~रत्न प्रजापति~
छोरी पुतली फूलको रस खाँदै थिइन् । आमा पुतली पनि सँगैको फूलमा बसेर रस खाँदै हुनुहन्थ्यो। फूलको रस खाँदाखाँदै छोरी पुतलीले भनीन्, ‘आमा, हामी कहिले मामाघर जाने?’
छोरी पुतलीसँगै बसेर फूलको रस खाँदै आमा पुतलीले भन्नुभयो, ‘अब हामी चाँडै मामाघर जाने। हामी मामाघर जाँदा धेरै राम्राराम्रा फूलहरू फुलेका हुन्छन्।
सुनेर उनलाई अहिले नै जान पाए हुन्थ्यो जस्तो लाग्यो।शरद ऋतु आयो। खेतहरूमा पहेँलपुर धानका बाला झुल्न थाले। बारी र बगैंचामा थरीथरी फूलहरू पनि फुल्न थाले। बारी र बगैंचाबाट फूलहरूका मीठामीठा बासना आउन थाल्यो। छोरी पुतली अब मामाघर जान पाइने भो भनेर फुर्रफुर्र गर्दै नाच्न थालिन् । छोरी पुतली खुसी भएको देखेर आमा पुतली दंग परेर छोरीलाई हेर्न थाल्नुभयो।
एक दिन बिहानै आमा पुतली र छोरी पुतली मामाघर गए। बाटोमा उड्दैउड्दै जाँदा बारी र बगैंचाहरूबाट आएको फूलहरूको मीठामीठा बासनाले उनीहरूलाई निकै लोभ्यायो। फूलको मीठो बासनाले लोभिएर छोरी पुतलीले भनीन्, ‘आमा, एकछिन यतै बसेर फूलको रस खाऊँन ‘
छोरी पुतलीको कुरा सुनेर आमा पुतलीले भन्नुभयो, ‘हुन्न छोरी, मामाघर पुग्न ढिला हुन्छ। तिम्रो मामाघर टाढा छ । यहाँ बस्यो भने मामाघर पुग्न ढिला हुन्छ। रात पर्यो भने समस्या पर्छ।’
पुतली एक छिन् त रिसले ठुस्स परिन्। तर उनलाई पनि कहिले मामाघर पुगुँ त भइराखेकै थियो । त्यसैले उनले आमासँग त्यहाँ बस्नलाई जिद्दी गरिन् । ज्ञानी छोरी बनेर उनी फेरि आमासँगै उड्न थालिन्।
आमा पुतली र छोरी पुतली उडेर जाँदै थिए। बीच बाटोमा बेसरी हावा चल्यो। हावाले दुबैलाई उडाएर लग्यो। आमा पुतली एकातिर पर्नुभयो । छोरी पुतली अर्कोतिर परिन्। छोरी पुतली डराएर चिच्याउन थालिन्, ‘आमा…।’ उसैगरी आमा पुतली छोरी पुतलीको मायाले चिच्याउन थाल्नुभयो ‘छोरी…।’
छोरी पुतली एउटा राम्रो बगैंचामा पुगेकी थिइन् । उनी रुँदै आमा भनेर चिच्याएको सुनेर अरू रंगीबिरंगी पुतलीहरू उनका छेउमा आए । उनीजस्तै एउटा सानी पुतली आएर सोधिन्, ‘तिमी किन रोएकी ? ‘
छोरी पुतलीले रुँदै भनिन्, ‘मेरी आमालाई हावाले कताकता उडाएर लग्यो । मचाहिँ यहाँ परेँ।’त्यसो भए तिमी नरोऊ । तिमी यहाँ हामीसँगै बस । तिम्री आमा तिमीलाई खोज्दै यहीं आउनुहुन्छ।’ त्यो सानी पुतलीले भनिन्।
अरू पुतलीले पनि त्यसै भने, ‘हो हो, तिम्री आमा नआउन्जेल तिमी हामीसँगै बस। हामीसँगै खेल । हामी तिमीलाई मीठामीठा फूलका रस खुवाउँछौं नि।’ सबै पुतलीले यसो भनेपछि छोरी पुतली रुन छाडिन्।
उनी अरू पुतलीसँगै फूलमा बसेर रस खान थालिन्। उनलाई त्यहाँका नौलानौला फूलहरूको रस निकै मन पर््यो । उनले मीठो मानेर रस खाइन्।
साँझ पर्न लागिसकेको थियो। त्यही बेलामा आमा पुतली ‘छोरी… छोरी…’ भन्दै त्यही बगैंचामा आउनुभयो। आमाको स्वर सुनेर छोरी पु
साँझ परे पनि मामाघर पुग्ने हतारोले आमा पुतली र छोरी पुतली उडेर जान लाग्दै थिए।
बगैंचाका सबै पुतलीहरूले एकै स्वरमा भने, साँझका पाहुना देउतासरह हुन्। हामी तपाईंहरूलाई जान दिँदैनौं। आज यहीं हामीसँगै बस्नुपर्छ। बरु भोलि बिहानै जानुहोला।
सबै पुतलीहरूको यस्तो मीठो आग्रह सुनेर आमा पुतली धेरै खुसी हुनुभयो। उहाँले सबै पुतलीहरूलाई धन्यवाद दिनुभयो र आजको रात त्यहीं बस्ने निधो गर्नुभयो। छोरी पुतलीलाई मामाघर पुग्न हतार भइरहेको थियो। तर यहाँ धेरै पुतलीहरूसँग बस्न पाउँदा उनी पनि खुसी भइन्।
उनी रमाएर अरू साना पुतलीहरूसँगै बगैंचामा डुल्न थालिन्। आमा पुतलीचाहिँ अरू पुतलीसँग भलाकुसारी गर्न थाल्नुभयो।भोलिपल्ट बिहानै पुतलीहरूसँग बिदा भएर आमा पुतली र छोरी पुतली त्यहाँबाट उडे। केही बेर उडेपछि उनीहरू मामाघर पुगे।
छोरी पुतली र आमा पुतली आएको देखेर मामाघरका सबै पुतलीहरू भेला भए। माइजूले छोरी पुतलीलाई माया गरेर गालामा मुसार्नुभयो । मामाले पनि उनलाई उसैगरी माया गरेर गाला मुसार्नुभयो।
मामामाइजूको मायाले छोरी पुतली खुसीले गद्गद् भइन्। मामाका छोराछोरी पनि छोरी पुतलीलाई देखेर रमाए। आमा र माइजू भलाकुसारी गर्न थाल्नुभयो।
छोरी पुतली र मामाका छोराछोरी पनि मामासँगै एउटा ठूलो बगैंचामा डुल्न गए। बगैंचामा फुलिरहेका धेरैथरी फूलहरूलाई देखाएर मामाले भन्नुभयो, ‘लौ हेर भान्जी, यहाँ यति धेरै फूलहरू फुलेका छन्। तिमीलाई जुन फूल मन पर्छ रोजीरोजी त्यसको रस खाऊ।’
ढकमक्क फुलेका धेरै थरी फूलहरू देखेर छोरी पुतली खुसीले रमाइन् । अब उनलाई कुन फूलको रस पहिला खाऊँ भन्ने भयो । उनी अल्मलिएको देखेर उनको मामाले फूलहरूको नाम भन्न थाल्नुभयो, ‘यो सयपत्री। यो मखमली । यो गोदावरी । यो जाई। यो जुलाफ।
.. कमल । .. चम्पा । .. चमेली ।’ ओहो कति थरी फूलहरू । फूलको नाम सुनेर छोरी पुतली दंग परिन्। अनि उनी रमाइरमाइ थरीथरी फूलका रस खान थालिन्।
फूलको रस खाँदै छोरी पुतली मामाका छोराछोरीसँगै त्यो ठूलो बगैंचामा रमाएर खेल्न थालिन् । मीठामीठा फूलका रस खाएर फुर्रफुर्र उड्दै खेल्न पाउँदा छोरी पुतली निकै रमाइन्।
छोरी पुतलीलाई मामाघर निकै रमाइलो लाग्यो। मामाघरमा सबैले माया गर्दा रहेछन्। मामाघरमा मीठोमीठो खान पाइने रहेछ । मामाघरमा रमाइलो पनि हुने रहेछ।
त्यसैले पो सबैजना मामाघर जान मन पराउँदा रहेछन्। यस्तो कुरा छोरी पुतलीले मामाघरमा आएर थाहा पाइन्।
२०७२ मङ्शिर ७ सोमबार
(स्रोत : अन्नपूर्ण पोस्ट)