~रारा नेपाल~
“एउटा अर्को पार्टी खोल्नु पर्यो कामरेडहरू ”
गम्भीर चिन्तनमा डुबिरहेका बेला कामरेड अध्यक्षबाट निस्किएको यो वाणीले कामरेड महासचिव र कामरेड उपाध्यक्ष दुवैलाई झस्काइदियो। कामरेडको वाणी सुनेर दुबै जना आश्चर्यचकित हुन पुगे। यस्तो गौरवशाली पार्टी हुँदा हुँदै अर्को पार्टी किन? के पार्टीमा मान्छेहरू धमाधम भित्रिन थालेपछि उनीहरूलाई व्यवस्थापन गर्नको निम्ति नयाँ पार्टी चाहिएको हो? आफूले त भने जस्तो पद पाएकै छन्, के नवप्रवेशीहरूलाई पद पुर्याउनको निम्ति नयाँ पार्टी आवश्यक परेको हो? कामरेड महासचिव र उपाध्यक्ष दुबैको मनमा स्वाभाविक रूपमा यस्ता अनगिन्ती प्रश्नहरू उब्जिए। जेनतेन हिम्मत जुटाएर कामरेड उपाध्यक्षले कामरेड अध्यक्षका अगाडि प्रश्न राख्नुभयो–
“कस्तो पार्टी कामरेड?
“पार्टी भित्रकै अर्को पार्टी।” कामरेड अध्यक्षले आफ्नो मथिङ्गलमा सिर्जित नयाँ पार्टीको प्रारूपबारे बताउन थाल्नु भयो –“वास्तवमा यो एउटा चमत्कारिक पार्टी हुनेछ। यो पार्टीमा हामी सबै रहने पनि छौं र नरहने पनि छौं।” अध्यक्ष कामरेडको कुरालाई बीचमा काट्दै कामरेड उपाध्यक्षले दर्शनका कुरा निकाल्नुभयो–“मार्क्सवादले एकै ठाउँमा दुई कम्युनिष्ट पार्टीको अस्तित्व स्वीकार गर्दैन। त्यसैले त्यो मार्क्सवगाद सम्मत हुन सक्दैन।”
– “किन सक्दैन कामरेड? ”झर्किएको स्वरमा कामरेड अध्यक्ष कड्किन थाले –“तपाईले कुन मार्क्सवादको कुरा गर्दै हुनुहुन्छ? हाम्रो त्यो पार्टी मार्क्सवादी सिद्धान्त अनुरूपकै हुनेछ। मैले भनिसकें नि–त्यो पार्टी हुनेछ पनि हुने छैन पनि। “कुनै पनि चीज छ पनि छैन पनि ” के यो मार्क्सवादी दर्शनले नै भनेको कुरा होइन? हो, हामीले खोल्ने उक्त पार्टी पनि त्यस्तै हुनेछ। हामीमाथि बेला–बेलामा आइलाग्ने महासंकटहरू मोचनका लागि अब त्यस्तो पार्टी निर्माण गर्नु अपरिहार्य भएको छ।” कामरेड अध्यक्ष धाराप्रवाह रूपमा बोलिरहनु भएको थियो तर पार्टीभित्रका दार्शनिकको रूपमा चिनिने कामरेड उपाध्यक्षले भने अझै पनि कुराको भेऊ पाउन सकेका थिएनन्। पार्टीभित्रै अर्को पार्टी किन? कामरेड उपाध्यक्षको दिमागमा यही प्रश्नले घनचक्कर लगाइरहेको थियो। महासचिव कामरेड भने गम्भीर मुद्रामा टोलाइमात्र रहेका थिए।
–“हामीले गरेका छौं भनेर बाहिर भन्न नहुने तर नगरी पनि नहुने कामहरू यो पार्टीले गर्नेछ। बाहिरी संसारको लागि अरूलाई जस्तै यो पार्टी हाम्रा लागि पनि अपरिचित रहने छ।” कामरेड अध्यक्षले पार्टीभित्रै बनाउन लागिएको नयाँ पार्टीको फेहरिस्त बताउँदै जान थाले–“यस्को नाममा कम्युनिस्ट या वामपन्थी सिद्धान्तको कुनै गन्ध भेटिने छैन। बरू यसको चरित्र विनलादेनको समूहसँग मिल्दोजुल्दो रहने छ।”
अवाक परेर अध्यक्ष कामरेडको प्रवचन सुनिरहेका उपाध्यक्ष र महासचिव कामरेडको मुहार अब भने क्रमशः उज्यालो हुँदै जान थालेको थियो। शायद उनीहरूको अब कुरोको चुरो बुझसकेका थिए। यतिन्जेलसम्म मौन देखिएका महासचिव कामरेडको वक्य अब फुट्न थाल्यो –“ठीक छ, उसो हो भने त्यो नयाँ पार्टीको नामाकरण म प्रस्तावित गर्छु–पार्टी भित्रै खोलिन लागिएको उक्त पार्टीको नाम –’नेपाल जनता पार्टी राखिनु पर्छ।’
–“हुँदैन” उपाध्यक्ष कामरेड, महासचिव कामरेडको कुरा काट्दै बोल्न थाले – “सो नाम गरेको अर्को पार्टी पनि विद्यमान रहेकाले हामीलाई अप्ठ्यारो पर्न सक्छ। बरू अरूले हाम्रै पार्टी हो भनेर कल्पनै गर्न नसक्ने किसिमले धार्मिक भाव आउने नाम राखिनु पर्छ। त्यो पार्टीको नाम 145नेपाल हिन्दु पार्टी146 राखिनु पर्छ।” उपाध्यक्षको प्रस्तावप्रति फेरि महासचिव कामरेडले आपत्ति जनाउन थाले। विवाद चर्कंदै थियो। दुबैका कुरालाई मिसाएर आफ्नो कुरा बनाउन खप्पिस कामरेड अध्यक्षले मौकामा चौका हान्दै बोल्न थाले –“यसो गरौं तपाईहरू दुबै जनताको प्रस्तावलाई समायोजन गरेर पार्टी भित्रको नयाँ पार्टीको नामाकरण गरौं ” त्यसपछि अध्यक्ष कामरेडले दुबै कामरेडहरूले प्रस्तावित गर्नु भएका नामहरू भित्रका शब्दहरू सबै समेटेर नयाँ नाम बताउनुभयो। पार्टीभित्रको नयाँ पार्टीको न्वारन गरेपछि तिनै जना कामरेडहरू आ–आफ्नो निवासतर्फ लाग्नुभयो।
अस्तु।
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक २९ – २०६७ जेष्ठ २६ गते, बुधबार )