~मुन पौडेल~
उमेरले पचासमा टेक्नासाथ कुखुरे बैँस एक पटक फेरि उर्लेर आउँदो रहेछ कि क्या हो, आफूमा पनि सोह्र वर्षे जोश फेरि फर्केर आएको हो कि जस्तो भइरहेको थियो । रङ्गीचङ्गी चिजहरूमा बढी आँखा जान खोज्न थालेको थियो भने छेउछाउका तरुनीहरूतिर, ठसक्क परेका अधबैँसेहरूतिर कर्के नजर दौडन खोजिहाल्थ्यो । यस्तो पहिले हुँदैन्थ्यो । घरमा भएकी एक थान झन्डै एक कुइन्टलतर्फ ठ्याम्मै मुन्टो सोझ्याउन मन लाग्दैनथ्यो । यो पचास लागेपछि त उसको पनि अलिकता भाउ बढेर आएको देख्दा यो मन भन्ने कुरोे पनि बुझिनसक्नु रहेछ जस्तो लागिरहेको थियो । मन त्यसै त्यसै सन्किन लागेकै थियो, त्यही बेला कताबाट हो हाम्रो वंशावलीको एउटा पुस्तक कसले हो घरमा छोडेर हिँडेछ । के रहेछ त भनेर यसो पल्टाई हेरेको त मन त झन् बहुलायो नै भने पनि हुन्छ ।
हाम्रा बाउले तीनवटी बिहे गरेका थिए भन्ने कुरा त थाहै थियो । एउटी मरी अकोर्े गरे, त्यो पनि मरी अर्को गरे अनि दोस्रो पनि मरेपछि तेस्रो अर्थात् मेरी आमालाई गरे । मरेपछि गरे, के लाग्छ, गरुन् तर हाम्रा हजुरबाउले त गर्नु गरेका रहेछन् । बूढालाई दूरदर्शी भनुँ कि पात्तेको भनुँ कि मर्दको बच्चो भनुँ ।
हाम्रा पिताजी दस भाइ त्यसमाथि चार भाइ त बाल्यकालमै बितेका । जम्माजम्मी चौधओटा सन्तान जन्माएका थिए हाम्रा पट्ठा बाउ र हजुरआमा बूढीले तर एउटी मात्र हजुरआमा कहाँ हो रहेछ र, मेरा त तीनवटी हजरआमा पो थिए अरे । बाउले मात्र तीनवटी गरे भनेको त कहाँ हुन्थ्यो, हजुरबाउले पनि तीनटी नै पो गरेका रहेछन् । तीनवटी गर्नु पछाडि पनि गजबको दर्शन पो रहेछ । मेरा बाउले बिहे गरेको तीनवटी त बिचरा बाध्य भएर घर चलाउन गरेका थिए तर हजुरबाउले त तीनवटी बिहे गरेर तीन ठाउँमा राखेका रहेछन् । एकै ठाउँमा भाँडा हन्ड्याङहुन्डुङ पनि नहुने, तीन किसिमको भाँडाका आनन्द पनि लिन पाइने ।
हाम्रा हजुरबाउको चर्तिकलालाई कसरी बुझुँ भने हाम्रा हजुरबाउको तीन ठाउँमा मौजा, एउटा दाङमा, एउटा मोरङमा र एउटा भने काठमान्डुमा । बिचरा हजुरबुआलाई टाँगाको घोडाजस्तो कहिले दाङ, कहिले मोरङ मौजामा दगुरिरहनुपर्ने । बूढालाई यता र उता दगुर्दा खानपिन पनि न मिल्ने र म्यानेजरको खर्च पनि निकै लाग्ने । त्यसैले बूढाले एउटा अक्कल लगाए । अहिले त्यस्तो अक्कल लगायो भने के दुर्गति हुन्छ भन्न सकिँदैन तर त्यति बेला खोई के भयो बड्डालाई । जहाँ जहाँ मौजा छ त्यहीँ त्यहीँको स्थानीय सुन्दरी कन्यासँग बिहे गर्ने, मौजाको जिम्मा पनि उसैलाई दिने, उसैले हेरिहाल्छे, बालबच्चा भए पनि मौजाको आम्दानीले पालिहालिन्छन्, म्यानेजरको खर्चमा स्वास्नी नै पालिहालिन्छ । त्यसपछि आफ्नो खानपिन, स्याहारसुसार पनि मिल्ने, जहाँ गयो उहीँ स्वास्नी पनि पाइने माया इत्यादि गर्न । क्या मज्जा ् काठमान्डुमा बाहुनी, दाङमा थरूनी र मोरङमा यादवनी । अनेकतामा एकता ।
हजुरबाउ बूढाको आइडिया मलाई मज्जाको लाग्यो, एउटा टिकटमा तीन मजा । हुन पनि एउटैको पछि कति लाग्नु । सधैँ उही लसुनप्याज र हिङको गन्ध । सधैँ उही स्वाद, उही गन्ध, उही कटाक्ष, उही नक्कल । हजुरबाउको जस्ता कहिले छोएला कचिला, कहिले माछाको झोल र कहिले तरुवाबरुवा । त्यस्तो पो हुनु तर काठमान्डुमा कसरी हुनसक्ला यस्तो चटक ् मौजासौजा गइगए । बूढाको पो मौजा थियो त्यो पनि टाढा । एउटीको भेट अर्कीसँग हुने मौकै नपर्ने । यहाँ कसरी हुनसक्ला त्यस्तो रमाइलो ् कथम्कदाचित त्यस्तो दुर्घटना परेर तीनवटीको कतै जम्का भेट भयो भने उनीहरूको जगल्टाको नास त हुन्छ हुन्छ आफ्नो पनि एउटा पनि टुप्पीको रौँ रहने छैन तर हजुरबुआले लिएको जिन्दगीको मजा लिने अधिकार त नातिको पनि त हुन्छ नि । मौजा नभए के भो त, खाने मुखलाई जुँगाले छेक्छ कि क्या हो ? काठमान्डुमा घरैघर भएको के काम, अहिलेको बेलामा मौजाभन्दा के कम काठमान्डुको घर । एकएक ओटा घरमा राखिदियो, घरैले पालिहाल्छ नि । दुई दिनको जिन्दगीमा मरेर लानु के छ र । आफूलाई लागेको कुरा गर्न न पाए सम्पत्तिको के काम । मरीमरी कमाएको सम्पत्ति उही छोरा मोराहरूले लुँछाचुँडी गरेर लिने त हुन् नि । त्यसैले मैले पक्का विचार गरेँ, दुइटी बिहे गर्छु, दुई ठाउँमा राख्छु र स्वरुची भोजन गर्छु । जेठीलाई चाहिँ फिटिक्क पनि सुइँको दिन हुँदैन, त्यसले थाहा पाई भनेचाहिँ महाभारत मच्चाएर छोड्छे र मेरो सपना चकनाचुर पारिदिन्छे त्यो विराङ्गना नारीले ।
अब हेर्नुुस् न, जिन्दगीका पचास वर्ष त बिती नै सक्यो , अब हद बाँचियो भने अरू बीस-पचीस वर्ष । जे बाँच्ने हो, जे गर्ने हो यसै बीचमा गर्नुपर्छ भने केको डराउनु ् फेरि कसैले नगरेको काम हो भनुँ भने आफ्नै हजुरबाउले गरेको । उल्टो बूढा त तर्छन् । स्वर्गबाटै स्यावासी दिन्छन् र भन्छन्- “स्यावास नाति, बाउबाजेको सिको गरेर पितृलाई तारिस् तैँले । मर्दको बच्चो रै’छस्” यस्तो पुण्यको काम गर्न केको डराउनु । तीनवटी बिहे गर्नु त हाम्रो पैतृक हक नै हो । म त आफ्नो पैतृक हकको पालन गर्छुगर्छु जोसुकैले जेसुकै गरोस् । जेठीलाइै सोध्ने कुरै भएन मारिहाल्छे, अरू कोहीसँग सल्लाह लिउँ भने डाढले कसैले हुन्छ भन्ने होइन । आफ्नो लक्ष्य आफैँ हासिल गर्नुपर्छ कसैलाई पत्तो नदिई । मेरो टाउकोभित्रको भ्यागुतो अधैर्य भएर उफि्रन थाल्यो ।
बिहे त गर्ने तर केटी भनँु कि आईमाईचाहिँ खोज्ने कसरी ? कुमार केटो भएत पचास ठाउँ आफूले, आफन्तहरूले हल्लाखल्ली गर्नुपर्छ अनि बल्ल केटी जुर्छ । मजस्तो गोप्य किसिमले केटी खोज्ने मानिसले के गरी पाउला केटी त्यसमाथि विधुर भए तै तै । घरमा एक मुरीभन्दा माथिकी एक थान स्वास्नी हुँदाहुँदै कुनचाहिँ आँखा फुटेकोले केटी दिन्छ मलाई । कि त अखबारमा विज्ञापन दिने हुति हुनु पर्यो, स्वास्नीले थाहा पाई भने मेरो त मेरो सके त्यो छाप्ने सम्पादकको पनि दुर्गति हुन बेर छैन । पुरानो कथाहरू जस्तो पानी भर्न गएका पँधेर्नीहरूलाई प्वाक्क प्वाक्क मट्याङ्ग्राले हानुँ अनि जस्ले फर्केर हेर्छ त्यसलाई हेरेर मुसुक्क हाँसु न त भने न पँधेरा छन् न त्यस्ता पँधेर्नी । अनि मेरो बिहे कसरी हुन्छ त हौ ।
हजुरबाउको भूत ममाथि मज्जैले चढिसकेको थियो । कुनै नयाँ आइमाई देख्यो कि यो मान्छ कि, यो हुन्छ कि भन्याजस्तो मनमा उथलपुथल हुन थालिसकेको थियो । जसलाई पायो उसलाई ”मसँग बिहे गर्छेऊ” भनेर सोध्न पनि भएन, मार्लान् भन्ने पीर । अनि के गर्नु त ? मलाई त्यसै त्यसै औडाहा भएर आउन थालेको थियो ।
मनमा कुरा खेलाउँदाखेलाउँदै अचानक मेरो मनमा अफिसकी टाइपिस्टको सम्झना भएर आयो । छि, हुँदैन त्यो । देख्दै गिली, पाकेर लितिक्क परेकी अम्बाजस्ती । त्यसमाथि ओठमाथि लाएको रातो लिपिस्टिक हरदम गर्मी महिनामा केटाकेटीको ओठमा लागेको पग्लेको क्याडबरिज चक्लेटजस्तो ल्यातप्यात । देख्दै घीन लागेर आउने । टाँस्सिन त खोज्थी बेलाबेलामा – ‘सर, सर त हामीसँग बोल्दै बोल्नुहुन्न’ लाडिएर बोल्थी । आफूलाई चाहिँ उनको उपस्थिति नै असह्य भएर आउँथ्यो । त्यत्रो लगानी गरेर त्यस्ती गँड्यौलाजस्तीलाई ल्याएर के गर्नु , टोक्नु न बोक्नु ।
अचानक मलाई गरुडा म्याडमको सम्झना भएर आयो, हक्की, अग्ली, राम्री तर खरी । जो पायो उसँग बोल्दा पनि न बोल्ने । टिमटिम परेर हिँड्ने । पारपाचुके र विवाह भन्ने कुरासँग घृणा भएकी । मसँग कुरो गर्न त तम्सिने तर मैले नै त्यति साह्रो चासो नलिएको हुनाले अलि परपरै । यस्तीसम्म भएचाहिँ हुन त हुन्छ तर कुरो कसरी गर्ने । त्यसमाथि विवाह भन्ने कुरासँगै घृणा भएकी । कतै अर्कै लिङ्गी पो हो कि । त्यस्तो भयो भने त फेरि चौटा खान गएकी के जाति झोलमा डुबेर मरीजस्तो होला नि ।
एक दिन म उनको केबिनमा हिम्मत गरेर छिरेँ । उनी पहिले त झस्किन् अनि अलि सामान्य भइन् ।
मैले नै विस्तारै कुरा कोट्याएँ – ‘क्या हो गरुडा म्याडम, हामीलाई चाहिँ किन दुश्मनजस्तो व्यवहार गरेको । हामी पनि त साथी नै हौँ क्यारे । हामीलाई पनि यसो कहिलेकाहीँ समय दिए पाप त लाग्दैन होला त’ ।
गरुडा म्याडम पनि उत्साहित भइन् – ‘के कुरा गरेको सरले । सर नै तर्कीतर्की हिँड्नुहुन्छ हामीसँग । म त जहिले पनि तैयार छु । सरको लागि समय नै समय छ’ त्यसपछि मैले केही सल्लाह गर्नुछ भनी समयको माग गरेँ । उनले अफिस टाइमपछि उनकै डेरामा जाने प्रस्ताव गरिन् । पछि हामी सँगै उनको डेरामा पुग्यौँ । उनी मलाई बैठकमा बसाएर बेडरुममा छिरिन् । एकै छिनपछि टेबुलमा एउटा स्कचको बोतल र केही स्न्याक्स ल्याएर राखिदिइन्, मेरो भने ढुकढुकी बढ्न थाल्यो । त्यसपछि उनी डियोसियो छर्केर प|mेस भएर ।
एकदमै पारदर्शी स्लिपलेस म्याक्सीमा आएर मसँग टाँस्सेर बसिन् र ‘जाउँ सर भित्रै’ भन्दै मलाई घिच्याउँदै बेडरुममा पो पुर्याइन् । मलाई उनको नियत अर्कै लागेर हतपत आफ्नो कुरो राखिहालेँ बिहेको । उनी दङ्ग पर्दै हाँसिन् । स्कचको नसा पनि लागिसकेको थियो उनलाई ।
”सर, बिहेसिहे गरेर घरजम गरेर बस्ने भए म करोडपति लोग्नेसँग बसिहाल्थेँ नि, किन डाइभोर्स गर्थेँ । बिहेमा के मजा छ र सर, एउटासँग टाँस्सियो बसिरह्यो, त्यो मबाट हुँदैन सर । मलाई त थरीथरीको स्वाद चाहिन्छ । जिन्दगीमा मोज नगरे के गर्नु । त्यसैले सरले पनि बिहेसिहेको कुरा छोडौँ, सरलाई जहिले मन लाग्छ आउँ, इन्ज्वाय गरौँ । हिजो हाकिमसाब आउनुभएको थियो, अरू पनि आउँछन्, सर पनि मजाले आउँ” भन्दै मलाई अङ्कमाल गर्न तम्सेपछि म आफ्नो जेठीको अनुहार सम्भिmँदै त्यहाँबाट उम्केँ ।
त्यति गर्दा पनि मेरो बिहे गर्ने नसाचाहिँ उतारेको थिएन । म त्यत्तिकै भौँतारिँदै काठमान्डुको सडक नाप्दै वायुसेवा निगमको कार्यालयतिरबाट जाँदै थिएँ, अँध्यारो भइसकेको थियो । सडक बत्तीको पोलमुनि एउटी सुन्दर कन्या आफूतिर हेर्दै मस्किरहेको देखेर दङ्ग परेँ । कहाँबाट चिनिछन् यिनले सोच्दै म नजिक पुगेँ । “जाने होइन सर,” – उनले लाडिँदै प्रश्न गरिन् । म छक्क परेँ, चिन्नु न जान्नु घचेडी माग्नु । “कहाँ जाने भनेको तपाईंले” मैले प्रतिप्रश्न गरेँ ।
“मेरो ठाउँमा जाने भए हजार पर्छ, सरको ठाउँमा होल नाइटलाई पाँच हजार भए पुग्छ” आईमाईले त मस्किँदै हातै पो समातिन् बा । तिनले हात समातेपछि म झसङ्ग भएँ र मेरो गरुडा म्याडमकहाँको नसा पनि उत्रेकोजस्तो भयो र पो बल्ल मैले बुझेँ, यी कन्या त नागकन्या पो हुन् भनेर । त्यसपछि म हात छुटाएर फटाफट हिँड्न थालेँ । त्यो केटी पनि “सर तीन सय भए पनि हुन्छ सर” भन्दै पछ्याउन थालिन् मलाई । निकै बेरसम्म तिनले पछ्याउन नछोडेपछि म दगुर्न थालेँ र दगुर्दादगुर्दै स्याँस्याँ र फ्याँफ्याँ गर्दै म घर पुगेँ । श्रीमती बिचरी दैलोमै कुरेर बसेकी रहिछन् । “लौन नि उहाँलाई केभयो” भनेर हल्लीखल्ली गर्दै मलाई भित्र लगिन् । त्यसपछि म लखतरान परेर झन्डै अर्धबेहोसीको अवस्थामा डङरङ्ग खाटमा लडेँ ।
त्यतिञ्जेल मेरो हजुरबाउको भूत मन्छिसकेको थियो ।
-जनकपुरधाम
(स्रोत : मधुपर्क २०६५ माघ)