~टेकेन्द्र अधिकारी~
…. शु दशैं तिहार बहार
पाडो किन्दा भैंसी उपहार
आजभोलि टिभी, रेडियो र पत्रपत्रिकामा आइरहने विज्ञापन हो यो। नेपालमै निर्मित एउटा जुत्ताको बजार प्रवर्द्धन गर्ने उद्देश्यले यो विज्ञापन बनाइएको हो। विज्ञापनले जुत्ताको बिक्री बढायो वा बढाएन त्यो त कम्पनीलाई नै थाहा होला। तर यसले नेपाली समाजमा हुर्कँदै गएको ‘उपहार संस्कृति’प्रति भने व्यङ्ग्य गरेको छ।
मान्छेले भैंसी किन किन्छ भन्ने यथार्थ लगभग सबैलाई थाहा छ। भैंसीका लागि पाडो किन्ने कुरा अचम्मलाग्दो छ। बरू भैंसी किन्दा पाडो उपहार आउनुलाई सामान्य मान्न सकिएला। त्यसो भए किन यो जुत्ता कम्पनीले पाडो किन्दा भैंसी उपहार दिने भन्दै विज्ञापन गरिरहेको छ ?
विज्ञापनको एक झलक हेर्नुस्-
सकारात्मक रुपमा लिँदा विज्ञापनमा धेरै र ठूलो परिमाणको पुरस्कार देखाउन यसो भनिएको होला। कतै यो विज्ञापनले सोझा नेपालीलाई बेवकुफ बनाएको त होइन ? यो ‘उपहार संस्कृति’को उपज हो। या उपहार भनेपछि हुरुक्कै हुने नेपाली उपभोक्तालाई जिस्क्याएको पो हो कि !
वास्तवमा नेपाली समाज ‘उपहार संस्कृति’मा नराम्ररी फँसेको छ। नुनदेखि सुनसम्मका वस्तुमा उपहार खोज्ने संस्कार परम्पराजस्तै बनिसकेको छ। दैनिक उपभोग्य सामग्रीमात्र होइन जुनसुकै घरायसी सामानमा उपहार खोज्ने बानी नै परिसकेको छ।
हुन त कुनै वस्तुको प्रवर्द्धनका लागि अर्को वस्तु जोडिनु नराम्रो होइन। मुख्य कुरा के भने पहिले खोजेको वस्तुको गुणस्तर राम्रो हुनुपर्यो। यसो भनेर उपहार राखिने सबै वस्तुहरु गुणस्तरहीन हुन्छन् भन्न खोजिएको होइन। गुणस्तर राम्रो भइदिए उपभोक्ताका लागि सबैभन्दा ठूलो उपहार त्यही हुन्छ।
यो त भयो हाम्रो दैनिक जीवनशैलीको कुरा। तर, ‘उपहार संस्कृति’ यतिमै सीमित छैन। यसले नेपाली राजनीतिमा पनि राम्रै पकड जमाएको छ। दशक लामो द्वन्द्वबाट मुक्ति पाउने आशमा रहेका नेपाली थुप्रैखाले द्वन्द्वले आतंकित र त्रसित छन्। यो ‘द्वन्द्वबाट पाएको उपहार’जस्तै भएको छ। अर्को शब्दमा भन्दा पाडो किन्दा भैंसी उपहार पाएजस्तै।
दीगो शान्तिप्रतिको नेपालीको चाहनामा तुषारापात हुने संकेत देखिन थालेको छ। जस्तै अप्ठेरोमा पनि मिलेरै बस्ने नेपाली-नेपालीबीच बैमनस्यता र अविश्वास बढ्दैछ। यसलाई बेलैमा मत्थर नगर्ने हो भने परिणाम भयावह हुनसक्छ। एउटा द्वन्द्वको घाउ खाटा बस्न नपाउँदै मुलुक फेरि अरू द्वन्द्वमा फँस्ने खतरा पनि छ। दीगो शान्तिका लागि यो शुभ संकेत होइन। यसलाई बेलैमा समाधान नगर्ने हो भने मुलुकको भविष्य राम्रो देखिँदैन।
हुन त मुलुकले राजनीतिक परिवर्तनमा ठूलै फड्को मारेको छ। तर शान्ति प्रक्रिया अझैं पनि टुंगोमा पुग्नै बाँकी छ। यो अवस्थामा दलहरुबीचको समझदारी र सहकार्य अपरिहार्य छ। सत्ताकेन्द्रित राजनीतिबाट मात्र मुलुकका तमाम समस्या समाधान हुँदैनन्। हाल देखिएका कतिपय समस्या समाधानका लागि दलीय स्वार्थबाट माथि उठ्नै पर्दछ। मुलुकको अखण्डतालाई अक्षुण्ण राख्न र मुलुकलाई एकताको सूत्रमा बाँध्न दलहरुबीच हाल देखिएको तीक्ततालाई हटाउनै पर्दछ।
राजनीतिक विश्लेषकहरुले नेपालको राजनीति सत्ता परिवर्तनको खेलमा फँस्ने आशंका व्यक्त गर्न थालेका छन्। खासगरी राष्ट्रपतिको निर्वाचनपछि बढेको दलहरूबीचको राजनीतिक तिक्ततालाई बेलैमा नचिर्ने हो भने मुलुकको भविष्य नै चुनौतीपूर्ण हुने निश्चित छ। खाली राजनीति परिवर्तनको सुगा रटाइले मात्र समस्या समाधान हुँदैन। आशा गरौं, बदलिएको परिस्थितिसँगै ‘पाडो किन्दा भैंसी उपहार’ पाउने संस्कारबाट नेपाली राजनीतिले चाँडै त्राण पाओस्।
(अधिकारी विराटनगरको लोकप्रिय उदघोष दैनिकका पत्रकार हुन्)
(स्रोत : माइ संसार डट कम)