हास्य–व्यङ्ग्य निबन्ध : को शक्तिशाली ?

~प्रमोद अमात्य~Pramod Amatya

मैले एउटा रमाईलो खोज गरेको छुँ यानेकि ‘गाईजात्रे’ खोज । खोज, शोध, अनुसन्धान गर्न म पिएच डी वाला डाक्साब त हैन । हुन त आजकल पिएच डी वाला फालाफाल छन् अरे त्यसैले अरूले खोजगर्ने मौकै पाउँदैनन् । हुन त मेरी श्रीमतीलाई पनि बुडाले पिएच डी गरोस् र डाक्साब बनोस् भन्ने ठूलो इच्छा चाहना थियो ।नढाँटी भन्नुपर्दा अरुका सामु डाक्साब श्रीमानसंग हिँडने ठलो रहर थियो । उनका सहेलिहरूले आफ्ना डाक्साब श्रीमानसंग हिडदा उनलाई ईर्ष्या हुँदो हो ।

माथिका गफहरूलाई थाँति राखेर ‘गाईजात्रे’ खोज तिर लागौं । मेरो खोजको विषय छ ‘नेपाली वर्णमालामा वा नेपाली लिपीमा सबभन्दा शक्तिशाली अक्षर वा वर्ण कुन हो ? सरल तर कठिन विषय ।कुन होला तपाईँको विचारमा ? सोच्दै गर्नुहोला ।

खोजमा केही कुरो पहिल्यै मान्नु पर्छ । मानौ ‘जसले अलमल गर्न सक्छ झुक्याउन सक्छ त्यो नै शक्तिशाली हुन्छ । जस्तै देशको सन्दर्भमा जनतालाई सार्वभौम बनाउँछु भन्छ तर आफै सर्वेसर्वा बन्छ र जनता झुक्याउँछ- नेता शक्तिशाली हुन्छ ।

नेताले गरीबको भोक शोक अभाव हटाउँछु भन्दै अलमल गर्छ र आफ्नो गरीबी भगाउँछ । जनतालाई नेताले कसरी फसाउँछ तलको मुक्तकले पनि भन्छ:

प्रजातन्त्रको नाराले लठ्यायौ जहिले
गणतन्त्रको चाराले लोभ्यायौ कहिले
छिमेकीको पाउमा शीर झुकाउँदै
संविधानको धाराले डुबायौ अहिले ।।
यस्ता नेता नै शक्तिशाली हुन्छन् ।

त्यस्तै घर परिवारमा विवाह अगाडि श्रीमतीजी मेरो राजा, मेरो हिरो भन्ने, विवाह पछाडी हिरो हैन जिरो बनाउने झुक्याउने श्रीमती नै शक्तिशाली हुन्छ भन्दा कसैको दुईमत नहोला ।

त्यस्तै नेपाली वर्णमाला पनि झुक्याउने वर्ण शक्तिशाली हुन्छ । अत: नेपाली वर्णमालाको ‘स’, ‘श’अनि ‘ष’ वर्ण झुक्याउने र शक्तिशाली हुन्छ ।भन्दा नै पातलो ‘स’, मोटो ‘श’ र पेट चिरेको ‘ष’ भन्नु पर्ने । हुन त अधिकांश नेपालीहरूले तीनै किसिमका ‘स’, ‘श’ र ‘ष’लाई ‘स’ नै उच्चारण गर्छन् तैपनि लेख्दा फरक लेख्ने चलन हुन्छ । यही उच्चारणको लफडाले मलाई ईन्डियामा समस्या नै परेको थियो । पसलमा ‘शर्ट’ कमिज किन्न जाँदा ‘सर्ट’ कट्टु भिडाएर हैरान नै बनाए । साँच्चै भन्नुपर्दा मैले माथि लेखेको सर्ट हो शर्ट हो अझ थाहाछैन ।त्यतिमात्र हो र ? पेट चिरेको ‘ष’को उच्चारण त आजसम्म पनि मलाई थाहाछैन । शायद कसैले बताउने चेष्टा गरे । अर्कोकुरा यो ‘ष’ आखिर ‘स’ हो कि ‘ख’ ? यो पनि कहिल्यै जानिएन किनकि कसैको भनाई छ यो षडयन्त्र (सडयन्त्र) लाई कसैले षडयन्त्र (खडयन्त्र) गरी षडयन्त्र बनाए । कोही भन्छन् यो षडयन्त्र (खडयन्त्र) नभएर षडयन्त्र नै हो ।वास्तविकता जे भए पनि अलमल चैं पक्कै हो ।

अब गरौं ‘स’,’श’ र ‘ष’को शक्तिको कुरा । शक्तिको शुरूवात नै ‘श’बाट हुन्छ । जीवनको अस्तित्व नै ‘सास’ मा अडेको हुन्छ । दुबै अक्षर पहिलो र अन्तिममा ‘स’। सासमात्र फेरेर मान्छे लाई कहाँ पुग्छ र ? सासपछि मानिसलाई आवश्यक पर्छ ‘गाँस’ । यो पनि ‘स’ मै टुंगिन्छ । गाँससंगै मानिसलाई चाहियो ‘बास’ । यो पनि ‘स’मै अन्त हुन्छ । अनि त्यस्तै चाहिये ‘कपास’ । बिना कपडा नाँगै कहाँ बाँच्न सकिन्छ समाजमा । कपास पनि आखिर ‘स’ मा नै गएर टुंगिन्छ ।

जीवनको मूलभूत आवश्यकताहरू पछि मान्छेलाई अँठ्याउँन थाल्छ ‘आस’ ले । कसैलाई सम्पत्ति, सुनको आस । कसैलाई ‘सुरा’को आस । कसैलाई भने ‘सुन्दरी’को आस आदी इत्यादि । जताततै ‘स’ कै खेल ।

अनि यो आसबाट जन्मिन्छ ‘समस्या’ । यी समस्याहरू सुल्झाउन चाहियो ‘सरकार’ र ‘सत्ता’ । सत्ताले जन्माउँछ नेता । जहाँ पनि ‘स’ कै शासन । नेता दिल्लीको सिल्ली वा विदेशीको दास बनेर ‘घाँस’ खानथाल्यो भने यानेकि ‘जूस’ नखाएर ‘घूस’ खानथाल्यो र जनताको ‘विश्वास’ टोड्न थाल्यो र ‘षड्यन्त्र’ गर्न लागेभने देशको हुन्छ ‘विनाश’ । सबै ‘स’,’श’ र ‘ष’ कै चलखेल अनि ‘सक्किगोनी’ !!

अनि तपाईँ जति नै ‘सम्पत्ति’ जोड्नुस्, ‘शान’ दिनोस् तर अन्तमा हुनुपर्नेछ ‘समाप्त’ र बन्नु हुनेछ ‘लास’ । अनि लास उठाउन पनि चाहिन्छ ‘बाँस’ ।यहाँ पनि ‘स’ कै नाटक ।

कस्तो लाग्यो त मेरो खोजको खेल ? अझ स्पष्ट भन्नुपर्दा कस्तो लाग्यो त म ‘बकम्फूस’ को ‘बकवास’ र ‘बुद्धिविलास’ ? खासकुरो त अझ बाँकि नै छ, मेरी श्रीमतीको नाम पनि ‘श’ बाटै शुरूहुन्छ अनि भन्नु परेन त ‘स’, ‘श’ र ‘ष’ नै शक्तिशाली हुन्छ भनेर । कि कसो ?

अस्तु ।।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.