व्यङ्ग्य निबन्ध : लोकतान्त्रिक पदावलीको प्रयोग !

~बासु शर्मा~Basu Sharma

लोकतन्त्रमा लोकतान्त्रिक आचरणहरु अपेक्षित भएझैँ बोलचाल र लेखापढीका शब्दहरु पनि लोकतान्त्रिक भावना अनुरुप हुन जरुरी छ । सबैले आपूmलाई सो अनुसार अद्यावधिक गर्नै पर्ने हुन्छ । धन्य हो इन्टरनेट ! अनलाइन खबर साइटहरुको उपलव्धताले ज्ञानलाई अद्यावधिक गर्न साह्रै नै मद्दत पुगेकोछ । धन्न कसो कसो आँखा पुगेर पढ्न पाइएछ हौ गाँठे ! नत्र त ज्ञानको अन्धकारमय सुरुङ्ग असर (Tunnel effect)मा पो रुमल्लिरहेको रहेछु म त । लोकतन्त्र स्थापना भइसकेपछि ‘राजमार्ग’लाई ‘लोकमार्ग’द्वारा प्रतिस्थापन गरिसकिएको रहेछ तर आफु भने लोकतन्त्र पूर्वकै मानसिकताले गाँजिएर ‘राजमार्ग’ नै भनेर बसिरहेको रहेछु । जब राजतन्त्रलाई लोकतन्त्रले विस्थापित ग-यो तब ‘राज’लाई ‘लोक’ले स्वतः विस्थापित गरिसकेको छ भन्ने सामान्य ज्ञान पनि यो दिमागमा तुरुन्तै किन नघुसेको होला ? सोह्रमा सोह्रै आना सहमत । लोकतन्त्र आइसकेपछि पनि राजमार्गलाई लोकमार्ग नभनेर राजमार्ग नै भनिरहनु लोकतन्त्र अनुकूलको मानसिकता किमार्थ भएन । त्यसै गरी ‘राजकुलो’को ठाउँमा पनि ‘लोककुलो’को प्रयोग पक्कै हुन थालिसकेकै होला । सन्दर्भ सामाग्री अहिलेसम्म पढ्न पाएको भने छैन । भेट्नु हुनेहरुले कृपया आम जानकारीका लागि सञ्चार माध्यममा राखिदिनु होला ।

लोकतन्त्रको प्रादुर्भावसँगै जनजीवनका साथै जनजिब्रो पनि फेरिनै पर्छ । नत्र भने राजतन्त्रवादी प्रतिगमनकारी तत्वहरुलाई बल पुग्न जानेछ । जनजिब्रोमा मात्र होइन सरकारी एवं औपचारिक दस्तावेजहरुमा पनि लोकतान्त्रिक शव्द चयन र प्रयोगका बारेमा ध्यान पु¥याइनु पर्दछ । विश्वविद्यालय र विद्यालयका पाठ्य सामाग्रीहरु तदनुरुप संशोधन गरिनु पर्दछ । विद्यार्थीहरुले परीक्षामा प्रयोग गर्ने शव्दावलीहरु लोकतान्त्रिक छन् कि छैनन् तदनुरुप जाँच गरिनु पर्दछ । सरकारी निकायका पदहरुमा नियुक्ति एवं बढुवाका परीक्षाहरुमा लोकतान्त्रिक पदावलीहरुको प्रयोग गर्ने क्षमतालाई पहिलो कसीका रुपमा स्थापित गरिनु पर्दछ र सबैभन्दा महत्वपूर्ण कुरा भनेको नेपाली शव्दकोषमा संशोधन गरिनु पर्दछ । यस उसले प्रज्ञा प्रतिष्ठानको नयाँ लोकतान्त्रिक जिम्मेवारी थपिएको छ – त्यो हो बृहद नेपाली शव्दकोषको लोकतान्त्रिक संशोधन गरी लोकतान्त्रिक शव्दहरुद्वारा सोही हैसियतका पूर्ववर्ती शव्दहरुको विस्थापन ।

मुलुकको परिवर्तित अवस्थामा जब कुनै शब्द विशेष ग्राह्य छैन भने त्यसलाई शव्दकोषबाट हटाएर त्यसको ठाउँमा नयाँ ग्राह्य शब्द स्थापित गर्नु समयको माग हो । पुरानो शब्दलाई भने इतिहासका अध्येयताहरुका लागि सुरक्षित गर्न एउटा छुट्टै ठेली (Archive) बनाई थन्क्याए हुन्छ । राजतन्त्रलाई विस्थापित गर्दै लोकतन्त्रको स्थापनासँगै राजमार्गको स्थान लोकमार्गले लिएर शब्द खेतीको थालनी भइसकेकैछ । अब यो खेतीलाई अभियानका रुपमा लैजानु पर्छ । यी दुई शब्दहरुमा ‘राज’ र ‘लोक’ आ–आफ्नाे पक्षको साझा पदांश भएकाले शब्दकोष संशोधनमा सहजता रहने प्रष्ट छ । ‘राज’को ठाउँमा ‘लोक’ राखिदिए पछि टन्टै खलास् । त्यसो त कम्प्युटरमा अंग्रेजी भाषाका हटाउनु पर्ने शब्द र राख्नु पर्ने नयाँ शब्द राखेर ‘रिप्लेस अल (replace all)’ थिचिदिंदा जसरी एकै चोटिमा दस्ताबेज भरिका सबै ठाउँमा फेर बदल हुन्छ त्यसैगरी नेपाली भाषाका लागि पनि कम्प्युटर प्रविधिले काम गरिदिने हो भने त शब्दकोष संशोधनकर्ताहरुलाई अझ झन कति सजिलो हुन्थ्यो कति । जे होस्, हातैले भए पनि यो महान ऐतिहासिक लोकतान्त्रिक काम गर्न त गर्नै प¥यो नि । होइन र ? नत्र भने लोकतन्त्र प्राप्तिको अर्थ नै के रह्यो र ? नमूनाका लागि मलाई मुखाग्र भएका केही शब्दहरुको बारेमा म यहाँ चर्चा गर्दैछु ।

अब पनि राजधानीलाई राजधानी नै भनिरहन विल्कुलै अनुपयुक्त हुन्छ र अलोकतान्त्रिक । राजमार्गलाई लोकमार्गले प्रतिस्थापित गरे झैं राजधानीको सट्टामा लोकधानी भन्न थालिहाल्नु प-यो । त्यस्तै गरी अब राजदूत होइन लोकदूत भन्ने र लेख्ने बानी बसालौं । लोकतन्त्रको मिँयो भनेको राजनीति हो । यसलाई प्राथमिकताका साथ लोकनीति भन्नै पर्दछ । नत्र त लोकतन्त्रकै उपहास हुन गई हाल्छ नि । यसै मेसोमा स्वाभाविक रुपमा राजनीतिशास्त्रलाई लोकनीतिशास्त्र, राजनैतिकलाई लोकनैतिक, राजनीतिक दललाई लोकनीतिक दल, राजनेतालाई लोकनेता, राजनीतिक कार्यकर्तालाई लोकनीतिक कार्यकर्ता, राजबन्दीलाई लोकबन्दी, राजकोषलाई लोककोष, राजकाजलाई लोककाज, राजकीयलाई लोककीय आदि पदावलीहरुले प्रतिस्थापित गरी लोकतन्त्र सम्मत भाषाको विकास गर्न जरुरी छ । त्यसो त राज्यलाई पनि राज्य नभनेर लोक्य र राजस्वलाई लोकस्व भन्नु नै पर्छ होला । जुन जुन शव्दमा ‘राज’ छ त्यो त्यो शव्दलाई ‘लोक’ले सुसज्जित गर्दै नयाँपन ल्याउन कृपया अब कसैले पनि कन्जुस्याईं नगर्नु होला । त्यसैले अराजक र अराजकताको सट्टा अलोकक र अलोककता त प्रयोग गर्नै पर्ला । किन्तु एउटा शव्दमा भने म कठिनाई महसूश गर्दैछु र के गर्ने हो भनेर फुरिरहेको छैन । भाषा विज्ञहरुले नै यसको उचित समाधान निकाल्न सक्लान् । त्यो शव्द हो यमराज जसलाई यमलोक बनाउन अलि मिलिरहेको छैन । किनकि दुबैको आ–आफ्नै अलग अलग अस्तित्व अलग अलग अर्थमा अहिले नै छँदैछ । त्यसो हुँदा यसलाई र यस्ता अन्य शव्दहरु भए तिनलाई के गर्ने हो भनिकन टुङ्गो लगाउन भाषाविद्हरुको एक उच्चस्तरीय अध्ययन तथा सुझाव आयोग बनाएर कामको जिम्मा लगाउनु पर्ने आवश्यकता देखिन्छ ।

बस्तु, स्थान र व्यक्तिका नाममा रहेको ‘राज’लाई हटाई त्यसको ठाउँमा ‘लोक’ नराखे लोकतान्त्रिक पदावलीहरुको प्रयोगको महान लोकतान्त्रिक कार्य अधुरो हुनेछ र लोकतन्त्र नै फितलो हुनेछ । त्यसैले अब देखि ‘राजमा’लाई ‘लोकमा’ भन्न थालौं । त्यस्तै ‘राजखानी’को सट्टा ‘लोकखानी’, ‘राजवृक्ष’को सट्टा ‘लोकवृक्ष’, ‘राजहंस’को सट्टा ‘लोकहंस’, ‘राजभोग’को सट्टा ‘लोकभोग’, ‘राजविराज’को सट्टा ‘लोकविलोक’, ‘दराज’को सट्टा ‘दलोक’ र ‘तराजु’को सट्टा ‘तलोकु’ नभनी सुखै छैन । व्यक्तिका नामसंग जोडिएका ‘राज’लाई पनि त विस्थापित गर्नै प¥यो नि । राजकुमार जति लोककुमार, राजेश जति लोकेश र विराजहरु विलोक हुने भए भने धर्मराज जति धर्मलोकमा परिवर्तन हुने भए । राजेन्द्र जति लोकेन्द्रमा परिवर्तन हुनाले लोकेन्द्रहरुको संख्या ह्वात्तै बढ्ने भयो । यसरी बढेको लोकेन्द्रहरुको जनसंख्यालाई आधार मानेर बहालवाला लोकेन्द्रहरु मध्येका बरिष्ठ लोकेन्द्र बहादुर चन्द नव प्रवेशी लोकेन्द्रहरुलाई समेत गोलबन्द गर्दै नामगत हक हीतका मुद्दा उठाएर लोकनीतिक फाइदा लिनलाई अग्रसर हुन सक्ने सम्भावनालाई नजरअन्दाज गर्न मिल्दैन । त्यस उसले यो नयाँ चुनौतिलाई सही ढङ्गले सम्हाल्न लोक्य संयन्त्रलाई तम्तयार राख्नु पर्ने जिम्मेवारी लोकतान्त्रिक सरकारका काँधमा आई पर्नेछ । त्यस्तै अलिकति अप्ठ्यारो ‘लोकराज’हरुमा पर्ला जस्तो छ । किनभने यिनमा दुईवटा लोकहरु बन्न जान्छन् जसले गर्दा अप्ठ्यारो पर्न सक्छ । तर यसका लागि एउटा कानून बनाई समस्याको निवारण गर्न सकिन्छ । व्यक्तिका नामहरुको लोकतान्त्रिकरणमा आई पर्ने अलि गम्भीर प्रकृतिको समस्या चैँ अर्कै छ । त्यो के हो भने परिवर्तन गर्नु पर्ने सूचिमा पर्ने नामहरु नागरिकता, राहदानी, जागीर, शैक्षिक प्रमाणपत्र र सरकारी एवं अन्य औपचारिक अभिलेख वा दस्तावेजहरुमा रहने हुनाले ती सबैमा परिवर्तन कार्यले असर पार्दछ । ती सवै दस्तावेजहरु बदल्नु प¥यो । यसका लागि सम्बन्धित व्यक्ति तथा निकायहरुको समय, श्रोत र उर्जा खपत हुन जान्छ । महान लोकतान्त्रिक फड्को मार्न यति झण्झट त खप्नै प-यो नि । तर यस्तो कार्यलाई निशुल्क र छिटो छरितो गराउन सरकार तयार रहनु पर्दछ । यस कामका लागि भाषाविद्हरु भन्दा पनि कानूनविद्हरु, शैक्षिक संस्थाहरु र सरकारी निकायहरु क्रियाशील हुनु पर्ने आवश्यकता देखिन्छ ।

पाठक महानुभावहरु ! यहाँ चर्चा गरिएका केही नमूना शब्दहरु मात्र हुन् । यस्ता थुप्रै शब्दहरु होलान् जसको लोकतान्त्रिक फेर बदल हुन जरुरी छ । यसैले, यहाँहरुलाई थाहा भएका यस्ता शब्दहरु थप गरिदिनु होला कृपया । यसो गर्नु हामी सबै लोकतान्त्रिक सोच राख्नेहरुको साझा लोकतान्त्रिक कर्तव्य हो । यस कामका लागि म सबै भाषाविद्हरु, शिक्षाविद्हरु, लोकनीतिज्ञहरु, लोकनीतिक दलहरु एवं लोक हीतमा समर्पित सम्पूर्ण लोकतान्त्रिक जनहरुमा हार्दिक अनुरोध गर्दछु । विशेष गरेर लोकनीतिशास्त्रका अध्यापक एवं विद्यार्थीहरुले क्रियाशील हुन आवश्यक छ । साथै सरकारले लोक्यसंयन्त्र भित्र रहेर काम गर्ने आफ्ना कर्मचारीहरुलाई पनि यथोचित निर्देशित गर्नु प-यो । विदेशमा समेत सन्देश प्रवाह गर्न सरकारले आफ्ना लोकदूतहरुलाई पनि अह्राउनु प-यो । अस्तु ।

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.