~नीरज लावोजु~
राम्रा कविता लेख्नु सजिलो काम होइन। त्यसैले धेरैबाट लेखिने विधा भएर पनि निकै थोरैमात्र सफल भएको विधा हो –कविता। कविता पढ्ने पाठकहरूमा परेको खडेरीका कारण सफल भएका थोरै पनि कतिबेला पछारिने हुन्, अत्तोपत्तो छैन।
त्यसैले यो समयमा कवि बन्नु एक प्रकारको साधनामा लीन बन्नुजस्तै पनि लाग्छ – कष्टसाध्य छ, सबैले गर्दैनन् पनि यद्यपि केही त्यसैमा दिलोज्यान दिएर लाग्छन्।
धरानका कवि बद्री पलिखे यस्तै साधनारत कवि हुनुपर्छ, उनको ‘समयको प्रतिबिम्ब’ पढेपछि यो अनुमान लगाउन त्यति गार्हो काम होइन।
सात वर्ष (२०५९–२०६६) को अवधिमा पलिखेभित्र उर्लेका उल्लेख्य भावनालाई उनले १ सय २५ कवितामा अभिव्यक्त गरेका छन्।
सात वर्षको अन्तरालमा १ सय २५ कविता लेख्नुले पलिखेको लेख गतिलाई सङ्केत गर्छ। उनी नियमित लेख्ने कलमको लत परेका लेखक भएको कुरा उनकै कविता ‘दैनिकी’ प्रस्ट पार्छ–
‘……. घण्टाघरको साङ्गीतिक ध्वनिमा जीवन चक्र सुरु हुन्छ।
मेरो दैनिकी अक्षरको खेतीमा कट्छ।’
युग र युगाह्वानबाट कवि कदापि पनि निरपेक्ष रहन सक्दैन। जसरी माछा, कुकुरजस्ता प्राणीका संवेदनाले भूकम्पको पूर्वाभास पाउँछ, त्यसैगरी जनताका वारिस बनेका कविहरूले युग परिवर्तनको छनक महसुस गर्नसक्छन्। अनि कविले परिवर्तनको पक्षपाती बनेर कविता लेखेको हुन्छ। ‘समयको प्रतिबिम्ब’ मा सङ्ग्रहित कविता पढ्दा पलिखेको युग अनुभूति प्रस्ट रुपमा बुझ्न सक्छौं।’
निरङ्कुश राजतन्त्रविरुद्ध देश आन्दोलित बनेको बखत कवि पलिखेका कविता पनि आन्दोलित भए। २०६१ देखि २०६४ सम्म उनले लेखेका कविताहरू निरङ्कुश राजा, राजतन्त्र र बाक्लो खरानी घसेका राजावादीप्रति तीखो व्यङ्ग्य, आक्रोश र खेदले भरिपूर्ण छ। आन्दोलनमा अथक लागिपरेको छायाँदेवीलाई प्रतीक बनाएर पलिखे पोखिन्छन् –
‘छायाँदेवी
नेपाल आमाको साक्षात रुप हो,
नेपाल आमाको प्रतिबिम्ब हो।
छायाँदेवीको सपना आन्दोलन
सफल हुँदैन,
छायाँदेवीको छायाँ ओझेलमा पारेर
देशको भलो हुँदैन
छायाँदेवीको लौरो भाँचेर
मुलुक अघि बढ्न सक्दैन।
छायाँदेवी अग्रगामी आन्दोलन हो,
आन्दोलन छायाँदेवी हो।’
कवि प्रजातन्त्रका नाममा नेपाली जनतामाथि लुटपाट मच्चाउने ठूला भनिएका सरकार चलाएका दलहरूप्रति सङ्क्षेपमा कसिलो झापट दिन्छन्:
‘हाम्रो मुलुकमा
प्रजातन्त्र
बाँदरको हातमा नरिवल भयो।’
उनले राजाको पाखण्डी शासनप्रति विमति पोख्दै आन्दोलनकारी कविता लेखेका छन्।
देशमा गणतन्त्र एकैदिन, केही व्यक्ति र केही नेताहरूको जादु थिएन। त्यसका निम्ति सारा परिवर्तन पक्षधर नेपाली आ–आफ्ना क्षमता र हतियार बोकेर सङ्घर्षमा उत्रे।
त्यत्तिबेला परिवर्तनकामी स्रष्टाहरूले लेखेका कविताहरूले जनताको बलिदानी भावनामा तेज थप्न ठूलो उपयोगी बने –
‘भीडबाट एउटा बालक चिच्याउँछबादशाह नाङ्गो छ।
देश बालकको मुखबाट बोलिरहेछ वर्तमान देशको
मुखबाट बोलिरहेछ तर बादशाह देख्छ मात्र, कान सुन्दैन ऊ बहिरो छ।’
यो हुरीमा पुरानो घर/महल/सडक र पुलहरू भत्किनैपर्छ धरापका यी महलहरू ढल्नैपर्छ जोडतोडले हुरी चल्दैछ विज्ञहरू भन्छन् हुरी थामिएपछि मात्र नयाँ युगको उदय हुन्छ।’
धेरै विषयमा कविता लेखेका छन् –पलिखेले। कतिपय कविता हतारमा लेखिएको हो कि भन्ने लाग्छ। एक प्रकारले अखबारी कविताजस्ता पनि लाग्छ।
परिपक्व नहुँदै उतारिएका कविताजस्ता। समालोचकको निम्ति यो उपयुक्त अध्ययन विषय हुनसक्छ।
पलिखेले काठमाडौंलाई हेर्ने दृष्टिकोण अपूर्ण छ। काठमाडौंलाई मात्र प्राथमिकता र प्रश्रय दिने शासक वर्गको दोष समग्र काठमाडौंलाई थोपर्नु पूर्ण विचार कसरी हुनसक्छ? पलिखेले बुझ्नुपर्छ –काठमाडौंभित्रै पनि मोफसल छ, काठमाडौंभित्रै पनि धरान छ।
कतिपय कवितामा पलिखे जीवनप्रति निराशा व्यक्त गर्छन्। जनताको साहित्य समाज र जीवनको सपाट चित्रणबाट उक्लेर जीवनप्रति आशा जगाउनुपर्छ। जीवनको निराशालाई आशामा अनुवाद गर्ने दायित्वबाट कवि पन्छिन मिल्दैन। धरानमा बसेर पनि आफ्नो मातृभाषा नेपालभाषामा कलम चलाउनुले पलिखेको चमक बढेको भएको छ।
पलिखेको साहित्यिक सक्रियता ‘समयको प्रतिबिम्ब’ सँगै उनका प्रकाशित अन्य कृति र साहित्यिक पत्रपत्रिकाबाट प्रस्ट हुन्छ।
उनको यस्तै सक्रियताको कामना एकजना पाठकको कर्तव्य हुनसक्छ।