एकाङ्की : चन्द्रमामा हनिमून

~मञ्जु काँचुली~

(रकेट जमिनमा अवतरण गरेको घनघोर आवाज सुनिन्छ र केहीबेरपछि त्यो आवाज बन्द हुन्छ । आवाज नेपथ्यबाट रेकर्डको माध्यमबाट प्रसारित गरिन्छ ।)

प्रेमी-प्रेयसी, हामी हाम्रो हनिमून चन्द्रमामा यसरी मनाइरहेछौँ । हामी भर्खरै चन्द्रमामा अवतरित रकेटबाट ओर्लिएका छौँ । तिमी धेरै थाक्यौ होला । यतिखेर तिमीलाई कस्तो लागिरहेछ ? रकेटबाट यस चन्द्रमाको भूमिमा ओर्लंदा हवाईजहाजबाट कतै ओर्लिएजस्तो लागेन ? के तिमीलाई रमाइलो लागिरहेछ ?

प्रेमिका- रमाइलो लागेको छ तर……

– तर के ……..? मेरो यति खर्चिलो र बहुमूल्य हनिमूनलाई पनि तिमी शङ्का गर्न र नाक खुम्च्याउन खोजिरहेकी छौ कि क्या हो ?

– त्यसो भन्न खोजेकी होइन मैले प्रिय । त्यस्तो शङ्का त नगर न । तर यहाँ मानव मूल्यका वस्तुहरू पाइन्नन् नि ।

– तिम्रो भनाइको लक्ष्य भोग विलासका सामानहरू ?

– हो मैले त्यही भन्न खोजेकी । रेशमी कपडा, सुनचाँदीका धागोले बनेको लगाउने लुगाहरू, के यहाँ पाइन्छन् र ? यहाँ ठूलाठूला होटल, क्यासिनो, मनोरञ्जन र उच्चस्तरीय डिनर पनि त हुँदैनन् नि !

– म तिमीलाई रुपियाँ पैसाको वर्षा गराइदिन्छु तिमी पूर्णरूपमा मेरी मात्र त होऊन । पहिले त हामी यस चन्द्रलोकमा हनिमून मनाउँछौँ । पृथ्वीमा फर्केपछि मेरो सबै धन तिम्रो हो ।

– उसोभए मैले बाचा खाएँ म तिम्री मात्र हुन्छु तर मेरा अरू साथीहरू पनि छन् पृथ्वीमा । तिनीहरू हरदम मै सँगसँगै हुनेछन् । तिमीले तिनीहरू उपर शङ्का र ईर्ष्या नगर्नु है ?

– तिमीले के त्यस्तो कुरा गरेकी । के म तिमीलाई विश्वास गर्दिन र ?

– मानिलेउ हाम्रो अहिले यही क्षण, यहीँ विवाह भयो रे । अनि हनिमून कहिले सुरु गर्ने ?

– यही त हो हनिमून । अब सुरु भै हाल्यो नि । त्यो विवाहपछिको हनिमून त के अनौठो कुरो भयो र ? सबैले मनाउँछन् नि । हामीचाहिँ हनिमून पछि विवाह गर्दैछौँ हगि ?

– भइहाल्छ नि तर विवाह चाहिँ कहिले र ? अनि साथमा तिमीले विशेष केके ल्याएका छौ नि ?

– त्यो पनि भइहाल्छ नि । खानाका लागि चाहिँ क्याप्सुल फुड ल्याएको छु, हुन्न र ?

– नाइँ त्यस्तो क्याप्सुल खाएर मनोरञ्जन लिन सक्तिन म त । बरू हाम्रो साथमा काम गर्नका लागि रोबोटहरू ल्याएका छैनौँ ?

– खानेकुराको पनि बन्दोवस्त गरेको छु । काम गर्न रोबोट पनि ल्याएको छु । रकेटको पछाडिपट्टकिो सानो ढोकाबाट ओर्लेर रोबोटहरू ऊ त्यहाँपर कुनामा उभिइरहेका छन्, हेर त । उनीहरूले हाम्रो लागि सबै काम गरिहाल्छन् नि हुन्न र ? तर सामान र बनाउने फर्मुला चाहिँ हामीले नै त्यसभित्र इनपुट गर्नुपर्छ । मैले त्यो गरिसकेको छु । हाम्रो खाने खाना पनि रोबोटहरूले गरेको कलाको नै प्रयोग हुनेछ । विज्ञान र कलाको सम्मिश्रणको आनन्द मनग्य लेऊ प्यारी !

– रोबोटले कसरी खाना सिर्जना गर्न सक्छ र ? त्यो त हामीले नै फर्मुला बनाएर दिनुपर्यो नि । सायद तिमीले आयातित फर्मुलाका हिस्साहरू एसेम्ब्लिङ गरेर इनपुट गर्यौ होला तर रोबोटले बनाएका खाना मेरो स्वादको भएन भने नि । एकचोटी एउटा साथीको साथमा म कुनै रेस्टुरेन्टमा थिएँ । मेनुमा एउटा अनौठो परिकार देखेँ र मैले आफ्नो च्वाइस त्यही बनाएँ । पछि खाना आइपुगेपछि खान खोजेको त खानै सकिनँ । मेरो स्वादको विपरित मात्र होइन, घरघोर प्रतिपक्षी नै बनेछ त्यो खाना मेरो लागि । मैले त्यो खानासित सम्झौता नै गर्न सकिनँ ।

– मलाई भेट्नुभन्दा अघिका कुरा होलान्, होइन ? रोबोटले कसरी खानाको सिर्जना गर्छ भनी सोच्छ्यौ तिमी ? कम्प्युटरले कसरी कलाको सिर्जना गर्छ ? कसरी सङ्गीतको सिर्जना गर्छ ? प्रश्नको जवाफ सजिलै छ । त्यसैगरी रोबोटले पनि खानाको सिर्जना गर्छ ।

रकेट-प्रियवर र प्रेयसी जोडाबन्धु !, तिमीहरू गरिब मुलुकका धनी मानिस कहलिएकाहरू मभित्र बसेर शयर गर्दै यस चन्द्रमामा ओर्लिएका छौ, होइन ? म निःसन्देह विज्ञानको आविस्कार हुँ । केवल धनी व्यक्तिका लागि क्रिडा गर्ने सामान वा खेलौना चाहिँ होइन । मलाई सम्पूर्ण मानवजातिको रक्षा र भलाईका लागि प्रयोग गर, नत्रभने ममा यति ठूलो शक्ति छ, जसले गर्दा सम्पूर्ण पृथ्वी मैले ध्वस्त गर्न सक्ने सम्भावना छ । मानजातिका कुरा त त्यसमा गौण अवस्थामा आउँछ ।

– प्रिय मलाई रिँगटा लाग्दैछ । रकेटको कुरा सुनेर त मेरो नउनाडी नै गलेर आयो । मलाई वाक्वाकी लागिरहेछ । मलाई मनपर्ने ग्लुकोज किन ल्याएनौ ?

– क्याप्सुल छ मसँग । त्यही एउटा लेऊ । त्यसले ग्लुकोजको काम गर्छ । तिमीलाई डिहाइडे्रसन भएको जस्तो छ । ऊ त्यहाँ पर ढुङ्गै ढुङ्गाको बीच एउटा ठूलो पोखरी देखिएको छ । हामी त्यही जाऔँ, हिँड । त्यही चाहेजति मनग्गे पानी पिउनू । हिँड ।

– यदि हामी फर्कन ढिलो गर्यौँ भने त त्यो आफ्नो ठीक समय भएपछि पृथ्वीको गन्तव्यतिर उडेर प्रस्थान गर्यो भने नि ! हामी त हनिमूनमै यहीँ मर्छौँ

– के रिमोट मेरो हातमा छैन र ?

रकेट- हैन, तिमीहरू किन जवाफ दिँदैनौँ हँ ? के तिमीहरू म रकेटबाट पृथ्वीमा भएको बालीनाली, पहाड चट्टान, नदीनाला, वनजङ्गलको वैज्ञानिक र प्राकृतिक अवस्था हेर्न आएका हौ ?

प्रेमी र प्रेमिका-(एकै स्वरमा) होइन ।

– के तिमीहरू कुनै अनुसन्धानको सिलसिलामा तल र माथिको अनि वरिपरिको निरीक्षण गर्न आएका हौ ? आँकडा निकाल्न आएका हौ ?

– होइन, हामीले त्यसका लागि त्यस्ता उपकरण नै ल्याएका छैनौँ ।

– उसो भए के विश्वमा पृथ्वीका कुनकुन ठाउँमा आणविक भट्टीहरू, हातहतियार उत्पादन गृहहरू र ठूलाठूला प्रयोगशालाहरू छन् भनेर गोप्यरूपले जासूसी गर्न आएका हौ त ?

– होइन, होइन ।

चन्द्रमा-अहिले तिमीहरू मेरो शरीरको अङ्गअङ्गमा यात्रा गर्दैछौ । तिमीहरूको र तिमीहरू आएका यानको बीचको वार्तालाप मैले पूरै सुनेँ । उसो भए तिमीहरूको आगमनको उद्देश्य के हो त ?

प्रेमी र प्रेमिका-(दुवैजना एकै पटक) हामी हनिमून मनाउन आएका हाँै तर हाम्रो विवाह भइरसकेको छैन । ग्रिन हाउस ग्याँसको असरले गर्दा पृथ्वी तात्तिदै गइरहेको छ । प्रदूषण बढ्दै गइरहेछ । हामी बस्ने भूमि पनि भूइँचालोको निसानामा परिसकेको छ ।

– तिमीहरू को हौ ? उसो भए तिमीहरू म चन्द्रमाको शीतल ताप्न आएका ? त्यति राम्रो हराभरा भूमि प्रकृतिले दिएको वरदान स्वरूप नदीनाला, पहाड, जङ्गल, बोटविरुवा, वन्यजन्तु, हिमाल, मठमन्दिर, गुम्बा, गुरुद्वार, गिरीजाघर, मस्जिद आदिले सुसज्जित भूमि छोडेर यो चट्टानले भरिएको ठाउँमा के खोज्न आएका । हराएको छ माया प्रिती ! तिमीहरूको यहीँ कहीँ ? आखिर तिमीहरू हौ को ?

– हामी विश्वको गरिब देशका धनी मानिस हौँ, जुन कुरा तिमी राम्ररी जान्दछौ । यहाँ आउनुको हाम्रो मुख्य उद्देश्य हनिमून हो ।

– के पृथ्वीमा तिमीहरूले त्यस्तो कुनै ठाउँ नै भेटेनौ र ?

– पृथ्वीमा सुरक्षा छैन । शान्ति र मेलजुल छैन । परस्परमा अपनत्व छैन । अमनचयन छैन । रासायनिक प्रतिक्रिया र विकिरणको प्रदूषण छ । बाढी, पहिरो, हत्याहिंसा, अनिकाल, क्षयरोग केके हुन् केके । सुन्दै र देख्दै वाक्कदिक्क लागिसक्यो ।

– उसो भए तिमीहरू मकहाँ अमनचयनका लागि आएका ? सुनेको र देखेको पनि छु मैले । आफ्नो स्थानको स्थिति सम्हाल्न नसकेर एकले अर्कालाई दोषारोपण गर्दै आफ्नो भूमिलाई नै बिर्सेर अन्त सुविधा भोग्न जाने गर्छन् रे । वाध्यताको निहुमा कति त विदेशिन्छन् रे । तिमीहरू हेर त । देख्दैनौ ? यस भूमण्डलमा हामी त कसरी मिलेर बसेका छौँ । छैनौँ त ? सूर्य, पृथ्वी र चन्द्रमाको बीच के कहिले कसैले एकले अर्कालाई सानो धक्कासम्म पनि दिएका छन् त ? हामी त सम्बन्धको दूरीलाई सीमित राख्ने गर्छौ । के यो सबै हामी ग्रह, नक्षत्रको बारेका कुराहरू तिमीहरूलाई आइन्स्टाइन् नामका एक वैज्ञानिकले धेरै वर्षअघि बताएका होइनन् र ? हामी सबै ग्रह, नक्षत्र कसरी कति धेरै मिलेर बसेका छौँ । तिमीहरू त अनेक किसिमका नीति नियम बनाउँछौ । गृहनीति, छिमेकी राष्ट्रनीति परराष्ट्रनीति, पार्टीनीति आदि । तर तिमीहरूमा आफैँले बनाएका नीतिलाई पालना गर्ने क्षमता र चासो छैन । तिमीहरू एक अर्काका मेलमिलापको सट्टा थिचोमिचो गर्छौ । तिमीहरू पृथ्वीमा बसेर बुजु्रक बनेर हामी ग्रह नक्षत्रबारे अध्ययन गर्ने गर्छौ । हाम्रा बारेमा धेरै कुरा त निल आर्मस्ट्रङले भने होलान् नि तिमीहरूलाई ।

– भो भो, धेरै कुरा गर्नु पर्दैन । तिमीहरू पनि त एकले अर्कालाई छेकेर हस्तक्षेप गर्दै ग्रहण पार्ने गर्छौ नि । तिमीहरूको मूक र कपटीचालको प्रतिस्पर्धा त हामी पृथ्वीवासीले भोग्नुपर्ने हुन्छ नि । यी मेरो घाँटीको पछाडि ठूलो कालो टाटो देख्छौ ? त्यो पृथ्वीमा लागेको सूर्यग्रहणको परिणाम हो, जतिबेला म मेरी आमाको गर्भमा थिएँ । अहिलेसम्म यो निसानी बोकेर हिँड्नु परिरहेछ ।

– हाम्रा गतिविधिको र हामीहरूले तिमीहरूका जीवनदशामा कसरी सकारात्मक र नकारात्मक असर पारिराखेका छौँ भनेर तिमीहरूलाई तिमीहरूका गणित र फलित ज्योतिषहरूले पनि त भन्ने गर्छन् होलान् नि । के हामी तिमीहरूका क्रिडास्थल हौँ ? हामीमा टेक्ने तिमीहरूको यत्रो दुस्साहस कसरी भयो ? आफ्नो पृथ्वीलाई व्यवस्था गर्न नसक्नेले हाम्रो के खोजी गर्छौ ? पहिले हाम्रो सिको सिकेर परिवार मिलेर बस्ने गर । भाइचारामा मेलमिलापले दिन गुजारा गर्ने गर । एकले अर्कालाई थिचोमिचो नगर । तिमीहरूको राज्यमा त्यसै अमनचयन आउनसक्छ । मेलमिलाप विना नै ? तिमीहरूले पृथ्वीमै पनि वृक्ष, कीटपतङ्ग, नदीनाला, वन्यजन्तु, पहाड, चट्टान, हिमाल, मैदान आदि कसरी मिलेर बसेका छन् । कति सन्तुष्ट र शान्ति छ यहाँ ।

– प्रिय, मलाई भोक लाग्यो । यो बूढो चन्द्रमाको कुरा विन्ति छ तिमी नसुन । रोबोटलाई सङ्केतको स्विच थिचिदेउ न, ता कि मलाई उसले सिर्जना गरेको सर्वत बनाइदेओस् ।

– तिम्रो प्यास मेटाउने म छँदैछु नि यहाँ । बरू भन, रोबोटको सिर्जनामा त अनन्त सर्वत्र छन् । फर्मुला त हाम्रै हो । हाम्रै सङ्केतमा मिलाउने काम मात्र उसको हो । कुन चाहिँको लागि अर्डर दिने ?

– र्यान्डम तरिकाले कुनै वटम थिच न । एउटा न एउटा सर्वत त आइहाल्ला नि । मलाई त सर्वत भनेपछि सबैखाले मीठो लाग्ने गर्छ ।

– (दगुरेर रोबोटको नजिकै पुगेर) ल थिचेँ । ऊ सर्वत प्लास्टिकको गिलासमा निस्किहाल्यो नि । आऊ यता । पिऊ प्यारी पिऊ ।

– तिमी पनि पिऊ न प्यारा ।

– पहिले तिमी पिऊ न प्यारी । हुन्छ हामीसँगै पिऔँ ।

– ओ हो यो त खानै नसकिने रहेछ । एक घुट्को मै मलाई त वान्ता आउलाजस्तो हुन लाग्यो ।

रोबोट-तिमीहरूको सिर्जना हुँ म अवश्य तर तिमीहरूले नै मेरो प्रयोग गर्न जानेनौ । हा…..हा…..हा….हा ।

– खै त म अलिकति जिभ्रोमा स्वाद लिएर हेर्छु ।

(प्रेमिकाको गिलासबाट अतिकति स्वाद लिँदै) ए यो त तेलमा नून मिलाएको पो रहेछ ।

– प्रिय तिम्रो च्वाइस राम्रो भएन । यस्तो पनि सर्वत हुन्छ ।

– यहाँ त सबै प्रकारको छ । सम्भव भए जति सबै झोल पदार्थ सबै किसिमका ठोस पदार्थमा मिसाएर सिर्जना गरिन्छ । हामीलाई संयोगले नराम्रो चाहिँ परेछ ।

रोबोट- म सर्वसम्पन्न छु । जे चाहन्छौ त्यही खाने वा पिउने चीज दिन सक्छु म । तर तिमीहरू नै मबाट आफूले चाहेको चीज लिन सक्दैनौ त म के गरुँ । तिमीहरू जस्ताको र म जस्ताको सम्बन्धको बीचमा एउटा गहिरो खाडल छ । जबसम्म त्यो पुरिँदैन तिमीहरूले हामीजस्तालाई कहिले पनि बुझ्न सक्दैनौ ।

– खै त्यो मिलाउन त मलाई आउँदैन । कुनै बटन थिचेर सर्वतको धाराबाट गिलास लिन मात्र आउँछ । शायद रोबोटभित्रको माइक्रो चिप्सले गलत सङ्केत पायो । त्यसभित्रको म्याग्नेटिक कन्डक्टरले त्यसैअनुसार काम गर्यो होला ।

रोबोट- म आफ्नो वकालत आफैँ गर्न सक्छु । मेसिनले पनि कहीँ गलत काम गर्छ ? उसो भए पृथ्वीमा विदेशी राष्ट्रले पृथ्वीको अविकसित स्थलको अस्पतालमा विकसित उपकरण पठाएजस्तै भएछ । होइन त ? हा…..हा…..हा…..हा….. । माल पाएर पनि चाल नपाएकाहरू । बाथरुमको सामान भान्छामा प्रयोग गर्नेहरू । हा…..हा…..

-रोबोटको यस्तो हेपाहा बोली म सुन्न सक्तिन प्रिय । मलाई सबै सुविधा पुर्याउन नसक्ने भए किन यहाँ ल्याएको त तिमीले ?

– बरू गीत सुनेर मनोरञ्जन लिँदै मन बहलाउन प्यारी एकैछिन भए पनि । कहिले त गीत पनि मीठो सर्वतभन्दा पनि मीठो हुन्छ ।

(गीत गुञ्जेको आवाज सुनिन्छ ः ‘मै वारिस कर्दू पैसेकी जो तु हो जाए मेरी ।’)

– प्रिय तिमी के सोच्दैछौ ? आफू आएको रकेटले पनि देखिनसक्ने हामीलाई ! रोबोटले पनि गिज्याउने हामीलाई । किन होला यस्तो भएको ? के संसारका सबै मानिस मात्र होइन निर्जीव वस्तु पनि कुकुरजस्तै झगडालु हुन्छन् ? नयाँ कोही देखा पर्यो कि त्यसलाई देखिनसहेर धपाउन खोज्छन् ? त्यति विशाल ठानिएका ग्रह नक्षत्र पनि कति साँघुरा विचारका हुँदा रहेछन् ।

– यिनीहरू त्यस्ता होइनन् प्यारी । हामीले यहाँ टेकेको यिनीहरूलाई चित्त बुझेको छैन ।

– मलाई असाध्यै तीर्खा लाग्यो । जाऊँ न परसम्म । के त्यो पानी हो प्रिय ?

– अनि के त मृग तृष्णा ?

– होइन, होइन । साँच्चिकै पानी पिउन पाइन्छ कि भनेकी पो त ।

– अनि के त पानी पनि ख्याल ख्यालको हुन्छ ?

– अनि खाना पनि प्रयोगशील र सिर्जनात्मक भनेर त्यही सर्वतजस्तै दियो भने के गर्ने नि ? पृथ्वीमा पढेका कुनैकुनै साहित्यिक किताबजस्तै ।

– क्याप्सुल खाने । हामी त थाकेर खुट्टाले हिँड्न पनि नसक्ने भयौ हगि ? (दुवै जना बालुवा र ढुङ्गामा घस्रीघस्री परपरसम्म पुग्छन् । पसिना र थकाईले शरीर मैलो र निथ्रुक्क भइसक्छ ।)

– क्याप्सुलले पानीको तीर्खा त मेट्दैन नि प्रिय । अब त बरू मर्ने क्याप्सुल निल्न पाए पनि हुने । दुवैजना एकैचोटि एकै ठाऊँमा । चन्द्रमामा !

– त्यति धेरै निरास किन भएकी ? यस्तो निरास भइयो भने त न त मनोरञ्जन गर्न सकिन्छ, न त पृथ्वीमा व्यापार नै । कोही उद्धार गर्न त आउला नि । हाम्रो हालतको एकएक अवस्था तल पृथ्वीमा राडारले सङ्केत चिन्हमा रिपोर्टिङ गरिरहेको छ । पृथ्वीको प्रयोगशाला कक्षमा कम्प्युटरको पर्दामा वैज्ञानिकहरूले र हाम्रा परिवारले हाम्रा क्रियाकलाप हेरिरहेछन् । अर्को त्यो राडारले सङ्केतको पनि पर्वाह छुट्टै स्क्रिनमा गरिरहेछ होला ।

– गरिब देशका धनी कहलिएका तिमीले पृथ्वीमा छँदा कहिले गरिब भूमिका गरिब मानिसलाई अनिकालमा उद्धार गरेका छौ र ? अब हामीलाई कसैले पनि उद्धार गर्ने छैन । हामी भोक प्यासले यहीँ मर्नेछौँ । हाम्रो आखिरी अन्त्य यहीँ हुनेछ ।

– अर्को रकेट आउने छ प्यारी । त्यसरी नडराऊ । हिम्मत नहार ।

– अब आउने रकेट ?

– हो अब आउने रकेटले हामीलाई उद्धार गर्नेछ ।

– अब आउने रकेट गरिब भूमिको गरिब मानिसको हुनेछ भन्ने के तिमीलाई त्यति पनि थाहा छैन प्रिय ? उनीहरूले गरिब मुलुकका हामीजस्ता धनीलाई कहिल्यै पनि उद्धार गर्ने छैनन् ।

– के उनीहरूमा मानवता हुँदैहुँदैन र ? ज्यान त सबैको बराबर नै हो नि । हेर त तल पृथ्वी ढपक्कै ग्रहणले ढाकेको छ ।

– त्यो एकैछिन हो, पछि त उज्यालो भै हाल्छ नि । तिमी मानवताका कुरा गर्छौ । के तिमीले बिर्सियौ ? पृथ्वीमा हामी सबै एकैचोटि पटकपटक भेडा भइसकेका होइनौँ ?

– त्यो पृथ्वीको उज्यालो त आयातित उज्यालो त हो नि । हामीले यहाँ चन्द्रमामा मानिस छन् रे भन्ने सुनेका थियौं । त्यतिबेला मानिसको अनुहार र व्यवहार हेर्न भेडाभेडी भएका हामी कति धेरै लालायित थियौँ ! जहाँ हेर्यो उतै आफूजस्तै अरू भेडाभेडीहरू मात्र । दिक्क लागेर हामी हनिमूनको अवसर पारेर मानव नश्ल खोज्न पनि त यहाँ आएका हौँ नि । हैनौँ त ? के हामी हनिमूनको मनोरञ्जन गर्न मात्र आएका हौँ त ?

– ऊ हेर त प्रिय !, हामीलाई लिएर आउने रकेट पनि पृथ्वीतिर कुद्यो । यसको समय भइसकेछ । हामी त यहीँ फस्यौँ । अब कसरी फर्कने ? आकाशगङ्गासहितको यो ब्रहृमाण्डमा म अस्पष्ट आवाज सुन्दैछु । यत्रो वर्षसम्म पनि पृथ्वीमा मानिसले किन यी आवाज निक्र्यौल गर्न सकेनन् ?

– यहाँ प्रत्येक अणुभित्रका इलेक्ट्रोन र प्रोटोन कुराकानी गरिरहेका वर्तमान समयकै आवाज होला । तिमी त्यस्तो आवाज सुनेर नडराऊ प्यारी । समय सिद्धिएपछि मैले रिमोट थिच्नै परेन । पहिले छोटो टाइमिङ राखेको थिएँ, पछि परिवर्तन गरुँला भनेर । यदि चन्द्रमामा निक्कैबेर बस्नै सकिँदैन कि भन्ने अलिकति त्रास पनि थियो ममा । मैले रिमोटबाट टाइमिङ परिवर्तन गर्नै बिर्सिएँछु । तिमी रोक भन्दिहौली तर म रोक्न सक्तिन त्यसलाई । त्यसको गति अत्यन्त तीब्र छ र गन्तव्य पनि निश्चित छ ।

– अब हामी हाम्रा भोकप्यास र मानिसको अनुहार हेर्ने इच्छा एउटाले अर्कालाई आत्मसात गरेर मात्र पुर्याउन सक्छौँ । केवल आत्मसात । बस, केवल आत्मसात् । एक-अर्कामा समाहित भएर मात्र तीर्खा मेट्न सक्छौँ ।

– अब म के गरुँ । के त्यो पानी होइन ? मृगतृष्णा पो रहेछ ? के पानी यहाँ केवल मृगतृष्णा पार गरेपछि मात्र भेटिन्छ त ? मलाई बचाऊ । हेर त पर त्यता प्रिय । म निल आर्मस्ट्रङ्गको छायाँले कसैलाई माया गरेर अँगालो मारेको देख्दैछु । आज आएर यहाँ म यो अवशेष छायाँ किन देख्दैछु । म यो के देख्दैछु ।

– यस ब्रहृमाण्डमा सबै घटित अस्तित्व, आवाज, दृश्य आदि कुनै न कुनै रूपमा उपर्युक्त स्थानमा अवस्थित हुने गर्छन् । छोडिदेऊ यस्ता कुराहरू । तिमी त्यसरी छरिने प्रयास नगर । आफैँमा सङ्कलित होऊ ।

बरू हामी पनि एक-अर्कालाई माया गरेको ध्यानमग्न भएर कल्पना गरौँ । अब तिमी यो बालुवाको मैदानलाई ओछ्यान बनाऊ र यसमा उत्तानो परेर लम्पार पर । म तिमीमाथि घोप्टोपरेर ढल्छु । हाम्रा एस्ट्रोजन र एन्ड्रोजन हर्मोनहरू रसाउने छन् र त्यही रसाएको रसायन पानी एकअर्काको शरीरले पिएर हामी सन्तुष्ट हुनेछौँ । यो अचम्मको अकल्पनीय हनिमूनमा अर्को विकल्प छैन । तै हाम्रो शरीरमा रसायन तìव त प्रसस्तै छ । अब एकअर्काको शरीरबाट त्यहीँ रसायन पिऔँ हुन्न ??

– हुन्छ ।…त्यतिबखत म प्रकृतिले दिएको पृथ्वीको पानीको कल्पना गरिरहन्छु है प्रिय ? मेरा अक्सिजन ब्यागको अक्सिजन सिद्धिन लाग्यो ।

– हुन्छ प्यारी । म चाहिँ पहिलेपहिले हाम्रो पहिलो भेट हुँदा पृथ्वीमा देख्न पाइएको मानिसको कल्पना गरिरहन्छु है ? मेरो पनि अक्सिजन सिद्धिन लाग्यो । (हुरीबतासले ल्याएको बबण्डर माथिमाथि उठ्न थाल्छ । परबाट सानो आकारमा अर्को रकेट उनीहरूतिर लक्षित गर्दै उडिरहेको देखापर्छ ।)

यस दुखद घडीमा तिमी आत्तिएर नरोइदेऊ नि फेरि । तिम्रो आँसुको दृश्यले मेरो हर्मोन रसाउँनै बन्द हुनेछ र म त्यतिबेला नालायक हुनेछु जुन तिमीले पनि भोग्नुपर्नेछ ।

-प्रिय !, बरू यो रकेट हामीलाई उद्धार गर्न आएको भए पनि, अरू नै कुनै काम विशेषले आएको भए पनि हाम्रो हनिमून सिध्याएर यसैद्वारा पृथ्वीमा फर्कौ न । हाम्रा धन, सीप र श्रम त्यही माटोमा लगाऔँ न । मिलेर बस्यौँ, बाँडेर खायौँ अनि आत्मनिर्भर हुँदै एकले अर्कालाई भरोसा दियौँ भने त हामी फेरि मानिस बनिहाल्ने छौं नि । त्यसै गरौँ न है ?

-हुन्छ त हुन्छ, त्यसै गरौँ ।

(आकाशमा सानो देखिएको रकेट र वरपर आफ्नो भयङ्कर आवाज छर्दै एकैछिनमा जमिनमा अवतरण गर्दै गरेको नेपथ्यमा सुनिन्छ । दुवै जना उतैतिर लक्ष्य गर्दै उत्सुकता र आकाङ्क्षाले हेर्न थाल्दछन् । एकछिनसम्म हेरिरहन्छन् ।)

(स्रोत : मधुपर्क २०६८ असोज)

This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.