्सित हाँसो हाँसिरहेथ्यो इतिहास बिर्सेको वर्तमान ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.