~अभिमन्यु निरवी~
डाँडाको टुप्पोमा पहेँलो घाम देखिन्छ। त्यो डुब्ने तरखर गर्दै छ। दिनभर उसले तताएको भित्री मधेस अझै हायलकायल छ। बारीमा भर्खर जन्मिएका हरिया मकैका बोटहरू दुई चुल्ठी बाटेर ठिंग उभिएका छन्। यस्तो लाग्छ कि तिनीहरू मलाई मेरो घरमै स्वागत गर्न उभिएका छन्।
म बारीको कान्ले बाटोबाट सम्हालिँदै आँगनमा पुग्छु। पिँढीमा सुतिरहेको एउटा खैरो कुकुर जुरुक्क उठेर जोडले भुक्छ। दौडेर मतिर जाइलाग्छ। म त्यसको ढाडमा जोडले लात बजार्छु र लखेट्छु। त्यो एकैछिनमा अदृश्य हुन्छ। केही बेरपछि पर कतै कुइँकुइँ गरेको आवाज मात्र सुनिन्छ।
ढोकाको आडमा एउटा टाटेपाटे बिरालो पनि छ। त्यो भलाद्मी पाराले अगाडिका दुई खुट्टा पसारेर थपक्क बसेको छ। त्यसको पुच्छर फिटिक फिटिक कुनै मेसिनझैँ चलिरहेको छ। तर, म त्यसको मतलब नगरीकन बन्द भएको ढोकातिर हेर्छु। ढोकामा ठूलै ताल्चा झुन्ड्याइएको छ। बा–आमालाई बिनाखबर सरप्राइज दिन गएको मान्छे, उल्टै आफैँ सरप्राइज्ड हुन्छु। मन नलागी नलागी ब्याग झिकेर खाँबोमा अड्याउँछु र थाकेको ज्यानलाई पिँढीमा बिसाउँछु। बिरालोले मलाई आँखा झिमिक्क नगरी एकटकले हेरिरहन्छ। त्यो पटक्कै डराउँदैन।
हेर्दा हेर्दै घाम डाँडाले छेकिन्छ। बा–आमा अझै आएका छैनन्। सायद खेतमा धानको बीउ राख्न गएका होलान्। उनीहरूले घरको आँगन टेक्नेबित्तिकै मलाई देख्दा के महसुस गर्लान्? उनीहरूको पहिलो प्रतिक्रिया के होला? सोचेर म टोलाउँछु।
खैरो कुकुर फेरि मेरा अगाडि उभिएको छ ठिंग। मलाई केही भन्न खोजिरहेछ तर डराइरहेछ। म झोलामा भएको चकलेट झिकेर खान्छु। कुकुर र बिरालो मैले मुख चलाएको हेरिरहन्छन्। तर, म तिनीहरूलाई वास्ता गर्दिनँ। बरू एउटा किताब झिकेर घोरिइरहन्छु।
साँझ ढल्न लाग्दा बा–आमालाई घरतिर आइरहेको देख्छु। अचम्म के भने खैरो कुकुर र टाटेपाटे बिरालो पनि बा–आमासँगै मतिरै आइरहेका छन्। कति बेला तिनीहरू बा–आमालाई लिन पुगिसकेछन्। मलाई देख्नेबित्तिकै आमाका गह भरिन्छन्। बा सोध्छन्, “कुन बेला आइस्?”
“भर्खरै हो,” म भन्छु।
“आइज भित्र,” आमा घरको चाबी खोल्छिन्।
दसैँ मानेको आठ महिनापछि घर आएको छु। भाइ अस्ट्रेलिया उडेको एक वर्ष भयो। बहिनी पराइ घर पुगेको पनि वर्ष दिन भइसक्यो। घरमा बा र आमा मात्रै छन्। यही सानो घर पनि उनीहरूका लागि फराकिलो भएको छ। आमा भान्सामा भात पकाउँदै छिन्। म छेउको चकटीमा बसेको छु। चुलोनजिकै बसेर खैरो कुकुर र टाटेपाटे बिरालो आमाको काम हेरिरहेका छन्। आमालाई सोध्छु, “आमा, यो कुकुर र बिरालो भान्सामा किन बसिरा’का?”
“यिनीहरू यस्तै हुन्,” आमा भन्छिन्, “यसको नाम खैरे, उसको नाम टाटी।”
त्यसपछि आमा जोडले भन्छिन्, “खैरे, खोइ खुट्टा उता लैजा।” खैरे खुट्टा अलि वर तान्छ र मतिर रिसाहा आँखाले हेर्छ।
“भाइलाई कस्तो छ रे उता?” आमा अँगेनाको दाउरा ठोस्दै सोध्छिन्।
“राम्रो छ…, पैसा कमाउँदै छ।”
“भाइ त उता गयो ल, बहिनी अर्काकी भई। तर, त्यहीँ काठमाण्डू भएर नि किन आउन्नस्?” आमा सोध्छिन्।
“बिदै मिल्दैन। मिलेको बेला त आ’कै छु नि!”
“देखियो आ’को नि,” आमा गुनासो पोख्छिन्।
आमाले यति गुनासो पोख्ने बेलासम्म तरकारी पाकिसकेछ। मीठो बास्नाले भान्सा कोठा भरिएको छ। आमाले पकाएको कहिले नमीठो लागेको थियो र मलाई?
म देखिरहेको छु, टाटी गुलाबी नाक झन्डै झन्डै कराहीनिर पुर्याउँछे। आमा पल्लो कोठामा भएको बालाई बोलाउँछिन्। बा ढाकाको टोपी मिलाउँदै आउँछन्। बा आएपछि खेती लाउन र घरव्यवहारका लागि बाको हातमा केही पैसा राखिदिन्छु। आमा त्यो सब चुपचाप हेरिरहन्छिन्। हातमा पैसा राखिदिँदा त्यति खुसी देखिन्नन्। बा भन्छन्, “किन ल्याउनुपथ्र्यो र?”
“राख्नूस् न,” म भन्छु।
बा अप्ठ्यारो मानेर गोजीमा राख्छन्। म त्यसको अर्थ बुझ्दिनँ। मलाई लाग्छ, बा–आमाका लागि पैसाभन्दा परिवार र परिवारको मिलन ठूलो छ।
खाना पस्किँदै गर्दा आमालाई हेर्छु। उनका आँखा र ओठमा हल्का मुस्कान छ। आमा सरासर पाँचवटा भाग पस्किन्छिन्।
म भन्छु, “कसलाई हो यतिका?”
“देखिनस् खैरे र टाटी?” आमा भन्छिन्।
खैरे र टाटी मसँगै मीठो मानेर आमाको हातको खाना खान्छन्। खैरे छिटोछिटो सिध्याएर फेरि आमातिर हेर्छ। “हेर हेर यो मोरो, भकारी नै भएर जन्मेछ। कति खान्छ हो?” फतफताउँदै आमा खैरेलाई खाना थपिदिन्छिन्। खैरे मतिर पुलुक्क हेर्दै फेरि खान थाल्छ।
“कैले आ’हो खैरे?” म अलि ठाडो तरिकाले सोध्छु।
“दसैँपछि, सानो थियो नि यो त,” आमा भन्छिन्।
“यस्ता खन्चुवालाई पालेर…,” म भन्छु।
“सानोमा तँ पनि खैरेजस्तै थिइस्। नबोल्ने तर धेरै खानुपर्ने,” आमा सम्झाउँछिन्।
“ह्या आमा, कुकुरसँग के दाँजेको भन्या?” म निको मान्दिनँ।
“के भो त? हेर त कति ज्ञानी छ। खैरे र टाटी छन् र त छोराछोरी सबै वरिपरि नै छौ जस्तो लाग्छ मलाई।”
आमाको पछिल्लो कुरा सुनेर म खाँदाखाँदै रोकिन्छु। केही भन्न खोज्छु तर बोली घाँटीमै अड्किन्छ। बा–आमा हाम्रो प्रगतिमा खुसी छन्। छोराछोरीलाई स्वच्छन्द भएर उड भन्छन् तर सधैँ वरिपरि भइदियून् भन्ने पनि चाहन्छन्। कस्तो विरोधाभास !
म केही बेर सोच्छु र ठान्छु आखिर जे भए पनि बा–आमाको कुनै सोच गलत छैन। बस्, यति बुझ्छु।
म मन भारी बनाई बनाई खान्छु। आमा मायाले सोध्छिन्, “के थपूँ? खानै नखाने भइछस् त! सहरमा राम्ररी पकाएर त खान्छस् नि?”
आमाले मलाई दसवटा कुरा सोधिरहँदा गोठबाट दुई–तीनपल्ट गाई कराउँछे। बा खाँदा खाँदै भन्छन्, “भोक लाग्यो जस्तो छ मालीलाई।”
“होला, अहिले घाँस दिनू न गएर,” आमा भन्छिन्।
बा यतैबाट कराउँछन्, “एकछिन पखेस्।”
सुत्न खोज्छु। निद्रा परेको छैन। बाहिर निक्लिन्छु। चकमन्न रात छ। कालो अँध्यारो। एकोहोरो झ्याउँकीरीको आवाज आइरहेको छ। आकाशमा बुट्टे ताराहरू देखिएका छन्। खैरे बार्दलीमा बसेर पहरेदारी गरिरहेको छ। टाटी भित्र आमासँगै घुरिरहेकी छे। म आफू जन्मिएको घरलाई एकनास हेरिरहन्छु र महसुस गर्छु, म दिनप्रतिदिन यो घर, बा आमा र गाउँसँग बिरानो हँुदै छु। उनीहरू हामी छोराछोरीबिना बाँच्न सिकिरहेछन्, हामी बाउआमाबिना बाँच्न सिकिरहेका छौँ र एक्लोपन भगाउने उपाय खोजिरहेका छौँ। नत्र, खोइ त्यो पहिलेजस्तो धपधप बलेको खुसी, त्यो मझेरीभरिको लडाइँ–झगडा र आमाको सप्रेम कुटाइ, खै त्यो रुवाइ र आमाको फकाइफुल्याइ? खै मेरो त्यो जिन्दगी, खै मेरो सानो भाइ र सानी बहिनी? केही छैन साथमा। अब त सम्झनाहरू पनि धमिला भइसके।
सखारै बा गाई दुहुन्छन्। एकैछिनमा बाच्छो बुरुक्क उफ्रिदै आँगनमा आइपुग्छ। र, बाको अगाडि पछाडि हिँड्छ। आमा आँगनमा देखा पर्छिन् र भन्छिन्, “लौ पुन्टे त फुस्केछ, बान्दिनू न।”
“आ, भैगो एकछिन खेलोस् आँगनमा,” बा भन्छन्।
पुन्टे बाच्छो आँगनमा उफ्रिरहन्छ। खैरे र टाटी सँगसँगै उफ्रीउफ्री खेल्छन्। बा र आमा दंग परेर हाँस्छन्। धेरैपछि म बा र आमाको बुढ्यौलीको धर्सा बसेको अनुहारमा त्यो खुसी पाउँछु, जुन आफू सानो छँदा पाउने गर्थें। सोच्छु, पुन्टे, खैरे र टाटी नभइदिएका भए यो घर कति नीरस हुन्थ्यो होला?
खैरे मसँग रिसाएको रिसायै छ। मैले उसलाई पिट्न हुने थिएन। त्यसैले मसँग टेढिएको छ। मैले बोलाए पनि मेरो छेउमै पर्दैन। बरू उल्टै परपर हेरेर हिँड्छ। मैले थुप्रै पटक कोसिस गरिसकेँ तर मान्दैन। बिहानको खाना खाने बेलामा मैले उसलाई मुसारेँ। खैरेले पुलुक्क मतिर हेर्यो।
“खैरेलाई केही गरेको थिइस् कि क्या हो? तँसँग तर्किरा’छ,” आमा उसलाई बुझ्छिन्।
“अँ हिजो, मलाई झम्ट्यो। मैले लात बजारँे।”
“हेर बिचरा…,” आमा साह्रै दु:ख मान्छिन्।
“घर कुर्छ, हामी नभा’ बेलाँ। नौलो लाग्यो होला त्यसैले झम्टियो नि,” बा थप्छन्।
म फेरि खैरेलाई मुसार्छु र मनमनै भन्छु, ‘सरी खैरे।’
खैरे मेरो वास्ता नगरी खाना खाइरहन्छ।
म बा–आमालाई भन्छु, “तपाईंहरू मसँग हिँड्नू काठमाण्डू।”
“आ होस्, याँ आफ्नो घरमा लडीबुडी गरेर खान छाडी छाडी कोठाँ बस्न को जाओस्?” आमा भन्छिन्।
“यहीँ ठीक छ छोरा हाम्लाई। सहराँ त सास फेर्न नि गाह्रो लाग्छ,” बा थप्छन्।
“ठीकै छ, तपाईंहरूलाई मन लागे आउनू,” म कुराको बिट मार्छु।
“कैले जान्छस्?” आमा सोध्छिन्।
“अब एकछिनमा,” म बा–आमालाई जानकारी दिन्छु।
घरमा भएजति सब कुरा आमाले मेरो झोलामा कोचिदिन्छिन्। म त्यसलाई तरकारी, दाल, गेडागुडीभन्दा पनि आमाको माया ठान्छु। बा–आमासँग बिदा मागेर हिँड्ने बेलामा आफूलाई माइती आएको चेलीजस्तो लाग्छ।
म भारी मन बनाएर सरासर हिँड्छु। बा–आमा मलाई परसम्म हेरिरहन्छन्। म हिँडिरहन्छु, त्यही गोरेटोबाट। मकैका बोटहरू अस्तिका भन्दा थोरै ठूला भएछन्।
सडकनिर पुगेर पछाडि फर्केर हेर्छु। घर ठिंग उभिएको छ। बा–आमा भित्र कतै पसिसकेका छन्। घरनिरको आँपको ठूलो रूखमा सेता बकुल्लाहरू आएर बसेका छन्। दसैँसम्मका लागि घरलाई अन्तिमपल्ट हेरिरहँदा खैरे र टाटी पनि लुम्रुंग मेरो छेउमा आइपुग्छन्। म तिनीहरू दुवैलाई अचम्म मानेर हेरिरहन्छु। तिनीहरू मेरो गोडै नजिक उभिन्छन्। खैरे पुच्छर हल्लाउँछ। झोलालाई बाटो छेउमा बिसाएर म खैरेलाई मुसार्छु। ऊ मलाई मायाले चाट्छ। टाटी जिउ बांगो पारेर मेरो खुट्टामा ढेपिन्छे। म खैरेलाई अँगालो हाल्छु। उसको आँखा रसिलो देखिन्छ। टाटी म्याउँ गरेर कराउँछे। किन किन आँखाका कुनाहरू रसाउँछन्।
पहिलोचोटि काठमाण्डू जाँदा यसरी नै भाइबहिनी मलाई छोड्न बाटोसम्म आएका थिए। यसरी नै आँखा रसिलो बनाएर बिदा भएको थिएँ म। तिनीहरू साना थिए, हिँड्ने बेलामा बहिनीले घाँगरको फेरो समाउँदै भनेकी थिई, “चाँडै आऊ है दाइ!” भाइले निर्धक्क भनेको थियो, “अबदेखि म घरको सबै काम गर्छु, बा–आमालाई दुख दिन्नँ।” म भारी मनले बिदा भएको थिएँ। धेरै वर्षपछि सब सम्झना ताजा हुन्छन्। उस्तै घटना तर फरक पात्रहरू। खैरे र टाटीले पनि मलाई त्यस्तै केही भनिरहेका छन् सायद। उनीहरू बोल्न सक्दैनन् र पनि म अनुमान लगाउँछु। यो सब एउटा मीठो संयोगजस्तो लागिरहन्छ।
म खैरे र टाटीलाई छाडेर बस स्टेसन पुग्छु। सदरमुकामतिर गुड्न बस तयार छ। ठेलमठेल गरेर बस चढ्छु। खलाँसीले ढ्याप ढ्याप दुईपल्ट ढोकामा हानेपछि बस गुड्छ। बस गुडेर टाढा पुगुन्जेल पनि खैरे र टाटी बसतिरै हेरिरहेका छन् । एकोहोरो ।
प्रकाशित: श्रावण ७, २०७२
(स्रोत : कान्तिपुर)