यौनकथा : राइटरबाजे

~विश्‍वेश्‍वर प्रसाद कोइराला~

मानवसमाजबाट यति टाढा पृथ्वीको एउटा कुनामा बसेर म आफ्नो शरीरलाई यसो निहार्छु । अब यसमा, यसका रेशा-रेशामा- महारोगका कीटाणु स्याउँ-स्याउँ गर्दै रङमगिरहेका छन्‌ । यो डुँडो खोरण्डो शरीर पटपट फुद्दैछ । कतिसम्म टलपल गरिरहेको पीप, पापको घडा फुटेको जस्तै ठाउँ-ठाउँबाट बगिरहेको छ । दृष्टि पनि क्षीण हँदै आएको छ । शायद यो शरीरको अन्तिम दिन पनि हो- यो शरीरको आरक्षण जसलाई मैले एकान्त मनले राइटरबाजेलाई अर्पिएर पनि उनको एकलौटी हुन सकिनँ । धेरैको उपभोगमा यसले अविराम किसिमले आफूलाई विमुक्त गरिरह्यो ।

पाप-पुण्यको लेखाजोखा मैले गर्न जानिनँ । जसले शायद यसको बास्तविक कुरो मलाई बताउन सक्थे, तिनी अब छैनन्‌ । राइटरबाजेलाई यही हातले- जो आज डुँडो छ- धेरै पहिले सेलाइसकेको छ । हे भगवान्‌ तर भगवान्‌ पनि त मेरो विश्वास र अविश्वासको द्विधामा केही फझलक्क भएझैं केही देखिया झैं- लाग्ने हो कि होइन कि भनेजस्तो कुनै पदार्थ-अपदार्थका बीचको केही करा मात्र आज मेरा लागि छ । राइटरबाजेको विश्वासको तर्फबाट म आज पुकार गर्छु- हे भगवान्‌ ! राइटरबाजे भन्नुहुन्थ्यो- ईश्वर छन्‌ र भन्नुहुन्थ्यो- पाप-पुण्य पनि छ, किनभने ईश्वर छ ।

आज जब मेरा पिलपिलाउँदा आँखा सामुन्नेको यो बिराटतामाथि धमिलिंदै परिरहेका छन्‌, तब मलाई अहिलेको निर्भाव बिदाइको क्षणमा केवल दुई अनुभवले व्याप्त गरेको छ- राइटरबाजेको प्रेम र गलित कृष्ठको असाध्य रोग । यही शरीरले यी दुवै कुरा अनुभव गय्यो । अन्तिम क्षणमा किन एकाग्रतासँग ईश्वरलाई सम्झिन खोज्दा केवल राइटरबाजे र कृष्ठको अनुभव मात्र मलाई हुन्छ !

के मेरो ईश्वरको पूर्ति ममा यी दुवै वस्तुको माध्यमबाट भएको छ ! मेरो सम्पूर्ण जीवनको अनुभवको केन्द्र- मैले आर्जन गर्न सकेको सार्थकता यही दुई क्रा हो । नत्र राइटरबाजे र कृ्‌ष्ठ मेरो जीवनबाट भिकिएमा जुन नग्न रिक्तताका सामु म पहिलो दिन मातृगर्भबाट पृथ्वीमा अवतीर्ण भएँ त्यही रिक्तताका साथ म आज पृथ्वीबाट फर्किरहेको छु । जीवनमा के पाइस्‌ तैँले- कसैले मसँग प्रश्न गत्यो भने मैले भन्नुपर्छ- प्रेम र कृष्ठ ।

ईश्वरलाई पाइनस्‌ ?

जीवनको अनुभवको सम्पूर्णता नै यदि ईश्वरलाई पाउनु हो भने प्रेम र कृ्‌ष्ठमा उसलाई पाएको भन्न सक्छु ।

पाप-पुण्य ?

प्रेम र कृ्‌ष्ठलाई कुनै अर्को संज्ञा दिने हो भने अर्को नाउँबाट- मेरो सञ्चित अनुभव प्रेम र कृ्‌ष्ठलाई सम्बोधन गर्न सक्छु ।

नत्र राइटरबाजेको प्रेम र क्‌ष्ठ रोगको पीडालाई बाद गरेदेखिन्‌, जस्तो निर्दोष भएर म जन्मेँ उस्तै निर्दोष भएर आज म मर्न लगिरहेको छु ।

काठमाडौंको गल्लीमा थाडनु लाएर माग्दै हिँडिरहेकी एउटी भोटिनी बालिकालाई तीन नम्बर पहाडबाट जागीर खान शहरमा आएका राइटरबाजेले एक दिन अङड्डाबाट फर्किंदा दया गरेर आश्रय दिँदै आफ्नो घरमा नल्याएको भए शायद त्यसले प्रेम नै पाउने थी, न कृष्ठ रोग नै । अरूको अनुभवले जे भनोस्‌ मेरो अनुभवले त यही बताउँछ कि कुनै ठूलो कुरो नदिएर अर्को ठूलो-ठूलो कुरा पाइँदैन । त्यसै पाइँदैन । त्यसका लागि मूल्य चुकाउन तयार हुनुपर्छ । त्यसैले होला कृष्ठलाई प्रेम उपलब्ध हुने थिएन : थिएन शायद । या थियो कि : जीवनको यो सानो अवधिमा सत्यको एकचोटि मात्र प्रयोग सम्भव हुन्छ ? एउटा जीवन- एउटा विशिष्ट अनुभव-शृङ्खला-र एउटा त्यसको विशिष्ट सत्यानुभूति । अरूहरूको जीवनको सत्य मेरा लागि असङ्गत छ; बिलकुल निरथंक । अरूहरूको जीवनमा यदि प्रेम र पीडा सँगसँगै गएन भने के भो त मलाई । मेरा लागि त प्रेम र कोढ जम्ल्याहा भएर सँगसँगै आए ।

बाटामा राइटरबाजेले सोधे- किन मागेको :

मैले भनें- भोक लागेर ।

त्यस बेलुका म राइटरबाजेकहाँ आएँ । र बिस्तार-बिस्तार उनको गृहस्थीको एउटा अङ्ग हुन पुगें ।

मायाका करा गर्ने हो भने उनले नै पहिले यसको सूत्रपात गरे । मुखले त केही भनेनन्‌; तर व्यवहारमा उनबाट मायाबाहेक मैले केही पाइनँ ।

शहरको गल्लीबाट टिपिएर राइटरको घरमा स्थापित हुन पुग्दा मलाई अचम्म लाग्यो; तर निमुखा ब्राह्मणले मेरो खाने-पिउने, लुगाफाटा र अरू साना-साना सुविधाका क्रामा ध्यान दिएको देख्दा म सहजै उनीसँग हेलमेल गर्न थालें । म चौध वर्षकी हँदी हुँ । दरिद्रताले सिकुडिएको मेरो शरीर फाटेको थाङ्नामा उमेरभन्दा धेरै सानो लाग्थ्यो । फेरि मैले कद पनि ठूलो कहाँ पाएँ र ? पछि बिस्तार-बिस्तार शरीरले भोजन पाएर फक्रिन थाल्यो । र राइटरबाजेसँगको सहवासले बुद्धि र मन पनि शरीरसँगसँगै हर्किन थाल्यो । दुब्ला, पातला, खपटे राइटरबाजे जहाँका तहीं नै रहिरहे; म भने बढ्दै गएँ । अन्त्यमा यो अवस्था भयो उनको गृहस्थीको सम्पूर्ण भारलाई आफ्नो काँधमा स्वाभाविक ढङ्गबाट लिएर उनीसँग केही कडाइको व्यबहार गर्दै म भन्न थालें- यो एक कचौरा दूध खानैपर्छ; राइटरबाजे ! नत्र जीउ कसरी लाग्छ ? उनी नबोली मेरो हातबाट कचौरा लिएर दूध पिउँथे । म उभिएर हेरिरहन्थें ।

पुरुष के सबै त्यस्तै हुन्छन्‌ ः अबोध निरीह अन्जान ? जसलाई एउटी नारीको आड आवश्यक पर्छ ? जसलाई खाने-लाउने ठेगाना हुँदैन ? जो पहिलो मौकामा नै सहजसँग आफूलाई एउटी नारीको जिम्मामा सुम्पिएर निर्धक्क हुन्छ ? के नारीको स्वाभाविक धर्म पनि एउटा पुरुषको हेरविचारमा आफूलाई निमग्न पारेर अपार सन्तोषको सास फेर्नु हो ? म एउटी ग्रामीण भोटिनी बालिका, आशिक्षित, केही नजान्ने । मैले स्त्री चोला लिएर जन्मेँ; र शरीरधर्मअनुसार हु्किदै गएँ । र त्यही प्राकातिक नियमअनुसार एउटा पुरुषको सहारामा निर्धक्क भएर उसैलाई ममत्वको भरोसा दिंदै, उसको हेरविचार गर्दै उसको निरीहतालाई यथासाध्य निवारण गर्दै उसको सानो जीवनमा पूर्णरूपले स्थापित भएँ । मलाई लाग्न थाल्यो-विचरा, म नभएको भए राइटरबाजेको के गति हुने थियो !

राइटरबाजेले पनि ममाथिको आफ्नो निर्भरताको पूरा प्रमाण दिएर एक दिन भने- ल लेङ, मेरो यस महीनाको तलब । र बाकसको साँचो पनि । अब तलब आउनेबित्तिकै तिम्रै हातमा राखिदिन्छु ।

राइटरबाजेको घरमा बिस्तार-बिस्तार म स्वामिनीजस्ती त भइसकेकी थिएँ, र मेरै खटन त्यहाँ चल्थ्यो; उनमाथि पनि मेरै खटन । तर त्यस दिन साँचोका झुप्पा र रुपियाँ बटुली मेरो हातमा उनले राखिदिँदा मलाई लाग्यो कि हाम्रो पुरुष-नारीको सम्बन्धमा एउटा अविच्छिन्न घनिष्ठता थपियो ।

मैले रुपियाँ र साँचो हातमा लिन त लिएँ; तर मेरो मुख त्यसै रातो भयो र लाजले मुन्टो फर्काएँ । उनको बाणीमा पनि एउटा अनौठो, रसाएको घोक्रोपन थियो जब उनले भने- किन लाज मानेकी ?

लाजले खप्न नसकेर, भागेर म आफ्नो कोठामा आएँ, हातको बटुआ र साँचोको झुप्पालाई हेरिरहेँ । मेरो मन त्यसै रमाइलो भएर फ्रुक्क-फुरुक्क हुन्थ्यो । हठात्‌ मलाई लाग्यो, मेरो स्वयंवर भएको छ ।

आखिर विवाह- अगिनिका अगाडिको मन्त्रपाठ या कनै रूखमुनि भएको माल्यादान-प्रदान, या चूह्लोको तीनवटा पत्थरको पूजा-अर्चना- पुरुष-नारीको आन्तरिक सम्बन्धको प्रकटीकरण मात्र होइन र- एक प्रकारको घोषणा ! मुख्य मुख्य विषय के हो ? पुरुष र नारीको तात्त्विक सम्बन्ध या त्यसको घोषणा ! प्राण या शरीर? .

त्यस दिनको मेरो आनन्द र साथै उद्विग्नताको अन्त्य थिएन । प्राण र शरीर ? मन या कायाका प्रश्नहरूले बारम्बार मलाई उद्देलित गरिरहे । कायाको सहज स्वभावलाई स्वीकार गरेर मैले मनमा उठी: उठी रहने प्रश्नलाई सदाका लागि समाधान गर्दै म तत्काल गएर आफूलाई राइटरबाजेका लागि सम्पूर्ण रूपले अर्पित गर्न सक्थें । मेरो प्रफुल्ल यौवनको स्वाभाविक आदेश पनि त्यही थियो तर शरीरको मागलाई सहज ढङ्गले पूरा गर्न खोज्दा मनमा किन हो किन प्रश्न उठ्थ्यो- शरीरभन्दा अर्को पनि कुनै आधार हुन्छ कि हुँदैन प्रेमको ! कि शरीरको बासनामा मात्र स्थापित भएर रहन्छ हामी मानिसको प्रेम ? तर मेरो सम्बन्धमा प्रेममा शरीरको प्रश्न आज मात्रै एक्कासि उठ्न गयो जब मलाई राइटरबाजेको हातबाट साँचोको झुप्पा लिंदा मलाई मेरो स्वयंवर भएको अनुभव भयो । त्योभन्दा पहिले प्रेम केवल मन र प्राणको स्तरमा सीमित थियो; शारीरिक स्तरमा आउन पाएको थिएन; या कमसेकम मेरो शरीरलाई त्यो प्रेमको सचेतनता थिएन । त्यस दिन शरीरको क्षेत्रमा पनि मेरो प्रेम प्रवेश गरेर ममा एउटा उद्ठिग्नतापूर्ण निस्तिम आनन्दको बेग उत्पन्न गर्न थाल्यो । जहाँ शरीर र मन एकान्त ढङ्गले जसका लागि अर्पित भइसकेको छ र जब आज गा्हस्थ्य-जीवनको प्रतीक साँचोको झुप्पा पनि मलाई प्राप्त भइसकेको छ भने अनिश्चिततामा उठी उठी रहने प्रश्नहरू किन मेरो मनमा आइरहन्छन्‌ ? मेरो त्यसै दिन स्वयंवर भएको भन्ने गम्भीर अनुभव हुँदाहँदै पनि पत्नीको आसनमा उक्लिन खोज्दा मलाई द्विविधा भइरह्यो ।

पत्नी भएको दिन मलाई त्यो घरमा पहिलोचोटि प्रवेश गरेको सम्झना भयो । निर्बोध भिखारिनी भोटिनी बालिकाले यहाँ प्रवेश गरेकी थी र त्यही केटीले आज गृहस्वामिनी भएर यस घरको साँचोको झुप्पालाई आफ्नो मुट्ठटीमा राखेकी छ । यो के हुन लागिरहेछ ; के यो हुने क्रा हो ? के यसमा अस्वाभाविकता छैन : अप्रासङ्गिकता ? फेरि ब्राह्मण पुरुष र भोटिनी नारीको वैवाहिक सम्बन्ध सामाजिक दृष्टिमा बेमेल क्रा होइन र ?

हाय ! मेरा पुरुष पनि- मेरा वर- मबाट वर्णित पनि त्यस्तो एउटा निर्धो व्यक्त छ जसले, मैले आफ्नो उद्धिग्नता र छटपटीलाई जसको अगाडि पोखेँ भने, उत्तरमा केबल आफ्ना ठूला-ठूला विवश आँखा मतिर उठाउने मात्र छ । स्वयंवरको दिनमा तमाम समस्याको मैले स्वयं आफैँले समाधान गर्नुपरेको थियो । फेरि यो समस्या त नारीको मनको समस्या हो; पुरुषको तर्क यहाँ काम लाग्ने थिएन । त्यस दिन मेरो जीवनको सबभन्दा ठूलो निर्णयमा मैले पुग्नु थियो, तर त्यहाँ मेरा त्यस्ता कोही पनि थिएनन्‌ जोसँग म सल्लाह लिन सकूँ । कस्तो विडम्बना कि मेरो स्वयंवर भएको दिन मैले एक्लो हुनुपन्यो- पत्नीत्वको प्रथम क्षणमा सबै नारी एकचोटि शायद नितान्त एक्ली हुन्छे । मानव नियति नै यस्तै छ क्यारे कि जीवनका महान्‌ क्षणमा त्यो एक्लो हुन्छ, त्यसले आफ्नो निर्णय एक्लै गर्नुपर्छ- अरू कसैको सल्लाह त्यसलाई काम लाग्दैन, अरू कसैको जीवनको उदाहरणले त्यसलाई बाटो देखाउँदैन ।

हेलम्बुमै घरगृहस्थी गरेर बसेकी मेरी जेठी दिदी- चारवटा पतिकी पत्नी र तीन सन्तानकी माता, उनले मलाई स्नेहसंग भनेकी थिइन्‌- बैनी, किन यसरी भौंतारिएकी ? यहीँ आइज, म जस्तै बिहे गरेर बस्‌ । मेरा देवरहरू पनि असल छन्‌, खान-लाउन कमी छैन, कोदो, गहुँ, जौ, फापर, मनग्य हुन्छ… ।

दिदीले मलाई माया गरिन्‌, स्नेहको हातले मेरो मुख सुमसुम्याइन्‌, मलाई पीर परेको छ भन्ने पनि बुझिन्‌ तर के पीर, कस्तो पीर, त्यसको कनै पनि अनुभव उनलाई भएन । उनले मलाई नबुझेर अलमल्लमा परेर भनिन्‌- बैनी, तँ कस्तरी बदलिछस्‌, के भो तँलाई, रक्सी-जाँड नखाने रे; यो जाडोमा पनि ननुहाई नहुने रे तँलाई । हामी भोटिनीलाई आफ्नै व्यवहार छ; हामीले बाहुनी हुन खोजेर हुन्छ र ?

म माहिली दिदीकहाँ पनि गएकी थिएँ । मेरी माहिली दिदी- केही मोटी, सधैं जसलाई हाहा, हीही गरिरहनुपर्थ्यो- जो अहिले बौद्धमा एउटा भट्टी थापेर बसेकी छन्‌ । उनले पनि बडो स्नेहसँग भनेकी थिइन्‌- मसँगै बस्‌, बैनी ! यो भट्टीमा काम धेरै बढिरहेको छ; ग्राहक पनि थपिंदैछन्‌ । हामी दिदी-बैनी मिलेर रोजगार बढाउँला । म एक्ली- यो एक्लो शरीरले भ्याउन नसक्ने भयो ।

मैले जब उनलाई आफ्नो राइटरबाजेको करा भनें, उनले हाँसेर भनिन्‌- के भएको छ तँलाई ? एउटा बाहुनको तँ करा गर्छेस्‌ । यहाँ मसँग बस्‌ भनेको । त्यस्ता राइटरबाजे र ्कात आउँछन्‌ कति । सधैँ साटोफेरो गर्न खोजिस्‌ भने पनि पाउँछेस्‌ ।

मैले उठेर भनें- दिदी, अबेर हुन थाल्यो । म जान्छु । दरबारकी मेरी साहिली दिदीलाई देखेर त म ढङ्ग परेँ । कत्रो ठूलो दरबार, नोकरचाकर, दास- दासीले घेरिएकी, हीरा-जवाहरातले झकमक्क भएको मेरी साहिँली दिदीको निवासस्थान । उनले पनि बडो मायासँग मलाई भनिन्‌- यहीँ आइज, तँ पनि दरबार पस्‌ । हेर्‌ जाबो एउटा ब्राह्मणको करा नगर्‌ । तँ राम्री छस्‌, यहाँ दरबारमा छिटै आफ्नो ठाउँ बनाउन सक्छेस्‌ । म नै यहाँ पसेको कति भयो र, ,. रानी भएर बसेकी छु । राजकुमार यहाँ थुप्रा छन्‌. जाबो बाहुन. के भएको छ हँ तँलाई ;

दिदीहरूले मलाई माया गरे र मेरो सहायक हुन चाहे तर मैले उनीहरूको सहायता पाउन सकिनँ- दिन चाहने हात र पाउन खोज्ने हात एक स्थलमा भएनन्‌ । प्रेमसम्बन्धी प्रश्न गर्दा जेठी दिदी आफ्ना चार लोग्नेलाई देखाएर भन्थिन्‌- कस्तो प्रेम भनेको तेरो : दुलाहा खोजेर त्योसँग राति सुत्नु, त्यही त हो नि प्रेम भनेको । अरू के खोज्छेस्‌ त्यसमा ? जुन पुरुष पनि एउटै हो- बिहा गरेर व्यवहार चलाउनुपर्छ बुझिस्‌

माहिली दिदीले पनि भनिन्‌- एउटा बाहुन राइटर र अर्को खत्री कप्तान या राणा जर्नेल अर्को नेवार सरदार सबै पुरुष एउटै हुन्‌ । उनीहरू यो भट्टीमा पालैसँग आएर मसँग रमाइलो गरेर गएका छन्‌ । साँच्चै क्यै फरक छैन-बैनी, क्यै फरक छैन ।

साहिँली दिदीले पनि यस्तै कुरा गरेकी थिइन्‌- हाम्रो अरूकेछर!यो राम्रो शरीर त हो नि ! यसलाई बुद्धिमानी किसिमबाट प्रयोग गर्न सक्नुपर्छ । हेरन, यही शरीरलाई कसैलाई दिएर, कसैलाई दिनदेखि बचाएर दरबारको सिंढी उक्लिँदै म राजाकी रानीसम्म भएकी छु । शरीरलाई बजाउँदै हिंडन खोजेकी भए मलाई कसले माथि उकाल्थ्यो ! बुझिस्‌ !

मैले कसैको क्रा बुझ्न सकिनँ । आजसम्म बुभ्न नसकेर अन्तिम क्षणमा पुग्न थालेकी छु । दिदीहरूका कराबाट यतिमात्र बुझ्या जस्तो लाग्यो, मानिसको महान्‌ निर्णय उसको आफ्नो व्यक्तिगत निर्णय हुन्छ । कसैको उदाहरण या सल्लाह उसलाई काम लाग्दैन ।

राइटरबाजेकहाँ फर्किदा रात परिसकेको थियो । उनी आफ्नो कोठामा बिछ्यौनामा लेटेका थिए । म कोठाभित्र पसे र भनें- म आएँ।

मेरो हृदय र शरीरका बीचको द्वन्द्, मेरा मनका शङ्गा-उपशङ्का; दिदीहरूका आग्रह-सल्लाह- मेरा जीवनका यावत्‌ प्रश्नहरू त्यस रात राइटरबाजेको शय्यामा आफूलाई समर्पण गर्दा लोप भएर गए । निश्चिन्तभावले निर्धक्कतासँग मनसा वाचा कर्मणा, पत्नीत्वको मर्यादित स्थानलाई ग्रहण गर्दा मलाई एउटा पूर्णसार्थकताको अनुभव भयो । भोलिपल्ट कोठाबाट निस्किंदा शरीर र मनले सम्पूर्ण पत्नी भएर निस्कें ।

त्यसो त हाम्रो व्यवहारमा बाहिरी केही फरक आएन; पहिले पनि छिमेकका सबैले हामीलाई पुरुष र पत्नीको रूपमा कल्पना गरेर केही कुरा काटेका पनि थिए- राइटरले एउटी राम्री भोटिनीलाई राखेको छ । पतिपत्नी भएर पनि हाम्रो व्यवहार उस्तै थियो । तर म एउटा नूतन मर्यादाले अनुप्राणित भएर एउटा दैवी सुखको बोधले परिव्याप्त भएकी थिएँ । पत्नीका दिन गृहस्थीको कार्यमा सङ्गीतमय भएर सहजै बित्छन्‌ । यथासमयमा हाम्री एउटी छोरी पति जन्मी । मेरो सुख चरमसीमामा पुगेको थियो । पत्नीत्व र मातृत्वको सुख- प्रिया र माता हुने भाग्य ! मलाई लाग्यो, म देवीदेवताको समकक्षमा छु । अनन्त छ मेरो सुख र सन्तोष । ठूलो भाग्य लिएर म आएकी छु। विपत्तिबाट निर्वाचित भएर आएकी छु- ईश्वरबाट नै रोजिएकी । के त्यस प्रकारको मेरो बिचार, मेरो त्यस आनन्दावस्थामा स्वाभाविक थिएन र ? अभिमान र गर्वले फुर्किएकी होइन म । परमानन्द र परम्‌ सन्तोषमा स्वाभाविक रूपबाट आउने विचार होइनन्‌ र यी ? जब म आफ्नी दिदीहरूलाई सम्झिन्थें, मलाई लाग्थ्यो- हाय ! उनीहरू कत्रो महान्‌ सुखबाट वञ्चित भैराखेका छन्‌ ?

तर मेरो सुखलाई शायद भगवान्‌ले पनि हेर्न सकेनन्‌ । उनका हातका खेलौना रे हामी- के हामीलाई त्यो सुखको चरमसीमामा पुग्ने अधिकार छ जहाँ हामी र ईश्वरका बीचको पार्थक्य रेखा धूमिल भएर मेटिन्छ ? मानव सुखले पनि के विधाताको ईर्ष्यालाई कोटचाउँदैन ? या नियतिबाट रोजिएकी भनेर जस्तो लहरलाई समुद्रले धारण गर्छ आफ्नो आनन्दको लहरलाई धारण गर्ने मेरो शरीरले कृ्‌ष्ठको साक्ष्यलाई पनि सदाका लागि बहन गर्नुपर्ने एउटा ईश्वरी नाम हो ! प्रेम गर्न चहन्छौ भने त्यसका लागि उपयुक्त मूल्य पनि चुकाउनुपर्छ । ईश्वरको समकक्षी हनु छ भने नर्कको बाटो हिँड र गरलपान गर्न नबिर्स ।

यी क्रा त मैले आफ्नो जीवनका घटनाबाट भझिकेका सत्य हुन्‌ । मेरो सत्य । प्रेमको वरदान र कृष्ठको अभिशाप- मेरो जीवनको यमज सत्य । आनन्द र पीडा- स्वर्ग र नर्क- मानब जीवनको एउटै गर्भस्थानमा अङ्करित हुन्छन्‌ र एउटै जीवनरसले दुवैले समान पोषण प्राप्त गर्छन्‌ ।

जीवनको यस्तो निर्मम नियम नहुँदो हो त हाम्रो तीन प्राणीको अनन्त सुखमा हठात्‌ बज्रपात हुन थाल्ने थिएन । पहिले हाम्री छोरी मरी । मातापितालाई ठूलो वियोगमा पारेर कुन-कुन महापथमा प्रस्थान गरी । त्यसको केही महीनापछि राइटरबाजे- मेरा पति- मेरो जीवनको एकमात्र आधार- पनि क्षयरोगले शय्याग्रस्त भए । उनको जागीर गयो; जीवन निर्वाह गर्न पनि गाह्रो हुन थाल्यो ।

हे भगवान्‌ ! किन तिमीले सुख-दु:ःखलाई अनुभव गर्न सक्ने क्षमता भएको चेतना प्राणीलाई कर्तव्याकर्तव्यको विवेचन-शक्ति दिएनौ ! पाप र पुण्य दुई विरोधी तत्त्व जीवनमा सङ्घर्षरत छ भन्ने त शायद ज्ञान दियौ तर कुन पक्षमा पुण्य छ र कुन पक्षमा पाप; त्यसलाई छुट्टयाउने शक्ति दिएनौ । रामले बालि र अङ्गदलाई छुट्टयाउन सकेनन्‌ रे र त्यसो हुनाले उनले अङ्गदलाई माला पहिराएका थिए भन्छन्‌ । हाम्रो जीवनमा पुण्य पनि त्यस्तै माला धारण गरेर किन आउँदैन- किन पाप र पुण्य एउटै अनुहार लिएर हाम्रा सामुन्ने खडा हुन्छन्‌ ? कि पुण्य भनेर हामी पापलाई अङ्गमाल गर्छौं र पाप सम्झिएर पुण्यलाई बहिष्कार गर्छौं ? कि पाप-पुण्य भन्ने कुनै तथ्य छैन मानव जीवनमा ? सपनामा देखिएका दुई प्रकारका भ्रम हुन्‌ पाप र पुण्य ?

जे होस्‌; यस कुराको उत्तर नपाएर म आज जीवनको अन्तिम क्षणमा पुगिसके । हे भगवान्‌ ! के हो पाप, के हो पुण्य ?

आज म यो विश्वसँग क्षमायाचना गर्छु । सबैसँग म माफी चाहन्छु; रहे भगवान्‌ ! तिमीसँग पनि । मैले त्यस दिन गर्नुपरेको निर्णयका लागि शायद मैले सबैसँग क्षमायाचना गर्नु छ- संसारका प्रत्येक प्राणीसँग; यो जङ्गल, पर्वत, यो कलकल निनादिनी निर्मल जलवाहिनी गङ्गा, आकाश: सबैको क्षमा चाहन्छु म । यदि मैले नारीको चोला धारण गरेर नारीघर्मको प्रेमको मर्यादालाई अक्षुण्ण राख्न खोज्दा या पाप र पुण्यलाई छुट्टयाउन नसक्दा मबाट कहीं कुनै अनुचित पापकर्म हुन गएको छ भने । आखिर त्यो मेरो निर्णय असाधारण अवस्थाको निर्णय थियो जुन अवस्थामा पाप र पुण्य सादृश्य भएर हाम्रा सम्मुख उपस्थित हुन्छन्‌ / पाप- पुण्य एउटै अनुहार हुन्छ ।

राइटरबाजेको अवस्था दिनप्रतिदिन बिग्रँदै गयो । केही दिन त घरमा मालमत्ता, गहनागुरियाहरू बेचेर औषधिको व्यवस्था गरेँ । पछि त्यो साधन पनि समाप्त भयो तर राइटरबाजे झन्‌भझन्‌ रोगग्रस्त हुँदै गए । मेरा कोही थिएनन्‌ । एकदम अबला । के गरूँ ?

त्यस समय मेरो धर्म के थियो मलाई अभै थाहा हुन सकेको छैन । मर्न लागेको आफ्नो पुरुषलाई स्वयं आफ्नो उत्सर्ग गरेर पनि उसलाई बचाउन चाहनु के नारीको धर्म होइन ?; धर्म-अधर्मका करा, नीति-अनीति र सदाचार-दुराचारका प्रश्नहरू पनि मलाई लाग्यो जुन सङ्टको स्थितिमा म पुगेकी थिएँ त्यहाँ पुगेर तिनले मलाई स्पर्श गर्न सकेका थिएनन्‌ । साधारण स्थितिमा मनुष्यसमाजका लागि व्यबहारोपयोगी शास्त्रोक्तहरू असाधारण स्थितिमा परेको एकाकी मानवलाई सहायकारी हुँदो रहेनछ, डुब्न लागेको मानिसको थितिमा नीतिवचन अप्रासङ्गिक भएजस्तै । मलाई लाग्यो, म डुबिरहेकी छु । सहाराका लागि हात-गोडा उफार्दा तृणलाई पनि समात्न म पुगेकी थिएँ । त्यस समयमा जीवनको एउटा अन्धप्रेरणाले मलाई बाँच्ने बाटो देखायो । सब क्राबाट निराश भएर पनि जीवनको धुकधुकीले परास्त स्वीकार गर्दो रहेनछ । एउटा अन्तिम अन्धो स्फुरण त्यसबाट निर्गत हुँदो रहेछ । आज म यहाँ अन्तिम श्वासका लागि पर्खिरहेकी छु, तर त्यस दिन मानौं जीवनले क्षयमा परास्त हन नजानेर मलाई बाँच्ने बाटो देखायो- केका लागि अब यो यौवनपूर्ण शरीरलाई साँचेर राख्छेस्‌ : त्यसको प्रयोग गर्ने समय आएको छ ।

के पतिव्रत तथा नारीधर्म दुई पृथक्‌ मार्ग हुन्‌ जसको विभेद साधारण स्थितिमा दृष्टिगोचर हुँदैन : तर जुन चरमस्थितिमा म पुगेकी थिएँ त्यहाँ भने ती मार्ग स्पष्ट छुट्टिया देखिन्छन्‌ । ममा रहेकी पत्नीले भन्छे– तिम्रो त एउटा मात्र पुरुष छ, अरू परपुरुषसँगको सहवास कुनै अवस्थामा पनि स्वीकार गर्नु हुन्न । तर नारी भन्छे- के आफ्नो पुरुषका खातिर पनि त्यो बर्जित छ ? पुरुषको हितका लागि नारीले गर्न नहुने कनै कार्य छैन । पत्नीको मर्यादाको सीमा शायद होला, तर के नारीको प्रेमको सीमाइन कसैले गर्न सकेको छ ? आखिर पत्नी भनेको नारीत्वमाथिर्डाभएको एउटा मूर्त त हो नि । त्यस दिन मैले भनें- अब म केही रहिनँ- माता, पत्नी, भगिनी, कन्या- केही रहिनँ, यी सबै रूप मबाट झरेर गए । म सीमित हुँदैहँदै मौलिक नारीतत्त्वमा केन्द्रित हुन पुगें ।

मैले भनें- यो शरीर दिएर पानि तिमीलाई बचाउँछु,’ राइटरबाजे !

त्यस राति र त्यसपछि अनेक त्यस्तै रातिमा म वेश्याशय्यामा सृतेर राइटरबाजेले अर्को कोठामा खोकेको सुन्थे । म प्रार्थनाको वाणीमा मनमनै भन्थें- राइटरबाजे ! यो मेरो जाबो शरीरलाई अर्पेर पनि तिमीलाई बचाउँछु । राइटरबाजे उता खोक्थे । म आफ्नो शुल्कको रुपियाँ मुट्ठीमा दृढतापूर्वक अँठघाउँथें ।

यति दिनपछि आज मेरो यस दुनियाँबाट बिदा हुने दिनमा यी कुराहरूलाई सम्झिँदा ममा कनै भाव जागृत हुँदैन । मैले जीवनमा गर्ने-नगर्ने यावत्‌ काम सिध्याइसकेकी छु । अब त केवल यो आकाशमा आफ्नो अन्तिम श्वास फ्याँकिदिनु छ । तर तिनताका म यस्तै निर्द्रन्द्व थिइनँ । प्रत्येक सन्ध्यामा बत्ती बालेर म जब वेश्याको शङ्घार गर्न थाल्थेँ कर्तव्याकर्तव्य, पाप-पुण्यको कुनै निष्पत्तिमा नपुग्न सक्ने अनिर्णयात्मक विचारहरूबाट आन्दोलित भइरहन्थेँ । मेरो तिनताकाको जीवनमा दुई पक्ष थियो- क्षय-जर्जर फोक्सोबाट निस्केको खोकी र वेश्याशय्यामा भोगदान- क्षयरोग र गणिकावृत्ति ।

पापको पात्र के हो ? जीवनको कलुषता कन भाँडोमा आउँछ ? पापको स्थल कहाँ छ, जहाँ त्यो जरो हाल्त सक्छ ; शरीर या मनमा ? मन निस्सङ्ग भएर शरीरले मात्र गरेको कार्य के त्यस्तो आधार हुन सक्छ जसमा पाप अड्न सकोस्‌ ! मनको निर्मलतामा नुहाएर के शरीरका पापको मोचन हुँदैन ? वेश्याशरीरमा पतिव्रता प्राण जीवित रहँदैन र ? मलाई लाग्थ्यो, वेश्यासज्जामा सुतेको शरीर मेरो होइन; म त्यहाँ हुन्न । म त हुन्थेँ अर्को कोठामा जहाँ राइटरबाजे खोकीले विह्वल भएर रुग्णशय्यामा छटपटाइरहेका हुन्थे । उनको करुणार्द्र आँखालाई म देख्थे र रोगले जर्जर भएको उनको अनुहारलाई ।

उनको चिकित्साको पूरा व्यवस्था भयो, मेरो रूपजीविकाले गर्दा; तर रोगले झन्‌भन्‌ च्याप्दै लग्यो ।

उनको मृत्युमा मलाई सन्तोषको एउटा मात्रै सहारा रह्यो । मेरो भाग्यको कस्तो विडम्बना कि त्यो सहारा त्यही गणिकावृत्ति थियो जसद्वारा मैले यथाशक्य उनको औषधिमूलोको व्यवस्था गर्न सकें । उनलाई बचाउन मैले कुनै कुरा गर्न पनि बाँकी राखिनँ- वेश्यासम्म पनि भएँ, यही मेरो सानो सन्तोषको कारण थियो । मैले बचाउन सकिनँ- यो ईश्वरी न्याय उनको मात्र अन्तिम निर्णय हो जसमाथि हामी प्राणीको कनै उजुर चल्दैन । तर हे मेरा राइटरबाजे ! मेरो सामर्थ्यको चरमसीमासम्म पुगेर मैले जति गर्न सक्थें, गरेँ शरीर दिएर पनि ! सानो सन्तोष यसैमा छ ।

भन्न त मैले भनेँ मन निस्पृह पारेर शरीरले गरेको कामको भोग लाग्दैन । तर यसलाई पनि त निश्चिन्ततासँग म भन्न सक्तिनँ कि मनलाई चटक्क अलग पारेर पनि मेरो शरीरले आफ्नो भावलाई पूर्णरूपले निर्मूल पार्न सक्यो ? कोढ के एउटा अभिशाप हो, त्यो जीवनको कलुष्षता हो, जो मनको निर्मल गङ्गामा स्नान गर्दागर्दै पनि कहीँ शरीरको कनाकाप्चामा अडेर रहेको पाप फुट्न गएको हो ? आज मलाई सम्झना हुन्छ त्यो युवकको जो मेरो शुल्क लिएर एक रात मकहाँ आएको थियो ।

निश्चय नै त्यो सम्पन्न थिएन किनभने शुल्कको रुपियाँ उसको धेरै दिनको सञ्चय जस्तो थियो । र सँग एउटा शुल्कमात्र थियो । त्यसका प्रति ममताको उद्रेक हुनु के पाप होइन ? शरीरको र मनको निर्लिप्तता कहाँ गयो त्यस रात, एउटा विपन्न युवकसँग केही समय वेश्याशय्यामा बिताउँदा ? भोगशय्यामा त्यसको अदक्ष व्यवहारले मलाई स्नेह जागृत भयो र मैले भनें- युवक, तिमी आफ्नो शुल्क लेक । मलाई चाहिंदैन ।

उसले बडो निराशाले मलाई हेस्यो । मैले कसँग कुनै मूल्य नलिएर रातभरि उसलाई आफूसँग बिताउन दिएँ- निराश नहोङ, युवक !

आज पनि त्यसलाई सम्झिएर मलाई ममता हुन्छ । पाप र पुण्यको विवेचना गर्दै मैले आफ्नो कर्तव्यको आधार निर्धारित गरेकी थिएँ- निर्लिप्तता त्यसको आधार थियो । तर त्यस राति त्यो युवकले मेरो निर्लिप्तताको आधार नष्ट गरिदियो । म पुनः नाङ्गीजस्ती भएँ; निरावरणा, निस्सहाया । शरीरले आफ्नो स्वभाव छाड्न सकेन भने- पछि त्यसले आफ्नो प्राकृतिक नियमअनुसार सुख र क्लेशको शरीर-धर्मलाई निर्मूल गर्न सकेन भने- के त्यसले पापको भागी हुनुपर्छ- कृष्ठको छाप त्यसले धारण गर्नुपर्छ ? यो कस्तो न्याय हो, भगवान्‌ ? मानवलाई तिमीले किन त्यस्तो दुर्बल प्राणी बनायौ ?

अभिशापका लागि पनि म नै किन रोजिएँ ? शरीर-धर्मअनुसार त्यसले पाएको भोगसुख नै यो अभिशापको कारण हो भने ममात्र किन यसका लागि रोजिएँ त ; मेरी जेठी दिदी चार पुरुषकी एकैचोटि पत्नी भएर बसिन्‌ । मेरी माहिली दिदीकै वृत्ति पनि त रूपजीवी वृत्ति थियो । मेरी साहिँली दिदी रानी पदमा आसीन हुन आफ्नो रूप र शरीरको ठाउँठाउँमा प्रयोग गर्दै गइन्‌ । किन विधयाताले सबभन्दा सानी बैनीलाई मात्र अभिशापको छाप लगाएर मानवसमाजबाट बाहिर निष्कासित गस्यो ?

जुन दिन राइटरबाजेको मृत्यु भयो, म बिधाताको कठोर निर्ममता देखेर स्तब्ध भएँ । मेरो . केही चलेन । त्यो शून्य घरमा म संज्ञाहीन जस्ती भएर यताउति. हल्लिरहेँ । रुगण कण्ठबाट निस्कने गरेको अशक्त खोकीको आवाज हठात्‌ थामिंदा महान्‌ शून्यता, एउटा ठूलो रिक्तताको त्यो घरमा व्याप्त थियो । मैले देब्रे हातको हत्केलाले निधारको सिन्दूर मेटैँ- वैधव्यस्थितिमा प्रवेश: गर्दा मलाई लाग्यो, एउटा अनन्त शून्यमा म प्रवेश गरिरहेकी छु । वेश्यालय बन्द भयो- राइटरबाजे अब रहेनन्‌ । एउटी विधवालाई छाडेर उनी अनन्तको बाटो लागेर गए । त्यही दिन मैले देखेँ मेरो नाकको टुप्पोमा एउटा सेतो टाटो- कृष्ठरोगको प्रथम चरण । धेरै बेरसम्म सिन्दूर पुछिएको निधार र कृष्ठरोगको टाटो भएको नाकलाई हेरिरहेँ । मलाई लाग्यो- अब यी दुई वस्तु मात्र मसँग रहे, पछिसम्मका लागि ।

मानिसको दुःखको सीमा पुगेपछि संज्ञाहीनताको करुणामय आशीर्वाद त्यसले पाउँछ भन्छन्‌ । त्यस दिन महान्‌ शून्यताको अनुभव त मलाई भयो, तर पीडाको बोध भएन । संज्ञाहीन भएर हो अथवा यस संसारमा आफ्नो भनेको यावत्‌ वस्तुलाई आर्यघाटमा सेलाएर प्राप्त भएको विकल्पता थियो त्यो मेरो । त्यसै दिन मैले घर पनि छाडिदिएँ ।

आज यतिका दिनपछि काललाई परखिँदापखिँदा मेरो अन्तिम क्षण आएको देखिरहेकी छु । घवलागिरिको ओभेल बिस्तार-बिस्तार मतिर बढिरहेको छ । मृत्युको छाया पनि त्यही हो । अब एकछिनमा म यो निर्जन हिमलोकमा, गण्डकीको तीरमा, धवलागिरिको छायामुनि सेलाएर जान्छु । एक्लै आएँ, एक्लै गैरहेकी छु ।

जीवनमा मानिसले एउटै मार्ग मात्र रोज्न पाउँदो रहेछ । एकचोटि रोजेपछि त्यही मार्गबाहेक अरू बाटो त्यसका लागि उपलब्ध हुँदो रहेनछ । मैले रोजेको बाटोमा हिँडेर म आज बाटोको अन्तिम छोरमा पुगेकी छु । मैले दिदीहरूको बाटो रोजेको भए के हुने थियो, थाहा छैन; अहिले यसको विवेचना गर्नु पनि व्यर्थ छ । तर मैले रोजेको बाटोमा कसैले पाउन नसकेको वस्तु मैले पाएं- मेरो मात्र आफ्नो- राइटरबाजेको प्रेम । लुली र डुँडी भएर पनि त्यो प्रेमको न्यानो अझै मेरो मुटुमा विद्यमान छ । यो अन्तिम घडीमा पनि विधाताले पुनः मलाई आफ्नो मार्ग रोज्ने अधिकार दिए भने राइटरबाजेको प्रेमको आशीर्वाद पाउने बाटो, मैले हिंडिसकेको- त्यही पुरानो बाटोमात्र छ भने त्यसैलाई रोज्छु र पुन: त्यो मार्गमा . हिंड्दा अभिशापको रूपमा मैले भोग्नुपरेको कृष्ठको व्यथालाई दोस्रोचोटि पनि अङ्गीकार गरेर यस हिमलोकमा सेलाउन आउनेछु । अब धेरै समय छैन । दृष्टि मलिन हुँदै आयो । गण्डकीको ध्वनि कानमा क्षीणतर हुँदैछ । धबलागिरिको छायाको टुप्पोको स्पर्श मेरो कृ्‌ष्ठ शरीरले गरिसक्यो ।

हे संसार ! बिदा..। राइटरबाजे !- म आएँ ।

सुन्दरीजल बन्दीगृह
२४.६.२०१९

(स्रोत : विश्वेश्वरप्रसाद कोइरालाको “श्वेतभैरवी” कथासङ्ग्रह संस्करण: पाँचौँ २०६४ बाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.