~रामकुमार पाँडे~
मन्त्रिणीको मन्त्रणा सुन्दा सुन्दा होस हवास गुम्यो होला भन्ठानेको थिएँ झन् झिकिदे भन्दा थपि दे भने झैँ भो! जोसमा आएर कोशमा नभएको ठोस बोलीले बजाउन थाले मन्त्रीले मन्त्रिनीलाई । दोहरीको तालमा एकोहोरी माथापच्चिसी! मित्र मन्त्रीजीको मन्त्र बाहिरैबाट सुनियो । तपाइ भन्नु होला महाशय! संसारभरि नै मान्यताक्रमका भाषा नभएका छैनन् तर हाम्रोमा कुनचाहिँ बुद्धि खुस्केको एनजीओले उर्दी लगायो । हाम्रो करको भरमा बाँच्ने के जाति जीवलाई ‘माननीय ‘र ‘ सम्माननीय’ नभनौँ । कहीँ नभएको जात्रा हाँडी गाउँमा! छलाङ्ग मार्ने भनेकै यही हो । राजदूतलाई त महामहिम भन्छन् भने मन्त्रीलाई नभन्ने ठाउँ कहाँ छ ? उही जम्बुमन्त्री भए त हो । सम्मानीय जम्बुमन्त्री भनेको सुनेको छैन । यो त मन्त्रिनीलाई झन् झन् झन्झनाउने कुरो भो । मन्त्रीलाई माननीय, मन्त्रिनीलाई सम्मानीय भन्नुपर्छ । किनकि मन्त्रीलाई मन्त्रणा दिने मन्त्रिनी नै हुन् टुपी रिङाउने अधिकारी ।
समय उल्टियो । ठूलालाई झार्यो । आफ्नो पुच्छर माथि पार्यो! आफ्ना गोठाले साथी नै मन्त्री भएकाले क्वाटर पुगेर ‘बिजुली वाटरमा नयाँ नेपाल बनाउने योजना गरौँ भन्ने सुरमा पसेथेँ कहाँ बेसुरमा मन्त्रिणीलाई गाउँ चर्काएर हकार्दै र’छन् । म सुन्दै गए उनी भन्दै गए । मन्त्रिनी भनेर के फूर्ति लाउँछ्यौ ? म मन्त्री नभएको भए तिमी मन्त्रिनी कहाँ हुन्थ्यौ ? भाग्यले मन्त्रिनी भयौ । ‘ श्रीमती मन्त्री भएको भए श्रीमानलाई मन्त्री भन्दैनथे । के अधिकारको कुरा गर्ने ? असी प्रतिशत मन्त्री भइया छ, पुरै खसी खाइया छ । आफूले खसी काट्दा आँसु हैन हाँसु हाँसु लाग्छ, अर्काले रेट्दा मन दुख्छ समवेदनाले रूनु पर्छ भन्ने तार्किक निष्कर्षमा पुग्छु । क्यासिनोमा तलबको बाजे आउँछ । कसैको बाबुको विर्ता हैन । श्रीमती भएर केको सुर्ता गछर्ैा ? विकारको शिकार भइसकियो । जनताले त सरापे सरापे श्रीमतीले पनि बस्नु खानु दिएनन् वा! मन्त्री भएर पानी ख्वाउन नसक्ने अरे । विजुली नदिने अरे । थोरै ठेक्का लिएको छु ? महिला सङ्घ्गठन उठाउँछु अरे । मन्त्रीहरूको श्रीमती सङ्घ् छैन । म पनि सबै मन्त्रीलाई आहृवान गर्छु । श्रीमती सङ्घ्, सङ्गठन खोल्न दिन हुन्न । मैले मन्त्रि भएर केही गर्न सकिन अरे । धोती चोलो उपहार पठाउने अरे । हामी पनि सुराल, कोट पठाउँला । म मन्त्री भएको त सबलाई फाइदै छ नि! छोरोले ठर्रा पिउँथ्यो अहिले झर्रा विदेशी रम धोक्न पाएकै छ । आफू सूट लगाउँदा पनि पोशाकमा छलाङ्ग नमारेर उही धोती लाउने श्रीमतीलाई मैले कसरी ‘नयाँ ‘ बनाउने ? ऊ जमानाको सीता भएर काम चल्छ ? मन्त्रिनी भएपछि मिनिस्कट लगाए पो म बूढोले सुट लगाउँदा सुहाउँथ्यो! मन्त्री भए देखि न घरमा खाना पकाउन पर्या छ , न दुई पाइला हिँड्नु पर्या छ । मैले के विगार गर्या छ । बाटामा हिँड्ने सबको ठेक्का लिएको हो र ? भन्नेले भन्दै गर्छन् । सारा सुविधा पुर्याउँदा पनि बेइज्जती गर्न लाज लाग्दैन बूढी ? घरमा कहिले ग्यास खाली भयो कि ? दही र केरा त कति खानु ? दुनियाँ भर महङ्गी हुँदा हाम्रो क्वाटरमा त्यसको छायासम्म पर्न दिइन । इष्टमित्रले ल्याएको पोका पन्तरा पहिला नै हात आफैँ पसार्छे । मन्त्रिनीलाई भनेर ल्याएका हुन् र ? बरू मलाई पहिला बानी नपरून्जेल लाज लाग्थ्यो । अहिले देख्या नदेखै गर्छु । उल्टै तपाईंको मालभोग त गज्जव रै’छ भनेर माग्दिन्छु । देख्या नदेखै गर्छु र भँडार उपहारले भर्छु । अझै बूढी सन्तोष गर्दिन । बूढीका अघिपछि समान्ति छन् कि क्या हो ः तिनकै पक्ष लागेर बोल्छे । तिनलाई जनताले ठीक पार्छन् । अझै बूढी बुझ्दिन । जनता भन्न लाज लाग्दैन पो भन्छे ? के दिएका छौ जनतालाई ? यो भन्छे! जनता हाम्रा महान छन्! आश्वासन दिए दड्ढ मात्र हो र दड्ढदास पर्छन् । सुमसुम्याको धरहरा बन्छन् । टूकी र झिँजा बालेर बत्ती र ग्यासको काम चलाउँछन् । क्या महान!
मेरो भाषणले सवको आसन शासन हल्लाएको छ भने मेरै नाममा मन्त्रिनी भएकीले मेरो मुटु हल्लाउन सुहाउँछ ? मन्त्री हुन के गरिएन ? टायर बाले कै हिसाब गर्यो भने टायर कारखाना खोल्न पुग्छ । कति नै जान्ने भएर बोल्छन् । वातावरण बिग्र्यो भन्छन् । थोत्रो टायर नष्ट गर्दा त झन् राम्रो भएन र ? साथीहरू टायरको धुवाँले स्वास्थ्य विग्र्यो भन्छन् अरे । क्रमभड्ढ भने कै यही हो । एउटाको स्वास्थ्य नबिग्री अर्काको कहाँ सप्रन्छ ? अस्पताल कति खुलेका छन् ? कति डाक्टरले काम सिक्ने मौका पा’का छन् । मन्त्री हुन न पा’का हाम्रा असन्तुष्ट कार्यकर्तालाई पनि डिग्री भने डिग्री जागिर भने जागि दिने योजना छ । कति फाइदा छ ? बोका काटकुट गर्नेलाई पनि अपरेशन गर्ने डाक्टरी सर्टिफिकेट मिल्छ! विदेशको नक्कली सर्टिफिकेटको आयात घटाउँछौँ । पुरानो सोचाइ प्रतिगामि हो । आगामि कार्यक्रम हेर्दै गए हुन्छ । बाथरूम सिड्ढर गायक हैनन् ? गायक भएपछि प्रज्ञा बन्न लायक भइहाले । आस्था विश्वाको लोली बोली मिलाएर रियाज गर्दै झोली भर्दैम रनवन घुम्ने प्राज्ञ नभएको हुन्छ ? अझ प्राज्ञ साहित्यकार तिनै महान हुन जसले टाउकामा रातो टालो र पाखुरामा पट्ट िकालो, गालीमा ताली र मञ्चमा झ्याली बजाउनु उत्तर आधुनिक कला प्रयोग गर्दै मिनरल वाटरको बोतलमा रक्सी तन्कायो । अरूले निर्धारण गरे कै दक्षिण आधुनिक योग्यता कृति हुनुपर्छ भन्ने के छ ? नाट्य कलाकार हुन मञ्चमै मच्चिनुपर्छ भन्ने के छ ? ढिस्को ढिस्कोमा डिस्कोदेखि पाटी देखि पार्टीसम्म रूने, कराउने, ढोगभेट अर्थात् मूलगेटभित्र पसी अभिनय गर्न, नाटक चटक गर्न पारड्ढत भएपछि त्यहाँ सिवाय प्राज्ञ हुने योग्यता अरू के हुनसक्छ ? आफ्नालाई त मैले गर्दैछु नि! बूढी त्यसै बकवास गर्छे । पेन्टिङ गर्ने कुर्ची छोडी कुचो बोक सुचि सफा गर्ने उत्तर आधाुनिक कलाकार प्राज्ञ हैन कल्ले भन्छ ? बेलामा खाने पिउने सुत्ने सुताउने बुद्धि पुर्याउने नै प्राज्ञ हुन । यी म आफैँै प्राज्ञ भएकैले भकाभक निर्णय गर्छु । स्वास्नीकै दिदी बहिनीलाई जागिर ख्वाएकै हो । शक्ति बढाउने हो भने राजनीतिमा श्रीमती मन्त्री भए झन जाति । अझ छोराछोरी भए त झन् श्री ३ मन्त्री! आफ्नी बूढीलाई मन्त्री बनाउने सोच्दा सोच्दै उल्टै जनता उफार्ने कुरो गर्छे । त्यत्रा शासन गर्नेले त सकेनन् । जति समस्या छ त्यो सबै पुरानाकै घुरान हुन् । आफूले भुट्टीभाङ नसेकपछि राजनीति बचाउने पनि दुई चार मन्त्र भट्याउनु पर्छ भन्ने कुरो मन्त्रिनीले बुझ्दिन ।
केही गर्नसकेन भने कि पहिले विगारेको मर्मत संभार गर्दैछु भन्नुपर्छ । पुरानाले टाउको उठाएकि खबरदार! जनताले छोड्दैनन भन्यो । औँलो ठड्यायो । भुट्टीभाङ केही गर्न सकेन पो भन्छन वा! पानी मरूवा भएर काम नगरेको प्रमाणित गर्न म चुनौती दिन्छ । त्यसै म तन्केको, रन्केको र सन्केको छु र ? छाती फर्कायो । कुम हल्लायो । जिब्रो चपायो । ठूलो डाँकोले नै मिच्यो । बस, यथास्थितिवादी हेर्या हेरै । अझ अग्रगामि राजनीतिको रहस्य बूढाले बूढीले के बुझ्छन् ? दुई पाइला अघि सर्यो । कराएकि एक पाइला हट्यो । एक पाइला त सँधै अगाडि नै भएपछि अग्रगामी भयो कि भएन ? सहमति संझौता, सम्वाद भनेको यही हो । बूढी बुझ्दिन । आफ्नै बूढी भएर के गर्नु प्रतिगामिले उफार्दा र’छन् । बूढीलाई यति पनि पत्तो छैन । मेरो मन्त्रीपद मासियो भने कुन कालो कुकुरले मन्त्रिनीज्यू भन्छ कालीलाई ? हामी भरखर आ’काले सबको सवथोकि माग भाग लिन दिलाउन कहाँ सकिन्छ ? पेट्रोल अभाव भएर के भो ? बूढीले महँगो गाडी चढ्न पाएकै छे । ग्यास नभएर के भो ? पार्टीमा लाटी जमेकै छ । लोड सेडिङले अँध्यारो भए नि के भो ? हामी उज्यालामा बसेकै छौँ । जति अँयारो भए नि कालरात्रि हैन । हामीलाई त मालरात्रि नै हो । मालपोतदेखि मालवाहकको घुसको झुस हटेन अरे! मुखमा फुर्लुड्ढ लगाउँदा त बोकोले टापटिप पार्न छोड्दैन । भनेपछि खुला राजनीति खुला मुखमा कसले छेक्नु ? सबका मुख छन्! मुख नभएको मान्छे खोजेर पठाए पनि नाकैले खान्छन् तर ती सज्जन छन् । एक्लै खाने हिम्मत त गर्दैनन् नि । भाग लगाएरै खान्छन् । के गाली गर्नु ? तेरा नाडीका बाला र गलाका माला कहाँबाट आए ? नोट माग्दा नाक भाँच्ने गरी हिर्काउने जनता भएका भए बल्ल लोकतन्त्र आएछ भन्नु हुन्थ्यो । जनता त महान हुन् । त्यस्ता नभका भए हाम्रो नाक हैन ढाडै भाँच्थे । थोरै मन्त्रीले घुस खाने कोठा जुस खाने कोठीमा गएर हुर्नु हुन्छ र ? नगद खानेदेखि खुद्रा खानेसम्म कति छन् कति! कति हेर्नु ? बिजुली, पानी, टेलिफोन कारोबार, खुद्रा खाने अधिकार कहाँ छ सरकारको सरोकार! बीस-तीस पैसामा पूरै एक, लाखौँलाख ग्रहकको कति हुन्छ देख । कसले उठाउने झोँज ? सयका लाठी एकका बोझ । क्या मोज! कहाँ नयाँ गर्नसक्नु ? पुरानो फोहर, फाइदा हुने सबै सोहोर! नयाँ बनाउन त्यसै हुन्छ ? पहिला भएकै भत्काएर क्रमभड्ढ अर्थात् खाने ठाउँका पुराना हटाएर आफ्ना मान्छे नयाँ खटाएर चटाएपछि दड्ढ पर्ने काम भएन र ? सबथोक बढ्नु भनेको अग्रगामि कदम हो । मन्त्रिनी भएर पनि बूढी त्यसै चिच्याउँछे ।
न राजनीति बुझ्छे न यहाँको थिति! लाखौँको खाट र करोडौँको क्याँट हात परेपछि मैले त राजनीति भरखर बुझ्न थाल्याछु । जनतालाई हजार आश्वासन जसले दिन्छ त्यसले एक भोट पक्कै लिन्छ । किनकि झुट पनि हजार पल्ट भट्याए सत्य हुन्छ । नपत्याए मैले मन्त्री भएपछि बोलेको भाषण मात्र हेरे हुन्छ । जो जर्खट्या स्वरले थर्काउँछ त्यसले नाम गुमाए पनि दामको खोलो फर्काउँछ । दाम भएपनि माम काम भइहाल्यो । जनता जसले झुलायो त्यसले नोटको बोटमा नगद फुलायो । यस्तो कुरा मेरी बूढीलाई के पत्तो! म मन्त्री भएकाले मात्र स्वतः मन्त्रिीनी पद पाएकी हो । थोरै योग्ताले हो र ? आफू त बार भत्काउनेदेखि पुलिसलाई फुलिस पार्ने काममा पनि म्याराथन धावक के कुद्ला त्यसरी कुदियो । अपहरण भनौँ कि, ठोकठाक गनौँ कि ? पर्खाल चढिएन कि ? चुनाव लडिएन कि ? त्यसै मन्त्री भा’हो र ? कलेज भर्ना भइञ्जेल अलि अलि नलेज थियो । जव राजनीतिमा पसियो बुद्धि शुद्धिको काम बुद्धिजीवीलाई लगाइयो । बुद्धिजीवी भनेका दामी घोडा हुन् । तिनलाई तालीम दिन सकियो भने गधाको काम देखि दुनो गाई बनाउन सकिन्छ । यस्ता कुरा मन्त्रिनी बूढीलाई के थाहा ? ऊ मन्त्रिनी भए पनि गिलासको पानी अलग्गै पिएर सारीको सप्कोले मुख पुस्छे वा! छोरोको खाने व्यवहार हुँदैछ । अलि अलि बोल्न मोल्न जान्ने भएकी त मन्त्री भएकाले भएकी हो ।
मित्र मन्त्रीको परिपाठ सुनेपछि मलाई लाग्यो टाउकोको गिदी झिकेर लिदी भर्ने राजनीतिमा मन्त्री नै बनाए पनि काम छैन । म त सक्दिन प्रभु! यो देशमा सबथोक बनाउ बुद्धिजीवी बिर्सेर पनि नबनाऊ । मलाई सबथोक बनाऊ भेडो नबनाउ प्रभु! प्रभुजी मलाई भेडो नबनाऊ!
(स्रोत : गोरखापत्र)