~गौरव विडारी~
छन्द : शार्दूलविक्रीडित
नेपाली घर आँगनी सब तिरै छायो चुनावी धुँवा
खोक्रा भाषण घन्किए जब सधैँ छैनन् विकास्का कुरा ।।
नेता बन्दछ माननीय जनता दासी हलिया झुमा
के बन्ला कुन चालले मुलुकका भञ्ज्याङको टाकुरा ।। १ ।।
मर्छन् भोक र रोगले जनहरू पीडा छ गाँऊ भरी
जान्छन् देश विदेशमा धनहरू केही कमाऔँ भनी ।।
बग्दैछन् पसिना जहाँ मनुजको झैँ गण्डकी रापती
के गर्छन् ढुकुटी यहाँ मुलुकको भा को छ है दुर्गती ।। २ ।।
बेचिन्छन् जब देशका धनहरू लाखौँ करोडौँ महाँ
झुक्दा देश र भेष मान ममता छाती चिरिन्छन् यहाँ ।।
सीमाको परखाल् ढले सगरमा थाहा अझै ढल्छ की
के होला भन राष्ट्रवाद गफले मात्रै भलो उन्नती ।। ३ ।।
राणाको जग भाँचिदा पनि अहो! छायो खुशीको सिमा
राज्तन्त्रै पनि ढालदा जमिनमा ठूलै थियो कामना
लोक्तन्त्रै युग हो भनेपनि यहाँ लुट्ने छ है पद्धती
होला कुन् युगमा मुहार गतिलो नेपालको उन्नती ।। ४ ।।
यो बाग्डोर चलाउने कति फटा चर्चा सधैँ गाँउमा
जोड्छन् मानवको लुटेर पसिना जग्गा जमिन् ठाँउमा
बस्छन् जो पनि बादशाह पदको खाने यसो दाउमा
देख्दा लाग्दछ देश नै मिलिजुली खान्छन् कुनै नाउँमा ।। ५ ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
