पुस्तक समीक्षा : ससाना रोचक निबन्धहरू “खण्डित सपनाको गीत”

~हरि अधिकारी~hari-adhakari

प्रतिभाशाली युवाकविका रूपमा पहिचान बनाइसकेका टंक उप्रेतीको निबन्धसंग्रह खण्डित सपनाको गीत प्रतिष्ठित प्रकाशन गृह रत्न पुस्तक भण्डारबाट प्रकाशित भएको छ । २१ थान सानो आकार-प्रकारका निबन्धको यस संग्रहबाट उप्रेती एउटा राम्रो सम्भावना बोकेका निबन्धकारको नयाँ अवतारमा पाठकका बीच प्रस्तुत भएका छन् ।

उप्रेतीले आफ्ना निबन्धका लागि विषयवस्तु खोज्ने क्रममा आफूले देखेका, पढेका, अन्तरक्रिया गरेका र कतिपय मामिलामा कार्यक्रम तयार गर्दा विषयवस्तु बनाएका मानिस र नेपालका ऐतिहासिक सम्पदा र कलाकृतिपट्टि ध्यान केन्द्रित गरेका छन् । निबन्धकार विषयवस्तुको गहिरो अन्तरदृष्टिका साथ अवलोकन गर्दै निबन्धको संरचना तयार गर्ने प्रयत्न त गर्छन् नै, साथसाथै उनका निबन्धमा विचार पक्ष पनि त्यत्तिकै सशक्त ढंगमा उभारमा आएको हुन्छ । उप्रेती मूलतः कवि हुन् । उनको गद्यमा पनि कविताका तत्त्वहरू छरपस्ट भेटिन्छन् । विद्युतीय माध्यमका लागि कला समीक्षाको स्तम्भ पनि चलाउँदै आउने क्रममा उनको धेरै कलाकारहरूसँग बसाउठी र रचनात्मक सहकार्य पनि हुँदै आएको देखिन्छ । त्यसैको सेरोफेरोमा पनि उप्रेतीले केही निबन्ध लेखेका छन् । यी निबन्धले सामान्य पाठकलाई कला र कलाकारको संसारमा चियाएर हेर्ने अवसर प्रदान गर्छन् । ती रोचक त छन् नै, विचारोत्तेजक पनि छन् ।

निबन्धकार उप्रेती ठूल्ठूला ऐतिहासिक स्मारकहरूसँग गाँसिएका प्रत्यक्षतः देखिने पक्षभन्दा त्यसका लुकेका पाटाका बारेमा जान्न र लेख्न उत्सुक छन् ।

खण्डित सपनाको गीतमा परेका तीनवटा जति निबन्धमा आत्मवृत्तान्तको तत्त्व प्रखर भएर आएको छ । झापाको एउटा गाउँको सामान्य कोटिको विद्यार्थी उप्रेती कसरी बिस्तारैबिस्तारै अक्षरहरूको दुनियाँमा पस्यो भन्ने कुरा सुनाउन खोजेका छन् यी निबन्धहरूमार्फत उनले । यी तीनमध्ये ‘अक्षरहरूमार्फत’ शीर्षकको निबन्धमा उनले आत्मनिरीक्षण गर्ने प्रयत्न गरेका छन् र आजको नेपालको बौद्धिक जगत्को चारिित्रक विशिष्टताजस्तै बनेको आत्मश्लाघा र पाखण्डको पर्दाफास गर्ने जमर्को पनि ।

उप्रेती हाम्रो विकास अभियानका क्रममा सायाश वा अनायाश खडा भएको विभेदको पर्खाल देखेर अत्यन्तै क्षुब्ध छन् र एक जना साहित्यकार र सामाजिक सरोकारको सूत्रमा बाँधिएको बौद्धिक व्यक्तिका हैसियतले सहर र गाउँका बीच, धनी र गरबिका बीच, दुई अक्षर पढेका र निरक्ष्ारका बीच विद्यमान विषमता र विभेदको यो पर्खाल ढल्नुपर्छ भन्ने मान्यता राख्छन् ।

उप्रेतीको निबन्धकारका केही प्रस्ट कमजोरी पनि छन् । बहुधा निबन्धहरू उनले जीवन र जगत्का अमिल्दा र अप्ठ्यारा कुराको प्रतिक्रियामा लेखिएका टिपोटजस्ता भएका छन् । भाषामा कविताको छनक दिने प्रयत्न भए पनि लालित्यको अभाव कायमै रहेको देखिन्छ । कतिवटा निबन्धहरू कुरा नपुर्‍याई टुंग्याइएका जस्ता, अतिशय भावुकताले भरिएका र अधुरा/अपूराजस्ता पनि लाग्छन् । यति भएर पनि यो संग्रह नेपाली निबन्धको परम्परामा स्वागतयोग्य प्रविष्टिको हैसियत राख्ने कृति बनेको छ ।

खण्डित सपनाको गीत
स्रष्टा : टंक उप्रेती
प्रकाशक : रत्न पुस्तक भण्डार
पृष्ठ : ९६
मूल्य : १२५ रुपियाँ

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ४९१)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.