मनाेवाद : सपनाको न्यायाधीश

~महेन्द्र पौडेल ~Mahendra Paudel-1

बुबाले मुक्तिनाथ दर्शन गर्न जाँदा कालीगण्डकी तीरमा एउटा शिला भेटेर ल्याउनु भएछ । त्यो सुदर्शन चक्र जस्तो देखिएको कालो शिला थियो । सुदर्शन चक्रका आधारमा आस्था जगाउँदै विष्णु भगवानको साक्षात रुप मानेर उहाँले मलाई भन्नुभयो– ‘बाबु यसलाई जतन गरेर राखेस्, दुःख पर्दा पूजा गरेस्, नभए पूजा गर्ने बेला सम्झिएस् ।’ वहाँले यसो भनेर दिनुभएको शिलालाई मैले लामो समयसम्म पूजागर्दै आइरहेँ र सम्झी पनि रहेँ । मैले आस्था राख्ने तथा माथा टेक्ने एउटा माध्यम र बुबाको चिनो अर्को माध्यम त्यही शिला थियो ।

खानेपानी विभागमा जागीर खानेक्रममा एकपल्ट बर्दियाको भूरीगाउँ घुम्न जाने मौका मिलेको थियो । करिब एकहप्ता घुमियो ती क्षेत्रहरुमा । त्यतिबेला काठमाडौंदेखि नेपालगंजसम्म साझा बस चल्दथ्यो । हामी भुरीगाउँबाट नेपालगंज आयौँ । त्यहाँबाट रात्रिकालीन साझा बस लाग्ने हुनाले रातिको साझा बस समात्यौँ । त्यही सीटमा भारतको पटनामा पढ्दै गरेकी बर्दिया बस्ने एकजना ठकुरी थरकी युवती पनि चढेकी थिइन् । छुटृीमा नेपाल आएको बखत काठमाडौं घुम्नजाने क्रममा मसँग भेट भएको थियो । उनी मेरै सिटमा बसेकाले रात काट्न सहज पनि भयो र परिचयभित्र आत्मियता पनि । पछि काठमाडौंमा भेट्ने क्रममा हामी धेरै ठाउँ घुम्यौँ । विदा सकिएर भारतमै पढ्न जाने क्रममा छुटिृनेबेला उनले मलाई एउटा उपहार दिएकी थिइन् – विश्वको सातौँ आश्चर्य मध्ये एक आश्चर्य ताजमहलको चिन्ह । मेरो पहिलो प्रेम थियो उनीसँग र उनको मसँग ।

माओवादी द्वन्द्वकालमा हामी केही साथीहरु भारतको गोखरपुरमा थियौँ । हामी गोरखपुरको दयानन्द हाइवेमा त्यहाँकोे एक स्थानीय नेताको घरमा बस्दथ्यौँ । उसलाई पप्पु भन्थे त्यहाँ । दैनिक उसलाई भेट्न पुलिसदेखि कर्मचारी र धेरै धेरै मानिसहरु आउँथे । उसकहाँ मानिस भेट्नको निम्ति तीनवटा कोठा छुट्टाइएको थियो । पहिलो कोठामा अटल विहारीको बाजपेयीको तस्बिर थियो । उसले बाजपेयी समर्थकलाई त्यो कोठामा लाने गर्दथ्यो भने अर्को कोठामा इन्दिरा गान्धीको । त्यसपछिको कोठामा मुलायम सिंह यादवकोे तस्बिर थियो । जुन जुनका समर्थक हुन् त्यही त्यही कोठामा लैजाने गर्दथ्यो ।

एकदिन उसले घुमाउन लैजाने क्रममा गोखरपुरको एउटा संग्राहलयमा लग्यो । त्यहाँ भारतका दर्जनौं महान योगीहरुको शालिक रहेछ । ती शालिकमा ठडिएकाहरु कुनै पुण्य काम गरेकाहरु वा योगी दार्शनिकहरु भएकाले त्यो बेला भगवानजत्तिकै सम्मान र मान पाएका रहेछन् । त्यसैले तिनीहरु भगवानका प्रतिक मानिएकाले यसरी राखिएका रहेछन् । मैले स्वामी विवेकानन्दको प्रतिमूर्ति ल्याएको थिएँ । उनलाई देवता जस्तै मानेर श्रद्धाभाव गरिरहन्थे ।

यी तीनै (शालिक, ताजमहल र शिला) मेरा श्रद्धाका आदर्श र भगवान हुन् भने माला जप्ने र बाइबल अध्ययन गर्ने मेरो आफ्नै बानी र विश्वास छ ।

तर त्यसदिन राती ब्युँझदा शरीरभरि पसिनै पसिना थियो । सायद अनिर्णयको बन्दी भएर होला वा निर्णय गर्ने क्षमता नभएर पनि होला ! अफसोच नै भन्नुपर्दछ, मस्त निन्द्रामा देखिने कतिपय सपनाहरु डरलाग्दा, भयङ्कर र अपत्यारिला हुन्छन् । सबै सपना सत्य हुँदैनन्, सबै विपना सपना हुँदैनन् । नास्तिक होइन, आस्तिक हुँ । पूजा नगरे पनि भक्तिभाव राख्ने बानी हो । राती सुत्नुअघि ढोगेर सुत्ने क्रममा त्यसदिन पनि मैले भगवान राख्ने थालीलाई ढोगेर सुत्दै थिएँ ।

धेरै मानिसहरु रातकै उपज हुन् र हुन्छन् । प्रगति गर्नेहरुलाई रात सोच्ने एउटा माध्यम पनि हुन्छ । किनकि रात सुनसान र शान्त हुन्छ । त्यसदिन पनि त्यस्तै थियो । समुद्रको सुसाहट, सिरिरि आउने हावाको झोंकले मेरो झ्याललाई हल्लाई रहेको थियो, मानौँ उसलाई मेरो स्पर्श जरुरी थियो । मैले हल्का झ्याल खोलेँ । आहत भएको मुटुमा मलम जस्तै मेरा मृगतृष्णाहरु समेटिए र मेटिए पवनको एक झोंका । अनि शरीरभरि खेलेको हुनुपर्दछ । शारीरिक र मानसिकबाट उद्वेलित चरमताको स्खलितले मनलाई पुलकित बनायो । शान्त, त्यसैले त प्रकृति महान छे, मनमनै गमेँ मैले ।

क्षितिजबाट एक झुल्को जूनले चिहाएजस्तो लाग्यो, प्रकाश झ्यालमा ठोकिरहेछ । पवनको प्रकृतिसँग खेलेको रतिरागले जूनलाई पनि इच्छा जाग्दो हो, नत्र त किन झ्यालबाट चिहाइरह्यो होला मनमनै सोचेँ । प्रकृतिको अर्को उपज मेरै बेडसम्म आउन चाहन्छिन् । मैले पूरा झ्याल खोलेर स्वागत गरेँ । त्यसरी नै थाकेँ र सुतेँ । केही दिनदेखि मनमा द्विविधा उत्पन्न भइरहेको अवस्था थियो, रात निशाचरमय भइरहेको थियो । मानसिक द्वन्द्व आफैंभित्र खेलिरहेको अवस्थाबाट पीडित बनिरहेको थिएँ । सायद राम्रोसँग निदाउन नपाएको धेरै भइसकेको थियो तर पनि निदाइसकेछु । जव ब्यूझेँ द्विविधाग्रस्त पसिनै पसिना भएर ब्यूझेँ । अँ, म त्यही प्रसङ्गमा आएँ । हो म, त्यसदिन त्यसरी नै पसिना पसिना भएर ब्युँझिएको थिएँ ।

सपनामा मैले विश्वास गरेका शालिक, ताजमहल र शिलाले को ठूलो भन्ने विवाद गरेका रहेछन् । विवाद गर्ने क्रममा शालिकले भन्यो ‘हेर, पृथ्वीका मानवहरुले मलाई देवता मान्दछन् ताकि ढुंगालाई कुँदेर शलिक बनाएर सधैँ सधैँ मेरै नजिक आएर अबिर लगाउँदछन मलाई । त्यसैले म ठूलो हुँ तिमीहरु भन्दा । किनकि हरेक वर्ष हरेक दिन मेरो सामु आएर सबैले फूल चढाएर जान्छन् । मानव जातिका लागि मरेको ठान्दछन् वा मान्दछन् मलाई ।’

त्यसपछि पालो थियो बोल्ने क्रममा शिलाको । शिलाले भन्यो– ‘हेर मलाई त झन मानिसहरु भगवानको साक्षात रुप नै मान्दछन् । नदीको तीरबाट ल्याएर भगवान विष्णु वा भगवान शिवको साक्षात रुप मानेर पूजा गर्दछन् । प्रत्येक दिन ढोग गर्दछन् । जल, अक्षता, पानी आदि चढाउँछन् । त्यसैले तिमीहरु भन्दा म नै ठूलो हुँ ।’

त्यसपछिको पालो थियो ताजमहलको । उसले भन्यो– ‘हेर संसारका सारा मानव प्राणीहरु मेरो महल अगाडि आएर भावुक बन्दछन् । यसै त म संसारको सात आश्चर्य मध्येको एक हुँ । मलाई प्रेमको रुपले हेर्दछन् हरेक प्रेमीहरु । आस्था, सद्भाव र विश्वासले ढुङ्गा–ढुङ्गा जोडेर मानवले मलाई भगवानको रुप दिए । जहाँ आस्था, विश्वास र सद्भाव हुन्छ त्यहाँ भगवानको वास हुन्छ – म त्यही हुँ ।’

यी तीन सम्मानितको तर्क र विवादले को ठूलो भन्ने विवादमा उनीहरुले मलाई निर्णय गर्न निम्त्याएका थिए, मानौं म न्यायधीश हुँ । मैले तीनमध्ये एकलाई ठूलो हो भन्नै पर्ने हुन्छ । मसँग यी तीनलाई छुट्याएर, होच्याएर, घटाएर, बढाएर, चढाएर वा कुनै पनि तरिकाबाट स्तरको मात्रा घटाउन चाहन्न थिएँ । सबै सबैमा मान्य र सम्मानित थिए तर पनि मैले निर्णय गर्नै थियो । को पूज्य हो यस संसारमा भन्ने विवादले उग्ररुप लिन लाग्दा आफू भने अनिर्णयको बन्दी बनिसकेको थिएँ । न्यायको न्यायमूर्ति बनेको म, न्याय दिन सकिरहेको थिइन । विवादै विवाद चिच्याहटले मेरा कानहरु भरिएका थिए । यसैबीचमा म ठूलो हुँ भन्ने चिच्याहटको आवाजबाट म ब्यूँझिएको हुँ ।

जब ब्युँझे सपना पो देखिरहेछु । अनि विपनामा मनमनै सोचेँ – आस्था र विश्वासका लागि सबै भगवान हुन् । जहाँ आस्था, विश्वास र समर्पण हुन्छ त्यहाँ सत्य हुन्छ । भारतीय स्वतन्त्र संग्रामका महात्मा गान्धीलाई भारत स्वतन्त्र भएपछि बेलायती पत्रकारले सोधे– भगवान भनेको के हो ? उनले भने ‘सत्य’ नै भगवान हो । मेरा लागि यी तीन तत्व आस्था, सर्मपण र विश्वास हुन्, जुन आफैमा सत्य हुन् । न कहिल्यै साना छन् न कहिल्यै ठूला । अर्को अर्थमा सोच्ने हो भने यी तिनै ढुंगा हुन्, जसलाई म श्रद्धाले मानिरहेको छु । त्यसैले आस्था, विश्वास र श्रद्धाको टोकरीमा भेद देखिँदो रहेनछ – यदि त्यो स्वच्छ मनभित्र छ भने । त्यसैले त्यो भेद खुट्याउन नसकेर म ब्युँझेको रहेछु । यी तीनै चिज मानव मनभित्र भएको भए न जेल न न्यायाधीश केही पनि चाहिँदो रहेनछ – मनमनै सोचेँ । भगवानले दिएको दृष्टान्तप्रति नतमस्तक हुँदै बेडमा पल्टिएँ ।

(बेल्जियम)

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in मनोवाद / स्वगत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.