~बद्री पलिखे~
पोहरसाल । असोज महिना हुनुपर्दछ । काठमाडौँमा म एक्लै लजमा रेडियो सुन्दै थिएँ । बाहिर झमझम पानी पर्दै थियो । ढोका ढक्ढक् गर्यो ।चुकुल खोलेर ढोका उघारेँ । पुनः ढोका लगाएँ । उहाँहरू भित्र प्रवेश गर्नुभयो । त्यसमध्येको एकजना पुरुष जसलाई म पहिलेदेखि नै चिन्दछु । अर्की युवती थिइन् जसलाई म चिन्दिन थिएँ । दुवै पानीले भिजेका थिए । तौलिया दिएँ । उहाँहरूले तौलियाले जीउ पुछ्नुभयो । ती युवतीलाई मैले कुनै चलचित्र या कुनै फिल्मी पत्रिकामा देखेको हुनुपर्दछ । ठम्याउन सकिन । परिचय भयो । भलाकुसारी कुराकानी पनि भयो । पूर्वपरिचित पुरुषले पाँच प्लेट मःमः मगाउन पैसा दिनुभयो । रेष्टुराँको नाम र ठेगाना पनि बताउनुभयो । मैले हुन्छ भनेर छाता ओढेर मःमः रेष्टुराँमा गएँ र अर्डर गरेँ ।
केही क्षणपछि मःमः प्याक गरेर लजमा फर्किएँ । भित्रबाट चुकुल लगाएको थियो । ढोका ढक्ढक् गरेँ । करिब पन्ध्र मिनेटपछि बल्ल ढोका उघ्रियो ।
ए ! आउनु भो – कति छिटो ! म अचम्मित र सशङ्कित भएँ । दुवैजना आफूमा सम्हालिन नपाउँदै कोठाको ढोका खुलेको रहेछ । मेरो पलङ्गको सिरानीमा पट्याएर राखेको लुङ्गी भिञ्जेगरी ओछ्याइएको रहेछ ।
- पुतलीबजार, धरान, सुनसरी ।
(स्रोत : पल्लव साहित्यिक पत्रिका–१२औँ अङ्कबाट साभार)