~प्रमोद अमात्य ~
बाङ्गा छन्, सोझा पनि यहाँ
गतिछाडा छन्, गतिमान पनि यहाँ
पदवाला छन्, पादवाला पनि यहाँ
मनचोर छन्, घरफोर पनि यहाँ
जति छन् सब छन् फेसबुक भरी
फेसबुक बिना चल्छ जीवन कसरी ।।
बच्चादेखि बुढाले चलाउने यो फेसबुक चलाउन आउँदैन भन्न पनि लाज भैसक्यो आजकल । फेसबुक त जीवन भैसक्यो । यतै लभ पर्छ, यतै ब्रेकअप । कतैकतै यसैमा बिछोड र छोडपत्र । यो कलियुगमा फेसबुकको महिमा अपरम्पार छ – हजार टाउके शेषनागले पनि यसको महिमा गाउन सक्दैन । यही फेसबुकमा हामीलाई फँसाएर मार्के उही मार्क जुकरबर्ग फेसबुकबाट फस्टाएर खरबपति भए । तर हामी मध्ये कोही भने फेसबुक चलाउन रिचार्ज गर्दा गर्दै फीस् भैसक्यौ । जेहोस् फेसबुकमा नानाभाँतीका फेसहरू फँसेको हेर्न पार्इन्छ । जस्तै-
कोही पोस्टिङ्गै पोस्टिङ्को खात लगाउनमा ब्यस्त छन्
कोही ताल न सूरको नचाहिदो सेयरिंङ देखेर रुष्ट छन्
अरूको पोस्टिङ्मा कहिल्यै आँखा नलगाउने पनि
आफ्नो पोस्टिङ्को लाईक, कमेन्ट गन्नमा मस्त छन् ।।
केही फेसबुके फेसहरूः
जासूस फेस-
जासूस फेस फेसबुकमा अदृष्यरूपमा सक्रिय रहन्छ । यसको काम कसले के पोष्ट गर्छ, के लाइक गर्छ र के कमेन्ट गर्छ त्यसको चियो चासो राख्नु हो । कसले हेर्दै नहेरी कसको पोष्टमा लाइक गर्छ थाहा पाउनु हो । यिनीहरू आफूलार्इ नीक्कै बाठा ठान्दछन् किनकि सबको बारेमा मलार्इ थाहा छ, मेरो बारे कसैलार्इ थाहा छैन भन्नेमा यी मख्ख रहन्छन् । यिनीहरू लार्इकको लफडा, कमेन्टको कच्याककुचुक र पोष्टिङको प्रोब्लेमबाट जहिल्यै टाढा भागिरहेका हुन्छन् ।
बुढोबाघ-
रिटायर्ड भएर पनि टायर्ड नभएका यी बुढाबाघहरू अति सकृय, आक्रमक र फेसबुकमा ब्यस्त फेस हो । अरूले बुढा ठानेपनि यिनीहरू आफूलार्इ अझै जवान छुँ भन्ठान्छन् ।वास्तवमा युवामा हुने अद्वितीय उर्जा यिनीहरूमा हुन्छ, तब त पाँच मिनेटमा पच्चिस पोष्टिङ गर्न भ्याउँछन् । जस्तो युवालाई जमानाको मतलब हुँदैन त्यस्तै आफ्ना ती लगातार गरेएका पोष्टिङहरू अरूले पढछन् पढ्दैन भन्ने यिनलार्इ मतलब हुँदैन । रोमान्टिक पनि उत्तिकै हुन्छन् यिनीहरू तब त बुढाले बुढीको र बुढीले बुढाको पोष्टिङ सेयर गरेर माया प्रिती साटेर बसेका हुन्छन् । कहिलेकाही भावुक भएर अरूको फोटोलार्इ आफ्नो कभर फोटो बनाउन पनि भ्याउँछन् र पनि यिनलार्इ यसो गर्नु ठीक हैन भन्ने हेक्का हुँदैन । साथै आफ्नो टाइमलाइनमा अरूलार्इ बधार्इ शुभकामना दिन पनि भ्याउँछन् । सम्बोधन बिनाको आफ्नो टाइमलाइनको शुभकामना कसलार्इ हो अरूले बुझ्दैन् भन्ने र बधाई तथा शुभकामना अरुको वालमा पोष्ट गर्ने हो आफ्नोमा होइन भन्ने कुरा युवा पिंढीले बताई नदिँदा कहिले यिनीहरू अलमलमा भेटिन्छन् पनि । तर मौका मिले यिनीहरू आजकलका ठिटाठिटीहरूको च्याटको भाषा पनि भाट्टफुट्ट लेख्न भ्याउँछन् र आफूलार्इ पटक पटक जवान छूँ भन्ने जनाउन खोजी रहन्छन् जुन मनासिब हो । विगतमा रमाउने यी मनुवाहरूलाई जीवनको उत्तरार्धमा आउने न्यास्रोपन निमोठ्न पनि यिनले फेसबुकको मदत लिएका हुन्छन् ।
उपदेशक-
यी सरल प्राणी हुन् । यिनको काम मात्र उपदेश दिनु हो । उपदेशका उक्तिरू उनेर पस्कनु यिनको मुख्य उद्देश्य हो । कहिले पूर्व, कहिले पश्चिमको, कतै अँग्रेजीमा, कतै हिन्दीमा त कतै नेपालीमा उपदेश प्रदान गर्दछन् यी सिदा मनुवाहरू । मौका मिले आफ्नो एकदुई उक्ति यसो घुसाउन पनि चुक्दैनन् यी उपदेशकहरू ।
अँग्रेज फेस-
यी गजबका हुन्छन् जे कुरा पनि अँग्रजीमा भट्याउनु पर्ने । नेपालीमा राम्रो सुनिने कुरा पनि अँग्रेजीमा सुनाउनु पर्ने । सक्ने भए यिनले नारायण गोपालको गीत पनि अँग्रेजीमा सुनाउँथे । कहिलेकाही यिनको अँग्रेजी देखेर अँग्रेजी राम्ररी नजान्नेलाई पनि नेपालीमा लेखे कस्तो बेस हुन्थ्यो जस्तो लाग्दो हो। अरूले नबुझ्ने कुरो चाहिँ यिनले अँग्रेजी सिक्न खोजेका हुन् कि अँग्रेजीको ध्वाँस दिन खोजेका हुन् भन्ने छुट्याउनु हो ।
रोमन फेस-
यो झन् गजबको प्राणी हो । न नेपालीमा लेख्छन् न अँग्रेजीमा रोमनमा लेख्छन् । पढेर पढी नसक्नु लामो किस्सा रोमनाईज्ड नेपालीमा लेख्छन् । घरिघरि अँग्रेजी पनि रोमनाईज्ड गरेर टोपल्न भ्याउँछन् । छोटो लेखे तै बिसेक हुन्थ्यो लम्बेतान लेख्ने भएर पो फसाद !
आत्मप्रशंसक-
कसैले तपाईं भनोस् न भनोस् आफै मपाई । यिनलाई कसैले सोध्नै पर्दैन आफै आफ्नो बखान छाँटिहाल्छन् । माथिको उखान हैन आफ्नो बखान चलाउने जमाना छ भन्ने यिनको ठम्याइ रहेको छ । पट्यार लाग्दो लामो आफ्नो बेलीबिस्तार लगाउनु यिनको बानी हो । कसैले छोटो मीठो लेखौं न साथी भन्यो भने उल्टै उपदेशको अर्को पट्यारलाग्दो शृङ्खला शुरू गर्छन् यी महाशयहरू । लाइक नपाए यी महाशयहरू शायद आफै आफूलाई लाइक ठोक्छन् , र त एकदुई लाइकमात्र भेटिन्छ यिनको पोष्टिङमा । यिनको के ठम्याइ हुन्छ भने धेरै लाइकको अर्थ राम्रो हो भन्ने हैन । कुरो सही हो तर लाइक नै नभेट्ने पोष्टिङ पनि त राम्रो नै हुन्छ भन्ने हैन नि, कि कसो ?
लाइक फेस-
लाटो बुँगोको कथामा बाउले लठेब्रो छोरालाई ससुरालीमा गफ गर्दा ससुराले जे भने पनि ‘ बेसै भो ‘ भन्नू भनेर सिकाएर पठाएको हुन्छ । उता ससुराले यसपालि त गाई पनि भीरबाट लडेर म-यो भन्न पाएको हुन्न ज्वाईले बेसै भो भन्दिन्छन् । यी लाइकवाला पनि उस्तै तपाईं जे पोष्ट गर्नुस् समय, सन्दर्भ र सम्बन्धको खयाल नगरी फटाफट लाइक ठोक्नु हो । कहिलेकाही यस्ता बिना सन्दर्भका लाइकले असजिलो पनि पार्छ ।कोहि कोही भने म लाइक गर्छु तिमी पनि मेरो पोष्टिङमा लाइक गर भन्ने मनसायाका हुन्छन् ।
धार्मिक –
देवी देवताको फोटो पोष्टगर्नु यिनको प्रमुख धर्म हो, नित्य कर्म हो । शायद यो भन्दा पर कुनै धर्मकर्म यिनले देखेका छैनन् कि? कोही कोही त अतिबादी नै हुन्छन् । फलाना फोटो तत्काल लाइक, सेयर नगरे मरेको सर्पले टोकेर तेरो मृत्यु हुन्छ भन्दै तर्साउने हुन्छन् । सेयर गरे डोकामा पनि दूध अड्छ टाइपको सु-सन्देश पोष्ट गरेका हुन्छन् । भगवान सर्वव्यापी छन्, भगवानलाई फेसबुकमा बोलाइ रहन पर्दैन भन्ने सामान्य ज्ञान पनि यिनमा हुँदैन । तपाईंलाई भगवानले यस्ता फेसबाट बचाउन् !
पुरस्कारी-
यिनीहरू बडो परोपकारी, उपकारी जीव हुन् । मार्के (मार्क जुकरबर्गको प्यारो नाम) र बिलचा (बिलगेट्सको प्रेमपूर्वक लिने नाम) ले कहाँ, कसरी, कति कति गाँठ के को उपलक्ष्यमा सित्तै बाँड्दैछ भन्ने सुराक लगाएर गोप्य सन्देश पोष्ट गरिरहेका हुन्छन् । विश्वका यी धनाढ्यहरूले असिना पसिना गरेर, गिदी घोटेर, तलमाथि गरेर, दाँयाबाँया गरेर कमाएको सम्पत्ति सित्तैमा बाँड्दैछन् भन्ने भ्रममा यी पुरस्कारी परेका हुन्छन् । केही गरी तपाईंले यिनलाई तैले आजसम्म कति यस्ता पुरस्कार भट्टाइस् त भनेर सोध्नुभयो भने यिनले तपाईंलाई ब्लक गर्न बेर छैन । ठूला धनाढ्यले यिनको भलो गरुन् ।
डाग्डर बाबु-
यी डाक्टर र बैद्यका गोरु बेचेको पनि साइनो नपर्ने नक्कली डाक्टर हुन्- डाग्डर बाबु । यो बन्न पढ्न ओर्न पर्दैन, फेसबुक चलाउन जानेपुग्छ । यिनको कुरा मान्ने हो भने संसारका सबै साध्य, असाध्य रोगको ओखती मुलो फेसबुकमा छ, कतै जानै पर्दैन । कहिले कपका कप लसुनको झोल त कहिले अदुवाको झोल पिउन भन्छन् । कहिले बेस्सरी उसिनेको मेथी टुसाएर खाउ भन्छन् । उ भयो भने उ गर, उ खाउ भनेर दवादारु पस्किरहन्छन् । बरु दारुमात्र खाउ भनेको भयो कस्तो मजा हुन्थ्यो ।खः ला कि मखु ? हो कि हैन पासा ?
अब विचार गरौँ तपाईंको फेस को कोसंग मिल्छ? वा एक दुईवटा फेसको मिश्रण पो छ कि ? अथवा कुनै अर्को नयाँ फेस देख्नु पो भएको छ कि ?
अस्तु ।
क्यालिफर्निया
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )