कविता : नयाँ सडकमा एकाएक भुइचालो गएको दिन

~डा. दुबसु क्षेत्री~dubasu-chhetri

अबिरल बग्दै गरेको इन्द्राबती टक्क अडिएको दिन
सातै सूर्यको एकैचोटि ज्योति गुमेको दिन
लाहुरे भैंसी तुहेत्रो गएको दिन
नयाँ सडकमा एकाएक भुइचालो गएको दिन
बुद्धका अर्ध मुद्रित आँखाहरू अचानक बन्द भएको दिन

अर्थात रामेश्वर शर्मा चालिसेको चोला उठेको दिन
सबैले भने, आज रमेश विकलको निधन भयो ।
थुप्रै अन्ध्याराहरूका बीचमा
नेपाली धर्तीमा फेरि अर्को अन्ध्यारो दिन भयो ,

टोकियोको एउटा नि:शब्द कोठामा
मभने एक्लै एक्लै सोचिरहे;
एक मनले भन्यो-
नयाँ सडकले आफू पुरानो भए पनि गीत नयाँ खोजे झै
एउटा बुढो भायोलिन्ले आशाबरीको धून नयाँ रोजे झै
टाढा कतै निलगीरिको छायामा एकाएक हरायौ तिमी
सगरमाथा छुन सागरले एकपटक प्रयत्न नयाँ गरे झै

तन्ना नयाँ फेरिए झै जीवनको पन्ना नयाँ थपिएर गयौ
कथामा हाँसिरहेको शाहश्र बुद्ध शव र सालिकमा सजिएर गयौ
जीवनको अबिरल गीत लेख्दा लेख्दै आज अचानक
सप्तरङ्गी इन्द्रेणीमा आज एउटा नयाँ रङ बनेर गयौ

अर्को मनले भन्यो:
बजिरहन्छ बूढो भायोलिन, टुट्दैन कहिल्यै पनि
सूर्य उदाइरहन्छ पूर्वमा, छोपिदैन कहिल्यै पनि
निलगीरिको छातीमा तारा जो उदायो, खस्तैन कहिल्यै पनि
ईन्द्रबती अबिरल बगिरहन्छ, रोकिदैन कहिल्यै पनि
रामेश्वर शर्मा चालिसे बिते होलान
हाम्रा रमेश विकल मर्दैनन कहिल्यै पनि

(बरिष्ठ आख्यान्कार श्री रमेश विकलज्यूको निधनमा टोकियोमा अन्तरराष्ट्रिय साहित्य समाज जापानबाट आयोजित श्रद्धान्जली सभा, टोकियो, ११ जनवरी २००९)

(स्रोत : माझेरी डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.