~प्रतिमान सिवा~
हे मदन !
थोरै आशा र धेरै अभिलाषाहरु बोकेर
जिबिकोपार्जनको बैशाखी टेक्दै टेक्दै
ज्यानै कक्र्याउने त्यो ह्लासाको
चिसो डाँडामा थुर थुर काँप्दै गर्दा
र हैजाले लम्पसार घना जङ्गलमा लडि रहँदा
प्रेमको तापको रापले बलेको
तिम्रो मरणासन्न शरिर र अङ्गहरु
कठ्याङग्रीएर बिस्तारै बिस्तारै
कोषिका र तन्तुहरु अर्धमृत र निर्जिव बन्दै गर्दा
तिमीलाई अलिकति पनि सन्देह भएन नि?
कतै तिम्री मुना
तिमी प्रति साच्चै समर्पित थिई न कि?
हुन सक्छ कतै तिमीलाई
देवकोटाले सत्य बताएनन् कि ?
या कतै तिमी भोटे दाइलाई
धन्यवाद दिई रहँदा
उनी गाउँकै छिमेकी भाइलाई
अँगालो भरि कसेर बेस्सरी
अतृप्त तृप्तीहरु अघाउदै
धन्यवाद दिई रहेकी होली कि ।
अरब भरि छरिएका मदनहरु
उष्ण मरूभूमिको उद्धानमा
पसिनाको मुहान फुटाउदै गर्दा
देहको बिस्कुन असरल्ल फिजाएर
पैसाको भेलमा यौवन लुटाई रहने
गाउँ-घर र शहरका मुनाहरु जस्तै ।
-प्रतिमान सिवा
ओहायो, अमेरिका
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
