कविता : समय

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

यो त बग्दो समय
विचित्र समय
बिगत खोल्छ समय
बर्तमान बोल्छ समय
विछोड कोर्छ समय
मिलन जोर्छ समय।
**
यो त बित्दो समय
एकोहोरो समय
फेरो पक्डिन्छ समय
मेहेरो मर्किन्छ समय
संवेदना घोल्छ समय
संभावना टोल्छ समय।
**
यो त अविराम समय
एकछत्र समय
दौडाहा रुक्दैन समय
औडाहा बुझ्दैन समय
चाहाना जोख्छ समय
भावना पोख्छ समय।
**
यो त अजम्बरी समय
निष्फिक्री समय
संकल्प हुन्छ समय
विकल्प बुन्छ समय
भाषामा खुल्छ समय
आशामा फुल्छ समय।
**
यो त अविच्छिन्न समय
बहुरुपी समय
वाकी-टकीमा डुक्रिन्छ समय
निर्धो टुकीमा टुक्रिन्छ समय
विवशतामा बज्रिन्छ समय
विशेषतामा गर्जिन्छ समय।
**
यो त अविरल समय
जिउँदो समय
रञ्जना रमिदिन्छ समय
बासना बनिदिन्छ समय
अनायास ब्युँझिआउँछ समय
ईतिहास उजिल्याउँछ समय।
**
यो त गतिशिल समय
एकतमास समय
न पर्खिन्छ समय
न फर्किन्छ समय
बरु,
आँसुमा दर्किन्छ समय
केवल घर्किन्छ समय।
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.