कथा : जुलुस

~रजित ओझा~Rajit Ojha

उसले आज आँफै खाना बनाउनुपर्ने नत्र प्रायश उसको काम भएको ठाउँमा खाना खुवाउँछन् उसलाई । उसको खाट छेवैको स्टोभ को मट्टितेल हल्लायो । छचल्किएको आवाज आयो , आधा जति होला !स्टोभ पुरानै ठाउँमा राख्यो ,त्यहाँ बाट स्टोभ यताउति चलाउन मिल्दैन , उसले पत्रिका टाँसेको छ भित्तामा , नेपाली मोडल को साप्ताहिक को मध्यपृष्टमा आएको फोटो खुबै मन परेर धुवाँले भित्ता कालो पनि नदेखियोस् , र खाना बनाउन पनि रमाइलो भइराखोस् भनेर उसले टाँसेको , बिचरी दिन प्रतिदिन काली हुँदै गइरहेकी छे ।

चामल पनि सिद्दिन आटेको रहेछ ।आजको छाक टर्छ , भोली काम भयो भने उसले उतै खान पाउँछ । आफ्नो पर्स छाम्यो । पर्स उसको प्यान्ट को खल्तिमा यथावत थियो । अरु तिर जाओस् पनि किन र कसरी ? पर्स को बाहिर को प्लाष्टिकको पानबुट्टा उक्किन थालेको छ तर त्यसमा उसको ध्यान गएन । उसको ध्यान सिधा भित्र थियो , एक खापामा तिन वटा पचासका नोट र एउटा खापा मा चार वर्ष अघि गाउँकै घरमा खिचेर सदरमुकाममा धुलाएको उसकी राधा र छोरी दिपाको फोटो । चार महिना भएछ गाउँ जान नपाएको ।बुढिले फोन गरेर छोरी को किताब किनिदिनु पर्ने भनेर पैसा मागेकी थिइ । यो बिचमा उसले छ हजार रुपियाँ बैंकमा जम्मा गरेछ । अर्को महिना थोरै काम बढ्यो भने घरमा पैसा पठाइदिने सोच राखेको छ उसले !!!

…………………… …………………. …………………… ……………………….. ……………….

शंकर आउँछु भनेको छ उसकोमा , उसको काम मिलाउने उसको हर्ताकर्ता , सामान्यतय उसले फोन गरेरै बोलाउँछ , तर आज उसको यहि बाटो गरेर जानु छ रे । होला कुनै नेताको घर होला यहि बाटोमा ठूलो टोपि खस्ने , भित्र सींगमर्मर जडेको, खुट्टै भाँसिने कालिन बिछ्याएको । यो कोठा पनि त शंकरले नै मिलाइदिएको उसलाई खोज्न अन्त गइरहनु पर्दैन भनेर ! घरपेटी शंकरले चिनेको त्यहि भएर शंकरको फोन दिन्छ उसलाई अनि उसले शंकरलाई भनेर हफ्ताको एकचोटी घरको फोन पनि दिन लगाएको छ ।

बुढि धेर जसो पैसाका कुरा गर्छे , उसलाई माथी गएर घरका कुरा अरुको कोठामा छताछुल्ल पार्न मन लाग्दैन । अब चाँडै नै मोबायल किन्ने सोचमा छ उ !अस्ती उसले सेकेण्डह्यांड मोबायल राम्रो खाले भेटेको पनि तर महंगो भन्यो मोवायलको धनीले !!

………………… ………………………. …………………………… ……………………………….

बाहिर मोटरसाइकिलको हर्न बज्यो । गल्लि साँघुरो हुनाले सामान्यतय मोटरसाइकिल छिर्न रुचाउँदैनन् यो गल्लीमा ! तिँ माथी माथि बाट कहिले काहिँ फोहोर हरु त्यहि गल्लिमा पनि घुइक्याउँछन् त्यहि भएर बाइक भएकाहरु पनि आउन डराउँछन् उ बसेको घरमा ! शंकर नै होला ,एक छिन पछि ढोका ढक ढक पनि गर्यो उसले ढोका खोल्यो , शंकर नै रहेछ । उसको अनुहार अचानक उज्यालो भएर आयो । शंकर आउनु एक मानेमा उसको भोलिको काम आउनु पनि त हो

“दाइ बस्नु न !” उसले आफ्नो ओछ्यान देखायो ! शंकर कान्छो होला उमेरले उ भन्दा , तर अन्नदातालाइ गरेको सम्बोधन भएर होला नाता उपल्लो दर्जाको लगाएको छ उसले शंकर सँग !

शंकर भित्र छिर्यो । मैलो कोठामा जुत्ता खोल्न शंकरले आवश्यक ठानेन !

उसले शंकरको अनुहार हेर्यो । चिल्लो , आजै दाह्रि काटेको होला , कपाल रंगाएर टाटेपाटे भएका छन् उसका !! कालो चश्मा उसले अँध्यारो मा पनि किन नखोलेको त्यो उसले बुझ्न सकेन । कालो जुत्ता पालिस गएको छैन शंकरले उ जति हिँड्नु पनि त पर्दैन !

“ चिया खाने दाइ ?” उसले चिनीको र रंगको डब्बा सोध्दासोध्दै हेर्न भ्यायो करिव हफ्ता दिनलाई नै पुने जति छ । उ ढुक्क भयो !

“ भो छोड्दे , अघि भख्खर नेताज्युको मा पुगेर आएको ! त्यहाँ खाजा सहित खाएर आएको !”

उ खिस्स पर्यो !

“बरु यसो गर न यो सल्का त !” शंकरले चुरोटको डब्बा निकाल्यो !

सलाईको काँटि कोरिदियो उसले !

“ला तँ पनि खा !” अर्को खिल्लि तेर्स्यायो शंकरले । दयालु छ उसको दाजु ! उसलाई पनि एकदिन उसको दाजु जत्तिको बन्ने रहर छ !सामान्यतय उ चुरोट खाँदैन , बुढीले मन नपराएर उसले सुल्फा छोडेको । उ सुक्दै गएकोमा बुढिको चिन्ता थियो । उसलाई त्यति खेर खाना रुच्दैनथ्यो । त्यो छोडेपछि बिस्तारी बिस्तारी उसको खुराकी बढेको छ ! तर यहाँ चुरोट नखाए उ भन्दा कान्छा उसको शंकर दाइले ननिको मान्ला कि भन्ने उसलाइ पिर छ !

कोठा एकैछिन मा धुवैँ धुवाँ भयो । शंकर जुरुक्क उठ्यो । शंकरलाई धेरै ठाउँमा जानु छ उसले बुझेको छ।

“ ल म गएँ , तँ तैयार भएर बस ल !” उसले आफ्नो च्यातिएको डिजाइन भएको जिन्स थोरै मिलायो । फलामको खप्पर भएको बेल्टलाई थोरै कस्यो !

“ अनि भेट भयो त दाइ ?”

“ अँ भयो , पर्सि को लागि , त्यो सामान झण्डा ब्यानर अस्तिकै ठाउँमा हुन्छ अरु ग्रुप पनि त्यहिँ अनि खाना त्यो माहिलो को होटलमा ! जुलुस चाहिँ सिंहदरबार मा भे हुन्छ ! पैसा जुलुस बाट फर्केपछि !”

“ बिहानै हैन दाइ ?”

“नौ बजे खाना खानु अनि उतै आउनु नि !”

“ साचि दाइ ,जुलुस चाहिँ कुन पार्टिको रे ?” उसको सँधै जस्तै आज पनि अन्तिम प्रश्न यहि थियो !

समाप्त!!!!

03-11-10 9:18 AM

(स्रोत : साझा डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.