कविता : देहात टाइम्स १

~चन्द्र घिमिरे~Chandra Ghimire

मान्छेले कुल्चेरै
औलो भगाएको देहाततिर
मीनपचासमा पुग्दा
कालाज्वरले जामुन झैं नीला–काला
र पाटाखाडीमा पटुवा झैं गनाएका मामाहरू
घमौराले चिलेको म भान्जाबाबुलाई
सियाल ओताउँदै देहात चिनाउँथे ।

कट्टु नअडिने छोटुसँग माछालाई बल्छी थाप्थ्यौं
अनुहार न दनुहारको भ्यागुतो पथ्र्यो
हिलोबाट पइँया ठेलेर उद्धार गर्दिनुपर्ने
साधुलालको नालायक बैलगाडा
जोगीकुटीको बगैंचाबाट चोरेको आँपभन्दा
जोगीबाट खाएका अस्वस्थकर गाली
निगुरो टिप्दा हामलाई झम्टने अक्कडो गोमन
नाङ्गै पौडी खेल्दा नियमापत्ती नगर्ने
र हरेकको गोप्य भूगोल सार्वजनिक गर्दिने धैंती खोला
मंसीरमा खमारमा दाइँ
जूनको टहकमा
पत्पत्ती धूँवाएको बबुवाको वैराग्य गीत
धान उठाएको हिउँदे खेतबाट
‘डन’ जस्तो धान चोर मुसो सपरिवार पक्रने गोलु मुसर
खेत पटाउँथे पानी झगडाले
फौदार पैनीमा कुटाकुट गर्ने
आफ्नै प्रियजन र हरुवा
भट्टा पोखरीमा नुहाउँदा
अप्ठेरोमा गाडिएको भ्यात्लुंग जुका
र तान्दा नमान्दा त्यो चुँडिएर रगतपच्छे मेरो डर
मट्काको ताडी पिलाउने
चाँदीको चुरी लाउने हटारु तरुनी
र हल्लिंदै घर फिर्ने ललुवाको रहस्यमय सम्बन्ध
लमतन्न सुतेको डगरमा
टिङ–टिङ घण्टीको आवाज नजिकिंदा
बस्तीको अर्थतन्त्र हाँक्ने बनियाँ–तेली
उसको सवारी बुझ्ने हामी भुराभुरी
घाँटीमा लत्रेको कौडावाला मालाले
मालिकको औकात बताउने भैंसीहरू
छाप्रोमा हररात लोग्नेसँग गृहयुद्ध पछि
रुँदै आँग्नामा घोषणा गर्थी ‘मरगइल रे…’
तीनपुस्ते गालीको मिसाइल चलाएर सुस्ताउने
हरियाकी स्वास्नीको नारी अधिकार
पन्जाबमा पैसा कमाएको हैसियत घन्काउँथ्यो
छिमेकी गाँवबाट बम्बैया गीत बजाउने भुरेलालको माइक
बस्तीमा लाग्ने डाँका र चुनाउ
दुवैबाट लुटिएको बात माथ्र्याे चियापसल
के–के हुन्थेन देहातमा !
देहात जाँदा आमासित हाम्रा पुराना लुगाफाटा पनि जान्थे
बाँडेर बस्तीलाई
देहातको दुःख छोप्नु रै’छ ।

(स्रोत : हिमाल खबर ३ कात्तिक २०७०)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.