~सुमन मञ्जरी~
लगातार दुइ तिन दिन देखि परेको पानीले दिन रुझेको छ । घाम नदेखेको पनि कयौँ दिन भईसक्यो । यसरी लगातार रुझेका दिनहरूले मलाई बिगतको यादमा रुझ्न बाध्य पार्छ । त्यो बिगत अनि त्यो झरी जसको स्मृरतिमा म घण्टौँ हराउन सक्छु । अनी त्यै बिगत सम्झेर म हाँस्न सक्छु र टोलाउछु पनि । पाँच – सात वर्ष अघिको त्यो झरी आज पनि मेरो मनमा उतिकै ताजा भएर बसेको छ । त्यस पछि घटेका कयौँ राम्रा र नराम्रा कुराहरू मैले बिर्सिसकेँ हुँला । तर, त्यो झरी ! त्यो झरीका हरेक थोपा पानीहरू अझै ओभाईसकेका छैनन् मेरो मनमा । ताजा छ उस्तै छ ।
कुरा पाँच – सात वर्ष अघिको हो । त्यतिखेर मैले उसलाई भर्खर भर्खरै चिनेकी थिएँ । दुई चार भेटमै हामी धेरै नै नजिक भईसकेका थियौ । सुरु सुरुमा उसको थोरै बोल्ने र लाज मान्ने बानी थाहा पाउँदा हाम्रो सम्बन्ध यति नजिक हुन्छ भन्ने मेरो कल्पनामै आउँदैन थियो । तर, दिनप्रतिदिन मलाई उसको त्यहीँ बानीले आकर्षित गर्दै लग्यो ।
हाम्रो चिनजान भएको सायद एक महिना पुगनपुग भएको हुँदो हो त्यो झरीमा हामी सँगसँगै भिज्दा । त्यो भेटाई अनी भिजाई योजानाबद्ध पक्कै थिएन । आ-आफ्नै काममा निस्केका हामीले बानेश्वरमा एक अर्कालाई भेटेका थियौ । बसाई एकैतिर भएकाले सँगै जाऔँ उसले भन्यो । मैले नाइँ भन्नु आवश्यक त थिएन तर परिस्थिति हेरेर भनेँ – पानी परेको छ बाइकमा भिजिन्छ भैगो… म बस मै आउँछु । तर, उसले फेरी यसरी पानी परेको बेलामा सँगै हिंड्ने साईत जुर्ला या नजुर्ला ! जुरेको साईत किन बिगारछ्यौ भनेपछि नै म उसको बाइकमा बसेकी थिएँ । छाता ओडेर ।
छाता हावाले भाँचिन्छ ऐले, अनि फेरी तैँले भाँचिदिस्, किन्दे भनेर मलाई भन्ने हैन नि ! खुरुक्क बन्द गरेर नराखेर । खुबै बाइकमा छाता ओड्ने भएकी ! उसले यथार्थ बोध गराए पनि म किन उसका कुरा सुन्थेँ र बरु उल्टो भनिदिएँ – यो पानीले भिजेर म बिरामी भएँ भने उपचार तिमीले गर्नु पर्छ कुरा बुझ्यौ नि ! उसले जवाफ फर्काएन । पानी ठुलो परेको थियो । सडकमा बाढी सुरू भईसकेको थियो र त्यो अझै बढ्ने निश्चित थियो । साँझको बेला हामी झैँ केही मान्छेहरू रुझेरै पनि हिँडेका थिए भने केही ओतमा पानी रोकिने बेला कुर्दै थिए ।
शंखमुल तिरको ओरालो बाटो हुँदै पाटनला गल्ली छिचोलेर मंगलबजार निस्किने तयारीमा थियौ हामी । पानी त भर्खरै पर्न सुरू भएको थियो । तर बंगलामुखी मन्दिरबाट पाटन दरबार परिसर तिर लाग्दाको बाटो गाउँघरको भिरालो वा तर्पायँ तर्पायँ परेको खोलो झैँ देखिथ्यो ।
“फर्कौ यो बाटो जान हुन्न, बरु घुमेर जाऔँ उता माइतिघर जावालाखेलको ठुलो बाटो..” मेरो कुरा दर्केको पानीले मात्र सुन्यो । उसले सुनेर पनि नसुने जस्तो गर्यो कि ? उसको मनमा के थियो कुन्नी उसले बाइक फर्काउनुको सट्टा त्यै खोलारुपी बाटोतिर अघि बढायो ।
एई, पर्ख म हिंडेर जान्छु । म ठूलै स्वरमा कराएँ । उसलाई मोटरबाईक रोक्न लगाएँ र ओर्लेर छेऊ लागेर हिँडेँ । पानीमा आधा भन्दा बढी डुबेको बाईक सँगै ऊ बिस्तारै अघि बढ्दै थियो । गल्लीहरू छिचोलेर गाःबाहालको अलि चौडा सडक पुग्न पाए यो फोहोर पानीबाट छुट्कारा पाइन्थ्यो कि ! भन्ने मेरो आशा त्यति बेला निराश भयो जब गाःबाहालको माझमा सडक होईन धमिलो पानीको खोला देखियो । सडक भन्दा केही उँचोमा रहेको पसल जाने सिँढी सिँढी म हिँड्दै थिएँ । ऊ पानीमै थियो । बेलाबेलामा ‘खुच्चिङ’ को भावले उसलाई हेर्थेँ तर उसमा उदासी जस्तो केही भाव भेट्दिन थिएँ । ऊ सधैँ झैँ बिन्दास मूडमा थियो ।
अचानक उसले बाइकको सन्तुलन गुमायो र लड्न ठिक्क पर्यो । सडकमा ठूलै खाल्डो हुँदो हो । छेउको सिढिँमा उभिएकी मैले ऊ त्यो फोहोर पानीमा लडेको हेर्नू पर्ला भनेर हात बढाउँदै माथि आऊ भने । हात समातेर तान्न सक्छौ के.. भन्ने अपत्यारको भावमा उसले मलाई हेर्यो । अनि, तत्काल एउटा सानो झड्का दिएर मलाई आफू भएतिर तानेर पानीमा खसालिदियो । छेउछाऊका पसलेहरू हलल्ल एकै चोटि हाँसे । म न हाँस्न सके न ऊ सँग रिसाउन नै !
हाम्रो अवस्था साँच्चै दयनिय नै भएको थियो । वरपरका दुई तीन जना पसले दाईहरुले बाईक निकालेर अलि पर्तिर थोरै पानी जमेको ठाउँमा राखीदिनुभयो । ऊ भने अरु सँगै हलल्ल हाँस्दै थियो । तर मलाई भने दिक्क लाग्दै थाल्यो । ऊ माथि रिस खन्याउन पनि सकिरहेँकी थीइन । म चुपचाप जहाँको त्यही उभिरहेँ ।
‘अघि त भिजुँजा भन्ने कत्रो पिर थियो अब चैँ यै पानीमा डुबिरहन्छौ कि बाहिर पनि निस्कने ?’ खितित्त हाँस्दै ऊ मलाई जिस्क्याउँदै थियो । उसले समातेको हात झट्कार्दै फुत्काएर केही नबोली र कसैलाई नहेरी फटाफट पानी नभएको ठाउँ तिर पाखा लागेर बसे । ऊ भने अझै उतैतिर ती पसलेहरु सँग हाँस्दै थियो । ‘आउँनै हुँदैन थ्यो तँ खुबै ज्ञानी भएर आउनु परेको थियो नि भोग अब’ आँफैलाई झपारे ।
”मलाई गाली गरेको हो कि क्या हो ? मलाई गरेको गाली मैले नै सुन्न नपाउने यो त अली अन्याय भएन र भन्या ?” ऊ म भए तिर आयो । उसले यस्ता कुरा पनि जानेको रहेँछ । आज सम्म यो रुप कता लुकाएर राखेको रहेँछ मन मनै सोच्न थालेँ ।
‘कफी खाउ पहिले अनी जाउला है घर अब यसै भिजियो उसै भिजियो के हतारो हैन र ?’ फेरी उसैगरी खितित्त हाँस्दै भयो ।
‘अँ यो हालतमा कफी’ मेरो बोलीमा रुखोपन टड्कारै आयो । यता फोहोर पानीले सिकसिको लाग्ने र हातगोडा चिलाउने क्रम सुरू भईसकेको थियो ।
‘तिम्रो रिस हराउने कफी खुवाउँछु पर्ख ! तिमीलाई यो झरी जीवन भरी याद रहन्छ ।’ ऊ हिँड्यो ।
लुगा भिजिसकेकाले बस्न सक्ने अवस्थामा थीएन त्यसैले उसलाई पछ्याएँ । पाटन दरबार परिसर छेऊ मन्दिरको छानो मुनी ओत लागेर उभिएँ । दुबै हातमा कफी बोकेर ऊ आईपुग्यो र कफी म तर्फ बढाउँदै भन्यो ‘लाऊ, अनी एउटा कुरा भन त आजको दिनको यादमा आगामी दिनमा तिमी रिसाउछ्यौ कि हाँस्छ्यौ हुँ ?’
कफी लिदैँ घुरेर उसलाई हेरेँ तर जवाफ दिनू आवश्यक लागेन ।
कफी सक्यौ तर पानी उतिकै परिरहेकै थियो । भिजिएला भन्ने डर अब बाँकी थिएन । ‘जाने हैन घर जाडो भईसक्यो ।’ बाँकी रहेको रिस दबाएरै भने ।
“जाने हो… लौ हिँड । ” ऊ अघी लाग्यो म पछ्याउन थालेँ ।
बाटामा पर्ने आफ्नो घर समेत नपसी उसले मलाई मेरो सानो फ्ल्याट पुर्याँयो । भित्र आऊ वा एकछिन बसेर जाऊ भन्ने अवस्था थिएन किनकी हामी दुबै सम्पुर्ण भिजिसकेका थियौ ।
“घर गएर चाडै लुगा फेर्नू ।” आदेश कुरेको झैँ ऊ तुरून्तै उही बाटो फर्क्यो ।
यस्तो पानीमा पनि भिज्ने हो ? बिरामी भए के गर्ने लौ ? भन्ने खालका भनाईहरू एक्लो बसाइको फाईदा स्वरुप मैले सुन्नु परेन । खाना खाने मन थिएन । भिजेका लुगा धोएर सुकाउँने जाँगर पनि थिएन। चिसा लुगा बाथरुममा थुपारेर सिकसिको मेट्न नुहाएर म सोझैँ ओछ्यान तिर हाम्फाले ।
तुरुन्तै जाडो बढेको महशुस हुँदैथियो । ज्वरो आउन थालेको होला । आफूलाई पानीमा भिजेको फाप्दैन भन्ने जान्दा जान्दै पनि भिजेपछि यस्तै हो । आफैसँग कराएँ अरु कसलाई गुनासो गर्न सक्थेँ र ? दराज माथि पट्याएर राखेको जाडोको बाक्लो सिरक ओढेँ र सुतेँ भोली ठीक होला भन्ने आशामा । एकैछिनमा उसको फोन आयो ।
खाना पकायौ ? खायौ ? के खायौ ? भन्ने जस्ता उसका अनेकन सोधाईको एउटै जवाफ फर्काएँ – ‘तिम्रो जिद्दीपनको परिणाम भोग्दैछु । ज्वरो आ’को छ ।’ फोनमा उसलाई घुर्क्याउनु सम्म घुर्क्याएँ र फेरी सुतेँ । मन केही शान्त भयो । निदाउन लागेकी थिएँ या एक्कासी बढेको ज्वरोको असर थियो ढोका ढक्ढक्याएको आवाजले झस्किएर उठेँ ।
‘यो नसकेको बेलामा फेरी को मुन्ट्यो बिथोल्न सोच्दै ढोका खोलेँ । अगाडी ऊ देखापर्यो ।
‘खै ! ज्वरो धेरै नै आयो कि क्या हो ? निधार तिर हात लम्क्यायो ।’ उसको हात बिचैबाट पन्छाएर सोधेँ –
यो साँझमा किन आ’को फेरी ? पानी पनि रोकिएको हैन । आफ्नै सुरमा भने उसले सुन्यो कि सुनेन कुन्नी !
‘किन आउँनु हुन्न र ? जाउँ त उसो भए ?’ भन्दै उल्टै मलाई पो घुर्की लाउँदै हिंड्न खोज्दा सुनेछ भन्ने चाल पाएँ ।
‘ल भयो आऊ..’ ढोकाबाट हटेँ ।
‘हिँड..’ मलाई अघि लगाई पछ्यायो ।
ऊ सोफामा बस्छ । म फेरी सुतिदिन्छु ।
‘के साँच्चै ज्वरो आयो तिमीलाई ?’
‘हैन ख्याल ख्यालको ज्वरो हो । उसको सोधाईले झनक्क रिस उठ्यो । कोल्टे फेरेर सुतेँ ।
‘के खायौ त ?’ ऊ फेरी सोध्यो ।
‘केही न केही ।’
‘म सुप बनाईदिऊ ? ऊ चुप लाग्दैन । पानीमा भिजेको भएर एलर्जीको ज्वरो आको हो तातो सुप खाउ बिसेक हुन्छ । म सेफ हुन लायक मान्छे कतो मिठो पकाउन जान्या छु तिमीलाई के थाहा र ?’ ऊ आफ्नै तारिफ गर्दै किचन तिर लाग्छ ।
‘एई निदाएकी….उठ उठ मैले सुप बनाएको छु ।’ ऊ मलाई झक्झक्याउन आईपुग्यो ।
‘खान्न । खाने मन छैन । आँफै खाऊ । रिस देखाउने कोशीस गरेँ ।
‘म त खाईहाल्छु नि , म पनि भिज्या छु नि ! अनी म चै किन नखानु त हैन ?’ भन्दै चिनियाँ माटोको बुट्टे कचौरा मलाई थमाउँयो ।
भोक लागेकै थियो । भोक भन्दा धेरै जाडो । जाडो घटेको पनि थिएन । त्यसैले सुप चुपचाप खाएँ । बाहिर मन उसलाई रिस देखाउने कोशीस गर्दै थियो तर भित्री मन भने माया उमारिसकेको थियो ।
‘ल अब यो औषधी खाउँ भोली बिहान सम्ममा यो ज्वरो भागेन भने मलाई भन्नु । ‘ तातो पानी र औषधी दियो । आज्ञाकारी भएर खुरुखुरु औषधी खाएँ । ल अब सुत । उसले मायालु बोलीमा भन्यो ।
‘तिमीलाई घर जान पर्दैन ? तिमी जाऊ राती भईसक्यो ।’ मेरो मनमा लुकेको माया फुत्त बाहिर देखा पर्यो ।
‘म गईहाल्छु नि । पहिले तिमी सुत ।’
उसको जिद्दीपनको अघी मेरो सधै हार हुन्छ । र पनि त्यो हार मलाई मिठो लाग्छ । उसको कुरा मानेर चुपचाप सुतेँ ।
********
लगातार पानीको कुटाईले थाकेको रात बिदा माग्ने तर्खरमा थियो । पूर्वबाट सुर्यले आफ्नो आगमनको संकेत दिँदै थियो रातो भएर । ब्यूझेर पनि ओछ्यान छोड्ने मन थिएन मलाई । अघिल्लो साँझको ज्वरोको संकेत सम्म पनि बाँकी रहेको पाउँदिन । सट्टामा एउटा सुन्दर बिहानीको आगम भएको थियो । सुती सुती हिजोको साँझलाई एक पटक पुनः स्मरण गरेँ । एक्कासी उसको याद आयो । कती बेला घर गयो ? न ऊ पनि पो बिरामी पर्योण कि मन त्यसै त्यसै आत्तिन थाल्यो । फोन गर्छु सोच्दै फोन खोजेँ तर ओछ्यानमा मोबाइल फेला परेन । ओछ्यान छोड्न करै लाग्यो र छोडेँ पनि ।
मोबाइल खोज्ने धुनमा लागेका मेरा आँखाले भर्खरै देखेको भुइँको दृश्यमा विश्वास गरेनन् । आँखा मिचेर पुन: हेरेँ । भुँईको गलैचामा पछ्यौरा ओढेर हातको सिरानी लाएर मस्त निदाईरहेको थियो ऊ । नछोपिएको उसको अनुहार नियाल्ने रहर लागयो । छोटो कपाल निधार तिर झरेका, बाक्ला आँखी भौँ, हल्का बढेको पातलो दारी, समग्रमा मिलेको पातालो अनुहार । उसलाई हेरिरहेँ तर धितै मरेन । निष्कपट अनी मायालाग्दो देखियो उसको अनुहार । ऊ बिउँझला कि भन्ने डर लाग्यो । आफुले ओढेको सिरक तानेर पछ्यौरा माथि ओढाईदिएँ । ऊ केही चलमलायो तर निद्रा मै ।
नुहाइ धुवाइ सकेर आउँदा पनि ऊ निदाई त्यस्तै निस्फिक्र निदाई रहेको थियो । किचन पसेर दुई कप कफी बनाएँ । ब्रेड टोस्ट गरेर ठीक्क पारेँ । फर्केर हेर्न आएँ तर ऊ निदाई नै रहेको थियो । निदाई रहेको उसलाई गहिरिएर नियाँले । निकै आत्मिय लाग्यो । आफ्नो लाग्यो । हिजोको उसका क्रियाकपालहरू बद्मास बालकको झैँ मीठो लाग्न थाल्यो ।
‘एई उठ…!’ सिरक बहिरैबाट घच्घच्याएँ ।
आँखा खोल्दै बोल्यो -‘गूड मर्निङ !’
‘गूड मर्निङ, अझै पुगेन निद्रा ? कति सुत्न सकेको ।‘ हाँस्दै सोधेँ ।
‘पुग्यो नि अब । खुब, ब्युँझाईदिने आफू अनि आफैँ निद्रा पुगेन रे !’ मायालु तर घुर्क्याएको बोली बोल्यो।
हाँसेँ मात्रै केही बोल्न आवश्यक लागेन । बरु एकटकले उसलाई हेरेँ ।
‘के हेरेकी नि त्यसरी पहिले कहिल्यै नदेख्या जस्तो….. खै.. !’ ऊ उठेर बाथरुम पस्यो । म भूत,वर्तमान र भविष्यको दोसाँधमा उसैसँग हराउँदै ब्रेक फास्टका लागि टेबलमा उसको प्रतिक्षामा गर्न थालेँ ।
*******
आज वर्षौ पछिको यो झरीमा मैले उसले त्यो झरीमा सोधेको प्रश्नको जवाफ भेट्टाएकी छु । तर, दुर्भाग्य ! यो झरीमा म एक्लै छु । झरीमा मलाई भिज्न कर गर्ने ऊ म सँग छैन । छ त केवल ती दिनका याद अनी उसको त्यो बद्मासी भित्रको मायालु व्यवहार । आज उसलाई भन्न मन लागेको छ कि – त्यो झरीको सम्झनाले म भित्र रिस होईन खुशी ल्याउँछ । तिम्रो आफ्नोपन याद आउँछ । त्यसै गरी फेरी फेरी रुझ्न मन लाग्छ । हिजोआज झरीमा नजाँनिदो किसिमले उसको प्रतिक्षा गर्न मन लाग्छ । पहिले उसको करले रुझेकी थिएँ अब रहरले रुझ्न मन लाग्छ । अचेल उसलाई सोध्न मन लागेको छ – एई बद्मास ! तिम्रो ठाउँमा झरी पर्दा तिमीलाई त्यो झरी याद आउँछ कि आउँदैन नि हुँ ? मलाई सम्झन्छौ कि बिर्सिसक्यौ नि ?!
(स्रोत : Egulfnepal)