~रारा नेपाल~
कामरेडहरूको सडक जात्रा वास्तवमा हेर्न लायक नै हुन्छ। हाँसो, रोदन, द्वन्द्व सबै चीजलाई समेटिएको हुन्छ उक्त जात्रामा। विगतमा कामरेडहरूबाट प्रदर्शन गरिंदै आएको सडक जात्राबाट म पनि विशेष प्रभावित थिएँ। त्यसैले यसपटकको “अनिश्चितकालिन जात्रा” पनि मैले राजधानीकै सडकहरूमा निस्किएर हेरें। आफ्नै आँखा अगाडि मान्छेहरू मात्र होइन, लाठी, रड र ढुंगामुढा पनि नाचिरहेका थिए। मैले त ती दृश्यहरू साँच्चै नै वास्तविक जीवनका घटनाक्रम सम्भि्कएको थिएँ तर त्यस्तो होइन रहेछ। ती त फिलिमका टेलर मात्र रहेछन्। माऊ कामरेड आफैले खुल्लामञ्चमै घोषणा गर्नु भो–“निर्णय गर्न ढिलाई गर्यौं भने छ दिनको आम हड्ताल सामान्य टेलर बाहेक केही पाउने छैनौं। रियल फिलिम फेरि शुरू हुनेछ –जेठ १४ अघि नै।” कामरेडको डाइलग सुनेपछि मेरो मनमा कौतुहलता जन्मियो “टेलर त देखियो, त्यो रियल फिलिम भनेको झन कस्तो होला?” म यो कौतुहलता मेटाइदिने कामरेडको खोजीमा लागे।
खोजेपछि मुसाको सिङ त पाइन्छ भन्छन् मैले आफ्नो कौतुहलता मेटाउने कामरेड खोजेको थिए, त्यो नभेट्टाउने कुरा भएन। भेटेपछि कामरेड समक्ष मैले आफ्नो जिज्ञासा राखें।उनले पनि सविस्तार “उक्त रियल फिल्म”को बारेमा बताउन थालेः–
“सुन्नस् मित्र, हाम्रो त्यो रियल फिल्म आँशु, रोदन, हाँसो र खुशीले भरिपूर्ण हुनेछ। त्यो देख्दा दर्शकलाई अहिले जस्तो बोर लागेर ढुंगामुढा गर्नुपर्ने अवस्था आउने छैन। हरेक किसिमका दर्शकहरूको रूचिलाई ध्यानमा राखेर त्यसलाई निर्माण गरिएको हुनेछ। द्वन्द्व र ग्लामरलाई विशेष प्राथमिकता दिइने छ। पात्रहरूको छनोटमा विशेष ध्यान पुर्याइने छ। हुन त त्यहाँ गीत, संगीत, प्रेमलाप सम्पूर्ण पक्षहरू हुने छन्, तर पनि मूलरूपमा त्यो द्वन्द्व प्रधान फिलिम नै हुनेछ। द्वन्द्व निर्देशकको जिम्मेवारी कामरेड पासाङ र नवकामरेड राजेन्द्र खड्कीले लिनु हुनेछ। वास्तवमा हाम्रा ती दुबै निर्देशकहरूसँग छुट्टाछुट्टै क्षेत्रमा संगालेको लामो अनुभव छ। विगतमा उहाँहरू विल्कुल भिन्न प्रोडक्सनहरूबाट निर्मित हुने फिलिमहरूमा द्वन्द्व निर्देशन गर्नु हुन्थ्यो। एउटा सँग लगातार दश वर्षसम्म द्वन्द्व निर्देशन गरेको अनुभव छ भने अर्कोसँग पूरै ३० वर्षको अनुभव छ। ती दुवैको समायोजन हुँदा तपाई आफै कल्पना गर्नुस् कति उच्च किमिसको द्वन्द्वकलाको सिर्जना होला?
गीत, संगीत र अभिनयको सवालमापनि त्यही पद्धति अपनाइने छ। त्यो एक्काइसौं सताब्दीको उत्कृष्ट फिलिम हो। त्यसैले त्यहाँ खुशीराम पाखि्रन, माइलालामा र जेवी टुहुरेका मात्र गीत, संगीत र स्वर रहने छैनन् , त्यसमा चेतन सापकोटा र अन्जु पन्तहरू पनि सामेल हुने छन्। यो समयकासबै चर्चित र हिट गीतहरूलाई फिलिमको कथावस्तुसँग मेल खाने गरी परिस्कृत र परिमार्जन फिलिममा समावेश गरिनेछ। जस्तो तपाईले सुन्नु भएकै होला अन्जु पन्तले गाएको “न बिर्से तिमीलाई ” बोलको गीत निकै चर्चित र हिट भयो। यो गीत पनि हाम्रो फिलिममा पर्नेछ तर जस्ताको त्यस्तै होइन केही परिमार्जन गरेर।
– त्यो परिमार्जनको एउटा टुक्का त अहिल्यै तयार भैसकेको छः
नबिर्से कुर्सीलाई, नपाएँ कुुर्सीलाई
बिना अर्थ सरकार छाडेछु फूर्तिलाई
त्यो सत्ता स्वर्ग हो
अरू राज गर्दा
तड्पेर डहाले कराएँ फूर्तिलाई
नबिर्से ……..
यो गीतलाई नायक कामरेडले कुर्सी वियोगमा छट्पटिएका बेला कोठाभित्र एकान्त बासमा गाएको देखाइने छ। वास्तवमा त्यो पूरै फिलिममा दर्शकहरूले प्रेमको एक उत्कृष्ट नमुना हेर्न पाउने छन्। फिलिममा नायक कामरेडले कुर्सीलाई यति प्रेम गरेको देखाइने छ कि जति प्रेम शायद मदनले मुनालाई, लैलाले मजनुलाई , हिरले राजालाई र रोमियोले जुलियटलाई पनि गरेका थिएनन्। कुर्सी प्राप्त गर्नको निम्ति नायक कामरेडले गरेको त्याग, तपस्या, समर्पण र संघर्षनै फिलिमको मुख्य विषयवस्तु रहनेछ।
हामीलाई थाहा छ अहिलेको जमानामा ग्लामर बिना फिलिम हिट हुन सक्दैन। फिलिममा ग्लामरलाई पनि विशेष प्राथमिकता दिइने छ। चर्चित नायिका “देखा थापा”को आइटम डान्स फिलिममा छुट्ने छैन। त्यो आइटम डान्समा उनले लगाउने पहिरनमा पनि खास ध्यान दिइनेछ। हरे राम लेखेको कपडालाई धुजाधुजा पारी “हिफाजत” फिलिममा उनले जसरी लगाएकी थिइन त्यो निकै हिट भएको थियो। हामीले त्यसबाट पनि शिक्षा लिने छौं। हामी भौतिकवादी र त्यसमा पनि अझै द्वन्द्वात्मक भौतिकवादी भएकाले त्यस्तो “हरे राम” लेखेको कपडाको प्रयोग हामीबाट हुने छैन। बरू त्यो कपडाको स्थानमा हसिया हथौडा अंकित झन्डाको कपडाले हिफाजतमा जसरीनै “देखा थापा”लाई सिंगारिनेछ।
फिलिमको इन्डीङ कसरी गर्ने? त्यो अझै तय भैसकेको छैन। फिलिम संयोगान्त हुन्छ या विगोगान्त यो भेद म अहिल्यै खोल्न चाहँदैन। तर पनि हामीलाई के विश्वास छ भने त्यो फिलिमसँग प्रतिस्पर्धा गर्न सक्ने फिलिम नेपालमा अहिलेसम्म न बनेको थियो न त बन्ने नै छ। त्यसको तुलना नेपालका कुनै फिलिससँग हुन सक्ने छैन। त्यो फिलिमसँग प्रतिस्पर्धा गर्न सक्ने फिलिमहरू इथोपिया, चेकोस्लाभाकिया, रूवान्डा, अफगानिस्तान र इराक लगायतका देशहरूमामात्र निर्मित भएका हुन सक्छन्। उक्त रियल फिलिमका पूरै झलकहरू अगामी जेठ ११ गते देखि देशैभरी एकै साथ प्रदर्शन गरिने छ।”
अस्तु
(स्रोत : हाँक विक्ली )